पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

पोखराः     गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हालको विज्ञापन बजारलाई व्यवस्थित गर्नु जरुरी रहेको बताउनुभएको छ ।    विज्ञापन बोर्ड नेपालले आज पोखरामा आयोजना गरेको विज्ञापन आचारसंहिता एवं विज्ञापन राष्ट्रिय नीतिसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विज्ञापनबिना सञ्चार क्षेत्र अघि बढ्न नसक्ने भएकाले आवश्यक कानुन बनाएर विज्ञापन बजारलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।   उहाँले भन्नुभयो, “राज्यको दायित्व सञ्चार जगतलाई टेवा दिने र सक्षम बनाउने हो, विज्ञापन भएन भने सञ्चार क्षेत्र राम्रोसँग अघि बढ्न सक्दैन । राज्य वा सरकारले सञ्चार माध्यमलाई कसरी सक्षम र सवलीकरण गर्ने भन्ने पाटो महत्वपूर्ण हो, आवश्यक कानुन बनाएर विज्ञापन बोर्डमार्फत व्यवस्थित गर्नु जरुरी छ ।”   मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले प्रदेशभित्रका सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराएर सोका माध्यमबाट हातेमालो गर्दै सहकार्यको प्रयत्न गरेको बताउनुभयो । सञ्चार, विज्ञापन क्षेत्र र विज्ञापन बोर्डका बीचमा त्रिकोणात्मक सम्बन्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।    प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गण्डकी प्रदेशमा विज्ञापन क्षेत्रको नियमनका लागि आवश्यक कानुन निर्माण गरिने बताउनुभयो । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सरकार विज्ञापनदाता र नियमनकारी दुवै निकाय रहेको बताउँदै संविधानले सङ्घ, प्रदेश र स्थानीय सरकारले विज्ञापन कानुन बनाउन सक्ने व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले स्थानीयस्तरको विज्ञापन स्थानीय सञ्चार माध्यममा नै प्रकाशन÷प्रसारणको व्यवस्था सरकारी निकायलाई आग्रहसमेत गर्नुभयो ।    कार्यक्रममा विज्ञापन नियमन गर्ने ऐन, विज्ञापन आचारसंहिता, होर्डिङ बोर्ड र त्यसको नियमन तथा अनुगमन र विज्ञापनको राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने विषयलगायतबारे छलफल भएको थियो । कार्यक्रममा प्रदेश र विभिन्न स्थानीय सरकारका प्रतिनिधि, विज्ञापन व्यवसायी, उद्योगी तथा सञ्चारकर्मी सहभागी थिए । 

झापाः     गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर बस्ने १७ वर्षीय रोहितसिंह गनगाईको करेन्ट लागेर आज मृत्यु भएको छ ।   छिमेकीको विवाहमा जेनेरटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो ।   उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । 

