बाँकेः बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो । फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सात जनाले सामूहिक बलात्कार गरेकोे प्रहरीले जनाएको छ । किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि वैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको बताइएको छ । मानखोलाको जङ्गलमा पाँच जना र टहरामा लगेर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले हेमराज, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँटाभट्टा नजिक शङ्कास्पदरूपमा भे३प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरुषले मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो ।
बागलुङ: पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको सङ्ख्या कम र झारलको बढी हो । त्यसबेला आरक्षमा दुई हजार २०२ नाउर र ३८८ झारल भेटिएका थिए । हरेक पाँच वर्षमा आरक्षमा रहेका नाउर र झारलको गणना गर्ने गरिन्छ । कोभिड–१९ का कारण यसपटकको गणना एक वर्षपछि धकेलिएको थियो । गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा निर्धारण गर्ने गर्छ । बर्सेनि १९ देखि २४ सम्म नाउर र १४ देखि १९ सम्मको सङ्ख्यामा झारलको सिकार कोटा तोकिने गरिएको आरक्षका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिनुभयो । “नाउरको सङ्ख्या घटेको पाइएपछि यस वर्ष न्यूनतम १९ वटाको मात्र सिकार कोटा तोकियो, झारल पनि १४ मा सीमित भयो”, उहाँले भन्नुभयो, “गणनामा भेटिने नाउर र झारलको सङ्ख्या विश्लेषण गरेर सिकार कोटा निर्धारण गरिन्छ ।” नाउरको सङ्ख्या घटेपछि विभागले सिकार कोटा पनि घटाएको देखिन्छ । केही वर्षअघिसम्म वार्षिक २२ देखि २४ सम्म नाउरको सिकार हुने गथ्र्यो । सहायक संरक्षण अधिकृत खड्काले आरक्षका सातै सिकार ‘ब्लक’मा पुगेर नाउर र झारलको गणना गरिएको बताउनुभयो । “झारल र नाउर समूहमा भेटिन्छन्, हेड काउन्ट नै गरिन्छ”, उहाँले भन्नुभयो, “हरेक सिकार ब्लकमा छुट्टाछुट्टै गणना हुन्छ, सिकार कोटा पनि त्यहीअनुसार तोकिन्छ ।” पछिल्लो नाउर र झारलको गणना राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत गरिएको आरक्ष कार्यालयले जनाएको छ । नाउर ढोरपाटनमा बढी सिकार हुने जनावरमा पर्छ । तीन हजार मिटरदेखि पाँच हजारमाथिसम्म पाइने नाउर हिमाली भेडाले पनि चिनिन्छ । नाउर बथानमा बस्छ । नाउरको आयु करिब १५ वर्ष हुन्छ । लाङ्टाङ, मकालु, बरुण राष्ट्रिय निकुञ्जलगायत अधिकांश हिमाली क्षेत्रमा नाउर पाइने भए पनि ढोरपाटनमा मात्र यसको वैधानिक सिकार गर्न पाइन्छ । झारल पनि बाख्रा प्रजातिमा पर्ने जनावर हो । नाउर र झारल सिकारका लागि बर्सेनि विख्यात विदेशी सिकारी ढोरपाटन आउने गर्छन् । लाखौँ खर्चेर सिकारको रोमाञ्चक अनुभव बटुल्न उनीहरु लालायीत हुन्छन् । स्वदेशी सिकार कम्पनीमार्फत विदेशी सिकार खेल्न जान्छन् । बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा ढोरपाटनमा सिकार खुला हुन्छ । चालू आवको दुवै याममा गरी १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ । सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्र्याक एण्ड ट्रेल्र्सले यस वर्ष सिकार खेलाएको थियो । अमेरिका, फ्रान्स, डेनमार्क, मेक्सिको, नर्वे, युक्रेन, स्पेनलगायत देशका पेशेवर सिकारीले नाउर र झारलको सिकार गरेका थिए । विद्युतीय बोलपत्रमार्फत छानिएका कम्पनीलाई मात्र विभागले सिकार खेलाउनका लागि अनुज्ञापत्र दिने गर्छ । कम्पनीले यस वर्षको दोस्रो सिकार याममा नाउर सिकारको न्यूनतम रु तीन लाख ५० हजारदेखि रु १४ लाख २५ हजारसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शमशेर पराजुलीले जानकारी दिनुभयो । कोभिड–१९ महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक देखिएको उहाँको भनाइ छ । बन्दाबन्दी र यात्रा प्रतिबन्धनका कारण महामारी सुरु भएको पहिलो वर्ष ढोरपाटनमा सिकार नै हुन सकेको थिएन । सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्छ ।
