पोखरा:   पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।  तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

पोखरा:   पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकापसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सझदारीपत्रमा हस्ताक्षर भएको छ ।   समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।   दुवै संस्थाबीच वैज्ञानिक तथा प्राविधिक जनशक्ति, सीप र भौतिक सुविधाको यथोचित सदुपयोगमा सहयोग आदानप्रदान हुने र समसामयिक विषयमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, अनुसन्धान परियोजना सञ्चालन गरिने समझदारीपत्रमा उल्लेख छ ।   त्यस्तै विज्ञान तथा प्रविधिको विभिन्न क्षेत्रमा विश्वविद्यालयको स्नातकोत्तर तह एवं विद्यावारिधिस्तरका शोध निर्देशन कार्यमा आपसी स्वीकृतिमा नाष्टका उपलब्ध प्राज्ञ तथा वरिष्ठ वैज्ञानिकको पनि संलग्नता गराइनेछ ।   समझदारी पत्रले दुवै संस्थालाई संयुक्तरूपमा विज्ञान तथा प्रविधि उन्नयन, जैविक विविधता, पर्यावरण, दिगो सहरी विकाससम्बन्धी अध्ययन अनुसन्धानका लागि सहकार्य गरी अघि बढ्न बाटोसमेत खोल्ने विश्वास दिइएको छ ।

काठमाडौं:  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० तोकिएको छ ।   अघिल्लो दिन प्रतितोला रु ९७ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु २०० ले बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ४०० थियो ।   त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २९० तोकिएको महासङ्घले जनाएको छ ।   अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपास कारोबार भइरहेको छ ।

बुटवल:  रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ ।   जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एक महिला र ८ पुरुषको मृत्यु भएको थियो ।   रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेहरूमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५ वर्षका राजेन्ऽ पाण्डे, तिलोत्तमा नगरपालिका-८ की ३७ वर्षकी तुलसी बस्याल, तिलोत्तमा-२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास रहेका छन् ।    बुटवल उपमहानगरपालिका-११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, बुटवल उपमहानगरपालिका-६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, अरविन्दका बुवा ५० वर्षका नागेन्द्र शर्मा र सितामढी भारतका ४५ वर्षका सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा- ५का ३० वर्षका चन्दन यादवको मृत्यु भएको छ ।   घाइते २३ जना मध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते २ जना डिस्जार्ज भएका छन् । घाइते २१ जना मध्ये १५ जनाको अवस्था गम्भीर र बांकीको मध्यम रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरूको नामवली १. जिल्ला धनुषा हंसपुर न.पा.-३ बस्ने वर्ष १८ को मुफिद मन्सुरी । २. जिल्ला बारा जितपुर सिमरा उ.न.पा.-१३ बस्ने वर्ष १८ को रोहन चौधरी । ३. जिल्ला बारा सिमरा न.पा.-१३ बस्ने वर्ष १८ को सतेन्द्र चौधरी । ४. जिल्ला बारा सिमरा न.पा.-१३ बस्ने वर्ष १५ को बरुण चौधरी । ५. जिल्ला सिराहा, सिराहा न.पा.-९ बस्ने वर्ष ३१ को राकेशकुमार दास । ६. जिल्ला कपिलबस्तु बाणगंगा न.पा.-५ बस्ने वर्ष २९ को तुलसीराम चौधरी । -सह-चालक) ७. जिल्ला धनुषा जनकपुर उ.न.पा.-२२ बस्ने वर्ष ३९ को बिनोद मुखिया । ८. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.-११ का वर्ष २८ को रियाज जुल्लाह मुसलमान । ९. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.-६ बस्ने वर्ष १६ को सहेजाद मुसलमान । १०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.-३ शंकरनगर बस्ने वर्ष ३६ को सुमन क्षेत्री । -बस चालक) ११. जिल्ला रुपन्देही लुम्विनी सास्कृतिक न.पा.- ३ बस्ने वर्ष २० को राजेश यादव । १२. जिल्ला रौतहट बस्ने वर्ष २२ को वकिल दास हात । १३० भारत जनकपुरग्राम बस्ने वर्ष २८ को गौरव सिंह । १४. जिल्ला झापा बस्ने वर्ष ६० को जयाप्रसाद चापागाई । १५. जिल्ला झापा बस्ने वर्ष ५६ कि तुलसा चापागाई । १६. भारत बस्ने वर्ष ३२ कि सिता शर्मा । १७. भारत बस्ने वर्ष ५ कि सन्दिपा शर्मा । १८. भारत बस्ने वर्ष ४ को यश शर्मा । १९. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष ३५ की अञ्जली कामी । २०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.-३ बस्ने वर्ष २२ को बिपिन बस्याल । २१. जिल्ला रौतहट श्रीनगर बस्ने वर्ष २२ को रामजनम दास । २२. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष २२ कि रिंकी यादव । २३. जिल्ला महोत्तरी बस्ने वर्ष २९ को साबिर अन्सारी ।

