पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

  काठमाडौँ:    माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने  भन्ने चिन्तामा छन् ।  अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही बालबालिकाको रुचिअनुसारको विषय अध्यापन गराउने तयारीमा छन् ।   जोशीपुरका दिपीका ढुङ्गानाकी छोरी एसइई उत्र्तीण हुनुभयो । उहाँ छोरीको रुचि र क्षमताअनुसारको विषय अध्यापन गराउनेमा तयार हुनुहुन्छ । “छोरी ३ जिपिए ल्याएर उत्तीर्ण भएकी छिन्, उनले पहिला राम्रो विषय अध्ययन गर्नु भनेकी थिइन् तर अहिले नतिजा खासै राम्रो आएन, सक्दिनकी भन्न थालेकी छिन्’’, उहाँ भन्नुहुन्छ, ‘‘बच्चालाई अनावश्यक दबाब दिनुभन्दा उहाँले सक्ने र रुचि भएको विषय छनोट गर्न भनेका छौँ । शिक्षकसँग पनि परामर्श लिइरहेका छौँ ।’’   लम्कीचुहा नगरपालिकाका लोकबहादुर देउवाकी भतिजी पनि यस वर्षको एसइईमा उत्र्तीण हुनुभएको छ । देउवाको परिवार छोरीको नतिजापछि कुन विषय पठाउने भन्नेबारे छलफलमा छन् । ‘‘हामी छोरीको नतिजापछि हिजोमात्रै छलफलमा बस्यौँ, छोरीको रुचिबारे छलफल भयो,  उनलाई विषय छनोट र त्यसका फाइदाबारे समेत जानकारी दिने काम गरेका छौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘छोरीको रुचिसँगै उनको भविष्य कसरी सुरक्षित गराउन सकिन्छ भन्नेबारे पनि हामी सचेत छौँ ।’’   देउवा परिपक्क नभएका बालबालिका कहिलेकाहीँ सही विषय छनोट गर्न नसक्ने भएकाले बालबालिकलाई परिवार र शिक्षकले विषय छनोटमा सघाउनुपर्ने बताउनुहुन्छ । ‘‘हामीले छोरीलाई दबाब होइन सही सल्लाह भने दिनुपर्छ’’, उहाँ भन्नुहुन्छ ।   टीकापुरका सरोज चौधरी यसवर्ष एसइई उत्र्तीण हुनुभएको छ । यसअघि विज्ञान विषय पढ्ने तयारीमा रहेका सरोज राम्रो नतिजा नआएपछि भने अन्योलमा हुनुहुन्छ । ‘‘विज्ञान पढ्ने र पछि डाक्टर पढ्ने सोचमा थिएँ, तर एसइईमा राम्रो नजिता ल्याउन सकिएन’’, उहाँ भन्नुहुन्छ, ‘‘परिवारले विज्ञान विषय नै पढ्न भनेका छन्, शिक्षकले भने व्यवस्थापन विषय पढ्न सल्लाह दिनुभएको छ । म भने अन्योलमा छु ।’’   कैलालीकै नन्दा विक पनि यस्तै समस्यामा हुनुहुन्छ । उहाँलाई शिक्षातर्फ अङ्ग्रेजी पढ्न मन छ । उहाँको परिवारले अनिवार्य विज्ञान पढ्न भनेको छ । ‘‘मलाई विज्ञान पढ्न मनै छैन, नजिता आएको दिनदेखि मलाई खुसीभन्दा तनाव छ’’, उहाँले भन्नुहुन्छ, ‘‘बुबाआमाले विज्ञान पढेमा पछि धेरै बाटा खुल्ने बताउनुहुन्छ । मलाई चाँही अंग्रेजीमै रुचि छ । अभिभावक फकाउने काममा लागेकी छु ।’’   अभिभावक पनि बालबालिका परिपक्व नभएकाले विषय छनोट गर्दा ध्यान नदिन सक्छन् भन्नेमा सचेत हुन आवश्यक छ । बालबालिकाले उनीहरुको क्षमता र मन लागेको विषय पढाउने विषयमा शिक्षकसँग छलफल गरेर पठाउनु आवश्यक छ । अभिभावक प्रेम रेग्मी कतिपय बालबालिका आफ्ना पुराना साथीसँगै पढ्न चाहने भएकाले समस्या हुने गरेको बताउनुहुन्छ ।    ‘‘बालबालिका रुचि, क्षमताभन्दा साथी नछुटुन भन्ने चाहन्छन्, उनीहरु सबै एउटै विषय पढौँ भनेर निर्णय लगिदिन्छन्’’, उहाँ भन्नुहुन्छ, ‘‘यस्तो बेला अभिभावकले सही मार्ग देखाउन आवश्यक छ ।’’   खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावल बालबालिकालाई एसइई परीक्षापछि पढ्ने विषयमा अभिभावक र विद्यार्थीसँग छलफल गर्ने गरिएको, बालबालिकाको क्षमता र रुचिमा अभिभावकलाई नदिन आग्रह गर्ने गरिएको बताउनुहुन्छ । ‘‘हामीलाई विद्यार्थीको क्षमता कति छ थाहा हुन्छ, उसको क्षमताअनुसारको विषय पढ्न सल्लाह दिने गरेका छौँ, अभिभावकलाई बोलाएर समेत छलफल गरिरहेका छौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘रुचि बिनाको र क्षमता बिनाको विषय पढ्न लगाउँदा बालबालिकाको भविष्य बिग्रन सक्छ । यसमा अभिभावक जिम्मेवार बन्नुपर्छ । बालबालिकाको क्षमता छैन तर विज्ञान पढ्न दबाब दिने, व्यवस्थापन पढ्न दबाब दिने अभिभावक धेरै छन् । उनीहरुलाई सम्झाउने गरेका छौँ ।’’ 

  कास्की:    कास्कीको मादी गाउँपालिका वडा नं १ का नवनिर्वाचित वडाध्यक्ष देवीजंग गुरुङ गाउँपालिकाकै कान्छा वडाध्यक्ष हुनुहुन्छ । उमेरले ३० वर्ष पुगेका उहाँ यसअघि सिक्लेस युवा क्लबलगायतका सामाजिक संस्थामार्फत क्रियाशील हुँदै आएकामा अहिले भने जनताको अभिमत पाएर वडाध्यक्षको जिम्मेवारीमा पुग्नुभएको हो । उहाँसहित निर्वाचित जनप्रतिनिधि यतिखेर जनताका काममा क्रियाशील हुनुहुन्छ ।      सिक्लेस कास्कीको पर्यटकीय गाउँ पनि हो । नेपालकै ठूलो गुरुङ गाउँका रुपमा रहेको सिक्लेसको पर्यटकीय विकास त उहाँहरूकोे प्राथमिकतामा छँदैछ ,उहाँ भौगोलिक विककटताका कारणले सहजरुपमा सेवा लिन नसक्नेका लागि विभिन्न कार्यक्रमका साथ जनतामाझ पुग्ने कार्यक्रम लिएर अघि बढ्नुभएको छ ।     राज्यले ज्येष्ठ नागरिकलगायत समाजका विभिन्न वर्ग र समुदायलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता दिँदै आएकामा कतिपयले शारीरिक अवस्थाका कारण वडा केन्द्रमा आएर सेवा लिन सकेका छैनन् । यही अवस्थालाई दृष्टिगत गरी गुरुङले आफू निर्वाचित भएसँगै टोलटोलमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना बनाउनुभयो नै त्यसको कार्यान्वयनमा पनि जुट्नुभएको छ ।     “हामीले टोलटोलमा पुगी सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेका छौँ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “भौगोलिक अवस्थिति आदिका कारण वडा केन्द्रसम्म आउन नसक्ने ज्येष्ठ नागरिक एवं सर्वसाधारणका लागि सोही टोलमा पुगेर भत्ता वितरण गरिरहेका छौँ ।” वडाको क्षेत्रफल ठूलो भएका कारण यहाँका सोँदा, खिलाङ, नयाँ गाउँलगायत टाढाटाढाका गाउँबाट सामाजिक सुरक्षा लिन वडा केन्द्र सिक्लेस पुग्नुपर्ने बाध्यता अन्त्य भएको खिलाङका ९३ वर्षीय रनसिरि गुरुङ बताउनुभयो ।     सामाजिक सुरक्षाभत्तासँगै वडाका तर्फबाट ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य समस्याअनुसार सरकारबाट प्राप्त हुने औषधि निःशुल्करुपमा उपलब्ध गराउने गरिएको उहाँको भनाइ थियो ।       समाजमा सबै वर्ग र समुदायको शिक्षामा समान पहुँच पुग्नुपर्छ भन्ने उद्देश्यका साथ वडाभित्रबाट एसइई उत्तीर्ण हुने दलित समुदायका विद्यार्थीलाई यसै वर्षदेखि १२ कक्षासम्म निशुल्क पढाउने आफूहरूको योजना रहेको उहाँको भनाइ छ ।      