गलकोट: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ । “दश किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ”, निर्माण व्यवसायी राजु गौतमले भन्नुभयो । लोकमार्गअन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा चार वर्ष अघिनै कालोपत्र भएको हो । यसैगरी, बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ । हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताउनुभयो ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ । कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर कडाइ गर्न मातहतका कर्मचारीलाई भनेका थिए । त्यसलगत्तै मन्त्रालयअन्र्तगतको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य व्यवस्था गरेर सोको जानकारी पठाउन पत्राचार गरेको हो । मन्त्रालयले विद्युतीय हाजिरी राखिएपश्चात् समयमा चिकित्सक उपलब्ध भए नभएको अनुगमनसमेत थाल्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्य कर्मचारी नभएका गुनासा सम्बोधन गर्न हाजिरीलाई विद्युतीय बनाउने निर्णय भएको बताउनुभयो । “हामीले सबै सङ्घीय अस्पताललाई विद्युतीय हाजिरी व्यवस्था अनिवार्य गर्न भनेका छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि अनुगमन गर्दा नभएको पाइएमा कारबाही हुनेछ ।” मन्त्रालयले केही दिनअघि औषधिको मूल्य सबैले देख्ने गरी सार्वजनिक गर्न सबै सङ्घीय अस्पताल तथा मेडिकल कलेजलाई पत्राचार गरेको थियो । दुई साताभित्र सार्वजनिक गर्नका लागि मन्त्रालयले पत्राचार गरेको थियो । यसको समेत अनुगमन गर्ने तयारी मन्त्रालयले गरेको प्रवक्ता बुढाथोकीले बताउनुभयो ।
पोखरा: सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन नपाउने बताएका छन् । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारमा संलग्न ठहरिएका जो सुकैलाई कानुनअनुरुप करबाही गरिने बताए । मुलुकमा अस्थिरता निम्त्याउन छुट नभएको बताउँदै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गुरुङले अस्थिरताको अन्त्य र सुशासन अभिवृद्धिका लागि सरकार क्रियाशील रहेको बताए । टिकटकलगायत सामाजिक सञ्जाल युवा वर्गका लागि स्वरोजगारको माध्यम बनेको बताउँदै उनले प्रविधिको माध्यमबाट आगामी दुई वर्षमा तीनदेखि रु पाँच लाख युवालाई रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताए । पुँजीगत खर्च बढाउन सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिँदै मन्त्री गुरुङले सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने, वन ऐन, र विद्युत् ऐन तथा नियम विकासका बाधक भएको बताए । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले पार्टीप्रति युवाको आकर्षण बढेको बताउँदै नवप्रवेशीलाई योग्यता क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए । प्रदेश कमिटी उपसचिव दामबहादुर विश्वकर्मा, सचिवालय सदस्य टीकाराम पङ्गेनी, पार्टी नेता कृष्ण थापा, सुधीर थापालगायतले पार्टीको विचार सिद्धान्तका बारेमा प्रकाश पारेका थिए ।
काठमाडौं: नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडैलले अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण गराउनुभएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो । कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले कानुनसम्मत ढङ्गले खुलारूपमा प्रतिस्पर्धाको विधि अवलम्बन गरेर धितोपत्र बोर्डको अध्यक्ष छनोट गरेको बताउँदै पुँजी बजारका क्षेत्रमा रहेका यावत समस्यालाई संस्थागत रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुँजी बजारको व्यवस्थित विकासका लागि अध्यक्षले गतिशील ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेले अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशङ्कालाई चिर्दै पुँजी बजारको विकासमा महत्त्वपूर्ण योगदान दिन निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा व्यक्त गर्नुभयो । नवनियुक्त अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्यालाई अवसरका रूपमा बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नवलपुर: नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कालीगण्डकी नदी किनारमा १५ वर्षीय बालकको शव फेला परेको छ । गैँडाकोट नगरपालिका–३ घोक्रे फाँटस्थित कालीगण्डकी नदी किनारमा तनहुँ रिसिङ–५ रेसौ बस्ने गोपाल कुमालको शव भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालले बताउनुभयो । मृतक कुमाल गत कात्तिक २७ गते एकादशीको दिन तनहुँको रिसिङ गाउँपालिका–४ भिरकोटस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए । नदीमा डुबी बेपत्ता भएका कुमालको खोजी गर्ने क्रममा मङ्गलबार कालीगण्डकी नदी किनारमा शव भेटिएको प्रहरी निरीक्षक नरालले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
काठमाडौं: उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्नुपर्ने जरुरी भएको बताउनुभएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले एमाले नेतृत्वको सरकारले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको र त्यसको दायरालाई विस्तार गर्ने बताउनुभयो । “सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने, त्यसलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्ने र स्थापित गर्ने अभियानको नेतृत्व नेकपा (एमाले) ले गरेको हो”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “एमाले नेतृत्वको सरकारले गरेको हो ।” उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराउनुभयो । उहाँले राज्यको जिम्मेवारी नागरिकप्रति छ भन्ने अवधारणाको आधारका सामाजिक सुरक्षाको अवधारणा अघि सारिएको बताउनुभयो । अर्थमन्त्री पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको उल्लेख गर्दै नेपाली मजदुरलाई उत्साहित र भविष्यप्रति आश्वस्त बनाउने काम गरेको स्पष्ट पार्नुभयो । उहाँले अझ व्यवहारिक बनाउन अझ परिमार्जित गर्नुपर्नेमा जोड दिँदै नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने विश्वास दिलाउनुभयो ।
सर्लाही: सर्लाहीको बलरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बलरा नगरपालिका–९, अचलगढमा ट्याक्टर दुर्घटना हुँदा चालक ४० वर्षीय रुसतम साहको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर धनीसमेत रहेका चालक साह खेत जोतेर घर फर्कने क्रममा अनियन्त्रित भई ट्याक्टर पल्टिदा त्यसमा च्यापिएका थिए । घटनालगत्तै उहाँलाई उपचारको लागि प्राथमिक स्वास्थ्य संस्था अचलगढ पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नुभएको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरी पनि कोषबाट लाभान्वित हुने र रु १ लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई कूल खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गर्नुभयो । प्रधानमन्त्री ओलीले संविधानमा भएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई समृद्ध बनाउन सरकार क्रियाशील छ भन्नुभयो । त्यस अवसरमा कोषअन्तर्गत बढी योगदानकर्ता र सेवा प्रदायक व्यक्ति र संस्थालाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गर्नुभयो ।