पोखरा:  मिलन नेवारको ‘राजै’ गीत युटुबमार्फत सार्वजनिक भएको छ । गीतमा स्वर नेवारको छ भने निर्देशन सुरज थापाले गरेका हुन् । भिडियोमा राज बुढा, मिलन नेवार, विजय पुनमगर, प्रियंका गर्वुजा...

कुमार तामाङ, लमजुङ । माफ गर्नुहोस् महोदय !  यो बजेट शब्दको  ठेट नेपाली समकक्षी  थाहै भएन मलाई  लाग्छ यो शब्द  हाम्रै बोलिचालीको  ‘रकम’ सँग नजिक छ    सुन्दै रङ्गिन लाग्ने  रकम जो छ  साथैमा सधै ‘कम ’ भन्ने विशेषण  बोकी हिड्छ, लुखुर/लुखुर  एउटा आश्चर्य !  यो रकम  सफाचट / टाइसुटधारी ​सुटकेसधारी / लुटकेसधारी  सफा साडिवाला / महङ्गो गाडीवाला  पुटुक्क पुष्टिएको पेट  भोगटे झै भुक्क परेको गाला  गलाको महङ्गो माला  सबै सबैलाई सधै कम लाग्ने गर्छ    अर्को आश्चर्य  यो रकम यति पक्षपाती छ कि  सजिव भन्दा निर्जिव  हुदाखाने भन्दा हुनेखाने  जिवित भन्दा मृत  कामको भन्दा नामको  मामको भन्दा दामको  समिप बस्छ प्रत्येक साल    तसर्थ  दिन्छु भनेर ठोकुवा नगर्ने  लुते रकम हरेक बर्ष  दिइने छ / मिलाइने छ / देखाइने छ  पोस्याइने छ / लुकाइने छ  लुटाइने छ / लुटिइने छ  भन्दै अदृश्य भविष्यको  कल्पना मात्रै गर्छ  तर  दिने कसरी / कस्लाई / किन ?  केही बोल्दैन    जिउन सङ्घर्ष गर्नेहरुको  हुर्मत तिर्ने  रवाफी रकम  प्रत्येक वर्ष  पितृहरुको नाममा घ्वाप्पै घोप्टिन्छ    हरेक साल  मृत मदन,  स्वर्गबासी सान्दाजु  सान्दाजुको पनि भाई  पुष्पलाल, गणेशमान  हुदाँहुदाँ ​जिउदो हुदाँ अकुत कुम्ल्याएको  खुम बहादुर जी पनि  आफ्नो भागमा  रकम छुट्याउन सक्छन्    विडम्बना !  सर्वहाराको सवालमा  खुसुक्क बोल्छ  एकपाँऊ मल / त्यति नै जति बिऊ  एकदुई पत्ता सिटामोल  एक पुरिया  जिवनजल  स्कुले नानीहरुलाई  म्याद नाघेको एकपोका चाउचाउ  किरै सराबरिको मैदा / आटाको  रकम छुट्याइने छ  र...कम छुट्याइने ।  

यामबहादुर थापा मगर बागलुङ नगरपालिका -१०, भकुण्डे, धौलेचउर, बागलुङ   सकारात्मक सोच बोकेका अभियन्ताहरू शब्द बिना झल्किने दीप जस्तै अहिलेसम्म ओझेलमा छन् । ध्यानभन्दा टाढा, ध्वनि भन्दा मौन।   उनीहरूले सुझाव दिन्छन्, सल्लाह दिन्छन्, तर ती ध्वनि हावादारी भाइरलको कोलाहलमा हराउँछ। किनभने आज नकारात्मकता बिक्छ, भय बेचिन्छ, र विभाजन रमाइलो ठानिन्छ। सृजनशील विचार पर्खिरहेका हुन्छन् शान्त कोठामा तर चिच्याउने झूटा आरोपहरू स्क्रिन भरि फैलिन्छन्।   अब प्रश्न उठ्छ । कसरी सिर्जनात्मक बनाउने यो बिग्रिएको समाज? कसरी हुर्काउने ती सकारात्मक सोचका बिरुवाहरू जुन माटोमै बाँच्न चाहन्छन्, तर पानीको साटो विष पाउँछन्? सुरुवात आफैंबाट गरौं। एक विचार लेखौं— जुन जोड्छ, एक कथा बनाऔं— जसले पुल बनाउँछ, र एक दृष्टिकोण विकास गरौं । जो आलोचना होइन, समाधान खोज्छ। हामी सबै बन्न सक्छौं पथप्रदर्शक । जब नकारात्मकताको बिरूद्ध एक चोखो विचार उभिन्छ। जब ‘भाइरल’ होइन, ‘वास्तविकता’ बन्छ मूल्य। सकारात्मक सोच कमजोरी होइन, साहस हो। सल्लाह दिनेहरू हँसिला मात्र होइनन्, गम्भीर सपना देख्नेहरू हुन्। त्यसैले, हामी लेखौं, बोलौं, सिर्जना गरौं । शब्दमा गहिरो उज्यालो बोकेर, कथा बनाऔं— जुन टोड्ने होइन, टुटाउने होइन जोड्ने हो।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायमा ईद–उल–फित्रपछिको दोस्रो ठूलो पर्वको रूपमा बकर इद आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको उल्लेख गर्नुभएको छ ।   ‘यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ । साथै, सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ उहाँले भन्नुभएको छ ।   ‘विविधतामा एकता’ हाम्रो मौलिक राष्ट्रिय पहिचान हो भन्दै भट्टले हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन यो पर्वले योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।     ‘यस पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा उल्लेख छ । 

