पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

पोखरा:   लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् ।   ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्दा” पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका हुन् ।   इतिहास तथा संस्कार र संस्कृति गरि दुई भागमा विभाजित ‘‘मगर जातिको इतिहास’’ पुस्तक १७६ पृष्ठको छ ।   पुस्तकमा मगर जातिको परिचय, मगर जातिको प्राचीनता, मगरको उत्पत्ति, कसरी भयो मगर नामाकरण रु मगरात, मगरको मुल थलो, मगर राज्य र राजाहरु, मगरका थर र उपथर  , मगर भाषा, धर्म संस्कार, पूजा संस्कार, कर्म संस्कार, विवाह संस्कार, मगर समुदायका लोकबाजा लगायतका विषय समेटिएका छन् । पुस्तकको प्रकाशक हङकङ निवासी कविता थापामगर हुन् ।   यसैगरि २०७१ सालमा प्रकाशित भर्तीको फन्दा पुस्तकको परिमार्जित दोस्रो संस्करणमा पनि बजारमा आएको छ । पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हब ललितपुरले प्रकाशन गरेको २६० पृष्ठको भर्तीको फन्दा गोर्खा सैनिकको इतिहास सम्बन्धी पुस्तक हो ।    ‘भर्तीको फन्दा केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैन, यसले नेपाली समाज, खासगरिः मगर, गुरुङ, राई, लिम्बू लगायतका समुदायहरूको जीवन, संस्कार, संघर्ष र मनोविज्ञानलाई गहिरो रूपमा विश्लेषण गरेको छ’ प्रकाशन संस्था पिपलतुङ रिसर्च एण्ड डेभलपमेन्ट हबका अध्यक्ष माया रोकामगरले भनिन्,‘तत्कालिन समयमा राज्यले नै केही निश्चित जातिलाई छानिछानि भर्ती पठाइएको र त्यसले नेपाली समाजमा पारेको गहिरो असरलाई कृतिले उजागर गरेको छ ।’   पुस्तकले “लाहुरे” संस्कृतिको आकर्षण र त्यसका अन्तरनिहित पीडाहरूलाई ऐतिहासिक प्रमाण र जीवन्त कथनमार्फत प्रस्तुत गरिएको यस पुस्तकले स्थापित धारणा र विमर्शलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्न प्रेरित गरेको छ ।   अध्यक्ष रोकामगरका अनुसार पुस्तकले इतिहासलाई केवल गौरवगाथाको रूपमा मात्र नभई आलोचनात्मक दृष्टिले हेर्ने प्रयास समेत गरेको छ । यसले राज्य, समाज र व्यक्तिबीचको सम्बन्धलाई पुनः परिभाषित गर्दै, विगतका अभ्यासहरूको वर्तमानमा परेको प्रभावबारे गम्भीर बहसको ढोका खोलेको छ । “भर्तीको फन्दा” ले पाठक, अनुसन्धानकर्ता, नीति निर्माता तथा सरोकारवालाहरूबीच अर्थपूर्ण संवाद र बहसलाई थप सशक्त बनाउनेछ ।   लेखक मनोज घर्तीमगरले केही दिनमै पोखरा र काठमाडौंमा बृहत कार्यक्रम गरि किताबको विमोचन गर्ने बताएका छन् । उनले पाठकलाई सहज रुपमा उपलब्ध होस् भन्ने हेतुले विमोचन अगावै पुस्तक बजारमा पठाइएको सुनाए ।   नेपाल खुल्ला विश्वविद्यालयमा मगर इस्टडिजका अध्यापक लेखकले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी गर्दैछन् ।

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा रहेको गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ चैत २५ गते मिडटाउन  फिल्म हलमा पुन: प्रदर्शन हुन लागेको हो ।     सोम गुरुङको निर्देशनमा तयार भएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखरामा चैत १ गते भिआइपी (प्रिमियर) शो ६ र ७ गते श्रीकृष्ण चलचित्र हलमा प्रदर्शन गरिएको चलचित्रका निर्माता तथा नायक लामा अमृत गुरुङले जानकारी दिए ।     ‘घान्द्रुकको पर्यटकीय क्षेत्रमा निर्माण गरिएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखरामा चैत १ गते भिआइपी शोसहित ३ वटा शो प्रदर्शन भइसकेको छ’, निर्माता गुरुङले भने, ‘पोखरापछि विदेशमा समेत चलचित्र प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेका छौं, चलचित्र प्रदर्शनका लागि दर्शकहरुबाट माग आएपछि हामीले चैत २५ गते मिडटाउन फिल्म हलमा पुनः प्रदर्शन गर्न लागेका हौं ।’   चलचित्रमा निर्माता तथा नायक अमृत गुरुङ, लक्ष्मी गुरुङ, सुरज तमु र प्रिति गुरुङले प्रमुख भूमिका निर्वाह गरेका छन् ।    चलचित्रका निर्माता एवम् नायक लामा अमृत गुरुङले चलचित्रको माध्यमबाट घान्द्रुकको पर्यटन प्रवद्र्धन गर्न ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा चलचित्र, म्युजिक भिडियो, डकुमेट्री तयार गरिरहेको बताए ।

शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।   पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।   पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।   नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउँछ ।   नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ । यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ ।        यस अवसरमा गुम्बा दर्शन, धर्मगुरु र लामाबाट आशिर्वाद प्राप्त गर्ने परम्परा, विशेष परिकार खाप्से, डेशिल, गुथुक आदिको स्वाद लिनु र परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउनु नेपालीहरुको मौलिक पहिचान हो ।

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थापाको उपचारकै क्रममा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।   उनका अनुसार परिवारका सदस्य आइपुगेपछि औपचारिक घोषणा गर्ने तयारी छ।   परिवारका अन्य सदस्यहरू भारतको मुम्बईमा बसोबास गर्दै आए पनि सुनिल थापा काठमाडौंमा अपार्टमेन्टमा बस्दै आएका थिए।   सुनिल थापाले लामो समयदेखि नेपाली तथा भारतीय फिल्ममा काम गर्दै आएका थिए   ३०० बढी नेपाली फिल्ममा अभिनय गरेका सुनिल थापा 'राते काइँला' भनेर समेत चिनिन्थे। फिल्म ‘चिनो’मा ‘राते काइँला’ को भूमिकामा प्रस्तुत सुनिल त्यसयता सर्वाधिक खोजिने खलपात्रको रुपमा रहेका थिए।

पोखरा: पोखरा साहित्यकार एवं शिक्षासेवी क्षेत्रबहादुर कुँवरले अर्को कृति जीवन कथा (भाग–२) पाठकसमक्ष ल्याएका छन् । वसन्तपञ्चमीमा जन्मिएका उनको आफ्नो ८१ औं जन्मजयन्ती अवसरमा शनिबार पोखरा–१४, मझेरीपाटनस्थित निवासमा आयोजित समारोहमा कृति लोकार्पण गरिएको हो । शिक्षासेवी जर्ज जोनको प्रमुख आतिथ्यमा भएको समारोहमा भूगोलविद प्राडा कृष्ण केसी, प्राडा रामनाथ ओझा, नेपाल निवत्तृ शिक्षक समाज केन्द्रीय कार्यसमितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष तोयनाथ लामिछाने, निवृत्त शिक्षक समुदाय कास्कीका अध्यक्ष छविलाल आचार्य, कृति प्रकाशक पोखरा वाङ्मय प्रतिष्ठानका अध्यक्ष अलौकिक कवि देशभक्त सिंह कुँवर, कलाप्रेमी रामदेवी कुँवरलगायतले संयुक्त लोकार्पण गरेका हुन् । पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुखसमेत रहेका जर्ज जोनले क्षेत्रबहादुर विद्यार्थीकालमा निकै अध्ययनशील, मेहनती, मिलनसार र सहयोगी भावनाको रहेको बताए । आफूले विगतदेखि नै आदर्श व्यक्तित्वको रुपमा चिन्दै आएको पनि बताए । कृतिको समीक्षा प्राडा रामनाथ ओझाले गरेका हुन् । कार्यक्रममा उनीसहित भूगोलविद् प्राडा केसी, शिक्षक कमलराज ढुंगाना, अम्बिका राणालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कृतिको सम्पादन पत्रकार विजय नेपाल, शिक्षक कमलराज ढुंगाना र देशभक्त सिंह कुँवरले गरेका हुन् । सो अवसरमा ‘असल बुहारी’ को रुपमा पोखरा–१४ का बुहारीहरुलाई सम्मान गरिएको थियो । प्रतिष्ठान अध्यक्ष कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सञ्चारकर्मी तृसना गुरुङले गरेकी थिइन् । यसअघि, स्रष्टाको २०७७ को वसन्तपञ्चमीमै जीवन कथा (आत्मकथा) प्रकाशित भएको थियो । त्यसमा केही छुटेका घटनाक्रम, प्रसंग अहिलेको भाग–२ मा समेट्ने प्रयास गरेको स्रष्टा कुँवरले बताए । उनका हालसम्म ‘जिन्दगी हाँसो भनेको त आँसु पो रहेछ’, ‘मनको देश’ र ‘अलिकति बाँच्न सिक्दा’ (कवितासंग्रह) ‘संयोग भनौं या भाग्य’ (उपन्यास), ‘नारी स्वतन्त्रता र त्यसमाथिको बलात्कार’ (निबन्धसंग्रह), ‘भूमिगत अभिव्यक्ति’, क्षेत्रबहादुर कुँवर (जीवनीसंग्रह), जीवन कथा (आत्मकथा) प्रकाशित भइसकेका छन् । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष उनी पोखराका विभिन्न स्कुलमा प्रधानाध्यापक एवं अध्यक्ष भई सेवा पनि गरेका छन् । उनी छोरेपाटन मावि, धर्मस्थली निमावि, शुक्रराज बलभद्र माविका पूर्व प्रअ हुन् । साथै, निवृत्त शिक्षकहरुको संस्था निवृत्त शिक्षक समुदाय कास्कीका पूर्व अध्यक्ष पनि हुन् । 

