पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

कर्णालीः   कर्णालीको लोक, कला र मौलिक संस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम को तयारी थालिएको छ । पछिल्लो समयमा ऊर्जाशील युवाको पलायन तथा लोपोन्मुख अवस्थामा पुगेको वैभवशाली कर्णालीको मौलिक संस्कृति र कलाको संरक्षण एवं संवद्र्धनका लागि सांस्कृतिक युवालय संस्थाले पहल थालेको हो ।  ‘युवाहरुसँगको हाम्रो सहयात्रा’ परियोजनाअन्तर्गत बिहीबार राजधानी सुर्खेत वीरेन्द्रनगरमा मौलिक बाजा, कला र सांस्कृतिक प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम सञ्चालन हुने पत्रकार भेटघाटमार्फत परियोजना अधिकृत पूजा कार्कीले जानकारी दिनुभयो ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेत र युवालयको संयुक्त आयोजनामा हुन गइरहेको यस कार्यक्रममा परियोजनासँग जोडिएर युवाहरुले लिएका कक्षामा सिकेका नृत्य तथा सङ्गीत सबै सामु प्रस्तुत हुने जनाउँदै उहाँले परियोजनाबाट कक्षा लिइरहेका युवाहरुले कार्यक्रममा मारुनी, टप्पा, झ्याउरे, कौडा नृत्यका साथै सङ्गीतमा पञ्चेबाजा (झ्याली, कर्नाल, सहनाई, दमाहा)पनि बजाएर सबै साम देखाइने बताउनुभयो । उहाँका अनुसार स्थानीय पालिका, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा सुर्खेतसँगको सहकार्य तथा कोरियाको वाइजी इन्टरटेन्टमेन्टको आर्थिक एवं अक्सफामको प्राविधिक सहयोगमा मौलिक बाजा, सङ्गीत एवं नृत्यमा युवाहरुलाई अग्रसर गराउन सो सम्बन्धी कक्षा सञ्चालन गर्दै आइरहेको छ ।  युवाहरुले सिकेका सीप कला आम नागरिकका सामु प्रदर्शन गर्ने भएकाले यसबाट आत्मबल वृद्धि गर्न सकून्, मौलिक कला र संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि युवाको भूमिकालाई महत्वपूर्ण स्थान दिने उद्देश्यले कार्यक्रमको तयारी गरिएको आयोजकले बताएको छ । परियोजनामार्फत दैलेख (भगवतीमाई गाउँपालिका र डुङ्गेश्वर गाउँपालिका) र सुर्खेत (वीरेन्द्रनगर) तथा सुदूरपश्चिमको (लम्कीचुहा नगरपालिका) मा युवाहरुमा उत्सुकता जगाउने, उनीहरुका मुद्दाहरुलाई सामूहिक रुपमा वकालत गर्ने, शैक्षिक, प्राविधिक, वित्तीय सीप तथा मानव अधिकारको साथै किशोर–किशोरी र युवालाई सशक्त गराउँदै आएको जनाइएको छ ।  

पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु देउसीभैलोमा रमाएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटकहरु स्थानीय आमा समूह, विद्यालय, युवा क्लबहरुले तिहारका अवसरमा आयोजना गरेको देउसीभैलोमा नाँचगान गरेर रमाइलो गरेका हुन् । इच्छुक पर्यटकले भाइटिका पनि लगाएका छन् । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले तिहारमा पुनहिल आमा समूहले आयोजना गरेको देउसीभैलोमा पर्यटकहरु पनि नाचगान गरेर रमाइलो गरेका बताउनुभयो ।   “प्रकृतिसँग रमाउन आएका पर्यटकहरुले तिहारको सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्ने अवसर पाएका छन्”, उहाँले भन्नुभयो “पर्यटकले मादल बजाउँदै देउसीभैलो गाउनुका साथै नाचेका पनि छन् ।”   घोडेपानीका साथै शिख, घार, भुरुङ्ग–तातोपानी, दाना, नारच्याङको देउसीभैलोमा पनि पदयात्रामा आएका पर्यटकहरु रमाएका थिए ।   अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको दाना–नारच्याङ, भुरुङ्ग–तातोपानी, घार, शिख, घोडेपानी, उल्लेरी, घान्द्रुक, नयाँपुल भ्रमण गर्न आउने पर्यटकका लागि घोडेपानी केन्द्रमा पर्दछ ।   