पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

बागलुङः       बन्द अवस्थामा रहेको विमानस्थलको अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले आज यहाँस्थित बलेवा विमानस्थलको स्थलगत अवलोकन गरेको छ । भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि उक्त अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ ।   विमानस्थल सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममा परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा आउन सक्ने बताउनुभयो । “विमानस्थलको स्थलगत अध्ययन, अवलोकन ग¥यौँ, तत्कालै चलाउन सक्ने गरी विमानस्थल तम्तयारी अवस्था छ”, उहाँले भन्नुभयो, “सरकारले कराडौँ खर्च गरेर विमानस्थल बनाएको छ, यसलाई प्रयोगविहीन अवस्थामा राख्नहुँदैन, लगानी गरेपछि प्रतिफल आउनुपर्छ ।” उहाँले मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, विमान सञ्चालक कम्पनीलगायतसँग विमानस्थलको स्थलगत अध्ययन प्रतिवेदन र स्थानीयस्तरमा सरोकार भएका पक्षबाट आएका सुझावका आधारमा थप छलफल गरिने उल्लेख गर्नुभयो ।   राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहनुभएका शाहले विमानस्थल सञ्चालनमा आउन नसक्ने स्थितिमा पनि वैकल्पिक प्रयोगको योजना पनि बनाउनुपर्ने धारणा राख्नुभयो । छलफलका क्रममा सुझाव राख्दै बागलुङ–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले हरहालतमा विमानस्थल चलाउनुपर्ने बताउनुभयो । “नियमित सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने पहुँचमार्गको स्तरोन्नति गर्न सकियो भने विमानस्थल चल्छ”, उहाँले भन्नुभयो, “सबै पूर्वाधार बनेको अवस्थामा अब कसरी हुन्छ विमानस्थल चलाउनेतिर सोचौँ, पहल थालौँ ।”   बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले विमानस्थल नियमित सञ्चालन गर्न व्यावसायिक योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले यसअघि विसं २०७४ मा विमानस्थल सञ्चालनमा आउँदा यात्रुबाट भाडादर चर्को भएको गुनासो आएको उल्लेख गर्नुभयो । “व्यावसायिक योजना बनाएर विमानस्थललाई दिगो ढङ्गले चलाउनुपर्छ, केही समय चलाउने अनि बन्द गर्ने अवस्था अब आउन दिनुहुँदैन”, सचिव चोखालले भन्नुभयो, “धवलागिरि क्षेत्रको आर्थिक विकासमा यसलाई जोड्नुपर्छ, विमानस्थल चल्दा पर्यटन क्षेत्र पनि आफै उकासिन्छ ।”   बागलुङ उद्योग वाणिज्य सङ्घका उपमहासचिव थानेश्वर सुवेदीले विमानस्थल जोड्ने मुख्य सडक कालोपत्र नहुँदासम्म पर्वतको कुश्मातर्फबाट वैकल्पिक सडक प्रयोग गर्न सकिने सुझाव राख्नुभयो । “कुश्माबाट यान्त्रिक पुलहुँदै यात्रुलाई विमानस्थल पु¥याउन सकिन्छ, यसो गर्दा तत्कालै विमानस्थल सञ्चालनमा ल्याउन सकिन्छ”, उहाँले भन्नुभयो ।   विमानस्थल जोड्ने पहुँचमार्गको स्तरोन्नति या कालोपत्र पर्खन थाल्ने हो भने फेरि केही वर्ष विमानस्थल बन्दै अवस्थामा राख्नुपर्ने उपमहासचिव सुवेदीले बताउनुभयो । बागलुङको मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १३ किमि सडक अहिले पनि कच्ची छ । वर्षात्का बेला त उक्त सडकको यात्रा झन् जोखिमपूर्ण बन्ने गरेको छ । सरकारले सो खण्ड कालोपत्रका लागि ठेक्का प्रक्रियामा लगेपनि काम सकिन केही वर्ष लाग्ने देखिएको छ ।    बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले यसअघि धावनमार्ग कच्ची हुनु, चर्को भाडादर र पहुँच मार्गस्तरहीन हुँदा विमानस्थल नियमित सञ्चालनमा आउन नसकेको बताउनुभयो । विमानस्थल सोही वडामा पर्दछ । “अहिले धावनमार्ग कालोपत्र भइसकेको छ, अब विमानस्थलसम्म आउजाउका लागि सहज यातायातको खाँचो छ, यात्रुको सुनिश्चितता दिएर विमान कम्पनीलाई आकर्षण गर्न सकियो भने विमानस्थल नियमित चल्छ”, उहाँले भन्नुभयो । यसअघि नगरले आफ्नै पहलमा विमानस्थल सञ्चालनमा ल्याएपनि यात्रु सङ्ख्या घट्दै गएपछि विमानस्थल बन्द हुन पुगेको वडाध्यक्ष खत्रीको भनाइ छ ।    बागलुङ नगरका उपप्रमुख राजु खड्काले विमानस्थल नियमित सञ्चालन गर्न नगरकोतर्फबाट सबैखाले प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामी सबै पक्षसँग बसेर विमानस्थल सञ्चालनको छुट्टै योजना निर्माण गर्छौँ, उहाँले भन्नुभयो, “नगरको गौरव र प्रतिष्ठासँग पनि जोडिएको विषय भएकाले हामी यसमा संवेदनशील छौँ ।”    सरकारको आगामी आर्थिक बर्षको बजेटमा पनि बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने उल्लेख छ । बन्द भएको २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि बलेवा विमानस्थल सञ्चालनमा ल्याइएको थियो ।    नेपाल र तारा एयरलाइन्सको टुइनअटर विमानले हप्ताको दुई दिन उडान गर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरले भार व्यहोर्ने गरी नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र नगरबीच सम्झौता भएको थियो ।  केही महिनापछि यात्रु पनि घट्ने र नगरलाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको थियो । विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौँको भाडादर रु छ हजार ५०० तोकेपछि यात्रुले पनि महँगो भएको गुनासो त्यसबेला गरेका थिए । विसं २०४८ मा बन्द भएको विमानस्थल २६ वर्षपछि सञ्चालनमा आएपनि त्यसले निरन्तरता पाउन सकेन । विसं २०२२ मा बनेको विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि बन्द भएको थियो । सडक आउनुअघि बलेवादेखि पोखरा, काठमाडौँ, भैरहवा र भरतपुरसम्म विमान सञ्चालनमा थिए । यात्रुको आउजाउ र सामान ढुवानीका लागि विमान प्रयोग हुन्थ्यो । पूर्वाधारका दृष्टिले विमानस्थल पहिलेभन्दा अहिले धेरै सम्पन्न छ । विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र भइसकेको छ ।  अब त विमानस्थल नियमित चल्छ की भन्ने आशमा स्थानीयवासी छन् । तर, विमानस्थल कहिले सञ्चालनमा आउँछ कुनै टुङ्गो भने लागेको छैन । 

