पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

काठमाण्डौँ :       नेपाल प्रहरीले भारतको पटनाबाट एक नाबालकको उद्धार गरेको छ । प्रहरी वृत्त बानेश्वरको टोलीले विसं २०७९ असार १ गते काठमाडौँ महानगरपालिका–३१ स्थित नगेन्द्रकान्छा चोकबाट हराएका १४ वर्षीय नवीन रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरेको हो ।   जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्ष दिनेशराज मैनालीले क्रिकेट खेल्न जाने बाहनामा बुधबार काठमाडौँबाट हराएका रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरिएको जानकारी दिनुभयो । नाबालकका दाजु भरत रुवाली सार्कीले भाइ हराएको निवेदन दिएका आधारमा प्रहरीले भारतमा आइपिएस तालिम गरेका नेपाली प्रहरी र भारतीय प्रहरीको निरन्तर समन्वय र सहकार्यमा नाबालक नवीनलाई सकुसल उद्धार गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।   भारतको गन्यापधुरा गाउँपालिका–१ घर भएका रुवालीलाई भारतको पटनास्थित रेल्वे स्टेशनबाट सकुशल उद्धार गरी काठमाडौँ ल्याएर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।  

ताप्लेजुङ :      ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो ।   बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो । पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । निरन्तर वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान निरन्तर अवरुद्ध हुँदै आएको निगमले जनाएको छ ।    प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो । मौसममा सुधार नआएसम्म उडान सम्भव नभएको निगमका  स्टेशन इन्चार्ज लिम्बूले बताउनुभयो ।   निगमका अनुसार सुकेटारमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौँ–ताप्लेजुङ  नियमित उडान तालिका रहेको छ । तर प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ । लामो समयसम्म उडान अवरुद्ध हुँदा प्रत्यक्षरूपमा यात्रुलाई मार परेको छ ।

