पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

चितवन :          चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन ।   निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो ।    निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ । निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ ।   निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्ने गरी एउटा खोर बन्दै छ । झण्डै एक महिनामा सक्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो ।    कच्चीलाई पनि मर्मत गरेर तयारी अवस्थामा राखिँदै छ । हाल सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारेपछि खोरको मर्मत गरिने छ । आचार्यले भन्नुभयो, “तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन । भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन ।” यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएको उहाँले जानकारी दिनुभयो ।   चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो । दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो । उहाँका अनुसार साउनयता चार वटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिँदै आएको छ । बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हालसम्मको उच्चदर हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो ।   बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिबेला देशभरको सङ्ख्या २३५ रहेको थियो । यस वर्ष बाघ गणना भइसकेको छ । विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ ।

म्याग्दी :       म्याग्दीमा खेतीका लागि उर्वर खेतबारी पछिल्लो एक दशकयता झाडीमा परिणत हुँदै गएका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा ग्रामीण विपन्न वर्ग समस्यामा पर्दै गएका छन् । उनीहरूलाई साँझ, बिहान हातमुख जोड्न पनि मुस्किल हुँदै गएको छ ।      सुविधा भोगी प्रवृत्ति, बसाइँसराइ र स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडी मुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझिएको हो । स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएको भए पनि जिल्लाका युवा भने पाए युरोप–अमेरिका नपाए खाडी मुलुक भए पनि जान बाध्य छन् ।     चुनावका समयमा कृषि क्रान्तिका भाषण गर्ने राजनीतिक दलका नेता, जनप्रतिनिधि र सरोकारवाला सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले भू–उपयोग नीतिलाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा भएको जग्गा जमिन बाँझै राखेर चर्को मूल्यमा आयातित खाद्यान्न किनेर खान बाध्य हुनु परेको छ । युवा विदेशिने र सहर पलाएन हुनेक्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझै भएको हो ।       बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गा, जमिन बाँझै छाडेका छन् । युुवा विदेशिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ । स्थानीय तहको निर्वाचनका लागि सहरबाट गाउँ आएका युवा केही दिनका पाहुना जस्तै मात्र भएका छन् । दसैँ, तिहार, महामारी, प्राकृतिक विपत्ति र निर्वाचनका बेला गाउँ युवाले भरिभराउ हुने गरे पनि सहज अवस्थामा भने गाउँ युवा विहीन हुने गरेको बेनी नगरपालिका–२ का ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।      