काठमाडौं:   त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आ...

मकवानपुर:    मकवानपुरको मनहरी गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।  मनहरी–६ प्रतापुर लच्का निवासी ३४ वर्षीय अम्मरबहादुर लोप्चनले कुटपिट गर्दा ५० वर्षीय जितबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।  मजदुरी काम गर्दै दुवै जना खाना खाएर लोप्चनको घरमा सुत्न गएको र सोही क्रममा लोप्चनले सावेलले कुटपिट गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।  सावेल प्रहारबाट गम्भीर घाइते मोक्तानको उपचारका क्रममा चितवन अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मोक्तानमाथि सावेल प्रहार गर्ने लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सर्लाही:      सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहनुभएको छ । उमेरले ६५ वर्ष पार गरिसक्नुभएका उहाँले आठ वर्षदेखि घर नजिकै उखु पेलेर सख्खर बनाउने कोल ९क्रसर० सञ्चालन गर्नुभएको हो ।  खेती किसानी मुख्य पेसा भए पनि मौसमी पेसाको रुपमा कोल क्रसर चलाउने गरेको उहाँ बताउनुहुन्छ । तीनदेखि चार महिनाको बीचमा हुने यस पेसाबाट वर्षेनी सख्खर बेचेर पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उहाँको भनाइ छ ।  ‘‘कोल चलाएको आठ वर्ष भयो, यसकै आम्दानीले घर व्यवहार गर्न र केही रकम बचत गर्न सकेको छु’’ उहाँले भन्नुभयो । विषेशगरी कात्तिक अन्तिम हप्ताबाट सुरु गरेर फागुन÷चैतसम्म उहाँ कोल चलाउने गर्नुहुन्छ ।  दैनिक ५० क्विन्टलसम्म उखु क्रसिङ गर्ने मण्डलले ५ सय केजीभन्दा बढी नै सख्खर बनाएर बजार पठाउने गर्नुहुन्छ । उहाँले उत्पादन गर्नु भएको सख्खर रु ६० देखि १ सय २० सम्ममा व्यापारीहरूले लैजाने गरेका छन् ।  उहाँले भन्नुभयो, ‘‘राम्रो सख्खरको धेरै मूल्य आउँछ । अलि फोहोर भयो भने, मूल्य कम आउँछ ।’’नजिकैका खेतहरूमा लगाएको उखु किनेर पेल्ने गरेको मण्डलको भनाइ छ ।  जिल्लामा रहेका चिनी उद्योगहरू ढिला चल्ने हुँदा उखु हटाएर अन्य बाली लगाउने किसानलाई उखु काट्न हतारो हुने गर्दछ । अन्य मकै, गहुँ, तोरी, आलुलगायतको बाली लगाउन समयमै उखु बेच्नु पर्ने किसानहरूलाई चिनी उद्योग ढिलो चल्दा समस्या हुने गरेको छ ।  उहाँ तिनै किसानहरूको उखु खरिद गरिदिनुहुन्छ र सख्खर बनाएर बिक्री गर्नुहुन्छ । स्थानीय किसानहरु पनि चिनी उद्योगहरुले समयमै खरिद नगरिदिए पनि मण्डललाई बिक्री गरेर सानातिनो गर्जो टार्न सकेको बताउँछन् ।  यस वर्ष पनि मण्डलले प्रतिक्विन्टल चार सय ५० रुपैयाँमा उखु खरिद गरेको बताउनुभयो । उद्योगले केही बढी मूल्य दिए पनि ढुवानी, खर्च, वर्षौंसम्म पैसा पाउन समस्या रहेकाले कोलमा उखु दिँदा सजिलो भएको बरहथवा–८ का उखु किसान रामजनम राय बताउनुहुन्छ । मण्डल भन्नुहुन्छ, ‘‘मलाई उखु किसानको समस्या राम्ररी थाहा छ, किसानहरूलाई सात÷आठ दिनमै भुक्तानी गरिदिन्छु । यसले पनि किसानहरु आफैँ बोकेर उखु ल्याइदिन्छन् ।’’ कतिपय किसानलाई त आफूले उखु लिनुभन्दा पहिला नै खेती, लगाउन बिउ मल किन्न, घरखर्च टार्न पैसा दिने गरेको उहाँ बताउनुहुन्छ ।  मण्डलले क्रसरमा अन्य ५ जनालाई काम समेत दिनुभएको छ । उनीहरुको पनि ३ देखि ४ महिनाको रोजीरोटी यसैबाट टरेको छ ।मण्डलको जस्तै जिल्लामा झण्डै ५० वटाको हाराहारीमा सख्खर बनाउने कोल क्रसर सञ्चालनमा रहेका छन् ।  कोल क्रसरले मात्र वर्षेनी अढाई लाख क्विन्टल बढी उखु क्रसिङ गर्ने गर्दछन् । यस पेसामा २ सय ५० जना बढी कामदारको रुपमा कार्यरत छन् । सर्लाहीबाट मात्र २ हजार ५ सय केजी हाराहारीमा सख्खर उत्पादन हुने गरेको छ ।  