डोटी: यहाँका स्थानीय तहले मदिरा सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिनुभयो । वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो । वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ । यसैगरी जिल्लाकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्नेलाई रु ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई रु ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यसैगरी मदिरा सेवन गर्नेलाई पहिलोपटक रु दुई हजार ५०० र दोस्रो पटक सेवन गर्नेलाई रु पाँच हजार जरिवाना तोक्ने निर्णय गरिएको छ । सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी जानकारी दिनुभयो । जिल्लामा नौवटा स्थानीय तह रहे पनि अन्य पालिकामा भने मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ । कतिपय स्थानीय तहमा लाइसेन्स लिएर मदिरा बिक्री वितरण भइरहेकाले तिनीहरुलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी खड्काले जानकारी दिनुभयो ।
काठमाण्डौँ: बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी छ । बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखाहरूमा रोपाइँ हुनसकेको थिएन । सुक्खा ठाउँमा भल छोपेर रोपाइँ गर्ने किसान लामो समयको खडेरीका कारण मर्कामा थिए । “पानी परेपछि राहत मिलेको छ”, जैमिनी नगरपालिका–९ का टङ्कप्रसाद शर्माले भन्नुभयोे । यसअिघ रोपाइँ सकेका किसान खेतमा धाँजा फाट्न थालेपछि चिन्तामा थिए । वर्षासँगै खहरेमा पानीको मात्रा बढेको र मूल बढेपछि रोपेको जमिनमा पानी लगाउन सहज भएको बागलुङ नगरपालिका–१२ का खगेश्वर घिमिरेले बताउनुभयो । असारको अन्तिम सातायता साउन ३ गतेसम्म भल चल्ने गरी बागलुङमा पानी परेको थिएन । किसान खहरे सुक्न थालेपछि उत्पादन घट्ने चिन्तामा थिए । असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बुढिएर रोप्नै नमिल्ने भइसकेको छ । वर्षासँगै भल छोपेरै भए पनि किसान रोपाइँ गर्न थालेका छन् । जिल्लाभर चार हजार २०० हेक्टर जमिनमा रोपाइँ भएको छ भने एक हजार ८०० हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ ।
काठमाण्डौँ: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । रातको समयमा देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २७ दशमलव दुई डिग्री सेल्सियस छ ।
भक्तपुर: झङ्ककुमारी स्मृति प्रतिष्ठानले चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनारायणका वडा नं ५ र ६ को सिमाना खरिपाटीमा १८ महिना अगाडिबाट सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई विस्तार गरी बुधबारदेखि दैनिक स्वास्थ्य परीक्षण एवं औषधि वितरणसहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको हो । गरिब तथा सामान्य स्वास्थ्य सेवाबाट समेत धेरै मानिस बञ्चित हुनुपरेको देखेपछि स्थानीय बासिन्दाका लागि सहजरूपमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले समाजसेवी, व्यवसायी एवं नेपाली कांग्रेसका नेता राजाराम खड्काले दिवङ्गत आमा झङ्ककुमारी खड्काको स्मृतिमा स्थापना गर्नुभएको प्रतिष्ठानले निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको हो । निःशुल्क स्वास्थ्य सेवा कहिल्यै बन्द नगर्ने घोषणा गर्दै प्रतिष्ठानका अध्यक्ष खड्काले भन्नुभयो, “सामान्य औषधि उपचार नपाएर धेरै व्यक्ति पीडित भएको देखेँ, कोही पनि व्यक्ति स्वास्थ्य जाँच गराउन नपाएर, औषधि नपाएर रोग पालेर बस्न नपरोस्, ज्यान गुमाउन नपरोस् भनेर आमाको स्मृतिमा झङ्ककुमारी स्मृति प्रतिष्ठान सञ्चालन गरी विगत डेढ वर्षदेखि चाँगुनारायणका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य जाँच