सिन्धुपाल्चोक : मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो । मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भन्नुभयो, “यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को जोखिमलाई कम गरी जनधनको क्षतिलाई कम गर्न सहयोग मिल्छ ।” मेलम्चीले गत असारको विनाशकारी बाढीपश्चात् आफ्नै लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) साइरन प्रविधि जडान गरेको थियो । यसैबीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ । आइतबार जय बागेश्वरी माध्यमिक विद्यालय हेलम्बु–३ पाल्चोकको नवनिर्मित भवनको शुभारम्भ गर्दै उहाँले प्रतिस्पर्धामा सफल हुने गरी विद्यार्थीलाई अध्यापन गराउन आग्रह गर्नुभयो । उहाँले नेपाली कांग्रेसले हुने र सक्ने काम मात्र बोल्ने जनाउँदै बोलेको काम पूरा गर्ने बताउनुभयो । ‘शिक्षा विकास तथा समन्वय एकाइ’को रु ६९ लाख ७० हजार सहयोगमा सो भवन निर्माण सम्पन्न भएको हो ।
पोखरा: ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र/छात्रा क्रिकेट प्रतियोगिता अन्र्तगत छात्रतर्फ अम्मरसिंह तथा छात्रातर्फ भद्रकाली मावि विजयी भएका छन् । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लब फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनलमा छात्रतर्फ अम्मरसिंहले बाराही माविलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला व्याटिङ गरेको अम्मरसिंहले पुरा २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार पारेको थियो । अम्मरसिंहका सुमन पन्तले २९ रन जोडे । भद्रकालिका बलर अशोक रेग्मीले ४ तथा मनोज कार्कीले ३ विकेट लिए । जितका लागि १ सय २३ रनको लक्ष्य पछ्याएको बाराहीले ४६ रनमै सम्पूर्ण विकेट गुमाएको थियो । अम्मरसिंहका सुदिप भट्टराईले ५ विकेट लिए । छात्रातर्फ भद्रकालीले कालिकालाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिला व्याटिङ गरेको कालिकाले ३५ रन बनाएको थियो । ३६ रनको चुनौती पछ्याएको भद्रकालीले ८ ओभरमा ९ विकेट गुमाउँदै विजयी लक्ष्य प्राप्त गर्यो । भद्रकालिका श्रद्धा गुरुङ्गले ६ विकेट लिइन् । प्रतियोगितामा छात्रतर्फ अम्मरसिंहका सुदिप भट्टराई सर्वोत्कृष्ट खेलाडी बन्दा बाराहीका अशोक रेग्मी उत्कृष्ट बलर र बाराहीकै मनोज कार्की उत्कृष्ट व्याट्स्म्यान भए । छात्रातर्फ अम्मरसिंहकी सजना खत्री सर्वोत्कृष्ट खेलाडी, श्रीकृष्ण माविका मंजली थापा उत्कृष्ट बलर तथा कालिकाकी रिया गुरुङ्ग वेष्ट व्याट्सउमन बनिन् । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ्ग, किडासाका सिइओ जेनिस मिलर, नेपाल क्रिकेट संघका कार्यवाहक महासचिव प्रशान्त विक्रम मल्ल, केन्द्रिय सदस्य ऋषिराम गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु, स्पोर्टस फर अलका खड्क रानाभाट, आयोजक समितिका अध्यक्ष बविन कुँवर, कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुन लगायतले ट्रफि मेडल प्रमाणपत्र पुरस्कार वितरण गरेका थिए ।
पोखरा: ललितपुर मुख्यालय भइ पोखराको नयाँगाउँमा शाखा कार्यालय रहेको ’ग्लो सँस्था’ ले पोखरा –१५ फलेपाटन स्थित श्री सिद्ध उच्च माविका ५२ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत ५२ जना विपन्न बालबालिकालाई पठनपाठनमा सहज होस् भन्दै झोला, स्कुल ड्रेस, जुत्ता कापी, किताब लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा बोल्दै सँस्थाका संयोजक आगमन राज पौडेलले वार्षीक रुपमा सँस्थाले शैक्षिक सामग्रीहरु वितरण गर्दै आइरहेको बताए । उनले बालबालिकाका लागि मात्र नभएर सीप सिकेर आत्मनिर्भर बन्न चाहने विपन्न तथा बेरोजगार महिला दिदीबहिनीहरु र एकल महिलाका लागि आगामी साउन महिनादेखि निशुल्क सिलाई तालिम शुरु गर्न लागिएको बताए । यस्तै, विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले ग्लो सँस्थाले