पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

 बागलुङः    नौमती बाजाका लागि चर्चित बागलुङका थुप्रै गाउँ मध्ये सिगानाको लामिचौर पनि एक हो । माग बढ्दै आएसँगै  सिगानाको लामिचौरका  युवाहरु आम्दानीको स्रोतको रुपमा नौमती बाजा बजाउनेतर्फ अग्रसर भएका छन् ।      संस्कृति र परम्परासँग जोडिएको नौमती बाजाप्रति युवा पुस्ताको चासो नहुँदा मौलिक नौमती बाजा हराउने अवस्थामा पुगेको अवस्थामा बागलुङ नगरपालिका–८ सिगाना लामिचौरको नौमती बाजा समूह भने ब्राण्ड नै बनेको छ ।    पाँच वर्षअघि बागलुङको चैते दसैँ मेलामा आयोजना गरिएको प्रतियोगितामा अब्बल सावित भएपछि सिगानाको नौमती बाजा धेरैले रुचाउन थालेका हुन् । माग  बढ्दै गएपछि यहाँका युवा आम्दानीको स्रोत बनाउन नौमती बाजा बजाउनेतर्फ अग्रसर भएका छन् ।        सिगाना लामिचौरका २१ वर्षीय लक्ष्मण नेपालीको अहिले मुख्य आम्दानीको स्रोत नौमती बाजा बनेको छ । बाजामा उहाँले नयाँ तथा पुराना गीत दुरुस्तै मिलाउनुहुन्छ । उहाँ पुर्खाले आर्जेको पेशालाई निरन्तरता दिँदै घर खर्च चलाउन सानै उमेरबाट बाजा बजाउन थालेको बताउनुहुन्छ । नौमतीका सबै बाजा बजाउन जान्नुभएका उहाँले अधिकांश सहनाइ बजाउनुहुन्छ ।       नेपाली नयाँ तथा पुराना लोक गीतको भाकामा दुरुस्तै सहनाइ बजाउन जान्नुभएका नेपालीलाई धेरैले रुचाउन थालेका छन् । उहाँले बजाएको सहनाइबाट प्रभावित बनेकाले उहाँलाई थोरधेरै रकम सहयोग गर्ने गरेको बताउनुहुन्छ । “कुनै प्रशिक्षण लिएको हैन, बाबु बाजे, छर छिमकमा बजाएको सुनेर बजाउन सिकेको हुँ, नयाँ गीत आएपछि नाच्न आउनेले त्यही गीत बजाउ भन्नुहुन्छ, त्यसैले नयाँ गीत आउँदासाथ सिक्नु पर्छ”, उहाँले भन्नुभयो, “हामी जस्ता युवाले अन्य स्थानमा कमै मात्रमा नौमती बजाउने गर्दछन्, हामीले नबजाए पछिल्लो पुस्तामा यो लोप हुन्छ त्यसैले यसैबाट घर खर्च चलाउँदै पुर्खाको पेशा धान्दै आएका छौँ ।”       नेपाली मात्रै हैन लामिचौर नौमतीबाजा समूहमा अधिकांश युवा नै आबद्ध छन् । लामिचौरमा दुई समूहमा नौमती बाजा बजाउने कलाकार छन् । अब्बल बनेको समूह हो सिगाना लामिचौर नौमतीबाजा समूह । नौमती बाजाको संरक्षण गर्दै पुख्यौली पेशा धान्नका लागि समूह गठन गरिएको छ ।    अहिले समूहको आफ्नै पोसाक छ भने नौमती समूहको जिल्लाको विभिन्न स्थान, म्याग्दी, पर्वत हुँदै पोखरासम्म माग भएको समूहका अध्यक्ष बाबुराम परियारले बताउनुभयो । उहाँले नौमती बाजा बजाउन आफूहरुले युवालाई प्रेरित गर्दै आएको बताउनुभयो ।      “नौमती बाजा संरक्षण गर्नुछ भने यसैलाई आफ्नो मुख्य आम्दानीको थलो बनाउनुछ”, उहाँले भन्नुभयो, “हामीलाई बाजामा नरसिङ्गाको अत्यन्तै आवश्यकता छ, बाजा बनाउन अलि महँगो छ, त्यसैले बाजाविहीन भएकै कारण कतिले यो पेशा छोडेका छन्, स्थानीय सरकारले सहयोग गरे अझै सहज हुन्थ्यो ।” परियारले बाजा बजाउन पोखरासम्म पुगेको र उक्त समूहले एक दिनको रु २० हजाररदेखि रु ३० हजारसम्म पारिश्रमिक लिने गरेको छ ।      नौमती बाजाको लामिचौरमा मात्रै पुर्खाहरुले ३६ प्रकारको सुर तालको बाजा बजाएको इतिहास छ । अहिले यहाँका दलित समुदायले १७ प्रकारको सुर तालको  बजा बजाउने गरेका छन् । पछिल्लो समय बागलुङमा सिगानाको बाजा भनेपछि धेरैको ध्यानाकर्षण हुनेगरेको छ । नौमती नौ बाजाको सामूहिक बाजा हो । यो पञ्चेबाजाको ठूलो रूप हो । यसअन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाइ, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाइ र दमाहाका दुई-दुई वटा हुन्छन् ।      सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ वाद्यवादक लोककलाकारले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यसलाई नौमती बाजा भनिएको हो ।  