मनाङः    मृगौला रोगी अस्पताल पुग्दा जिल्ला अस्पताल मनाङमा डाक्टर नभेटेको भन्दै स्थानिय विरोध गर्दा प्रहरी र स्थानिय विच मनाङ सदरमुकाम चामेमा झडप भएको छ । झडपमा प्रहरीको गाडीमा सामान्य क्षती समेत भएको जनाईएको छ ।   स्थानीय बासिन्दाहरुले अहेवको भरमा जिल्ला अस्पताल छोड्दा अस्पतालमा आउने सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यानसमेत गएको गुनासो गरेका छन् । आफन्तको उपचारको आशमा जिल्ला अस्पताल पुगेका एक स्थानियले गुनासो गर्दै भने, “अस्पतालमा चिकित्सकको दरवन्दी मात्र छ, तर चिकित्सक भने उपलब्ध हुँदैनन ।   “केहीदिन अघिमात्र मनाङ्गमा नेपाल प्रहरीका हवल्दारको अकस्मात लडेर मृत्यु भएको थियो भने सशस्त्र प्रहरीका जवानको समेत भिरबाट लडेर मृत्यु भएको थियो । समयमै डाक्टरको उपचार र सल्लाह सुझाव प्राप्त गर्न सकेको भए राष्ट्र सेवक प्रहरी कर्मचारीहरूको समेत ज्यान बचाउन सकिन्थ्यो कि” ति स्थानियले भने ।   सदरमुकाम समेत रहेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार आफूहरु स्थानीय जनताहरूको नजिकको जनप्रतिनिधि भएकोले गर्दा जनताका हरेक समस्याहरु आफूहरुसम्म आइपुग्ने र प्रदेश र केन्द्र तहबाट उचित पहल नहुँदा स्थानीयको जीवनमाथि नै खेलबाड भैईरहेको महसुस गरेको बताए । उनले थपे , ‘मनाङ जिल्ला अस्पताल प्रदेश सरकारले सन्चालन गरिरहेको अस्पताल रहेको र अस्पतालमा ३ जना डाक्टरको दरबन्दी छ भन्ने सुनेको हो, तर जनता र राष्ट्रसेवक कर्मचारीलाई समेत आवश्यक पर्दा एक जना पनि डाक्टर उपलब्ध नहुँदा विकटका जनताको स्वास्थ्य  प्रती सरकार गैरजिम्मेवार रहेको प्रष्ट हुन्छ’ ।   जिल्ला प्रशासन कार्यालय मनाङ स्रोतका अनुसार भने जिल्ला अस्पतालमा कोभिड दरबन्दीमा डाक्टर रहेको र हाल एकजना मात्र डाक्टर रहेको हुनाले नागरिकले खोजेको बेलामा डाक्टरको उपलब्धता नभएको हुन सक्ने जनाएको छ । एक जना डाक्टर विदामा गएका बेला वा अन्य काममा भएका बेला जिल्ला अस्पतालमा डाक्टर नहुनु स्वभाविक रहेको कार्यालय स्रोतले बतायो ।   गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराको वेभसाईटबाट अरु जिल्लाका विवरणहरु देखिँदा मनाङ जिल्लामा रहेका स्वास्थ्य संस्थाहरू र तीनमा कार्यारत स्वास्थ सेवाका कर्माचारिहरुको कुनै विवरण नै देखिँदैन ।

लन्डनः      गैर आवासीय नेपाली संघ बेलायतले आफ्नो पञ्जिकृत सदस्य तथा नेपाली चलचित्रकी चर्चित नायिका माथि अभद्र व्यवहार भएको भन्दै खेद प्रकट गरेको छ ।   एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आइतबार लन्डनस्थित नेपाली दूतावासमार्फत नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेर बेलायतको सुखसयल पूर्ण जीवनशैली छोडेर नेपाललाई कर्म थलो बनाएकी नायिका मिरुनामाथि केही दिनयता काठमाडौंमा भइरहेको दुर्व्यवहारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।   आफ्नो चलचित्र ’कबड्डी ४’ प्रदर्शनका क्रममा सिभिल मलको हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको ‘अभद्र व्यवहार’ घटनामा जोडिएका व्यक्तिलाई उनले माफी दिइसकेपछि पनि मिरुनाविरुद्ध सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट भइरहेका टिका टिप्पणी र आक्रमणप्रति हामी खेद व्यक्त गर्दछौं, पत्रमा भनिएको छ ।   गैर आवासीय नेपाली संघ यूकेका प्रत्यक सदस्यहरुविरुद्ध कार्यक्षेत्रमा हुने दुव्यर्वहार आफ्नो सरोकारको विषय र विदेशबाट ज्ञान सीप लिएर नेपाल फर्किएका नेपालीहरुको सम्मान एवं सुरक्षा गैर आवासीय नेपाली समुदायको साझा चासोको विषय रहेको पनि अध्यक्ष गाहामगरले उल्लेख गरेका छन् ।   ‘हामी मिरुना लगायत विदेशबाट नेपालमा गएर नेपाली कला क्षेत्रमा योगदान दिइरहेका सबै कलाकारको सम्मान र सुरक्षाको व्यवस्था गर्न पनि हामी नेपाल सरकारसंग माग गर्दछौं’, पत्रमा छ, साथै मिरुनाको उक्त घटनालाई लिएर कुनै पनि समुदाय वा धार्मिक सम्प्रदायबीच मतभेद बढाउने खालका गतिविधि नगर्न हामी सम्वद्ध सबै पक्षलाई आग्रह गर्दछौं ।      

