चितवन: चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्साङ्कन कार्य सुरु गरिएको छ । सङ्घीय सांसद कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नं ७ भालुमाराबाट शुक्रबारदेखि जग्गा नाप नक्साङ्कन कार्य शुुभारम्भ गरिएको हो । भूमिसम्बन्धी सेवा केन्द्र इच्छाकामनाका संयोजक हरि देवकोटाका अनुसार सो गाउँपालिकामा तीन हजार ५३९ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् । त्यसमध्ये ८३ जना भूमिहीन दलित, ७७१ भूमिहीन सुकुम्बासी र दुई हजार ६८५ अव्यवस्थित बसोबासी रहेको उहाँले बताउनुभयो । इच्छाकामनामा वडा नं ७ मा सबैभन्दा बढी एक हजार ६२७ ले निवेदन दिएका छन् । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा आगामी तीन महिनाभित्र नाप नक्साङ्कन कार्य सम्पन्न गरिने बताउनुभयो । छ महिनादेखि वर्ष दिनभित्र सबै प्रक्रिया पूरा गरी लालपुर्जासमेत वितरण गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
ताप्लेजुङ: ताप्लेजुङमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो । घरायसी सामान्य विवादका क्रममा श्रीमान् ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो । खुर्पाको पछाडिको भागले प्रहार गर्दा श्रीमतीको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शरीरको बाहिरी भागमा कुनै पनि किसिमको ठूलो चोटपटक भने नरहेको प्रहरीको भनाइ छ । शव परीक्षणपछि थप विवरण प्राप्त हुनसक्ने प्रहरीले जनाएको छ । शवलाई जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिकाले कोभिड–१९ विरुद्व ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन गर्ने भएको छ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यलय स्वास्थ्य महाशाख विभागले एक सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो । प्रकाशित सूचनामा भनिएको छ,‘कोभिड–१९ विरुद्वको खोप ‘एस्ट्रेजेनिका’ दोस्रो मात्रा लगाएको ३ महिना पुरा भएका र ‘जेनसेन’ खोपको १ मात्रा लगाएको ३ महिना पुरा भएका व्यक्तिहरुले सम्बन्धित खोप केन्द्रबाट ‘भेरोसेल’ खोपको अतिरिक्त मात्रा‘बुस्टर डोज’ खोप अनिवार्यरुपमा लगाउनु पर्ने छ ।’ सूचनामा उल्लेख गरिएको छ , ‘खोपको अतिरिक्त मात्रा लिन आउँदा अनिवार्यरुपमा पहिलो खोप कार्ड लिएर आउनु पर्ने छ । भने सो अभियान श्रावन ६ गते पोखराका १४ विभिन्न स्वास्थ्य केन्द्रमा सञ्चालन गरिने छ ।’
पोखरा: नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने सम्बन्धि प्रशिक्षण कार्यक्रम बिहिवार पोखरामा सम्पन्न गरेको छ । कोषले आफ्ना लगानीकर्ताको सहजताका लागि अनलाइन रकम दाखिला गर्ने प्रणालीको सुरुवात गरेको हो । सोही अवसरमा कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग पनि हस्तान्तरण गरेको छ । कोषले १० थान जार, १० थान डिस्पेन्सर, जार र डिस्पेन्सर राख्ने स्टीलको स्ट्याण्ड २ थान र मेटलको स्ट्याण्ड ८ थान विभिन्न संघसंस्थालाई हस्तान्तरण गरेको हो । सहयोग पाउने संघसंस्थाहरुमा जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय शिसुवा, वडा प्रहरी कार्यालय रामबजार, ट्राफिक प्रहरी कार्यालय पृथ्वीचोक, मालपोत कार्यालय कास्की, नापी कार्यालय कास्की र जिल्ला अदालत कास्की रहेका छन् । उक्त सामाग्री नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमले कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुुख जिल्ला अधिकारी आचार्यले कोषले निकै नै राम्रो योजनाहरु ल्याएकोले त्यसमा सहभागी भएर लगानी गर्न नागरिकहरुलाई आग्रह गर्नुभयो । आफ्नो लगानीको भरपर्दो माध्यम नागरिक लगानी कोष रहेको उहाँको भनाई छ । उहाँले कोषले प्रदान गरेको समाग्रीहरुको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाउनुुभयो । नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमले कोषले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न काठमाण्डौँ धाउनुपर्ने बाध्यता नरहेको जनाउँदै, पोखरा कार्यालयवाट केन्द्रको सबै सेवा पाउन सकिने बताउनुुभयो । उहाँले सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी लगानीको अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र पूँजी बजारमा गतिशिलता ल्याउन कोषको स्थापना तथा सञ्चालन गरेको जानकारी दिनुुभयो । सोही अवसरमा कृषि विकास बैँक लि. प्रादेशिक कार्यालयका प्रमुख घनेन्द्र अधिकारी, गण्डकी मेडिकल कलेजका सहप्राध्यापक प्रमिला