बागलुङः   दुई दिनदेखिको वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ ।       सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँठाउँमा खसेका पहिराले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता  हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरा पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ ।

काठमाण्डौँः    राजधानीको प्रमुख पर्यटकी क्षेत्र ठमेलस्थित  छायाँ सेन्टरले सर्वसाधरणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ ।   काठमाडौँ महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जनाउँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सबैका लागि निःशुल्क उपलब्ध गराएको छ ।       छायाँ सेन्टरका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले विदेशी पर्यटकका साथै सर्वसाधरणलाई सहज हुनेगरी निःशुल्क शौचालयको व्यवस्था गरिएको बताउनुभयो ।   उहाँले महानगरपालिकाको घोषित निःशुल्क शौचालय सेवाको अभियानमा जोडिन पाउँदा खुसी लागेको भन्दै महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोल तथा ३२ वटै वडाध्यक्ष तथा सदस्यहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।     “मेयर साहबाट घोषित निःशुल्क शौचालय सेवाको अभियानमा ठमेल–२६ स्थित छायाँ सेन्टर, पर्यटकीय व्यापारिक कम्प्लेक्सले सहभागिता जनाउने निर्णय गरेको जानकारी गराउँछौँ’’, सेन्टरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाण्डौँः    नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।       उक्त मौसमी प्रणालीको प्रभावका कारण अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहको छ । प्रदेश १ र मधेसका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।       राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकामा पूर्ण रुपमा बदली छ । दिउँसो प्रदेश १, मधेश प्रदेस, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।  

पोखरा:  पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ ।   मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ ।   साढे १ बजे उक्त जहाज काठमाडौंतर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एयर पोखराले जनाएको छ ।

बागलुङः    बागलुङको गलकोटमा बाढी पहिराका कारण तीन घरमा क्षति पुगेको छ । गलकोट नगरपालिका–३ को हटिया बजारमा बजारभन्दा माथिबाट झरेको लेदोसहितको बाढीले एक घर पुरिएको छ भने वडा नं ६ मा पहिराका कारण दुई घरमा उच्च जोखिममा परेको वडाध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिनुभयो ।    सोही वडामा रहेको नवज्योति दुर्गा आधारभूत विद्यालयसमेत बाढीका कारण उच्च जोखिममा परेको कँडेलको भनाइ छ । पहिराले स्थानीय नारायण नेपाली र टीकाबहादुर घर्तीको घरपहिराका कारण उच्च जोखिममा परेको छ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण राति एक्कासी बाढी बजारमा बस्दा आवतजावत ठप्प भएको थियो ।   नगरपालिकाले बन्द रहेको सडक खुलाउने प्रयास गरिरहेको वडा नं २ का अध्यक्ष फमबहादुर खत्रीले जानकारी दिनुभयो । बाढीले स्वास्थ्यचौकी र बजार क्षेत्रमा आवतजावत गर्ने सडक पुरिएको उहाँको भनाइ छ ।   पहिराले कोइराबारी खानेपानी, चरौँदीखोला खानेपानी र देउराली खोला खानेपानीको मुहान तथा पाइपमा क्षति पु¥याउँदा खानेपानी पूर्णरुपमा अवरुद्ध भएको छ । पहिराले गलकोट नगरपालिका वडा नं ६ मा रहेको हटिया मजुवा हुँदै ताराखोला जोड्ने कृषि सडक, नगरपालिकाको कार्यालयदेखि ढले पीपलसम्मको सडकसमेत बाढीले बगर बनाएको छ । बाढी, पहिराले ग्रामीण सडकसमेत अवरुद्ध भएका छन् । पानी रोकिएपछि आज बिहानदेखि अवरुद्ध सडक सञ्चालन गराउन थालिएको छ । 