पोखरा:    विश्व वातावरण दिवसको अवसरमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ ।    विश्व वातावरण दिवसमा प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराका साथ विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सहभागितामा बिन्ध्यवासिनी मन्दिर परिषरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।    साथै, मोहरिया टोल क्षेत्र र विद्यालय परिसरमा पनि सरसफाई तथा फूलका विरुवाहरु रोपिएको प्राचार्य कृष्ण कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही सन्दर्भमा विद्यार्थीहरुले विभिन्न भनाईहरुसमेत प्रस्तुत गरेका थिए ।     सोही क्रममा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुबीच विश्व वातावरण दिवसको थिममा चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो ।   सो प्रतियोगितामा कक्षा ७ की सृष्टिका कोइराला प्रथम , कक्षा ८ का छात्रा उपासना रेग्मी द्वितीय र कक्षा ८ का छात्र नोआ ब्रमशा तृतीय भइन् ।   उक्त प्रतियोगिताको निर्णायकको भूमिकामा कला शिक्षिका अनिता थापा रहेकी थिइन् ।   प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई  प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । भने, कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गरेका थिए ।      

काठमाडौं:  भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी प्रस्तुतिमार्फत हजारौँ नेपाली दर्शकलाई मन्त्रमुग्ध पार्नुभयो । पहिलोपटक नेपाल आउनुभएकी अभिनेत्री फतेहीले कार्यक्रममा नेपाली कला र आतिथ्यताको बारम्बार प्रशंसा गर्नुभयो । उहाँले नेपाल र नेपालीबाट आफ्ना गीतले पाएको अपार माया आफ्ना लागि ऊर्जाको स्रोतसहित अविस्मरणीय रहेको बताउनुभयो । “नेपाली कलाकारहरूले मेरा गीतमा गर्नुहुने नृत्य प्रस्तुतिसँग राम्रोसँग परिचित छु र उहाँहरूका ‘डान्स क्लिप’हरू पनि हेर्ने गर्छु । मेरा केही नेपाली साथीहरू पनि छन्, मलाई नेपालबाट प्राप्त हुने मायाकाबारेमा उहाँहरूले पनि भन्नुहुन्छ”, अभिनेत्री फतेहीले भन्नुभयो । प्रस्तुतिका क्रममा उहाँले अप्रत्याशित रूपमा नेपाली कलाकार सुशान्त खत्रीलाई मञ्चमा बोलाएर सबैलाई चकित पार्नुभयो । त्यसो त कलाकार खत्रीको आगमनबारे दर्शकसँगै आयोजक पनि बेखर थिएँ ।  ‘मेरो नेपाली साथी जो, धेरै प्रतिभावान् छन्’ भन्दै अभिनेत्री फतेहीले कलाकार खत्रीलाई मञ्चमा स्वागत गर्नुभयो । दुवैले ‘गेहरा समन्दर’ गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दा ‘हुटिङ’ सहित दर्शकले तालि बजाएर धन्यवाद व्यक्त गरेका थिए । यतिमात्र नभई सामाजिक सञ्जालमा आफ्ना श्रव्यदृश्य तयार पार्ने (कन्टेन्ट क्रिएटर आर्टिस्ट) गौरव सिटौलालाई दर्शककै भिडमा चिनेर अभिनेत्री फतेहीले मञ्चमा लानुभयो । उहाँ दुईले ‘दिलवर’ मा प्रस्तुति दिनुभयो । अभिनेत्री फतेहीका गीतहरूमा आकर्षक र ऊर्जावान् प्रस्तुतिसहितको श्रव्यदृश्य तयार गरेर सामाजिक सञ्जालमार्फत सिटौलाले सार्वजनिक गर्दै आउनुभएको छ । “म अभिनेत्री फतेहीको ठूलो प्रशंसक हुँ । मैले उहाँको हरेक गीतको नृत्यलाई मञ्च वा श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छु । आजसँगै नाच्न पाउँदा निकै उत्साहित छु”, सिटौलाले भन्नुभयो । आफ्नो २३ सदस्यीय नृत्य टोलीसँग करिब ४० मिनेटसम्म अभिनेत्री फतेहीले लोकप्रिय गीतमा ऊर्जावान् प्रस्तुति दिनुभयो । उहाँ आफैँले गाउँनुभएको ‘स्नेक डान्स’ बाट प्रस्तुतिको सुरुआत गर्दै ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता गीतहरूमा दर्शकलाई नचाउनुभयो । “नेपालमा दर्शकले देखाउनुभएको माया र आतिथ्यताले मलाई झनै ऊर्जा थपिएको छ । यहाँ मैले निकै माया पाएकी छु, यो सुन्दर देशका मानिस पनि सुन्दर छन्”, फतेहीले आफ्नो अनुभव सुनाउनुभयो । यही जेठ ३ गते शनिबार बिहान आफ्ना दुई सहयोगीसहित काठमाडौँ आइपुग्नुभएकी अभिनेत्री फतेही आज आइतबार बिहान संयुक्त अरब इमिरेटस् प्रस्थान गर्नुभयो । कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ कार्यरत सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगका वल्र्डवाइड फिल्मस्का देव मगर र मनु मिडियाका मनिष कार्कीले आयोजना गर्नुभएको हो । उक्त कार्यक्रममा अभिनेत्री फतेहीका साथै नेपाली कलाकारहरू गायक दुर्गेश थापा, प्रतिभाशाली नृत्याङ्गना तेरिया मगर र समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट पाँच कलाकार प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई तथा इन्द्रकला राईले पनि आ–आफ्नो प्रस्तुति दिनुभयो । भारतीय र नेपाली कलाको यो सुन्दर संयोजनले कार्यक्रमलाई थप आकर्षक, मनोरञ्जक र अविस्मरणीय बनाएको थियो ।