गाउँमा खेती गर्ने जनशक्ति नहुँदा जिल्लाको बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौँ हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् । सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझै रहेको स्थानीय टेकबहादुर कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, “खेती गर्न जनशक्ति पाइँदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गा, जमिन बाँझै छाड्न बाँध्य छौँ ।”      यहाँका बासिन्दाले आफ्नै जग्गा, जमिन भएर पनि सदरमुकामदेखि खाद्यान्न सामग्री किनेर ल्याउने गर्दछन् । सुविधा खोज्दै केही सहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थालेको मालिका–५ का हेमबहादुर किसानले बताउनुभयो । अहिले यहाँ भएका युवा पनि खेतीपाती छाडेर व्यापार, व्यवसाय गर्न थालेका उहाँले बताउनुभयो ।      ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन जनशक्ति अभावकै कारण बाँझिन पुगेको छ । गाउँमा अन्न उत्पादन हुने खेतीयोग्य जमिन बाझिँदै जान थालेपछि अन्न उत्पादन पनि घट्दै गएको छ । शिक्षित वर्ग र पुँजी भएका सहर झरेका छन् भने रोजगारका लागि विदेशिएका परिवार पनि सुविधा खोज्दै सहरमा बसाईं गर्न थालेपछि गाउँका घरमा बुढाबूढी मात्रै देखिन्छन् । वर्षांैदेखि भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिएको र घरहरु जीर्ण हुँदै गएका छन् ।       भूकम्पले भत्काएको घरको पुनःनिर्माण नगरी सहर बजारमा डेरामा बस्न थालेका छन् । एकातिर कामदारको अभाव छ भने अर्कोतर्फ खेतीयोग्य जमिनलाई पल्टिङ गर्नेक्रम उत्तकै बढेको छ । खेतीयोग्य जमिन बाँझिन थालेपछि खाद्यान्न अभाव देखिएको छ भने मूल्यवृद्धिको मारमा परेका छन् । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्न कम उत्पादन हुने भएकाले बाहिरबाट निर्यात गनुपर्ने भएकाले मूल्यवृद्धि हुने गरेको व्यापारीको भनाइ छ ।       “खेतबारीमा वनमारा र सिरु फुलेको छ, गाउँले बजारको आयातित चालम र खाद्यान्न किनेर खाने गरेका छन्”, मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष खेतीयोग्य जमिन बाँझिनेक्रम १५ प्रतिशतले बढ्दै गएको छ । तरकारी उत्पादन हुने खबरा, बगरफाँट, सिम, थामडाँडा, बाबियाचौरलगायत ठाउँमा पनि जमिन बाँझै छ  ।      धान उत्पादन हुने सिंगा, बगरफाँट, डाँडाखेतलगायत ठाउँमा बस्ती बसाल्ने तथा जग्गा प्लटिङ गर्ने गरेका छन् । यसले गर्दा सदरमुकाम तथा मुख्य बस्तीमा जग्गाको भाउ आकाशिएको छ । कृषि कार्यालय र स्थानीय तहले किसानलाई प्रोत्साहनका लागि खाद्यान्न, तरकारीबाली, माछा व्यवसाय, च्याउखेतीलगायतमा अनुदान दिने, बीमा गर्ने, प्रविधि प्रदान गर्ने गरेका भए पनि खेतीयोग्य जमिन अझै प्रयोगमा आउन सकेको छैन ।     भूकम्पपछि गाउँबाट सहर झर्नेक्रम बढेसँगै खेतीयोग्य जमिनलाई घडेरीका रुपमा बेच्न भन्दै पल्टिङ गर्न थालिएकाले जमिन बाँझो हुनेक्रम उत्तिकै बढेको हो । पछिल्लो समय जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक सरदर ५० थानभन्दा बढी जग्गा किनबेच हुने गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।

