गण्डकी: अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मङ्गलबार एकार्काका गीत फेसबुकमा साझा गरे । पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै...’ गीतलाई फेसुबकमा राखे र ठट्यौली शैलीमा लेखे, ‘दाई बाटो नछोड्ने ?’, त्यतिञ्जेल थापाको उक्त गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा थियो । सपुतको फेसबुक पोस्ट आएको केहीछिनमा थापाले पनि सपुतको गीत ‘साँझ पर्यो झमक्क...’ लाई आफ्नो फेसबुकमा साझा गरे । सपुतको प्रशंसा गर्दै थापाले फेसबुकमा लेखेका थिए, “हामी सबै कलाकार एउटै परिवारको दाजुभाइ हौँ, मिलेर अगाडि बढ्ने हाम्रो संस्कार हो, भाइलाई सफलताको अग्रिम शुभकामना ।” थापाले यसो लेखिरहँदा सपुतको गीत ‘साँझ पर्यो झमक्क...’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा थियो । सपुत र थापाले जसरी एकार्काप्रतिको शुभेच्छा र सम्मानभाव दर्शाए आखिर भयो पनि त्यस्तै । सपुतको गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लियो । थापाको गीतले केही दिन युट्युब ट्रेन्टिङको शीर्षस्थान कायम रहँदै मनग्य दर्शक÷स्रोता मन जित्न सफल रह्यो । अहिले दोस्रो स्थानमा रहेको उक्त गीतले ६१ लाखभन्दा बढी ‘भ्यूज’ बटुलिसकेको छ । अहिले युट्युब ट्रेन्टिङको पहिलो स्थानमा रहेको सपुतको गीत ‘साँझ पर्यो झमक्क...’ ले हालसम्म २८ लाख बढी ‘भ्यूज’ पाएको छ । चलचित्र निर्देशकसमेत रहेका सपतुद्वारा निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश उक्त गीतमा सपुत र गायिका शान्तिश्री परियारको स्वर छ । चलचित्र ‘वसन्त’ आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउँदैछ । रोधीको संस्कृतिमा आधारित उक्त गीतले गाउँले परिवेशको झल्को दिन्छ । गीतको शब्द र सङ्गीत रचना पनि सपुत आफैँले गरेका हुन् । चलचित्र ‘वसन्त’मा उनी आफैँ मुख्य पात्रका रुपमा देखिँदै छन् । थापाको गीत ‘दुश्मन हेरेको हेरै...’मा उनीसहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ । थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पारेका हुन् । गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतका अभियन रहेको छ । उनकोको गीत दुई साताअघि र सपुतको गीत एक साताअघि युट्युबमा सार्वजनिक भएको थियो । दुवैले आफ्नै नामको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन् । बागलुङको धम्जामा जन्मिएका सपुत र गलकोटमा जन्मिएका थापा साङ्गीतिक क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल भएका छन् । बहुप्रतिभाशाली कलाकार सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सृजनामा मुखरित गर्न पारङ्गत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन्। विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रूपमा चिनिन्छन् । मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुगेका उनका गीतका म्युजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ बटुल्न सफल भएका छन् । सयौँ गीतमा अभियन र स्वर दिएका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा...’ लगायत गीत चर्चित छन् । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिएका छन् । पहिलोपटक दीपक÷दीपाको चलचित्र ‘छ माया छपक्कै...’ मा प्रोमोशनल गीत गाएका थापाले गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएको ‘उठेर नाचिस्यो...’ गीत पनि चर्चित बनेको थियो । छिट्टै प्रदर्शनका आउन लागेको ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन...’ गीतको सङ्गीत र शब्द पनि उनले रचना गरेका हुन् । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन् । थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’का रूपमा आफूलाई चिनाउन चाहान्छन् ।