मादी गाउँपालिका–१ भित्र दुई वटा माध्यामिक विद्यालय रहेका छन् । वडाको सोँदास्थित दूधपोखरी मावि र सिक्लेसस्थित अन्नपूर्ण माविमा यहाँका विद्यार्थी अध्ययन गर्दै आएका छन् । वडाभित्र अध्ययन गर्ने दलित समुदायका विद्यार्थीबीचमा नै पढाइ छाड्ने गरेको बताउँदै उहाँले उनीहरूलाई पढाइप्रति अभिप्रेरित गर्न यो योजना अघि सारिएको बताउनुभयो ।     “जनताको दैनिकीसँग जोडिएका विषय नै हाम्रा प्रमुख प्राथमिकता हुन्”, उहाँले भन्नुभयो, “पाँचवर्षे कार्यकालमा यस क्षेत्रमा पर्यटन विकासका योजना ल्याउने, यातायातको सहज व्यवस्थालगायतका कामलाई प्राथमिकताका साथ अघि बढाउने हाम्रो योजना छ ।”     पर्यटकीय गाउँ सिक्लेसदेखि मनाङसम्म पदमार्ग विकास गर्न प्रयास गर्ने बताउँदै उहाँले भन्नुभयो, “यहाँबाट माछापुच्छे्र गाउँपालिकासँग जोडिने टिइँ भन्ने ठाउँ एक दिनमा पुग्न सकिन्छ, त्यहाँ जाने पदमार्गलाई प्रवद्र्धन गर्ने योजना बढाएका छौँ ।” टिइँबाट माछापुच्छ्रे, अन्नपूर्ण दुई, लमजुङ, मनास्लुलगायतका हिमाल नाङ्गो आँखाले देख्न सकिने उहाँले बताउनुभयो ।    पछिल्लो समयमा चर्चामा रहेको कपुचे हिमताल पनि यही वडामा पर्ने जनाउँदै वडाध्यक्ष गुरुङले सिक्लेसबाट उक्त तालमा पुग्न आठ घण्टा लाग्ने जानकारी दिनुभयो । उक्त मार्गको हुगु भन्ने ठाउँ नपुग्दासम्म छ घण्टाबीच बास बस्ने ठाउँ र टि सप नरहेका कारण पर्यटकलाई सहज हुने गरेर रुटको कुनै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने आफ्नो योजना रहेको उहाँले बताउनुभयो ।      उहाँका अनुसार सिक्लेसदेखि कपुचेसम्म घोडाबाट यात्रा गराउने योजनाका साथै त्यसबीचमा केही पूर्वाधार बनाउने लक्ष्य राखिएको छ । मादी गाउँपालिका वडा नं १ बाट ठूलो सङ्ख्यामा सर्वसाधारण पोखरामा रहेकाले वडा कार्यालयबाट प्रदान गरिने सबै किसिमका सेवा दिने गरी प्रत्येक दुई÷दुई महिनामा घुम्ती सेवा दिन थालिएको छ । सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सिफारिसलगायतका वडाबाट हुने काम घुम्तीसेवामार्फत पाउँदा धेरै सर्वसाधारण लाभान्वित बनेको सिक्लेस पार्चे समाज पोखराका अध्यक्ष क्या शमशेर गुरुङले बताउनुभयो ।       वडाले गत असारको ३०, ३१ र यहीसाउनको १ र २ गते पोखरामा घुम्ती सेवा सञ्चालन गरेको छ । “घुम्ती सेवाका कारण वडा केन्द्र सिक्लेससम्म पुग्न नसक्ने सर्वसाधारण लाभान्वित बनेका छन्”, उहाँले भन्नुभयो, “जनताको सेवालाई लक्षित गरी वडाका तर्फबाट गरिएका यी काम अरु स्थानका जनप्रतिनिधिका लागि पनि अनुकरणीय छन् ।”