काठमाण्डौँः     प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहका सरकारको सहकार्यमा पछि परेका प्रदेशहरूको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सुदूरपश्चिम सरोकार मञ्चको ११औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मञ्चका हरेक प्रयास तथा सुझावहरू सङ्घीय सरकार र प्रदेश सरकारलाई विकास योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कनमा सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।   प्रधानमन्त्री देउवाले आफूले डोटीको उच्चकोट विद्यालयबाट एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि धनगढीसम्म पैदल यात्रा गरी सीमानाका पारि भारतको रेल चढेर रक्सौल हुँदै गाडी चढेर काठमाडौँ पुगेको स्मरण गर्र्दै भन्नुभयो, “पहिलेको तुलनामा सुपमा धेरै विकास भएको छ । सुप केन्द्रीय राजधानीसँग यातायातले जोडिएको छ । तर पनि धेरै सम्भावनाका बाबजुद अपेक्षाकृत विकास हुन सकेको छैन । पश्चिम सेती बनेमा यो प्रदेश विकसित र धनी बन्न सक्छ ।”   यस क्षेत्रको गरिबी र असमानता हटाउन सरकारका प्रयाससँगै सबैको योगदान आवश्यक रहेको उल्लेख गर्दै उहाँले सुपको विकासका लागि कोसेढुङ्गा साबित हुने कञ्चनपुर सीमामा सुक्खा बन्दरगाह बनाउन भारतसँग सहमति भएको जानकारी गराउनुभयो । तीव्र विकासका लागि बाह्य लगानी भित्र्याउनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले त्यसका लागि सरकारले सोही अनुसारका नीति अवलम्बन गरेको उल्लेख गर्नुभयो ।   सुदूरपश्चिम प्रदेश मानव विकासको सूचाकाङ्कमा अगाडि आउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उहाँले यसका लागि सबैले आ–आफ्नो ठाउँबाट समन्वय र सहकार्य गर्न जरुरी रहेका बताउनुभयो ।   सुदूरपश्चिम सरोकार मञ्चले विगत १६ वर्षदेखि सो क्षेत्रको विकासका लागि विभिन्न प्रयास गर्दै आइरहेको छ । सुदूरपश्चिम प्रदेशको सर्वाङ्गीण विकासका लागि निःस्वार्थ भावले मातृभूमिप्रति आफ्नो कर्तव्य बहन गर्दै समग्र प्रदेशको विकासका लागि आवश्यक मार्गचित्र पुस्तक प्रकाशन गरेको छ । प्रधानमन्त्री देउवालाई मञ्चका तर्फबाट अध्यक्ष विष्णुप्रसाद खत्रीले सुपको विकास तथा समृद्धिका लागि सुझावसहितको ज्ञापनपत्र बुझाउनुभएको थियो ।

बागलुङः       बन्द अवस्थामा रहेको विमानस्थलको अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले आज यहाँस्थित बलेवा विमानस्थलको स्थलगत अवलोकन गरेको छ । भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि उक्त अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ ।   विमानस्थल सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममा परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा आउन सक्ने बताउनुभयो । “विमानस्थलको स्थलगत अध्ययन, अवलोकन ग¥यौँ, तत्कालै चलाउन सक्ने गरी विमानस्थल तम्तयारी अवस्था छ”, उहाँले भन्नुभयो, “सरकारले कराडौँ खर्च गरेर विमानस्थल बनाएको छ, यसलाई प्रयोगविहीन अवस्थामा राख्नहुँदैन, लगानी गरेपछि प्रतिफल आउनुपर्छ ।” उहाँले मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, विमान सञ्चालक कम्पनीलगायतसँग विमानस्थलको स्थलगत अध्ययन प्रतिवेदन र स्थानीयस्तरमा सरोकार भएका पक्षबाट आएका सुझावका आधारमा थप छलफल गरिने उल्लेख गर्नुभयो ।   राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहनुभएका शाहले विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थितिमा पनि वैकल्पिक प्रयोगको योजना पनि बनाउनुपर्ने धारणा राख्नुभयो । छलफलका क्रममा सुझाव राख्दै बागलुङ–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले हरहालतमा विमानस्थल चलाउनुपर्ने बताउनुभयो । “नियमित सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने पहुँचमार्गको स्तरोन्नति गर्न सकियो भने विमानस्थल चल्छ”, उहाँले भन्नुभयो, “सबै पूर्वाधार बनेको अवस्थामा अब कसरी हुन्छ विमानस्थल चलाउनेतिर सोचौँ, पहल थालौँ ।”   बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले विमानस्थल नियमित सञ्चालन गर्न व्यावसायिक योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले यसअघि विसं २०७४ मा विमानस्थल सञ्चालनमा आउँदा यात्रुबाट भाडादर चर्को भएको गुनासो आएको उल्लेख गर्नुभयो । “व्यावसायिक योजना बनाएर विमानस्थललाई दिगो ढङ्गले चलाउनुपर्छ, केही समय चलाउने अनि बन्द गर्ने अवस्था अब आउन दिनुहुँदैन”, सचिव चोखालले भन्नुभयो, “धवलागिरि क्षेत्रको आर्थिक विकासमा यसलाई जोड्नुपर्छ, विमानस्थल चल्दा पर्यटन क्षेत्र पनि आफै उकासिन्छ ।”   बागलुङ उद्योग वाणिज्य सङ्घका उपमहासचिव थानेश्वर सुवेदीले विमानस्थल जोड्ने मुख्य सडक कालोपत्र नहुँदासम्म पर्वतको कुश्मातर्फबाट वैकल्पिक सडक प्रयोग गर्न सकिने सुझाव राख्नुभयो । “कुश्माबाट यान्त्रिक पुलहुँदै यात्रुलाई विमानस्थल पु¥याउन सकिन्छ, यसो गर्दा तत्कालै विमानस्थल सञ्चालनमा ल्याउन सकिन्छ”, उहाँले भन्नुभयो ।   विमानस्थल जोड्ने पहुँचमार्गको स्तरोन्नति या कालोपत्र पर्खन थाल्ने हो भने फेरि केही वर्ष विमानस्थल बन्दै अवस्थामा राख्नुपर्ने उपमहासचिव सुवेदीले बताउनुभयो । बागलुङको मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १३ किमि सडक अहिले पनि कच्ची छ । वर्षात्का बेला त उक्त सडकको यात्रा झन् जोखिमपूर्ण बन्ने गरेको छ । सरकारले सो खण्ड कालोपत्रका लागि ठेक्का प्रक्रियामा लगेपनि काम सकिन केही वर्ष लाग्ने देखिएको छ ।    बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले यसअघि धावनमार्ग कच्ची हुनु, चर्को भाडादर र पहुँच मार्गस्तरहीन हुँदा विमानस्थल नियमित सञ्चालनमा आउन नसकेको बताउनुभयो । विमानस्थल सोही वडामा पर्दछ । “अहिले धावनमार्ग कालोपत्र भइसकेको छ, अब विमानस्थलसम्म आउजाउका लागि सहज यातायातको खाँचो छ, यात्रुको सुनिश्चितता दिएर विमान कम्पनीलाई आकर्षण गर्न सकियो भने विमानस्थल नियमित चल्छ”, उहाँले भन्नुभयो । यसअघि नगरले आफ्नै पहलमा विमानस्थल सञ्चालनमा ल्याएपनि यात्रु सङ्ख्या घट्दै गएपछि विमानस्थल बन्द हुन पुगेको वडाध्यक्ष खत्रीको भनाइ छ ।    बागलुङ नगरका उपप्रमुख राजु खड्काले विमानस्थल नियमित सञ्चालन गर्न नगरकोतर्फबाट सबैखाले प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामी सबै पक्षसँग बसेर विमानस्थल सञ्चालनको छुट्टै योजना निर्माण गर्छौँ, उहाँले भन्नुभयो, “नगरको गौरव र प्रतिष्ठासँग पनि जोडिएको विषय भएकाले हामी यसमा संवेदनशील छौँ ।”    सरकारको आगामी आर्थिक बर्षको बजेटमा पनि बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने उल्लेख छ । बन्द भएको २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि बलेवा विमानस्थल सञ्चालनमा ल्याइएको थियो ।    नेपाल र तारा एयरलाइन्सको टुइनअटर विमानले हप्ताको दुई दिन उडान गर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरले भार व्यहोर्ने गरी नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र नगरबीच सम्झौता भएको थियो ।  केही महिनापछि यात्रु पनि घट्ने र नगरलाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको थियो । विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौँको भाडादर रु छ हजार ५०० तोकेपछि यात्रुले पनि महँगो भएको गुनासो त्यसबेला गरेका थिए । विसं २०४८ मा बन्द भएको विमानस्थल २६ वर्षपछि सञ्चालनमा आएपनि त्यसले निरन्तरता पाउन सकेन । विसं २०२२ मा बनेको विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि बन्द भएको थियो । सडक आउनुअघि बलेवादेखि पोखरा, काठमाडौँ, भैरहवा र भरतपुरसम्म विमान सञ्चालनमा थिए । यात्रुको आउजाउ र सामान ढुवानीका लागि विमान प्रयोग हुन्थ्यो । पूर्वाधारका दृष्टिले विमानस्थल पहिलेभन्दा अहिले धेरै सम्पन्न छ । विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र भइसकेको छ ।  अब त विमानस्थल नियमित चल्छ की भन्ने आशमा स्थानीयवासी छन् । तर, विमानस्थल कहिले सञ्चालनमा आउँछ कुनै टुङ्गो भने लागेको छैन । 