यहाँ उत्पादन भएका सख्खर छिमेकी जिल्लामा मात्र नभई काठमाडौँ, चितवन, बिराटनगरलगायतका शहरहरुमा पनि पुग्ने गरेको स्थानीय व्यापारी दिनेश महतोले बताउनुहुन्छ ।  भारतीय सख्खरले स्थानीय किसान मारमा भारतीय बजारबाट चोरी तस्करी भएर आउने सख्खरका कारण स्थानीय उत्पादनकर्ता मारमा पर्ने गरेको मण्डलले गुनासो छ । ‘‘भारत सरकारको किसानलाई ठूलो मात्रामा अनुदान दिने भएका कारण लागत कम छ’’ उहाँले भन्नुभयो, ‘‘कालोबजारीबाट किनेको मलखाद र बिउबिजनबाट उत्पादन भएको बालीले कसरी प्रतिस्पर्धा गर्नु हाम्रोमा लागत धेरै छ ।’’ भारतबाट आउने सख्खरमा गुणस्तर समेत नभएको उहाँको दाबी छ । यसले गर्दा नेपाली उपभोक्ता ठगिन बाध्य भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,  यसबारेमा अधिकांश उपभोक्तालाई थाहा हुँदैन । केही सस्तोमा पाइयो भन्छन् तर पछि पछुताउनु पर्ने हुन्छ ।’’  भारतको सिमावर्ती क्षेत्रबाट खुल्लमखुल्ला ट्रकका ट्रक भित्रिने गुणस्तरहीन सख्खर नियन्त्रण नगरेसम्म स्थानीय उत्पादनले बजार पाउन नसक्ने र उपभोक्ता पनि ठगिने अवस्था रहने उहाँको भनाइ छ ।  चिनी उद्योगलाई उखु तान्ने हतारो  सरकारले उखुको न्यूनतम् मूल्य निर्धारण गर्नुअघि नै चिनी उद्योगहरुले धमाधम किसानहरुसँग उखु खरिद गर्न थालेका छन् । जिल्लामा रहेका तीन वटा चिनी उद्योगले सञ्चालनको तयारी गर्दैगर्दा क्रसिङ सुरु गरेका छन् ।  लामो समय किसानको उखुको भुक्तानी नदिएर विवादग्रस्त बनेको जिल्लाको धन्कौँल अन्नपूर्ण चिनी उद्योगले किसानसँग उखु खरिद गर्न शुरु गरेको छ ।  यही मङ्सिर ६ गतेदेखि क्रसिङ शुरु गरेर चार दिनमा २६ हजार आठ सय ७१ क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका प्रबन्धक शैलेन्द्र गुप्ताले जानकारी दिनुभयो ।  उखु खरिद गरेको भुक्तानी नदिने र किसानलाई दुख दिने छवि बनेको अन्नपूर्ण यतिबेला नयाँ उद्योगीबाट सञ्चालनमा आएसँगै किसानको भरोसा बटुल्न लागिपरेको स्थानीय किसानहरु बताउँछन् । यसवर्ष भने मङ्सिरको पहिलो हप्ताबाटै क्रसिङ गरेर उद्योगले किसानको भरोसा बटुल्ने प्रयास गरेको हो । अब किसानहरूसँग राम्रो समन्वय गरेर क्रसिङ शुरु गरेको गुप्ताले भन्नुभयो,।‘‘किसानको पुरानो बक्यौता रकम भुक्तान भइसकेको छ ।’’  उद्योगले यस वर्ष १८ लाख क्विन्टल हाराहारीमा उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका प्रबन्धक पवनकुमार सिंहको भनाइ छ ।विसं २०७९ मा नयाँ उद्योगीको निकै पहल पछि केही किसानले पुरानो भुक्तानी पाए । त्यसपछि उद्योग सञ्चालन भएको थियो ।  क्रसिङ सिजनको अन्तिममा सञ्चालनको प्रयास गरेको उद्योगले उपकरणमा आएको खराबीका कारण लगभग ६८ हजार क्विन्टल मात्र क्रसिङ गरेको थियो । अझै उद्योगलाई पूर्ण भरोसा गरेर उखु दिन नसकेको स्थानीय उखु किसानहरूले बताएका छन् ।  जिल्लाको धन्कौल गाउँपालिका–३, निवासी विन्देश्वर महतोले थोरै मात्रामा उखु दिएको बताउनुभयो । ‘‘मैले उखु रोप्नै छोडिसकेको छु ।’’ उहाँले भन्नुभयो, ‘‘थोरै खेतमा लगाएको उखु फेरि गाउँकै उद्योगलाई दिएको छु । बढीमा १५ दिनमा भुक्तानी दिने उद्योगीले बचन दिनुभएको छ ।’’  उद्योगमा प्रत्यक्ष जोडिएका स्थानीयले पहिलो चरणमा उखु दिएका छन् ।यस क्षेत्रमा उत्पादन भएको उखु हरिवनको इन्दुशङ्कर चिनी उद्योग हरिवन, गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनी उद्योग बगदहमा दिने गरेको महतोले बताउनुभयो ।  