पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  काठमाण्डौँ:    बिहान जोरपाटीको एक घरमा बोरिङ खन्नेक्रममा बिहान करिब १० बजे तिर लेदो माटो र पानीको फोहोरा निक्लिएको थियो ।    लेदो माटो र पानीको फोहोरा निरन्तर रुपमा निक्लिएपछि खानी तथा भूगर्भविद्को टोलीले छानबिन गरेको थियो ।    छानबिनपश्चात लेदो र पानीको फोहोरा नभई मिथेन ग्यास रहेको ग्यास शाखा प्रमुुख वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले बताए । ‘जमिन मुनि जम्मा भएर बसेको मिथेन ग्यास ड्रिलिङ गर्ने क्रममा निक्लिएको हो, उनले भने, ‘यस्ता ग्यास सामान्यतया पानीसँग मिसिएर बसेको हुन्छ ।’    उनले यसलाई कुनै ठुलो घटना नभई सामान्य प्राकृतिक प्रक्रिया भएको उल्लेख गरे । ‘यो ग्यास कहिले निक्ल्नि बन्द गर्छ त्यो ग्यासको मात्रा कति छ त्यसमा भर पर्छ । यो कुनै खतराजन्य छैन्, ग्यासको मात्रा सकिएपछि आफै निक्लिन बन्द हुन्छ ,उनले भने ।

पोखरा:     राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार मनोज घर्तीमगर पुरस्कृत हुने भएका छन् ।   नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा र पत्रकारितामार्फत उजागर गरेको भन्दै पत्रकार घर्तीमगर पुरस्कृत हुने भएका हुन् ।   पत्रकार घर्तीमगरलाई पुरस्कार छनोट समितिका संयोजक नेपाल  मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष मान बहादुर घर्ती (एमबि आस्था) मगरको संयोजकत्वमा मंगलबार बसेको बैठकले पत्रकार मनोज घर्ती मगरलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव उमा आले मगरले जानकारी दिइन् ।   उनका अनुसार सो पुरस्कार अर्पण आगामी साउन १५ गते पोखराको होटल पौवामा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । सो अवसरमा पत्रकार घर्ती मगरलाई नगद रु १० हजार र ताम्रपत्रद्वारा पुरस्कृत गरिने आलेमगरले जानकारी दिइन् । पुरस्कृत हुने घर्तीमगर अधिवक्ता समेत हुन् ।   यसअघि उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणमा कलम चलाउँदै आएका पत्रकारहरु कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की) , प्रताप राना मगर (तनहु) र मान बहादुर घर्ती (एमबी आस्था) मगर (कास्की) पुरस्कृत भईसकेका छन् ।    

  बागलुङ:    बागलुङ नगरपालिका– १२ अमलाचौरका ज्ञानेन्द्र ढकालको वर्ष दिन खान पुग्ने धान फल्ने खेत साउन सुरु हुँदासमेत बाँझै छ । विगतका वर्षमा यो बेलासम्म रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो । तर, यसवर्ष पाकेको मकै थन्क्याएको केही दिन भयो । रोपाइँको तयारीको लागि खेतका गह्रा खाली गरिए । तर, वर्षा नहुँदा ढकालको काम आकाश नियाल्ने मात्रै भएको छ ।   असारको अन्तिम सातायता भल चल्ने गरी बागलुङमा पानी परेको छैन् । असारको अन्तिम साताको एक दिनको वर्षाले एक दिन मात्रै रोपाइँ गर्नुभएका अमलाचौरकै गेश्वर घिमिरेले पनि अझै पाँच/सात दिन रोपाइँ गुर्नपर्ने छ । खेतको छेवैमा भएको खहरे खडेरीले सुक्न थालेपछि ढकाल र घिमिरे जस्ता किसान मर्कामा छन् । “गज्जबले वर्षा भइदिएको भए खेतमै मूल फुट्थ्यो, भल छोपेर रोपाइँ गरे पनि धानलाई पानी पुग्थ्यो”, ढकाल भन्नुहुन्छ, “२५ रोपनी खेत अझै बाँझो गाभो हाल्नै पाइएन् ।”पोहोर सालको तुलनामा यो वर्ष असारमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएको किसानको गुनासो छ । असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बूढिएर रोप्नै नमिल्ने भइसकेको छ ।    मनसुन सुरु भएको समाचार आएपछि काचोँबाली मकैसमेत थन्क्याएका किसानले समयमा रोपाइँ गर्न नपाएको गुनासो गर्न थालेका छन् ।  जिल्लाभर कुलो र नहरको सुविधा भएको, खोला तथा नदी किनार र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुन सकेको छैन । वर्षा भएको बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रोपिएका खेतहरू पनि सिँचाइको समस्यामा पटपटी फुटेका छन् ।   “यस्तै खडेरी रहने हो भने त यो वर्ष रोपाइँ गर्न पाइन्छ की पाइदैन्”, किसान घिमिरेले भन्नुभयो, “जसोतसो रोपेपनि धाँजा फाटेर खेत हेरिनसक्नु हुन्छ, कमिलाको लाइन लागेको खेतमा के धान फल्ने आशा गर्नु ।” कृषि ज्ञान केन्द्र कार्यालय बागलुङका प्रमुख भानुभक्त भट्टराईका अनुसार आइतबारसम्म जिल्लामा करिब ७० प्रतिशत रोपाइँ पूरा भएको छ । जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छ भने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ । “मकै लगाएको खेत भएकाले ढिला भइसकेको त छैन्, तर अझै एक दुई दिन खडेरी परे रोपाइँ ढिला हुन्छ”, भट्टराईले भन्नुभयो “लामो समय पानी नपर्दा बीउ जोगाउने चुनौती हुन्छ ।” अझै पनि मूल फुट्ने गरी वर्षा हुन सकेमा रोपाइँ धमाधम गर्न सकिने किसान बताउँछन् ।    डाँडाकाँडा र लेक रहेको क्षेत्रमा छिटो रोपाइँ गर्न सकेमा मात्रै पछि समयमै धान पाक्छ र अनुकूल मौसममा थन्क्याउन पाइन्छ । बेँसीमा तापक्रमका कारण छिटो धान पाक्ने भए पनि लेकमा ढिला गरी पाक्छ । तिनै लेकमा साउन लाग्दासम्म पनि रोपाइँ हुन नसक्दा यसवर्ष धान नै उत्पादन गर्न नसकिने चिन्तामा किसान छन् ।