दाङ :      जिल्लाका १० वटै पालिकामा पूर्वाधारसँग सम्बन्धित काम हुँदै आएका छन् । यसमा सिँचाइ, खानेपानी, सडक, सघन सहरी तथा पूर्वाधार विकास कार्यालय, बृहत् दाङ उपत्यका सिँचाइ आयोजना, प्रगन्ना कुलो सिँचाइ आयोजना, जनताको तटबन्धलगायत कार्यालयले काम गर्दै आएका छन् ।    यस्तै प्रदेशतर्फका खानेपानी, सडक पूर्वाधार कार्यालय, भवन निर्माण कार्यालय, सिँचाइ विकास डिभिजन, सामाजिक विकास डिभिजन कार्यालय, भूमिगत जलस्रोत विकास कार्यालयलगायत  छन् । यी कार्यालयहरूमा हुने कामका आधारमा जिल्लामा विकास खर्चको निर्धारण हुने गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।   चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवस्था हेर्दा जिल्लाको विकास लक्षित पूँजीगत खर्च अस्वाभाविकरूपमा अत्यन्तै निराशाजनक देखिएको छ । कोष तथा महालेखा नियन्त्रक कार्यालयअन्तर्गतको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कानुसार चालु आवको ११ महिना अवधिमा वित्तीय हस्तान्तरणको सङ्घतर्फ पूँजीगत खर्च जम्मा ४३ दशमलव १८ प्रतिशतमात्र रहेको छ । चालु आवमा सङ्घीय सरकारले जिल्लामा पठाएको पूँजीगत बजेट रु चार अर्ब ६७ करोड ७१ लाख ३३ हजारमा जेठसम्म जम्मा रु दुई अर्ब एक करोड ९३ लाख ९८ हजारमात्र खर्च भएको छ ।   प्रदेश सरकारले जिल्लामा पठाएको रु तीन अर्ब ८२ करोड दुई लाख १८ हजारमा जम्मा रु एक अर्ब ४२ करोड ४९ लाख ५३ हजार मात्र खर्च भएको देखिएको छ । सङ्घीय सरकारको चालु बजेटतर्फ रु नौ अर्ब ४२ करोड २१ लाख २५ हजारमा रु सात अर्ब ८४ करोड ९९ लाख ८४ हजार जेठ मसान्तसम्म खर्च भएको देखिन्छ ।   प्रदेश सरकारबाट चालु बजेटतर्फ जिल्लामा आएको बजेट रु एक अर्ब ८९ करोड ४० लाख २३ हजारमा रु ८९ करोड २० लाख एक हजारमात्रै जेठ मसान्तसम्म खर्च भएको छ । यो कूल बजेटको ४७ दशमलव ९ प्रतिशत हो । प्रदेशबाट स्थानीय तहमा जाने अनुदान र प्रशासनिक खर्च समेतमा कम खर्च देखिनुमा प्रदेशबाट स्थानीय तहमा जाने सबै रकम फुकुवा नभएको मुख्य कारण रहेको कोष नियन्त्रक एवं सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिनुभयो । कार्यालयका अनुसार बजेट स्थानीय तहमा जाने प्रक्रियामा छ ।   सो अवधिमा चालु खर्चतर्फ भने उल्लेख्यरूपमा खर्च भएको छ । तलबभत्ता, कर्मचारीको सेवा–सुविधामा भने उल्लेख्यरूपमा बजेट खर्च भएको छ । सूचना अधिकारी भण्डारीका अनुसार बितेको ११ महिनामा ८५ प्रतिशत खर्च भएको छ । यस वर्ष चालुतर्फको बजेट रु आठ अर्ब ६२ करोड ४७ लाख २४ हजार २२३ रहेको छ । यसमा हालसम्म रु सात अर्ब ३३ करोड १० लाख १५ हजार ५८९ खर्च भएको हो ।   उहाँले यसअघिको सरकारले जारी गरेको बजेट विस्थापन गरेर नयाँ बजेट ल्याउँदा भएको ढिलाइ तथा राजनीतिक प्रभाव पनि कारक रहेको बताउनुभयो । उसो त हालै विभिन्न प्रमुख दलको अधिवेशनमा निर्माण व्यवसायी पनि प्रतिनिधिका रूपमा आवद्ध भई त्यता व्यस्त हुँदा निर्माणमा ढिलाइ भएको र त्यसको असर विकास खर्चमा परेको जनाइएको छ । यस्तै सङ्घीयतर्फका केही शीर्षकका पूँजीगत बजेट वैदेशिक स्रोतको फुकुवामा ढिलाइ हुँदा पनि समस्या आउने सूचना अधिकारी भण्डारीको भनाइ छ ।   विनियोजित बजेटको शतप्रतिशत बजेट खर्च हुनसक्ने अवस्था नभए पनि कम्तीमा ८० प्रतिशत विकास बजेट खर्च हुनुपर्ने उहाँ बताउनुहुन्छ । “हामीले विकास बजेटका लागि छुट्याएको बजेटमध्ये कम्तीमा ८० प्रतिशत खर्च हुनसके सन्तोषजनक खर्च मान्न सक्छौँ, यो अवस्थामा पनि यहाँका विकास, निर्माण गर्ने कार्यालय र मातहतका निकायले भूमिका खेल्न सकेका छैनन्”, उहाँले भन्नुभयो, “विकासका लागि विनियोजित बजेट खर्च नहुने तर चालुतर्फको खर्च करिब शतप्रतिशत हुने अवस्थाबीचको असन्तुलन कम गर्न सोच्नुपर्ने बेला आएको छ ।”   प्रदेश सरकारअन्तर्गतको वित्तीय हस्तान्तरणको बजेटमा पनि निराशाजनक पूँजीगत खर्च भएको छ । आधा वर्षको समय बितिसक्दा पनि विकास बजेट खर्च हुन नसक्नुले देशको समग्र विकासका प्रभाव पर्ने अवस्था सिर्जना भएको छ । प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरीका अनुसार प्रदेश सरकारअन्तर्गत विनियोजित बजेटमा बितेको ११ महिनामा जम्मा ४० प्रतिशतमात्रै खर्च भएको छ । यो अवस्था अझ निराशाजनक रहेको उहाँले बताउनुभयो ।   प्रदेश सरकारले विनियोजन गरेको रु तीन अर्ब ५७ करोड ११ लाख ३१ हजारमध्ये ११ महिनामा रु एक अर्ब ४२ करोड ८४ लाख ५२ हजार ४०० मात्रै खर्च भएको छ । यसैगरी प्रदेश सरकारले विनियोजन गरेको चालु खर्चको बजेट पनि अत्यन्तै निराशाजनक छ । प्रदेश सरकारले विनियोजन गरेको बजेटको चालुतर्फ जम्मा ६५  प्रतिशतमात्रै खर्च भएको छ । कूल रु एक अर्ब ५४ करोड ६० लाख २१ हजार विनियोजित बजेटमध्ये हालसम्म जम्मा रु एक अर्ब ४९ लाख १३ हजार ६५० खर्च भएको प्रमुख कोष नियन्त्रक चौधरीले जानकारी दिनुभयो । यही अवधिमा गत वर्ष पूँजीगत र चालु खर्च केही प्रतिशत बढी भएको थियो ।   आव २०७७/७८ मा सङ्घअन्तर्गतको वार्षिक पूँजीगत खर्च पनि निराशाजनक देखिएको छ । वर्षभरको पूँजीगत खर्च जम्मा ७३ दशमलव ६४ प्रतिशतमात्रै रहेको प्रमुख कोष नियन्त्रक चौधरीले बताउनुभयो । यसैगरी चालुतर्फ भने ९७ दशमव २५ प्रतिशत खर्च भएको थियो । प्रदेशतर्फ पूँजीगत खर्च ८२ दशमव ६२ प्रतिशत र चालुतर्फ ८८ दशमलव ६८ प्रतिशत खर्च भएको थियो । जसले गर्दा शर्त तथा नियमले कार्यान्वयनमा ढिलाइ हुने र समग्रमा विकास बजेटमा प्रभाव पर्ने उहाँले बताउनुभयो । 