हेटौँडा:     हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो ।    खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौँडाका उपप्रमुख राजेश बानियाँले जानकारी दिनुभयो । हेटौँडामा  खानेपानी बोर्डअन्तर्गतका झण्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागू हुने उहाँले बताउनुभयो ।   उपमहानगरले खानेपानी बोर्डमार्फत नगरवासीलाई उक्त सुविधा दिन लागेको हो । यसबाट नगरका एक लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ ।     खानेपानी उपलब्ध गराएवापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक रु दुई करोड ३९ लाख ७० हजार उपलब्ध गराउने जनाइएको छ । हाल बोर्डले उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै क्षेत्र र थप छ वडाका केही क्षेत्रका एक लाख ४५ हजार नागरिकलाई २१ हजार सात सय ५० धारामार्फत दैनिक एक करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको बोर्डले जनाएको छ ।

  काठमाडौं:     नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक भएको छ । महेन्द्र राज बराल र शान्ति श्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ । गीतमा कृष्ण बिके(भाञ्जा)को एरेञ्ज तथा पवन रानाभाटको मिक्सिङ र मास्टरिङ छ ।   भिडियोमा महेश त्रिपाठी, अलका सुवेदी, अर्जुन आचार्यलगायतका कलाकारको अभिनय छ ।   मानव सुवेदी निर्देशित भिडियोमा सौगात धितालको छायाङ्कन तथा रेनिश फागोको सम्पादन र रंग संयोजन छ ।  

  काठमाडोैँ:      सानै उमेरमा विदेश गएर धेरै दुःख पाउनुभएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसीपालन व्यवसाय सुरुआत गर्नुभएको छ । उहाँलाई विदेशमा गर्ने दुःखको आधा दुःखले पनि स्वदेशमै राम्रो पैसा कमाउन सकिँदोरहेछ भन्ने लागेको छ ।    उहाँसँग अहिले आधा दर्जन भैँसी छन् । रुकुमकोटमा दूधको माग निकै बढेको छ । दैनिक पाँच सयदेखि हजार लिटरको माग आउने बजारमा अहिले १७÷१८ लिटरदेखि लिएर ४०÷५० लिटरसम्म मात्र दूध उत्पादन गरेर बजारमा पुर्याउने गरेको उहाँले बताउनुभयो ।   यस्तै सिस्ने –६ की निशा हमालले पनि जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभएको छ । गएको वर्षमा एक रोपनी जग्गा भाडामा लिइ थोरै लगानीबाट सुरु गर्नुभएको तरकारी खेती अहिले भने १० रोपनी क्षेत्रमा विस्तार भएको छ । खेती गरिएको सबै जमिन शाहीले लिजमा लिनुभएको हो । व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ भने आफूलाई लागेपछि तरकारी खेती सुरु गर्नुभएका शाहीले अहिले आफ्नी श्रीमानलाई समेत स्वदेश फर्काउनुभएको छ ।   कृषिमै भविष्य देख्नुभएकी शाहीले दुई–चार वर्ष विदेश बस्नुभएका श्रीमानलाई  स्वदेश फर्काएपछि अहिले दुवै जना एकअर्कालाई सहयोग गर्दै कृषि कर्ममा रमाइरहनुभएको छ । रुकुमपूर्वकै पुथाउत्तरगङ्गा गाउँपालिकामा पनि सामूहिक बङ्गुरपालन सुरु भएको छ । वडा नं १२ कोलमा स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत सामूहिकरूपमा बङ्गुरपालन सुरु गरिएको हो । अहिले कोलमा उन्नत जात र स्थानीय जातको बङ्गुरपालन गरिएको छ । बङ्गुरपालन व्यवसायबाट आम्दानी राम्रो हुने स्मार्ट कृषि कोलगाउँका अध्यक्ष प्रेमकुमार गुरुङले बताउनुभयो । उहाँहरुजस्तै अन्य व्यक्तिले पनि व्यावसायिक कृर्षितर्फ पाइला अघि बढाउनुभएको छ ।   अहिले जिल्लामा उहाँहरूले कृषि पेशालाई अँगालेर जुन खालको मेहेनत गरिरहनुभएको यो साँच्चिकै उदाहरणीय छ । मान्छेले विदेशकै सपना देख्ने र स्वदेशमा भएकाहरू पनि गाउँमा काम छैन भनेर सहरबजार केन्द्रित हुँदै गर्दा कृषिबाटै उदाहरणीय काम गरी जीवनस्तर परिवर्तन गर्न सकिन्छ भनेर उहाँहरुले सन्देश दिनुभएको छ ।    युवा जमात सबै विदेशिँदा जन्ती र मलामी भेट्नै गाह्रो परेको छ ।  स्वदेशमै भएकाहरू पनि सहरबजार केन्द्रित छन् । विदेशबाट फर्केर स्वदेशमै आइ केहीले फरक तरिकाबाट पैसा कमाउने सपना देखेका छन् । 