तनहुँ :     जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन छाडेका हुन् । साँझ ७ः३० बजेपछि सबै घरका मानिसले ढोका थुनेर बस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।        रातको समयमा शौच गर्न पनि बाहिर जान डर हुने गरेको स्थानीयवासीको भनाइ छ । मञ्चमाया सारुले भन्नुभयो, “सहर बजारको घर भए पो घरभित्रै शौचालय निर्माण गरिएको हुन्छ, तर गाउँघरतिर प्रायः शौचालय बाहिर नै बनाइन्छ”, उहाँले भन्नुभयो, “बाँच्नु त पर्यो नि बाहिर निस्कन डर लाग्छ ।”      चितुवाले आफ्नो करिब रु ३० हजार मूल्य बराबरको खसी खाइदिएर क्षति बनाएको उहाँले दुखेसो पोख्नुभयो । एक सातामा उक्त क्षेत्रमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान जानुका साथै एक बालिकासहित तीन मानिस घाइते भएका छन् । चितुवाको आक्रमणबाट पाँच वर्षीय सुप्रिम बगाले बगरको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट आठ वर्षीय रियाना थापा, ३४ वर्षीय मिलाल बरायाञ्जा र एक महिला घाइते भएका छन् ।      चितुवाका आक्रमणबाट मानवीय क्षति भएपछि स्थानीय छपेली सामुदायिक वनमा तीन वटा खोर राखेर पासो थापिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । सचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै सुरक्षित भएर बस्न स्थानीय बासिन्दालाई आग्रह गरिएको उहाँले बताउनुभयो । चितुवाका लागि खोर राखिए पनि हालसम्म चितुवा पासोमा पर्न सकेको छैन । जिल्लामा हालसम्म चितुवाको आक्रमणबाट बाह्र जना बालबालिकाले ज्यान गुमाइसकेका छन् ।      चितुवा देखिएमा तत्काल खबर गर्न स्थानीय बासिन्दालाई आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । साँझ र बिहानको समयमा सुरक्षित भएर हिँड्डुल गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो । 

काठमाण्डौँ :     सूचनाको हकसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गरी सार्वजनिक महत्वका सूचना माग गर्न नागरिक सङ्गठित भई सामूहिक रुपमा अभियान चलाउन थालेका छन् ।    सूचनाको हकको सही अभ्यास र प्रयोग गर्न सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ विधिवत् स्थापना भई अभियानमा लागेको हो । महासङ्घले आज राष्ट्रिय सूचना आयोगसँगको सहकार्यमा सूचनाको हक प्रवद्र्धन र यसको व्यावहारिक प्रयोग विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।   कार्यक्रममा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना नदिने ३१ कार्यालय प्रमुखलाई कारबाही गरिएको जानकारी दिनुभयो । कारबाही गरिएका कार्यालय प्रमुखको बढुवा नगर्न र सार्वजनिक पदमा पुनःनियुक्ति नगर्न पनि सम्बन्धित कार्यालयमा लेखी पठाइएको उहाँले सुनाउनुभयो ।    “महालेखापरीक्षकको कार्यालयले स्थानीय तहका बेरुजुका विषयमा वेबसाइटमा प्रतिवेदन राख्न छोडेकामा आयोगकै आदेशमा राख्न थालेको छ, सार्वजनिक निकायले कानून बमोजिम तोकेका विषय तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्छ”, प्रमुख आयुक्त गुरुङले भन्नुभयो ।   सार्वजनिक निकायमा कार्य गर्ने कर्मचारीलाई गोपनीयताको सपथ गराउँदा पनि सूचनाको हक कार्यान्वयनमा समस्या देखिएको आयोगको अनुभव छ । आयोगले सूचना मागकर्ताका लागि सहजीकरण गर्ने गरी पुस्तक प्रकाशन गर्न लागेको जनाएको छ । सार्वजनिक निकायका लाग पनि सहजीकरण पुस्तिका प्रकाशन गर्ने तयारी भइरहेको उहाँले सुनाउनुभयो ।    सूचनाको हकको अभ्यासमा क्रियाशील नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहालले लोकतन्त्रलाई बचाउनका लागि सूचनाको हक अस्त्र बन्ने बताउनुभयो । पारदर्शीता र सुशासनका लागि पनि सूचनाको हकले सहयोग गर्ने भएकाले सचेत नागरिकले यसको निरन्तर अभ्यास गरिनुपर्ने उहाँको भनाइ थियो । उहाँले सूचनाको हकलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न नागरिकस्तरबाट दबाव जरुरी रहेकामा जोड दिनुभयो ।   