भक्तपुर : भक्तपुर सूर्यविनायक नगरपालिका-९, नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। काठमाडौं थानकोट बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बुधबार साँझ ६ बजे २१ वर्षीय भक्त नेपाली पक्राउ परेका हुन्। उनलाई जबरजस्ती करणी कसुरमा पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।
जाजरकोट: जाजरकोटमा हत्या भएको पाँच वर्षपछि मानव कङ्काल फेला परेको छ । भेरी नगरपालिका सिस्नेरीका ४७ वर्षीय काले कामीको मानव कङ्काल फेला परेपछि हत्या आरोपमा श्रीमती भद्धकला लुहार कामी र छोरा तुलसीराम बिक लाई प्रहरीले पक्राउ गरेको हो । भेरी नगरपालिका ६ सिस्नेरी बस्ने काले कामीको २०७४ पुस ३० गते श्रीमतीले हत्या गरी घरको छेउमा रहेको शौचालयको सेफटी टङ्कीमा गाडेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा २०७९ साल माघ १७ गते श्रीमती भद्धकला लुहार कामी र कान्छो छोरा तुलसीराम विकलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमान् श्रीमती बिच सामान्य विवाद हुँदा मृतक कामीले श्रीमतीलाई लट्ठीले हान्न खोज्दा उक्त लाठी खोसी श्रीमतीले श्रीमानको टाउको लगायत शरीरका विभिन्न भागमा लट्ठीले प्रहार गर्दा बार्दलीबाट खसेर कामी घाइते भएका थिए । घाइते अवस्थामै तल झरी श्रीमतीले पुन लट्ठी प्रहार गरी गम्भीर घाइते भएका श्रीमानलाई छोराहरूको सहयोगमा घरको माथिल्लो कोठामा लगी छाडी छिमेकीको घरमा बास बसेका थिए । भोलिपल्ट बिहान घरमा आएर हेर्दा श्रीमानको मृत्यु भएको देखेपछि बेलुका झिसमिसे अँध्यारोमा छोराहरूको सहयोगमा डोरीले बाँधेर घिसादैै घर नजिकैको शौचालयको खाल्डोमा हाली ढुगा माटोले पुरेको अवस्थामा पाँच वर्षपछि शौचालयको सेप्टी टङ्की उत्खनन गर्दा प्रहरीले मानव कङ्काल, लेखिएको ज्याकेट, डोरी फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले जानकारी दिनु भयो । श्रीमान्,श्रीमती बिच सामान्य विवादले ठुलो रूप लिएपछि श्रीमतीले श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । श्रीमती भद्धकला कामी र कान्छो छोरा तुलसीराम बिक पक्राउ परेका छन् । पक्राउ परेका आमा छोरालाई जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ भने हत्यामा संलग्न माइलो छोरा तिलक विक, साइँलो छोरा गोविन्द विक फरार रहेकाले खोज कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख निरौलाले बताउनु भयो ।
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आठ करोड ३२ लाख रुपैयाँ मुल्य बरावरकाे नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो । विहीबार सुनको मुल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ रहेको छ । यो मुल्य अनुसार बरामत गरिएको सुनको मुल्य करिव ८ करोड ३२ लाख पर्न आउछ । कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो । उक्त घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले बताउनुभयो ।
विराटनगर : नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको रंगेली नगरपालिका–५ बाट प्रहरीले सूर्ति तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। भारतबाट तस्करी गरेर ल्याइएको ठूलो परिणामको सूर्तिसहित ३३ वर्षीय उसमान शेख मियाँलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले मियाँलाई पक्राउ गर्नुका साथै ६ सय ९० किलोग्राम अवैध सूर्ति बरामद गरेको छ। बोरामा प्याक गरेर ल्याइएको अवस्थामा अवैध सूर्ति बरामद भएको हो। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पक्राउ परेका मियाँ सूर्ति तस्करीमा संलग्न रहेको खुलेको छ। भन्सार छली गरेर नेपालतर्फ सूर्ति भित्राउने धन्दामा उनको संलग्नता देखिएको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धान र कारबाही अघि बढाउनका लागि पक्राउ परेका मियाँ र बरामद भएको सूर्तिलाई प्रहरीले भन्सार बुझाएको छ।