पोखरा:  शुन्दरनगरी शहर पर्यटकीय शहर पोखरा । जहाँ होटल, रेष्टुरेन्ट तथा रिसोर्ट मनग्य छन् । त्यो पनि ताल आसपास र पोखरा शहर भित्र  । पोखरा उपत्यका बाहिर भने छिटफुट मात्रै भेटिन्छन् ।   प्राय कोलाहलबाट टाढै रहन मन पर्नेहरुको लागि पोखरा नजिकै नयाँ गन्तव्य थपिएको छ । गर्मी छल्न मन पराउनेका लागि, शाहसिक एटिभीमा रम्नेहरुका लागि र स्वादिष्ट परिकारसँग पिरती गाँस्नको रिभर भ्याली रिसोर्ट उपयुक्त हुनसक्छ ।   पोखरा महानगरपालिका २५ सुइखेतस्थित रहेकोे रिभर भ्याली रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि तयार छ । यही महिनादेखि आफ्नो सेवा सुरु गरेको यस रिसोर्टमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । साथै यस रिसोर्टले पर्यटकको मन जित्न सफल भएको छ ।    विशेषगरि बजारको कोलाहलबाट एक रात शान्त वातावरणमा बस्न मन पराउने र आन्तरिक पर्यटकहरुको लागि नयाँ गन्तव्य बनेको छ ।   रिसोर्टमा राखिएको एटिभी बाईक राईड र स्विमिङ पुलसँगै देखिने प्राकृतिक मनोरम दृश्यले त्यहाँ पुग्ने पर्यटकहरुको मनमा हैकम जमाएको छ ।   पोखरादेखि नजिकै सुइखेत खोलाको छेउमा हरियाली वातावरणमा रमाउन चाहनेलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक जितेशमान गुभाजु बताए । उनका अनुसार १५ रोपनी क्षेत्रफलमा ५ करोड लगानीमा सञ्चालनमा आएको सुइखेत रिभर भ्यालीबाट बिहानीको सूर्याेदय र बेलुकाको सूर्यास्तको समेत अवलोकन गर्न सकिन्छ ।      ‘स्विमिङ, एटिभी बाइक र डेलिसियस फुड’   रिसोर्टमा आउने पर्यटकलाई सुइखेतमामात्रै सिमित नबनाउने उदेश्य सहित आफुहरुले एटिभी बाइकको माध्यमबाट पर्यटकहरुलाई हेम्जाकोट हुँदै अस्ताम सम्मको प्याकेज बनाई सञ्चालन गरिरहेको उनले बताए ।   एटिभी बाईककोमाध्यमबाट अस्ताममा पुगेपछि त्यहाँबाट उत्तरमा रहेका हिमश्रृङखलासँगै हेम्जाफाँट, पर्यटकीय गाउँ धम्पुस र पोखराको उत्तरी भेग अवलोकन गर्न सकिने बताए । त्यसैगरि छोटो दुरिमा एटिभी बाइक चलाउनेहरुले सुईखेत रिभर भ्याली  हुँदै फेदीसम्मको यात्राको अनुभव गर्न सक्नेछन । रिसोर्टमा बस्ने पाहुनाले हाइकिङ गरि कास्कीकोट दरबार अस्तामसम्म पुग्न सक्नेछन । त्यसैगरि रिसोर्टमा स्विमिङ पुलको समेत व्यवस्था रहेको छ ।    जसका  लागि पनि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । त्यसैगरि रिसोर्टमा हाल ६ वटा रुम रहेको छ जसमा बस्न चाहनेका लागि समेत विभिन्न प्याकेजहरुको व्यवस्था गरिएको रिसोर्टका अप्रेसन म्यानेजर सागर गुरुङले जानकारी दिए ।    सो रिसोर्टभित्र रहेको विभिन्न कटेजहरुले मधेसमा बसोबास गर्ने थारु बस्तीको झल्को दिने गरेको बताउदै पर्यटकहरुलाई आकर्षित गरेको बताए । उनका अनुसार रिसोर्टमा पार्किङको पर्याप्त व्यवस्था र बाल उद्यान समेत रहेकाले पारिवारिक वातावरणमा घुम्न आउनेहरुका लागि उचित गन्तव्य बनेको छ ।  शान्त वातावरण, प्राकृतिक हरियालीलाई नजिकबाट नियाल्न सक्ने भएकाले रिसोर्टमा पर्यटकहरुको आकर्षण बढेको जानकारी दिदैं बारबिक्यूको समेत व्यवस्था रहेको जानकारी दिए ।   हाल सो रिसोर्टमा हाल २० जनाले प्रत्यक्ष रोजगार पाएका छन् । 

