काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभएको छ । केही समय मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताउनुभयो । वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामथ्र्यको विकास गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘केही मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैलदै जाने खतरा देखिएको छ । अझ यसलाई पूर्णरुपमा नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामथ्र्य हामीले विकास गर्नुपर्ने खाँचो छ ।’’ क्यान्सर जस्ता घातक रोगहरुको समयमै सहज ढङ्गले उपचार हुने व्यवस्था मिलाउन पनि सम्बन्धित स्वास्थ्य संस्थाहरुले ध्यान दिने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो । ‘‘भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोगहरु छन् भन्ने विश्व स्वास्थ्य संगठनले पूर्व अनुमान गरेको छ । हामीले पनि नसर्ने रोगका बिरामीहरुलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यकता छ ।,’’ प्रधामन्त्रीले भन्नुभयो । प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको पनि बताउनुभयो । स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा संविधानमै व्यवस्था गरेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्रीले सरकारले त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत गरेको जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता हो । नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हकअन्तर्गत समावेश गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेको छ । तसर्थ, नेपाल सरकार सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउन कटिबद्ध । स्वास्थ्य क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ बजेट छुट्टयाएको छ । यस क्षेत्रको भौतिक संरचनाको निर्माण तथा मानवीन जनशक्तिको विकासलगायतका कार्यका लागि विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको छ ।’ प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढङ्गले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरेपनि त्यसको सदुपयोग गर्न नसकेको बताउनुहुँदै वीर अस्पताल व्यवस्थापनको आलोचना गर्नुभयो । वीर अस्पताल मुलुकको सबैभन्दा जेठो अस्पताल भएको उल्लेख गर्नुहुँदै राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको विकासमा ध्यान दिनुपर्ने औंल्याउनुभयो । यसैगरी, वीर अस्पतालका कार्यबहाक प्रमुख प्रशासकीय अधिकृत डा। भुपेन्द्रकुमार बस्नेतले बिरामीहरुको चापलाईं धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन सरकारसँग माग गर्नुभयो । उहाँले पूराना भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि अस्पताललाई बजेटको समेत आवश्यकता रहेको बताउनुभयो ।
तम्घास: गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तम्घासबाट निर्माणका सामग्री लिएर पौदी अमराई जाँदै गरेको लु.२ त ५६०३ नम्बरको ट्याक्टर जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बरको २ को देउरालीमा दुर्घटना भएको हो । दुर्घटनामा मालिका गाउँपालिकाका २२ वर्षीय दीपक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । ट्याक्टरबाट लडेर घाइते भएका परियारको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पामा थप उपचारको क्रममा राति २ बजे मृत्यु भएको खरेलले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