काठमाडौं: पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटेर निर्देशक दीपेन्द्र गौचनले चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको छ । वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक गौचनले नेपाली चलचित्रमा कमै देखिने मधेशको कथालाई विषय बनाएको बताउनुभयो । उहाँले भन्नुभयो,“म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ । किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन् । जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु । मैले निर्माण भइरहेका भन्दा केही फरक कथा र विषयलाई दर्शकसम्म ल्याउने कोसिश गरेको हुँ ।” निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबिच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको बताउनुभयो । सोही कारण उहाँले चलचित्रका अधिकांश दृश्यमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई समेट्नु भएको छ । उहाँले दुई मात्रको मनोविज्ञान र रहनसहनले दुई भिन्न समुदायको प्रतिनिधित्व गर्ने बताउनुभयो । “चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यही भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ । यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने प्रचलन बढिरहेको छ । चलचित्रले हामीलाई आफूभित्रको खुसी खोज्न प्रेरित गर्छ”, निर्देशक गौचनले भन्नुभयो । चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा हुनुहुन्छ । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गर्नुभएको छ । यो चलचित्र माघ ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
पोखरा: संधै वियोगान्त गित गाएर दर्शकलाई रुवाउने लोक तथा दोहोरी गायक बद्री पंगेनीले १३ औं संस्करणको पोखरा महोत्सवमा भने दर्शकलाई नचाएका छन् । प्राय महोत्सवहरुमा आमा दिदीबहिनीहरुलाई लक्षित गरी प्रस्तुत हुने बद्री पंगेनीले पोखरा महोत्सवको आठौं दिन भने भिन्न शैलीमा आफ्नो प्रस्तुती राखे । भान्छे चलेन बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका पंगेनीले युवाहरु माझ लोकप्रिय बनेको चिना हेराउदा भन्ने गीत प्रस्तुत गर्दा दर्शहरु बद्री संगै झुमे । बद्रीले झ्याउरे, ससुराली लगायतका गीतहरु संगै दोहोरी समेत गाएका थिए । महोत्सवमा बद्री पंगेनी संगै चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरीता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हाँस्य कलाकार पवन खतिवडा ९म्याकुरी० को प्रस्तुतीमार्फत दर्शकहरुले मनोरन्जन लिए । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ कबवेवको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवको आठाौं दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकहरुमो उल्लेख्य सहभागिता जनाए । महोत्सवमा दर्शकको उपस्थितीसंगै महोत्सवमा राखिएका स्टलहरुमा समेत उल्लेख्य मात्रामा ब्यापार भएको महोत्स्व अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवको नवौं दिन आज भने लोकदोहोरीतर्फ श्याम राना, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शरला पाण्डे, इब्सल सन्ज्याल, कृष्ण सुवेदी, तुलसा क्षेत्री, जगत गौडेल, मधु थापा मगर र हाँस्य ब्यंग्यतर्फ पुर्खे बाको प्रस्तुती रहने महोत्सव कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी साँझको लाइभ कन्सर्टतर्फ रक हेड्सको प्रस्तुती रहने समेत संयोजक तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको दोश्रो दिन बिहीबार कास्की मोडनाइज्ड स्कुल, बाल कल्याण बीचको प्रीतस्पर्धामा कास्की मोर्डनाइज्ड फाइनलमा प्रवेश गरेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
बेनी नगरपालिका– १ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् । अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरूले मगर, क्षेत्री, थकाली, ब्राह्मणलगायत जातजातिको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन् । पर्यटकलाई जातजातिको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी गर्न थालेका हुन् । स्थानीय रामकृष्ण पुनले एक जोडा पोसाक एक घण्टा प्रयोग गरेबापत दुई सयदेखि ३५० सम्म लिने गरेको बताए । ‘मसँग १५ जोर मगर ड्रेस छन्,’ उनले भने, ‘दिनमा १० देखि १५ जनाले भाडामा लैजानुहुन्छ ।’ रेस्टुरेन्ट सञ्चालकसमेत रहेका थापाले पर्यटकको तस्बिर पनि खिचिदिने गरेका छन् । एउटा तस्बिर खिचेबापत रु. २० लिने गरेको थापाले बताए । रत्नेचौरमा महिला सहकारी संस्था र अन्य रेस्टुरेन्ट तथा पसलहरूले पनि जातीय पोसाक भाडामा लगाउने गरेका छन् । आकर्षक देखिने भएकाले जातीय पोसाक पर्यटकको रोजाइमा पर्ने गरेको छ । बागलुङबाट रत्नेचौर आएकी स्मृति रानाले मौलिक पोसाकमा सजिएर खिचेको तस्बिर र बनाएको भिडियो स्मरणयोग्य भएको बताइन् । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा पहेँलै फुलेको तोरीको आकर्षक दृश्य हेर्दै रमाउन र वनभोज खान आउनको यहाँ भिड लाग्ने गरेको वडाध्यक्ष टेकबहादुर थापाले बताए । यहाँ दैनिक तीन सयदेखि पाँच सयजना आउने गरेका स्थानीय कुशल शर्माले बताए । उत्तरतिर सेता हिमशृंखला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बिचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पर्यटक आउने गरेका हुन् । रत्नेचौर र बागलुङको कुडुले (फेदी) जोड्ने ३८८ मिटर लामो झोलुङे पुल पनि यहाँ आउने पर्यटकका लागि अर्को आकर्षणको केन्द्र हो ।
पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा बुधबारदेखि विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बुधबार सेन्ट मेरिज स्कुल सेमी फाइनलमा प्रवेश गरेको छ । बुधवार सेन्ट मेरिजले बालकन्याण, कालिका मावि र अमरसिंह मावि (बि )लाई पछाडि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । १४ टिमको सहभागीता रहेको विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको दोश्रो दिन बिहीबार कास्की मोडनाइज्ड स्कुल, हार्वड ई. बोर्डिङ स्कुल र ज्ञान गंगा बोर्डिङ स्कुल बीच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ४ गते शुक्रबार बेसलाइन ई. बोडिङ स्कुल, पोखरा युनाईटेड एकेडेमी र अमरसिंह मावि (ए) बीच प्रतिस्पर्धा रहने छ । माघ ५ गते सरस्वती ई. बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी ई. बोर्डिङ स्कुल, विभुति शिक्षा सदन र प्यारामाउण्ट पब्लिक स्कुलबीच प्रीतस्पर्धा रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । प्रचार प्रसार संयोजक दिनेश सुनारका अनुसार प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ४५ हजार, शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र तृतिय हुनेले नगद २० हजार शिल्ड र प्रमाण पत्र र शान्तवना स्थान हाँसिल गर्ने दुई वटा टिमले जनही नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । सातौं दिन सम्म आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागीता जनाएका छन । महोत्सवमा दर्शकको आगमन संगै महोत्सवमा राखिएका स्टलहरुमा समेत ब्यापार बढेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा बुधवार लोक तथा दोहोरी गायिका अस्मिता अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्न लिएका थिए । अधिकारी संगै चोलेन्द्र पौडेल, तारापति सुवेदी, तुलसा क्षेत्री, ज्योती लोहनी, बसन्ती थापा मगर, कमला सुनार, परशुराम अधिकारीको दोहोरी प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने राजेन्द्र गिरी ९गुन्दु्रके०को हाँस्यब्यङ्ग्य प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए । साँझको लाइभ ब्याण्ड तर्फ सुगम पोखरेल एण्ड बाजागाजाको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सवको आठौं दिन लोक दोहोरी तर्फ लोक तथा दोहोरी गायक बद्री पंगेनी, चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरीता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हाँस्य कलाकार पवन खतिवडा ९ म्याकुरी० को प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्ट तर्फ कबवेवको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा युनाईटेड क्लबले निर्माण गर्न लागेको युनाईटेड छात्राबास निर्माणको लागि स्व. राम बहादुर थापाको स्मृतीमा जेष्ठ नागरिक समाज नेपाल कास्कीको अक्षयकोषको ब्याजबाट नगद पाँच हजार १ सय संस्थाका सचिव ईच्छा बहादुर वाग्लेसहित छोराहरु शान्त बहादुर थापा, सुनिल बहादुर थापा र शुशिल बहादुर थापाको उपस्थितीमा महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुलाई प्रदान गरिएको थियो ।