पोखरा:  पोखराको फुस्रे खोलास्थित दोविल्लामा पौडी खेल्ने क्रममा बेपत्ता भएका स्याङ्जाको पुतलीबजार नगरपालिका ७ बेशीगाउँका पूर्ण गुरुङको खोजीकार्य तिव्र पारेको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गुरुङ शनिबार पौडी खेल्ने क्रममा दिउँसो करिब ३ बजे बेपत्ता भएका थिए ।    उनको नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय टोलीले खोजीकार्य गरेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए ।  ‘खोजीकार्य तिव्र छ । एपिएफको र नेपाल प्रहरीको एक्सपर्ट टिम हिजोबाट अहिलेसम्म र्याफ्टिङको टोलीसहित  खोजीराको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘अझै ट्रसिङ भएको छैन । खोज्ने काम त जारी नै छ ।’    बेपत्ता भएका गुरुङ सहित फुस्रे खोलामा पौडी खेल्न ७ जना गएका थिए । सँगै गएका अन्य साथीहरुका अनुसार माथीबाट हाम फाल्ने क्रममा गुरुङलाई खोलाले बगाएको थियो ।  

काठमाडौंः   नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।   एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए ।   उनका अनुसार अब भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् ।

काठमाण्डौँः     नेपाल विद्युत् प्राधिकरणले खपत गरेर बढी भएको बिजुली भारत निकासी गर्न थालेको छ । शनिबार मध्यरातदेखि कालीगण्डी ‘ए’ को  १४० मेगावाट बिजुली भारत निर्यात भएको छ ।    प्रतियुनिट रु १९ मा बिजुली भारत पठाइएको छ । त्यसका अलावा देशभित्रै पनि बढी बिजुली खपत गर्ने उद्योगलाई एकपछि अर्को गर्दै बिजुली उपलब्ध गराउन थालिएको छ । सोही क्रममा आज मात्रै नेपाल विद्युत् प्राधिकरणको कोहलपुर वितरण केन्द्रले बाँकेमा रहेको अम्बे स्टिललाई १७.५ मेगावाट बिजुली उपलब्ध गराएको छ । यसअघि सो उद्योगले आठ मेगाबाट बिजुली लिँदै आएको थियो ।   कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीका अनुसार उद्योगले कूल ३५ मेगावाट बिजुली माग गरेकामा हालसम्म २५.५ मेगाबाट बिजुली आजदेखि उपलब्ध भएको छ । देशभित्रै गुणस्तरीय छड तथा डण्डी उत्पादन गर्ने लक्ष्यका साथ अम्बे स्टिलले बाँकेमा कारखाना स्थापना गरेको हो ।   “झण्डै डेढवर्ष पहिलेदेखि उद्योगले हामीसँग ३५ एमभिए क्षमतामा बिजुली माग गर्दै आएको थियो, प्राधिकरणले आवश्यक तयारी गरेर मागअनुसार नै बिजुली उपलब्ध गराएका छौँ”, प्रमुख रेग्मीले भन्नुभयो, “बाँकी रहेको ९.५ मेगावाट बिजुली पनि एक साताभित्रै उद्योग परिसरमा उपलब्ध गराउँछौँ ।”   प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही समय पहिले उद्योग परिसरको स्थलगत निरीक्षण गर्दै उद्योगलाई मागअनुसार बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तुलनात्मक रुपमा प्राधिकरणले पश्चिम नेपालमा स्थापना हुने उद्योगलाई सहज रुपमा बिजुली उपलब्ध गराउन प्रयास गरे पनि भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनका दुई टावर निर्माणमा भएको अवरोधका कारण सकेको छैन ।   हाल चमेलिया करिडोरमा उत्पादित बिजुली र टनकपुर नाकाबाट आयात भइरहेको बिजुली व्यवस्थापन गरेर पश्चिम नेपालमा वितरण गरिएको छ । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माणमा नवलपरासीको दुम्कीबासमा समस्या देखिँदै आएको छ ।    