पोखरा:    पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई प्रत्येक दुई वर्षमा प्रदान गर्ने ललितकला पुरस्कार, २०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गर्ने भएको छ । वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी उक्त पुरस्कार सञ्चालनमा ल्याइएको छ ।   पुरस्कार पाउनुहुने कलाकार गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा क्रियाशील चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार मानिनुहुन्छ । कला मनोरञ्जन र सौन्दर्य मात्रै नभएर चेतनाको उज्यालो हो’ भन्ने गुरुङले हजारभन्दा बढी मुहारचित्र बनाउनुका साथै अन्य सिर्जना गरिसक्नुभएको छ ।   एकल चित्रकला प्रदर्शनी २०१३ दमौली, २०१४ मा पोखरामा, दुई व्यक्ति (दुर्गा बराल–गोपाल श्रेष्ठ) चित्रकला प्रदर्शनी २०३१ बागलुङ, समूह त्रिचकला प्रदर्शनी तथा सामूहिक कलाकार्यशालाअन्तर्गत हङकङ, भारत, सिक्किम, कोरिया तथा नेपालका थुप्रै ठाउँमा उहाँले आफ्नो कला प्रदर्शनी गरिसक्नुभएको छ । उहाँले सिर्जना फाइन आर्ट कलेज र ललितकला क्याम्पसमा समेत आफ्नो कला देखाइसक्नुभएको छ ।   विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गुरुङलाई नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै ललितकला पुरस्कार, २०७८ प्रदान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक वरिष्ठ कलाकार दुर्गा बरालले जानकारी दिनुभयो ।   ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भूर्तेल, सरोजा खड्की, मुकेश मल्ल, लोकप्रसाद गुरुङ र राजन काफ्ले पुरस्कृत भइसक्नुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा आगामी असार ४ गते शनिबार नगद, ताम्रपत्र र दोसल्लासहित पोखरामा पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिनुभयो । 

काठमाण्डौँ:     कर्णाली प्रदेश सरकारले मङ्गलबार आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।       प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुहुनेछ । प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले विनियोजन विधेयक २०७९ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिको सेरोफेरोमै रहेर नीति तथा कार्यक्रम तयार पारिएको बताउनुभयो ।       “विगतका अधुरा योजनालाई कार्यान्वयन गर्ने, विनियोजन विधेयकका सिद्धान्त, प्राथमिकतामाथि प्रदेशसभा सदस्यले छलफलका क्रममा दिएका सुझाव समेटेर नीति तथा कार्यक्रम तयार पारिएको छ”, उहाँले भन्नुभयो, “समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको दीर्घकालीन सोच अनुरुप तीव्र विकास गर्न कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।”       कर्णाली प्रदेश मन्त्रिपरिषद्को आइतबारको बैठकले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम स्वीकृत गरिसकेको छ । नीति तथा कार्यक्रम पारित भएपछि आगामी असार १ गते प्रदेश सरकारले बजेट ल्याउनेछ ।

बाँकेः    बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।   सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो ।       फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सात जनाले सामूहिक बलात्कार गरेकोे प्रहरीले जनाएको छ । किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि वैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको बताइएको छ ।      मानखोलाको जङ्गलमा पाँच जना र टहरामा लगेर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले हेमराज, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो ।       इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँटाभट्टा नजिक शङ्कास्पदरूपमा भे३प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरुषले मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो । 