पर्यटकलाई संस्कृतिको बारेमा जानकारी गराउने, संस्कृति संरक्षण, नयाँ पुस्तामा हस्तान्तरण र आयस्रोत जुटाउने उद्देश्यले देउसीभैलो आयोजना गरिएको पुनहिल आमा समूहका अध्यक्ष तारा पुनले बताउनुभयो ।   पुनहिल आमा समूहले घोडेपानीमा मगर सङग्रहालय सञ्चालन गरेको छ ।   मगर समुदायको पोशाकमा सजिएर स्थानीय कलाकारले आफैँ गीत गाउने, भैलो भट्याउने, बाजा बजाउने र नाच्ने गरेका थिए ।   तिहारमा खेलिने देउसीभैलोमा पौराणिक कथाहरू प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेले पनि रमाइलो मानेका अध्यक्ष ताराले उल्लेख गर्नुभयो । देउसीभैलो खेल्न पुगेकाहरुले सम्बन्धित घरको वर्णन गर्दै नाच्ने, गाउने र आशिष दिने गरेका थिए ।

 छठ पर्व मनाउन तीन दिनमात्रै बाँकी रहँदा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा छठपूजाका छठ घाट दुलहीझैँ सजाउने काम भइरहेको छ । यहाँ प्रमुख चाडका रूपमा मनाइने छठका लागि विभिन्न पोखरी, नदी र तलाउमा बनाइएका मन्दिर र घाटलाई विभिन्न वस्तुले दुलहीझैँ सजाउने काम तीव्र रूपमा भइरहेको हो । मिथिलाञ्चलभर एउटै पोखरी तथा नदी तलाउमा धेरै व्यक्तिले छठ पर्व मनाउने चलन रहेकाले १५/२० दिन पहिलेदेखि नै छठ घाटमा विभिन्न तयारी गरिन्छ ।   जलेश्वर नगरपालिका–५ निवासी संस्कृतिविद् धु्रव रायले मिथिलाञ्चलमा धुमधामका साथ छठ मनाउनका लागि तयारी करिब अन्तिम चरणमा रहेको ेबताउनुभयो ।   सूर्य भगवान तथा छठ माताको पूजा पानीमै हुने भएकाले मिथिलाञ्चलका जलाशय सरसफाई, घाट निर्माण, सडक, बाटो बनाउने काम सकेर अब घाटमा पंडाल निर्माण, बिजुलीबत्ती जडान, तोरन झुण्ड्याउनेलगायत काम जोडतोडका साथभइरहेका जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंहले जानकारी दिनुभयो ।   जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले स्थानीयस्तरमा रहेका सबैजसो जलाशयमा एक महिना पहिलेदेखि नै सरसफाई, मर्मतसम्भार, मन्दिर निर्माण गरी छठको तयारी सुरु हुने बताउनुभयो ।   उहाँले यसका लागि जलेश्वर नगरपालिकाभित्र रहेका प्रमुख जलाशय वरुण सरोवर, परिक्रमा पोखरी, पाठक पोखरी, चौधरी पोखरी, अस्पताल पोखरी, मिश्रपोखरी, भारी पोखरी, सारी पोखरी, सुगापोखरी, पिगौना पोखरी, बखरीघाटलगायत घाट सिङ्गार्ने काम भइरहेको बताउनुभयो ।   यसैबीच परापूर्व कालदेखि नै सूर्यपूजा तथा छठी माताको पूजाको लागि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीमा बीच पानीमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै बाँसको तैरिने बाटो निर्माण गरिएको छ भने करीब आधा किलोमिटरसम्म गुफाबाला पंडाल र विभिन्न साजज्जा र बिजुलीबत्ती जडान गरिने कार्य भइरहेको स्थानीय प्रदीप पाठकले बताउनुभयो ।

जिल्लाको म्याग्दे गाउँपालिकाका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाखको सयपत्री फूल बिक्री गरेका छन् । यसै वर्ष पहिलोपटक सयपत्री फूलखेती गरेका यहाँका तीन युवाले तिहारलाई लक्षित गरी रु एक लाख बढीको फूल बिक्री गरेका हुन् । अक्षय कायस्थ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले म्याग्दे गाउँपालिका–६ धैरेनीमा उत्पादित सयपत्री स्थानीय स्तरमा बिक्री गरेका छन् । मागअनुसार सयपत्री फूल पुर्‍याउन नसकिएको अक्षयले जानकारी दिनुभयो ।   