बागलुङ : कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गर्नुभएको छ । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो । गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको राजभण्डारीले टेलिफोनमार्फत जानकारी दिनुभयो । “प्रत्यारोपण सफल भयो, अहिले बुबा र मेरो स्वास्थ्य अवस्था सामान्य नै छ”, उहाँले भन्नुभयो, “बुबा अझै केही दिन चिकित्सकीय निगरानीमा सघन कक्षमा रहनुहुन्छ ।” गत माघमा स्वास्थ्यमा एक्कासी समस्या देखिएर पोखराको गण्डकी मेडिकल कलेजमा परीक्षण गराउँदा बुबाको कलेजोमा खराबी देखिएको राजभण्डारीले बताउनुभयो । “थप उपचारलाई काठमाडौँको ग्राण्डी अस्पताल पनि लगियो, चिकित्सकले अरु उपचारले नहुने र कलेजो प्रत्यारोपण नै एकमात्र विकल्प रहेको बताएपछि बुबालाई कलेजो दिने निर्णयमा म पुगेँ ।” नेपाली चिकित्सककै राय, परामर्शमा कलेजो प्रत्यारोपणका लागि नयाँ दिल्ली आएको उहाँको भनाइ छ । ४३ वर्षीय राजभण्डारीले आफू र बुबाको स्वास्थ्य लाभको कामना गर्ने र सदासयता राख्नेप्रति आभारी रहेको जनाउनुभयो । कलेजो दान दिएर बुबाको जीवन बचाएकामा धेरैले उहाँको प्रशंसा गरिरहेका छन् ।
काठमाडौँ : गृहमन्त्रालयले भ्रमण भिसाबाट सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न नागरिकमा अनुरोध गरेको छ । पछिल्लो समयमा भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फर्कनुपर्ने लगायतका समस्या देखिएको भनी गुनासो आएको भन्दै मन्त्रालयले रोजगारीको मनसाय राखी भ्रमण भिसामा विदेश नजान अनुरोध गरेको हो । त्यसरी जाँदा समस्यामा परी अलपत्र पर्ने क्रम बढेको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ । यसरी गैरकानुनी रुपमा विदेश गई समस्यामा परेकालाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउनसमेत नेपाल सरकारसँग कुनै कानुनी आधार नरहने पनि मन्त्रालयले जानकारी गराएको छ । विज्ञप्तिमा त्यसरी जाने व्यक्तिले प्रचलित कानुनअनुसार श्रम स्वीकृत लगायतका प्रक्रिया पूरा गरेर मात्र जान अनुरोध गरिएको छ । साथै, स्थानीय तहले समेत आफ्नो क्षेत्रका नागरिकले विदेश भ्रमण वा रोजगारीमा जाँदा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । भ्रमण भिसामा विदेश जानेले पर्यटकको रुपमा मात्र प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।
म्याग्दी : म्याग्दी सदरमुकाम बेनीमा तीन सय वर्ष पहिलेको ऐतिहासिक धरोहर मानिएको बर्खेनाच सुरु भएको छ । वि.सं १७६० को दशकमा बेनीमा बस्ती बसेपछि भक्तपुरबाट नेवार समुदायका मानिसहरु यहाँ बसाइँसराइ गरी आएका थिए । त्यतिबेलादेखि नै बेनीमा बर्खेनाच देखाउने परम्परा बसेको हो । प्राचीन समयमा समाजमा खलपात्रका रुपमा चिनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतीक बनाई त्यसलाई बध गरेर (मारेर) कालीगण्डकीमा विसर्जन गरेसँगै एकमहिने बर्खे नाच सुरु भएको हो । नेपाल भाषा मंकाः खलको आयोजनामा मङ्गलबार सङ्गमचोकबाट तीनखुट्टे राक्षसको प्रतीकात्मक आकृतिलाई बजार परिक्रमा गराई बध गरेर कालीगण्डकी नदीमा विसर्जन गरिएको थियो । घण्टाकर्णलाई नदीमा बगाएपछि बर्खेनाच औपचारिक रुपमा सुरु हुने नेपाल भाषा मंकाः खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । “हिजो घण्टाकर्णको बध गरी कालीगण्डकीमा विसर्जन गरियो, आजदेखि बर्खेनाच सुरु भएको छ”, उहाँले भन्नुभयो । बर्खेनाचअन्तर्गत लाखेनाच, रोपाइँ नाच, घोडा नाच, नागानागिनी नाच, श्रीकृष्ण र रथयात्रा, हनुमान नाच आदि पर्दछन् । तर पछिल्लो समय कलाकारहरुको अभावमा हनुमान नाच देखाउन छाडिएको छ । बर्खे नाचमा मंकाः खल अन्तर्गतको युवा सङ्गठन ल्याम्हपुचले आवश्यक तयारीसहित सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । जनशक्तिको अभावका कारण हनुमान नाच, रोपाइँ लगायतका केही नाचहरु सञ्चालन गर्न नसकिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । बर्खेनाचअन्तर्गत जनैपूर्णिमाको दिन र भोलिपल्ट वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात् नागानागिनी नाच निकाल्ने चलन छ । समाजमा दुःख दिएको र विकृति फैलाउने घण्टाकर्णको विसर्जनपछि पति वियोगमा