पोखरा:  पोखराको फुस्रे खोलास्थित दोविल्लामा पौडी खेल्ने क्रममा बेपत्ता भएका स्याङ्जाको पुतलीबजार नगरपालिका ७ बेशीगाउँका पूर्ण गुरुङको खोजीकार्य तिव्र पारेको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गुरुङ शनिबार पौडी खेल्ने क्रममा दिउँसो करिब ३ बजे बेपत्ता भएका थिए ।    उनको नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय टोलीले खोजीकार्य गरेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए ।  ‘खोजीकार्य तिव्र छ । एपिएफको र नेपाल प्रहरीको एक्सपर्ट टिम हिजोबाट अहिलेसम्म र्याफ्टिङको टोलीसहित  खोजीराको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘अझै ट्रसिङ भएको छैन । खोज्ने काम त जारी नै छ ।’    बेपत्ता भएका गुरुङ सहित फुस्रे खोलामा पौडी खेल्न ७ जना गएका थिए । सँगै गएका अन्य साथीहरुका अनुसार माथीबाट हाम फाल्ने क्रममा गुरुङलाई खोलाले बगाएको थियो ।  

काठमाडौंः   नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।   एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए ।   उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् ।

काठमाण्डौँः     नेपाल विद्युत् प्राधिकरणले खपत गरेर बढी भएको बिजुली भारत निकासी गर्न थालेको छ । शनिबार मध्यरातदेखि कालीगण्डी ‘ए’ को  १४० मेगावाट बिजुली भारत निर्यात भएको छ ।    प्रतियुनिट रु १९ मा बिजुली भारत पठाइएको छ । त्यसका अलावा देशभित्रै पनि बढी बिजुली खपत गर्ने उद्योगलाई एकपछि अर्को गर्दै बिजुली उपलब्ध गराउन थालिएको छ । सोही क्रममा आज मात्रै नेपाल विद्युत् प्राधिकरणको कोहलपुर वितरण केन्द्रले बाँकेमा रहेको अम्बे स्टिललाई १७.५ मेगावाट बिजुली उपलब्ध गराएको छ । यसअघि सो उद्योगले आठ मेगाबाट बिजुली लिँदै आएको थियो ।   कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार उद्योगले कूल ३५ मेगावाट बिजुली माग गरेकामा हालसम्म २५.५ मेगाबाट बिजुली आजदेखि उपलब्ध भएको छ । देशभित्रै गुणस्तरीय छड तथा डण्डी उत्पादन गर्ने लक्ष्यका साथ अम्बे स्टिलले बाँकेमा कारखाना स्थापना गरेको हो ।   “झण्डै डेढवर्ष पहिलेदेखि उद्योगले हामीसँग ३५ एमभिए क्षमतामा बिजुली माग गर्दै आएको थियो, प्राधिकरणले आवश्यक तयारी गरेर मागअनुसार नै बिजुली उपलब्ध गराएका छौँ”, प्रमुख रेग्मीले भन्नुभयो, “बाँकी रहेको ९.५ मेगावाट बिजुली पनि एक साताभित्रै उद्योग परिसरमा उपलब्ध गराउँछौँ ।”   प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही समय पहिले उद्योग परिसरको स्थलगत निरीक्षण गर्दै उद्योगलाई मागअनुसार बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तुलनात्मक रुपमा प्राधिकरणले पश्चिम नेपालमा स्थापना हुने उद्योगलाई सहज रुपमा बिजुली उपलब्ध गराउन प्रयास गरे पनि भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनका दुई टावर निर्माणमा भएको अवरोधका कारण सकेको छैन ।   हाल चमेलिया करिडोरमा उत्पादित बिजुली र टनकपुर नाकाबाट आयात भइरहेको बिजुली व्यवस्थापन गरेर पश्चिम नेपालमा वितरण गरिएको छ । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माणमा नवलपरासीको दुम्कीबासमा समस्या देखिँदै आएको छ ।    स्थानीयवासीले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका कारण पूर्वको बिजुली पश्चिम जानसकेको छैन । हाल बर्दघाट आसपासमा १३२ केभी क्षमताको प्रसारण लाइन मात्रै सञ्चालनमा छ । त्यसले १०० मेगावाट बराबर मात्रै बिजुली प्रवाह गर्न सक्छ ।   बाह्र वर्षभन्दा लामो समय भए पनि सो आयोजनाका सम्बन्धमा स्थानीयवासीले राखेका माग सम्बोधन हुन नसक्नु र सर्वोच्च अदालतले समेत फैसला नगरिदिँदा राष्ट्रियरुपमा नै बिजुली प्रवाहमा समस्या भइरहेको छ ।  