स्थानीयवासीले प्रसारण लाइनको मार्ग परिवर्तन गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका कारण पूर्वको बिजुली पश्चिम जानसकेको छैन । हाल बर्दघाट आसपासमा १३२ केभी क्षमताको प्रसारण लाइन मात्रै सञ्चालनमा छ । त्यसले १०० मेगावाट बराबर मात्रै बिजुली प्रवाह गर्न सक्छ ।   बाह्र वर्षभन्दा लामो समय भए पनि सो आयोजनाका सम्बन्धमा स्थानीयवासीले राखेका माग सम्बोधन हुन नसक्नु र सर्वोच्च अदालतले समेत फैसला नगरिदिँदा राष्ट्रियरुपमा नै बिजुली प्रवाहमा समस्या भइरहेको छ ।  

भक्तपुर​:       आज जुन ५, विश्व वातावरण दिवस । बिहान १०ः१५ बजे विद्यालयको पोसाकमा पञ्जा लगाइएको हातमा झाडु, साबेल र बाल्टीका साथ लामबद्ध थिए विद्यार्थी । लाममा रहेका विद्यार्थीसँग तिनका शिक्षक भन्दै थिए, “हामीले आफ्नो वरपरको वातावरण सफा राख्नुपर्छ र सबै जना हरेक सम्पदाको संरक्षणमा लाग्नुपर्छ ।”           कापी र किताबले भरिएका झोला बोकेर विद्यालय जाने विद्यार्थी आज भने हातमा पञ्जा लगाएर कुचो, साबेल र फोहर राख्ने भाँडो लिएर सडकमा थिए । सडक पेटीमा रहेका विद्यार्थीमध्ये कोही सडक र सँगैका नालामा रहेका फोहर टिप्दै डस्टबिनमा हाल्दै थिए भने कोही ढुङ्गेधारामा जमेको फोहर सफा गर्दै थिए ।      भक्तपुर नगरपालिकाको सल्लाघारीस्थित अक्सफोर्ड स्कुलमा अध्ययन गर्दै आएका विद्यार्थीले आज सल्लाघारी क्षेत्रको सडक तथा सम्पदामा सरसफाइ गरे । उनीहरूले यस क्षेत्रमा रहेका नाला, पाटी, ढुङ्गेधारा, मन्दिरलगायतमा रहेको फोहर सफा गरे ।   विद्यालयले पढाइका अतिरिक्त प्रत्यक्षरूपमा सरोकार राख्ने यस्ता विषयवस्तुका क्षेत्रमा विद्यार्थी स्वयंको प्रत्यक्ष संलग्नता रहोस् र पढाइका साथै सामाजिक काममा लाग्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयकी शिक्षिका इन्दु दुवाल बताउनुहुन्छ ।      विश्व वातावरण दिवसका अवसरमा आयोजित सरसफाइ कार्यक्रममा विद्यार्थीलाई यस क्षेत्र वरपर रहेका मन्दिर, पाटीपौवा, ढुङ्गेधाराजस्ता सम्पदाको सरसफाइका साथै तिनका बारेमा जानकारी दिँदै सम्पदाको महत्व र संरक्षण गर्नुपर्ने कारणका बारेमा जानकारीसमेत दिइएको थियो ।           नगरपालिकाले यहाँका विद्यालयमा यस क्षेत्रमा पर्ने सम्पदा, यहाँका परम्परा, संस्कृतिलगायत विषयवस्तु समावेश गरी पाठ्यक्रम नै बनाएर विद्यार्थीलाई सचेत बनाउन खोजेको देखिन्छ । अध्ययनका साथै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सकारात्मक प्रभाव परेको देखिन्छ ।   सरसफाइमा सहभागी विद्यार्थीले अबदेखि आफूले सार्वजनिक ठाउँमा फोहर नगर्ने र अरूलाई समेत गर्न हुँदैन भनेर सिकाउने बताए । सरसफाइका क्रममा वरपरका फोहर टिप्दै त्यहाँ रहेका मानिसलाई सम्पदा वरपर फोहर नगर्न र सरसफाइमा ध्यान दिनसमेत कक्षा ७ र ८ मा अध्ययनरत सहभागी विद्यार्थीले आग्रह गरिरहेका थिए ।             सो अवसरमा विद्यार्थीले सरसफाइका साथ वरपर वृक्षरोपणसमेत गरेका थिए । यस वर्ष विश्वमा ‘केबल एक पृथ्वी’ तथा नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापनः  पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आइरहेको छ । 

