तनुहँ: व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त विद्यालय सञ्चालन गर्न लागिएको हो । उक्त प्रकृतिका विद्यार्थीका लागि नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्यअनुरुप विद्यालय सञ्चालन गर्न लागेको व्यासका प्रविधि सूचना अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो । विद्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारी पदपूर्तिको लागि यसअघि नै विज्ञापन गरिसकेको नगरपालिका कार्यालयले जनाएको छ । विद्यालयमा खाना पकाउने भान्से, शिक्षिका र सुरक्षाकर्मीलगायतका जनशक्ति माग गरिएको नोडल अधिकृत कुमारकञ्चन जिसीले जानकारी दिनुभयो । विद्यालय सञ्चालनको लागि विद्यार्थी भर्ना गर्न साउन २ गतेदेखि ८ गतेसम्म आवेदन फाराम वितरण गर्न सूचना जारी गरेको शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिनुभयो । कक्षा ५ सम्म विद्यार्थी भर्नाको लागि आवेदन फाराम वितरण गरिएको व्यास शिक्षा शाखाले जनाएको छ ।
महोत्तरी: मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्यभेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ । महोत्तरीबाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चितबाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ । असार मध्ययता पानी परेको छैन । त्यसअघि परेको पानीमा धान रोप्न भनेर हिल्याइएका खेत अहिले सुकेका छन् । ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको महोत्तरीका किसानले बताएका छन् । असार सिद्धिनै लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको सङ्कट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्यबाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले यहाँका किसानलाई पिरोलेको छ । “ल, भन्नोस् न, आज ९शनिबार० असार त सकिने हो, पानी नभएर धान रोप्न पाइएन, के गरी गुजारा गर्ने होला रु” भङ्गाहा नगरपालिका–४ पलारका ८० वर्षीय किसान चौठी बाँतरले वीरक्तिँदै भन्नुभयो । मध्य असारअघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन् । असार सकिनैलाग्दा धान रोपाइँ जिल्लामा एकतिहाई नाघेको छैन । “उता खेत सुक्दो छ, यता घरमा ज्वरो, रुघाखोकीले परिवारका मान्छे बिरामी भएर लड्दाछन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सर्दार भन्नुहुन्छ, “यो बढ्दो तापले सबै भताभुङ्ग पा¥यो, न समयमा खेती सक्न पाइयो, न सञ्चोसँग बस्न ।” जिल्लामा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले नै जनाएको छ । रोपोको पनि सुकेकोे छ । रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर गिखरिक्क परेको छ । रोपेको खेतमा धाँजा फाट्दै छ । जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । जिल्लाका १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ । बिहानैदेखि चर्कने घामको प्रचण्ड राप र सँगसँगैको तातो हावाले कृषि मजदुर काममा निस्कन छाडेका छन् ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ६ जनालाई जुवाखालबाट प्रकाउ गरेको छ । पोखरा महानगरपालिका वडा न. ८ न्यूरोडस्थित नवीन गौचनको घरबाट कास्कीबाट खटिएको प्रहरीको टोलीले नगद २ लाख ५३ हजार ५ रुपै याँसहित ६ जनालाई प्रकाउ गरेको हो । कास्की प्रहरीका अनुसार पकाउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका ३ का ३२ वर्षिय नवीन गौचन, ५४ वर्षिय सोमत तुलाचन, पोखरा अर्चलबोटका ५३ वर्षिय बिराट के।सी, म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ का ४९ वर्षिय कबिन तुलाचन, पोखरा फूलबारी बस्ने ४६ वर्षिय अमित गुरुङ र ४५ वर्षिय नरकाजी गुरुङ रहेका छन् । पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले ताल तथा जलाधार क्षेत्र संरक्षणको लागि कार्यकारी प्रमुखको आवेदन (भ्याकेन्सी) खुला गरेको छ । ताल संरक्षण तथा विकास प्राधिकरण ऐन, २०७५ बमोजिम स्थापित ताल संरक्षण तथा प्राधिकरणको कार्यकारी प्रमूखको छनौटको लागि रोष्टरमा नाम समावेश गराउने सम्बन्धमा आवेदन खुलाएको गण्डकी प्रदेशले सोमबार सुचना प्रकाशित गर्दै उल्लेख गरेको छ । प्रकाशित सुचनामा भनिएको छ, ‘पहिले पनि प्रमूखको छनौटको लागि आवेदन खुुलाइए पनि ऐन बमोजिमको संख्यामा रोष्टरमा नाम समावेश हुन नसकेको कारण पुण आवेदन खुलाइएको हो ।’ इच्छुक योग्य व्यक्तिले उम्मेद्वारमा नाम दिन सम्बन्धित विषयमा स्नात्तोकर गरी दश वर्षको अनुुभव भएको हुनुपर्ने उल्लेख गरिएको छ । आवेदन दिने व्यक्ति उमेरले ५५ ननाघेको, नैतिक पतन तथा फौजदारी कसूरमा दोषि नठरिएको र राजनीतिक दलमा समावेश नभएको हनुुपर्नेछ । साथै व्यक्तिगत विवरण, कार्ययोजना, नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यता, अनुुभवको प्रमाणपत्रसहित वन वातावरण तथा भू–संरक्षण मन्त्रालयमा प्राप्त हुुनेगरि सूचना प्रकाशन भएको १५ दिन भित्रमा पेश गरि सक्नुपर्ने जारी सुचनामा उल्लेख गरिएको छ ।
नवलपरासी: वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा गएका नवलपरासी (बर्दघाट–सुस्ता)का १७ जनाले यसवर्ष ज्यान गुमाएका छन् । वैदेशिक रोजगारमा श्रम स्वीकृति गराएर गएकामध्ये जिल्लाका १७ जनाको मृत्यु भएको जनाइएको छ । वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा मृत्यु हुनेमा जिल्लाको कावासोती नगरपालिकाका छ, मध्यविन्दु नगरपालिकाका पाँच, गैँडाकोट नगरपालिकाका चार तथा देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाका एक/एक जना रहेका छन् । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)का अनुसार वैदेशिक रोजगारमा मृत्यु भएकामध्ये १७ जनाको शव यस वर्ष जिल्लामा ल्याइएको भए पनि मृत्यु हुनेको सङ्ख्या अझै बढी हुनसक्छ । परिवारजनले स्वतःस्फुर्तरुपमा र अन्य माध्यमबाट जिल्लामा शव ल्याउनेको सङ्ख्या ठूलो हुन सक्ने हिकोडेफद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाका परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो । सुरक्षित आप्रवासन परियोजनाका जिल्ला संयोजक रीतुराम सोतीले यसवर्ष १२६ ठगीका मुद्दा दर्ता भएकोमा ५५ वटाको छिनोफानो गरिएको बताउनुभयो । क्षतिपूर्तिका लागि दर्ता भएका १७४ मुद्दामध्ये १०० जनालाई रु चार करोड ४४ लाख ४३ हजार क्षतिपूर्ति उपलब्ध गराइएको सोतीको भनाइ छ । उद्धारको पर्खाइमा रहेका २५ मध्ये २१ जनालाई उद्धार गरिएको सोतीले जानकारी दिनुभयो । गतवर्ष मात्रै जिल्लाका छ हजार ८२ जनाले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएका थिए । अहिले पनि जिल्ला प्रशासन कार्यालय नवलपुरमा दैनिक ८० जना पासपोर्ट बनाउन आउने गरेका छन् । भिजिट राहदानी बनाएर तथा भारतको बाटो हुँदै वैदेशिक रोजगारमा जाने जिल्लावासीको सङ्ख्या ठूलो हुन सक्ने उहाँको भनाइ छ । राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक तथ्याङ्कअनुसार नवलपुरका ४४ हजार ८७९ (छ हजार ९३७ महिलासहित) जना वैदेशिक रोजगारमा छन् ।
बारा: बारा जिल्लाका किसान यतिखेर रोपाइँमा व्यस्त छन् । यस कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा धानखेती गरिने लक्ष्य रहेकोमा हालसम्म ६० प्रतिशत अर्थात् २७ हजार ६१२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको कृषि ज्ञानकेन्द्रको प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो । सिँचाइको सुविधा नभएको कारणले आकासे पानीको भरमा सिँचाइ गरी खेती गरिने धानखेती गर्न नसकेको कृषि प्राविधिक राजनारायण प्रसादले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा कृषकले वर्षे धान भदैया ११ हजार ९० ५ हेक्टर र अगहनी धान ३४ हजार ११५ हेक्टरसमेत गरी कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती गरिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
