पोखरा:   पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

पोखरा:   फेवातालमा माछा मार्ने क्रममा डुबेर बागलुङका सुक बहादुर मगरको मृत्यु भएको छ । खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा मगरको आज (बुधबार) डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पोखरा महानगरपालिका–१४ खपौदीस्थित फेवातालमा आज (बुधबार) माछा मार्ने क्रममा बागलुङ घर भएका मगर फेवातालमा डुबेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   फेवातालमा डुबेका मगरको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएपनि चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:  १९ औं संस्करणको असारे रोपाइँ महोत्सव पोखरा महानगरपालिका–२३ मार्गी फेवाफाँटमा हुने भएको छ ।  पोखरा पर्यटन परिषद्ले आज पोखरामा पत्रकार सम्मेलन गर्दै १९ औं संस्करणको असारे रोपाइँ महोत्सव मागी फेवाफाटमा हुने जानकारी दिइएको हो ।  पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले असार १५ गते हुने असारे रोपाइँ महोत्सवको तयारी तीव्र पारिएको बताए ।   ‘पोखरा सबै मौसमका लागि, भन्ने मूल नाराका साथ रोपाइँ महोत्सव आयोजना गर्दै आएका छौं’, महासचिव सिग्देलले भने, ‘असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाइरहेको अवस्थामा पोखरा पर्यटन परिषद्ले सुरुवात गरेको असारे रोपाइँ महोत्सवको अवाश्यकता र औचित्य समेत बढ्दै गएको छ ।’ उनले पोखरा पर्यटन परिषद्ले पोखरा वरिपरि भएका खेती योग्य जमिनलाई संरक्षण गर्दै कृषकलाई आफ्नो पेशा प्रति उत्पेरित गर्न महोत्सव आयोजना गरेको उल्लेख गरे ।  ‘महोत्सवको मुख्य उद्धेश्य पोखरा वरिपरि भएका खेती योग्य जमिनको संरक्षण गर्दै कृषकलाई आफ्नो पेशा प्रति उत्पेरित गर्ने हो, उनले भने, ‘असार १५ का दिन हिलोमा एक पटक त टेक्नु पर्छ भन्ने भनाईलाई समेत जीवन्त तुल्याउने अभिप्रायले १९ वर्ष देखि असारे रोपाइँ महोत्सव आयोजना गर्दै आएका छौं ।’ पोखरा महानगरपालिका–२४ मार्गी फेवाफाँटमा हुने असारे रोपाइँ महोत्सवमा हल गोरु दौड, आमा समूहहरुबीच असारे रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता (आन्तरिक तथा बाह्य पर्यटक, महिला पुरुष), रस्सकस्सी प्रतियोगिता, (आन्तरिक तथा बाह्य पर्यटक महिला÷पुरुष) र हिलोमा भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।  महोत्सवमा राष्ट्रिय कलाकार प्रजापति पराजुली, समिक्षा अधिकारी, निर्जला गुरुङ र बालकाशी गुरुङको सांगीतिक पस्तुती रहने आयोजकले जनाएको छ ।  रोपाइँ महोत्सवमा करिब १० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता जनाउने अनुमान रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।  ‘तीव्र शहरीकरणका कारण मुख्य खाद्यान्न बालीका रुपमा प्रयोग गरिदै आएके धान खेतीका विगतका केही समय खस्दकै गरेकाले नयाँ पुस्तालाई धान खेती प्रणाली देखाउन पनि महोत्सव आयोजना गरेका हौं, अध्यक्ष श्रेष्ठले भने, ‘असार १५ गते हुने असारे रोपाइँ महोत्सवमा करिव १० हजार आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता हुने अनुमान गरेका छौं ।’ पोखराका बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेती योग्य जमिनको खण्डीकरणले उत्पादनमा ह्रास आइरहेको छ ।   

कास्की:  लेखनाथको तालचोकमा दमौलीतर्फ जादैं गरेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार मृत्यु हुनेमा मादी गाउँपालिका ९ मिजुरे घई हाल पोखरा–२९ आदर्शचोक बस्ने बुद्धिसरा नेपाली रहेकी छिन् ।   पोखरा २७ तालचोकमा ग १ ख ४२२५ नम्बरको बसले हिजो (मंगलबार) बेलुकी ६: ५५ बजे ठक्कर दिँदा बुद्धिसरा गम्भीर घाइते भएकी थिइन् ।   त्यसपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले ९: ५० बजे मृत घोषणा गरेको इन्सपेक्टर शर्माले जानकारी दिए ।   उनका अनुसार बिक सोही बसबाट ओर्लने क्रममा बस अघि बढेपछि पछाडिको चक्का मुनि परेकी थिइन् ।   उनले पोखरा–२६ जलधारेका ३२ वर्षीय बस चालक कमल विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताए ।   ‘चालक र बस अहिले नियन्त्रणमा छ, इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने, ‘ति महिला बसबाट ओर्लनले क्रममा बस अघि बढाइएको भनिएको छ सो विषयमा थप अनुसन्धान भइरहेको छ ।’