फूल लगाउन ढिलाइ भएकाले उत्पादन कम भएको भन्दै माग धेरै आएकाले माग अनुसार पुर्‍याउन नसकिएको उहाँले उल्लेख गर्नुभयो । अक्षयले भन्नुभयो, “बारीमा लगाएकोमध्ये एकतिहाइ मात्र फूल उत्पादन भएको छ । अझै फूल उत्पादन हुन बाँकी छ । तिहारमा मनग्ये बिक्री भयो । बजार मूल्य राम्रो पाउँदा हामी उत्साहित भएका छौँ ।”   उहाँले प्रतिकिलो रु दुई सय ५० मा फूल बिक्री गरिएको जानकारी दिनुभयो । फूल बिक्रीका लागि म्याग्दे–४ थर्पुमा बिक्री केन्द्र स्थापना गरिएको थियो ।   गाउँपालिकाको सहयोगमा बिक्री केन्द्रमा राखिएको फूलले बजार पाउन सफल भएको अक्षयको भनाइ छ ।   उहाँले भन्नुभयो, “एकादशीका लागि पनि फूल बिक्री हुन्छ । त्यतिबेला उत्पादन गर्नेगरी तयारी गरेका छौँ ।” म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलोपटक युवाहरूले सयपत्री फूलखेती सुरु गरेका हुन् । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको थियो ।   फूलखेतीमा आबद्ध अक्षय गाउँपालिकाका कर्मचारी हुनुहुन्छ भने सन्तोष पशुपालन व्यवसायमा आबद्ध हुनुहुन्छ । स्थानीय किसानलाई प्रोत्साहन र हौसला दिन गाउँपालिकाले फूल बिक्रीका लागि सहयोग गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।   अन्य कार्यक्रममा पनि स्थानीयस्तरमा उत्पादित सयपत्री फूल प्रयोग गर्न प्रोत्साहन गरिने उहाँले उल्लेख गर्नुभयो । 

देउसी-भैलोलाई तिहारको महत्वपूर्ण हिस्साका रूपमा लिइन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा रमाउने गर्छन् । सोरठी, मारुनीसहित पुराना नाच नाचेर खेलिने देउसीभैलो पछिल्लो समय हराउँदै गएको छ । मौलिक संस्कृतिसहित देउसीभैलो हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । यमपञ्चक सुरु भएपछि बागलुङ बजारसहित ग्रामीण क्षेत्रमा देउसीभैलो खेल्नेहरूको भिड लाग्ने गरेको छ ।   भैलोले गाउँ, टोल र छिमेक गुञ्जायमान छन् तर यसको मौलिकता भने बर्सेनि हराउँदै गएको छ । तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । अहिलेको देउसीभैलोमा मौलिक बाजा र गीत सुनिदैनन् । बजारमा आएका ‘रेकर्डेड’ पप, आधुनिक र ¥याप गीतमा युवायुवती भैलो खेल्छन् । पप, ¥याप र विदेशी भाषाका गीतमा भैलो खेल्दा बुढापाका भने खिन्नतता प्रकट गर्छन् ।   निसीखोला गाउँपालिका–४ का ७४ वर्षीय धनबहादुर घर्तीले परम्परागत देउसीभैलोलाई आधुनिकताले प्रभावित गरेको बताउनुभयो । आफ्नो पालामा बाउबाजेले संरक्षण गर्दै आएको मौलिकतासहितको देउसीभैलो अचेल पश्चिमा संस्कृतिको चेपुवामा परेको उहाँको कथन छ ।   भैलोको माध्यमबाट कथा व्यथा प्रस्तुत हुने भए पनि हिजोआज देउसीमा विकृति मिसिएको र केवल पैसा जम्मा गर्नेमा मात्र ध्यान जाने गरेको भन्दै घर्तीले विरोध जताउनुभयो ।   “जुग जमानासँगै हाम्रा कला, संस्कृति हराउँदै गए, नयाँ पुस्ताले मौलिक संस्कृतिलाई बिर्सिए, हाम्रो पालको जस्तो देउसीभैलोमा मादले सिङ्गारु बनेर नाच्ने चलन अहिले छैन”, उहाँले भन्नुभयो ,“हामी बुढाबुढी भइयो, गाउन नाच्न सकिन्न, अहिलेका युवाले पुरानो संस्कृति सिक्दैनन्, पश्चिमेली संस्कृतिले विशिष्ट मौलिक संस्कृतिलाई विस्थापित ग¥यो ।”   गलकोट नगरपालिका–१० का पूर्णबहादुर घर्ती मगरले विदेशीको देखासिकीका कारण मौलिकता हराएको बताउनुभयो । तिहार पर्व र देउसीभैलोले नेपालीहरूको पहिचान बोकेको भन्दै पछिल्लो समय पहिचान नै गुम्ने खतरा बढेको उहाँको भनाइ छ ।   “मौलिकता जोगाउने भन्ने चाहना छैन, हाम्रो पहिचान के हो ? तिहारमा के गाउने ? कस्तो नाच्ने भन्ने पनि ज्ञान छैन, उही विदेशी गीत गाएर नाच्छन्, न त्यसमा मौलिकता छ, न कुनै नेपालीपन, अरुको देखासिकी गर्ने प्रवृत्तिले हाम्रा कयौँ संस्कृति लोप भए”, उहाँले भन्नुभयो ।   काठेखोला गाउँपालिका–१ का २७ वर्षीय कमल थापा मगर बाउबाजेले मौलिकतालाई संरक्षण गरे पनि आफ्नो पुस्ताले जोगाउन नसकेको स्वीकार्नु हुन्छ ।   अहिले देउसीभैलोमा आधुनिकता मिसिए पनि अझै सम्पूर्ण रूपमा मौलिकता गुमिनसकेकाले यसतर्फ ध्यान दिन भने आवश्यक रहेको उहाँको भनाइ छ ।

झण्डै छ महिनाअघि अभिनेता विजय बरालको फोनमा चलचित्रको प्रस्ताव बोकेको फोन आयो । एउटा कलाकारलाई अभिनय प्रस्तावको फोन आउनु सामान्य कुरा हो तर त्यो दिन आएको फोन सामान्य भन्दा केही फरक थियो । चलचित्रका सहायक भूमिकाहरूमा भ्याइनभ्याइ गरी व्यस्त भइरहनु भएका विजयका लागि त्यो फोनमा आएको प्रस्ताव फरक थियो । उहाँलाई कुनै सहायक भूमिका लागि नभई शीर्षक भूमिकाको प्रस्ताव गरिएको थियो । चलचित्रको नाम थियो– पूर्ण बहादुरको सारङ्गी । सो प्रस्तावले विजय सुरुमा त अन्योलमा पर्नुभयो । केही दोधारको अवस्था भयो उहाँलाई । झण्डै दुई सातासम्म उहाँले प्रस्तावमाथि कुनै ठोस निर्णय गर्नुभएन । आफैँलाई मन्थनुभयो ? आफूभित्रको अभिनेतालाई प्रश्न गर्नुभयो । ‘‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ । किनकी साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव बिरलै हुने गर्छ । दुई सातासम्म कुनै निर्णय गरिन’’, उहाँले सम्झना गर्दै भन्नुभयो, ‘‘यो प्रस्तावले एक किसिमको ऊर्जा पनि दियो । एउटा समय पनि भयो, अनुभव पनि भयो । अब अनुभवले पनि यस्ता भूमिका गर्नसक्छु भन्ने आँट जुटाएँ । त्यो बेलाको अवस्था एकदम शून्य थियो के गर्ने भनेर । खुशीसहितको शुन्यता ।’   यति भन्दैगर्दा उहाँ आफ्नो कलाकार बन्ने सपना बुनिएका स्कूले जीवन र सोही सपना पछ्याउँदै काठमाडौँ आउनुभएको समयस्मृतिमा पुग्नुभयो ।   विजयका अनुसार काठमाडौँ छिर्दा उहाँसँग अभिनयका बारेमा केही भ्रममिश्रित सपनाहरू थिए । काठमाडौं आउँदा उहाँलाई लाग्थ्यो उहाँ त्यो बेलाका चर्चित हास्य कलाकारभन्दा उम्दा बनेर निस्किनु हुनेछ, कडा बन्नु हुनेछ ।   सर्लाहीको लालबन्दीका विजय आफ्नो स्कूले जीवनमा त्यो बेलाका चर्चित नेताहरूको आवाजको नक्कलहरू गर्नुहुन्थ्यो ।   कक्षा आठमा उहाँले पहिलोपटक आफ्नो क्षमता सार्वजनिकरुपमा पस्कनुभयो । त्यतिबेला उहाँले आवाजहरूको नक्कलसँगै आफ्नै गाउँठाउँका चर्चित हास्य कलाकार नारद खतिवडाको हास्यरस मिश्रित ‘ढोका खोल न पोस्टेकी आमा ढोका खोल न हो’ बोलको गीतमा हास्यप्रधान नृत्य समेत गर्नुभएको थियो । चर्चित नेताको आवाजको नक्कल र साथमा हास्यप्रधान नृत्य हेरेपछि शिक्षक र साथीभाइहरूले उहाँको धेरै प्रशंसा गरे ।   ‘‘मेरो नाच (आवाजको नक्कल देखेर साथीहरूले ओहो ! राम्रो गरिस् भनेर हौस्याए । त्यही चिजलाई मैले अभिनय ठानें किनकी गाउँतिर यसैलाई अभिनय मानिन्थ्यो । साथीहरूको तारिफले मलाई अभिनयतर्फ थप आकर्षित बनाइदियो । मलाई ती तारिफहरूले मैले गर्न सक्नेरहेछु भन्ने आत्मविश्वास बढायो’, उहाँले पूराना दिनहरू ताजा गर्दै सुनाउनुभयो । जब उहाँ रङ्गमञ्चतर्फ मोडिनुभयो तब उहाँले आफ्नो पहिलोको सोचलाई निक्कै कमजोर भएको पाउनुभयो । उहाँलाई अभिनय एउटा पोखरी होइन महासागर रहेछ भन्ने लाग्यो । ‘‘जब क्यारीकेचर गर्न छोडेर रङ्गमञ्चमा गएँ, अभिनयको चिन्तन र प्रक्रिया नै फरक देखें । त्यसपछि मैले राम्रो कलाकार बन्ने सोचेँ ।’’, केही गम्भीर हुँदै उहाँले भन्नुभयो ।   उहाँ आफ्नो चेत खुलेको कुरालाई यसरी व्याख्या गर्नुहुन्छ । ‘‘पहिले म हरेक चिजलाई सामान्य सोच्थेँ, मैले जत्तिको कसले गर्न सक्छ र ठान्थेँ । तर जब अभिनयको आयतनमा छिरेंँ तब अभिनय अर्कै चिन्तनको विषय रहेछ, आध्यात्मिक रहेछ भन्ने थाहा पाएँ । सोच र गहिराइमा पुगेर गर्दा फरक चिज निस्कने विषय भएको बुझेंँ ।’’   भारतमा ४५ दिनको अभिनय कार्यशाला पुगेपछि आफ्नो कला चेत खुलेको उहाँ बताउनुहुन्छ । त्यो कार्यशाला उहाँका लागि जीवनको कोशेढुङ्गा हुनपुग्यो ।   त्यहाँ भारतको राम्रा नाटक निर्देशकमा पर्नुहुने एमके रैनाबाट उहाँ प्रशिक्षित हुनुभयो ।   ‘‘ओहो म त अभिनयलाई सामान्य हिसाबले लिइराखेको थिएँ । यहाँ त हरेक दिन यो कुरा नि पढाइरहेको छ, सबै दृष्टिकोणबाट अभिनयलाई देखाइरहिएको छ पढाइरहिएको छ । समाजको दृष्टिकोणबाट पनि हेरिरहिएको छ । सबै प्रकारबाट दृष्टिगोचर गर्दा त अर्कै चिज रहेछ अभिनय । त्यहाँबाट बल्ल मेरो चेत खुल्यो’’, उहाँले भन्नुभयो ।   बीचमा उहाँको कलाकार हुने सपना हल्लिएजस्तो पनि भयो । उहाँको बुबा बैंकको जागिरे । कुनै दिन बैंकमा जागिर खानुपर्छ भनेर विजयले व्यवस्थापन पढिराख्नु भएको थियो । यद्यपि बुबाले भने उहाँलाई यही बन्नुपर्छ भन्नुभएको थिएन । बुबाले केही नभन्नुभएको भए पनि हजुरबुबाले भने सहज जीवनयापनका लागि घरको जेठो नातिले बाबुले झैं बैंकको जागिर खानुपर्छ भनेर हौस्याइरहनुहुन्थ्यो ।   हजुरबुबा विजयलाई भन्नुहुन्थ्यो–‘‘जागिर गर है जागिर गर, पछि गाहे हुन्छ । बाले यसरी पालेका छन् । तैले पनि पाल्नुपर्छ, जे भए पनि घरको जेठो नाति होस् ।’’   उहाँले व्यवस्थापन सङ्कायको पढाइलाई निरन्तरता दिदैं आफ्नो अभिनयलाई रङ्गमञ्चमा सक्रिय भएर निरन्तरता दिइराख्नुभयो ।   यो समयमा कयौं नाटक गरिसक्दा पनि विजयका बाबुले छोरा कलाकार बनेको थाहा पाउनुभएको थिएन । उहाँले पहिलो चलचित्रका रुपमा ‘छड्के’ गरे पनि बुबाले थाहा पाउनुभएन तर ‘कबड्डी’ चलचित्र गरेपछि भने थाहा पाउनुभयो । उहाँ छोराको कामबाट खुशी हुनुभयो । अभिनयमा लागेपछि विजयले घरबाट आफ्नो खर्च मगाउनु परेको छैन ।   ‘‘बुबालाई लामो समयसँग म कलाकारितामा लागेको छु भन्ने थाहै थिएन । नाटक गरिरहँदा खास उहाँले थाहा पाउनुभएन । पहिलो चलचित्र छड्के मा अभिनय गर्दा पनि उहाँलाई म कलाकार बनेको पत्तो भएन । उहाँले कबड्डी गरेपछि मात्र म कलाकार बनेको थाहा पाउनुभयो’, बरालले भन्नुभयो । ‘कबड्डी’ पछि उहाँ त्यसका तीन श्रृङ्खलासहित दर्जनौं चलचित्रमा अभिनेता बनिसक्नुभएको छ भने आजको मितिमा उहाँ नेपाली सिने जगतको चिरपरिचित अनुहार बनिसक्नुभएको छ ।   उहाँले अधिकांश सहायक भूमिका नै गर्नुभयो । सबैभन्दा बढी चर्चा उहाँले ‘कबड्डी’ चलचित्रको श्रृङ्खलाबाट बटुल्नुभएको छ ।   