काठमाडौं: नेपाली फिल्म निर्देशन गरेर अन्तर्राष्ट्रिय रूपमा परिचय बनाउनुभएका निर्देशकमध्येका एक हुनुहुन्छ, दीपक रौनियार । उहाँले विसं २०७० मा निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘हाइवे’ बर्लिन अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘प्रिमियर’ हुने पहिलो चलचित्र बन्यो । निर्देशक रौनियारले नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुका साथै ‘अन्तरराष्ट्रिय प्लेटफर्म’मा प्रवेश दिलाउन नेपाली चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । यसै सन्दर्भमा पछिल्ला दिनमा छोटा चलचित्र, वृत्तचित्र तथा चलचित्रहरूले अन्तरराष्ट्रिय महोत्सवमा स्थान पाउने गरेका छन् भने कैयौँ नेपाली चलचित्र अब्बल सावित हुन सफल भएका पनि छन् । यद्यपि यतिमै खुसी हुनुपर्ने अवस्था नरहेको निर्देशक रौनियार बताउनुहुन्छ । “हामीले विश्वका अधिकांश चलचित्र महोत्सवमा नेपाली झण्डा फरफराइ रहेका छौँ । चलचित्रमार्फत पनि हामीले देशसँगै कला र संस्कृतिलाई चिनाउने काम गरेका हुन्छौँ । तर, हामी अब त्योभन्दा अगाडि बढ्नुपर्छ, यो विन्दुमा अलमल गर्नुहुँदैन”, उहाँले भन्नुभयो । विसं २०७० पछि नेपाली चलचित्र बनाउन विदेशी सहायता पनि जोडिएको पाइन्छ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत चलचित्र निर्माणका लागि प्राप्त हुने सहयोगका लागि सोही देशका चलचित्रकर्मी निर्माताका रुपमा जोडिएका हुन्छन् । चलचित्र निर्माण, वितरण र प्रदर्शनका लागि रहेको ‘चलचित्र ऐन’ नयाँ नआउँदासम्म कठिनाइको सामना गर्नुपरेको निर्देशक रौनियारले बताउनुभयो । “हामीले आफ्ना चलचित्रलाई विदेशीमाझ पु¥याउन सफल भएका छौँ, पुरस्कार पनि जितिरहेका छौँ । तर, उनीहरुको लगानी नेपाल ल्याउन मौजुदा कानुनले रोकेको छ, त्यसलाई संशोधन गरेर चलचित्रकर्मीलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो । किनकी हामीले अहिले जे जस्तो उपलब्धि हासिल गरेका छौँ, त्यसका लागि हाम्रो प्रयास, लगनशीलता र मेहनत जोडिएको छ, तर हामीले चाहेको उपलब्धि हासिल गर्न राज्यको भूमिका र सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले सर्वोच्च शिखर ‘सगरमाथा’ र ‘खेलकुद’ विधाले जस्तै ‘चलचित्र’ क्षेत्रले पनि नेपाललाई विश्वमा चिनाउन मद्दत गरेको छ भन्ने तत्थ्यलाई हामी सबैले मनन गरी सोहीअनुसार यसको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । आफू सम्बद्ध चलचित्र ‘सेतो सूर्य’ संसारकै सबैभन्दा पुरानो भेनिस अन्तररष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर ‘इन्टरफिल अवार्ड’ जित्न सफल भएपछि विश्वका चलचित्रसम्बन्धी आयोजना हुने धेरै मेला महोत्सवमा पुग्नुभएका निर्देशक रौनियार आवश्यक नीतिगत सहयोग, आर्थिक लगानी र अनुकूल वातावरण बनाएर चलचित्रकर्मीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुहुन्छ । “मसँगै धेरै चलचित्रकर्मी अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै पुगिरहनुभएको छ । हाम्रो काम देखेर लगानी गर्न खोज्ने धेरै छन्, हामीले अहिले नेपाली चलचित्रको राम्रो बजार बनिरहेको संयुक्तराज्य अमेरिका, अस्ट्रेलियालगायतका देशबाट लगानी ल्याउन सक्छौँ । तर, नीतिगत कठिनाइ छ, रचनात्मक स्वतन्त्रता पनि कम छ । यसले हामी जस्ता चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सकेको छैन”, निर्देशक रौनियारले भन्नुभयो । उहाँले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र हो,‘राजागञ्ज’ । उक्त चलचित्रले समाजलाई प्रश्न गर्ने, छलफल गराउने र बाटो देखाउने काम गर्ने उहाँको भनाइ छ । नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा पनि समेटिएको चलचित्रले उठाएको विषयले माथि उल्लेखित तथ्यलाई समेटेको उहाँले बताउनुभयो । “खेलकुद झैँ चलचित्रले पनि समाजलाई जोड्ने काम गर्छ । हामी चलचित्रकर्मीले आफ्नो दायित्व बोध गरेर त्यस किसिमका विषयवस्तुमा आधारित चलचित्र ल्याइरहेका हुन्छौँ, हामीले गल्तीबाट नै सिक्ने हो । चलचित्रमा पनि गलत गर्नु हुन्न् भन्ने देखाउन गलत देखाएर त्यसले दिएको नकारात्मक परिणामले गरिरहेको असर देखाउँदै सही बाटो रोज्न प्रेरित गर्ने हो । एउटा चलचित्रकर्मीका रुपमा मैले आफ्नो दायित्व बोध गरेको छु”, निर्देशक रौनियारले भन्नुभयो । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चलचित्रले पुरस्कार जिते पनि घरेलु व्यापारमा भने त्यस प्रकारको सफलता निर्देशक रौनियारले निर्देशन गर्नुभएको चलचित्रले पाउन सकेको छैन । उहाँले निर्देशन गर्नुभएको ‘हाइवे’ र ‘सेतो सूर्य’ युट्युबमा सार्वजनिक हुँदा राम्रो प्रतिक्रिया आए पनि चलचित्र भवनमा दर्शकको उपस्थिति नगन्य थियो । घरेलु बजारमा कलात्मक चलचित्र कमजोर हुनुलाई जानकारी सम्प्रेषणमा देखिएको कठिनाइ रहेको उहाँको बुझाइ छ । “हामी कहाँ महोत्सवमा छानिएका चलचित्र बुझ्नै कठिन हुन्छ भन्ने भाष्य बनेको छ, त्यो गलत हो । महोत्सवमा पठाउन र चलचित्र भवनमा चलाउन दुई किसिमबाट सम्पादन गरेका हुन्छौँ, साथै उक्त चलचित्रमा गाउँ, समाजकै कथा हुने भएकाले बुझ्न नसकिने वा गाह्रो केही हुँदैन । चलचित्र भवनसम्म आएर हेर्नुभयो भने उस्तै मनोरञ्जन पाउनुहुनेछ, तर यस्ता चलचित्र विषय प्रधान हुन्छन्”, निर्देशक रौनियारले स्पष्ट गर्नुभयो । उहाँले नेपालमा आगामी चैत १ गतेदेखि सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘राजागञ्ज’ भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर प्रदर्शन भइसकेको जानकारी पनि दिनुभयो ।
पोखरा: आगामी चैत्र १ गतेदेखि ५ गतेसम्म पोखरा महानगरपालिका ४ चिप्लेढुंगास्थित आरके बिल्डिङमा सञ्चालित ए वान गाउँशहर दोहोरी साँझ एण्ड रेष्टुरेन्ट प्रालिले पाँचौ वार्षिकोत्सवको आयोजना गर्ने भएको छ । लोक संस्कृतिको उजागर गर्ने उद्देश्यसहित सञ्चालित दोहोरी साँझले विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव आयोजना गर्न लागिएको सञ्चालक शिव गुरुङले जानकारी दिए । उनका अनुसार ५ दिन सञ्चालन हुने उक्त कार्यक्रम साँझ ७ बजेदेखि बिहान २ बजेसम्म सञ्चालन हुनेछ । विविध सांस्कृतिक कार्यक्रममा गायक कृष्ण सुवेदी, कृष्ण गुरुङ, ज्योती लोहनी, सरुन गुरुङ, रमा राना, शोभा परियार, केश बहादुर गुरुङ, निता गुरुङ, ममता गुरुङ, भानु पौडेल, उमेश अधिकारी, सिम्रन, रश्मी सुनार, आँचल थापा, मनिष गायक र ममता सुनारको बेजोड प्रस्तुती रहने गाँशहर दोहोरी साँझले जनाएको छ ।
पोखरा: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदै छ । चलचित्र प्रदर्शनको मिति नजिकिएसँगै निर्माता टिम प्रचारप्रसारमा जुटिसकेको छ । मंगलबार पोखरा आइपुगेको ‘अन्जिला’ फिल्म निर्माता टिमले पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय महिला फुटबलकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ देखि देशभर प्रदर्शनमा आउने बताएको छ । फिल्म निर्देशक मिलन चाम्सले ‘अञ्जिला’ फिल्मले जीवन केःहो भन्ने बुझाउने बताउँदै बच्चाहरुलाई समेत फिल्म देखाउन आवश्यक रहेको बताए । ‘अञ्जिला चलचित्र एकपटक फिल्म हलमा पुगेर हेरिदिनुस्, यो फिल्म बच्चाहरुलाई लगेर देखाउनुस्, यसले जीवन केःहो भन्ने बुझाउँछ’, निर्देशक चाम्सले भने, ‘यो चलचित्र एउटा चलचित्र मात्र नभएर प्रेरणाको स्रोत बन्न सक्छ भन्ने आशा लिएको छु, यो चलचित्र सफल भए अन्य खेलाडीहरुको समेत बायोपिक बनाउछु ।’ निर्देशक चाम्सले कसैको बायोपिक बन्न बुढो हुनपर्छ परम्परा तोड्न पनि ‘अञ्जिला’ चलचित्र निर्माण गरेको दावी गरे । ‘यहाँ प्राय के प्राटिकल छ भने, बायोपिक बन्न त्यो मान्छे बुढो हुन पर्छ, उसले जीवनका कालखण्डमा धेरै अचिपमेन्टहरु हुनुपर्छ अनि मात्र बनिनुपर्छ भन्ने छ, कति चाँहि बितेर जान्छ, बितेर गइसकेपछि हामी चाँहि महान भन्छौ त्यो व्यक्तिलाई, त्यो एउटा पराम्परा भइसकेको छ, त्यो परम्परा तोडिनुपर्छ भन्ने हो, उनले भने, ‘ जो बोलेको छ, जसले राम्रो गरिरहेको छ, उसलाई योगदान पनि हुने भयो पहिलो कुरो, दोस्रो कुरा, उसलाई जीन्दगीभर एउटा सिनेमा जिवित राख्ने माध्यम बन्यो र एन्जिलाको नै बन्न पर्छ भनेर उसलाई रोज्यौ ।’ उनले एन्जिलाको बाल्यकालदेखि कप्तान हुँदासम्मका संघर्षहरु चलचित्रमा समावेश गरेको बताए । निर्देशक चाम्सले चलचित्र निर्माण गर्दाको समयमा राज्यले खेलकुद क्षेत्रमा प्राप्त लगानी नगरेको समेत गुनासो राखे । कलाकार माओत्से गुरुङले ‘अञ्जिला’ चलचित्र एउटा खेलाडीको संघर्षमा आधारित रहेको बताए । ‘व्यक्तिमा रहर छ, क्षमता छ, अवसर छ भने त्यो व्यक्तिलाई जन्मको आधारले पछि पर्नुपर्ने आवश्यकता हुँदैन’, कलाकार गुरुङले भने, ‘यदी त्यो व्यक्तिमा रहर छ, क्षमता छ र अवसर पाएको खण्डमा उसको जन्म चाँहे सुदूर या कुनै विकट ठाउँमा जन्मिएको किन नहोस् उसले अवसर पाएको खण्डमा प्रमाणित गर्न सक्छ, त्यो देखाएको पात्र चाँहि एन्जिला पात्र हो ।’ राष्ट्रिय महिला टिमकी कप्तान एन्जिला केही दिन अगाडि सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेलेर व्यवसायिक फुटबल प्रतियोगिताका लागि ग्रिस गइसकेकी छिन् । उनले व्यवसायिक फुटबल प्रतियोगिताका लागि नेपाल बाहिर भएकाले एक भिडियो सन्देशमा ‘अञ्जिला’ फिल्म हेरेर सहयोग पु¥याउन आग्रह समेत गरेकी छिन् । १३ वर्षको उमेर देखि फुटबल खेल्न सुरु गरेका कप्तान एन्जिलाले सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यू–१४ गल्र्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय खेल यात्रा सुरु गरेकी थिईन् । निर्देशक मिलन चाम्सले निर्देशन गरेको ‘अञ्जिला’ फिल्ममा अभिनेता दयाहाङ राई, कलाकार माहोत्से गुरुङ, सिर्जना सुब्बा, बिजय बराल, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।
पोखरा: नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्ला संस्करणजस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने जानकारी दिएको हो । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो । सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको छ । देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ । यसपटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत प्रवचनसँगै फेस्टिभल सुरू हुने कार्यकारी निर्देशक भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएओयू)को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए । विद्वत् प्रवचनलगत्तै अध्यात्म र संघर्षमाथि अभिनेत्री मनीषा कोइराला र पत्रकार विजय कुमारको विशेष संवाद हुनेछ । यसैगरी महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ । फेस्टिभलमा उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण हुने आयोजकले जनाएको छ । नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मको प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् । म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो हुन् । नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ । उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ । उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् । उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन् । फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए । ८९ वर्षीय सिंहको एक हजार ३२० पृष्ठको उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ । परम्परागत धुनदेखि पपसम्म वा यी दुवै विधाका सङ्गीतको मिश्रणले फेस्टिभलका साँझहरूलाई संगीतमय बनाउनेछ । सांगीतिक कार्यक्रमहरूमा प्रोजेक्ट सारङ्गीअन्तर्गत किरण नेपालीको नेतृत्वमा सामूहिक प्रस्तुति हुनेछ । त्यस्तै नेपाली संगीतका पप–सम्राटका रूपमा परिचित ओमविक्रम विष्टले पनि फेस्टिभललाई गुञ्जायमान बनाउनेछन् । परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सांगीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरु भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय संगीतको समिश्रण सुन्न सकिन्छ । सिर्जनाको अर्को विधा चित्रकलालाई यस वर्ष पनि प्राथमिकता दिइएको कार्यकारी निर्देशक भारीले सुनाए । यस संस्करणमा परम्परागत पौभा चित्रका विश्व प्रसिद्ध कलाकार लोक चित्रकारका चित्र प्रदर्शनीमा राखिने उनले जानकारी दिए । विश्वप्रसिद्ध भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभलको साङ्गे हुनेछ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौं पुस्तकले विश्वव्यापी चर्चा पाएका छन् । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फेस्टिभलका निर्देशक अजित बरालले सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभलको आयोजनापछि नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको र यो निकै खुसीको कुरा भएको बताए । ‘सुर्खेत, काठमाडौं, पोखरा, धादिङ, काँकडभिट्टा, विराटनगर र टीकापुरमा साहित्य र विचारका महोत्सव गरिँदै छ,’ उनले भने, ‘यस्ता फेस्टिभलले ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएको छ । यसको श्रेय नेपाल लिटरेचर फेस्टिभललाई जान्छ ।’ एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले सञ्चारको क्षेत्रबाट मात्र नभई कला र साहित्यबाट पनि आफूहरू समाजसँग जोडिएको बताइन् । कला–संस्कृति र साहित्य समाजको धरोहर भएको र एनसेल फाउन्डेसनमार्फत फेस्टिभलसँग १० वर्षपछि फेरि आबद्ध हुन पाएकोमा उनले खुसी व्यक्त गरिन् । ‘कला, साहित्य र संस्कृति हाम्रा धरोहर हुन् । यिनको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो । नेपाल लिटरेचर फेस्टिभलका सुरुका वर्षहरुमा हाम्रो सहयात्रा एकदमै राम्रो रह्यो । एक दशकपछि पुनः सहकार्य गर्न पाएकोमा हामी अत्यन्तै हर्षित छौं ।’ एनसेल फाउन्डेसनले सञ्चार, प्रविधि, शिक्षा, स्वास्थ्य, वातावरण, कला, संस्कृतिलगायत क्षेत्रमा २ अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको उनले जानकारी दिइन् । फेस्टिभल आयोजक सदस्य एवम् पत्रकार केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्वबारे चर्चा गरे । साहित्यले समाजमा पु¥याएका योगदानहरूका उदाहरण दिँदै उनले भने, ‘साहित्यले सामाजिक न्यायको क्षेत्रमा, मूल्य र मान्यता भत्काउने र निर्माण गर्ने काममा सघन भूमिका खेलेको हुन्छ । सँगै यसले अल्पसङ्ख्यक, पिछडिएका वर्गलगायतको भाषा, बोली, पिँधको आवाज र रोदनलाई मूलधारको मुद्दा बनाउने काम पनि गर्छ । नेपाली समाज पनि अझ बढी सहिष्णु, सहानुभूतिपूर्ण, स्वतन्त्रतावादी र सभ्य बनोस् भन्ने हाम्रो चाहना छ । त्यही कार्यलाई टेवा पु¥याउन नै नेपाल लिटरेचर फेस्टिभल आयोजना गरिएको हो ।’ फेस्टिभल आयोजक सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पु¥याएको विश्वास व्यक्त गरे । फेस्टिभलको आयोजक ३६ लाख ७३ हजार रूपैयाँ घाटामा रहेको कार्यकारी निर्देशक निरज भारीले पत्रकार सम्मेलनमा जानकारी गराए । एघारौं संस्करणमा एक करोड १० लाख ९२ लाख रूपैयाँ आम्दानी र एक करोड १४ लाख ७६ हजार रूपैयाँ खर्च भएको उनले सुनाए । गत संस्करणमा मात्र ३ लाख ८३ हजार ३ सय ६० रूपैयाँ घाटा भएको थियो । ‘दसौं संस्करणमा हामीसँग टाइटल स्पोन्सर थिएन । त्यसैले त्यो संस्करणको घाटा अहिलेसम्म व्यहोर्नुपरेको छ,’ भारीले भने, ‘पोखराका साहित्य प्रेमी र देशका अग्रज र समकालीन लेखकहरूको साथले हामीलाई यो फेस्टिभल निरन्तर गर्न झकझकाएको छ । नाफा घाटाभन्दा पनि फेस्टिभलले साहित्य र कला क्षेत्रलाई के दियो भन्ने प्रमुख विषय हो ।’ फेस्टिभलको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । फेस्टिभललाई बुद्ध एयरले सम्वद्र्धन गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ । त्यस्तै उप–प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिएका छन् ।
पोखरा: मिस मगर लोक दोहोरी गायिका निरा थापा मगरको दोश्रो प्रस्तुति ऋषिङ्गे भेना सार्वजनिक गरिएको छ । आफ्नै स्वर, अभिनय र लगानीमा थापा मगरले आफ्नै ऋषिङ र घिरिङ गाउँको मौलिक कौरालाई समावेस गरी ऋषिङ्गे भेना बजारमा ल्याएकी हुन । मिस मगर २०२३ तनहुँ जिल्ला घिरिङ गाउँपालिका डाँडाथोककी नीरा थापाले आफ्नो स्वर्गीय बुवा यम बहादुर थापा र स्वर्गीय दाइहरु तुल बहादुर थापा र प्रेम थापा प्रति समर्पित गरेर उक्त सांगीतिक कोसेली बजारमा ल्याएकी हुन । उक्त गीत आफ्नै युटुब च्यानल नीरा थापा मगरबाट सोमबार सार्वजनिक गरिएको छ । थापाले आफ्नो कोसेलीलाई माया गरिदिन आग्रह गर्दै गीतको माध्यामबाट लोक भाकाको संरक्षण र आफ्नो गाउँठाउँलाई विश्व सामु चिनाउने उद्देश्यले रहेको बताएकी छिन । उक्त गीतमा लिड भोकल दुर्गा गुरुङ र नीरा थापा मगरको रहेको छ भने कोरस भोकल रुपी सिंजाली मगर र रिया गुरुङको रहेको छ । रेशम गुरुङको लय तथा शब्द रहेको गीतमा तेजेन्द्र दुराले एरेन्जर गरेका छनभने खैंजडीमा मनाङ गुरुङले साथ दिएका छन । गीतमा पर्सन गुरुङले रेकर्डिङ संयोजन गरेका छनभने सुर साधना स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो । उक्त गितको डाइरेक्सन कोरियोग्राफी पर्सन गुरुङले गरेका छन् भने गायिका स्वयं र आनन्द गुरुङको मोडलिङ रहेको छ ।
