काठमाण्डौँः नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस उहाँको योगदानको स्मरण गर्दै मनाइयो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित पाँडेको समाधिस्थल परिसरमा काजी कालु पाँडे, तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ र लेखक सुजित मैनालीले एकीकरण अभियानमा पाँडे परिवार र काजी पाँडेले गर्नुभएको योगदानबारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा उपकुलपति गुरुङले नेपालीकरण (प्रोसेस अफ नेपलाइजेशन) को विकासका क्रममा विभिन्न जातजातिहरूको समन्वय र संयुक्त योगदानको शृङ्खलालाई भुल्न नहुने र इतिहासको त्यही लयका आधारमा सङ्घीय गणतन्त्र नेपाललाई सवल बनाउन सकिने बताउनुभयो । उहाँले काजी पाँडेले पुर्खाको गौरव र वीरगाथाको अनुभवबाट जातीय सद्भावसहित राष्ट्र निर्माणमा सबै केन्द्रित हुनुपर्ने बताउनुभयो । लेखक मैनालीले काजी पाँडे सैन्य र कूटनीतिक दुवै मोर्चामा अग्रणी तथा जनताबाट पनि रुचाइएकाले तत्कालीन राजा पृथ्वीनारायण शाहले विश्वास गरी प्रमुख मन्त्री बनाएको सन्दर्भ स्मरण गराउनुभयो । काजी भीमराज पाँडेका छोरा पाँडेको नेतृत्व (दलमुख) मा नुवाकोट, बेलकोट, नालदुम, तादी, सिरान्चोक र कीर्तिपुरमा लडाइँ भएको थियो । विसं १७७० मा जन्मिएका काजी पाँडेले विसं १८१४ जेठ १९ मा कीर्तिपुरको आक्रमणका सहादत प्राप्त गरेका थिए । त्यसबेला गोरखा राज्यले कीर्तिपुर राज्यमाथि हमला गर्ने अनुकूल समय नभएको भनेर पाँडेले सुझाव दिँदा राजा पृथ्वीनारायण शाहले ‘मर्न डर लाग्यो ’ भन्ने प्रश्न गरेपछि पाँडे लडाइँको मोर्चा सम्हाल्न तयार भएका थिए । काजी पाँडेलाई पृथ्वीनारयण शाहले जनताको चाहनाबमोजिम नै प्रमुखमन्त्री नियुक्त गरेको इतिहासबाट पाँडेको त्यसबेलाको लोकप्रियता झल्कन्छ । पाँडेको वीरताको सम्मानमा नेपाली सेनाको सहयोगमा समाधिस्थलमा विसं २०७८ मा कम्प्याउण्ड वाल, आइरन रेलिङ, सत्तल भवन निर्माण र स्तरोन्नति गरिएको छ । सो प्रतिष्ठान र नगरपालिकाको वडा नं १ को संयोजनमा समाधिस्थलका सौन्दर्यीकरण कार्य गरिएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट पाँडेको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । कीर्तिपुर लडाइँमा जानुपूर्व काजी पाँडेले आफू लडाइँमा मारिएमा गोरखा (मनकामना) देखिने गरी शव गाडिदिनु भनेकाले दहचोकको डाँडामा समाधिस्थल बनाइएको हो । सुरुमा उहाँको शव गाडिएको स्थललाई सामन्य ढुङ्गाहरुले छोपेर राखिएकमा प्रतिष्ठानले त्यहाँ निजी जग्गा खरिद गरेर व्यवस्थित समाधिस्थल निर्माण गरेको हो । दहचोक भ्यूटावर र विन्ध्यवासिनी मन्दिर नजिकै रहेकाले पनि समाधिस्थलको पर्यटकीय महत्व पनि रहेको छ । सांसद कृष्णगोपाल श्रेष्ठ, चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरी,नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायत सहभागी कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पवनबहादुर पाँडेले जनता, सरकार र सेनाको समुच्चबाट नेपाल राष्ट्रको निर्माण र नवनिर्माण भएको तथा काजी पाँडेले त्यस मर्मलाई बलियोसँग आत्मसात गरेको बताउनुभयो । माइतीघरबाट भद्रकालीसम्मको सडकमार्गलाई काजी दामोदर पाँडे मार्ग नामकरण गर्न पनि माग गर्नुभयो ।