पोखरा:   २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट  गरेको छ ।  पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भिजिट तथा साक्षात्कार कार्यक्रममा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सृष्टी श्रेष्ठ सहभागी भएका हुन् ।  कार्यक्रममा उपस्थित दर्शकले सिनेमाप्रति दिएको प्रतिक्रिया अत्यन्तै प्रशंसालायक देखियो । साक्षात्कारका क्रममा अधिकांश दर्शकले सिनेमाको कथावस्तु मन परेको प्रतिक्रिया दिएका थिए। समय सान्दर्भिक विषयवस्तु, पारिवारिक कथा र सामाजिक सन्देशले आफूहरूलाई छोएको दर्शकको भनाइ थियो।  हल भिजिटपछि कलाकारहरूसँग फोटो खिच्दै प्रतिक्रिया दिँदा दर्शकहरू उत्साहित र खुशी देखिन्थे। यसै अवसरमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सौगात मल्लले ‘भाइरल गोर्खे’ बाट राम्रो प्रतिक्रिया पाइरहेको बताए ।  “अहिले भाइरलको जमाना छ, विशेषगरी टिकटकमार्फत। यही समसामयिक विषयलाई आधार बनाएर यो सिनेमा निर्माण गरिएको हो,” उनले भने। सौगातले सिनेमाको छायांकन लमजुङ जिल्लाको भुजुङ गाउँमा गरिएको जानकारी दिँदै गोरखा क्षेत्रका विभिन्न सुन्दर भूगोललाई पनि सिनेमामा समेटिएको बताए। ग्रामीण परिवेश र आधुनिक प्रवृत्तिको संयोजनले दर्शकलाई फरक अनुभूति दिएको उनको विश्वास छ । अभिनेत्री सृष्टी श्रेष्ठ पनि ‘भाइरल गोर्खे’ बाट सन्तुष्ट देखिइन्। सिनेमामा आफ्नो अभिनयलाई दर्शकले रुचाएको प्रतिक्रिया पाउँदा खुशी लागेको बताउँदै उनले कथावस्तु समय सान्दर्भिक भएकाले हलमा दर्शकको आकर्षण क्रमशः अझै बढ्दै जाने विश्वास व्यक्त गरिन्।  “कथा राम्रो लागेकै कारण म यो सिनेमामा अनुबन्धित भएकी हुँ,” उनले भनिन्। पोखराबाट आफू निकै आशावादी भएर फर्किएको उनको भनाइ थियो। निगम श्रेष्ठको कथा तथा निर्देशनमा बनेको ‘भाइरल गोर्खे’ मा सौगात मल्ल, सृष्टी श्रेष्ठ, रिसी धमला, बुद्धी तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरूको अभिनय रहेको छ । समय सान्दर्भिक विषयवस्तु र सामाजिक सन्देश बोकेको यो सिनेमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमको दाबी छ ।  चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कास्की चलचित्र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