पोखरा:   गएरातीदेखि परेको अविरल वर्षाका कारण कास्कीको जनजीवन प्रभावित बनेको छ । निरन्तर परेको अविरल वर्षाकै कारण पहिरोमा परेर २ जनाको मृत्युसमेत भएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पहिरोमा परेर मादी गाउँपालिका ५ चितेपानी घुम्तीका १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो ।     पछाडी पट्टीको माटोको ढिस्को खसेर प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घर पुरिएको थियो ।   सोही पहिरोमा परेका ७० वर्षीया लालमाया बन्जारीलाई भने सकुसल उद्धार गरिएको छ ।   यस्तै पोखरा महानगरपालिका वडा २७ आरूपाटाका हरि सुनारको घरमाथिबाट पहिरो आउँदा ३ वर्षीय अनमोल सुनारको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।   उनका अनुसार हरी सुनारको श्रीमती २७ वर्षीया रितु सुनारलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।   उनको अवस्था गम्भीर रहेको डिएसपी शर्माले बताए ।   सोही पहिरोमा परेका घरधनी हरि सुनार र ९ वर्षीया छोरी अञ्जली सुनारलाई भने सकुसल उद्धार गरिएको छ ।   पृथ्वीराजमार्ग भासियो PHOTO: Rishi Ram Pande   अविरल वर्षाका कारण पृथ्वीराजमार्ग सडकखण्ड अन्तरगत पोखरा महानगरपालिका १४ आनन्दटोलस्थित  घट्टे कुलोको बहाव बढेर सडक भासिएको छ ।   राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो ।   सडकको दायाँ साइड करिब ७ मिटर लम्बाई र चौडाई करिब १.५ मिटर घट्टे कुलोको भत्काएपछि सवारी आवगमन अबरुद्ध भएपनि हाल एकतर्फी सवारी सुचारु भएको छ ।   सडक भासिएपनि कुनैपनि अन्य क्षति नभएको डिएसपी शर्माले बताए ।       डुबानमा ५ घर   अविरल वर्षाकै कारण कास्कीमा हालसम्म ५ घर डुबानमा परेको छ ।    पोखरा महानगरपालिका ७ गैरीखेत स्थित कुमार सुनार र रेशम गुरुङको घरमा पानी पसेर डुबानमा परेको हो ।   वडा प्रहरी कार्यालय बैदामलाई प्राप्त सूचनापछि पानीलाई व्यवस्थित गर्ने र विभिन्न समाग्रीहरुको उद्धार गरिएको डिएसपी शर्माले जानकारी दिए ।   यस्तै पोखरा महानगरपालिका ३३ बागमारास्थित सिप्लिङ तारा टोलको ३ घर पनि डुबानमा परेको छ ।   ब्लक र टिनले बनेको राम्जी बास्तोला, सुमन बिक र बाबुराम बस्नेतको घरमा पानी पसेपछि जनजीवन प्रभावित भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उद्धार गरेको छ ।   टोल नै डुबानमा परेर मानवीय क्षति भने नभएको कास्की प्रहरीले जनाएको छ ।  

पोखरा:      गएराति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर कास्कीमा २ जनाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका र पोखरा महानगरपालिकाको आरुपाटामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको हो ।  पोखरा महानगरपालिका–२७ आरुपाटास्थित हरी सुनारको घरमा बुधबार बिहान घर माथिबाट आएको पहिरोले घर भत्किदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।  उनका अनुसार पहिरोमा पुरिएर ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको छ । पहिरोले पुरिएर घाइते भएका २७ वर्षीय रितु सुनारलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको छ । पहिरोले सुनारको घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ ।  यस्तै बुधबार बिहान नै कास्कीको मादी गाउँपालिका–५ चितेपानीमा पहिरोमा पुरिएर १३ वर्षीय आयुस्मा रानाभाटको मृत्यु भएको छ ।  चितेपानीस्थित प्रकाश रानाभाटको घर पछाडिबाट आएको पहिरोले घरको पछाडि भाग भत्किदा कोठामा सुतिरहेकी आयुस्माको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । घरका अन्य सदस्य सकुशल रहेको प्रहरीले जनाएको छ ।   

पोखरा:     पोखरामा साना तथा मझौला व्यवसायी महासंघ नेपालले एसएमइ एक्सपो गर्ने भएको छ ।  असार १३ देखि १७ गतेसम्म साना तथा मझौला व्यवसायी संघ कास्कीसँगको सहकार्यमा एक्सपो आयोजना गरिएको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा नेपालमा उत्पादित सामग्रीहरुको स्टल रहने महासंघका अध्यक्ष हरि पराजुलीले जानकारी दिए । अल्लोबाट उत्पादित सामाग्रीदेखि नेपालका मौलिकता झल्काउने सामाग्रीहरु आकर्षणका रुपमा रहने उनको भनाइ छ ।  ५० बढी स्टल रहने पराजुलीले जानकारी दिए । निशुल्क स्टल राख्ने व्यवस्था महासंघले मिलाएको हो । पराजुलीका अनुसार लत्ताकपडा, दैनिक उपभोग्य घरायसी सामाग्री, खाद्यन्न, डेरी, वनमा आधारित फाइबर बेसका उत्पादन, काष्ठ तथा धातुजन्य, हस्तकलाका सामाग्री, पशुपंक्षी, फ्लोरिकल्चर लगायतका सेवा र बस्तु स्टलमा हुनेछन् । पोखराको पर्यटन प्रबद्र्धनसँगै सरकार र साना तथा मझौला व्यवसायीबीच विश्वास र समन्वयको अभिवृद्धि गर्न एक्सपो आयोजना गरेको अध्यक्ष पराजुली बताउँछन् ।  देश विदेशबाट साँस्कृतिक नृत्यु, लोकदोहोरी गीत प्रतियोगितासँगै चर्चित लोकदोहोरी कलाकारले प्रस्तुती राखिनेछ ।   तीन दर्जन भन्दा बढी भारतका विभिन्न चार प्रान्तका कलाकारले पनि साँस्कृतिक प्रस्तुती राख्ने जनाइएको छ ।  एक्सपोको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्ने तय भएको छ । एक्सपो सम्पन्न गर्न झन्डै ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

पोखरा:      महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ ।  पोखरा १४ स्थित भोटेचौतारा स्थित समग्र महिला बहुउद्देश्यीय सहकारी संस्थाले दुध उत्पादन योजना विस्तार गर्न लागेको हो । पोखरा १४ मै करिब १० रोपनी जग्गा भाडामा लिएर सहकारीले २० वटा भैंसी र ५ वटा गाई पाल्न लागेको सहकारीका अध्यक्ष सविना अधिकारी क्षेत्रीले जानकारी दिईन् । उनका अनुसार सञ्चालन गर्न लागिएको दुध उत्पादन योजनामा १ करोड लगानी लाग्नेछ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाको स्वञ्छ दुध उत्पादनको लागि व्यवसायिक गाईभैंसी पालन उपआयोजनाको ५० प्रतिशत अनुदान सहयोगमा यो कार्यक्रम हुन लागेको सहकारीका व्यवस्थापन धर्मराज केसीले जानकारी दिए । यो उप आयोजना अन्तरगत सहकारीले २५ जना व्यवसायिक कृषक शेयर सदस्यबाट ५० लाख र आयोजनाबाट ५० लाख रुपैंया संकलन गरेर दुध उत्पादन गर्न लागिएको हो । पोखरा १४ कै कदम मार्गमा १० वर्षका लागि १० रोपनी जग्गा भाडामा लिएर दुध उत्पादन गरिने सहकारीकी सचिव ईन्दु अधिकारीले जानकारी दिईन् । सहकारीले वार्षिक ७२ हजार २ सय लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएको छ । जसबाट ५४ लाख १५ हजार रुपैंया आम्दानी हुने अनुमान गरिएको छ । यसैगरी ४० हजार केजी कम्पोष्ट बल विक्रिबाट २० हजार, बाच्छाबाच्छी बचेर २० हजार र पाडापाडी बेचेर १ लाख ५४ हजार रुपैंया आम्दानी हुने अनुमान सहकारीको छ । उक्त जग्गामा गाईभैंसी पालनसँगै घाँस उत्पादन र ताजा तरकारी पनि उत्पादन गर्ने लक्ष्य लिईएको अध्यक्ष अधिकारीले बताईन् । सहकारीबाट सञ्चालित फर्मबाट ६ जनाले प्रत्पक्ष रोजगारी पाउनेछन् भन्, ३५ जनाले प्रत्यक्ष र ५ सय ७५ जनाले अप्रत्यक्ष लाभ लिनेछन् । सहकारीबाट उत्पादित दुध जिल्ला सहकारी संघ कास्कीले खरिद गर्ने भएको छ । सोही आयोजना सञ्चालन पुर्व सहकारीले एक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहकारीका शेयर सदस्य तथा फार्म सञ्चालन गर्दा प्रभाव पर्ने स्थानका सरोकारवालाहरुको सहभागिता रहको छ । कार्यक्रममा वक्ताहरुले फार्म र अनुदानको निरन्तरता हुनपर्ने, कारोवार पारदर्शी हुनुपर्ने, उप आयोजनाले अन्य व्यक्तिलाई नकारात्मक असर पर्न नहुने लगायतका विषयबस्तुमा आफ्ना भनाई राखेका थिए । कार्यक्रममा सहकारीका सल्लाहकार तथा वडा नम्बर १४ का सदस्य तनुजा थापा सिकेले चौतारीमा बसेर बचत संकलन गरी शुरु भएको सहकारीले अहिले एक करोडको आयोजना सञ्चालन गर्न सक्षम भएकोमा खुशी व्यक्त गरिन् । मन्त्रालयको ग्रामिण विकास तथा आर्थिक विकास आयोजनाका कृषि विज्ञ विष्णु दयाल सिंहले नेपाल कृषि तथा पशुलालनलाई प्रोत्साहन गर्ने नेपाल सरकारको नीति अनुसार सहकारीलाई सहयोग गरिएको बताए । उनले उक्त अनुदान रकम फार्मलाई तीन किस्तामा दिने समेत प्रष्ट्याए । उनले पशुधन खरिद गर्दा सार्वजनिक खरिद नियमावली अनुसार गर्न र अनिवार्य विमा समेत गर्न सहकारीलाई सुझाव दिएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका महासचिव दीपक बाँस्तोलाले सहकारीले दुध खरिद गरि किसान र किसान समुहको दुध नबिक्ने चिन्ताको अन्त्य गरिदिएको बताए ।  उनले नेपाली किसानहरुले भोग्दै आएको मिल्क होलिडेको अन्त्य गर्न जिल्ला सहकारी संघ सदैव लाग्ने बताए । मन्त्रालयको यो आयोजना नेपालका ३५ जिल्लाका १ सय ७१ पालिकामा सञ्चालित छ । कास्कीको पोखरा महानगरपालिका, मादी र रुपा गाउँपालिकामा यो आयोजना सञ्चालन भएको स्टार्टअप अनुदान सञ्चालन म्यानुअलमा उल्लेख छ । एसियन विकास बैंकको करिब १४ अर्ब २३ करोड ऋणमा यो योजना सञ्चालन भईरहेको छ । 

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि साढे ६५ करोड बढीको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले आगामी आर्थिक वर्षका लागि ६५ करोड ६५ लाख २५ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ । गाउँपालिकाले भौतिक पूर्वाधारतर्फ १४ करोड ७७ लाख ६० हजार रुपैयाँ विनियोेजन गरेको छ । भौतिक पूर्वाधारतर्फ गाउँपालिकाले सडक र भवन निर्माणलाई बढी बजेट विनियोजन गरेको देखिन्छ । स्वास्थ्यतर्फ बाह्रै महिना औषधि खरिद, जेष्ठ नागरिकका लागि निशुल्क औषधी वितरण, विद्यालय नर्स कार्यक्रम, पाठेघरको मुखको क्यान्सर रोगको परिक्षण तथा उपचारका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ । शिक्षातर्फ गाउँपालिकाले बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि, करार शिक्षक छनोट तथा शिक्षकलाई आवश्यक तालिम मातृभाषा शिक्षक अनुदानलाई बजेटमा समेटेको छ । शिक्षा, युवा तथा खेलकुदमा १९ करोड ५४ लाख ७१ हजार, स्वास्थ्यतर्फ ४ करोड ८१ लाख ५८ हजार ५ सय, कृषि तथा पशुपंक्षी विकासतर्फ ३६ लाख २० हजार र प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ ५८ लाख ९० हजार रुपैयाँ विनियोजन भएको छ । (पुर्णपाठ)  

पोखरा:    गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ ।      नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो ।      सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ ।      सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले जानकारी दिनुुभयो ।      यस प्रावधान मार्फत व्यवसायीहरूलाई आफ्नो व्यवसाय सञ्चालनमा सहयोग पुुगी त्यसबाट लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।       उक्त अवसरमा नाट्टा गण्डकी प्रदेशका पदाधिकारी, गरिमा बैंक लेकसाइड शाखाका प्रमुख सहित बैंकका कर्मचारीको उपस्थिति थियो ।      व्यवसायिक हकहितका साथै पोखरा सहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा नाट्टा गण्डकी प्रदेशले सकृयताका साथ आफ्ना गतिविधि बढाइरहेको छ ।