जिल्लाका अन्य उद्योगले अहिले कटानी भएको उखुको चिनी राम्रो नपर्ने भन्दै उद्योग सञ्चालनमा ढिलाई गरिरहँदा अन्नपूर्णले भने किसानको मन जित्न समय अगावै उद्योग सञ्चालनमा ल्याएको हो ।  यस वर्ष उद्योगले कम्तीमा १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उखु प्रबन्धक दिनेश अग्रहरीले जानकारी दिनुभयो । उद्योगी तथा व्यवस्थापन पक्षले खेतमै पुगेर किसानहरूलाई उखु दिन आग्रह गरिरहेका अर्का उखु किसान बृजेन्द्र रायले बताउनुभयो ।  यस्तै गोडैता नगरपालिकास्थित बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले यस वर्षको क्रसिङ शुरु गरेको जनाएको छ । केही दिनदेखि उखु सङ्कलन गरेर उद्योग सञ्चालन गरिएको सिंहले जानकारी दिनुभयो ।  उद्योगले वर्षको केही भुक्तानी बाँकी राखेको र त्यो समेत १÷२ सातामा भुक्तानी गरिने समेत उहाँको भनाइ छ । गत वर्ष यस उद्योगले १२ लाख ३७ हजार ३ सय क्विन्टल उखु क्रसिङ गरेको थियो ।  जिल्लाको अर्को चिनी उद्योग इन्दुशङ्करले पनि मङ्सिरको अन्तिम साताबाट क्रसिङ शुरु गर्ने जनाएको छ । देशमै व्यवस्थित मानिने जिल्लाको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस सिजनको लागि क्रसिङ तयारी अवस्थामा रहेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले बताउनुभयो ।  उद्योगले यसवर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने जनाएको छ । यस उद्योगले अघिल्लो वर्ष २१ लाख ४८ हजार ६ सय ११ क्विन्टल उखु क्रसिङ गरेको थियो ।   उखुको अनुदान बापतको रकम भुक्तानीमा ढिलाइ भएका कारण जिल्लाको उद्योगहरू सञ्चालन हुन नसक्दा अन्य जिल्लाका उद्योगहरूले ठूलो परिमाणमा सर्लाहीको उखु लगेकाले यहाँका चिनी उद्योगहरूले पर्याप्त उखु नपाएको बताएका थिए ।  देशमै धेरै उखु खेती हुने सर्लाहीमा वर्षेनी ७० देखि ८० लाख क्विन्टल सम्म उखु उत्पादन हुने गरेको तथ्याङ्क छ । समर्थन मूल्य अन्योलमै मङ्सिर आधा सकिनै लाग्दा समेत सरकारले यस सिजनको लागि उखुको समर्थन मूल्य तय नगर्दा किसान र उद्योगी दुवै अन्योलमा परेका छन् । उखु काटेर बेच्न लैजान समय घर्किदै गर्दा पनि अझै निर्णय नभएको उखु किसानहरूको गुनासो छ ।  ‘‘पहिला नै समर्थन मूल्य तय गर्ने व्यवस्था भए आफूलाई फाइदा भए उखु लगाउने नभए नलगाउने गर्न पाउँथ्यौँ, नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले भन्नुभयो ।यता उखु उद्योगहरूले भने तत्काललाई गत वर्ष सरकारले तोकेको समर्थन मूल्य भुक्तानी गरेर उखु खरीद गर्ने तयारी गरेका छन् ।  पछि सरकारले तय गरेको समर्थन मूल्य दिने गरी अहिलेलाई अघिल्लो वर्षको मूल्यमा खरिद गर्ने व्यवस्था गरिएको महालक्ष्मी चिनी उद्योगले जनाएको छ । तर, किसानहरू भने सरकारले पछि थपेको बाँकी रकम नपाउने चिन्तामा छन् । अघिल्लोपटक प्रतिक्विन्टल रु पाँच सय ६५ रुपैयाँ तोकिएको थियो । 

म्याग्दी:    गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न  विभिन्न ११ योजनाका लागि रु १ करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।   पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि रु १ करोड २० लाख र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखरा अन्तर्गतको १ योजनालाई रु ३० लाख बिनियोजन भएको हो ।  प्रमुख पोषानाथ शर्माले बजेट बिनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन र सम्झौताको प्रक्रीया अघि बढाएको बताउनुभयो । धवलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्ग योजना भने निर्देशनालय मार्फत कार्यान्वयन हुने उहाँले बताउनुभयो ।  