काठमाण्डौँ : काठेपुलबाट सेती नदीमा खसेर आज एक किशारीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका–६ गिरीचौकाकी १७ वर्षीया ढुल्लु अधिकारी रहेकी छन् । उनको सिगास गाउँपालिका–७ साङडा आउने क्रममा सेती नदीको पुलबाट खसेर मृत्यु भएको हो । अधिकारी रोपाइँका लागि सिगास–७ सङडा आउँदै गर्दा सेती नदीमा बनाइएको अस्थायी काठेपुलबाट लडेकी स्थानीय पदम खडायतले जानकारी दिनुभयो । सो स्थानमा रहेको झोलुङगे पुल गत कात्तिकमा भएको अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि अस्थायी काठेपुल बनाइएको थियो । बाढीले बगाएको झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा डोटी र बैतडीका सीमा क्षेत्रका नागरिक हाल अस्थायी पुलबाटै आवतजावत गर्न बाध्य छन् ।
भरतपुर : निगुरो टिप्न गएकी युवतीको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको शव बाघले खाइरहेको अवस्था फेला परेको हो । बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बिहान ७ बजे निगुरो टिप्न गएकी बस्नेतलाई स्थानीय राधाकृष्ण सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो । आक्रमण भएको स्थानभन्दा ३०० मिटर पश्चिममा टाउको र छातीको भाग खाइसकेको अवस्थामा बस्नेतको शव भेटिएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा बाघको आक्रमणमा परी १६ जनाले ज्यान गुमाएका छन् ।
जुम्ला : जुम्लाको सिँजा क्षेत्रमा पर्ने तीन स्थानीय तहका नागरिकको सहजताका लागि सिँजा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । हिमा, कनकासुन्दरी र सिँजा गाउँपालिकालाई समेट्न सो कार्यालय स्थापना गर्नका लागि पहल भइरहेको थियो । ती तीन गाउँपालिकाका सेवाग्राहीलाई सेवा लिन जिल्ला सदरमुकाममा जानुपर्ने अवस्था रहेको थियो । नराकोटमा मालपोत कार्यालय स्थापना गर्न निर्णय गरिएको सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले सिँजाको नराकोट सुरक्षाको दृष्टिकोणले समेत ठिक भएको र नागरिकको लामो समयदेखि माग भएको बताउनुभयो । कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले नराकोटमा ठिक भए पनि हरेक पालिकामा मालपोत र नापी सेवा आवश्यक छ भन्नुभयो । जिल्ला समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पदवहाली भएकै दिन जिल्लाका लागि सिँजामा मालमोत कार्यालयका लागि निर्णय गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
बैतडी : जिल्लाका चार स्थानीय तहका घरपालुवा पशुमा खोरेत रोगको समस्या देखा परेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तका अनुसार पाटन नगरपालिका वडा नं ५, दशरथचन्द नगरपालिका वडा नं ७, मेलौली नगरपालिका वडा नं २ र पञ्चेश्वर गाउँपालिका वडा नं ५ र ६ मा घरपालुवा पशुमा खोरेत रोगको समस्या देखिएको हो । उहाँले भन्नुभयो, “गाई, भैँसी, गोरु, बाख्रालगायतका घरपालुवा जनावरमा खोरेत रोगको समस्या देखिएको छ, रोगका कारण घरपालुवा पशु मर्नेसमेत गरेका छन् ।” रोग देखापरेका ठाउँमा खोरेतविरुद्धको खोप अभियानसमेत सञ्चालन गरिएको छ । अहिले गाउँगाउँमा पुगेर प्राविधिकले खोप लगाउन थालिएको केन्द्रले जनाएको छ । रोगको समस्या देखिएको ठाउँमा अन्य पशुलाई रोग नलागोस् भनेर खोप दिइने गरिन्छ । केन्द्रले खोरेत रोगविरुद्ध खोप निःशुल्क उपलब्ध गराएको छ भने सम्बन्धित पालिकाका प्राविधिकले खोप लगाउने काम गरिरहेका छन् । पशुहरूमा खोरेत रोग देखिएमा मुखमा घाउ हुने, खुट्टाको काप र खुरमा घाउ हुने , हिँड्न नसक्ने, जिब्रोमा समेत असर हुनेलगायतका लक्षण देखा पर्दछन् । रोग लागिसकेपछि निको हुने सम्भावना कम हुने गरेकाले गोठ सफा राख्ने, सरसफाइमा विशेष ध्यान दिन किसानलाई सुझाव दिइएको छ ।
दार्चुला : अपिहिमाल गाउँपालिका–३ पाथामा बिजुली बत्ती बलेको छ । निर्माण सुरु भएको छ वर्षपछि १०० किलोवाट क्षमताको विद्युत् आयोजनाबाट बत्ती बलेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा पाथाको घट्टेखोलामा निर्माण भएको विद्युतको सफल परीक्षण गरिएको छ । विद्युत गाउँपालिकाका प्राविधिक समुद्रसिंह धामीको टोलीले सफल परीक्षण गरेको हो । विद्युत् परीक्षण सफल भई लामो प्रयासपछि दुर्गम पाथामा बत्ती बलेपछि स्थानीयवासी खुसी छन् । अहिलेलाई पाथा र घाजिरमा विद्युत् दिइएको विद्युत् निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिनुभयो । अपिहिमाल– ३ र ४ का लागि निर्माण सुरु गरिएको बत्ती अन्य बस्तीसम्म पुर्याउन केही ठाउँमा ट्रान्सफर्मर जडान र शाखा लाइन विस्तार हुनसकेको छैन । हाइटेन्सन लाइन जडान गरिएको