कपिलवस्तु: कपिलवस्तुमा गाई मारेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको विजयनगर गाउँँपालिका –४ त्रिपालनगर भूपू बस्तीमा गोरु मार्ने क्रममा इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ परेको हो । प्रहरीले स्थानीय रमेश नेपाली, आशबहादुर रोका, देवबहादुर घर्ती मगरलाई पक्राउ गरेको प्रहरी निरीक्षक विजयराज तिमिल्सिनाले बताउनुभयो । उनीहरुबाट गाई मार्न प्रयोग गरिएको १ थान बन्चरो, १ थान हँसिया, ३ थान खुकुरी र २ थान चक्कुसमेत बरामद गरेको छ । गाई मार्नेबेला कराएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीहरुले गाई मारेर मासु खाने योजनामा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।
धनगढी: कैलालीबाट विभिन्न किसिमका लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित प्रहरी चौकी त्रिनगरको टोलीले मंगलबार लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पक्राउ पर्नेहरुमा १८ वर्षदेखि ३३ वर्षसम्मका युवा–युवती रहेको जानकारी दिए । कैलालीको गौरीगंगा नगरपालिका–२ बस्ने ३३ वर्षीय हिक्मत साउदलाई ४ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर, सोही ठाउँका १९ वर्षीय खेम साउदलाई ७९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको डीएसपी जोशीले बताए । यस्तै धनगढी उपमहानगरपालिका–३ बस्ने १८ वर्षीय प्रदिप गोतामे र १९ वर्षीय अनिष अछामी पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ६५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–१ बस्ने १९ वर्षीया अन्जु कुरेसीको साथबाट १९ क्याप्सुल स्पास्मो प्रोक्सिमन, सोही ठाउँ बस्ने २१ वर्षीय विज्ञान बस्नेतको साथबाट १ ट्याब्लेट नाइट्रोभेट बरामद गरिएको छ भने कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बस्ने १९ वर्षीय सागर नेगी र कृष्णपुर नगरपालिका–५ बस्ने २३ वर्षीय आभास ऐर पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट १ सीसी कोरेक्स नामक लागुऔषध बरामद गरिएको छ । लागुऔषधसहित पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।
धनुषा: धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका ६ मध्ये तीन थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका ६ का रोशनकुमार महतो छन् । अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो । गत आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । तीन जना पक्राउ परेको र बाँकी तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सर्च अपरेशन चलाई खोज तलास जारी राखेको प्रहरीको भनाइ छ ।
धनगढी: कैलालीमा ११ किलो ९०० ग्राम लागुऔषध चरेशसहित चार जना पक्राउ परेका छन् । मंगलबार दिउँसो धनगढी उपमहानगरपालिका–३ चटकपुरमा गौरीशंकर अल्लो कपडा उद्योगका सञ्चालक ३४ वर्षीय नरेन्द्र सिंह धामीसहितका चार जनालाई पक्रेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले दार्चुलाको नौगाड गाउँपालिका २ स्थायी घर भएका धामी, सोही ठाउँका २० वर्षीय रुकुम सिंह धामी, बझाङ्गको केदारस्यु गाउँपालिका ७ बस्ने ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक गाउँपालिका २ का ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरिएको बताए । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव जोशी र जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जोशीले बताए । उनीहरुको साथबाट ११ किलो ९०० ग्राम चरेश, १ थान डिजिटल काँटा समेत बरामद गरिएको छ । चारै जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घोडाघोडी: कैलालीमा छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बागमाराका ४० वर्षीय श्रीराम थारुले बन्चरो प्रहार गरेर आमा लगनीदेवी थरुनीको हत्या गरेका हुन् । श्रीरामले मंगलबार राति ७१ वर्षीया आमा लगनीदेवीलाई बन्चरो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते हुनुभएकी थरुनीको उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि थप उपचारका लागि नवजीवन अस्पताल धनगढी लगिएको थियो । उहाँको नवजीवन अस्पतालमा मृत्यु भएको जनाइएको छ । मृतकका जेठा छोरा रामलाल थारुले इलाका प्रहरी कार्यालय लम्कीमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । बृद्धभत्ताका विषयमा श्रीरामले आमासँग झगडा गरिरहने परिवारका सदस्यले बताएका छन् । बृद्धाभत्ताकै कारण हत्या गरेको हुनसक्ने बताइएको छ । इलाका प्रहरी कार्यालय लम्कीले हत्याको अभियोगमा थारुलाई मंगलबार बिहान जङ्गलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।