काठमाण्डौँः    मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी बीमा कार्यक्रम’ छिट्टै सञ्चालन हुने बताउनुभएको छ ।   प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले ‘छोरी बीमा कार्यक्रम’का लागि ग्लोबल आइएमई बैंकसँग सम्झौता भइसकेकाले छिट्टै सञ्चालन हुने बताउनुभयो ।       “कोभिड–१९ सङ्क्रमणलगायतका कारणले विगत दुई वर्षदेखि रोकिएको छोरी बीमा कार्यक्रम अब छिट्टै सञ्चालन हुन्छ”, मुख्यमन्त्री राउतले भन्नुभयो, “त्यसका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र ग्लोबल आइएमई बैंकबीच सम्झौता भइसक्यो, अबको केही दिनभित्रै सञ्चालन हुन्छ ।” ‘मुख्यमन्त्री बेटी पढाउँ बेटी बचाउँ’ सँगै सञ्चालित ‘छोरी बीमा कार्यक्रम’ अन्तर्गत हालसम्म प्रदेशका करिब छ÷सात हजार छोरीको बीमा भइसकेको र अब थप छोरीको बीमा हुने उहाँको भनाइ थियो ।       महिला, दलितलगायतका सामाजिक विभेद र थिचोमिचोमा परेका समुदायको उत्थानका लागि प्रदेश सरकारले विभिन्न विधेयक ल्याएर गतिविधि अघि बढाइसकेको भन्दै उहाँले कार्यान्वयन गर्ने निकाय सक्रिय नहुँदा अपेक्षाकृत कार्य अघि बढ्न नसकेको बताउनुभयो ।       प्रदेशमा प्रवेश गर्ने पूर्वको कोसी ब्यारेज र पश्चिमको बागमती प्रदेश नजिकै प्रदेश सरकारले प्रवेशद्वार निर्माण गर्ने घोषणा गर्दै प्रदेशसभा सदस्यबाट आएका सुझाव सल्लाहलाई समेत आत्मसात् गरी आगामी बजेट विनियोजन गरिने जानकारी दिनुभयो ।   “यो अधिवेशन प्रदेशसभाको अन्तिम अधिवेशन हो”, मुख्यमन्त्री राउतले भन्नुभयो, “यो सरकारको पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अन्तिम नै हो, त्यसैले हामी नीति कार्यक्रममा सबै पक्षको भावनालाई समेट्ने नै छौँ ।” प्रदेशका जनताको चाहना र समय सापेक्षअनुसारको बजेट ल्याउने उहाँको भनाइ थियो । 

काठमाण्डौः    पूँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले धितोपत्र बजारको समस्या समाधानका लागि समिति गठन गर्न लागिएको जानकारी दिनुभयो । “पूँजीबजारमा देखिएका विविध समस्याहरूलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका  गर्भनर, धितोपत्र बोर्डका अध्यक्षलगायत बसेर आजै मात्रै चार सदस्यीय सुझाव समिति गठन गरेका छौँ,” उहाँले भन्नुभयो ।      मन्त्रालयमा आज भएको छलफलपछि धितोपत्र बोर्डको कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय र राष्ट्र बैंक एक–एक प्रतिनिधि तथा धितोबोर्ड बोर्डको एक प्रतिनिधि सदस्यसचिव रहने गरी समिति बनाइएको हो । सो अध्ययन समितिले सरोकारवाला पक्ष सबैसँग छलफल गरेर तयार गरेको प्रतिवेदनले मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने तथा पूँजी बजारमा देखिएको समस्या हल हुने अपेक्षा राखिएको छ ।      सो कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पूँजीबजारलाई सुदृढ र बलियो बनाउन आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमा प्राथमिकता दिएर सम्बोधन गरेको स्मरण गराउनुभयो । आगामी आवको बजेट वक्तव्यको बुँदा नम्बर ३२९, ३३०, ३३१ र ३३२ नम्बर बुँदामा धितोपत्र सुधार, नियमन र सुपरिवेक्षणका बिषयहरु उल्लेख छन् ।      धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानी खुल्ला गर्न कानुनी व्यवस्था गर्ने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने, रु एक अर्ब वा सो भन्दा बढीको पूँजी वा रु पाँच अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्कासन गर्ने गरी सूचीकृत हुन लगाउनेलगायतको व्यवस्था बजेटमार्फत गरिएको छ ।      उहाँले पूँजीबजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभएको थियो । उहाँले पूँजीबजारबारे नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकायहरूलाई निर्देशन पनि दिनुभयो । “पूँजीबजारसम्बन्धी ज्ञान र वित्तीय साक्षरता हुनुप¥यो । तालिम दिन जनशक्ति परिचालन गर्नुपर्याे,” उहाँले भन्नुभयो, “अहिले यो अपर्याप्त भएको छ । गाउँ गाउँसम्म पुगेर नयाँ र साना लगानीकर्तालाई पूँजीबजारका बारेमा बुझाउनेमा कमी भएको छ ।”      पूँजीबजारका नियामक निकायबीच समन्वय गरी साना, मझौला र ठूला लगानीकर्ताको समस्या समाधान गर्नुपर्ने, नवीन प्रविधिको प्रयोग गरी शेयर कारोबार प्रभावकारी बनाउनुपर्ने, लगानीकर्तालाई गुनासो गर्न नदिने गरी बजार सञ्चालन हुनुपर्नेलगायत विषयमा उहाँले जोड दिनुभएको थियो । कार्यक्रममा बोर्डका अध्यक्ष रमेश हमालले बोर्डका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । 

काठमाण्डौँः     सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा पदोन्नति हुनुभएका चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी  चिह्न प्रदान गर्नुभएको छ ।   नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले गौतम सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको हो ।     सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उहाँको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यावसायिकताको मूल्याङ्कन गर्दै नेपाल सरकारले पदोन्नति प्रदान गरेको स्मरण गर्दै आगामी कार्यकाल सफलताको शुभकामना दिनुभयो । उहाँले फौजी जीवनमा सबैले बर्दीको शान र दर्जाको मान राख्दै भ्रातृत्व, सद्भाव र आत्मविश्वाससँगै राष्ट्र र नागरिकको सेवामा जुट्नुपर्नेमा जोड दिनुभयो ।