पाल्पा: पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहको मुटु परीक्षण गरिएको छ । वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताउनुभयो । शिविरमा वडा नं १ मा छात्र ४४३ र छात्रा ३९५ गरी ८३८, वडा नं ५ मा छात्र २८१ र छात्रा २८८ गरी ५६९ तथा वडा नं ६ मा छात्र १९४ र छात्रा १९६ गरी ३९० विद्यार्थीको मुटु परीक्षण गरिएको हो । त्यसमध्ये एक विद्यार्थीलाई काठमाडौँ र सात विद्यार्थीलाई लुम्बिनी मेडिकल कलेजमा थप परीक्षणका लागि पठाइएको छ । हृदयरोग निवारण प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौँको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ कार्यालय पूर्वखोलाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । परीक्षण पश्चात् मुटुमा समस्या देखा परेका र आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीलाई गाउँपालिकाले स्वास्थ्य उपचारमा सहयोग गर्ने जनाइएको छ ।
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार हाल बिजुलीको कूल माग पिक डिमाण्ड एक हजार ६४३ मेगावाट छ । यो माग साँझ र बिहानको समयको हो । दिनभर र रातभर यो परिमाणमा माग हुँदैन । माग घट्दै जाँदा उत्पादित बिजुली खेर जान्छ । सोही समस्याको समाधानका लागि प्राधिकरणले देशभित्र बढी भएको बिजुली भारत निर्यात गर्न थालेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बुधबार मध्यरातदेखि नुवाकोटमा आयोजनास्थल रहेका दुई जलविद्युत् आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात भएका छन् । गत वर्षको कात्तिकदेखि पनि ती आयोजनाको बिजुली भारत निर्यात भएका थिए । नेपालका नदीहरूमा हाल जलसतह उल्लेख्यरूपमा बढेको छ । समयमै वर्षा भएका कारण नदीमा जलसतह उल्लेख्यरूपमा वृद्धि भएको हो । प्राधिकरणका अनुसार कूल २४ मेगावाट क्षमताको त्रिशूली र १५ मेगावाट क्षमताको देवीघाट विद्युत्गृहको बिजुली हिजो ९बुधबार मध्यरात०देखि भारतीय बजारमा निर्यात गर्न थालिएको प्राधिकरणले जनाएको छ । थप केही दिनपछि थप बिजुलीसमेत भारत निर्यात हुनेछ । हाल नेपालको कूल जडित क्षमता दुई हजार ३०० मेगावाटको हाराहारीमा पुगेको छ । चालु आवको अन्त्यसम्म थप केही आयोजनाले बिजुली उत्पादन गर्न थाल्नेछन् । मागभन्दा बढी बिजुली उत्पादन भएपछि त्यसलाई खेर फाल्नुभन्दा निर्यात गर्नु उपयुक्त हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेञ्ज बजारमा प्रत्येक १५ मिनेटमा तय हुने ब्लकका आधारमा नेपालले बिजुली निर्यात एवं बिक्रीका लागि राखेको छ । मागअनुसार प्रत्येक ब्लकको मूल्य पनि फरक–फरक हुन जान्छ । भारतमा अत्यधिक गर्मी बढेकाले पनि बिजुलीको माग अत्याधिक छ । विवरणहरूमा जनाइएअनुसार अधिकतम प्रतियुनिट १२ भारु १९ रुपैयाँ २० पैसामा बिजुली खरिद बिक्री गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ । केही समय पहिले भारतको ऊर्जा एक्सचेञ्ज बजारमा बिजुलीको मूल्य अत्याधिक