विसं २०७२ को भूकम्पले क्षति पु-याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनःनिर्माण भइसकेको छ भने दुई संरचना पुन: निर्माण हुन बाँकी छ । उक्त सम्पदा पुन:निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । राणकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुन:निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारत सरकारको सहयोगमा पुन:निर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुन:निर्माण अघि बढेको छ ।” करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मन्दिरको पुन:निर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ । भूकम्पले क्षति पु-याएका केही संरचना पुन:निर्माण भइ उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरुको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो । उहाँका अनुसार पाटनदरबारको सबैभन्दा ठूलो मन्दिरको रुपमा चिनिने देगुतलेजु मन्दिर पुन:निर्माण सम्पन्न भएको छ । विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भएपनि आर्थिक अभावका कारण पुन: निर्माण सम्पन्न हुनसकेको छैन । विभिन्न दाताहरुको सहयोगबाट पुन:निर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ ।
पोखरा: पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुर स्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको छ । उक्त नाटकघर चर्चित कलाकार अनुप बरालको सक्रियतामा निर्माण भईरहेको छ । नाटकको प्रदर्शकन इन्द्रेणी थिएटरले गर्ने थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । उक्त नाटक ईन्द्रेणीको छैटौ प्रस्तुतीमा निर्माण हुन लागेको हो । नाटकको लेखन केदारनाथ पौडेलले नै गरेका हुन् । झण्डै एक वर्ष अगाडि लेखेको नाटकमा पोखराबाट काठमाडौं जाने यात्रुबाहक बसमा हुने विभिन्न क्रिया र प्रतिक्रियालाई समेटिएको छ । एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जिविकोपार्जन गरिरहेको छ र त्यो भित्र कस्ता खालका समस्या छन् भन्ने बारेमा दर्शकलाई जानकारी दिईनेछ । आफुलाई पोखराबाट काठमाडौं जाने क्रममा देखिएका दृष्यलाई मञ्चमा उतार्न लागिएको लेखक पौडेलले बताए । सबै मानिस बस चढेर गन्तव्यमा पुगेपनि यसरी गन्तव्यमा पुर्याउने बस र त्यसका कामदारका समस्या के हुन् भन्ने यात्रुले खासै ध्यान नदिने गरेको अवस्थामा नाटक मार्फत बाहिर ल्याउन लागिएको उनको भनाई छ । करिब एक महिनादेखि नाटकको दिनदेखि रिहर्सल भैरहेको छ । नाटक मञ्चन हुने दिन आउन केही दिन बाँकी रहँदा टिमको मेहनतको कारण दिनप्रतिदिन नाटकमा निखारता थपिदै गएको उनले सुनाए । सामान्य शैलीमा कथा भन्ने तरिकालाई फरक गर्ने प्रयास गरिएको र गाउँघरमा धेरैले भोगेको बाँदरको आतङ्कलाई समेत जोडिएकोले दर्शकलाई मनोरञ्जन मिल्ने उनको विश्वास छ । पोखराको गैह्रापाटन स्थित रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा माघ १९ गतेसम्म लगातार मञ्चन हुने नाटकमा कपिल शर्मा, दिलप्रसाद गुरुङ, विभु प्रसाद भुसाल, उमा पुन, रामहरि अधिकारी, विजयराज अधिकारी, अभिषेक भुसाल, श्रद्धा अधिकारी लगायतका कलाकारको अभिनय हेर्न पाइनेछ । यो नाटकको निर्देशन लक्ष्मण डुम्रेले गर्दैछन् । निर्देशक डुम्रेले नाटक सुन्दर बनाउन कलाकार र नेपथ्यबाट विभिन्न प्रयासहरु भईरहेको बताए । आफूहरूको तर्फबाट शतप्रतिशत दिने कोसिस गरिरहेका भन्दै दर्शकले नाटक मन पराउने आशा बढ्दै गएको सुनाए । नाटकमा रात्रिबस चलाउने ड्राइभरको मनोविज्ञानलाई केन्द्रित गरिएको उनको भनाइ छ । सवारी साधन चलाउँदा उसको दिमागमा खेलिरहेका कुराहरू समावेश गरिएको र यो खालको नाटक पोखरामा पहिलोपटक मञ्चन गर्न लागिएको दावी उनले गरे । स्टेजमा यात्रा देखाउनुपर्ने भएकोले चुनौती भएपनि राम्रो बनाउने कोसिस गरिरहेको निर्देशक डुम्रेले बताए ।
काठमाडौं: गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्र निर्माण गर्नुभएको छ । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उहाँलाई पाउन सकिन्छ । एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त ? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिनुभयो । उहाँ निर्देशित पहिलो चलचित्र ‘वसन्त’मा समावेश पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ को गीत र श्रव्यदृश्य सार्वजनिक गर्न शनिबार साँझ दरबारमार्गमा रहेको एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो समूहका कारण यसपटक सफल भए पनि आउँदा दिनमा एक विधाबाहेक अरुको जिम्मेवारी नलिने बताउनुभयो । उहाँले भन्नुभयो, “आफैँले सबै काम गर्दा गाह्रो नै हुनेरहेछ । विशेषतः निर्देशन र अभिनय एकैपटक गर्दा दुवैमा ऊर्जा बाँडिएको महसुस भयो । त्यसैले आउँदो चलचित्रमा म निर्देशक भएमा आफ्नो दृश्यलाई निकै कम राख्छु, नत्र सुनिल विकलाई निर्देशनको जिम्मेवारी दिन्छु र म अभिनयमा मात्र केन्द्रित हुन्छु । किनकि मेरै पछिल्ला कामभन्दा कमजोर नहोस् भन्ने मेरो प्रयास रहन्छ ।” यस विषयमा अभिनय र निर्देशनसँगै गरिरहनुभएका निश्चल बस्नेत, अर्पण थापालगायतसँग छलफल गरेको गायक सपूतले बताउनुभयो । उहाँले गायनमै व्यस्त हुँदा चलचित्र निर्देशनमा आउनु कथालाई धेरै दर्शकसम्म पुर्याउने चाहना भएको बताउनुभयो । “भोगाइ, देखाइसहितका आफ्ना कथा गीतमार्फत व्यक्त गरिरहेको थिएँ । मलाई ती कथा गीतमै सकाउँछु कि भन्ने लाग्यो । त्यही भएर चलचित्र बनाउने योजनालाई मूर्तरुप दिएको हुँ । यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो”, उहाँले भन्नुभयो । यो चलचित्रको कथामा आफ्नो बालापन र भोगाइ भए पनि आफ्नै जीवनी भने नरहेको गायक सपूतले स्पष्ट पार्नुभयो । अभिनेत्री स्वस्तिमा खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । यो चलचित्रमा जोडिएर शान्ति नामक पात्र बाँच्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु । यो मलाई वर्षौँसम्म सम्झिने पात्र बन्ने छ ।” सार्वजनिक गरिएको ‘साँझ पर्यो झमक्कै’ गीतमा शब्द, सङ्गीत र स्वर सपूतकै रहेको छ भने गायनमा शान्तिश्री परियारले साथ दिनुभएको छ । चलचित्रमा प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ । आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने सङ्घर्षलाई चलचित्रको विषय बनाइएको निर्माण पक्षले जनाएको छ । यो चलचित्र आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।
काठमाडौं: ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र अविष्मरणीय भनेको छ । नेपालीका कार्यक्रम विरलै हुने सो स्थानमा गायक विवेक श्रेष्ठले नेपालबाटै आएका वाद्यवादकहरुको बेजोड लाइभ सङ्गीतमा झण्डै दुई घण्टा दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो । गायक श्रेष्ठले तगारोमा रुमाल राखी, जिन्दगीको यो उत्सव हो बरदान ईश्वरको, विदेशिएर गइन उनी, लेककी हे माया मोहनी सबैलाई लगाउने, हङकङ पोखरा, तिमी हाँसे हासिदिउँला रोए फकाउँला, इलामे चियाले मितेरी लायो, चिसो चिसो हावामा, साङ्ग्रिलाको लेक भरी फुलैफूलको बासना, हे कस्तो ठाउँमा आइयो सोल्टी, फुलचोकीको डाँडैमा, चन्चले कान्छीको, कहाँ हिँडेकी कुन ठाउँ मनकी ए परी, तिमी पारी त्यो गाउँमा, बल्ल तल्ल भेट भकोलगायतका गीत सुनाउनुभयो । उहाँका हरेक गीतमा दर्शकले ‘वान्स मोर’ भनेका थिए । ओटुमा कन्दरा गुन्जिदा झण्डै दुई हजार आठ सय दर्शक साथ रहेको आयोजक मामाघर इन्टरटेन्मेन्टले जनाएको छ । गायक श्रेष्ठले गोपाल योञ्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ गाउँदै बेलायतका नेपालीलाई नेपाल फर्किन अपिल गर्नुभएको थियो । कार्यक्रमको सफलतापछि उत्साहित श्रेष्ठले भन्नुभयो, “विश्व सङ्गीतका लिजेण्डहरुको प्रस्तुती रहिसकेको यो ठाउँमा प्रस्तुती दिनु मेरो सपना थियो, आज यो ऐतिहासिक हलमा नेपाली दाजुभाई, दिदीबहिनी तथा आमाबाबामाँझ गाउन पाउनु मेरो लागि अझै सपना झैँ लागि रहेको छ ।” कन्दराको वर्तमान लाइन अपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् । ड्रम्समा रहनुभएका सुनिल थापा ब्याण्ड स्थापना कालदेखिका सदस्य हुनुहुन्छ । कन्दराले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई’ पहिला घरदेश, अनि परदेश’ को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरेको छ । यो कन्सर्ट लगत्तै यही जुनमा दुबई, कतार तथा हङकङमा प्रस्तुती दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्यूजील्याण्ड, मे’ मा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने जनाएको छ । नेपाली मेलो लोक–पपसँग ३२ वर्षे उमेर पूरा गरेको यस ब्याण्डले नेपाली युवामाझ पप र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै साङ्गीतिक विरासतलाई निरन्तरता दिने जनाएको हो ।