पोखरा: शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने भएको छ । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा (जनस्तरबाट संकलित रकम) स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई प्रदान गर्न लागेको हो । नगद ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार उपाध्याय र लोककवि चेत बहादुर बरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मि प्राडा कुशुमाकर न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका सचिव दिपेन्द्र बाँनियाले जानकारी दिए । लोक साहित्य पुरस्कारको राशी १५ हजार ५ सय रहेको छ । वि.सं. २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको परिकल्पनामा स्थापित प्रतिष्ठानले ११ औं संस्करणको राष्ट्रिय पुरस्कार यही कार्तिक १५ गते वितरण गर्ने र चौथों संस्करणको लोक साहित्य पुरस्कार आगामी मंसिर १५ गते वितरण गर्ने जनाएको छ । राष्ट्रिय पुरस्कारबाट यसअघि मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्य, डा. रविलाल अधिकारी, साहित्यकार सरुभक्त श्रेष्ठ, वरिष्ठ काटुनिष्ट दुर्गा बराल वात्सायन, चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा,लोक गायिका हरिदेवी कोईराला, साहित्यकार हंशपुरे सुवेदी, भाषविद् चुडामणि बन्धु र संस्कृतिकर्मी प्रा.डा जगमान गुरुङ पुरस्कृत भइसकेका छन् । त्यस्तै वि.सं. २०७० मा स्थापित लोक साहित्य पुरस्कार यसअघि गितकार तिर्थ तामाङ, लोकनाथ पोखरेल र कवि रामप्रसाद पौडेल घर्मेलीले प्राप्त गरेको सहसचिव संजय थापाले जानकारी दिए । दुवै पुरस्कारका लागि अग्नीधर शर्मा तिमिल्सीनाको संयोजकत्वमा गठित श्रष्टा छनौट समितिको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरी सार्वजनिक गरेको हो । प्रतिष्ठानले हास्यव्यंग्य, गीत संगीत,समालोचना, साहित्यका विभिन्न विधा, लोक साहित्य, जनवादी र प्रगतिशील सािहत्य, भाषा र नेपाली व्याकरणका क्षेत्रमा योगदान पुर्याउने श्रष्टालाई प्रत्येक दुई दुई वर्षमा सो पुरस्कार प्रदान गर्दै आईरहेको छ । प्रतिष्ठानले राष्ट्रिय पुरस्कारका साथै मदनचन्दा स्मृति पुरस्कार, लोक साहित्य पुरस्कार र बाल साहित्य पुरस्कार स्थापना गरी संचालन गरेको छ भने, श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रियस्तरको भजन प्रतियोगिता पनि गर्दै आइरहेको छ ।
‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले...’ कवि रामचन्द्र शर्मा ११ ६औँ देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत हुनुभयो । बागलुङको विद्यामन्दिर पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पारेर बिहीबार आयोजना गरेको प्रतियोगितात्मक कविता गोष्ठी एवं परिचर्चा कार्यक्रममा उहाँसहित दर्जनजति कविका कविता गुञ्जिए । शर्माले छन्दमा लखेको उक्त कविताले प्रतियोगितामा द्वितिय स्थान प्राप्त ग¥यो । कवि गोविन्द सुवेदीले अनुष्टुप छन्दको कविता ‘सुन्दरी कृष्णागण्डकी’ वाचन गर्नुभयो । छन्दोबद्ध शैलीमा उहाँले सुनाएको कविताले दशर्कदीर्घा मुग्ध देखिन्थे । हिमालय क्षेत्र भएर बहने पवित्र कृष्णगण्डकी नदीको महिमाबारे कवि सुवेदीले कविताका सुललित पङ्क्ति यसरी प्रस्तुत गर्नुभयो । ‘बग्छिन्, चेली हिमाली यी नाम काली पुकारियो खेग्दै गिरि शिलासाथ हिँड्ने बानी छँदै थियो दरौँदी र त्रिशुलीका प्रवाह यिनका सखी कल्याणी हुन् यी सबैकी सुन्दरी कृष्णागण्डकी...” कवि सुवेदीको उक्त कविताले प्रतियोगितामा प्रथम स्थान प्राप्त ग¥यो । कवि मुकेशचन्द्र राजभण्डारीले इजरायल र हमासबीचको द्वन्द्वबाट निम्तिएको मानवीय सङ्कलाई कवितामार्फत अभिव्यक्त गर्नुभयो । ‘प्लालेस्टाइनी जनताको नाममा’ शीर्षकको कवितामा उहाँले न्याय, मुक्ति र स्वाधिनताका पक्षमा आफूलाई उभ्याउनुभयो । कवि यामनाथ आचार्यले ‘प्रकृति’ शीर्षकको कविता गोष्ठीमा पाठ गर्नुभयो । ‘आहा रमणीय प्रकृति देखियो शोभायमान अति नाचेका मयुर डाँफे मुनाल गीत गाउँदै कति हो कति हिमचुली दखियो सफा अनि सेतै टल्क्यो बिहानी बेला झुल्को किरणको प¥यो हिमालमा मोती भए पहेँला...’ आचार्यका कविताका हरफ हुन् यी । उहाँको कविताले तृतीय स्थान हासिल गर्न रह्यो । गोष्ठीमा कवि चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’, विजय राना, पुष्पिका सुवेदीलगायतले कविता वाचन गर्नुभएको थियो । स्रष्टाहरुले छन्द र मुक्त शैलीका कविता सुनाएका थिए । केही अप्रतियोगी रचनासमेत प्रस्तुत गरिएका थिए । कुनै सिर्जना महाकवि देवकोटाप्रति समर्पित थिए भने कतिपय समसामयिक मुद्दामा केन्द्रित थिए । भिन्दाभिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे । रसिला र चोटिला कविताले दर्शकदीर्घाबाट वाहीवाही पाए । धवलागिरि बहुमुखी क्याम्पसका उप–प्राध्यापक हरिप्रसाद पाण्डेयले महाकवि देवकोटालाई नेपाली साहित्यका विराट र विलक्षण प्रतिभाका रुपमा चित्रित गर्नुभयो । पाण्डेयले बहुआयमिक प्रतिभाका धनी देवकोटा जत्तिको व्यक्तित्व न पहिले रहेको र भविष्यमा पनि पाउन मुश्किल हुने उल्लेख गर्नुभयो । वरिष्ठ साहित्यका प्रेम छोटाले विभिन्न विधामा अमर कृति दिएर देवकोटाले नेपाली साहित्यलाई समृद्ध तुल्याएको बताउनुभयो । संस्कृतका छन्द, लयात्मकता, झ्याउरे लोकगीत र क्रान्तिकारिता जस्ता विशेषताका कारण देवकोटाका सिर्जना शसक्त रहेको उहाँको भनाइ छ । नेपाली जनजीवनका भोगाइलाई सरल र मिठासपूर्ण शैलीमा सम्प्रेषण गर्ने खुबीका कारण देवकोटा सर्वप्रिय बनेको छोटाले बताउनुभयो । बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी ‘प्रयास’ले महाकवि देवकोटालगायत विशिष्ट साहित्यिक प्रतिभाहरुको जन्मजयन्ती मनाएर पुस्तकालयले सह्रानीय कार्य गरेको बताउनुभयो । देवकोटा जयन्ती संयोजक समितिका संयोजक काजी रोशनले पुस्तकालयले साहित्यकाहरुका जयन्ती नियमित रुपमा मनाउँदै आएको बताउनुभयो । प्रतियोगिता कविता गोष्ठीका विजेता सर्जकलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको पुस्तकालयका सचिव राजनप्रसाद शर्माले जानकारी दिनुभयो । पुस्तकालयले बर्सेनि देवकोटा जयन्ती पारेर काव्य गोष्ठीसहित परिचर्चा कार्यक्रम राख्ने गरेको छ । विसं २००३ मा स्थापना भएको विद्यामन्दिर पुस्तकालयले स्थापनाको सुरु देखि नै देवकोटा जयन्ती मनाउँदै आएको छ । विसं २०६२ मा देवकोटा जयन्ती संयोजन समिति नै बनाएर यस जयन्तीलाई अझ व्यवस्थित रुपमा मनाउन सुरु गरिएको हो ।
नुवाकोट: तिहारको मौलिक संस्कृति बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तरविद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमति नदीको किनार समुन्द्रटारमा गाउँपालिकाभित्रका ६ विद्यालय सहभागी गराई प्रतियोगिता आयोजना गरेको हो । विद्यालयले विद्यार्थीलाई नै देउसीभैलोको गीत सृजना गर्न लगाएर प्रस्तुति दिन लगाएका थिए । प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका–५ को महादेव माविका प्रमिता तामाङले नेतृत्व गरेको समूह प्रथम भई नगद २० हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगतामा दोस्रो भएको बच्छलादेवी माविले १५ हजार र तेस्रो भएको रूक्मणि माविले १० हजार रुपैयाँ नगद पुस्कार प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी भएका अन्य तीन विद्यालय सरस्वती मावि, कल्याण मावि र दुप्चेश्वर माविले पाँच हजार सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा चर्चित कलाकार दामोदर खतिवडाको संयोजकत्वमा तीन सदस्यीय निर्णायकमण्डल गठन गरिएको थियो । प्रतियोगितामा एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री केशवराज पाण्डेले बालबालिकाका लागि प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान पुगेको बताए । उनले संस्कार र संस्कृतिको जगेर्नासँगै विद्यार्थीले आफ्नो क्षमताको प्रदर्शन गर्ने मञ्च सृजना गरेर रचनात्मक काम गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले निर्वाचनहरूमा राजनीतिक रूपमा प्रतिस्पर्धा हुने भए पनि संस्कृतिको जगेर्ना र स्थानीय विकासका लागि सबै दलले हातेमालो गर्नुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले संस्कृति संरक्षणका लागि सबैले मिलेर काम गर्नुपर्ने बताए । नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सचिवालय सदस्य बलराम आचार्यले विद्यार्थीलाई राजनीतिक दलको झण्डा बोकाउनुको साटो यस्तै रचनात्मक कार्यक्रम गरेर व्यावहारिक रूपमा सबल बनाउनुपर्ने बताए । नेपाली कांग्रेसकी नेत्री एवं गाउँपालिकाको पूर्वउपाध्यक्ष अञ्जु आचार्यले प्रतियोगिताको सराहना गर्दै अन्य दलहरूले समेत यसबाट सिकेर काम गर्नुपर्ने सुझाव दिए ।
पोखरामा क्रियाशिल भीमकाली क्लबले चौथों संस्करणको भमकाली साँझ तथा देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ । क्लबका सदस्य अन्जन देवकोटाका अनुसार उक्त कार्यक्रम पोखरा महानगरपालिका १ बगरस्थित ट्याक्सीचोक यही १९ गते हुनेछ । उक्त कार्यक्रम बेलुकी ५ बजेबाट सुरु हुने उनले बताए । सो कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाल आइडलका टप फाइभ मानव परियार रहने छन् । भने, विभिन्न समुदायमा प्रचलित नृत्यहरुको प्रस्तुत हुनेछ । उक्त कार्यक्रमबाट बचत हुने रकम सामाजिक कार्यमा खर्चिने आयोकजले जनाएको छ । भीमकाली क्लब विगत लामो समयदेखि खेलकुद तथा सामाजिक क्रियाकलापमा सक्रिय आएको छ ।
पोखरा: ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत सांगीतिक यात्रामा रहेका गायक सज्जनराज वैद्य आज पोखरा ६ लेकसाइडस्थित बाराहीघाटमा गुञ्जदैं छन् । उनी आर्बिटरी इभेन्ट्स र एम.एन प्रोडक्सनको आयोजनामा जारी ‘एकादेशमा नेपाल टुर २०२४’ मा छन् । पाेखरामा हुने इभेन्टकाे व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ । उक्त कार्यक्रमको सबै तयारी पुरा भएको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । उनका अनुसार इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको मुख्य प्रायोजनमा हुने सो कार्यक्रममा सज्जनले भने बेलुकी ५ बजेपछि प्रस्तुती दिनेछन् । गेट भने ३ बजेबाटै खुला हुनेछ । कार्यक्रमका लागि करिब ३ हजार ५ सय बढी टिकट विक्री भइसकेको पुरीले बताए । प्रवेश टिकट रत्नचोक र लेकसाइडको हिमालयन जाभा, शान्तिनगरको बराल पेट्रोल पम्प, बाराही चोकको होटल ल्याण्डमार्कअगाडि शुक्रबार दिउँसो एक बजेसम्म टिकट खरिद गर्न सकिने छ । भने, मोबाइल वालेट एप खल्तीबाट पनि यो कार्यक्रमको टिकट खरिद गर्न सकिन्छ । टिकटको मूल्य १ हजार ५ सयदेखि ३ हजार रूपैयाँसम्म रहेको छ । २ हजार ५ सयको फ्यान पिट र ३ हजार रूपैयाँको भिआइपी टिकट खरिद गर्नेले हातमा लगाउने एलइडी ब्याण्ड पाउने छन् । ‘एकादेशमा नेपाल टुर २०२४’ पोखरामा हुन अघि चितवन र बुटवलमा कार्यक्रम भइसकेको छ । भने, कार्तिक २४ गते (नोभेम्बर ९) मा इटहरी र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौंमा कन्सर्ट गर्ने तयारी रहेको आर्बिटरी इभेन्ट्सले जनाएको छ ।
पोखरा: युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्य नेपाल टुर अन्तर्गत शुक्रबार हुने कार्यक्रमका लागि पोखरा आइपुगेका छन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको मुख्य प्रायोजनमा जारी ‘एकादेशमा नेपाल टुर २०२४’को पूर्वनिर्धारित सेड्युलअनुसार शुक्रबार पोखराको बाराही घाटमा वैद्यले लाइभ प्रस्तुति दिँदै छन् । उनको टिम बुधबार पोखरा आइपुगेको छ । आर्बिटरी इभेन्ट्स र एम.एन प्रोडक्सनको आयोजनामा भइरहेको टुरको पोखराको व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ । पोखरामा हुने कार्यक्रमका लागि बिहीबार बिहानसम्म करिब ३ हजार टिकट बिक्री भइसकेको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । ‘पोखरा भनेको म्युजिक, कल्चर निकै रूचाउने सहर हो । डोर सेलसहित गरेर पाँच हजारभन्दा बढीको उपस्थिति रहने अपेक्षा हाम्रो छ,’ उनले भने । यो कार्यक्रमका लागि रत्नचोक र लेकसाइडको हिमालयन जाभा, शान्तिनगरको बराल पेट्रोल पम्प, बाराही चोकको होटल ल्याण्डमार्कअगाडि शुक्रबार दिउँसो एक बजेसम्म टिकट खरिद गर्न सकिने संचालक पुरीले जानकारी दिए । मोबाइल वालेट एप खल्तीबाट पनि यो कार्यक्रमको टिकट खरिद गर्न सकिन्छ । टिकटको मूल्य एक हजार पाँच सयदेखि तीन हजार रूपैयाँसम्म रहेको छ । दुई हजार पाँच सयको फ्यान पिट र तीन हजार रूपैयाँको भीआइपी टिकट खरिद गर्नेले नाडीमा लगाउने एल.ई.डी ब्याण्ड पाउने छन् । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र शुक्रबार दिउँसो तीन बजे गेट खुल्ने कार्यक्रम संयोजक महेश्वर भण्डारीले बताए । सज्जनको प्रस्तुति भने पाँच बजेपछि सुरु हुने उनले जानकारी दिए । ‘एकादेशमा नेपाल टुर २०२४’ पोखरामा हुन लागेको कार्यक्रम तेस्रो हो । यसअघि चितवन र बुटवलमा कार्यक्रम भइसकेको छ । पोखरापछि कार्तिक २४ गते (नोभेम्बर ९) मा इटहरी र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौंमा कन्सर्ट गर्ने तयारी रहेको आर्बिटरी इभेन्ट्सका संचालक विपीन नकर्मीले जानकारी दिए । सज्जनका ‘हवाइजहाज’, ‘चिठ्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’लगायत गीत नेपाली युवापुस्ताले अत्यन्तै मन पराएको छ । युट्युबमा मात्र नभई अडिओ स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा पनि वैद्य रूचाइएका छन् । स्पोटिफाईमा उनका मासिक साढे तीन लाखभन्दा बढी स्रोता छन् ।
काठमाडौँः १ सय १६ औँ लक्ष्मीजयन्ती तथा तिहारका अवसरमा कपन साहित्य समाजका आयोजनामा आज स्थानीय स्थानीय आकाशेधारास्थित ‘यात्री स्मृति सभाकक्ष’ मा शारदीय कविता वाचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख एवं कवि अनिता लामा, समाजका अध्यक्ष गणेशकुमार मिश्र, महासचिव लक्ष्मण अधिकारी, सचिव त्रिलोचन आचार्य तथा स्थानीय साहित्यकार ओमप्रसाद कोइराला, ढुण्डिराज मरासिनी, बिसुकुमार केसी, थरेन्द्र बराल, भारद्वाज मित्र, श्याम रिमाल, विनोद दाहाल ‘वत्स’, माधवलाल श्रेष्ठ, पुरुषोत्तम नेपाल, रत्न उप्रेती, बद्री आचार्य, होमकुमारी दुलाल, श्यामा पन्त, पवित्रा चिमोरिया, कमला खनाल, अग्रता नेपाललगायतले देशप्रेम, आमाप्रतिको ममता, उपभोक्तावादी संस्कृति आदि विषयमा आआफ्ना कविता तथा महाकवि देवकोटाका कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख लामाले अरूले आ–आफ्नै किसिमले चाडबाड मनाए पनि साहित्यकारहरूले भने साहित्य सिर्जना र वाचन गरेर मनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय राजनीतिकर्मी एवं समाजसेवी लक्ष्मीप्रसाद सङ्ग्रौलाले कपनमा साहित्य, कला, संस्कृति विस्तार गर्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा सहभागी कविहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । समाजले बर्सेनि एकजनालाई ‘यात्री स्मृति सम्मान’, समय समयमा ‘कपन दर्पण’ सँगालो ९चार अङ्कसम्म० र ‘कविता क्यालेन्डर’ वार्षिक भित्रेपात्रो प्रकाशन, कृति विमोचनलगायत अन्य साहित्यिक कार्यक्रम पनि गर्दैआएको छ । साहित्यकार तथा अन्वेषक पूर्णप्रकाश नेपाल यात्री, साहित्यप्रेमी तथा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलगायतका सक्रियतामा बूढानीलकण्ठ–१० मा विसं २०६१ मा समाज स्थापना भएको थियो ।
काठमाडौँः नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् । अक्टोबरभरि उहाँहरुले ग्यालरीमा रहेर स्वतन्त्र रुपमा कला सिर्जना गर्ने अवसर पाउनुभएको हो । ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठले अक्टोबर महिनाभर इरानका चित्रकार सोमायेह सादत मिराब्वासी र अस्ट्रियाका फोटोग्राफर अनिता फुचले कला सिर्जना गरिहनुभएको जानकारी दिनुभयो । “उहाँहरु दुवै जना नेपालको कलाकृतिप्रति निकै उत्साहित हुनुहन्छ”, उहाँले भन्नुभयो, “एक महिनामा उहाँलेहरुले सिर्जना गरेका कला ग्यालरीमा प्रदर्शन भएका छन् ।” फुचले ‘शीर्षकविहीन’ शीर्षकको विचार भाव फोटोग्राफीमार्फत प्रस्तुत गर्नुभएको छ भने मीराब्वासीले मनमोहक डिजिटल कला प्रस्तुत गर्नुभएको छ । उहाँका सिर्जनामा अनौठो दृष्टिकोण प्रतिबिम्वित भएका ग्यालरीका प्रमुख श्रेष्ठले बताउनुभयो । मिराब्वासीको कलामा जीवनको सुक्ष्मताभित्र पनि गहिरो अस्थित्व महसुस गराउन खोजिएको पाइन्छ । “उहाँको कलाले वरपर पाइने, वस्तुहरु, जनावर, बोटबिरुवा, ढुङ्गालगायतको आफ्नै असाधारण तथा अस्तित्व रहेको सन्देश दिन खोजेको छ”, उहाँले भन्नुभयो ।
पोखरामा क्रियाशिल दीप युनाइटेड क्लबले तिहारको अवसरमा देउसी भैलो तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । पोखरा १६ स्थित दीप युनाइटेड पार्कमा आगामी १७ गते संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित विविध साँस्कृति कार्यक्रमको आयोजना गर्न लागेको क्लबका अध्यक्ष खेमराज आचार्यले जानकारी दिए । ‘धेरै लामो समयसम्म दीप साँझ गर्याै । आठौं संस्करणसम्म हामीले निरन्तरता दिएका थियौं त्यसपछि यसलाई देउसी भैलेको रुपमा कार्यक्रम गर्न थालेका हौं, उनले भने, ‘यो वर्षपनि हामीले त्यही साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिन लागेका छौ ।’ उनका अनुसार सो कार्यक्रम दीप युनाइटेड पार्कमा यही कात्तिक १७ गते (भाइटिकाको अघिल्लो दिन) बेलुकी ६ बजेदेखि १० बजेसम्म हुनेछ । उक्त कार्यक्रममा स्थानीय कलाकारहरु र हिमाली साँस्कृति परिवारले विविन्न समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत गर्नेछन् । क्लबले हरेक वर्ष खुला रक्तदान, सचेतनामूलक कार्यक्रम र युवा तथा बालबालिका लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