भए पनि शाखा लाइन जडान नहुँदा अन्य बस्तीसम्म विद्यूत् पुर्याउन केही समय लाग्ने उहाँले बताउनुभयो । सडक नपुगेको पाथामा विद्युत् निर्माण गर्न झण्डै रु सात करोड लागत खर्च भएको छ । यसमा केन्द्रले रु दुई करोड ८५ लाख, गाउँपालिकाले रु एक करोड ९२ लाख, सङ्घीय सांसदको सांसद विकास कोषमार्फत रु ५० लाख तथा बाँकी रकम जनश्रमदानमार्फत विद्युत् निर्माण गरिएको अध्यक्ष धामीले जानकारी दिनुभयो । विद्युत् पूरै विस्तार भए दुई वडाका ६६६ घरधुरी लाभान्वित हुनेछन् । शाखा लाइन विस्तारका लागि गाउँपालिकाले आगामी वर्ष सहयोग गरे गाउँपालिका उज्यालो हुने उहाँको भनाइ छ । अघिल्लो सरकारले अपि उज्यालो कार्यक्रमअन्तर्गत विशेष प्राथमिकता दिएर विद्युतमा लगानी गरेको थियो । उज्यालो अपिअन्तर्गत अपिहिमाल–२ मा सौर्य विद्युत् जडान गर्ने तयारी छ । यस्तै अपिहिमाल –६ मा १०० किलोवाट क्षमताको जलविद्युत् निर्माणकार्य जारी छ । अपिहिमाल–५ मकरीगाडमा मकरीगाड हाइड्रोपावरले १० मेगावट क्षमताको विद्युत् निर्माणको अन्तिम चरणमा पु¥याएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा पहिलो प्राथमिकतामा कृषिलाई राखको छ । पोखरामा आज (बिहिबार) आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो प्राथमिकतामा कृषि र पर्यटनलाई दोस्रो प्राथमिकतामा राखेको आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले बताए । ‘पहिलोचोटी सरकार गठन हुदै गर्दा प्राथमिकतामा राखेको क्षेत्र पर्यटन र कृषि भन्ने कुरा विदितै छ, उनले भने, ‘कृषिलाई फोकस गरिएको छ । कृषिलाई समानिकरण, व्यवस्थित, व्यवसायिककरण, बजारीकरण र उत्पादन वृद्धि नगरिकन प्रदेशमा आयात हुनेको वस्तुहरु छन् तिनलाई क्रमश प्रतिस्थापन गर्नका लागि उत्पादनमै केन्द्रीत हुनुपर्छ । त्यसैले हामीले कृषिलाई बढि फोकस गरेका छौं ।’ मन्त्री बरालले गण्डकी प्रदेशमा कृषिसँगै पर्यटनको अत्याधिक संभावना रहेको बताउदै पर्यटलाई समेत दोस्रो प्राथमिकतामा राखेको बताए । ‘कृषिसँगै पर्यटनलाई पनि जोड्नपर्छ । यो हाम्रो गण्डकी प्रदेशसँग अन्तरसम्बन्धित विषय हो । त्यसका साथ अतिरिक्त स्वास्थ्य, शिक्षालाई पनि विशेष महत्वका साथ अगाडी बढाएका छौं, उनले भने, ‘त्यसैले यो कुरा प्रष्ट पार्न चाहान्छु कि बजेटको प्राथमिकता भनेको एक नम्बार कृषि र दुई नम्बरमा पर्यटन छ । तीन नम्बर स्वास्थ्य छ त्यसैगरि अर्काे भनेको शिक्षा छ । र पूर्वाधार पनि छ ।’ उनले हरेक क्षेत्रसँग पूर्वाधारले प्रत्यक्ष सरोकार राख्ने उल्लेख गर्दै पूर्वाधारको लागि पनि आवश्य बजेट विनियोजन गरेको बताए । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट घोषणा गरेको छ । चालु बजेटको तुलनामा यसपटक ६ अर्ब रुपैयाँ बढी विनियोजन गरिएको हो ।
काठमाण्डौँ : तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् ।गङ्गाजमुना –६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ । उनीहरूले गएरातिदेखि घर छाडेर अन्यत्र गएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गङ्गाजमुना –६ बुढाथुममा १४, गङ्गाजमुना –५ फूलखर्कमा १४ घर, वडा नं २ रिमा १३ घर विस्थापित जनाइएको छ । विस्थापितका लागि त्रिपाल तथा टेन्टसमेत गाउँमा पुग्न नससकेको गाउँवासीले बताएका छन् । गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्त लामाले विपद् परेर विस्थापित भएकाहरूको सङ्ख्या धेरै रहेको जानकारी दिनुभयो । कच्ची सडक खन्दा ध्यान नदिएका कारण धेरै पहिरो आउँदा क्षति पुगेको नव निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताउनुभयो । शुक्रबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकले पहिरो पीडितलाई राहत उपलब्ध गराउन निर्णय गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।
भरतपुर : निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो । स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उनलाई बाघले आक्रमण गरको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य जारी राखेको छ । हराइरहेका बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको उहाँले जानकारी दिनुभयो ।
तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा पुलबाट आज बिहान ४ः३० बजे टिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग१क ४४६९ नंको मिनी टिपर पुलबाट अनियन्त्रित भई २०/२५ मिटर तल खस्दा घाइते दमैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार क्रममा बिहान ६ः१० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