धनुषा: तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ । एक सातादेखि तराई क्षेत्रको अधिकतम तापक्रम मध्याह्नपख ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ । घर बाहिर निस्कनै मुस्किल बिहान सबेरैदेखि साँझसम्म नै एकनाशले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको छ । बेलाबेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी कम हुन सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ अत्यधिक गर्मी हुने गरेको छ । चर्को घाम र अत्यधिक गर्मीका कारण मानिसलाई मध्याह्नको समयमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् । दिनमा मुख्य बजारका सडक सुनसान हुने गरेको छ । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् । दिनभरि सडक र सरकारी कार्यालय सुनसान रहने गरेको छ । अत्यन्त चर्को घाम र छहारीमा बस्दासमेत तर्तरी पसिना आउने प्रचण्ड गर्मीले सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको हो । रोपाइँ प्रभावित झरी पर्नुपर्ने समयमा दिनभर टन्टलापुर घाम लाग्दा धान रोपाइँ प्रभावित बनेको छ । असार महिना सक्ने बेलामा समेत यस वर्ष धनुषासहित मधेस प्रदेशका अन्य जिल्लामा पर्याप्त वर्षा हुन सकेको छैन । खेतमा जम्ने गरी पानी नपर्दा रोपाइँ प्रभावित भएको हो । एक साताअघि दुई दिन सामान्य झरी परे पनि त्यसपछि रोपाइँ गर्न हुने गरी पानी परेको छैन । कृषि ज्ञानकेन्द्र धनुषाका अनुसार नहर, कुलो र बोरिङ लाग्ने खेतमा मात्र रोपाइँ थालिएको छ भने बाँकी खेतमा अझै रोपाइँ हुन सकेको छैन । गर्मीजन्य सङ्क्रमणका बिरामी बढे पानी नपरेर अत्यधिक गर्मी हुँदा गर्मीजन्य सङ्क्रमणका बिरामी पनि बढिरहेका छन् । गर्मीका कारण घाउ, खटिरा, आउँमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मी छल्न ग्रामीण भेगका मानिस चौतारी र रुखको छहारीमा बस्ने गरेका छन् । गर्मीले विद्यालय जानुपर्ने ससाना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् । जनकपुरधाममा अस्पताल, शिक्षण संस्था तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप पनि दिन प्रतिदिन बढ्दै गएको जनाइएको छ । प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा केडी दासका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा दासको भनाइ छ । विद्यार्थीलाई पठनपाठनमा समस्या हुँदा विद्यालय बन्द हुँदै समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ स्थित माध्यमिक विद्यालय सखुवाबजारका प्रधानाध्यापक सन्तोष यादव बताउनुहुन्छ । प्रअ यादवले अत्यधिक गर्मीले विद्यार्थी पढाउने बेलामा कापी किताब समातेर हम्कने गर्दा उनीहरूको ध्यान पढाइमा केन्द्रित गर्न समस्या पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यधिक गर्मीले कक्षाकोठामा पढाउनै समस्या पर्ने गरेको छ, गर्मीकै कारण विद्यार्थीको ध्यान केन्द्रित गर्नै समस्या पर्ने गर्छ ।” उहाँले अत्यधिक गर्मी, त्यसमाथि विद्युत् आउनेजाने समस्याले विद्यार्थी समस्यामा परेको बताउनुभयो । क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक बाबुसाहेव यादवले अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बताउनुभयो । “अत्यधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्ने गरेको छ ।” समयसमयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीमा झनै समस्या देखिएको प्रअ यादवले बताउनुभयो । गर्मीका कारण नानीबाबुलाई विद्यालय पु¥याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक दिनेश गुप्ता बताउनुहुन्छ । “विद्यालयमा पङ्खा भए पनि गर्मीले साना नानीबाबुलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ”, गुप्ताले भन्नुभयो, “बिहान विद्यालय लैजान त सजिलै हुन्छ तर दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चा गर्मीले रातोपिरो भइसक्छन् ।” अभिभाव ज्योति झाले गर्मीका कारण नानीबाबु सुत्न नसक्ने र घरीघरी पानी पिउन खोज्ने गरेको बताउनुभयो । “समयसमयमा विद्युत् लाइन काटिँदा घरभित्रै बस्न सकिँदैन”, झाले भन्नुभयो, “अत्यधिक गर्मी बढेपछि असार २९ देखि साउन २६ गतेसम्मका लागि जनकपुरधाम उपमहानगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गरेर गर्मी बिदा दिइएको छ । चिसो पेय पदार्थको बिक्री बढ्यो यता गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेयपदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ । अहिले गर्मी बढेसँगै चिसो पेय पदार्थको बिक्री बढेको छ । अहिले जनकपुरधाम बजारका होटल तथा चोकचोकमा लस्सीका साथै चिसो पेय पदार्थको व्यापार