पोखरा:  कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रतियोगिता ‘कास्की आइडल’ को गायनतर्फको फस्ट रनरअप सुशान्त भण्डारी र सेकेन्ड रनरअप सबिना परियार भएका छन् । सन्तोष परियार र विशाल पाण्डेले गायनतर्फ सान्त्वना पुरस्कार प्राप्त गरे । यस्तै नृत्यतर्फ क्रिस्टिना जिसी फस्ट रनरअप, आकृषा पोखरेल सेकेन्ड रनरअप तथा लोजिना पटेल र ऋदम लिम्बू सान्त्वना भए । दुवै विधामा उपाधि विजेताले जनही रु. ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै फस्ट रनरअपले रु. ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा सेकेन्ड रनरअपले रु. १० हजार नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् । विगत डेढ महिनादेखि सञ्चालित आइडलका विभिन्न चरण पार गरेर दुवै विधामा ५र५ जना फाइनलमा प्रवेश गरेका थिए । रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले ‘कास्की आइडल’ जस्तो कार्यक्रमले स्थानीय तथा ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउँदै राष्ट्रिय स्तरका कलाकार जन्माउने आधार निर्माण गरेको बताए । कार्यक्रम संयोजकसमेत रहेका अध्यक्ष आदर्श पोखरेलले सामाजिक, साहित्यिक र सांस्कृतिक विकाससँगै युवा प्रतिभालाई उचित मञ्च प्रदान गर्नु नै प्रतिष्ठानहरूको उद्देश्य भएको बताए । लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले यस्ता कार्यक्रमले सांस्कृतिक पहिचान संरक्षण, प्रतिभा विकास र यस क्षेत्रको पर्यटन प्रवर्धनमा समेत योगदान पुर्‍याउने धारणा राखिन् । गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीतकार प्रतिष्ठान गीतकारको हकहितका लागि मात्र नभई समग्र साङ्गीतिकरसांस्कृतिक क्षेत्रको उत्थानका लागि क्रियाशील संस्था भएको बताए । उनले आगामी दिनमा पनि नेपाली वाङ्मयका विविध क्षेत्रमा प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना रहेको सुनाए । गायक रामभक्त जोजिजू तथा गायिका ईतु जोजिजूको समेत प्रस्तुति रहेको कार्यक्रममा अनिल ढुऽगाना र सनम गुरुङलगायतका कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन झलक गुरुङ र ज्योति खड्काले गरेका थिए । कार्यक्रममा रूपा गाउँपालिका–२ का वडाअध्यक्ष राजन सुवेदी, एचएम एजुकेसन सर्भिसका निर्देशक दुर्गाप्रसाद गुरुङ, उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, मन्टेश्वरी एसोसिएसनकी अध्यक्ष डा. ऋतु पौडेल, गीतकार रेशम रचक, समाजसेवी सन्तोष तिमिल्सिना, मधु क्षेत्री, डा. निराजन कोइराला, मदन घिमिरेलगायतले शुभकामना दिएका थिए ।

