पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

काठमाण्डौँ :      नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सङ्घले आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो ।       सङघले आज एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल चार्ज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँले भाडा बढ्नेछ । बढेको भाडाअनुसार यो रुटमा हवाई यात्रुले अधिकतम रु १६ हजार ८०५ तिर्नुपर्नेछ । सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ७० ले भाडा बढेर जम्मा रु ४ हजार १९५ पुगेको छ ।     नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो ।

  गोरखा :    गोरखामा करेन्ट लागेर  विद्युत‍्का कर्मचारीको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बुको मृत्यु भएको हो ।     जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार हुकिङ गरी चोरी गरिएको विद्युत् लाइन छुटाउन पोलमा चढ्दै गर्दा लिम्बुलाई करेन्ट लागेको हो । ताप्लेजुङ स्थायी घर भएका उनलाई करेन्ट लागेपछि भुईमा खसेका थिए । गम्भीर घाइते लिम्बुको उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सप्तरी :   सप्तरीमा आज छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–९ बिहारपुरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको हो । मृत्यु हुनेमा ३० वर्षीया रुमी खातुन रहेकी छिन् ।       आफ्नै घरमा मोटर चलाइ लुगा धुने क्रममा खातुनलाई करेन्ट लागेको थियो । गम्भीर घाइते उनको गजेन्द्रनारायण सिहं अस्पताल राजविराजमा उपचारका  क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।       यस्तै तिलाठी कोइलाडी गाउँपालिका–६ मधेपुराका पाँच वर्षीय विजयकुमार मण्डलको डुबेर ज्यान गएको छ । घरदेखि १०० मिटर टाढा खेल्ने क्रममा कल्भटमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।  

काठमाण्डौँ :       गृहमन्त्री बालकृष्ण खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताउनुभएको छ     आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित योग शिविर तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न तथा जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकारी हुने उल्लेख गर्नुभयो ।    गृहमन्त्री खाणले समाजमा हुने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी बहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीको तनाव व्यवस्थापनमा योगाभ्यासको अधिक महत्व रहने विचार व्यक्त गर्नुभयो ।    उहाँले ‘मानवताका लागि योग’ भन्ने नारालाई आत्मसाथ गरी समाज र राष्ट्रको हित तथा विकासमा आफूलाई समर्पित गर्न पनि आग्रह गर्नुभयो । उहाँले योग र प्रणायामको नियमित अभ्यासले मानव शरीर तथा मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने चर्चा गर्नुभयो ।   योगाभ्यासलाई प्रशिक्षणमा सीमित नराखी आफ्नो व्यक्तिगत एवं व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “योग एवं आसन, प्रणायम मात्र होइन एक अनुशासित जीवनशैली पनि हो ।”    प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नियमित योगाभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी शारीरिक विकारबाट मुक्ति दिलाउन मद्दत गर्ने बताउनुभयो । 

    पोखरा :    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र भरतपुर महानगर प्रमुख रेनु दाहालबीच भेटवार्ता भएको छ ।    आइतबार भरतपुर महानगरपालिका कार्यालयमा भएको भेटवार्तामा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको  प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । उनका अनुसार दुई महानगरपालिकाका प्रमुखले भेटमा पर्यटन प्रवद्र्धन लगायतका विविध विषयमा मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।    पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा र भरतपुर बीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने र अनुभवहरु आदानप्रदान गर्नुपर्ने बताए । उनले पोखरा र भरतपुरका बीचमा पर्यटन प्रवद्र्धन र विकास लगायतका विविध पक्षमा सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै पोखरा आएका पर्यटकलाई भरतपुर र भरतपुर आएका पर्यटकलाई पोखरा आउन प्रेरित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।    प्रमुख आचार्य नेतृत्वको पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाईन प्रणाली, खरिद व्यवस्थापन, योजना लगातका विषयमा जिज्ञासा राखेको थियो । भरतपुरका प्रमुख रेनु दाहालले पोखराका मेयरसहितको टोलीलाई स्वागत गर्दै पोखराबाट भरतपुर र भरतपुरबाट पोखराले एक अर्काका लागि सहयोगी भूमिका खेल्नुपर्ने बताइन् ।    उक्त अवसरमा भरतपुर महानगरको तर्फबाट प्रसाशकीय अधिकृत रामबन्धु सुवेदी सहित शाखा महाशाखा प्रमुखहरुले र पोखरा महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले सहजिकरण गरेका थिए ।   

कास्की:  पोखरा महानगरपालिका ३ तेर्सापट्टीस्थित सिएम स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।   मापडण्ड पुरा नभएकै कारण १३ वर्षिय किशोर दिपेश शर्माको स्विमिङ पुलमा डुबेर मृत्यु भएपछि थप अनुसन्धानको माग गर्दै हिजो (आइतबार) आफन्तले जाहेरी दिएका हुन् ।    जाहेरी दर्तापछि उक्त घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले बताए । ‘जाहेरी नदिइकन प्रक्रिया अघि बढ्दैन । उहाँको बुवा आमा दिन सक्ने अवस्थामा हुनुहुन्थेन, प्रहरी निरिक्षक खड्काले सुनगाभा न्यूजसँग भने, ‘हिजो नै जाहेरी दिनुभएको छ । थप अनुसन्धान हुन्छ । सायद दाहसंस्कार पनि गरिसक्नुभयो होला ।’   पर्वत घर भई पोखरा महानगरपालिका ५ मालेपाटन बस्दै आएका १३ वर्षिय दिपेश शर्मा आमासँग गत शनिबार पौडी खेल्न सिएम स्विमिङ पुल पुगेका थिए । सोही क्रममा बेपत्ता भएका शर्मालाई डुबिरहेको अवस्थामा ११ फिट गहिराइमा भेटिएको थियो ।   उद्धार पश्चात थप उपचारका लागि फिस्टेल अस्पताल पुर्याउँदा चिकित्सक टोलीले मृत घोषणा गरेको थियो ।    मृतक दिपेशका आफन्तले कास्की प्रहरीलाई जाहेरी दिदैं स्विमिङ पुलमाथी अनुसन्धान गरि आवश्यक कारवाही गर्नुपर्ने माग राखेको छ । 

दोलखा :      खेतीपाती लगाउने मुख्य समयमा किसानले मल नपाएर चौतर्फी विरोध भई रहेका बेला दोलखा जिल्लामा जेठ मसान्तसम्म  ९२५ मेट्रिकटनभन्दा बढी मल भित्रिएको छ । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुली शाखाले मल आपूर्ति गर्ने जिम्मेवारी पाई मल आपूर्ति गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म जिल्लामा नौ लाख २५ हजार १०० किलोग्राम मल भित्रिएको तथ्याङ्क रहेको शाखाका प्रमुख नवराज महतले बताउनुभयो ।       उहाँका अनुसार जिल्लामा उक्त परिमाणअनुसारको युरिया, डिएपी र पोटास मल तथा कृषि चुन आपूर्ति भइसकेको छ । दोलखाको दुई नगरपालिका र सात गाउँपालिकाका सबै स्थानीय तहले सिफारिस गरेका आधारमा अनुदानमा किसानलाई वितरणका लागि उक्त मल नौ वटा नै स्थानीय तहमा आपूर्ति गरिएको शाखाप्रमुख महतले जानकारी दिनुभयोे ।       नेपाल सरकारले कृषकका लागि दिएको अनुदानअनुसार युरिया मल ५० केजीको प्रतिबोरा रु ८२४, डिएपी ५० केजीको प्रतिबोरा रु दुईहजार २८९, पोटास ५० केजीको प्रतिबोरा रु एक हजार ६६५ र कृषि चुन २५ केजीको प्रतिबोरा रु १८५ ले बिक्री गर्नेगरी मल जिल्ला भित्रिएको हो । अनुदानमा मल वितरणका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्लास्तरीय संयन्त्र खारेज भएपछि हाल उक्त काम पालिका उपप्रमुख वा उपाध्यक्ष संयोजक रहनेगरी समितिलाई जिम्मा दिइएको छ ।       दोलखामा हाल ३९ वटा सहकारी सङ्घसंस्थाले अनुदानको मल ल्याउने जिम्मा पाएका छन् । जिल्लामा ९२५ मेट्रिकटन मल भित्रिए पनि कृषकले मागअनुसार मल पाउन नसक्दा मलको अभावसँगै कालोबजारी मौलाएको कृषकको गुनासो  छ । 

काठमाण्डौँ :      शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिराले आइतबार बिहानदेखि अवरुद्ध बेँसीशहर चामे सडक सञ्चालन भएको छ । बेँसीशहर नगरपालिका–६ खरखरेमा अवरुद्ध बनाएपछि वैकल्पिक सडक बेँसीशहर बाझाखेत खुदी सडकको प्रयोग गरी आज बिहान ११ बजेतिर सवारी आवतजावत भइरहेको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताउनुभयो ।       उहाँले भन्नुभयो, “खरखरेमा गएको ठूला पहिराका कारण सो स्थानमा तत्काल सडक खुलाउन सम्भव नभएपछि वैकल्पिक बाटोबाट सवारी साधन सञ्चालन गर्न लगाएका छौँ । ”    वैकल्पिक सडकको अप्ठ्यारो भएको ठाउँमा कार्यालयको एस्काभेटरले मिलाउँदै सवारी सञ्चालन भइरहेको उहाँको भनाइ छ ।       यसखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाको खुदी, भुलभुलेलगायतका स्थानमा सडक अवरुद्ध भए पनि खरखरेबाहेक अन्य स्थानको अवरोध भने हटिसकेको छ । आइतबार बिहानदेखि रोकिएका यात्रु तथा सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन् । हाल वैकल्पिक बाटो प्रयोग गरेर सञ्चालन भए तापनि अविरल वर्षा भइरहेमा बेँसीशहर चामे सडकको विभिन्न स्थानमासमेत अवरुद्ध हुनसक्ने सम्भावना रहेको छ ।

काठमाण्डौँ :      नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रुपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ । संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार साँझ बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।    प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको उडानमा अनिवार्य दुईजना पाइलट राख्नुपर्ने निर्णय गरिएको जनाएको छ ।   यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोके बमोजिम दुई जना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ । हाल नेपालमा १० वटा निजी र नेपाल सरकारको एक गरी ११ वटा हेलिकप्टर कम्पनी छन् । प्राधिकरणले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौँ बाहिर हेलिकप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ ।    हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ । यसैगरी हेलिकप्टरले पनि यही असार ७ गतेदेखि तोकिएका काठमाडौँ बाहिरका विमानस्थलमा आफ्नो रात्रि बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने निर्णयसमेत गरेको छ ।