अन्नपूर्ण गाउँपालिका–५ का खोप्रा लेकमा पर्यटकीय पूर्वाधार र रघुगङ्गा गाउँपालिकाको काली बराह मन्दिर हुदै धवलागिरी आइसफल जाने पदमार्ग योजनाका लागि रु २०/२० लाख बजेट प्राप्त भएको छ ।  रघुगङ्गा गाउँपालिका–४ को नागीदेवी मन्दिर संरक्षण, वडा नं-३ को गायत्री मन्दिर संरक्षण, वडा नं–२ को माझखर्क–ओखरबोट हुदै साझपानी पदमार्ग, बेनी नगरपालिका ७ को शान्तिपार्क, वडा नं–२ को ध्यानकुटी पूर्वाधार, वडा नं-६ को मसिनढुंगा थाकनपोखरी एकपाटे पदमार्ग, धवलागिरी गाउँपालिका–५ मल्कवाङ डाडाकटेरी ररावर हुदै ग्यासखार पदमार्ग र मालिका–७ बिम–तल्लोगाउँ पदमार्गका लागि रु १०/१० लाख बजेट प्राप्त भएको छ ।  म्याग्दीमा प्रदेश सरकारले पर्यटन सम्बन्धी योजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा आठ वटा योजनालाई रु २० लाख, आर्थिक वर्ष २०७९/८० मा २१ योजनालाई रु एक करोड ९२ लाख, आर्थिक वर्ष २०८०/८१ मा १८  योजनालाई रु १ करोड ५६ लाख बनियोजन गरेको थियो ।  प्रशस्त पर्यटकीय स्थल भएपनि गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा कम बजेट बिनियोजन हुने र घट्नुका साथै योजनाले पूर्णता नपाउने समस्या देखिएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ मा शुरु भएका १८  पदमार्ग सम्बन्धी योजना मध्य चार मात्र सम्पन्न भएका थिए । गत वर्ष शुरु भएको कालीबराह पदमार्ग बाहेकका योजनाले यो वर्ष निरन्तरता पाएका छैनन।  अधुरा योजनाबाट नागरिकले लाभ लिन नसक्ने भएकाले निर्माणाधीन कामका लागि बजेटको निरन्तरता आवश्यक पर्ने सरोकारवाला बताउँछन् ।

गोरखा:   गोरखाको सहिद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, लेवाटार जोड्ने झोलुङ्गे मर्मत गरी सञ्चालनमा ल्याइएको छ । गत असोज १२ गतेको बाढीले क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा ल्याइएको सहिद लखन गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिनुभयो ।  सस्पेन्सन ब्रिज महाशाखाको प्राविधिक सहयोगमा पुलको मर्मत गरिएको हो । गाउँपालिका विपद् कोषबाट विनियोजन भएको रु एक लाखको लागतमा पुल मर्मत भएको उहाँले बताउनुभयो ।  पुल सञ्चालन भएसँगै ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुनथोकलगायत क्षेत्रका स्थानीयलाई त्रिशूली तरेर कुरिनटार आउजाउ गर्न सहज भएको छ ।

पाल्पा:    अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने एक सय ७५ मिटर लामो झोलुङ्गे पुल सङ्घीय सरकारमार्फत रु एक करोड ३७ लाख ६७ हजार नौ सय २० को लागतमा निर्माण भएको हो ।  लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले पुल उद्घाटन गर्दै विकास–निर्माणलाई सङ्घ र प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।  निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले पुल अभावमा कठिन आवागमन अब  सहज हुने बताउनुभयो ।  पुलबाट निस्दी गाउँपालिका बाहेक रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र नवलपुरतर्फ (नवलपरासी सुस्तापूर्व) मध्यविन्दु नगरपालिकाको झोलुङ्गे, सारूडाँडा, द्वारी आसपासका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । 