तनहुँ :        नयाँ शैक्षिकसत्र सुरू भएको एक महिना बितिसक्दा पनि तनहुँमा पाठ्यपुस्तकको अभाव कायमै रहँदा विद्यार्थीलाई समस्या भएको छ । सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीले सहजरूपमा पाठ्यपुस्तक पाउन नसकेका हुन् ।    विशेषगरी कक्षा ९ र १० को ऐच्छिक विषय अभाव देखिएको छ भने कक्षा ६ र ८ को प्रायः सबै किताब जिल्लामा आइनपुगेको बताइएको छ । अनिवार्य विषयतर्फका मुख्य विषयको पुस्तक पनि जिल्लामा अभाव देखिएको छ । निर्वाचन केन्द्रित अन्य छपाइ तथा कागज अभावका कारण देखाउँदै शिक्षा मन्त्रालयले पाठ्यपुस्तक छपाइमा समस्या भएको बताएको छ ।   विद्यालय सञ्चालन भएको एक महिनासम्म पनि पूरा किताब नआएको दमौलीस्थित साझा बुक्स एण्ड स्टेशनरीका सञ्चालक हरिहर घिमिरेले बताउनुभयो । “शैक्षिकसत्र सुरु भएको एक महिना पूरा हुने बेलासम्म समेत पाठ्यपुस्तक आउन सकेको छैन, यस्तो तरिकाले कसरी विद्यार्थीले एक वर्षभित्र पाठ्यक्रम पूरा गर्छन्”, उहाँले भन्नुभयो ।   जिल्लाका सामुदायिक विद्यालयहरूमा अध्ययन पाठ्यपुस्तकको उपलब्धता नहुँदा विद्यार्थीको पढाइमा समस्या भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि पुस्तक पाउन मुस्किल भएको व्यास नगरपालिका–१ का सीता बजगाईँले गुनासो गर्नुभयो । छोराछोरीका लागि आवश्यक पर्ने पुस्तक अझै आइनपुगेको उहाँले बताउनुभयो । प्रत्येक वर्ष समयमा पुस्तक नपाउने समस्या यस वर्ष पनि दोहोरिएको उहाँको भनाइ छ ।    तनहुँ पुस्तक व्यवसायी महासङ्घका उपाध्यक्ष रामकृष्ण न्यौपानेले सरकारी पुस्तक आउन ढिलाइ भएको र संस्थागत विद्यालयमा पनि पुस्तक अभाव भएको बताउनुभयो । जिल्लामा सामुदायिक तथा संस्थागत सबै प्रकारका पाठ्यपुस्तक अभाव रहेको छ । शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख वसन्तराज पौडेलले अन्य जिल्लाको तुलनामा तनहुँमा पुस्तकको अभाव कम देखिएको बताउनुभयो ।    जिल्लामा काठमाडौँबाट मात्रै नभई पोखरा, चितवनलगायतका क्षेत्रबाट समेत पाठ्यपुस्तक आएका कारणले अन्य जिल्लाको तुलनामा यहाँ पुस्तकको अभाव कम भएको उहाँले दाबी गर्नुभयो । पाठ्यक्रम फेरिएका कक्षामा पुरानै पुस्तकबाट पठनपाठन हुँदै आएको उहाँले बताउनुभयो ।   जिल्लामा ४३२ सामुदायिक र ११९ निजी विद्यालय छन् । सामुदायिक विद्यालयमा करिब ६४ हजार र निजी विद्यालयमा ३२ हजार विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

कैलाली :        कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।    कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेका सोडारीलाई आक्रमण गरेको  प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।    नदी किनारमा तटबन्धका लागि अन्य तीन महिला ढुङ्गा सङ्कलन गरिरहेका थिए । एक्कासी दुईवटा हात्ती नजिकै देखेपछि दुई महिला भागे पनि सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएकोे छ । पछिल्लो समय कैलाली, बर्दिया जिल्लामा जङ्गली जनावरको आक्रमण बढ्दै गएको छ । यसबाट जङ्गल आसपासमा भएका क्षेत्रमा बर्सेनि दर्जनौँ मानिसको ज्यान जाने गरेको छ ।