उहाँ सो चलचित्रको ‘बिके’ पात्रबाट नेपाली दर्शकमाझ परिचित हुनुहुन्छ । ‘कबड्डी’ शृङ्खलाको जबरजस्त सफलताका कारण हास्यप्रधान भूमिकामा व्यस्त भइराख्नु भएका विजयलाई ‘पूर्ण बहादुरको सारंगी’ चलचित्रले गम्भीर भूमिकामा पनि उत्तिकै दक्ष अभिनेताको परिचय पाउने अवसर दिएको बताउनुहुन्छ । यो चलचित्रमा उहाँ एकल बाबुको पात्र भूमिकामा देखिदै हुनुहुन्छ । उहाँ पुनः ‘पूर्ण बहादुरको सारङ्गी’कै प्रसङ्गमा फर्कनुभयो । सहायक भूमिका उहाँलाई सजिलो लाग्छ ।   तर यो चलचित्रको भूमिका फरक र गम्भिर छ । शीर्षक भूमिका नै भएकाले चलचित्रको सम्पूर्ण भार उहाँमाथि नै छ । यसका लागि धेरै मिहेनत परेको सुनाउनुहुन्छ । चलचित्रको ‘पूर्ण बहादुर गन्धर्व’ पात्र बन्न झण्डै १० दिन तयारी गर्नुभयो ।   यो १० दिनमा उहाँले गन्धर्वको हाउभाउ, अनुहारको भाव र बोल्ने शैली अध्ययन गर्नुभयो । उहाँले सारङ्गी बजाउन, हातको हर्कत र सारङ्गी बजाउने शैली पनि सिक्नुभयो । पर्दामा ‘पूर्ण बहादुर गन्धर्व’ नै हो भन्ना लागि आफूले यस्तो गरेको उहाँको भनाइ छ । ‘‘हामीजस्ता दोस्रो रोजाइका कलाकारकाका लागि यो आयतनको भूमिका बिरलै प्राप्त हुन्छ । यसलाई म जतिसक्दो उत्कृष्ट बनाउन चाहन्थे । त्यसैले मैले यसका लागि पर्दामा जत्तिसक्दो आफूलाई गन्धर्वका रुपमा स्वीकार्य गराउने गरी मिहेनत गरेको छु । पोस्टर, ट्रेलरबाट मैले राम्रो प्रतिक्रिया पाएको छु’, उहाँले भन्नुभयो । आज उहाँ स्वयं आफू कसैको छोरा त हुनुहुनै हुन्छ त्योसँगै आफू पनि एक सन्तानको बाबु बनिसक्नुभएको छ ।   यसको अनुभवलाई पनि उहाँले पर्दामा प्रयोग गर्नुभएको छ । अनुभव पनि अभिनयका लागि एकदमै महत्वपूर्ण हुने उहाँ बताउनुहुन्छ । ‘‘यसले पात्रको मनोदशा, अवस्था बुझ्न धेरै सजिलो पर्छ’’, उहाँले भन्नुभयो । उहाँ आफू बाबु हुनु वा छोरा हुनुको वर्तमान अनुभवलाई यसरी व्यक्त गर्नुहुन्छ ।   ‘‘अहिले म बुबाको भाव बुझ्छु । एक समय मेरो बुबा मेरा लागि हिरो हुनुहुन्थ्यो । अहिले पनि हिरो नै हो । कहिले कहिले कुनै परिस्थितिमा केही भन्दा तनाव दिनुभयो कि जस्तो नि लाग्थ्यो ।   अहिले मेरो छोरो भयो । उसले मेरो छात्तीमा ढुक्ढुकाउँदै बाबा–बाबा भन्छ र आफ्नी आमालाई देखाउँछ । उसका लागि म आज हिरो जस्तै भएको छु । म पुग्ने बित्तिकै मेरो बाबा आयो भनेर पुलकित हुने गर्छ । मेरो बुबाको सवालमा पनि त्यही नै थियो’’, उहाँले भन्नुभयो । आज बुबाको सबै भावना उहाँलाई महशुस हुन्छ ।   उहाँ भन्नुहुन्छ– ‘‘बाबु बाबु नै हुनेरहेछन्, जसले आफ्ना भावनाहरू व्यक्त गर्दैन तर उसको भित्र केही न केही हुन्छ–हुन्छ । बरालका अनुसार छोराको लागि बाबुले सपना देखेको हुन्छन् र छोराले पनि बाबुका लागि सपना देख्नुपर्छ ।’’

नेपाल संवत् ११४५ शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराउनुभएको थियो ।   पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।   “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो ।   विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।   गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो ।   विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो ।   काठमाडौँमा कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरुआत गर्ने परम्परासमेत अझै छ । 