पोखरा:  पद्यमाप्रेम थिएटरको प्रस्तुति नाटक “मृत्यु यस्तो हुनु हुँदैन” पोखरा थिएटर, गैह्रापाटनमा पौष २४ गतेदेखि २७ गतेसम्म मंचन भइरहेको छ ।  साबित्रा पाठक (सबु) को लेखन तथा पंच सुब्बा गुरुङ र सितला अधिकारीको संयुक्त निर्देशनमा तयार भएको यो नाटकले दुर्व्यसनका कारण युवाहरूले भोग्नुपरेका पीडा र त्यसले परिवार तथा समाजमा पार्ने गहिरो असरलाई प्रभावकारी रूपमा उजागर गरेको छ । नाटक सरल कथावस्तु, सहज निर्देशन र मन छुने अभिनयका कारण दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्न सफल देखिन्छ । एक घण्टाको अवधिमा प्रस्तुत नाटकले दुव्र्यसन केवल व्यक्तिगत समस्या नभई पारिवारिक र सामाजिक संकट हो भन्ने सन्देश स्पष्ट रूपमा दिन्छ । नाटकको लेखक साबित्रा पाठक (सबु)ले समाजमा देखिँदै आएको यथार्थ पीडालाई नाटकमा प्रस्तुत गर्ने प्रयास गरिएको बताइन्। “दुव्र्यसनका कारण धेरै परिवार भित्रभित्रै पीडामा छन्। ती नबोलेका पीडालाई नाटकमार्फत आवाज दिन खोजिएको हो,” उनले भनिन्। नाटकका निर्देशक पंच सुब्बा गुरुङले सामाजिक जिम्मेवारी बोकेको नाटक प्रस्तुत गर्न पाउँदा सन्तोष लागेको बताए । “मनोरञ्जनसँगै समाजलाई सोच्न बाध्य बनाउने नाटक हाम्रो उद्देश्य हो । दर्शकको प्रतिक्रियाले हामी सही दिशामा छौँ भन्ने महसुस गराएको छ”, उनले भने। सह–निर्देशक सितला अधिकारीका अनुसार नाटकले युवाहरूलाई सही बाटो रोज्न प्रेरित गर्ने विश्वास लिएको छ । “युवाहरू लक्षित नाटक भए पनि यसको प्रभाव परिवार र समाज सबैमा पर्नेछ भन्ने हाम्रो विश्वास हो”,  उनले बताइन्। नाटक हेरेपछि प्रतिक्रिया दिँदै नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले नाटक समयसापेक्ष र सशक्त रहेको बताइन् । “समाजमा बढ्दो दुव्र्यसनको यथार्थ चित्रण नाटकले प्रभावकारी रूपमा गरेको छ। यस्तो नाटकले सामाजिक चेतना अभिवृद्धिमा ठूलो भूमिका खेल्छ”, उनले भने ।  चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्यालले नाटकले गम्भीर विषयलाई सरल र मार्मिक ढंगले प्रस्तुत गरेको उल्लेख गरे । “कलात्मक प्रस्तुति र सशक्त अभिनयमार्फत दर्शकलाई सोच्न बाध्य बनाउने नाटक बनेको छ । यस्ता सामाजिक नाटकको निरन्तरता आवश्यक छ”, उनले भने। त्यसैगरी चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल ले नाटकलाई समाजका लागि आवश्यक दस्तावेजको संज्ञा दिए । “दुव्र्यसनविरुद्ध चेतना फैलाउने यस्ता सिर्जनाले रंगमञ्चको सामाजिक उत्तरदायित्व पुष्टि गर्छ, उनले भने ।   पोखरा थिएटरका सञ्चालक परिवर्तनले पनि नाटकको प्रशंसा गर्दै सामाजिक विषयवस्तुमा आधारित सिर्जनालाई पोखरा थिएटरले प्राथमिकता दिँदै आएको बताए । “सामाजिक यथार्थ बोल्ने नाटक पोखरा थिएटरको मञ्चमा आउनु सकारात्मक कुरा हो । ‘मृत्यु यस्तो हुनु हुँदैन’ दर्शकका लागि अर्थपूर्ण नाटक बनेको छ”, उनले भने । कतिपय प्राविधिक कमजोरी देखिए पनि समग्रमा नाटकले दर्शकलाई समय बितेको पत्तै नहुने गरी कथा र भावनासँग जोड्न सफल भएको छ । सामाजिक चेतना, जिम्मेवारी र परिवर्तनको सन्देश बोकेको नाटक “मृत्यु यस्तो हुनु हुँदैन” सबैले हेर्नुपर्ने नाटकका रूपमा स्थापित हुँदै गएको छ।

पोखरा:  पद्याप्रेम थिएटरले आफ्नो तेस्रो प्रस्तुती नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ बिहिबारदेखि मञ्चन गर्ने भएको छ ।  गैह्रापाटनस्थित गन्धर्व नाटक घरको पोखरा थिएटरमा यही पुस २४ देखि २७ गतेसम्म ‘मृत्यु यस्तो हुनु हुँदैन’ नाटक मञ्चन हुने पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।  नाटकका लेखक सावित्रा पाठक (सबु) ले पोखरामा एउटी एकल आमाको घरको कथाको रुपमा यस नाटकलाई मञ्चन गर्न लागेको बताईन् ।  ‘मृत्यु यस्तो हुनु हुँदैन’, यो नाटक पोखराको एउटी एकल आमाको घर कथाको रुपमा मञ्चन गर्दै छौं, आफ्नो छोराछोरीलाई सम्हाल्दा सम्हाल्दै पनि कसरी गलत बाटोमा लागेर समाजमा कस्तो घटना निम्त्याउन सक्छन् भन्ने विषयलाई केन्द्रित गरेका छौं । नाटकका लेखक तथा निर्देशक सबुले भनिन् ।  यस नाटकमा विशेष गरी युवा पुस्ता र उनीहरुका अभिभावकलाई केन्द्रित गरिएको निर्देशक पञ्चसुब्बा गुरुङले बताए । बिहिबारदेखि मञ्चन हुने नाटक हरेक दिन ५ बजे र शनिबार १ र ५ बजे मञ्चन हुने निर्देशक गुरुङले बताए ।  यस नाटकलाई पञ्च सुब्बा गुरुङ र सावित्रा पाठक (सबुु)ले निर्देशन गरेका छन् । नाटकमा शीतला अधिकारी, रोशनी रामदाम, अभिषेक भुसाल, प्रदीप गौतम (प्रमोद), जय चापागाई, प्रतिमा गुरुङलगायतको अभिनय रहेको छ ।