काठमाडौंः  प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले पहिलो साता राम्रो ग्रसकलेक्सन गरेको छ ।  पहिलो साता यो चलचित्रले पाँच करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ ।  निर्माण कम्पनी आर्टमाण्डू नेपालले निर्माण गरेको चलचित्रमा नवीन चौहानको लेखन तथा निर्देशन छ ।  अहिले पनि यो चलचित्र उच्च शोसहति चलिरहेको छ । चलचित्रमा विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपांगी मगर, सुनील पोखरेललगायतको अभिनय छ । 

पोखरा:   कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् ।   उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् ।    देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिए ।    देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूह समेत रहेको बताइएको छ । उनले  कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन् ।   त्यस्तै  शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् ।   हिजो पोखरा आइपुगेका उनले  देवी प्रतिभाको कथा वाचन समुद्घाटन कार्यक्रममा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ ।   संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो ।   विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।   यस अवसरमा आज बिहान राजधानीमा सम्पदा पदयात्रा गर्न लागिएको पुरातत्व विभागले जनाएको छ ।   विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ तथा बागमती प्रदेश हस्तकला सङ्घको आयोजनामा पदयात्रा गर्न लागिएको विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले राससलाई जानकारी दिए ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थिपतिमा हुने पदयात्रामा संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाको पनि सहभागिता रहने जनाइएको छ । स्वयम्भूको भुइँखेलबाट सुरु हुने पदयात्रा हनुमानढोका दरबार क्षेत्रमा आएर समापन हुने उनले सुनाए ।   सम्पदा प्रभाव मूल्याङ्कन गरिने   सम्पदास्थल नजिकै पूर्वाधार निर्माणका काम गर्दा सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएको छ ।   यसअघि ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था थियो । सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा भने सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको हो ।   पूर्वाधार निर्माणले सम्पदास्थलमा क्षति पुग्न थालेपछि सरकारले यस्तो व्यवस्था गरेको हो । पुरातत्व विभागले दुई वर्षअघि सम्पदा प्रभाव मूल्याङ्कन कार्यविधि बनाएको महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिए ।   सम्पदा प्रभाव मूल्याङ्कनका लागि नेपालमा सरकारीस्तरबाट दिइएको यो पहिलो तालिम गत वर्ष दिइएको विभागले जनाएको छ । यसरी तालिम लिएका जनशक्तिबाट नै सम्पदा प्रभाव मूल्याङ्कन सुरु भएको उनले बताए ।   विभागले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा गर्न लागेको संशोधनमा पनि सम्पदा प्रभाव मूल्याङ्कनको विषय पारेको छ ।   ऐन संशोधन गर्न समय लाग्ने भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीस्तरीय निर्णयबाट दुई वर्षअघि कार्यविधि स्वीकृत गराएर सम्पदा संरक्षणका लागि सम्पदा प्रभाव मूल्याङ्कन सुरु गरिएको हो ।