बागलुङ:        पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको सङ्ख्या कम र झारलको बढी हो ।     त्यसबेला आरक्षमा दुई हजार २०२ नाउर र ३८८ झारल भेटिएका थिए । हरेक पाँच वर्षमा आरक्षमा रहेका नाउर र झारलको गणना गर्ने गरिन्छ । कोभिड–१९ का कारण यसपटकको गणना एक वर्षपछि धकेलिएको थियो ।     गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकारको कोटा निर्धारण गर्ने गर्छ । बर्सेनि १९ देखि २४ सम्म नाउर र १४ देखि १९ सम्मको सङ्ख्यामा झारलको सिकार कोटा तोकिने गरिएको आरक्षका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिनुभयो ।      “नाउरको सङ्ख्या घटेको पाइएपछि यस वर्ष न्यूनतम १९ वटाको मात्र सिकार कोटा तोकियो, झारल पनि १४ मा सीमित भयो”, उहाँले भन्नुभयो, “गणनामा भेटिने नाउर र झारलको सङ्ख्या विश्लेषण गरेर सिकार कोटा निर्धारण गरिन्छ ।”     नाउरको सङ्ख्या घटेपछि विभागले सिकार कोटा पनि घटाएको देखिन्छ । केही वर्षअघिसम्म वार्षिक २२ देखि २४ सम्म नाउरको सिकार हुने गथ्र्यो । सहायक संरक्षण अधिकृत खड्काले आरक्षका सातै सिकार ‘ब्लक’मा पुगेर नाउर र झारलको गणना गरिएको बताउनुभयो ।      “झारल र नाउर समूहमा भेटिन्छन्, हेड काउन्ट नै गरिन्छ”, उहाँले भन्नुभयो, “हरेक सिकार ब्लकमा छुट्टाछुट्टै गणना हुन्छ, सिकार कोटा पनि त्यहीअनुसार तोकिन्छ ।” पछिल्लो नाउर र झारलको गणना राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत गरिएको आरक्ष कार्यालयले जनाएको छ ।      नाउर ढोरपाटनमा बढी सिकार हुने जनावरमा पर्छ । तीन हजार मिटरदेखि पाँच हजारमाथिसम्म पाइने नाउर हिमाली भेडाले पनि चिनिन्छ । नाउर बथानमा बस्छ । नाउरको आयु करिब १५ वर्ष हुन्छ । लाङ्टाङ, मकालु, बरुण राष्ट्रिय निकुञ्जलगायत अधिकांश हिमाली क्षेत्रमा नाउर पाइने भए पनि ढोरपाटनमा मात्र यसको वैधानिक सिकार गर्न पाइन्छ ।     झारल पनि बाख्रा प्रजातिमा पर्ने जनावर हो । नाउर र झारल सिकारका लागि बर्सेनि विख्यात विदेशी सिकारी ढोरपाटन आउने गर्छन् । लाखौँ खर्चेर सिकारको रोमाञ्चक अनुभव बटुल्न उनीहरु लालायीत हुन्छन् । स्वदेशी सिकार कम्पनीमार्फत विदेशी सिकार खेल्न जान्छन् ।      बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा ढोरपाटनमा सिकार खुला हुन्छ । चालू आवको दुवै याममा गरी १७ नाउर र आठ झारलको सिकार भएको आरक्ष कार्यालयले जनाएको छ ।      सिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्र्याक एण्ड ट्रेल्र्सले यस वर्ष सिकार खेलाएको थियो ।      अमेरिका, फ्रान्स, डेनमार्क, मेक्सिको, नर्वे, युक्रेन, स्पेनलगायत देशका पेशेवर सिकारीले नाउर र झारलको सिकार गरेका थिए । विद्युतीय बोलपत्रमार्फत छानिएका कम्पनीलाई मात्र विभागले सिकार खेलाउनका लागि अनुज्ञापत्र दिने गर्छ ।       कम्पनीले यस वर्षको दोस्रो सिकार याममा नाउर सिकारको न्यूनतम रु तीन लाख ५० हजारदेखि रु १४ लाख २५ हजारसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शमशेर पराजुलीले जानकारी दिनुभयो ।     कोभिड–१९ महामारीको जोखिम घटेसँगै सिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक देखिएको उहाँको भनाइ छ । बन्दाबन्दी र यात्रा प्रतिबन्धनका कारण महामारी सुरु भएको पहिलो वर्ष ढोरपाटनमा सिकार नै हुन सकेको थिएन । सिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा पर्छ । 

काठमाडौँ:     काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।   जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको जानकारी दिनुभयो । उहाँले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२-२३ वर्षको भएको बताउनुभयो ।     मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताउनुभयो । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।