गर्नेको सङ्ख्या पनि बाक्लै देखिन थालेको छ । अहिले बजारमा उखुको जुस, सर्वत, बरफ, कुल्फी, आइसक्रिमको व्यापार पनि एकाएक बढेको जनकपुर जानकी चोकका चन्दे लस्सी पसलका सञ्चालक चन्दे साहले बताउनुभयो । गर्मी छल्न, तथा तिर्खा मेटाउन मानिसले चिसो खाने गरेका कारण व्यापार बढेको हो । एकाएक चिसो पेय पदार्थको बिक्री बढेपछि व्यवसायीलाई पुर्याउनै हेम्मेहम्मे परेको बताइएको छ । दैनिक उखुको रस पेल्दै आएका जनकपुरधामका शम्भुप्रसाद गुप्ताले बिहानदेखि साँझसम्म चिसो पिउनेको भीड लाग्ने गरेको बताउनुभयो । महेन्द्रनगरका विशाल डेरीका सञ्चालक विजय यादवले कुल्फी, आइसक्रिमको बिक्री वितरण बढेको बताउनुभयो ।
कालिकोट: नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक रु २५ हजार आम्दानी गर्नुभएको छ । जङ्गलमा पाइने निगालाबाट उहाँले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बक्रिवितरण गर्दै आउनुभएको छ । उहाँले गाउँमा आफूले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र दैलेखसम्म बिक्रीका लागि जाने गरेको बताउनुभयो । “ जङ्गलमा त्यतिकै खेर गएको निगालाको चोयाबाट डोका र नाङ्लो बेचेर राम्रो कमाइ गरेको छु । नाङ्लो मात्र रु पाँचसयदेखि छ सयसम्म बिक्री गर्ने गरेको छु ।” उहाँले भन्नुभयो, “गाउँघरमा यसको माग पनि निकै छ ।” भारी बोक्न मिल्ने डोका रु एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म घाँस दाउरा गर्ने डोका रु आठ सयदेखि नौ सय मूल्यमा बिक्री हुने गरेको उहाँको भनाइ रहेको छ । “पहिलो आफन्तलाई डोका र नाङ्लो नासोको रुपमा दिने गरेका थियौँ ।” उहाँले भन्नुभयो, “अहिले त्यसलाई मैले बजारीकरण गरेर व्यापारका रुपमा विकास गरेको छु ।” स्थानीय वस्तुभाउ बिक्री वितरण गर्नका लागि हाट बजार लाग्ने व्यवस्था भएको भए आफूलाई बिक्री वितरणमा सजिलो हुने उहाँको भनाइ छ । “स्थानीयस्तरमा उत्पादन भएको वस्तुभाउ बिक्री गर्नका लागि यहाँ कृषि हाट बजार लाग्दैन ।” उहाँले भन्नुभयो, “पिठ्युमा बोकेर गाउँगाउँमा डुलेर बिक्री गर्ने गरेको छु ।” स्थानीयस्तरमा उत्पादन हुने वस्तु डोका, नाङ्लो तथा अन्य वस्तुलाई स्थानीय सरकारले उत्पादन गर्न बिक्री गर्नका लागि सहजीकरण गर्न आवश्यक रहेको उहाँको माग छ ।
रसुवा: सेवाग्राहीको चापलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि सरकारी सेवा सञ्चालन गरेको छ । एक सूचनामार्फत सर्वसाधारणसामु जानकारी गराउँदै नेपाली नागरिकता, राहदानी एवं राष्ट्रिय परिचयपत्रलगायत प्रमुख जिल्ला अधिकारीले सम्पादन गर्ने सबैखाले सरकारी सेवा आउँदो साउन ९ गतेसम्म दैनिकरूपले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको हो । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरले रसुवावासीका लागि साउन १० गतेसम्म शेयर वितरण गर्ने आह्वान पत्र जारी गरिसकेको अवस्थामा शेयर फाराम भर्ने वातावरणको सहजीकरण कार्यअन्तर्गत नेपाली नागरिकता प्रदानलाई प्राथमिकतामा राखी कार्यालयभन्दा अतिरिक्त समयमा समेत सेवा सञ्चालन गरिएको हो नयाँ एवं प्रतिलिपि नेपाली नागरिकता लिने सेवाग्राहीको सङ्ख्या दैनिक ६० जनाभन्दा बढीको भिड लाग्न थालेपछि प्रमुख जिल्ला अधिकारी नवराज जैसीले कार्यालयको समयभन्दा अतिरिक्त समयमा समेत सेवा सञ्चालन गराएको जनाइएको छ । हिमाली जिल्ला वर्षाको याम, खेतीपातीको समयलाई ध्यानमा राखी प्रजिअले आजको आजै दिएको सेवा जनहितकारी भएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । प्रक्रिया पूरा भई पेश भएका आवेदनको काम आजको आजै सम्पादन हुँदै आएको र सेवा लिनका लागि हाल दैनिक ६०÷७० जना आउने गरेको सहायक प्रजिअ दयाराम पौडेलले बताउनुभयो । नेपाली नागरिकताका साथै राहदानी लिन चाहनेलाई राहदानी अनलाइन फाराम भराउने र राष्ट्रिय परिचयपत्रसमेत प्रदान गर्ने काम भइरहेको पौडेलले बताउनुभयो । यस्तै रसुवागढी हाइड्रोपावरले रसुवावासीका लागि खुला गरेको शेयर बिहीबारसम्ममा ३१ लाख कित्ता खपत भइसकेको जनाएको छ । बिहीबारसम्म १५ हजार रसुवावासी शेयरमा समाहित भइसकेको हाइड्रो कम्पनीका प्रबन्ध निर्देशक छवि गैरेले जानकारी दिनुभयो ।