काठमाडौँ: काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको जानकारी दिनुभयो । उहाँले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२-२३ वर्षको भएको बताउनुभयो । मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताउनुभयो । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।
काठमाडौँ: मुलुकको एक मात्र मानसिक अस्पताल पाटनस्थित मानसिक अस्पताल स्तरोन्नति गरिने भएको छ । २०७२ सालको भूकम्प र कोरोना महामारीले मानसिक अस्पतालप्रति चासो बढेपछि स्तरोन्नतिको गरिने भएको हो । भूकम्प र कोरोनामा मानिसमा मानसिक रोग, आत्महत्याजस्ता घटना बढ्न थालेपछि सरकारले यस अस्पतालप्रति चासो दिन थालेको हो । यसअघि सरकारले विसं २०५१ मा राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना ल्याए पनि अस्पतालको सुधार गर्न सकेको थिए । अहिले फेरि सरकारले अस्पतालको स्तरोन्नति गर्न राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना–२०७७ समेत ल्याएको छ । अहिले ५० शय्या रहेको अस्पताललाई १५० शय्या पु¥याउने अस्पतालको तयारी रहेको छ । यसका लागि अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयसँग रकम विनियोजनका लागि आग्रह गरिसकेको छ । अस्पतालका निर्देशक डा अनन्तराज अधिकारीले आगामी वर्ष वहुवर्षीय योजनाअन्तर्गत अस्पतालको स्तरोन्नति गरिने जानकारी दिनुभयो । स्तरोन्नतिका लागि सहरी विकास तथा भवन निर्माण विभागले दुई अत्याधुनिक भवन निर्माण गर्न नक्शासमेत तयार पारिसकेको छ । “भूकम्प र कोरोना महामारीले मानिसमा मनोरोग, चिन्ताजस्ता समस्या देखिए” उहाँले भन्नुभयो, “त्यसपछि यस अस्पतालमा उपचार गराउन आउने बिरामी पनि बढ्न थालेपछि सरकारले पनि चासो दिन थाल्यो ।” उहाँले स्तरोन्नति गरेपछि विधागत बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा बालमनोरोग सेवा, मानसिक रोग, लागुपदार्थ दुव्र्यसनी उपचार ९मौखिक प्रतिस्थापन विधि०, यौनरोग, मनोवैज्ञानिक उपचार, विद्युतीय उपचार पद्दति, चुम्बकीय उपचार पद्दतिबाट उपचार भइरहेको छ । चुम्बकीय उपचार पद्दतिमा अहिले अस्पतालमा चार जनाको नियमित उपचार भइरहेको छ । भवन विभागले एक पाँचतले र अर्को चारतले भवन बनाउन थालेको हो । पाँचतले प्रशासन भवनमा कक्षा, कर्मचारी, कर्मचारीको आवास र फार्मेसी सञ्चालन हुने छ । यस्तै चारतले भवनमा बहिरङ्ग सेवा, आकस्मिक सेवा, शय्या र प्रयोगशाला कक्ष रहने छन् । बिरामीको चापअनुसार अस्पतालमा कम सङ्ख्यामा चिकित्सक रहेका छन् । अहिले नौ मनोचिकित्सक र ६ जना इन्र्टनसीप चिकित्सक रहेका छन् । निर्देशक डा अधिकारीका अनुसार मनोविद् चिकित्सकको दरबन्दी नरहेकोले अस्पताल विकास समितिले एक चिकित्सकलाई करारमा राखेको छ । उहाँले सवै सुविधा भए पनि कहिलेकाहीँ शय्या अभावले बिरामीलाई अयन्त्र पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले अर्को वर्ष बालमानसिक स्वास्थ्य उपचार सुरु गर्ने बताउनुभयो । कोरोना महामारीको बेला करिब ३५ हजार मानिस अस्पतालमा उपचारार्थ आएका थिए । नेपालमा मानसिक स्वास्थ्य सेवा २०१८ सालमा वीर अस्पतालको बहिरङ्ग सेवाबाट सुरु भएको हो । यो सेवा सैनिक अस्पताल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै देशका ठूलाठूला अस्पतालमा विस्तार भएको छ । सरकारले इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखामा मानसिक स्वास्थ्य गठन गर्नुकासाथै