  काठमाडौं ।   त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थलबाट १६ सय १० ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।   फ्लाई दुबईको उडानद्वारा बुधबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक युसुफ हारुनलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।   प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र घर्ति क्षेत्री जीसीले विमानस्थलमा ओर्लिएपछि हारुनको गतिविधि शङ्कास्पद देखिएको भन्दै प्रहरी विमानस्थलद्वारबाट उनलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।   उहाँका अनुसार हरुनलाई जाँच गर्दा भित्री वस्त्रमा लुकाई राखेको अवस्थामा प्लास्टिकसहित अन्दाजी १६१० ग्रामका दुई थान सुनको पोका देखिएको हो ।   हारुनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक जीसीले बताउनुभयो ।

  पोखरा:   पछिल्लो २४ घण्टामा गण्डकी पदेशमा  ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका अनुसार कास्कीमा ५६, बागलुुङमा २० , स्याङ्जामा १२, तनहुुँ र नवलपरासी पुर्वमा ३/३ जना र गोरखा, पर्वतमा १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।   देशभर ७ सय १० जनामा कोराना संक्रमण   पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।   पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

  पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले नागरिकता विधेयक खारेजीको माग गर्दै क्याम्पसको प्रवेशद्वारमा हस्ताक्षर संकलन गरेको छ ।    प्रतिनिधि सभाले ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरेपछि अनेरास्ववियुले क्याम्पस प्रवेशद्वारमा विरोध जनाउदैँ आज (बिहिबार) हस्ताक्षर संकलन गरेको हो ।   विधेयकमा उल्लेखित बाबुआमा नभेटिएको नाबालकले वंशजको नागरिकता पाउने, बिहे लगत्तै नागरिकता दिइने, महिला र पुरुषका लागि फरक प्रावधान जस्ता विवादित तर संवेदनशील विषयमा पुनविचार गनुपर्ने अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्ष विष्णु पोखरेलले बताए । उनले भने,‘यो सरासर राष्ट्रघाती विधेयक हो, यसलाई तुरुन्त खारेज गरिनुपर्छ ।’   नेपाल नागरिकता ऐन २०६३  को दफा ३ संसोधन गरेर संसदबाट पारीत गरेको नागरिकता विधेयक अनुसार नेपालका नागरिकसँग विवाह गरि स्वदेशमै बस्दै आएका अन्य देशका नागरिकहरुले सजिलैसँग नागरिकता प्राप्त गर्ने प्रावधान रहेको छ ।    अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिले संकलन गरेको हस्ताक्षर अभियानमा क्याम्पसका प्राध्यापक, विद्यार्थी तथा नागरिकहरु गरि चार सय बढीले हस्ताक्षर गरेका थिए ।