सञ्चालन गरेको थियो, अब यो सेवा विस्तार गर्दै निःशुल्क स्वास्थ्य सेवा र औषधि वितरण सुरु गरेका छौँ ।” उहाँले अबदेखि दैनिक निःशुल्करूपमा स्वास्थ्य सेवा तथा औषधि वितरण गर्ने जनाउँदै यसलाई अझै विभिन्न स्वास्थ्य उपकरण जडान गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको बताउनुभयो । हुनेले नहुनेका लागि सहयोग गर्न आह्वान गर्दै उहाँले सन्तोष भट्टराईले रु एक लाख ५० हजार बराबरको औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको बताउनुभयो । अध्यक्ष खड्काले यो संस्थालाई कांग्रेसको संस्थाका रूपमा नहेर्न आग्रह गर्दै यहाँका सबै जनताको स्वास्थ्य संस्थाका रूपमा सञ्चालन भई सबै जनतालाई सेवा दिने संस्थाका रुपमा हेरेर सेवा लिइदिन सबैमा आग्रह गर्नुभयो । निःशुल्क स्वास्थ्य सेवा एवं औषधि वितरणको नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले उद्घाटन गर्नुभयो । उहाँले राज्यले गर्नुपर्ने काम आमाको स्मृतिमा सञ्चालन हुनु खुसीको कुरा भएको चर्चा गर्दै निःशुल्क स्वास्थ्य सेवाबाट आम नागरिक लाभान्वित हुने बताउनुभयो । त्यस्तै निःशुल्क सेवाका बारेमा स्थानीयवासी एवं बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले निःशुल्क स्वास्थ्य सेवा सबैका लागि सुरु भएकामा खुसी व्यक्त गर्दै स्वास्थ्य सेवा लिँदा कांग्रेस, एमाले वा अरु पार्टीका मान्छे भनेर नहेरी सबैलाई सेवा दिनु पर्ने बताउनुभयो । बागमती प्रदेश उद्योग वाणिज्य राज्यमन्त्री रजनी जोशी, कांग्रेसका केन्द्रीय सदस्य रमा पौडेल, मदनकृष्ण श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, प्रतिष्ठानका सचिव यादव अधिकारीलगायतले स्वास्थ्य सेवाको पहुँचलाई जनजनमा पु¥याउन यस्तो संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रतिष्ठानले दैनिक डा अनिल त्यातमार्फत बिरामीको स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य परामर्श दिने र औषधि वितरण गर्ने व्यवस्था गरेको छ ।
काठमाण्डौँ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार १५५ तोकिएकोे छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । –––
पोखरा: पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा वीरेन्द्रदेव भारती आउने भएका छन् । प्रशासकीय अधिकृत बलराम रिज्यालको सरुवा भएपछि भारती आउने भएका हुन् । भारती यसअघि बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । बलराम रिज्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो । प्रशासकीय अधिकृतको रुपमा रहेर उनलेकरिब ८ महिना पोखरामा काम गरेका छन् ।
पोखरा: पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को संगमस्थल मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा साउन १ गतेदेखि सञ्चालित एक महिने अखण्ड हरिनाम संकीर्तनमा आज तेस्रो दिन तनहुको व्यास गुफाका पिठाधिश दामोदर बाबा सहभागी बन्नुभएको छ । ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस तीर्थस्थलमा यही साउन १ गतेदेखि महिनाभर लोक कल्याणको कामना गर्दै अखण्ड हरिनाम संकीर्तन सुरु गरिएको हो । नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यका अनुसार अखण्ड संकीर्तन अवधिभर विभिन्न धार्मिक तीर्थस्थलका गुरुहरू सहभागी बन्नुहुने कार्यक्रम छ । यस अवधिमा विभिन्न स्थानबाट तीर्थालुहरू सहभागी बनी पुण्यलाभ गर्नुहुने समितिले जनाएको छ ।