परेकी राक्षसको पत्नीले देखाउने चरित्रलाई बर्खे नाचमार्फत प्रदर्शन गर्ने मंकाः खलका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिन्छ । बर्खेनाचको समापनसँगै चाडपर्वको रौनकता छाउने भएकाले पनि बेनीबजारमा यसको महत्व धेरै रहेको छ । बेनीमा देखाइने बर्खे नाच नेवारी समुदायको परम्परागत संस्कृति हो । बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसाबास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन् । सदरमुकाम बेनीबजारमा तीनसय वर्षपहिले मानव बस्तीको विस्तार भएदेखि नै बर्खे नाच सुरु गरिएको बताइन्छ । बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजय हुने सन्देशसहित यो नाच समाप्त हुने प्रचलन रहेको छ ।
काठमाडौँ: अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब १६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ । सडक निर्माण र स्तरोन्नतिमा जोड दिएको गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा १५ दशमलव ९४ किलोमिटर सडकको मार्ग खोलिएको पूर्वाधार शाखाले जनाएको छ । गाउँपालिकाका इन्जिनियर ईश्वरबहादुर भण्डारीले तीन सय २० मिटर सडकमा ग्राभेल, पाँच सय ४२ दशमलव ५३ मिटर सोलिङ, दुई सय ३४ मिटर सडकमा आरसिसी ढलान र कजवे निर्माण, छ वटा कल्भर्ट, ५७ दशमलव चार मिटर नाली निर्माण भएको जानकारी दिनुभयो । खिवाङ–घराम्दी र राम्चे–घोडेपानी जोड्ने सडकको मार्ग निर्माण तथा महभिर–हिस्तान–राम्चे सडक स्तरोन्नतिलाई प्राथमिकता दिइएको थियो । घोडेपानीबाट फूलबारी र राम्चेबाट आहालडाँडाबाट सडक निर्माण थालिएको छ । खिवाङतर्फबाट घराम्दी जोड्ने सडकको मार्ग खोल्ने उद्देश्यले सडक निर्माण गरिएको छ । दुई हजार आठ सय ७४ दशमलव आठ घनमिटर ग्यावियन पर्खाल र एक सय ३२ दशमलव ५३ घनमिटर रिटेनिङ पर्खाल निर्माण भएको छ । वडा नं ४ र ५ मा दुई/दुई र १ मा एकवटा झोलुङ्ग पुल निर्माण गरिएको छ । गाउँपालिकाको कार्यक्रमबाट एक हजार दुई सय २४ दशमलव पाँच मिटर नयाँ पदमार्ग निर्माण र दुई हजार आठ सय ९६ दशमलव ७५ मिटर पदमार्ग स्तरोन्नति भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई हजार पाँच सय मिटर पदमार्ग निर्माण गरिएको छ । यस वर्ष १९ घरमा नयाँ धारा जडान, ११ हजार चार सय ४७ दशमलव छ मिटर खानेपानी लाइन विस्तार, ३३ हजार लिटर क्षमताका ट्याङ्की निर्माण, ढल निकासका लागि सात सय २६ मिटर पाइपलाइन विस्तार र १२ वटा च्याम्बर बनाइएको छ । सामुदायिक तथा विद्यालय, मन्दिर, सभाहल र शौचालय २४ वटा निर्माण गरिएका तथा १३ वटाको मर्मत भएको छ । सरकारी अनुदानमा मनसुनजन्य विपद् प्रभावितका आठ घर निर्माण गरिएका छन् । दुईवटा प्रवेशद्वार र एकवटा पार्क निर्माण गरिएको छ । पूर्वाधारसम्बन्धी एक सय ६४ वटा योजना रहेकामा एक सय ६१ वटा सम्पन्न भएका गाउँपालिकाका सूचना अधिकारी हरिकृष्ण आचार्यले बताउनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीले काम नगरेपछि रु ५० लाख विनियोजन भएको खिवाङ खानेपानी आयोजनाको ठेक्का रद्द गरिएको छ । तीन योजनाको ठेक्का सम्झौता गरिएको थियो । लेखापाल प्रेम पराजुलीले गत आर्थिक वर्षमा चालुतर्फ ७७ दशमलव ९६ र पूँजीगततर्फ ७८ दशमलव शुन्य छ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो ।