पोखरा:    सांगीतिक विरासत फर्काउन पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम लमजुङको वेशीसहरमा गुञ्जिएको छ ।   पोखराको अपार सफलतापछि देशव्यापी अभियान शुरु गरेको ‘व्याक टु नाइन्टिज’को थर्ड एडिसन वेशीसहरमा उत्साहजनक सहभागितामा सोमबार साँझ सम्पन्न भएको हो ।   वेशीसहर युथ सोसाइटी सेरा लमजुङले रक्त अभावको समस्याको स्थायी समाधान खोज्नका लागि ब्लड डोनर्स एप्स निर्माणार्थ ‘हाम्रो संगीत हाम्रो अभियान, रत्तदाताको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरेको कार्यक्रममा ६ वटा राष्ट्रिय व्याण्ड एउटै स्टेजमा गुञ्जिए ।   नब्बेको दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोण्ड व्याण्ड वेशीसहरमा गुञ्जिदा दर्शकहरु मन्त्रमुग्ध भए ।   पानी परेपछिको खुलेको सोमबार साँझ लमजुङको वेशीसहरमा दर्शकहरु रमाइलो गर्ने मूडमा थिए । कार्यक्रमको साक्षी बस्न र ऐतिहासिक पललाई स्वर्णिम बनाउन युवायुवतीहरुको भीड थियो । सांगीतिक उत्सवमा जब कार्यक्रम सञ्चालक मनकुमार श्रेष्ठले व्याण्डहरुको नाम लिन्थे, उनीहरु समर्थनमा हुटिङ बजाउँथे । अनि व्याण्डहरुको गीत बज्दै जाँदा तालमा ताल मिलाउँदै गाउँथे र नाच्थेपनि ।   समयको पावन्दीले आफ्नो समयका हिट हिट गीतमात्र गुञ्जाउँदा दर्शक गीत, संगीतमा लठ्ठिए । डि–मर्चाले ‘शिवजीको बस्ती छ’ गाउँदा होस् वा ‘झ्याम्म झ्याम्म’ गाउँदा दर्शक कम्मर मर्काईमर्काई नाचे । अन्तिममा प्रस्तुती दिएको डिमर्चालाई थप गीत गाउन हुटिङ आईरह्यो तर समय पावन्दीले दर्शकको धित नमारी कार्यक्रमको बिट मार्नुपरेको थियो ।   त्यसअघि लेकाली व्याण्डले ‘यो मुटुमा’, ‘पहिलो नजर’लगायतका हिट हिट गीतहरु गाउँदा दर्शकको वान्समोरको हुटिङ पाईरह्यो । अर्का लेजेण्डरी गायक कर्णदासको मध्याह्न व्याण्डले सोँच्दासोंच्दै होस् वा ‘मनमनै मनपराई सकेछु’ ‘जिन्दगीको के भरोसा’लगायतका चर्चित गीतहरु गाउँदा दर्शक नोस्टाल्जिक भए ।   ब्रोसिस व्याण्डले ‘चाईना कम्पनी’, देउराली व्याण्डले ‘ढुंगेसाँघुको मेलामा’ र भेगाबोण्ड व्याण्डले ‘जीवन हो घामछायाँ’लगायतका चर्चित गाउँदा लयमा लय र तालमा ताल नमिसाउने कोहि थिएनन् ।   कार्यक्रममा कोहि आफू सुन्दै हुर्किएका गीत सुन्न आएका थिए त कोहि ‘बा’ पुस्ताको सदाबहार गीत सुन्न आएका थिए । आफूहरुको उद्देश्य अनुसार नै युवा, अधवैंशे र बा पुस्तालाई सांगीतिक उत्सवमा समेट्ने प्रयास वेशीसहरमापनि सफल भएको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले बताए । उनले भने,‘जहाँ दर्शकले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लेओस् । नया पुस्ताले बा पुस्ताको गीत सुनेर त्यो समय बुझोस भन्ने हो, त्यसमा हामी सफल भएका छौं ।’   ‘व्याक टु नाइन्टिज’को देशव्यापी अभियान अन्तर्गत ब्लड डोनर्स एप्स निर्माण गर्ने पवित्र उद्देश्य राखेर वेशीसहरमा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘सांगीतिक विरासत फर्काउनका लागि योगदान दिन पाउनु अहोभाग्य हो । यसमा सहयोग गर्ने सबैलाई धन्यवाद’–उनले भने ।   ‘व्याक टु नाइन्टिज’को आगामी अभियान विराटनगर, भक्तपुर, र चितवनमा हुने कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए ।   कार्यक्रममार्फत संघले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक व्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै पर्यटनको राजधानी पोखरालाई रिब्राण्डिङ गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्नेलगायतका उद्देश्य रहेको छ ।   अभियानमा पोखरा महानगरपालिका प्रवद्र्धकका रुपमा रहनेछ ।