रुकुमपश्चिम :         रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालक दुवैको घटनास्थलमै मृत्यु भएको छ ।    इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा  मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का  छन् । जिपमा चालक र सहचालक  मात्र रहेको जनाइएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।

पोखरा :          नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा पोखरामा एकदिने प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवर्तित पाठ्यक्रम तथा  पाठ्यपुस्तकसम्बन्धी प्रबोधीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका नेपाली विषय विज्ञ पाठ्यक्रम अधिकृत इन्दु खनालले कक्षा ९ र कक्षा ७ को हालै परिवर्तित नेपाली विषयको पाठ्यक्रमबारे सहजीकरण गर्नुभएको थियो ।   कार्यक्रममा पोखरा महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पाठ्यक्रमलाई आधार मानेर अध्यापन गर्न आग्रह गर्दै शिक्षक निर्देशिका, विशिष्टिकरण तालिका र पाठ्य घण्टाको सही प्रयोगले नै सिकाइ उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।   परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले प्रबोधीकरणले शिक्षण सिकाइलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । परिषद्का सल्लाहकारहरू सहप्राध्यापक पुण्यप्रसाद शर्मा, ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्त, परिषद्का पूर्वअध्यक्ष लोकचन्द्र खनाल, डोलराज अर्याल, सल्लाहकार दिनेश सापकोटा, परिषद्का सचिव सूर्यप्रसाद लम्साल, उपाध्यक्ष विक्रम पौडेल, कार्यक्रम संयोजक शिवहरि सुवेदीलगायतले प्रवोधीकरणको आवश्यकता र महत्वलगायतमा बोल्नुभएको थियो । कार्यक्रममा २०० बढी नेपाली भाषा शिक्षकको सहभागिता थियो ।

  पोखरा :        प्राज्ञिक विद्यार्थी परिषद् नेपाल , पृथ्वीनारायण क्याम्पस इकाई  समितीले आफ्नो एक दिवसीय अभ्यास वर्ग कार्यक्रम सम्पन् गरेको छ । पृथ्वी नारायण क्याम्पसमा भएको सो कार्यक्रम वर्तमान समयमा राष्ट्रको लागि युवाको भूमिका भन्ने मूल विषयका साथ भएको थियो । कार्यक्रममा युवाहरुको भुमिकालाई समेट्दै राष्ट्र निमार्णमा रहने भुमिकाहरु समेटिएको थियो ।    कार्यक्रममा प्रमुख अतिथी रहनु भएका पृथ्वीनारायण क्याम्पसका उप प्रध्यापक शोभाकान्त गौतमले आफ्नो भनाई राख्नुहुदै भने , ‘ राष्ट्र निर्माणका लागि युवाको भूमिका एकदमै महत्वपूर्ण रहन्छ , युवानै वर्तमान र भविष्य दुवै हो ।’ गौतमले युवाको परिचय जोड्दै पूरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष ) हरेक मानिसमा हुनू पर्ने बताए । साथै परिषद् नेपाल गण्डकी प्रदेश उपाध्यक्ष  दिपक रेग्मीले कार्यक्रममा उपस्थित सम्पूर्ण कार्यकर्ताहरूलाई शुभकामना दिए ।     प्राज्ञिक विद्यार्थी परिषद् नेपालको अर्की  राष्ट्रिय सह छात्रा प्रमुख  सृष्टि जोशीले वर्तमान समयमा विश्वविद्यालयमा भइरहेको दलगत राजनीति यसको प्रभाव र  यसको नियन्त्रण सम्बन्धि प्रस्टाउदैँ   राष्ट्रिय स्थरमा  विद्यार्थी परिषद् को भुमिकालाई दर्शाए ।    ५० जना कार्यकर्ताहरुको सहभागितामा भएका यस कार्यक्रममा २५ जनाको नयाँ क्याम्पस इकाई समिति गठन भयो ।    कार्यक्रम सञ्चालन पीएन  क्याम्पस इकाई समिति नवगठित सचिव  आशा माया मगरले गरेका थिए ।

  काठमाडौं :      काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि जितेकी छिन् ।     ललितपुर गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा  शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् ।उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिइन् ।    त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए साथै  फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।   विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।    कोभिड (१९ महामारी) ले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिकरुपमै सम्पन्न भएको हो ।   द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।