  काठमाडौं:    काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाट मङ्गलबार तीन वटा दमकल ल्याएको छ ।    काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले अत्याधुनिक प्रविधिसहित त्यहाँबाट तीन वटा दमकल नेपाल ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन हजार लिटर क्षमता भएको ती दमकलले १० तलासम्म आगो निभाउन सक्नेछन् ।   पिटिज्याक कम्पनीले निर्माण गरेको दमकल काठमाडौंसम्म ल्याइपुग्दा दुई करोड ४० लाख रुपियाँ लागत परेको उहाँले जानकारी दिनुभयो । उहाँले ती दमकल काठमाडौंका बालाजु, धर्मपथ न्यूरोड र बौद्धस्थित रामहिटिमा  राखिनेछन् ।   दमकल सञ्चालनमा आउन करिब १५ दिन लाग्नेछ भने इन्डोनेसियाबाट आउने प्राविधिकहरूले दमकल सञ्चालन गर्ने छन् । काठमाडौं आइपुगेको दमकल यसअघिका महानगर प्रमुख विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो ।

कालिकोट:    कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो ।   “गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि बिदामा बसेको सुनियो  । एकहप्तादेखि स्वास्थ्यचौकी बन्द छ । उपस्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ”, स्थानीय रामबहादुर बटालाले गुनासो गर्नुभयो ।    उपस्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सोमबार गर्भवतीले स्टेचरमा नै नवशिशुको जन्म दिनुभएको थियो । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा ‘बर्थिङ सेन्टर’ बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले जानकारी दिनुभयो । “दुई स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ । करार कर्मचारी हटाइएको छ”, उहाँले भन्नुभयो, “यसकारण सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो ।”   उहाँले यसभन्दा अगाडिका करारका स्वास्थ्यकर्मी शान्ति बुढालाई फोन गरेर ती गर्भवतीलाई सेवा दिन आग्रह गरेको र सुत्केरीको ज्यान जोगिएकोे भनाइ छ । “अहिले आमा तथा नवशिशुको अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “ढिलै भए पनि आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ ।”