महासङ्घका अध्यक्ष उमीद वाग्चन्दले नागरिक अभियानका रुपमा स्थापना भएको संस्थाले ३५ जिल्लामा अधिवेशन सम्पन्न गरेको जानकारी दिनुभयो । आगामी भदौसम्म ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गरी राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा लागिएको पनि उहाँले बताउनुभयो । संस्थाले सूचनाको हकको अभ्यासमा लाग्न चाहनेका लागि भौतिक वा अनलाइनका माध्यमबाट तालिम कार्यक्रम आयोजना गर्ने तयारीसमेत गरेको छ ।    सात सय ५३ वटै स्थानीय तहलाई सूचनाको हकका विषयमा जागरण फैल्याउन बजेटसहितको कार्यक्रम गर्न लगाउने अभियानमा समेत महासङ्घ लागेको छ । कार्यक्रममा उपभोक्ता महासङ्घका र महासङ्घ उपत्यका प्रदेशका संयोजक ताराबहादुर भण्डारीलगायतका वक्ताले सूचनाको हक प्रवद्र्धनका लागि नागरिक जागरण गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

  पोखरा :       पर्यटकीय राजधानीका रुपमा रहेको पोखरा आएका पर्यटकको बसाईं लम्ब्याउन पोखराका पर्यटन व्यवसायी नयाँ गन्तव्यको खोजी र प्रवद्र्धनमा जुटेका छन् । पोखराबाट दुईरतीन घण्टामै पुग्न सकिने आकर्षक धार्मिक तथा प्राकृतिक क्षेत्रको भ्रमण गराउनसके पर्यटकको बसाईं लम्याउने योजनासहित पोखराका पर्यटन व्यवसायीहरूले पोखराका पर्यटकलाई बागलुङको बलेवा र भकुण्डे ल्याउनका लागि नयाँ गन्तव्यका रुपमा विकास गर्नका लागि प्रवद्र्धनात्मक कार्यक्रम गर्न थालेका छन् ।        नेपाल एशोसिएसन अफ ‘टुर एण्ड ट्राभल एजेण्ट्स’ (नाट्टा) गण्डकी प्रदेश तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा पोखराका पर्यटन व्यवसायी बागलुङको बलेवा र भुकण्डेको प्रवद्र्धनमा जुटेका हुन् । पोखरामा आएका पर्यटकको बसाईं लम्ब्याउनका लागि खोज्ने वैकल्पिक पर्यटकीय गन्तव्य बागलुङको भैरवस्थान र भकुण्डे बनाउनका लागि गन्तव्य पहिचान र प्रवद्र्धनमा पोखराका पर्यटन व्यवसायी जुटेका हुन् ।       नाट्टामा आबद्ध होटल व्यवसायी, यातायात व्यवसायीलगायतका पर्यटनसँग सम्बन्धित व्यवसायीले पोखरा आएका पर्यटकलाई थप समय भुलाउनका लागि वैकल्पिक गन्तव्य खोज्ने क्रममा बागलुङको भैरवस्थान हुँदै भकुण्डे एउटा विकल्प हुने गरी प्रचारप्रसार र प्रवद्र्धनमा जुटेका हुन् ।       पोखरा आएका पर्यटक केही घण्टामै वैकल्पिक गन्तव्यमा पुग्नेगरी नयाँ गन्तव्य तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा जुट्दै आएको नाट्टाले यसपटक पोखरा आएका पर्यटकलाई पर्वत र बागलुङ जोड्ने बञ्जी पुल, बलेवा विमानस्थल क्षेत्र, भैरवस्थान मन्दिर, भकुण्डे घरबास, बराह ताल हुँदै बागलुङ बजार ल्याएर पञ्चकोट पुर्याउने योजनाका साथ पर्यटन व्यवसायीहरूलाई त्यस क्षेत्रको भ्रमणमा ल्याएको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो ।       “पोखराबाट नजिकका गन्तव्यमा पर्यटक पुर्याउन सके पोखराको मात्र नभई त्यस क्षेत्रको पर्यटकीय गतिविधि बढाउने हाम्रो उद्देश्य हो, पोखरा बसाईंका लागि आएका पर्यटकलाई थप दुई दिन लम्ब्याउन वैकल्पिक गन्तव्य आवश्यक हुन्छ, त्यसैले नाट्टाले समय समयमा नयाँ गन्तव्यको खोजी र प्रवद्र्धन गर्दै आएको छ”, अधिकारीले भन्नुभयो, “पोखरा आएका पर्यटक छोटो समयमै पर्वतको कुस्मा र बागलुङको बञ्जीजम्प हुँदै भैरवस्थान दर्शन गरेर भकुण्डे बसेर बागलुङको पञ्चकोट आउन सक्छन्, त्यसैले त्यस क्षेत्रको प्रवद्र्धन र अवलोकनका लागि नाट्टामा आबद्ध पर्यटन व्यवसायी र पर्यटन मन्त्रालयका कर्मचारी भैरवस्थान, भकुण्डे हुँदै बागलुङ बजार अवलोनका लागि आएका हौँ ।”     