प्रत्येक २०० शय्याका अस्पतालमा १० शय्या मानसिक रोगीका लागि छुटाउन निर्देशन दिएको छ । अहिले प्रत्येक २०० भन्दा बढी श्यया भएका अस्पतालमा मानसिक रोग विभाग रहेको छ । मानसिक स्वास्थ्यलाई चासो राख्दै विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा सरकारले १५ जिल्लामा मानसिक स्वास्थ्य सेवा सञ्चालनसमेत गरेको छ । नेपालमा कूल नसर्नेरोगको समस्यामध्ये १८ प्रतिशत मानसिक रोग लाग्ने गरेको छ । अपाङ्गता गराउने प्रमुख १० कारकमध्ये चारवटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ को नतिजाअनुसार नेपालमा १३ देखि १७ वर्षका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थ्य समास्या देखिएको छ । जसमा २ दशमलव ८ प्रतिशतमा चिन्ताजन्य समस्या, ० दशमलव ६ प्रतिशतमा मानसिक रोगको समस्या पाइएको छ र ३ दशमलव ९ प्रतिशतमा आत्महत्यासम्बन्धी सोच रहेको पाइएको छ । यस्तै १८ वर्षमाथिका व्यक्तिमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २ दशमलव ९ प्रतिशतमा मासिक रोग, ० दशमलव २ प्रतिशतमा साइकोसिस र ७ दशमलव २ प्रतिशतमा आत्महत्यासम्बन्धी सोचको अवस्था देखिएको छ । महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा फणिन्द्रप्रसाद बरालले प्रत्येक पाँच जनामध्ये एक जना मानसिक रोगी रहेकाले सरकारले मानसिक स्वास्थ्यको सेवा बढाउनुपर्ने बताउनुहुन्छ । “भूकम्प र कोरोना महामारीले नेपालमा मानसिक रोगी बढेका छन्” उहाँले भन्नुभयो, “सरकारले मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्नुपर्दछ ।” शाखाले प्रत्येक प्रदेशमा मानसिक स्वास्थ्य उपचारका औषधि खरिद गर्न वार्षिक ५० लाखका दरले रकम उपलब्ध गराउँदै आएको छ । नेपालमा प्रत्येक दिन १८ देखि २० जनाद्वारा आत्महत्या हुने गरेको तथ्याङ्क छ । त्यसको मुख्य कारण मानसिक रोग नै रहेको पाइएको छ । बरालले मानसिक स्वास्थ्य उपचार गर्न दक्ष स्वास्थ्यकर्मी नभएकाले मानसिक उपचारका लागि स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य सम्बन्धी ६ प्रकारका तालिमसमेत दिइरहेको जानकारी दिनुभयो । उहाँले सरकारले स्वास्थ्यकर्मीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० गरेर मानसिक सम्बन्धी स्वास्थ्यकर्मीको दरबन्दी थप्नुपर्ने बताउनुहुन्छ । “मानसिक स्वास्थ्य उपचार गर्न स्वास्थ्यकर्मी र चिकित्सक अत्यन्तै कम छन्” उहाँले भन्नुभयो, “नयाँ दरबन्दी थपेर मनोरोग विशेषज्ञ राख्नुपर्दछ ।”
काठमाडौँ: नेपाल प्रहरीले काठमाडौँको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिक खाजा घरमा पोखराका ४० वर्षीय एक व्यक्तिको साथबाट रु ३५ लाख लुटपाट गर्ने नुवाकोट घर भई बूढानीलकण्ठ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई काठमाडौँको मालिगाउँ बस्ने ३४ वर्षीय शालिकराम नेपालीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पीडितलाई विभिन्न प्रलोभनमा पारेर खाजा घरमा बोलाएर लुटपाटमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले मोबाइल एक थान, घडी एक थान र फलामको रड बरामद गरेको छ । पक्राउ परेका तामाङ र नेपालीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार डाँका, चोरीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो । लुटपाट घटनामा संलग्न फरार अन्य व्यक्तिको पहिचान खुलिसकेकाले उनीहरुलाई पनि चाँडो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरेको छ । चिन्न तयार भएसँगै काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय सञ्चालनको लागि इच्छा भएका सङ्घ संस्थालाई सम्पर्क गर्न पनि आग्रह गरेको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी सङ्घसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई महानगरपालिकाले सार्वजनिक निजी साझेदारी इकाइमा सम्पर्क राख्न आग्रह गरेको हो । कामपासँग सहकार्य भएको सङ्घसंस्थाको शौचालयमा प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले सबैमा एकै किसिमको सङ्केत चिन्न राखिएको कामपाले जानकारी गराएको छ । लोगो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । सङ्केत चिन्हको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ । सर्वसाधारणको सहजताको लागि कामपाको सञ्चालन गर्न लागेको शौचालय पहिलो चरणमा करिब ६० शौचालय प्रयोगमा ल्याउने भएको छ । नवनिर्वाचित महानगरप्रमुख बालेन्द्र साहको संयोजकत्वमा अघिल्लो सोमबार बसेको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार हाल कामपामा रहेका झण्डै ५८ सार्वजनिक शौचालयलाई मर्मतसम्भार गरी पुनः प्रयोग गर्ने र सहकार्यमार्फत तत्काल ६० शौचालय प्रयोगमा ल्याउन लागिएको हो । प्रमुख साहले पहिलो बैठकमै गर्नुभएको निर्णय फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनसम्बन्धी काम पनि अघि बढेको कामपाको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।
काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले “यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरुले उठाउनुभएको प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिनुभएको थियो । जवाफका क्रममा उहाँले यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउनुभएको थियो । उहाँले हदम्यादका सम्बन्धमा आफू मन्त्री भएदेखि नै अध्ययन गर्न नेपाल कानुन आयोगलाई अनुरोध गरिएको र सो प्रतिवेदनलाई समेत मध्यनजर गर्दै हदम्यादको प्रावधानलाई आवश्यक सुधार गरिने बताउनुभयो । हदम्याद बढाउँदा सकारात्मक नकारात्मक परिणामलाई समेत उल्लेख गर्न भनिएको पनि उहाँले बताउनुभयो ।
पोखरा: गत शनिबारदेखि बेपत्ता भएका गुरुङको शव फेला परेको छ । पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङको शव सोमबार बिहान साढे ८ बजे पोखरा महानगरपालिका ३३ मुसीटुडामा पानीमा तैरिहरेको अवस्थामा फेला परेको हो । फेला परेका मृतक गुरुङका दाई तेल बहादुर गुरुङले शवको सनाखत गरेको कास्की प्रहरी जनाएको छ । उक्त शब पोस्टमार्टमका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । फुस्रे खोलामा पौडी खेल्ने क्रममा स्याङ्जाको पुतलीबजार नगरपालिका ७ बेशीगाउँका पूर्ण गुरुङ गत शनिबार दिउसोबाट बेपत्ता भएका थिए । पौडी खेल्न उनीसँगै अन्य ६ जना फुस्रे खोला पुगेका थिए । नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेना, स्थानीय बासिन्दाको टोलीले खोज्दै आएपनि भेटिएको थिएन । तर आज विहान शव तैरिरहेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
पोखरा: पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकापसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गर्नुभयो । दुवै संस्थाबीच वैज्ञानिक तथा प्राविधिक जनशक्ति, सीप र भौतिक सुविधाको यथोचित सदुपयोगमा सहयोग आदानप्रदान हुने र समसामयिक विषयमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, अनुसन्धान परियोजना सञ्चालन गरिने समझदारीपत्रमा उल्लेख छ । त्यस्तै विज्ञान तथा प्रविधिको विभिन्न क्षेत्रमा विश्वविद्यालयको स्नातकोत्तर तह एवं विद्यावारिधिस्तरका शोध निर्देशन कार्यमा आपसी स्वीकृतिमा नाष्टका उपलब्ध प्राज्ञ तथा वरिष्ठ वैज्ञानिकको पनि संलग्नता गराइनेछ । समझदारी पत्रले दुवै संस्थालाई संयुक्तरूपमा विज्ञान तथा प्रविधि उन्नयन, जैविक विविधता, पर्यावरण, दिगो सहरी विकाससम्बन्धी अध्ययन अनुसन्धानका लागि सहकार्य गरी अघि बढ्न बाटोसमेत खोल्ने विश्वास दिइएको छ ।