तिहार बिदाको समयलाई सदुुपयोग गर्र्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरीका जङ्गललाई हुस्सुुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र विदेशी यात्रीहरु आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए । यही बीचमा त्यहाँ पुुग्नुुभएका प्रधानमन्त्री ओलीले भालेश्वर महादेवको दर्शन र केही यात्रुुको आग्रहमा तस्बिर खिचाएपछि काठमाडौँ उपत्यका देखिने छेउतिर राखिएको कुर्सी र टेबलमा बसेर डायरी र कलम समाउनुुभयो ।   नजिकै रहेका सुरक्षाकर्मी र सहभागीले आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्न लाग्नुभएको भन्ने ठाने पनि प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्कनुुभयो ।   “चन्द्रागिरि प्रेमको प्रतीक सतीदेवी भाल पतन सर्वाेत्तम प्रेमकथा !’’ साथमै रहनुुभएका प्रथम महिला राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले यही रचनालाई वाचन गरेर सुनाउनुुभयो ।   चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालै प्रतिक्रिया दिनुुभयो, “सम्माननीयज्यूू प्रायः चन्द्रागिरि आउँदा केही न केही लेख्नुहुन्छ ।   हामी धन्य छौँ ।” राजनीतिका साथै कला, साहित्य र सङ्गीतलाई सक्दो समय दिने र अध्ययनमा त्यत्तिकै रुचि राख्ने नेताका रुपमा परिचित प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले धेरै पटक सार्वजनिकरुपमा भन्ने गर्नुभएको छ– “म कवि÷साहित्यकार होइन ।” तर उहाँलाई गहिराइका साथ बुुझ्नेहरु भन्छन्– “उहाँमा सृजनात्मक चेत उच्च छ । समय मिल्ने हो भने उहाँको लेखनी जम्न सक्छ । उहाँका अभिव्यक्तिमा दार्शनिकता, साहित्यिक भाव र असिमित हास्यरस पाइन्छ ।”   सायद त्यही भएर होला, समय मिल्ने बित्तिकै प्रधानमन्त्री ओलीलाई रचनागर्भको हुटहुटीले तानिहाल्छ ।   यसअघि तत्कालीन समयमा पनि प्रधानमन्त्री रहनुुभएका ओलीले २०७५ असार ३० गते चन्द्रागिरिमा मदन भण्डारी फाउण्डेसन अन्तर्गतको कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवतखण्ड कला साहित्य सम्मेलनको समापनका अवसरमा सोही स्थलमा बसेर बिना शीषर्कको कविता लेख्नुुभएको थियो ।   “परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ? बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ । मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ सगरमाथा, लुम्बिनी, मेची, महाकाली हाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आली सपनामा भए पनि देख्न पाउँ चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।”

  तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ ।   १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था हुन्थ्यो । यसपटक तिहार शुरु भएयता बेनी बजारमा देउसीभैलो खेल्ने जम्मा दुई वटा समूह मात्र छन् ।   बेनीको इन्द्रेणीचोकका व्यवसायी किरण कार्कीले यसपाली देउसीभैलोको रौनक नदेखिएको बताउनुभयो ।   “देउसीभैलो खेल्न आएका कलाकार पनि १२ कक्षासम्म अध्ययन गर्ने उमेर समूहका र आमा समूहका मात्र छन,” उहाँले भन्नुभयो “१२ कक्षा उत्तीर्ण गरेका धेरै युवायुवती विदेशिदाको असर देउसीभैलो खेल्ने संस्कृतिमा पनि देखिन थालेको हो ।”   सदरमुकाम बेनी बजार मात्र नभएर म्याग्दीका अधिकांश ठाउँमा पछिल्ला केही वर्षयताको तिहारमा देउसीभैलो खेल्ने युवा युवतिहरु कम रहेका स्थानीयबासीहरु बताउँछन् ।   बजारमा भएका युवा युवतिहरु विदेशिनु र गाउँघरमा धान, कोदो भित्र्याउने, कोदो, गहुँ छर्ने कामको चटारो भएकाले देउसीभैलो खेल्ने कम भएका लोक संगितकर्मी संघ म्याग्दीका अध्यक्ष गोकुल सुनारले बताउनुभयो ।   “देउसीभैलोसँगै विभिन्न किसिमका गितमा नृत्य प्रस्तुत गर्न एउटा समूहमा २० देखि ३० जना कलाकार आवश्यक पर्छ,” द साइनिङ नृत्य समूहको देउसीभैलोमा सहभागी उहाँले भन्नुभयो “पुराना कालाकार विदेशिएपछि नयाँलाई तालिम दिएर नचाएका छौ ।”     कलाकार र युवा पलायनको असर   नाचगानमा राम्रो कला भएका राजकुमार परियार, गोकुल वि.क, सोनिया पुन, मिलन थापामगरलगायत म्याग्दीका कलाकारहरु पछिल्लो एक वर्षयता रोजगारीको शिलशिलामा विदेशिएका सुनारले बताउनुभयो ।   जिल्ला बाहिरका सहर र विदेशमा रहेका म्याग्देलीहरुले भने तिहारको अवसरमा देउसीभैलो खेलेका छन् ।   पोखरामा म्याग्दी–पोखरा चौतारी, पोर्चुगल, बेलायत, अमेरिका, जापान, दक्षिण कोरीया, अस्ट्रेलीयालगायत देशमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा देउसीभैलो खेलीएको छ ।   भेला भएर आफ्नो जातीय पोशाकमा सजिएर मौलिक गीतमा नाचगान सहित देउसीभैलो देखिएको अमेरिकामा रहनुभएका म्याग्दी ताकमका राहुल केसीले बताउनुभयो ।   “बाध्यताले विदेशिनु परेपनि आफ्नो संस्कार र संस्कृति प्यारो लाग्दो रहेछ,” उहाँले भन्नुभयो “हाम्रो सन्तानहरुले चाडपर्व र संस्कृतिको बारेमा सिकुन भनेर पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएका छौ ।”   विसं २०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार आठ सय ३० रहेकामा कुल जनसंख्या एक लाख सात हजार ३३ छ ।   २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ थियो ।   पछिल्लो जनगणनामा परिवार सङ्ख्या बढे पनि जनसङ्ख्या घटेको छ । हाल जिल्लामा पुरुषको सङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० छ ।   जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्या कुल परिवार संख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ रहेको छ ।   देसीभैलोको उद्देश्य, स्वरुप र शैली फेरियो   पहिले मनोरञ्जनका लागि खेलिने देउसीभैलोको शैली, स्वरुप र उद्देश्य पनि फेरिएको छ ।   संस्कृति संरक्षणसँगै आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसीभैलो खेल्ने चलन बढेको छ । कलाकारहरुले आफै भट्याउने, बजाउने चलन कम छ । रेकर्ड गित स्पिकरमा बजाएर नाच्ने गरिएको छ ।   यसो हुँदा देउसीभैलोको मौलिक पक्ष ओझेलमा परेको कलाकार अमित विश्वकर्माले बताउनुभयो । प्रविधिको उपयोग र आधुनिकताको अनुशरणसँगै मौलिकतालाई पनि निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।   सामुदायिक विद्यालयहरुले निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन, युवा क्लव, आमा समूह र विभिन्न संघ संस्थाले कोष स्थापनाको उद्देश्य राखेर देउसीभैलो खेल्ने गरेका छन् ।   देउसीभैलोमा पौराणिक कथा प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेलाई पनि आनन्द लाग्छ ।   देउसीभैलो खेल्न पुगेकाहरूले सम्बन्धित घरको वर्णन गर्दै आफूहरू आउनुको ऐतिहासिक कारण खोल्दै आशिषसमेत दिने चलन छ । घरधनीले पनि त्यस्ता समूहलाई गच्छेअनुसार फलफूल, रोटी र दक्षिणा दिने गर्दछन् ।   देउसी भैलोमा गाइने गीतमा बलिराजाको प्रसंङ्ग जोडिएको पाइन्छ ।   विभिन्न प्रसङ्ग र कथनसँग जोडिएको देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्ने देखिन्छ ।