  सुर्खेत:     पछिल्लो समय सुर्खेतमा लागुऔषधका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयमा तीन वर्षको अवधिमा लागुऔषधका १८० मुद्दा दर्ता भएका र त्यसमा सम्लग्न २९२ प्रतिवादी पक्राउ परेका छन् ।        प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा लागुऔषधका ५२ मुद्दा दर्ता भएका र त्यसको कारोबारमा सम्लग्न छ महिलासहित ९० जना पक्राउ परेका थिए । आव २०७७/०७८ मा सोही प्रकारका ४९ मुद्दा दर्ता भएकामा कारोबारमा सम्लग्न आठ महिलासहित ६९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । आव २०७८/०७९ मा ७९ वटा मुद्दा दर्ता भएकामा त्यसमा सम्लग्न नौ महिलासहित १२३ पक्राउ परेका थिए ।       जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले प्रहरीको सक्रियताका साथै  सचेतना अभिवृद्धि गराइएका कारण धेरै मुद्दा दर्ता भएको जानकारी दिनुभयो । “पछिल्लो समय प्रहरीको सक्रियता बढेको छ”, उहाँले भन्नुभयो, “सबैतिर सचेत गराउँदै आइएको भएर पनि होला लागुऔषधको विषयमा हामीलाई सूचना आउने गर्दछ त्यसकारण सूचनाको आधारमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन सहज भएको छ ।” प्रहरीको तथ्याङ्कअनुसार आव ०७६/७७ मा  ९८ ग्राम ४३० मिलीग्राम ब्राउन सुगर, चार किलोग्राम ३२८ चरेस, ३३२ ग्राम ७३० मिलीग्राम गाजा बरामद गरिएको थियो । ७७/७८ मा ९२ ग्राम ६४० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको थियो      यस्तै ७८÷७९ मा १८७ ग्राम ९४० मिलीग्राम ब्राउन सुगर, सात ग्राम १४० मिलीग्राम ह्वाइट सुगर, २५२ ग्राम ९३० मिलीग्राम गाजाका साथै  नाइट्राभेट, ट्रामोल, कोरेक्सलगायत ट्याब्लेट पनि बरामद गरिएको जनाएको छ । 

  अछाम:   अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको  मध्यपहाडी सडकमा सोमबार राती पहिरो जाँदा सडक अवरुद्ध भएको छ  ।  नगरपालिकाको वडा नम्बर ३ र ४ को दरेपाटा भन्ने स्थानमा सडक भन्दा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो ।   पहिरोले मध्यपहाडी सडक अवरुद्ध हुँदा अछामबाट सुर्खेत, दैलेखलगायत आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् । राति नै पहिरो आएकोले अहिलेसम्म पहिरोका कारण सवारीसाधन रोकिएको स्थानीय सुरेश रावतले जानकारी दिनुभयो ।   आफूमा जानकारी नआएको तर सडक सुचारू गर्न आवश्यक भएको नगरपािलकका उपप्रमुख हर्कबहादुर रावलले जानकारी लिनुभयो । पानी परिरहेकोले फोन सम्पर्क हुनेबित्तिकै सडकको पहिरो सफा गरेर यातायात सञ्चालन ल्याउनुपर्ने माग स्थानीयले गरेका छन् । 

  केरला:     छात्राहरूलाई परीक्षा हलमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन लगाएको भन्दै केरलामा अविभावकले प्रहरीमा उजुरी दिएका छन्। स्थानीय मार थोमा इन्स्टिच्युट अफ इन्फरमेशन टेक्नोलोजीमा राष्ट्रिय योग्यता प्रवेश परीक्षा (नीट) का लागि उपस्थित छात्राहरूलाई परीक्षा कक्षमा प्रवेश गर्नुअघि आफ्नो भित्री लुगा हटाउन आग्रह गरिएको पिडित छात्राहरूले बताएका छन्।    कोल्लममा एक विद्यार्थीले प्रहरी उपरीक्षकमा उजुरी दर्ता गरेपछि घटना प्रकाशमा आएको हो। रिपोर्टअनुसार, अविभावकहरूले उक्त छात्राहरूलाई अन्य छात्र तथा परीक्षामा खटाइएका पुरुष ‘इन्भिजिलेटर’को अगाडि भित्री लुगा नलगाई परीक्षामा उपस्थित हुन बाध्य गराइएको भन्दै यसले उनीहरूलाई मानसिक तथा शारीरिक तवरमा विचलित तुल्याएको दावी गरेका छन्।    मेरी छोरी ८ कक्षादेखि नै नीट परीक्षाको तयारीमा जुट्दै छिन्। हामी विश्वस्त थियौं कि उनले परीक्षामा राम्रो श्रेणी प्राप्त गर्नेछिन् तर यस मुद्दाको कारण उनको ध्यान मनोवैज्ञानिकरूपमा अन्यत्र गएका कारण परीक्षामा राम्रो गर्न सकिनन्,  रूष्ट एक विद्यार्थीका पिताले एएनआईसँग भने।    राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए)को मार्गनिर्देशनलाई उद्धृत गर्दै अभिभावकले भने, ‘कुनै पनि प्रकारको भित्री कपडा लगाउन प्रतिबन्ध लगाइएको छैन । हामीले सबै निर्देशनहरू पालन गरिरहेका थियौं। तर कर्मचारीहरूले भित्री लुगा नहटाइकन कक्षा कोठामा प्रवेश गर्न दिएनन्।   राज्यको महिला आयोगले पनि घटनाको विषयमा छात्राहरूको अधिकार हनन गरिएको भनी‘सुओ मोटा’ मुद्दा दर्ता गरेको छ।    