विद्यालयमा धेरै सहयोगका कार्यक्रमहरु ल्याएको भन्दै कार्यक्रम मार्फत विभिन्न विद्यालय, विद्यालय प्रशासन, विद्यार्थी तथा अभिभावकसँग सम्बन्ध जोड्ने काम गरेको बताए । सँस्थाले यसअघि पनि विद्यार्थीहरुका लागि जाडोमा न्यानो लुगा, स्टेशनरी सामाग्री, जुत्ता, पोशाक, खाजा तथा कम्प्युटर सिक्नका लागि कार्यक्रमहरु संचालन गरेको भन्दै यस्ता सेवा लिएका विद्यार्थीले अझ लगनशिल, मिहेनत र इमान्दारिताका साथ पढाईमा ध्यान दिएर भविष्यमा योग्य नागरिक बन्नुपर्नेमा जोड दिए । शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं –१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले आर्थिक अभावका कारण पढ्न नपाएका बालबालिकाको पढ्न पाउने अधिकार पूरा गर्ने बताए । २०५२ सालदेखि उक्त सँस्थाले विद्यालयमा विभिन्न सहयोगका कार्यक्रमहरु संचालन गर्दै आइरहेकोमा त्यसको निरन्तरता स्वरूप केहीवर्ष देखि छात्रवृत्ति कार्यक्रम शुरु गरेकोमा उनले खुशी व्यक्त गरे। बानियाँले शैक्षिक सामग्री पाएका बालबालिकाका अभिभावकहरुले पनि अब जिम्मेवार भएर आफ्ना बाबुनानीहरुको पढाई, उनीहरुको आनिबानी र संगतका बारेमा ध्यान दिँदै अगाडि बढाउन प्रेरित गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा वडाध्यक्ष तोरण बहादुर बानियाँ र कार्यपालिका सदस्य मन्दिरा परियारले ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए भने, व्यवस्थापक सरस्वती गिरी, संयोजक आगमन राज पौडेल र प्रधानाध्यापक गुरुदत्त कोइरालाले सामग्री वितरण कार्यमा सहयोग गरेका थिए ।
पोखरा: नाटक ‘केस नम्बर ३११’ मञ्चन जारी रहेको छ । गत शुक्रबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक असार ११ गतेसम्म मञ्चन हुनेछ । नाटक पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको हो । यो नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका हुन् । सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउनु भएको छ । नाटकमा झलक थापा, सुशिल बराल, मनिषा के.सी, अदित भुजेल र एलिसा भोगले अभिनय गर्नुभएको छ । यसैगरी गोपाल भुषाल, अनामिका रिजाल, प्रतीक राउत, प्रतिभा रिमाल, पाल्मती थापा, कमल तामाङ, दिप्सना विश्वकर्मा, सुरज तिवारी तथा दिव्य अमृतको अभिनय समेत हेर्न पाइनेछ । नाटक बुधबार बाहेक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार र आइतबार दिउँसो १ बजे समेत नाटक हेर्न पाइन्छ । यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशिल बरालले गर्नुभएको हो । हिंसाले पिडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पार्न खोजेको निर्देशकत्रयको भनाई छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उहाँहरुको अपेक्षा हो । पोखरा थिएटरमा पहिलो पटक इम्प्रोभाइजेस्नल विधिबाट नाटक तयार पारिएको हो । नाटकमा महिलामाथि हुने घटना र घटनाले पार्ने मानसिक असरलाई नयाँ तरिकाले प्रस्तुत गरिएको छ । यो नाटकले मूलतः डिसोसियटिभ आइडेन्टीटी डिसअर्डरको खोजि गर्न प्रेरित गरेको छ । कलाकारको मेहनतका कारण नाटक आकर्षक बनेको छ । नाटक हेर्न पुगेका दर्शकको प्रतिक्रियाका कारण कलाकार समेत उत्साहित बनेका छन् ।
काठमाण्डौँ : नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ को जेठसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखेको हो । रु तीनदेखि रु दुई हजार ७० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको जनाइएको छ । आज सुरु भएको प्रदर्शनी यही असार १९ गतेसम्म प्रतिष्ठानको भानुभक्त कक्षमा चल्ने छ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायतका धेरै विषयका पठनीय एवं अति उपयोगी करिब ५०० थरिका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएको छ । नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायत शब्दकोषमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि व्यवस्थापक सुधीर ढङ्गेलले दिनुभयो । माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोषको रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उहाँले बताउनुभयो । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले वर्षमा कम्तीमा तीन पटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असारमा प्रदर्शनी आयोजना हुने गरेको छ । प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेका छन् । दैनिक ३०० सयभन्दा बढी पाठक प्रदशर्नी अवोकन गर्न आउने गरेका छन् । दैनिक रु २० हजार बराबरका पुस्तक बिक्री हुने गरेको समेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो । यसपटकको प्रदर्शनीमा प्रतिष्ठानले हालै प्रकाशनमा ल्याएका ‘आधुनिक नेपाली नारी कथा’, ‘पूर्वी नेपालका मालिक लोकभाका’, विशेश्वरप्रसाद कोइरालाको उपन्यास ‘हिटलर र यहुदी’ को अङ्ग्रेजी संस्करण, यादव खरेलको ‘यस्तै रहेछ यहाँको चलन’, विष्णुप्रसाद शर्मा पराजुलीको ‘कर्णालीमा प्रचलित दर्शन परम्परा’,केशवशरण अर्यालले तात्पर्य चण्डिका व्याख्यासहित नेपाली अनुवाद गर्नुभएको ‘प्रशस्तपादभाष्य’, डा सर्वराज आचार्यको ‘भानुभक्तको जीवनीका मतान्तरको तुलनात्मक विश्लेषण’, अनुवादक गोपाल अश्क र सम्पादक प्रा डा उषा ठाकुरको ‘प्रज्ञा नेपाली समालोचना’ को हिन्दी अनुवाद पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । यसैगरी पुरुषोत्तम चौधरीको ‘थारु अभिचार पद्दति’, डा मुकुन्द शर्माको ‘नेपाल भाषाको दाफा भजन’ र नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीले लेख्नुभएको तथा नारद बज्राचार्यले अनुवाद गर्नुभएको ‘विपात्र’ उपन्यास पनि प्रदर्शनीमा राखिएको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले हरेक नेपालीका हात हातमा पुस्तक पु¥याउन प्रदर्शनी आयोजना गरी प्रचारप्रसार गरिएको जानकारी दिनुभयो । यस्ता प्रदर्शनीले पठन संस्कृतिलाई जोड दिन सहयोग गर्ने उहाँको भनाइ छ । प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको छ ।
काठमाण्डौँ ः नेपाल धितोपत्र बोर्ड सम्बद्ध कर्मचारी युनियनले लगानीकर्ताका तर्फबाट राखिएका कतिपय माग बोर्डको कार्यक्षेत्रभन्दा बाहिरका विषय भएको स्पष्ट पारेको छ । धितोपत्र बजारको सुधारको माग राख्दै विगत केही दिनदेखि जारी आन्दोलनप्रति आज धारणा सार्वजनिक गर्दै कर्मचारी युनियनले वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालयको पहलकदमीमा मात्रै माग सम्बोधन हुनसक्ने स्पष्ट पारेको छ । युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिअनुसार बोर्ड आफैले पूरा गर्न सक्ने लगानीकर्ताका यथोचित माग यथाशीघ्र सम्बोधन गर्न बोर्ड नेतृत्व समक्ष र अन्य माग सम्बोधन गर्न नेपाल सरकार समक्ष माग गर्दै कार्यालय परिसरको सुरक्षा एवं बोर्डका कर्मचारीलाई सुरक्षित कार्यस्थललको प्रत्याभूति गराउन माग गरेको छ । बोर्डमा नयाँ नेतृत्व भर्खरै आएको र देखिएका समस्या समाधानका लागि प्रयास गरिरहेको उल्लेख गर्दै यूनियनले कार्यालय परिसरमा जारी राखिएको आमरण अनशनलाई बोर्डको कर्मचारी यूनियनले गम्भीरताका साथ लिएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाण्डौँ : मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक कराते र तेक्वान्दो प्रतियोगिताको आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार भैरहवा, दमक, वीरगन्ज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यु–१४, यू–१६ र यु–१८ क्रिकेट प्रतियोगिता हुनेछ । क्रिकेट यही असार २० गतेसम्म सञ्चालन हुनेछ । क्रिकेटको विजेताले रु ३० हजार पाउनेछ भने दोस्रो हुने टोलीले रु २० हजार हात पार्नेछ । त्यसैगरी खुला कलेजस्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म काठमाडौँमा र बुटवलमा असार ११ देखि १३ गतेसम्म हुनेछ । झापामा असार १८ गते रेस्लिङ प्रतियोगिता हुनेछ । बुटवल र काठमाडौँमा असार ११ देखि १६ गतेसम्म विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन गरिनेछ । यस्तै अन्तर कलेज उपत्यकास्तरीय बास्केटबल असार १५ देखि १७ गतेसम्म काठमाडौँमा हुनेछ । असार १७ र १८ गते राष्ट्रियस्तरको फूल कन्ट्याक्ट कराते काठमाडौँमा हुनेछ भने असार २० र २१ गते उपत्यकास्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुनेछ । यस्तै असार २२ गते काठमाडौँमा विभिन्न खेल विधाका प्रशिक्षक एवं व्यवस्थापकलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
काठमाण्डौँ : सत्तारुढ नेकपा(माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन हुनुभएको छ । राजधानीमा शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस्तै महासचिवमा प्रेम खनाल चयन हुनुभएको छ । महासङ्घले आगामी माघमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । महासङ्घको कूल १५५ सदस्यीय केन्द्रीय समिति रहेको छ । स्थानीय र प्रदेश समिति पनि छिट्टै चयन गर्ने महासङ्घले जनाएको छ । आज बिहान मात्रै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कर्मचारीलाई देश र जनताको हितमा काम गर्न निर्देशन दिनुभएको थियो । उहाँले सङ्घीय निजामती विधेयक पारित हुन नदिन निजामती कर्मचारी भित्रैको उच्च नेतृत्व लागिपरेकाले त्यसकाविरुद्ध सङ्घर्ष गर्न आग्रह गर्नुभएको थियो । महासङ्घका फ्याक्सन इञ्चार्जसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देश र जनताको हित र भलो चिताइ आफ्नो भूमिका इमान्दार भएर निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो । देशभरका कर्मचारीको ट्रेड युनियनमध्ये महासङ्घ पनि एक हो ।
भरतपुर : चितवन र आसपासका क्षेत्रमा भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ सुरु भएको नयाँ भरतपुर २२०र१३२ किलोभोल्ट (केभी) सवस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन सवस्टेसन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका निर्माणाधीन सवस्टेसनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ । ‘ग्यास इन्सुलेटेड सवस्टेसन (जिआइएस)’ प्रविधिमा आधारित सवस्टेसनका अधिकांश उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ । अब ती उपकरणको जडान मात्र बाँकी छ । सवस्टेसनमा १६०र१६० एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचना निर्माण भइसकेको छ भने ट्रान्सफर्मर जडान गर्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवस्टेसन निर्माणस्थलको भ्रमण गरी दुई महिनाभित्र काम सम्पन्न गर्न आग्रह गर्नुभएको छ । आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीसँग निर्माण प्रगति बेहोरिरहेको समस्यालगायतका विषयमा छलफल गरी दुई महिनाभित्र सवस्टेसन सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । आयोजनाअन्तर्गत नयाँ भरतपुर र लमजुङको उदीपुरमा सवस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग करिब दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । कोभिड–१९ को महामारीका कारण सवस्टेसन निर्माण प्रभावित भएको थियो । तनहुँमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना पनि नयाँ भरतपुर सवस्टेसनमा नै जोडिनेछ । मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६०० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ । आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सवस्टेशनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेशन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सवस्टेसन निर्माण भइरहेको छ । यस प्याकेजअन्तर्गत खुदी र धारापानीमा सबस्टेसन निर्माणाधीन छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।