पोखरापछि थप दुई दिन बिताउन कुस्मा, भैरवस्थान हुँदै भकुण्डे गज्जबको गन्तव्य बन्ने अधिकारीको भनाइ छ । पछिल्लो समय कुस्माको बञ्जी पुल अवलोनका लागि आउने पर्यटकलाई समेत बागलुङको भकुण्डेमा एक रात बिताउनका लागि आकर्षित गर्न सकिने पर्यटन व्यवसायीको भनाइ छ ।       पोखरा आएका पर्यटकलाई बागलुङ पठाउँदा पोखराको पर्यटन व्यवसायमा समेत अप्रत्यक्ष फाइदा पुग्ने भएपछि व्यवसायी आफ्नै सक्रियतामा नयाँ गन्तव्य पहिचान र प्रवद्र्धनमा जुटेका हुन् ।       आफैँ नपुगेको र नबसेको स्थानमा पर्यटकलाई जाउ भन्न समस्या हुने र पर्यटकले नयाँ गन्तव्य भनेजस्तो नभएपछि पोखराकै पर्यटन व्यवसायमा समस्या पर्ने भएपछि नाट्टामा आबद्ध पोखराका पर्यटन व्यवसायी आफैँ भैरवस्थान दर्शन, भकुण्डे घरबास हुँदै बागलुङ बजार आएका हुन् । भैरवस्थान र भकुण्डेको भ्रमणमा सहभागी पर्यटन व्यवसायीले पोखरा आएका पर्यटकलाई भैरवस्थान र भकुण्डेलाई एक दिन वा दुई दिनको भ्रमणका लागि पर्यटक पठाउन समस्या नरहेको बताएका छन् ।        भकुण्डे घरबासको अर्गानिक खाना, आरामदायी बसाई, प्राकृतिक बातावरण र हिमालको दृश्यले पर्यटकलाई आकर्षित गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो । भ्रमणमा सहभागी नाट्टा गण्डकीका द्वत्तिय उपाध्यक्ष तथा भ्रमण समूहका संयोजक कमला गिरीले भैरवस्थान र भकुण्डेमा पर्यटक रमाएर दुई दिनसम्म बिताउनसक्ने बताउनुभयो ।       भैरवस्थान र भकुण्डेलाई पोखरापछिको पर्यटकीय गन्तव्य बनाएर पर्यटक पठाउन पोखराका पर्यटन व्यवसायी लालयीत भएका छन् । उनीहरूले पदमार्ग र सवारीसाधन दुवै तरिकाले यहाँ पर्यटक आउने सम्भावना रहेको बताएका छन् । उनीहरूले पर्यटकीय गन्तव्य र घरबासको आतिथ्यता र व्यवस्थापन निकै राम्रो भए पनि सडकलाई भने केही सुधार गर्न आवश्यक रहेको बताएका छन् । घरबासमा पहुँनाका लागि खानाका लागि आलु, मकै, कोदो, साग भकुण्डेमै उत्पादन भएका कारण अर्गानिक परिकार, घरबास व्यवस्थापन, भ्यू–टावर, प्राकृतिक संरचना लगायतले पर्यटक आकर्षित गरिरहेको र सिजन याममा यहाँको घरबासमा पर्यटकले खाली नहुने भकुण्डेस्थित अतिथि सत्कार घरबासका अध्यक्ष खिम थापाले बताउनुभयो ।      पर्यटकीय सम्भावना रहेका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न तथा घरबास प्रवद्र्धनलाई गण्डकी प्रदेश सरकारले सदैव सहयोग गरिरहेको गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेलले बताउनुभयो ।    

यो समाचार रुपन्देहीको मर्चवारी गाउँपालिकाको हो ।   पालिकाको उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको मृत्यु भएको भन्दै अध्यक्ष गया प्रसाद बरईले एक सूचना जारी गर्दै बिदा घोषणा गरेका हुन् ।    सूचना अनुसार आज गाउँपालिका क्षेत्रमा रहेका वडा कार्यालय, निजी तथा सामुदायिक विद्यालय र अन्य संघसंस्थामासमेत बिदा दिइएको छ ।   