काठमाण्डौँ:  अन्नको भण्डारण मानिएको मधेस प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित भएका छन् । समयमा पानीपरेको भए मधेसका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । अहिलेसम्म करिब ५७ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुनसकेको जनाइएको छ ।   समयमा वर्षा नहुँदा प्रदेशको ४३ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका बाली विकास अधिकृत मनिषकुमार पालले जानकारी दिनुभयो । अहिलेसम्म प्रदेशमा सबैभन्दा बढी सप्तरीमा ७५ प्रतिशत र सबैभन्दा कम पर्सामा ४२ प्रतिशत जग्गामा धान रोपाइँ भएको उहाँले बताउनुभयो । गत असारको दोस्रो सातायता वर्षा नहुँदा पनि वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसानहरूले धान रोपाइँ गरिरहेको उहाँको भनाइ छ ।    उहाँका अनुसार बारामा ६०, सिरहा र सर्लाहीमा ५५ , रौतटहमा ५० , महोत्तरीमा ४५ र पर्सामा ४२ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।  पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै सप्तरीमा कूल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा, सिरहामा कूल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ ।   त्यस्तै महोत्तरी जिल्लामा ६७ हजार ३५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ५०० हेक्टरमा, बारामा ६२ हजार ८२३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकामा ४६ हजार २० हेक्टरमा, रौतहटको ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकामा ३८ हजार १०० हेक्टरमा धानखेती हुने गरेको मन्त्रालयले जनाएको छ ।    यस्तै धनुषामा ७६ हजार ५३१ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा र सर्लाहीको ८४ हजार ६७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ७०० हेक्टरमा धान रोपाइँ हुन्छ । तर यस वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको, ढिलाइ गरी धान रोपाइँ गर्ने प्रवृत्ति र समयमा वर्षा हुनुको कारण अन्नको भण्डार मानिएको मधेस प्रदेशमा अपेक्षाकृत धान रोपाइँ हुन नसकेको अधिकृत पालले जानकारी दिनुभयो ।   लामो समयदेखि वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भने अधिकांश किसान अझै आकाशे पानीको प्रतिक्षमा छन् । एकातिर किसानले जेनतेन वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर धान रोपाइँ गरे पनि वर्षा नहुदाँ रोपो सुक्न थोलेको छ । ‘‘पान्नी तान्ने मोटर लगाएरै करिब एक बिघा जग्गामा धान रोपाइँ गरेँ”, धनुषाधाम नगरपालिका–४ का किसान सुगम्बर यादवले भन्नुभयो, “वर्षा ठयाप्पै रोकिएपछि अहिले रोपिएको धानमा डढेलो लाग्न थालेको छ ।” अब पनि केही दिन पानी नपरे रोपाइँ गरिएको धान नष्ट हुन्छ”, उहाँको चिन्ता छ ।    ठूलो मूल्य र परिश्रम गरेर रोपाइँ गरिएको धानबालीमा पानीकै अभावमा डढेलो लाग्दा आफूहरु चिन्तामा डुबेको किसानको भनाइ छ । सिँचाइका लागि कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले निर्माण गरेको पूर्वी र पश्चिमी नहर प्रणालीबाट सिरहा र धनुषाको करिब २५ हजार हेक्टर क्षेत्रमा मात्र सिँचाइको व्यवस्था पुगेको छ । तर लामो समयदेखि वर्षा रोकिएर कमला नदीमा पानीको सतह कम भएका कारण किसानलाई सिँचाइ गर्न समस्या भइरहेको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।   “साधारणतया कमला नदीमा पानीको स्तर बढ्दा किसानलाई सिँचाइ गर्न सहज हुन्छ, तर अहिले नदीमा पानी नै छैन”, उहाँले भन्नुभयो, “पूर्वी र पश्चिम नहर प्रणालीका कारण दुवै जिल्लातर्फ सिँचाइको पहुँच पुगेको त छ, तर वर्षा नै नभएपछि नदीमा पानी छैन, जसले गर्दा किसानलाई सिँचाइ गर्न समस्या भएको हो ।”    सिँचाइबाहेक मलखाद्य र कृषि मजदुरको आभावमा पनि बर्सेनि धानखेती प्रभावित हुँदै आएका छन् । एकातिर सिँचाइ अभाव अर्कातिर आवश्यकतानुसार कृषि मजदुर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । यसरी सिँचाइ, मलखाद्य र मजदुर आभावमा मधेस प्रदेशमा धान रोपाइँ प्रभावित हुँदा भोकमरीको चिन्ता बढेको कृषिविज्ञको भनाइ छ । मधेसका जिल्लामा बर्सेनि भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ ।