पोखरा: गलकोटकी सृष्टि खड्काले ११ औं संस्करणको मिस पोखरा–२०२४ को ताज जितेकी छिन् । पोखरा १० काजीपोखरी निवासी खड्काले अन्तिम १६ प्रतिस्पर्धीलाई पछि पार्दै मिस पोखराको ताज जितेकी हुन् । उनले ताजसँगै स्कुटर र नगद ५० हजार पुरस्कार प्राप्त गरिन् । साथै उनी सिधैं मिस नेपालमा भाग लिन अवसर प्राप्त गरेकी छिन् । यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेण्ड रनर अप घोषित भइन् । उनीहरुले ताजसहित क्रमशः ३० हजार र २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे । रेखाले वेष्ट इन्टेलेक्टकोसमेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस तथा क्वाटवाक अवार्ड जितिन् । पोखरा जेसीजको आयोजना र इभेन्ट फर युको व्यवस्थापनमा ६ वर्षपछि मिस पोखरा भएको थियो । सो प्रतियोगिताको मुख्य निर्णायकमा सुवर्ण क्षत्री थिए भने, अन्य निर्णायकमा पूर्व सांसद एवं वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङ, अभिनेता सरोज खनाल, अभिनेत्री एलिजा गौतम, ला ग्राण्डीका प्रिन्सिपल किरण केसी, शेषराज भट्टराई, डा.रामजी शर्मा गरी ७ जना थिए । मिस पोखरा २०१८ भने सारा बजिमय बनेकी थिइन् ।
म्याग्दी: कलाकारले मुस्ताङको प्रकृति, संस्कृति र मौलिकतालाई चित्रमा उतारेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सवमा सहभागी कलाकारले स्थलगत भ्रमण गरी देखेका दृष्यलाई चित्रमा उतारेका हुन् । मुस्ताङका पाँचवटा गाउँमा पुगेका कलाकारले स्थलगत रुपमा कला प्रदर्शनी गरेका महोत्सवका संयोजक त्रिपल पि गुरुङले जानकारी दिनुभयो । यही कात्तिक ३ गतेदेखि सुरु भएको महोत्सव शुक्रबार ठिनीमा समापन गरिएको हो । “महोत्सवमा सहभागी कलाकारले जोमसोम, ठिनी, कागबेनी, मुक्तिनाथ, झोङ, झारकोट, तिरीको अवलोकन गर्दै चित्र कोर्नुभयो”, संयोजक गुरुङले भन्नुभयो, “महोत्सवले मुस्ताङको पारम्पारिक सङ्गीत, नृत्य र विभिन्न सांस्कृतिक परम्परालाई चित्र कलामार्फत विश्वभर प्रचार गर्न सहयोग पुगेको छ ।” परम्परागत सङ्गीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकार माझ बाँड्ने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा सहभागीहरुले मुस्ताङका गाउँ, जनजीवन, हिमाल, पशुपालन, संस्कृति, कृषि, गुम्बा, मन्दिरको चित्र कोरेका थिए । कलाकार मनोज तामाङले कल्पना गरेको भन्दा आफँैले देखेको विषयवस्तुलाई चित्रमा उतार्न सजिलो र वास्तविकता जस्तै भएको बताउनुभयो । स्थानीयवासीका साथै विदेशी पर्यटकहरुले चित्रकारहरुले चित्र कोरेको अवलोकन गरेका थिए । महोत्सवमा सहभागी हुन थाइल्यान्डका डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डका इवा क्रुएजकोस्का, रोमानियाका स्टेफन बालोग, भुटानका जामपेल छेदा, इन्डोनेसियाका एमी गोर, ताइवानका छेङ हान वेनलगायतका अन्तर्राष्ट्रिय कलाकार मुस्ताङ आउनुभएको थियो । नेपालका कलाकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नवीन नाल्बो र आकाश गुरुङ पनि महोत्सवमा सहभागी हुनुुभएको थियो । महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङलगायत विभिन्न सांस्कृतिक र साङ्गीतिक कार्यक्रम गरिएको थियो । हरेक साँझ फरक फरक स्थानमा काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को संयोजनमा घुम्तीरुपमा हिमाली क्षेत्रका चलचित्र प्रदर्शन गरिएको संयोजक गुरुङले बताउनुभयो ।
काठमाडौं: कवि र चित्रकारबीच के भिन्नता छ ? भन्ने प्रश्नमा चित्रकार रमेश खनालले क्यानभासमा रङ पोत्दै भन्नुभयो, “उस्तै हुन्, चित्रकारले रङमार्फत भावना पोख्छन् भने कविले शब्दमार्फत ।” भावनाको कलात्मक सङ्गम गराउने उद्देश्यले यतिबेला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्यचित्र सिर्जना शिविर’ स्थलगत काव्य–चित्र सिर्जना कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा १५ जना कविका विभिन्न शीर्षकका कवितामा १५ जना चित्रकारले प्रत्यक्ष रुपमा क्यानभासमा चित्र कोर्नुभएको छ । चित्रकार खनालले कवि मणि लोहनीको ‘जन्मस्थल’ शीर्षकको कवितामा चित्र बनाउँदै भन्नुभयो, “कविले शब्दमा जे भन्न खोजेको छ, त्यही भाव चित्रमा फरक शैलीले आउनसक्छ । यसलाई नै शब्द र रङ्गमार्फत व्यक्त सिर्जना भनिन्छ ।” चित्र कोर्नुअघि पाँच पटकसम्म कविता पढेर त्यसको भाव महसुस गरेको उहाँले बताउनुभयो । कविताअनुसार मिल्ने र सुहाउने रङ क्यानभासमा खनालले उतार्नुभएको हो । उहाँको चित्र कोर्ने शैली अमूर्त हुन्छ । जहाँ कुनै आकृति हुँदैन मात्रै रङले भाव पोख्छ । खनालले बिनाआकृति कविताको मर्म र भाव उजागर गर्न प्रयत्नशील रहेको उल्लेख गर्नुभयो । नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले साहित्य र चित्रकलाबीचको सिर्जनात्मक भावना जागृत गराउन एकदिने कार्यशाला आयोजना गरिएको बताउनुभयो । कार्यशालामा कवि विश्वमोहन श्रेष्ठ, राजेन्द्र शलभ, विधान आचार्य, स्नेहा, सायमि, किशोर पहाडी, गीता कार्की, मोमिला, रजनी ढकाल, बाबु त्रिपाठी, प्रज्वल अधिकारी, सुमन थापा, अनिता लामा, ओम रिजाल, दीप दर्पणका कवितामा चित्रकार किरण मानन्धर, केके कमचार्य, रमेश खनाल, दिनेश्वर महतो, अरुणा हिङ्माङ, सौरगङ्गा दर्शनधारी, सन्तोष राई, दिपेन्द्रमान बनेपाली, देवेन्द्रकुमार काफ्ले, सञ्जय वान्तवा, नरेन्द्रबहादुर श्रेष्ठ, केशवराज खनाल, राधेश्याम मुल्मी, विपना महर्जन, सुन्दर लामाले चित्र बनाउनुभएको हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र एपेक नेपालले एक दिने कार्यशाला आयोजना गरेको हो ।
पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने उद्देश्यसहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले विजयादशमीको अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं भन्ने नारासहित सांस्कृतिक सन्ध्याको आयोजना गरेको हो । उक्त कार्यक्रमबाट करिब १ लाख संकलन भएको क्लबका अध्यक्ष दानबहादुर रानामगरले जानकारी दिए । उनका अनुसार उक्त रकम सामाजिक कार्यमा खर्चिने गरि कोषमा राखिने छ । ‘हामीले हरेक वर्ष साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौ । यो वर्षपनि भव्य रुपमा सफल भएको छ, उनले भने, ‘हरेक क्षेत्रबाट र आर्थिक सहयोग गर्ने सम्पूर्णलाई क्लबको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहान्छु र उक्त रकम कोषमा राख्ने निर्णय गरेका छौं ।’ उनले सो कार्यक्रमले संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने बताए । ‘मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यो कार्यक्रमले धेरै थोरै भएपनि यसको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास छ ।’ अध्यक्ष रानामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गरेका थिए । सहिद केवल गाहा स्मृति खेलमैदाममा भएको कार्यक्रमको सञ्चालन विष्णु रानामगर र गुन बहादुर आलेले गरेका थिए ।
पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले तेस्रो संस्करणको सिम्पानी साँझको आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसर पारेर (भाइटिकाको अघिल्लो दिन) यही कात्तिक १७ गते साँझको आयोजना गरिने क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारबाट विभिन्न जाति समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत हुनेछन् । भने, ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डको कन्सर्ट हुनेछ । ‘यो वर्ष तरेली साँस्कृतिक परिवारको विशेष नृत्य रहनेछ । यस्तै स्थानीय कलाकारहरुले पनि आफ्नो नृत्य प्रस्तुत गर्नेछन् भने, मिलन एण्ड द ओभरेप्टर्सले लाइभ प्रर्फमेन्स दिनेछ’ उनले भने । उनले उक्त कार्यक्रमबाट बचत हुने रकम सामाजिक कार्यमा खर्चिने बताए । ‘हामीले साँझबाट बचत भएको रकम सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य छ, उनले भने, ‘क्लबको भवन जीर्ण अवस्थामा छ यसको मर्मत गर्नुपर्नेछ । यस्तै लागुऔषधको विरुद्धमा सचेतनामूलक कार्यक्रम गर्ने योजना छ ।’ सिम्पानी साँझमा प्रवेश निशुल्क रहेको छ भने, सुरक्षाका लागि वडा प्रहरी बगरसँग समन्वय भइरहेको आयोजकले जनाएको छ । सो साँझको होस्ट पत्रकार सुशान्त गाहामगरले गर्नेछन् ।
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने उद्देश्यसहित भाेलि पूर्णिमाको दिन (१ गते बिहीबार) विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले विजयादशमीको अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं भन्ने नारासहित सांस्कृतिक सन्ध्याको आयोजना गरिने क्लबका अध्यक्ष दान बहादुर रानामगरले जानकारी दिए । अध्यक्ष रानामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गर्नेछन् । उक्त कार्यक्रम सहिद केवल गाहा स्मृति खेलमैदाममा बेलुकी ८ बजे सुरु हुनेछ । ‘हाम्रो गाउँमा शत प्रतिशत मगर जातिको बसोबास छ । त्यसैले मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यसको जगेर्ना गर्न हरेक वर्ष विविध साँस्कृतिक कार्यक्रम आयोजना लागेका हाैं । यसले गाउँलाई चिनाउन मात्रै नभई पुख्र्याैली इतिहासलाई उजागर गर्न टेवा पुग्ने विश्वास छ ।’ उक्त क्लबले संस्कृतिको संरक्षणको क्षेत्रमा मात्रै नभई सामाजिक तथा खेलकुदको क्षेत्रमासमेत काम गर्दै आएको छ ।
आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । “केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्,” उहाँले भन्नुभयो । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पूर्वअध्यक्ष गौतमले बताउनुभयो । यस्तै, हनुमानढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा सङ्लग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीब्र हुने गर्दछ ।
पोखरा: मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । मंगलबार उनीहरुलाई पूर्वसंचारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे । २२ वर्ष संचारकर्मको अनुभवलाई सुनाउँदै पौडेलले सकरात्मक सोचले नै आफुमा परिवर्तन आउने उल्लेख गरे । “म करिब २२ वर्ष संचार कर्ममा लागे । संचार क्षेत्रले मलाई धेरै पाठ सिकायो । कर्मलाई आत्मसात् गर्दै सकरात्मक विचार राखियो भने सफलता मिल्छ । त्यसैले सकरात्मक सोचौं ।”, उनले भने । पौडेलले साना साना विषयवस्तुले नै लक्ष्य दिलाउने बताए । भनाई र गराईमा फरकपन आयो भने समस्या हुने भनाई उनको छ । मिस पोखराका प्रतिस्पर्धीलाई उनले सामाजिक बन्न सुझाएका छन् । नेतृत्व विकासका लागि समाजलाई नजिकबाट पढ्न आवश्यक रहेको उनले बताए । “राजनीति गर्दिन त्यसैले राजनीति मन पर्दैन । व्यवसायमा चाँसो छैन त्यसैले यसको बारेमा जानकारी भएर के गर्नुु रु भन्ने सोच पाल्नुभएन ।”, उनले भने । हरेक विषयवस्तुको बारेमा जानकारी हुन आवश्यक रहेको उनले बताए । बोल्दा प्रस्तुतीकरणमा ख्याल गर्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका उनले समाज निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण रहेको र मिस पोखरा जस्ता कार्यक्रमले नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नेमा विश्वस्त रहेको बताए । कात्तिक १० गते फाइनल हुन लागेको मिस पोखरामा १७ जना प्रतिस्पर्धी सहभागी छन् । उनीहरुलाई अहिले विभिन्न तालिम दिइएको पोखरा जेसीजका अध्यक्ष जेसी देबराज शर्माले जानकारी गराए । विभिन्न विधामा २१ दिनसम्म तालिम प्रदान गरि क्षमता अभिवृद्धि गराउने लक्ष्यका साथ अगाडि बढीरहेको भनाई उनको छ ।
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले यही असोज २६ गते विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान गर्ने भएका छन्। राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा अपराह्न ३ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिपतिबाट टीका तथा प्रसाद प्रदान हुने कार्यक्रम रहेको राष्ट्रिपति कार्यालयले जनाएको छ। इच्छुक सम्माननीय, उपप्रधानमन्त्री तथा मन्त्रीज्यू, प्रदेश प्रमुख, न्यायाधीश, सङ्घीय संसद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट महानुभाव तथा निजामती, जङ्गी अड्डा, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकलाई अपराह्न ३ बजेदेखि ३:३० बजेसम्म टीका तथा प्रसाद प्रदान हुनेछ। इच्छुक आमनागरिकका लागि अपराह्न ३:३० बजे देखि ५ बजेसम्म टीका तथा प्रसाद प्रदान गरिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। टीका ग्रहण गर्न आउने व्यक्तिका लागि मर्यादित पोशाक र प्रवेश गर्न प्रवेशद्वार नं १ तोकिएको पनि विज्ञप्तिमा जनाइएको छ।