काठमाण्डौँ: वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र रड निर्यात गर्न थालेका छन् । बजेटमा निर्यातमा नै छुट दिने व्यवस्था गरिएकाले उद्योगी व्यवसायीले निर्यात सुरु गरेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ । बजेटमा निर्यातमा छुटको घोषणा भएसँगै श्री स्टिलले आजदेखि रड निर्यात गर्न लागेको हो । रुपन्देहीको सेमरहवामा सञ्चालित उक्त उद्योगले पहिलो चरणमा आज दुई ट्रक रड भारत निर्यात गर्न लागेको जनाएको छ । उद्योगका सञ्चालक राजेश अग्रवालले आजदेखि औपचारिक रुपमा रड भारत निर्यात गर्न लागिएको जानकारी दिनुभयो । उहाँले सरकारले निर्यातमा सहजीकरणको घोषणा गरेसँगै रड निर्यात सुरु गर्न लागिएको बताउनुभयो । तत्कालीन अर्थमन्त्री जनादन शर्माले उच्च निर्यात सम्भावना भएको क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी तथा सूचना प्रविधिमा आधारित क्षेत्र पहिचान गरी निर्यात प्रवद्र्धन गर्ने व्यवस्था बजेटमा गर्नुभएको छ । त्यस्ता वस्तुमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने गरी बजेट सार्वजनिक गर्नुभएको थियो । बजेटमार्फत नै सरकारले निर्यातमा सहजीकरण गरेपछि सिमेन्ट, रड उद्योगीले निर्यात गर्न थालेका हुन् । पहिलो चरणमा परीक्षणस्वरुप ५० टन रड निर्यात गर्न लागिएको छ । नेपालको व्यापार घाटा कम गर्ने उद्देश्यका साथ भारतीय बजारमा रड पठाउन लागेको उद्योगीले जानकारी दिएका छन् । उहाँले श्री स्टिलले भारत सरकारबाट गुणस्तर प्रमाणीकरण अनुमति पाएसँगै परीक्षणका लागि रड निर्यात सुरु गरिएको जानकारी दिनुभयो । सरकारले निर्यातमा नगद छुटको घोषणा गरेसँगै यसअघि तानसेन सिमेन्ट उद्योगले नेपाली सिमेन्ट भारत निकासी सुरु गरिसकेको छ । सोसँगै अर्घाखाँची, जगदम्बा, सर्वोत्तम र सौर्य सिमेन्टले नेपाली सिमेन्ट भारत निर्यातका लागि तयारी थालेका छन् । उक्त उद्योगहरुले भारत सरकारबाट गुणस्तर प्रमाणीकरणको अनुमतिको पखाईमा रहेको जनाएका छन् । भारत सरकारले गुणस्तर प्रमाणीकरणको अनुमति दिनै १५ महिनाभन्दा बढी समय लगाएको भन्दै व्यवसायीले दुई देशका सरकारबीच समन्वय गरेर सहज रुपमा अनुमति दिनुपर्ने माग राखेका छन् ।
चितवन: चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन् । ती मध्ये दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन । उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट, दलदलमा भासिएर, जुधेर तथा बाढीले बगाएर जस्ता कारणले गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चोरीसिकारीबाट मरेका दुईमध्ये एउटाको खाग खुर सुरक्षित रहेको जानकारी दिनुभयो । स्थानीयवासीले दुःख पाएपछि करेन्ट लगाएर सो गैँडा मारेको आशङ्का रहेको छ । अर्को एक भने चोरीसिकारीले मरेको पुष्टि भएको छ । मरेका गैँडामध्ये १८ भाले, १४ पोथी र पहिचान नभएका पाँच रहेको उहाँले बताउनु्भयो । मरेका गैँडामा एक महिनादेखि ३५ वर्ष उमेर सम्मका रहेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा यी गैँडा मरेका हुन् । बासस्थान साँघुरो र घाँसे मैदानको कमीका कारण आहाराको कमीले पनि एकै ठाउँमा धेरै गैँडा हुँदा एकापसमा जुध्ने गरेको बताइन्छ । नौ सय ३२ वर्गमिटरमा फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र १० हजार ४९७ हेक्टर क्षेत्रफल घाँसे मैदान छ । सो क्षेत्रभित्र ४२५ ठाउँमा घाँसे मैदानको व्यवस्थापन गरिएको छ । पछिल्लो समय यी घाँसे मैदान नासिँदै गएका छन् । निकुञ्ज स्थापनाताका २० प्रतिशतसम्म रहेको घाँसे मैदान अहिले घटेर १० प्रतिशतभन्दा तल झरेको छ । सन् २०२१ को गैँडा गणनाअनुसार नेपालमा ७५२ गैँडा रेकर्ड भएका छन् । यीमध्ये ६९४ चितवनमा रहेका छन् । यो सङ्ख्या अघिल्लो गणना सन् २०१५ को तुलनामा ८९ भन्दा बढी हो । सन् २०१५ मा ६०५ र सन् २०११ मा ५०३ गैँडा भेटिएका थिए । प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले टोली खटाएर अध्ययनसमेत गरेको थियो ।