पर्सा:      १४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी करिब पाँच अर्ब १० करोड १६ लाख बराबरको बजेट  विनियोजन गरेको छ ।   एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी  वीरगञ्ज महानगरमा रु  एक अर्ब ४४ करोड ८६ लाख र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई रु २१ करोड विनियोजन भएको हो ।     जसमध्ये तीन नगरपालिकालाई रु एक अर्ब ६४ लाख तथा दशवटा गाउँपालिकालाई दुई अर्ब ६४ करोड ६७ लाख बजेट विनियोजित भएको छ । यस्तै विनियोजित बजेटमध्ये पोखरिया नगरलाई रु ३३ करोड ३२ लाख, पर्सागढी नगरलाई रु ३१ करोड ४७ लाख र बहुदरमाई नगरलाई रु ३५ करोड ८५ लाख रुपैयाँ विनियोजित भएको हो ।    त्यसैगरी, छिपहरमाई गाउँपालिलाई रु २८ करोड ३५ लाख, जगरनाथपुरलाई रु २८ करोड ८९ लाख, धोबिनीलाई रु २२ करोड १२ लाख, पटेर्वासुगौलीलाई रु २८ करोड तीन लाख, विन्ध्यवासिनीलाई रु २४ करोड ४० लाख, सखुवाप्रसौनीलाई रु ३३ करोड ९८ लाख, ठोरीलाई रु ३१ करोड २६ लाख, कालिकामाईलाई रु २२ करोड २९ लाख, र जीराभवानी गाउँपालिकालाई २५ करोड ३५ लाख बजेट विनियोजन गरिएको हो ।   यस्तै विशेष अनुदानतर्फ आगामी बजेटका लागि वीरगञ्ज महानगरलाई रु दुई करोड, जगरनाथपुर गाउँपालिकालाई रु एक करोड ४४ लाख, पटेर्वासुगौली गाउँपालिकालाई रु दुई करोड, ठोरी गाउँपालिकालाई रु दुई करोड ८५ लाख र जीराभवानी गाउँपालिकालाई रु एक करोड विशेष अनुदान पाएको छ । यहाँको नौ स्थानीय तहले विशेष अनुदान पाएका छैनन् । 

पोखराः    पोखरा महानगरपालिका २ स्थित बाग्लुङ बसपार्कमा ट्रकले ठक्कर दिदाँ स्कुटरमा सवार महिला घाइते भएका छन् ।   विहान करिब साढे १० बजे भूपीशेरचन राजमार्ग अंतर्गत बाग्लुङ बसपार्कको चोकमा हरिचोक तर्फ जादै गरेको ०३ ००१ च ७०७९ नम्बरको ट्रकले जिरो किमी आउँदै गरेको ध १ प ९१९७ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार पर्वत महाशिला गाउपालिका वडा न. ४ की अस्मिता सूवेदी खत्री  घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई जानकारी दिए ।   उनका अनुसार घाइते भएका उनको दाहिने खुट्टा भाँचिएको छ । उनको उपचारको लागि फिस्टेल अस्पताल पठाइएको छ ।   ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।    