काठमाण्डौँ :   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।      सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रशिद्ध शक्तिपीठ बडिकेदार पदमार्गको शिलान्यास गर्दै मन्त्री आलेले आफ्नो धर्म, कला र संस्कृतिको जगेर्ना सबै मिलेर गर्नुपर्छ भन्नुभयो ।       उहाँले भन्नुभयो, “देशका पुराना कला, संस्कृति एवं सनातन धर्म हामी नेपालीका पहिचान हुन्, यिनको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ ।”      उहाँले भन्नुभयो “हाम्रा परम्परा, कला र संस्कृति संसारकै अद्वितीय हुन्, यही हेर्न र अध्ययन गर्नकै लागि नेपालमा विश्वबाटै पर्यटक आउने गरेका छन्, त्यसैले हाम्रा यी सम्पत्तिको संरक्षणमा हामी नै लाग्नुपर्छ । विश्वसामु नेपालीको पहिचान दिलाउने धर्म–संस्कृति र कला लोप हुन दिनुहुँदैन ।”       पछिल्लो समय नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोक–संस्कृति, धर्म तथा कला बोकेका परम्परा सङ्कटमा पर्न थालेकाले तिनको सम्वद्र्धन गरी युवापुस्तासम्म लैजानुपर्नेमा जोड दिनुभयो ।       डोटी जिल्लाको दक्षिण भेगमा अवस्थित प्रशिद्ध शक्तिपीठ धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीको सहजताका लागि निर्माण गरिने उक्त पदमार्ग तथा पूर्वाधार योजनाको मन्त्री आलेले आइतबार शिलान्यास गर्नुभएको हो ।     उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेको पहलमा रु नौ करोड बजेट विनियोजन भएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिनुभयो ।      उहाँका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिनेछ । बोगटान क्षेत्रको घना जङ्गलमा अवस्थित उक्त शक्तिपीठमा पूजाआजाका लागि स्वदेश तथा छिमेकी मुलुक भारतबाट दर्शनार्थी आउने गर्दछन् ।       यहाँ पुग्ने पदमार्ग निर्माण भएपछि पर्यटकलाई तीर्थयात्राका लागि सहज हुने भएपछि स्थानीयवासी खुुसी भएका छन् । 

 बाँके :      बाँकेको कोहलपुर नगरपालिका–१३ खड्कवार निवासी यज्ञबहादुर रानाको परिवारलाई हिजोआज पाहुना रेखदेख गर्न  भ्याइनभ्याइ हुन थालेकोे छ । घरमा सञ्चालित खड्कवार नमूना सामुदायिक घरबास ‘होमस्टे’मा आउने पाहुनालाई स्वागत सत्कारदेखि खुवाउने बसाउने कार्यमा उहाँका  परिवारको दिन बित्ने गरेको छ ।      “होमस्टे सञ्चालन भएपछि घरको सबै परिवार यसैमा व्यस्त हुने गरेका छौँ”, घरबास सञ्चालक रानाले भन्नुभयो, “घरका सबै परिवारलाई काम पुग्ने गरेको छ, अलिअलि कमाइ पनि हुन थालेको छ ।”रानाको परिवार जस्तै अहिले जिल्लाका ग्रामीण क्षेत्रमा खुलेका घरबास स्वरोजगारीसँगै आयआर्जनका माध्यम बनेको छ । बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् ।       आफ्नो ठाउँ, परिवेश र माटो सुहाउँदो र आफ्नै मौलिक, भूगोलअनुसार पूर्वाधार तयार गरेर होमस्टे सञ्चालन हुँदै आएको होमस्टे महासङ्घका केन्द्रीय महासचिव एवं बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिनुभयो ।उहाँका अनुसार पहिलो होमस्टे सञ्चालन गर्दै आएका  परिवार स्वरोजगार हुनाका साथै गाउँमा रोजगार पनि सिर्र्जना भएको छ । गाउँमा उत्पादन हुने स्थानीय जातका मासु र दुधसँग सम्बन्धित पदार्थको खपत पनि गाउँमै हुन थालेकाले गाउँका युवाले पनि गाउँमै काम पाउने वातावरण सिर्जना भएको छ ।       काम गर्न चाहने युवा गाउँमै रोजगारमा सम्लग्न हुने वातावरण बन्दै गएको छ । जिल्लाभरिका होमस्टेमा वार्षिक रु एक करोडभन्दा बढी आम्दानी हुने गरेको महसचिव चौधरीको भनाइ थियो । “हामीले केबल जीविकोपार्जनमा मात्रै नभई आयआर्जन, संस्कृति प्रवद्र्धन, प्रकृति संरक्षण र पर्यटनको अवधारणा अघि सारेका छौँ”, खड्कवार नमूना सामुदायिक होमस्टेका अध्यक्ष लालबहादुर रानाले भन्नुभयो, “गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचालीमा परिवर्तन हुनाका साथै रहनसहनदेखि आर्थिक स्रोतमा पनि उल्लेख्य वृद्धि भएको छ ।”     बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको खड्कवारमा ‘संस्कृति र प्रकृति’ को संरक्षण, सम्वद्र्धन र विकासका लागि घरबासले अभियान सञ्चालन गरेको उहाँको भनाइ थियो । तीन वटा घरबाट करिब पाँच वर्षअघि सुरु गरिएको होमस्टे अहिले सात घरमा सञ्चालन भएको छ । थारु, जनजाति, बाहुन र क्षेत्रीको मिश्रित बस्ती रहेको खड्कवारमा आउने पाहुनालाई थारु संस्कृति र परम्परागत राप्ती भेगमा गाइने टप्पा गीत तथा नाँच देखाइने गरिएको अध्यक्ष रानाले बताउनुभयो । स्थानीय उत्पादन भएको तरकारी, खाद्यान्न र लोकल कुखुरा तथा खसीको मासु मात्रै प्रयोग गरिनु खड्कवार होमस्टेको विशेषता हो ।      लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट सहजै पुग्न सकिने भएकाले बाँकेका सामुदायिक होमस्टेमा आन्तरिक पाहुनाको चहलपहल बढ्दो छ । यहाँ लगानीसँगै होमस्टे र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएको महासचिव चौधरीले बताउनुभयो ।उहाँका अनुसार गाभर भ्याली सामुदायिक होमस्टेकै च्यामा क्षेत्रका रुपमा अहिले च्यामामा पनि घरबास विस्तार भएका छन् । च्यामामा करिब रु एक करोडको लगानीमा गणेश चौधरीले सुविधा सम्पन्न रिसोर्ट प्रकारको घरबास सञ्चालनमा ल्याउनुभएको छ । घरबासभन्दा अलि फरक तरिकाले अझ सुविधा सम्पन्न होटलका रुपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो ।       विसं २०७० मा सुरु भएको बाँकेको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रुपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जनका लागि  मात्रै नभई आयआर्जनका माध्यम बनेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष चौधरीले बताउनुभयो ।

ताप्लेजुङ :      ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै  गएको पहिराले आठवटा घर बगाएको हो ।   गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ । ३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ ।    विस्थापित परिवार अहिले सुरक्षित स्थानमा रहेको विद्यालयमा बस्दै आएको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिनुभयो । गत शुक्रबार सिरिजङ्गामा पहिरामा परी दुई जनाको मृत्यु भएको थियो । त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर पहिराले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।   फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा दुई घर पहिराले बगाएको छ । तीस घरपरिवार विस्थापित हुन पुगेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । उहाँका अुनसार जोखिमयुक्त बस्तीका घरपरिवालाई सुरक्षित स्थानमा बस्नका लागि आवश्यक सामग्रीसमेत गाउँपालिकाले उपलब्ध गराइसकेको छ । केही घरपरिवार विद्यालयको भवनमा समेत बस्दै आएको गाउँपालिकाले जनाएको छ ।    निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिम छन् । सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमासमेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद्बाट बच्नका लागि सुरक्षित स्थानमा बस्नसमेत प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ ।