पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

काठमाडौं:    गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ ।  गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्र निर्माण गर्नुभएको छ । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उहाँलाई पाउन सकिन्छ ।  एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त ? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिनुभयो ।  उहाँ निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ को गीत र श्रव्यदृश्य सार्वजनिक गर्न शनिबार साँझ दरबारमार्गमा रहेको एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो समूहका कारण यसपटक सफल भए पनि आउँदा दिनमा एक विधाबाहेक अरुको जिम्मेवारी नलिने बताउनुभयो ।  उहाँले भन्नुभयो, “आफैँले सबै काम गर्दा गाह्रो नै हुनेरहेछ । विशेषतः निर्देशन र अभिनय एकैपटक गर्दा दुवैमा ऊर्जा बाँडिएको महसुस भयो । त्यसैले आउँदो चलचित्रमा म निर्देशक भएमा आफ्नो दृश्यलाई निकै कम राख्छु, नत्र सुनिल विकलाई निर्देशनको जिम्मेवारी दिन्छु र म अभिनयमा मात्र केन्द्रित हुन्छु । किनकि मेरै पछिल्ला कामभन्दा कमजोर नहोस् भन्ने मेरो प्रयास रहन्छ ।”   यस विषयमा अभिनय र निर्देशनसँगै गरिरहनुभएका निश्चल बस्नेत, अर्पण थापालगायतसँग छलफल गरेको गायक सपूतले बताउनुभयो । उहाँले गायनमै व्यस्त हुँदा चलचित्र निर्देशनमा आउनु कथालाई धेरै दर्शकसम्म पुर्याउने चाहना भएको बताउनुभयो ।  “भोगाइ, देखाइसहितका आफ्ना कथा गीतमार्फत व्यक्त गरिरहेको थिएँ । मलाई ती कथा गीतमै सकाउँछु कि भन्ने लाग्यो । त्यही भएर चलचित्र बनाउने योजनालाई मूर्तरुप दिएको हुँ । यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो”, उहाँले भन्नुभयो । यो चलचित्रको कथामा आफ्नो बालापन र भोगाइ भए पनि आफ्नै जीवनी भने नरहेको गायक सपूतले स्पष्ट पार्नुभयो ।  अभिनेत्री स्वस्तिमा खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । यो चलचित्रमा जोडिएर शान्ति नामक पात्र बाँच्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु । यो मलाई वर्षौँसम्म सम्झिने पात्र बन्ने छ ।” सार्वजनिक गरिएको ‘साँझ पर्यो झमक्कै’ गीतमा शब्द, सङ्गीत र स्वर सपूतकै रहेको छ भने गायनमा शान्तिश्री परियारले साथ दिनुभएको छ । चलचित्रमा प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ । आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने सङ्घर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ । यो चलचित्र आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

काठमाडौं:    ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ ।      शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ ।       नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ सङ्गीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो ।       गायक श्रेष्ठले तगारोमा रुमाल राखी, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, विदेशिएर गइन उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, हङकङ पोखरा, तिमी हाँसे हासिदिउँला रोए फकाउँला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, साङ्ग्रिलाको लेक भरी फुलैफूलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा, चन्चले कान्छीको, कहाँ हिँडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्ल तल्ल भेट भकोलगायतका गीत सुनाउनुभयो । उहाँका हरेक गीतमा दर्शकले ‘वान्स मोर’ भनेका थिए ।      ओटुमा कन्दरा गुन्जिदा झण्डै दुई हजार आठ सय दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ । गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गर्नुभएको थियो ।       कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भन्नुभयो, “विश्व सङ्गीतका लिजेण्डहरुको प्रस्तुती रहिसकेको यो ठाउँमा प्रस्तुती दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबाबामाँझ गाउन पाउनु मेरो लागि अझै सपना झैँ लागि रहेको छ ।”       कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहनुभएका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य हुनुहुन्छ ।      कन्दराले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ ।      यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुती दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्यूजील्याण्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने जनाएको छ ।      नेपाली मेलो लोक–पपसँग ३२ वर्षे उमेर पूरा गरेको यस ब्याण्डले नेपाली युवामाझ पप र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै साङ्गीतिक विरासतलाई निरन्तरता दिने जनाएको हो । 

काठमाडौं:    नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि ‘सपनीमा’ बोलको गीत तयार भएको छ । उक्त गीतमा शब्द र सङ्गीत करुण थापाले दिनुभएको छभने गायिका इन्दिरा जोशी र गायक करण परियारको स्वर रहेको छ ।       सङ्गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व सङ्गीतमा फर्किनुभएको हो ।  सन् २००४ मा ‘बादल वर्षा बिजुली’ बोलको गीतपछि चलचित्रका लागि पहिलोपटक गीतसङ्गीत तयार गरेको उहाँले बताउनुभयो ।  “मैले चलचित्रको गीत लेखन र सङ्गीतको काम छाड्नुको कारण उक्त समयमा गीतसङ्गीतलाई हल्का रूपमा प्रयोग गर्ने प्रचलन मुख्य थियो, त्यसैले मैले व्यर्थका गीतहरू लेख्न र सिर्जना गर्न सकिन”, उहाँले भन्नुभयो ।       उहाँलाई ‘बादल वर्षा बिजुली’ झैँ गीत तयार गर्न धेरै चलचित्रकर्मीले आग्रह गर्नुभएको रहेछ तर सङ्गीतकार थापा तयार हुनुभएन । त्यसपछि गीतिसङ्ग्रहमा मात्र काम गर्नुभएका सङ्गीतकार थापा पुनः चलचित्रमा काम गर्न तयार हुनुको कारण भने निर्देशक दीपेन्द्र गौचन रहेको बताउनुुहुन्छ ।      चलचित्रको विषयवस्तु बुझेपछि र गीतको प्रसङ्ग थाहा पाएपछि सङ्गीतकार थापाले शब्द र सङ्गीत सिर्जना गर्नुभयो । त्यसपछि उहाँले चलचित्रको विषयअनुसार पुरुष गायनमा परियार र महिला गायनमा जोशीलाई छनोट गर्नुभएको जनाइएको छ ।  “म नेपाल आइडल नामक साङ्गीतिक प्रतियोगितामा पुग्दा नै गायक परियारको गायनबाट प्रभावित थिए । महिला स्वरका लागि मलाई गायिका जोशी उपयुक्त लाग्नुभयो”, सङ्गीतकार थापाले भन्नुभयो ।       यसरी गीतमा तीन पुस्ताको सहकार्य सम्भव भएको उहाँले बताउनुभयो । गायिका जोशीले यो सहकार्यमार्फत आफूले सिक्ने अवसर पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई आफूभन्दा अग्रज र आफैँ निर्णायक रहेको प्रतियोगितामार्फत उदाएका अनुजसँग काम गर्न पाउँदा निकै खुसी लागेको छ । चलचित्रको विषयअनुसार नै सहरिया युवतीका लागि मैले स्वर दिएकी हुँ ।”       गायक परियारले आफ्नो पाश्र्व गायनमा उदाउने सपना पूरा भएको बताउनुभयो । “म चलचित्रका गीतमा स्वर दिन चाहन्थे, यो सपना पूरा भएको छ । मैले न्याय गर्न सकेको छु भन्ने लागेको छ । आफ्नै गुरु गायिका जोशी र अग्रज सङ्गीतकार थापासँग काम गर्न पाउनु मेरा लागि अवसर र चुनौती दुवै थियो । मैले सङ्गीतमा देखेको एउटा सपना पूरा भएकामा खुसी छु”, उहाँले भन्नुभयो ।       चलचित्रका निर्देशन गौचनले विषयवस्तुअनुसार गीतको अडियो र श्रव्यदृश्य तयार गरिएको बताउनुभयो ।       वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक गौचनले ठूलो पर्दाका लागि पहिलोपटक चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको हो ।  उहाँले पहाडी समुदायको केटी र मधेशी समुदायको केटाको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताउनुभयो । यो चलचित्र आगामी माघ ११ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।  

पोखरा:  तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव जारी छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा सामुहिक नृत्यतर्फ डिडी नृत्य प्रशिक्षण केन्द्र बगर विजयी बनेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।   उनका अनुसार पूर्णीमा साँस्कृतिक कला केन्द्र उपविजयी बन्यो ।   यस्तै महिला भलिबलतर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुर र हर्स राइडर समूह छोम्रोङ फाइनलमा प्रवेश गरेको क्लबका सचिव अमृत गुरुङले जानकारी दिए ।    उनका अनुसार प्रौढतर्फ युनाइटेड किङ्स क्लब र छारमेन्दो तक्रो फाइनलमा प्रवश गरिसकेको छ ।   यस्तै पुरुष भलिबलतर्फ आज भएको खेलमा हर्ष राइडर छोम्रोङलाई कालीमाटीले २-१ को सेटमा पराजित गर्यो ।   अर्को खेलमा टुसे निलोले खादरजुङलाई २-१ को सेटमा हरायो ।   तेस्रो खेलमा किम्चेले ल्वाङलाई २-१ को सेटमा हराउँदै अघिल्लो चरणमा किम्चे प्रवेश गर्यो ।   चैथों खेलमा विन्ध्यश्वरी ठाँटीलाई नयाँपुल साँखुले २-१ को सोझो सेटमा हरायो ।   अर्को खेलमा लान्द्रुकले टुसे रातोलाई २-१ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो ।   यसैगरी आज भएको अन्तिम खेलमा लुम्रेले भदौरेलाई २-१ को सेटमा हरायो ।   शनिबार पनि पुरुषतर्फको खेल नै संचालन हुने आयोजकले जनाएको छ ।