काठमाडौं:     नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९१ र बिक्रीदर एक सय ७० रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर खाठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९० पैसा र बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  र बिक्रीदर १९ रुपैयाँ ९ पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ८० पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।       राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौं:    देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको  बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो  कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा बाँकी भागमा मौसम  सफा रहने छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने जनाउँदै विभागले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ । 

काठमाडौं:    बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ ।  विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ ।  भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उहाँले जानकारी दिनुभयो । बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिारालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ ।  दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ । शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आआफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ । पशुपतिमा बाला चतुर्दशीका अवसरमा लाग्ने मेलाको सबै तयारी पूरा भएको पनि सदस्य सचिव थापाले जानकारी दिनुभयो ।  पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । यस्तै मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई अनुरोध गरिएको छ ।  मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी पूरा भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।  मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुलीबत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवक परिचालनलगायत तयारी पनि पूरा भएको कोषले जनाएको छ ।

काठमाडौं:     ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’ आज सम्पन्न भएको छ ।  चलचित्र विकास बोर्डद्वारा शीतलनिवासमा आयोजित कार्यक्रममा चलचित्रका विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिमार्फत नेपालको प्रकृति र संस्कृति समेटेर अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्र निर्माण गर्न आग्रह गर्नुभएको छ । उहाँले चलचित्रलाई नेपालको पर्यटन उद्योगसंँग जोड्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली भाषा संस्कृति तथा परम्पराको जगेर्नामा नेपाली चलचित्रको भूमिका महत्वपूर्ण छ । चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर समाज, जीवन र जगतलाई अभिव्यक्त गर्ने सशक्त माध्यम पनि हो ।” उहाँले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिँदा दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नविनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।  राष्ट्रपति पौडेलले भन्नुभयो, “आधुनिक युगमा चलचित्र कुनै पनि समाजको संस्कृति, पहिचान र विविधतालाई देश तथा विदेश पु¥याउने माध्यम बनेको छ । यसबाट लाभ लिन जरुरी छ ।” कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध नेपालको महत्वपूर्ण एक अङ्ग चलचित्र रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “चलचित्रको महत्व सरकारले राम्रोसँग बुझेको छ । यस क्षेत्रलाई सम्मानित बनाउन लागिरहेका छौँ । प्रविधिगत विकाससँगै समयानुकूल बनाउने हाम्रो लक्ष्य छ । यसका लागि देखिएका कठिनाइलाई विस्तारै सुधार गर्दै अगाडि बढिरहेका छौँ ।” सो क्रममा राष्ट्रपति पौडेलले ‘दीर्घ साधना सम्मान’ बाट अभिनेत्री चैत्यदेवी सिंहलाई नगद रु तीन लाख ७५ हजार र प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो । नेपालको पहिलो चलचित्र ‘आमा’ मा अभिनय गर्नुभएकी अभिनेत्री सिंहले आफूले पाएको सम्मानले नयाँ उत्साह थपेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “मैले अभिनय सुरू गरेको त्यो समयको सङ्घर्षको फल अहिले पाएको आभाष भएको छ । जुन क्षेत्रमा जीवन समर्पण गरेको छु, त्यहाँ सम्मानित हुन् पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिन । यो मेरो जीवनको ठूलो उपलब्धि हो ।” सो कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ तर्फ उकृष्ट चलचित्र ‘बुलाकी’ घोषित भयो । यस्तै अभिनेतातर्फ चलचित्र ‘प्रसाद २’ बाट बिपीन कार्की, अभिनेत्रीतर्फ ‘दिमाग खराब’ बाट स्वस्तिमा खड्का, निर्देशकतर्फ चलचित्र ‘दिमाग खराब’ बाटै निश्चल बस्नेत, सम्पादकतर्फ चलचित्र ‘महाजात्रा’ बाट मित्रदेव गुरुङ, छायाँकारतर्फ चलचित्र ‘बुलाकी’ बाट शिव ढकाल, लेखन (कथा, पटकथा, संवाद) तर्फ चलचित्र ‘बुलाकी’ बाट राजबाहदुर साने पुरस्कृत हुनुभयो ।  यस्तै, आदिवासी, जनजाति, मातृभाषी चलचित्रतर्फ लिम्बू भाषाको चलचित्र ‘लोजिमा’ र व्यावसायिक सफल चलचित्र ‘जारी’ उत्कृष्ट घोषित भयो । निर्णायक समितिको तर्फबाट चलचित्र ‘टुल्की’ की अभिनेत्री स्वस्तिमा कार्कीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियोे ।  उहाँहरूलाई राष्ट्रपति पौडेल, सञ्चारमन्त्री गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गर्नुभयो । ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा तेस्रो पटक उत्कृष्ट अभिनेता घोषित हुनुभएका अभिनेता विपिन कार्कीले यसको महत्व छुट्टै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो पुरस्कार राज्यले दिएको हो, त्यसैले यहाँ पुरस्कृत हुँदा थप दायित्व बढ्नुका साथै प्रोत्साहन मिल्छ । राज्यले सम्झिँदा हामीलाई छुट्टै ऊर्जा प्राप्त हुन्छ ।” कार्यक्रममा लक्ष्मण सुवेदीले निर्देशन गर्नुभएको ‘सतीदेवी’, लिम्बू भाषाको चलचित्र ‘सुगुप’ र गुरुङ भाषाको चलचित्र ‘मार्कली’ लाई ‘विशेष चलचित्र’ घोषणा गरिएको थियोे । यस्तै, विसं २०६१ असोज १० गते चलचित्रको प्रिन्ट ९रिल० ढुवानीका क्रममा सडक दुर्घटनामा परी ज्यान गुमाउनुभएका प्राविधिक सूर्यमान तुलाधरलाई ‘विशेष योगदान सम्मान’ सहित नगद रु ५० हजार प्रदान गरिएको थियोे । उक्त सम्मान स्वर्गीय तुलाधरकी श्रीमती अनिता तुलाधरले ग्रहण गर्नुभयो ।       उक्त कार्यक्रममा कलाकार त्यैयव शाह, विद्या कार्की, बुद्धी तामाङ, निर्माता तथा प्रदर्शक नरेन्द्र महर्जनसहित ११ जनालाई ‘विशेष योगदान सम्मान’ प्रदान गरिएको थियोे ।       कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले बनाएको योजना र गरिरहेको कामको नतिजा केही समयमा देखिने बताउनुभयो ।  उहाँले भन्नुभयो, “अहिले हामी विसं २०२६ को ऐनमा चलिरहेका छौँ । अहिलेको समयमा चलचित्र क्षेत्रलाई अगाडि बढाउन नयाँ ऐनको विकल्प छैन । त्यसैले यो हाम्रो आवश्यकतालाई यसैवर्ष पूरा गर्ने अठोट लिएको छु र यसमा सम्बन्धित निकायको पूर्ण सहयोग हुन्छ भन्नेमा विश्वस्त छु ।”      ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ को निर्णायक समितिको संयोजक निर्देशक बद्रीबहादुर अधिकारी र सदस्यमा बोर्ड सदस्य रविचन्द्र अधिकारी, कलाकार सुशील, छायाँकार गौरीशङ्कर धुजु, सवनम मुखिया, निर्देशक दीपा पाण्डे बस्नेत र सोमप्रसाद खतिवडा हुनुहुन्थ्यो ।