काठमाडौँ: नेपालभरि ९४ प्रतिशत जनतामा खानेपानीको सुविधा पुगेको छ । नेपाल स्वास्थ्यका लागि पानी नेवाले गरेको अध्ययनमा उक्त तथ्याङ्क देखिएको हो । सरकारको खानेपानीको प्रतिवेदनमा पनि सोही तथ्याङ्क छ । नेवाले खानेपानीमा काम थालेको ३० वर्ष पुगेको अवसरमा आयोजित एक अन्तरक्रियामा संस्थाका क्षेत्रीय प्रबन्धक कुमार सिलवालले नेपालभरि ९४ प्रतिशत, गण्डकी प्रदेशमा ९० प्रतिशत र बागलुङमा ९२ प्रतिशत खानेपानी पुगेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । नेपालभर सम्पन्न भएका ४२ हजार ३९ आयोजनाबाट उक्त सफलता मिलेको बताइएको हो । नेवाले पनि ३० वर्षमा ४० हजार धारा बनाएको बताइएको छ । दुई हजार ५३८ योजना सम्पन्न गरेर २२ लाख जनतालाई खानेपानीको व्यवस्था गरेको नेवाका केन्द्रीय कार्यालयका प्रतिनिधि महेश्वरप्रसाद यादवले बताउनुभयो । नेवाले नेपालका ६ सय ८५ विद्यालयमा पनि खानेपानीका योजना बनाएको हो । ६२१ विद्यालयमा शौचालय बनाएको र आमजनताको घरघरमा गरी एक लाख ४५ हजार ९६२ शौचालय बनेको यादवले बताउनुभयो । कतिपय जिल्लाका तत्कालीन गाविसहरु खुला दिसामुक्त घोषणामा पनि संस्थाले काम गरेको थियो । हाल खानेपानीको सुविधा पुगे पनि शुद्ध पानी अभाव भएकाले संस्थाले अबका दिनमा शुद्धता र गुणस्तरमा ध्यान दिनुपर्ने सरोकारवालाले आग्रह गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले शुद्ध खानेपानी जनताको मौलिक हक भएको जनाउँदै हिजोका दिनमा पानी लैजानु मात्रै ठूलो कुरा हुन सक्ने भए पनि अब भने शुद्ध पानी वितरणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जनतालाई कम भार पर्ने गरी पानीका योजना निर्माण गर्न स्थानीय पालिकासँग समन्वय सहकार्य बढाउनुपर्ने सुझाव पनि दिनुभयो । कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले वित्तीय समानीकरण लगायतका बजेट परिचालन गर्न खानेपानी निर्माणमा जनताले धेरै लगानी गर्नु परेको बताए । नेवाको सहकार्यमा तमानखोलामा सयौँ धारा निर्माण भएको जनाउँदै अझै पनि धेरै योजना बनाउने काममा अन्य पालिका पनि लाग्नुपर्ने बताउनुभयो ।
गण्डकी: कृषिप्रधान देश नेपालमा आधुनिक प्रविधिसँगै भित्रिएका कृषि उपकरणको बढ्दो क्रमले यतिखेर अधिकांश स्थानमा हलोको प्रयोग हुन छाडेको छ । नेपालका अधिकांश ग्रामीण भेगमा पछिल्ला समयमा किसान हलो छाडेर हाते मिनि टेलर प्रयोग गर्न थालेका छन् भने समथर भू–भागमा ट्याक्टरको प्रयोग बढ्दै गएको छ । ग्रामीण भेगका टारी खेतमा अग्ला कान्ला तथा साँघुरा गरा हुने भएकाले केही स्थानमा भने अझै पनि गोरुको प्रयोग हुने गरेको स्थानीय किसान बताउँछन् । समथर ठाउँका लागि ट्याक्टरको प्रयोग बरदान नै भए पनि राम्रा मलिला खेतमा भने यसको प्रयोगले जमिनको भित्री रुखो माटो बाहिर ल्याउने हुँदा उत्पादनमा प्रत्यक्ष असर पार्ने गरेको अगुवा किसान हरिप्रसाद आचार्य बताउनुहुन्छ । “कास्कीको दक्षिणभेगस्थित सुरौदी फाँटका मलिला खेतमा ट्याक्टरको प्रयोगले भित्री रुखो माटो निकाल्ने गरेको मेरो अनुभव छ”, कुर्लिङ बराह किसान समूहका अध्यक्षसमेत रहनुभएका आचार्यले भन्नुभयो, “अन्य गेग्रानयुक्त ढुङ्गे खेतका लागि भने यसको प्रयोगले खेती गर्न सजिलोका साथै उत्पादन बढाएको छ ।” खनजोतका लागि आधुनिक उपकरणको बढ्दो प्रयोगसँगै ती उपकरण सजिलै लैजान नसकिने ठाउँमा खेतबारी बाँझै रहन थालेको किसान बताउँछन् । पछिल्ला वर्षमा त स्थानीय जातका गाई पाल्न छाडिएका कारण जोत्नका लागि गोरु पाउन पनि मुस्किल छ । विगतमा कास्की र आसपासमा सिक्लेस, गोर्जे, हङ्शपुर, माझठाना, बाबियाडाँडा, भरतपोखरी लगायतका स्थानमा गोरुको राम्रै खरिदबिक्री हुने गरेकामा अहिले भने ती ठाउँमा पनि अधिकांशले गाई पाल्न छाडेका छन् । यस क्षेत्रमा विकासी जातका गाईका बाच्छालाई गोरुका रुपमा प्रयोग गरिदैन । ग्रामीण भेगमा दाइ हाल्नका लागि गोरुको अभाव हुँदा समस्या पर्ने गरेको स्थानीय बताउँछन् । एउटा गोरु किन्न सामान्यतः रु २० देखि ३० हजारसम्म खर्चनुपर्ने किसान बताउँछन् । गोरुको अभावसँगै पछिल्ला वर्षमा परम्परागत काठे हलो बनाउने व्यक्तिको पनि अभाव खड्कँदै गएको छ । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण हुन नसक्नुका साथै त्यसबाट निर्वाहसमेत नहुने भएपछि हलो किन्नका लागि पाउन पनि मुस्किल हुने गरेको अर्का किसान टीकाराम तिवारीले बताउनुभयो । “हलो बनाउनका लागि सीप उत्तिकै आवश्यक छ, पछिल्ला पुस्तामा यसतर्फ चासो नदेखिएका कारण अहिले हलो सहज रुपमा किन्नका लागि पाउन सकिँदैन”, उहाँले भन्नुभयो । नयाँ प्रविधिका टेक्टर भित्रिए पनि त्यसलाई चलाउन सक्ने सीपका साथै सामान्य विग्रदा मर्मत गर्न समेत समस्या हुँदा कतिपय स्थानमा हलोको प्रयोग चाहेर पनि चटक्क छोड्न नसकिएको किसानको अनुभव छ । गाउँका टारीखेतमा मिनि टेलर बोकेर तलमाथि गर्नुका साथै चलाउने सीपको अभाव र मर्मतको अज्ञानता आदि समस्याका रुपमा रहेको तिवारीको भनाइ छ । पछिल्लो समयमा बढ्दै गएको ट्याक्टर एवं मिनि टेलरको प्रयोग किसान लागि बरदान सावित भएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिया बताउनुहुन्छ । आधुनिक उपकरणको प्रयोगले कृषि प्रणालीलाई छिटोछरितो र उत्पादनमुखी बनाएको जनाउँदै उहाँले विगत सात वर्ष यता यी उपकरणको खरिदमा सरकारका तर्फबाट अनुदान सहयोग उपलब्ध गराउन थालिएको बताउनुभयो । गोरुका लागि घाँस काट्ने, खुवाउने र चराउने गर्नुपर्ने भए पनि ट्याक्टर, मिनिटेलरको प्रयोग गर्दा उक्त समस्या समाधान भएको किसान बताउँछन् । छोटो समयमा धेरै काम गर्न सकिने भएकोे पनि यसतर्फको आकर्षण बर्सेनि बढ्दै गएको हो ।
काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजारभन्दा बढी फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षकोे अवधिमा एक हजार ३३१ व्यापारिक फर्म/कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो । यसबाट रु एक करोड ८१ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारवाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पङ्गेनीले जानकारी दिनुभयो । उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एकपटक सुधारको मौकासमेत दिइने गरिएको बतायनुभयो । यसअवधिमा विभागले तीन हजार १४७ फर्मको अनुगमन गर्दा ३१२ फर्ममात्र सामान्य अवस्थामा रहेको पाइएको थियो । एक हजार ७३ फर्ममा कैफियत देखिएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको, ६८५ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेश गर्न निर्देशन, ३३ फर्मबाट परीक्षण गर्न वस्तुको नमूना सङ्कलन, साधनसहित तीन जना प्रक्राउ र १३ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो । यस्तैगरी उक्त अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएकाले रु ५४ लाख लाख ८२ हजार ७११ मूल्य बराबरको वस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष सबैभन्दा धेरै कारवाही खाद्यान्न तथा किराना पसललाई गरिएको छ । एक वर्षको अवधिमा ८३८ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गर्दा ४२९ फर्मलाई आर्थिक जरिवाना गरिएकोे हो । यस्तै, ११९ फार्मेसी पसलको अनुगमन गर्दा ३९, २३३ कस्मेटिक तथा कपडा पसलको अनुगमन गर्दा २५ पसललाई कारवाहीस्वरुप आर्थिक जरिवाना गरिएको उल्लेख छ । यस्तैगरी, ४ स्टेशनरी, तीन सर्जिकल हाउस, २९ वटा अण्डा तथा मासु पसल, पाँच वटा मार्ट, छ वटा फ्युल तथा कोइला पसल, १७ वटा ग्यास, नौ वटा चस्मा पसल, ११ वटा डिर्पाटमेन्ट स्टोर, १४ वटा पानी उद्योग, १७ वटा मदिरा तथा पेय पदार्थ, ४३ वटा फलफूल तथा तरकारी पसल, १८ वटा दुग्धजन्य पदार्थ तथा बेकरी उद्योग र ६६० अन्य फर्मलाई कारवाही गरिएको निर्देशक पङ्गेनीले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले नियमितरुपमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, तरकारी तथा पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाइ तथा इलोक्ट्रोनिक्सलगायतका पसलको अनुगमन गर्दै आएको छ । विभागले दैनिक उपभोग्य वस्तुको गुणस्तर र मूल्यमा केन्द्रित भएर दैनिक बजार अनुगमन गर्ने गरेको जनाइएको छ । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई रु पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।