प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तरराष्ट्रिय हट एयर बेलुन फेष्टिफलका अवसरमा हट एयर बेलुनमा उड्दै दुई कलाकृति सिर्जना गरेका छन् ।   प्राज्ञ सिंहले बेलायती पाइलट एलेक्सले चार हजार फिट माथि बेलुन उठाउदा क्यानभासमा सूयोदयको कलाकृतिसँगै अन्नपूर्ण दृष्य चित्र सिर्जना गरेका हुन् ।   नेपालको हट एयर बेलुनमा उडेर बनाएको पहिलो पटक भएको र अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलको पनि पहिलो घटना हुन सक्ने बेलुन नेपालका व्यवस्थापक सरोज कोइरालाको दावी छ ।   हट एयर बेलुनका पाइलट एलेक्सले हट एयर बेलुनमा बसेर बनाइएको कलाकृति सिर्जनालाई आफ्नो जीवनीको पुस्तकमा समावेश गर्ने बताए ।   फेस्टिफल संयोजक प्रविण महर्जनले बेलुन फेष्टिफलमा बेलुनमा कलाकृतिको सिर्जना ऐतिहासिक क्षण भएको बताउँदै नेपालमा पहिलो पटक डिजे नानाले बेलुनमा प्रस्तुति दिएको जानकारी दिए ।

काठमाडौं:    तमु ल्होसारको अवसरमा कलाकार बुद्धि तामाङले चलचित्र ‘कुस्ती’ निर्माण गर्ने घोषणा गर्नुभएको छ ।  अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्र कुस्तीमा अभिनेता तामाङसँगै धीरज मगर र अभिनेत्री मिरुना मगरले अभिनय गर्नुहुनेछ । चलचित्रको सार्वजनिक गरिएको पोस्टरमा कलाकारको आवरण (लुक्स) चरित्रअनुसार राखिएको कलाकार तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले तयार गरेको पोस्टर र त्यहाँ कलाकारले लगाउनुभएको पोसाकमा भएको रङ्गले स्वभावलाई चित्रण गर्छ । हरियो र गुलाबी रङमार्फत हामीले उनीहरुको सम्बन्ध र स्वभावलाई उल्लेख गरेका हौँ । छुट्टिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथामा चलचित्र तयार हुनेछ ।” कथावस्तु मन पर्नुका साथै अनुभवी समूह रहेकाले आफूले कलाकारितासँगै चलचित्र निर्माणलाई अगाडि बढाएको तामाङले बताउनुभयो । यसमा कलाकार तामाङलाई चलचित्र निर्माणमा निर्देशक योञ्जनले सघाउनु हुँदैछ । सम्बन्धमा रहेको जोडीको प्रेममा आउने उतारचढाव नै मुख्य विषय रहेको उहाँले बताउनुभयो । “उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावका कारण एकसाथ रहन कठिनाइको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ । एउटा पारिवारिक प्रेम कथानक चलचित्र बनाउने कोसिस गरिरहेका छौँ”, तामाङले भन्नुभयो ।  काठमाडौँ रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने चलचित्रको छायाङ्कन आउँदो फागुनमा हुने बताइएको छ । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा तयार हुने उक्त चलचित्र आउँदो वर्ष २०८२ भदौमा प्रदर्शन हुनेछ । 