गण्डकी: गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हुनमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बन्यो । मानिसहरू अबेर रातिसम्मै ठेलमठेल भएर उक्त नाच हेरे । रैथाने संस्कृतिको आनन्द बटुले । लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाचिरहेका कलाकारले दर्शकदीर्घाको मन जिते । नाच अवलोकनका लागि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकसहितका विशिष्ट व्यक्तिहरू पनि किनाराटोल आइपुगेका थिए । नौ वर्षको अन्तरालमा गत भदौ ११ मा सुरु भएको हनुमान नाच त्यसयता तेस्रोपटक विधिवत रूपमा नचाइएको हो । भदौ ११ बागलुङ नगरपालिका–३ नारायणचोक, मङ्सिर १५ मा वडा नं २ लोकतान्त्रिकचोक र शनिबार वडा नं ३ किनाराटोलमा नाच निकालिएको हनुमान संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यही फागुन १० गते राधाकृष्णटोलमा नाचको तयारी भइरहेको उहाँले बताउनुभयो । नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन र पूजाविधि गरेपछि हुनमान नाच सुरु भएको थियो । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परासमेत रहिआएको छ । नारायणचोकमा मुख्य पूजाआजासहित नाच सुरु गरेपछि बजारका विभिन्न टोलटोलमा पुगेर उक्त नाच देखाउने चलन छ । “टोल पूजाका रूपमा त्यो सञ्चालन हुन्छ, माग भए जिल्लाबाहिर पनि पुगेर नाच देखाउन सकिन्छ”, हनुमान नाचका मूलकजी (व्यवस्थापक) ईश्वरप्रसाद मलेपतिले भन्नुभयो, “टोल पूजा सकिएपछि यसपालिको हनुमान नाचलाई विधिवत रूपमा बिसर्जन गर्छौँ ।” यसअघि विसं २०७२ र विसं २०६३ मा हनुमान नाच देखाइएको उहाँको भनाइ छ । मेला–महोत्सवमा झाँकीका रूपमा नाच प्रदर्शन गर्ने गरिएपनि विधिवत रूपमा नाच निकाल्न भन लामो समय कुनुपर्ने अवस्था रहेको परिषद्ले जनाएको छ । हनुमान नाच खर्चिलो मानिन्छ । एकैपटक धेरै कलाकार र व्यवस्थापकहरू आवश्यक पर्ने हुँदा तयारीका लागि धेरै समय चाहिने मूलकजी मलेपतिले बताउनुभयो । उहाँका अनुसार यसअघि काठमाडौँ, भक्तपुर, पोखरा, भैरहवालगायतका ठाउँमा उक्त नाच प्रदर्शन गरिएको थियो । चैतको अन्तिम मङ्गलबार नाच समापन गर्ने पूर्वयोजना रहेपनि वैशाख–जेठसम्म नाच लम्बिने देखिएको उहाँको भनाइ छ । के हो ऐतिहासिक हनुमान नाच ? भक्तपुरबाट सुरु भएता पनि हुनमान नाच बागलुङ, बेनीलगायत सीमित ठाउँमा मात्र संरक्षित रहेको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो । तीन, पाँच, सात र नौ गरी बिजोर वर्ष पारेर नाच नचाउने परम्परा रहेको उहाँको भनाइ छ । पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको संस्कृतिकर्मी छोटाले बताउनुभयो । रामायणका प्रमुख पात्रसमेत रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गरिने उहाँको भनाइ छ । “नाचमा १३ जोडी कलाकारले हनुमानको स्वरुप धारणा गेरर दिने प्रस्तुति कलात्मक हुन्छ, विभिन्न दस तालमा यो नाच नाचिन्छ”, उहाँले भन्नुभयो, “यो पाँच सय वर्षभन्दा पहिले भक्तपुरबाट सुरु भएको नाच हो, पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हुनमान नाचको संस्कृति पनि सँगै ल्याए ।” बागलुङमा नेवार समुदायको इतिहास झण्डै तीन सय ५० वर्ष पुरानो छ । विसं १७ सय ६८ मा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । उहाँका अनुसार मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले हनुमान नाच सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार मात्र नाच्न मिल्ने पराम्परा छ । पछिल्लो समय नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा भाग लिने गरेका छन् । “धेरै कलाकार चाहिने हुँदा यो नाच महँगो छ, पूजाआजा, पोशाक, वाद्ययन्त्रलगायत सामग्री व्यवस्थापनमा खर्च बढी हुन्छ”, संस्कृतिकर्मी छोटाले भन्नुभयो, “नाच सञ्चालनको लागि प्रधान कजी (व्यवस्थापक), उपप्रधान कजी, कजी, पूजारी, वाद्यवादक, कलाकारलगायत एकैपटक सयौँ व्यक्ति खटिनुपर्छ ।” हनुमान नाच बागलुङकै ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा रहेको उहाँले बताउनुभयो । देवालय, सलामी, छ ताल, आठ ताल, १२ ताल, २४ ताललगायत गरी दश तालमा नाच नचाइने हुनमान नाचका वाद्यवादक नीरज शाक्यले बताउनुभयो । पुच्छरसहित हनुमानको भेष पहिरेका कलाकार एकापसमा लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाच्ने गरेको उहाँको भनाइ छ । नाच्ने क्रममा कतिपयलाई ‘वीर’ उत्रने गरेको छ । “बाजाको ताल छोपेर नाचिरहेका बेला क्तै ताल बिग्रियो भने पनि वीर उत्रने गर्छ, बाहिर दर्शकदीर्घामा रहेका व्यक्तिलाई पनि वीर उत्रन सक्छ”, उहाँले भन्नुभयो, “वीर उत्रेर शरीर काँप्ने, दौडने, भाग्ने गरेमा पुजारीबाट धूप सुँघाएर सामान्य अवस्थामा फर्काउने गरिन्छ ।” हनुमान नाचका अग्रज कलाकार शाक्यले पौराणिक ग्रन्थ रामायणको कथाका विभिन्न घटना तथा प्रसङ्गमा आधारित रहेर ताल र नाचको संयोजन गरिएको बताउनुभयो । “हुनमानले लङ्का घेरेकोदेखि लडाइँ जितेर विजयोत्सव मनाएकोसम्मका भाव र विषयलाई नाच र सङ्गीतद्वारा प्रस्तुत गरिन्छ”, उहाँले भन्नुभयो । बलियो हुने र आवाज राम्रो आउने हुँदा नाचमा पलाँसको लौरो प्रयोग गर्ने गरिएको छ । हुनमान नाचका मुख्य कलाकार ९ज्यामाको० नाच्न थालेपछि मात्र अन्य कलाकारले नाच्न सुरु गर्दछन् । नाचको उत्पत्ति भएको भक्तपुरबाटै लोप हुन लागेको हनुमान नाचको संस्कृति बागलुङमा भने जीवित छ । पछिल्लो समय युवा पुस्ता पनि हनुमान नाचप्रति आकर्षित छन् । हनुमान नाच सुरु हुनुपूर्व हप्तौँसम्म नाचको पूर्वअभ्यास हुने गर्छ । नाच र वाद्यवादनमा पारङ्गतहरूबाट हनुमानको कला र विधि नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ । हुनमान नाचबारेको ज्ञान, कला र शिल्प सिकाउने उद्देश्यले परिषद्ले बेलाबेलामा प्रशिक्षणसमेत चलाउँदै आएको छ । यसपालि पनि प्रशिक्षणबाट नाच र वाद्यवादनतर्फ झण्डै ५० जना किशोर र युवा छानिएका थिए । उनीहरू नै अहिले हनुमान नाचमा कलाकारका रूपमा सहभागी छन् । विसं २०४६ मा हनुमान नाच संरक्षण परिषद् गठन भएपछि बागलुङमा नाचको संरक्षण तथा प्रवर्द्धनमा संस्थागत पहल सुरु भएको हो ।
पोखरा: इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वस्तरीय अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरिसकेको छ । सिजन घोषणासँगै गण्डकी प्रदेशलाई नै समेट्ने गरि आउँदो फागुन १६ र १७ गते हुने पोखरा अडिसनको बारेमा बिहीबार पोखरामा मिट एण्ड ग्रीट आयोजना गरि जानकारी दिइएको छ । पोखरामा हुने अडिसन पोखरा बहुमुखी क्याम्पसमा हुने आयोजकले जनाएको छ । विश्वभर रहेका नेपालीहरुको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि यी दुवै रियालिटी शो सञ्चालन हुँदैछ । फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका विर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना गरिनेछ । अडिसनका बारेमा जानकारी दिन आयोजित पोखरामा भएको मिट एण्ड ग्रीट कार्यक्रममा फाउण्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईले अमेरिकाबाट भर्चुवल माध्यमबाट सम्वोधन गर्दै नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्नका लागि र नेपालीभाषी प्रतिभाहरुलाई चिनाउन यस्तो खालको रियालिटी शो आयोजना गरिएको बताए । ‘हाम्रो कला, संस्कृति, संस्कारजस्ता कुरालाई नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ –उनले भने । कार्यक्रममा बोल्दै फाण्डेसनका गण्डकी प्रदेश प्रमुख तथा गाएक राजेश बर्देवाले नेपाली संस्कृति र साँस्कृतिक पहिचानलाई संरक्षण, सम्वद्र्धन र उत्थान