मात्रामा वृद्धि भएपछि विद्युत् नियमन गर्ने संस्थाले प्रतियुनिट १२ भारुभन्दा माथि बिक्री गर्न नपाउने गरी हस्तक्षेप गरेको थियो । प्राधिकरणका अनुसार कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली पनि भारत निर्यातको तयारी भइरहेको छ । नेपालमा खेर जाने बिजुली भारत निर्यातका लागि उच्चस्तरीय सहमति भइसकेको छ । भारतीय बजारमा कूल ३६४ मेगावाट बिजुली निर्यातका लागि केही समय पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको भारत भ्रमणका क्रममा सहमति भएको थियो । सहमतिअनुसार २०० मेगावाट हाराहारीको बिजुली भने बढी मूल्यमा पनि बिक्री गर्न सकिने प्रावधान छ । बढी मूल्यमा बोलकबोल गर्नेलाई बिक्री गर्न सकिने गरी प्रावधान तय गरिएको छ । बाँकी बिजुली भने ऊर्जा एक्सचेञ्ज बजारमा ब्लक निर्धारण गरेर बिक्री हुन्छ । रुस र युक्रेन सङ्घर्षका कारण त्यसको बाछिटा अन्तर्राष्ट्रिय कोइला बजारमा पर्दा, गत चैत र वैशाखमा नेपालको ऊर्जा क्षेत्रमासमेत नकारात्मक असर परेको थियो । प्राधिकरणले बढी मूल्य तिरेर बिजुली आयात गर्छु भन्दा पनि पाउने अवस्था थिएन । समयमा नै वर्षा हुँदा त्यतिखेर नेपालले भोगेको नकारात्मक असरको सम्बोधन हुने अवस्थामा प्राधिकरण पुगेको छ । भारतले नेपालका विभिन्न छ आयोजनाको बिजुलीसमेत लैजान सहमति जनाएको छ । प्राधिकरणका अनुसार हाल उसका आफ्ना आयोजनाबाट १० हजार १३३ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीको आयोजनाबाट सात हजार ४९५ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १२ हजार ८९९ मेगावाट घण्टा बिजुली उत्पादन भइरहेको छ । त्यस्तै भारतबाट तीन हजार ३५६ मेगावाट घण्टा आयात भइरहेको छ । यस्तै वर्षा वा पानीका कारण देशभर ४३० मेगावाट घण्टा बिजुली अवरोध भइरहेको छ । प्राधिकरणको प्रणालीमा कूल ३४ हजार ३१३ मेगावाट बराबरको ऊर्जा माग छ । प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको कालीगण्डकी ‘ए’बाट १४० मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङदीबाट ६८ मेगावाट, ६९ मेगावाटको मस्र्याङदीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रिन भेन्चर्सको ५२ दशमलव ४ मेगावाटको लिखु–४ बाट ५१ मेगावाट गरी कूल ३२६ मेगावाट विद्युत निर्यातका लागि भारतले स्वीकृतिका लागि अनुमति दिएको छ ।
गलेश्वर: म्याग्दीका ग्रामीण भेगमा पुख्र्यौदेखि चलनमा आएका मौलिक सामग्री हिजोआज हराउँदै गएका छन् । बजारमा प्लास्टिकका रेडिमेड सामग्री आउन थालेपछि गाउँमा बनाइएका डाला, नाङ्ला, थुन्से, भकारीजस्ता मौलिक सामग्रीको बिक्री हुन छोडेको छ । गाउँघरमासमेत यस्ता सामग्रीको प्रयोग गर्ने चलन घट्दै गएपछि रैथाने सीप र मौलिकता समेत हराउँदै जान थालेको स्थानीय जेठोपुस्ताका व्यक्तिले बताएका छन् । “केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा डालो, नाङ्लोको प्रयोग निकै गरिन्थ्यो तर मौलिकतासँग जोडिएका यस्ता सामग्री अहिले प्रयोग कम हुँदै गएका छन्” बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो । वर्षौँदेखि डालो, नाङ्लो बुन्ने