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताएका छन् ।   उनले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गरे ।   तमुहरूको महान पर्व तमु ल्होछारको अवसर पारी तमु धिँ नेपाल, केन्द्रीय कार्यालय पोखराले आयोजना गरेको ल्होछार विशेष पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टले भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ रहेको बताएका हुन् ।   ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुले भरिपूर्ण एक सुन्दर मुलुक हो । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व पनि हो’ उनले भने –‘ नेपालका तमु जातिमा नयाँ वर्षको आगमनको खुशियालीस्वरुप विशेष उत्साह र उमङ्गतासाथ मनाइने तमु ल्होछारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राख्दछ ।’     तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको दिन मनाइँदै आएको ल्होछार सांस्कृतिक पर्व रहेको र तमु जातिको सामाजिक, सांस्कृतिक, आर्थिक र धार्मिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व रहेको उनको भनाई छ ।   ‘तमु जातीले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन् । नेपालको ग्रामीण पर्यटन प्रवर्द्धन मार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न तमु समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको छ ।’ उनले भने – ‘ग्रामीण घरबास अर्थात् होमस्टे अभियानको मुख्य अगुवा तमुहरु नै हुन् । शहर तथा विदेशमा बसाईंसराईं पछि गाउँमा जति बाँकी छन्, उनीहरूले संस्कृति र परम्परा धान्दै अघि बढिरहेका छन् । शहरी क्षेत्रमा पनि समुदायका अगुवाहरुले आफ्नो रितीथितीलाई बिर्सिएका छैनन् ।’   ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको उनले बताए ।     ‘यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा छ । ट्होंटेका ¥यालीहरूमा भाङ्ग्रा र कछाड, घलेक गुन्यूचोली लगाउने किशोरकिशोरी युवा युवतीहरु पातालिँदै गएका छन् ।’ प्रदेश प्रमुख भट्टले भने – ‘अबको पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । किनभने भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय चिन्हारी र मौलिक सभ्यताका आधार स्तम्भ हुन्। यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व हो ।’      

काठमाडौं : संयुक्तराज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ।    ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ शीर्षकमा तीन भिन्न कार्यक्रम आयोजना गरिने आयोजक ‘फ्लाइ नेपा’का अध्यक्ष विनोद अधिकारीले जानकारी दिए।    उनले भने, ‘हामीले मनोरञ्जनको पूर्ण खुराक तयार गरेका छौँ। यसमा हाँस्ने, नाच्ने र सुन्ने तीनै विधालाई समेटेका छौँ। हामी यसलाई अझै सभ्य र भव्य रूपमा गर्ने तयारीमा छौँ। अमेरिकाका विभिन्न सहरमा आगामी फेब्रुअरी र अप्रिलमा कार्यक्रम प्रस्तुत गरिने छ।’   अध्यक्ष अधिकारीले ‘अब नाच्छ अमेरिका २’ अन्तर्गत गायक बद्री पङ्गेनी र प्रताप दास, गायिका कला लम्साल र एलिना चौहान, ‘अब सुन्छ अमेरिका’ अन्तर्गत कवि प्रदीप रोदन र साइग्रेस पोखरेल तथा ‘अब हाँस्छ अमेरिका २’ मा मिस पवि, पवन खतिवडा, सुजीता श्रेष्ठलगायतको प्रस्तुति रहने जानकारी दिए।   गायक प्रताप दासले आफूलगायत सम्पूर्ण कलाकारले प्रस्तुतिको तयारी गरिरहेको बताए।   आयोजकका अनुसार अमेरिकाको न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो, क्यालिफोर्नियालगायत सहरमा कार्यक्रम हुनेछ। यस अगाडि फ्लाई नेपाले ‘अब नाच्छ अमेरिका’ र ‘अब हाँस्छ अमेरिका’ कार्यक्रम सम्पन्न गरिसकेको छ।

पोखरामा चर्चित गायक गायिकाको लाइभ कन्सर्ट हुदैछ । पोखराको लेकसाइडमा रहेको प्याराडिसोमा बर्तिका एम राई र युगल गुरुङले लाइभ कन्सर्ट हुन लागेको हो ।   शनिबार साँझ हुने कार्यक्रममा बर्तिका एम राई र युगल गुरुङ छुटाछुट्टै प्रस्तुती दिनेछन् ।   गायक युगलले ’यो पर्खाइ, आफ्नो संसार, कोठा, सहारा, लुकामारी, कहाँ छौ, कुरा’ लगायत गीत गाउने छन् भने गायिका बर्तिकाले ’तिमी र म, नजिक, उमेर, बाँकी, खुसी, घर, सम्झना, खै’ लगायत गीत गाएर मनोरञ्जन दिने छिन् । युगल र बर्तिका दुवै अहिलेका चर्चित गायक गायिका हुन् ।    बर्तिकालाई नेपाली संगीतमा दैनिकीहरुको सरल रुपमा प्रस्तुत गर्ने गर्दछिन् । उनले  गीत लेख्ने, संगीत सिर्जना गर्ने र गाउँने काम गछिन् ।   उनीहरु दुबैका गित चर्चित रहेको र नयाँ पिडिमा उनीहरु प्रख्यात रहेको प्याराडिसोका म्यानेजर हरि पौडेलले बताए ।   उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ ।   मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । प्याराडिसोमा दैनिक लाइभ म्युजीक, खेलकुदको लाइभ ठुलो एलइडिमा देखाउदै आएको छ ।