पौडेल, नेपाल विद्युुत् प्राधिकरण गण्डकी प्रदेशका प्रमुख केदारराज सिलवाल, महावीर गण एयरपोर्ट व्यारेकका गणपती सन्तोष चन्द, युवा उद्यमी तथा समाजसेवी प्रवेश चन्द उप्रेती लगायतको उपस्थिति रहेको थियो । प्रशिक्षणमा विभिन्न क्षेत्रमा आवद्ध संघसंस्थाका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । कोषले हाल कर्मचारी बचत बृद्धि अवकाश कोष, उपदान कोष योजना, लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना, सावधिक जीवन बीमा कोष, नागरिक पेन्सन योजना, पूजीँ बजार सम्बन्धि सेवा, घरकर्जा तथा सरलकर्जा जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त योजना तथा कार्यक्रममा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताहरुले अनलाइन प्रणालीबाट रकम दाखिला गर्न सक्ने कोषले जनाएको छ । सोही अवसरमा संस्थाका अफिसर हरिशचन्द्र श्रेष्ठले अनलाइन प्रणालीबाट रकम दाखिला गर्ने सम्बन्धि प्रशिक्षण तथा डेमो प्रस्तुत गर्नुभएको थियो । नागरिक लगानी कोष पोखरा शाखाका प्रमुख नवराज गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उमा आलेमगरले गर्नुभएको थियो ।
नेपाली कांग्रेस कास्कीले विशेश्वरप्रसाद कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा विपिचोक सिंगारेको छ । पोखरामा मुख्य बजार क्षेत्रको चोकमास्थित विपिको शालिक र उक्त क्षेत्रमा सरसफाई एवं पुष्परोपण गर्दै कांग्रेसले स्वर्गीय नेतालाई सम्झेको छ । उक्त अवसरमा कास्की सभापति किशोरदत्त बरालले विपीको सिद्धान्त र आदर्शमा नेपाली कांग्रेस अघि बढेको बताउँदै सम्पूर्ण कार्यकर्तालाई विपिबारे अध्ययन गर्न र बुझ्न अनुरोध गरे । कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर ९ को समेत सहभागिता रहेको थियो ।
हेटौँडा: नेपाल प्रेस युनियनको ९औं राष्ट्रिय महाधिवेशन हेटौंडमा सुरू भएको छ । हेटौँडास्थित रोयल पार्टी प्यालेसमा सुरू भएको महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । महाधिवेशनको जारी उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेता पुगेका छन् । उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा कार्यक्रमका अतिथिको रूपमा सहभागी भएका हुन् । नेपाली कांग्रेसनिकट पत्रकारहरूको संस्था प्रेस युनियनको यो महाधिवेशनमार्फत करिब ८ वर्षपछि नयाँ नेतृत्व चुनिन लागिएको हो । प्रेस युनियनको महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानल नै बनाएर उम्मेदवारहरू मैदानमा उत्रिएका छन् । महाधिवेशनमा देशभरबाट सहभागी १६३० प्रतिनिधिले आगामी तीन वर्षका लागि युनियनको नयाँ नेतृत्व चयन गर्नेछन्
पोखरा: दलित महिला संघ (फेडो) कास्कीको आयोजनामा बिहिबार पोखरामा नीति निर्णयकर्ताहरु सँग छलफल कार्यक्रम सम्पन्न भएको छ । फेडोले नीति निर्णयकर्ताहरुसगँ आयोजना गरेको सो छलफल महिला जातिय बिभेद, लैङ्गकि बिभेद र बजेट योजना तर्जुमामा रहेको संघ कास्कीकी परियोजना कार्यक्रम संयोजक इश्वरी बिकले बताइन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्कीको तर्फबाट महिला सेल समिक्षा खत्रिले गण्डकी प्रदेशमा घटेका महिला हिसांका घटना,जातिय हिसांका घटनाहरुको साथै तथ्याङको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रममा इन्सेक गण्डकीका संयोजक शिव खकुरेल, कोपिला नेपालको तर्फबाट श्याम सुन्दर ढुङगाना, सिआइसीका अमिन परियार एकल महिला संघको तर्फबाट जुना केसी, वडा नम्बर ६ र ८ को वडा सचिव, र जनप्रतिनिधि गैसस, एन्जियो फेडे्सन कास्कीका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । दलित महिला संघ कास्कीका अध्यक्ष सुमित्रा गायको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संयोजक इश्वरी बिकले गरेकी हुन ।
भोजपुर: भोजपुर नगरपालिका–१२ छचौतारामा ट्र्याक्टरले किच्दा बालकको ज्यान गएको छ । बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुुसन्धान थालेको उहाँले बताउनुभयो । बालकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
काठमाडौँ: पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु२ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठक्कर खाँदा घाइते भएका विङ्गरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५÷३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी दुवै सवारी साधनका गरी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