र बिक्री गरी परिवार पाल्दै आएका पनि समस्यामा पर्न थालेका छन् । जेठो पुस्ताको सीप र ग्रामीण सौन्दर्यसमेत हराउँदै जान थालेकोमा स्थानीय बुढापाका चिन्तित देखिन्छन् । प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले एकातिर वातावरणीय सन्तुलन समेत खल्बलिएको छ, भने अर्कोतर्फ रैथाने सीप पनि प्रयोगमा आउन नसक्दा सीपभएका स्थानीय पनि बेरोजगार बनेका मालिका गाउँपालिका– ३ का भीमबहादुर बुढाले बताउनुभयो । बुढाले वर्षौँदेखि डालो, नाङ्लो बुन्ने र बिक्री गरी घरपरिवार चलाउँदै आउनुभएको थियो । अहिले आफूले बनाएका सामग्रीले बजार पाउन छाडेपछि घरपरिवार चलाउन समस्या हुन थालेको उहाँले दुःखेसो पोख्नुभयो । केही वर्ष अगाडिसम्म निकै बिक्री हुने डाला, नाङ्ला, थुन्से र भकारीलगायतका सामग्रीको पछिल्लो समयमा लोकप्रियता कम हुँदै गएको उहाँको भनाइ छ । बजारमा नयाँ–नयाँ प्रविधिका नापतौलका सामग्रीहरु आएपछि आफूले बुनेका डाला, नाङ्लाले बजार पाउन छाडेको बुढा बताउनुहुन्छ । परम्परागत नापतौल गर्ने तुलोको रुपमा प्रयोग हुने मानापाथि आजकल किलो र लिटरमा परिवर्तन भएको उहाँको भनाइ छ । “दुई दशक अघिसम्म गाउँघरमा मात्रै होइन सहर बजारमा पनि अन्नपात किन्दा मानापाथीबाट तौलिने गर्थे, अहिले त सबै किलोको हिसाब हुन थाल्यो, यसले गर्दा पनि होला गाउँ घरमा उत्पादन हुने परम्परागत मानापाथिको प्रयोग हराउँदै गए” बेनी नगरपालिका ३ भकिम्लीका तीर्थबहादुर विकले भन्नुभयो, “अब त गाउँघरमा नाङला, डाला बुन्ने मानिस पाइन छोडे, डोकोको प्रयोग हुँदै आएको छ, यही हिसाबले जाने हो भने त केही वर्षपछि गाउँमा डोको बुन्ने मानिस पनि पाइने छैनन् ।” पछिल्लो समय एकातिर ग्रामीण मौलिक सामग्रीको प्रयोग कम हुँदै गएको छ भने अर्कोतर्फ कच्चापदार्थ समेत अभाव हुन थालेको उहाँहरुको गुनासो छ । “आजभोलि त पहिले–पहिलेको जस्तो चोया पनि प्रशस्त पाइँदैन, वनजंगल धाउनुपर्छ, चोया हुने हो भने दिनमा ५/७ वटा डोका बुन्न सकिन्छ” विकले भन्नुभयो । आफ्नो बाउ बाजेले बुनेको देखेर आफूले पनि सिकेको भन्दै अहिलेका युवा पुस्ताले यसप्रति चासो नदेखाएको उहाँले बताउनुभयो । आफूहरुको पुस्तापछि परम्परागत रुपमा बुनिँदै आएका डालो, नाङ्लो लोप हुनसक्ने उहाँको भनाइ छ । अहिले पनि गाउँका थोरै मान्छेले मात्रै बुन्ने गरेका छन् । “हामी पछिका मान्छेहरुले त अब यस्ता बुन्ने काम गर्दैनन् होला, अहिले कसैले पनि सिक्ने चासो देखाउँदैनन्, हामीले त सानैदेखि डोको, नाङ्लो, पाथी, डालो बुन्न सिक्ने गरेका थियौँ” विकले भन्नुभयो । केही वर्षअघिसम्म फुर्सदको समयमा डालो, नाङ्ला बुनेर विक्री गरेपनि वर्षमा डेढ दुई लाख आम्दानी गर्ने गरेको सम्झदै विकले अहिले ती सबै कुराहरु सपनाजस्तै भएको सुनाउनुभयो
एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन् । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो । उनलाई रु दुई लाख २८ हजार १९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो । विकको साथबाट प्रदेश०३–००२प ७०६६ नंको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ ।