चितवन:       चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ ।      चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो ।     निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । यस्तै गैँडाको आक्रमणबाट छ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।     गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको थियो । त्यसमध्ये गैँडाको आक्रमणमा चार, बाघको आक्रमणमा चार, जङ्गली हात्तीको आक्रमणमा दुई, गौरी गाईको आक्रमणमा एक र बँदेलको आक्रमणमा परी एक जनाको मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

काठमाण्डौँः    जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरि मनाउनेमध्येको अन्तिम पर्वको रुपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । यो पर्वको नेवार समुदायमा विशेष महत्व राख्ने गर्दछ । यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को महत्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँं) सुरु हुने भएकाले यस चाडलाई अन्तिम चाडको रुपमा मनाइने गरिएको हो ।   भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । यसवर्ष घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।    साथै चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहँदै आएको छ । सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षातको बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरीपरी समेत सरसफाइ गरी निकास खोल्नु यसको अर्को विशेषता हो । साथै, हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरेको हो ।    सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेकाले एकाबिहानै घरमा रहेको गाई बस्तुको गोबर मल, कम्पोष्ट मललाई खेतबारीमा पुर्याउने गर्दछन् । त्यसपछि आफ्नो घर आँगन सफा गरी सिथि नखः पर्व मनाउन थाल्छन् ।   यस दिन खेतको माटोलाई चोट पुर्याउन नहुने धार्मिक मान्यतासमेत रहेको छ । नेवार समुदायमा सिथि नखःको दुई कारणले विशेष महत्व राख्ने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।   पहिलो सिथि नखः महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन । यसले गर्दा धार्मिक महत्वको पर्वका रुपमा लिइन्छ । गणेश देवताहरुका गणनायक हुन् भने कुमार देवगणका सेनापति हुन् । देवी देवतामध्ये सबैभन्दा पहिला पुजा गरिने कुमारको पुजा आराधना गर्नाले वर्षात्को बेला धान रोपाइँ जस्तो कृषिकार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने जनविश्वास रहेको प्रा डा श्रेष्ठ बताउनुहुन्छ ।   नेवार समुदाय कला–संस्कृति र साँस्कृतिक मनोरञ्जनका पारखी हुन् । उनीहरु वर्षभरी अनेकथरी कला, साँस्कृतिक झाँकी र साँस्कृतिक चाडपर्व मनाउने गर्दछन् । तर, वर्षासँगै ती सबै थाँती राखी धानबाली लगाउन व्यस्त हुन्छन् ।    नेवारी समुदायमा प्रचलित एउटा भनाइ, ‘मनु स्युसाः लप्ते कुसाँ तपुया साँ न्हापाँ सिना ज्याः सिद्यके माः’ अर्थात  ‘मान्छे मरे घुमले छोपेर भए पनि पहिला धान रोपाइँ सक्नुपर्छ’ भन्ने मान्यताले पनि धान खेतीको महत्व र प्राथमिकतालाई झल्काउँछ ।  यस्तो अवसरमा किसानलाई जात्रा, पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि तयार पार्ने चाडको रुपमा सिथि नखःको विशेष महत्व रहने गरेको प्रा डा श्रेष्ठको कथन रहेको छ । धानखेती धेरै मेहनत र परिश्रमयुक्त खेती हो । वर्षात्को झरिमा रुझेर, हिलो माटोसँग पौँंठेजोरी खेल्दै गरिने धान रोपाइँलाई अन्य खेतीपातीमाभन्दा बढी नै शक्ति र तागत आवश्यक पर्छ । यही तथ्य बुझेर नेवार समुदायले सिथि नखःको दिन शरीरमा तागत उत्पन्न गराउने मास र मुगीका बारा, चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने प्रचलन रहँदै आएको हो ।  साथै, नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलनसमेत रहेको छ । यस दिन बारा, चटामरी, म्हुछ्यामढीलगायतका पकवान खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षायाममा धानखेती गर्न आवश्यक बल पुग्ने जनविश्वास रहँदै आएको छ । यस्तै आजको दिन शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपिठहरुको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै यस बर्षको वर्षा फाप्ने तथा घरपरिवारमा सुख, शान्ति हुने जनविश्वाससमेत रहेको पाइन्छ ।