गर्नु फाउण्डेशनको मूलभूत उद्देश्य रहेको जानकारी दिए । साथै फागुन १६ र १७ गते हुने पोखरा अडिसनमा भाग लिन समेत उनले आग्रह गरे । सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट इन्ट्रा फाउण्डेसन डट ओआरजी () बाट आवेदन दिन सक्ने छन् । विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस जनालाई प्रतिस्पर्धाका लागि काठमाडौं लगिने आयोजकले जनाएको छ । साउनको अन्तिम साता काठमाडौंमा हुने फिनालेमा दुबै शोका विजेताहरुलाई १ करोड नेपाली रुपैंया पुरस्कार स्वरुप प्रदान गरिने छ भने, दोस्रो हुनेलाई २५ लाख रुपैया र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पोखरामा भएको मिट एण्ड ग्रीट कार्यक्रमको अध्यक्षता गरेका फाउण्डेसनका कास्की जिल्ला प्रमुख तथा कलाकार किसान सेवाले स्वागत मन्तव्य राखेका थिएभने हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञान बहादुर थापा, कलाकार तथा समाजसेवी लक्ष्मण श्री लगाएतले शुभकामना मन्तव्य राखेका थिए । सन् २०२३ मा यी दुवै रियालिटी शोको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भइसकेको छ । मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुंग निर्णायक (जज) को भूमिकामा छन् । यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को जजहरुमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेत् शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा छन् । त्यस्तै दुवै शोहरुका लागि चर्चित कार्यक्रम प्रस्तोताहरु रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखरेल र नम्रता श्रेष्ठ अनुबन्धित भैसकेका छन् ।
पोखरा: ‘द कोरस ब्याण्डले अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा आफ्नो २ वटा म्युजिक भिडियो गीत विमोचन गर्ने भएको छ । आगामी फागुन ११ गते आइतबार विविध सांगीतिक कार्यक्रमको आयोजना गर्दै विमोचन गर्ने तयारी रहेको ब्याण्डका भोकलिस्ट छुतमान गुरुङले बताए । उनका अनुसार उक्त दिन ‘जाली रुमाल र असारे महिना’ बोलको गीत सार्वजनिक गरिनेछ । भोकलिस्ट गुरुङले आफ्नो गाउँठाउँको सिर्जनालाई संगीतको माध्यमबाट प्रस्तुत गरिएकाले घान्द्रुकबाटै विमोचन गर्न लागिएको बताए । लब्सन गुरुङको निर्देशनमा बनेको ‘जाली रुपमाल’मा सरुन गुरुङले स्वर भरेका छन् । कोरस ब्याण्डको रचना तथा संगीत, म्युजिक एरेनजमेन्ट गोपाल रसाइलीले गरेका छन् भने, नविन थापाको छायांकन, ड्रोन विशाल तामाङ) र एकिन गुरुङ र दिनल पाइजा पुनको अभिनय रहेको छ । यस्तै ‘असारे महिना’मा छुतमानले आवाज दिएका छन् । यस्तै अमृत गुरुङ, जुना गुरुङ, सुरज गुरुङ र इशु गुरुङको अभिनय रहेको छ । ब्याण्डका सदस्यहरुमा सरुन गुरुङ (भोकल तथा मादल) छुतमान गुरुङ (भोकल), विनोद गुरुङ (लिड गितार), सुवास गुरुङ (बेस गितार), मनिष गायक (किबोर्ड), गुप्त गुरुङ (ड्रम) र एकिन गुरुङ ब्याण्ड व्यवस्थापक रहेका छन् ।
पोखरा: तामाङ समुदायको महान् पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गर्नुभएको छ । आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको भट्टले उल्लेख गर्नुभएको छ । शुभकामना सन्देश मार्फत् प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।’ सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ । सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले पनि आ–आफ्नै शैली र परम्परा अनुसार यो पर्व मनाउँदै आएको पाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।