काठमाण्डौँः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ४०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।
काठमाडौं: नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आइओसी) बाट इन्धनको नयाँ मूल्य सूची पठाएको छ । जसअनुसार पेट्रोलमा बढेर नयाँ मूल्य आएको छ भने डिजेल, खाना पकाउने ग्याँस र हवाइ इन्धनमा घटेर नयाँ मूल्य प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले बुधबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँले घटेको छ । यस्तै हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ । नयाँ मूल्य पछि पनि निगमलाई मासिक घाटा ६ अर्ब १५ रुपैयाँ पुग्ने पनि निगमको प्रक्षेपण छ । आईओसीलाई पहिलेकै वक्यौता ३२ अर्ब रहेको र अबको नयाँ मूल्य पछि जुन महिनामा निगमले ४७ अर्ब हारहारी रकम भुक्तानी गर्न बाँकी रहेको निगमले जनाएको छ । अर्थ मन्त्रालयले घटाएको करबारे निगमलाई हालसम्म कुनै जानकारी नभएकाले अहिलेलाई कुनै निर्णय नलिने निगमले जनाएको छ ।
पोखराः पृथ्वीनारायण क्याम्पसको शिक्षा संकाय डिपार्टमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । प्रात र दिवाकालिन दुवै समयमा पढाई हुनुपर्ने माग गर्दै आज तालबन्दी गरेको हो । करिब ४५ सय विद्यार्थीको हस्ताक्षर सकल गरि प्रशासनलाई बुझाएको बताउदै माग सुनुवाई नभएपछी ताला लगाउन बाध्य भएको अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस समितिका सदस्य कुसल लम्सालले बताए । एक वर्ष पनि नबित्दै सहमतिलाई कुचल्दै दिवामा मात्र अध्यापन गराउने गरेकोमा घोर भत्र्सना गर्दछौ, उनले भने दिवामा मात्र पठनपाठान गराउने निर्णय हामी गरिब तथा मध्यम वर्गीय विधार्थीहरुको हित विरुद्ध छ । त्यसैले दुवै समयमा पढाई हुनुपर्ने हाम्रो माग हो । उनले शिक्षा संकायलाई दिवा र प्रातकालिन समयमा अध्यापन गराउने निर्णय नगरे शिक्षा संकाय तथा सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालाबन्दी जानकारी दिए । उनका अनुसार आन्दोलनको नेतृत्व अनेरास्ववियु शिक्षा संकाय कमिटीका अध्यक्ष सौगात तिमिल्सिनाले गर्दै आएका छन ।
हुम्लाः हुम्ला जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज एक कार्यक्रमकाबीच उक्त भवन उद्घाटन गर्नुभएको हो । उहाँले आफ्नै भवन भएपछि न्याय क्षेत्रमा नागरिकका लागि सहज वातावरण बनेको बताउनुभयो । उहाँले हरेक नेपाली न्यायको पक्षमा भइरहने हुँदा न्याय पाउने स्थान नागरिकको सहज पहुँचमा रहनुपर्ने बताउनुभयो । कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले न्याय क्षेत्र नागरिकको प्राथमिकताको विषय भएकाले यसमा कानुन व्यबसायी सदैव गम्भीर हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सीता परियार र जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जिल्ला अदालतको भवन निर्माण सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नुभयो । भवन निर्माणका लागि रु दुई करोड ६२ लाख २५ हजार खर्चिएको अदालतका श्रेस्तेदार कमलकुमार आर्चायले जानकारी दिनुभयो ।