भक्तपुर​:       आज जुन ५, विश्व वातावरण दिवस । बिहान १०ः१५ बजे विद्यालयको पोसाकमा पञ्जा लगाइएको हातमा झाडु, साबेल र बाल्टीका साथ लामबद्ध थिए विद्यार्थी । लाममा रहेका विद्यार्थीसँग तिनका शिक्षक भन्दै थिए, “हामीले आफ्नो वरपरको वातावरण सफा राख्नुपर्छ र सबै जना हरेक सम्पदाको संरक्षणमा लाग्नुपर्छ ।”           कापी र किताबले भरिएका झोला बोकेर विद्यालय जाने विद्यार्थी आज भने हातमा पञ्जा लगाएर कुचो, साबेल र फोहर राख्ने भाँडो लिएर सडकमा थिए । सडक पेटीमा रहेका विद्यार्थीमध्ये कोही सडक र सँगैका नालामा रहेका फोहर टिप्दै डस्टबिनमा हाल्दै थिए भने कोही ढुङ्गेधारामा जमेको फोहर सफा गर्दै थिए ।      भक्तपुर नगरपालिकाको सल्लाघारीस्थित अक्सफोर्ड स्कुलमा अध्ययन गर्दै आएका विद्यार्थीले आज सल्लाघारी क्षेत्रको सडक तथा सम्पदामा सरसफाइ गरे । उनीहरूले यस क्षेत्रमा रहेका नाला, पाटी, ढुङ्गेधारा, मन्दिरलगायतमा रहेको फोहर सफा गरे ।   विद्यालयले पढाइका अतिरिक्त प्रत्यक्षरूपमा सरोकार राख्ने यस्ता विषयवस्तुका क्षेत्रमा विद्यार्थी स्वयंको प्रत्यक्ष संलग्नता रहोस् र पढाइका साथै सामाजिक काममा लाग्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयकी शिक्षिका इन्दु दुवाल बताउनुहुन्छ ।      विश्व वातावरण दिवसका अवसरमा आयोजित सरसफाइ कार्यक्रममा विद्यार्थीलाई यस क्षेत्र वरपर रहेका मन्दिर, पाटीपौवा, ढुङ्गेधाराजस्ता सम्पदाको सरसफाइका साथै तिनका बारेमा जानकारी दिँदै सम्पदाको महत्व र संरक्षण गर्नुपर्ने कारणका बारेमा जानकारीसमेत दिइएको थियो ।           नगरपालिकाले यहाँका विद्यालयमा यस क्षेत्रमा पर्ने सम्पदा, यहाँका परम्परा, संस्कृतिलगायत विषयवस्तु समावेश गरी पाठ्यक्रम नै बनाएर विद्यार्थीलाई सचेत बनाउन खोजेको देखिन्छ । अध्ययनका साथै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सकारात्मक प्रभाव परेको देखिन्छ ।   सरसफाइमा सहभागी विद्यार्थीले अबदेखि आफूले सार्वजनिक ठाउँमा फोहर नगर्ने र अरूलाई समेत गर्न हुँदैन भनेर सिकाउने बताए । सरसफाइका क्रममा वरपरका फोहर टिप्दै त्यहाँ रहेका मानिसलाई सम्पदा वरपर फोहर नगर्न र सरसफाइमा ध्यान दिनसमेत कक्षा ७ र ८ मा अध्ययनरत सहभागी विद्यार्थीले आग्रह गरिरहेका थिए ।             सो अवसरमा विद्यार्थीले सरसफाइका साथ वरपर वृक्षरोपणसमेत गरेका थिए । यस वर्ष विश्वमा ‘केबल एक पृथ्वी’ तथा नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापनः  पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आइरहेको छ ।