कास्की: पोखराको लामाचौरबाट ३ वर्षीय बालक बेपत्ता भएका छन् । मंगलबार बेलुकी करिब साढे ९ बजे ४४ वर्षी रामचन्द्र सिकेको ३ वर्षीय छोरा अनमोल सिके सम्पर्कबिहीन भएका हुन् । पोखरा १६ लामाचौरस्थित घरबाटै बेपत्ता भएका थिए । पारिवारिक स्रोतका अनुसार उनले आफ्नो नाम बताउन सक्छन् । उनलाई कहि कतै देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गर्न वा 9856072649, 9825135622, 9846336672 मा सम्पर्क गर्न परवारले आग्रह गरेको छ ।
पोखरा: नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधान संशोधन गर्नको लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल कास्कीले मंगलबार पोखरा २६ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै उहाँले त्यसको लागि राष्ट्रिय सहमतीको सरकार बनाउने प्रयास गरिने बताउनुभयो । अब चुनाव अगाडि गठबन्धन समेत नबनाइने उहाँको दावी छ । ’केन्द्रमा पनि चुनाव अगाडि गठबन्धन नबनाउने, एकल चुनावमा प्रतिष्पर्धा गर्ने हो, यसमा नेपाली कांग्रेस सहमत हुने देखियो, हाम्रो त माओवादी केन्द्रलाई समेत सहमत गराएर राष्ट्रिय सरकार बनाउने प्रयत्न हो’उहाँले भन्नुभयो । हरेक पटक केपी ओली प्रधाननमन्त्री हुँदा मात्र संविधान संसोधन हुने गरेको भन्दै भूगोल र जनसंख्या नमिलेर चुनाव नहुने अवस्थाको सिर्जना हुँदा तथा नेपालको भूभाग समेटेर नक्सा प्रकाशित गर्दा भएको संविधान संशोधनको स्मरण उहाँले गराउनुभयो । ‘७ सय ५३ वटा स्थानीय तह छन्, सातवटा प्रदेश तह छन्, सबैलाई सानो नपारिकन स्थायी सरकार पनि हुने भएन, जनतामा आर्कषण पनि हुने भएन त्यसैले हामी संविधान संसोधन गर्न चाहन्छौ’ अधिकारीले प्रष्ट पार्नुभयो । यसैगरी समानुपातिक तर्फको प्रदेशको संख्या काटेर प्रत्यक्ष मात्र राख्ने र सानो साइजको प्रदेश सरकार बनाइने बताउनुभयो । गण्डकी प्रदेशमा १२ वटा मन्त्रालयको पुगेर खर्च बढेको अवस्थामा आफूले सिधै ७ वटामा झारेको र यो कदमले जनतामा त्यतिबेला आशाको सञ्चार जगाएको सुनाउनुभयो । हाल सातवटै प्रदेशमा रहेका प्रदेश प्रमुखको संख्या समेत जम्मा एक जनामा झारिने खुलाउनुभयो । ’समानुपातिकतर्फकोलाई एउटा संख्यामा पुर्याएर राष्ट्रिय सभामा पुर्याउने, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रदेश प्रमुख पनि सातवटाबाट घटाएर एकैजनाले सबैतर्फ काम गर्ने अवस्था ल्याउने तयारी छ’ उहाँले भन्नुभयो । एमाले अध्यक्ष केपी ओलीसँग शेरबहादुर देउवाले असार १५ गते छलफल गर्नुभन्दा अघिल्लो दिन प्रधानमन्त्रीले देउवालाई भेटेर जुल्फी हल्लाएको कारण सरकार परिवर्तनको अवस्था आएको बताउनुभयो । यो चक्र घुमिरहने भएकोले यसलाई सामान्य रुपमा लिन उहाँको आग्रह छ । जनताले व्यवस्थाप्रति प्रश्न चिन्ह उठाइरहेकोले पुरानै राजनीतिक दलमा सुधार ल्याएर जनताको विश्वास जित्ने प्रयास समेत रहेको उहाँको भनाई छ । ’प्रतिशोध साँधेर हुँदैन, हामी कसैलाई आरोप लगाउदैनौ कसैप्रति विरोध पनि गर्दैनौ हामी सबै मिलेर देश बनाउँछौ’उहाँले भन्नुभयो । यो व्यवस्थामाथि अराजकता आउँदाखेरी व्यवस्था सुदृढ गर्ने कुराको पहल भएको उहाँको भनाई थियो । राष्ट्रिय युवा संघ नेपाल कास्कीले वृक्षरोपण कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै उहाँले नेपालले काठ विदेशबाट निर्मात गर्ने नभइ यहाँबाट विदेश आयात गर्नुपर्ने बताउनुभयो । यस्तो गर्न सके राष्ट्रिय पुँजी निर्माणमा सकारात्मक सहयोग पुग्ने उहाँको विश्वास थियो ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो । क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइरालाले संयुक्त रुपमा स्कुटर हस्तान्त्रण गरे । गत वैशाख २८ गते पोखरा सभागृहमा सम्पन्न भएको स्पोर्टस अवार्डको अन्र्तगतको वर्ष उत्कृष्ठ पुरुष तथा महिला विधाको पुरस्कार सम्पूर्ण प्रक्रियागत तरिकाले गर्दा केही समयपछि मंगलबार वितरण गरिएको मञ्चका अध्यक्ष एवं पोखरा स्पोर्टस् अवार्ड मूल आयोजक समितिका संयोजक बरालले जानकारी दिए । वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न सातवटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार वितरण गरिएको थियो । स्कुटर हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष दीननाथ बरालले खेलाडीको मनोबल उच्च राख्न खेलप्रतिको आकर्षणलाई थप बलियो बनाउन अवार्डले महत्त्वपूर्ण भूमिका खेलेको बताए । हस्तान्तरण कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी कुमार पौडेल, प्रतिभा छनौट समिति संयोजक रोहितराज पराजुली, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, सदस्य रिसीराम जिसी, अवार्ड प्राप्त गर्ने खेलाडी थापामगर , गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’, टेल्जी नेपालका पोखरा शाखा प्रमुख हिरा कोइराला लगायत थिए । ञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
पोखरा: कास्कीका अन्नपूर्ण गाउँपालिका–३ काँडेमा आज दिउँसो कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । काँडेमा कार दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतको कुश्माबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५३६३ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ६ जना मध्ये चालकसहित ३ जना घाइते भएका हुन् । कार दुर्घटना हुँदा पवर्तको जलजला गाउँपालिका–६ घर भएका चालक ४४ वर्षीय सनम पुन, कुश्मा १२ बस्ने ४२ वर्षीय किशोर सापकोटा र शुशिला पुन घाइते भएको कास्की प्रहरीले जनाएको छ । घाइते तीनै जनाको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा: पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले आज (मंगलबार) महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।
पोखरा: पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक हरी अधिकारीले बताउनुभयो । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गर्नुभयो । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिनुभयो । कार्यक्रममा पत्रकारहरु भरत कोइराला, शोभाकान्त सिग्देल र फडिन्द्र अकिञ्चनले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्यांकन गर्नुभएको थियो । सहभागी विद्यार्थी कुसुम गुरुङले नमुना पत्रकार सम्मेलनबाट नयाँ सिकाइको अनुभव लिएको सुनाइन् । उनले भनिन्, ‘पोखराका अग्रज पत्रकारसँग भलाकुसारी गर्न पाउँदा सार्है खुसी लागेको छ र कार्यक्रमले सिकाइमा थप उर्जा दिने आशा लिएकी छु ।’ पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरु बिबिए र बिसिआईएस (आईटी) कार्यक्रममा अध्ययन गरिरहेका छन् ।
पोखरा: पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीबाट राष्ट्रिय सेवा दल (एनसिसी) को प्रशिक्षणमा सहभागी विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको सभाकक्षमा आयोजित एक विशेष समारोहका बीचमा उक्त अभिमुखीकरण कार्यक्रमअन्तर्गतको प्रथम प्रवचन समारोह आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय सेवा दलको सङ्क्षिप्त ऐतिहासिक झलकमाथि प्रकाश पार्दै नेपाली सेनाका सहसेनानी उमङ्ग श्रेष्ठले यसमा सहभागी हुने विद्यार्थीहरूले प्रशिक्षण अवधिभर गर्ने गतिविधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा कृष्णदल गणका गणपति प्रमुख सेनानी अमित लामाले विद्यार्थीहरूमा राष्ट्रिय भावनाको विकास गर्दै उनीहरूको समग्र व्यक्तित्व विकासमा समेत प्रशिक्षणले सकारात्मक भूमिका निर्वाह गर्ने उनको धारणा थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले जीवनमा सीप आर्जन गर्ने धेरै उपायहरू हुने र तीमध्ये एनसिसीमार्फत् हुने प्रशिक्षण कार्यक्रम पनि एक भएको बताउँदै राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिममा सहभागी एसओएसका विद्यार्थीहरूको प्रशिक्षणको पूर्ण सफलताको कामना गरे । विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले पूर्ण अनुशासनमा रही आफूमा अन्तर्निहित विभिन्न क्षमता उजागर गर्न विद्यार्थीहरूले एनसिसीको सि सं. ५० प्रशिक्षणलाई भरपुर उपयोग गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सेवा दलको सि सं. ५० अन्तर्गतको प्रशिक्षण कार्यक्रममा एसओएस गण्डकीका तर्फबाट छात्र र छात्रा गरी जम्मा ३६ जना विद्यार्थीहरूको सहभागिता रहनेछ । जम्मा १०० दिने चल्ने उक्त प्रशिक्षणको पहिलो चरणका ७९ दिने कार्यक्रमहरू विद्यालयमै सम्पन्न हुनेछन् भने दोस्रो चरणको कार्यक्रममा प्रशिक्षार्थीहरूलाई २१ दिने विशेष कोर्सका लागि नवलपरासीको हात्तीखोरस्थित राष्ट्रिय सेवा दलको शिविरमा लगिनेछ । विद्यार्थीको सर्वाङ्गीण पक्षको मूल्याङ्कन गरी प्रारम्भिक चरणको छनोट गरिने एनसिसीको प्रशिक्षणमा एसओएस गण्डकीका विद्यार्थीहरूले दोस्रो पटक सहभागिता जनाएको विद्यालयका सहप्रधानाध्यापक वीरसिंह बुढाले बताए । यसपूर्व २०७८ सालमा पनि विद्यालयका विद्यार्थीहरूले यस्तै प्रकृतिको प्रशिक्षणमा सहभागिता जनाइसकेको उनले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्ने बताउनुभएको हो । “गुणस्तरियतामा ख्याल राख्दै रैथाने उत्पादनको बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि प्रदेश सरकार यहाँहरु सँगै छ ।”, उहाँले भन्नुभयो । मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरुको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय गरेको जानकारी गराउनुभयो । सहुलियत ब्याजदरमा बैंकबाट ऋणको व्यवस्था मिलाइएको भनाई उहाँको छ । प्रकृति, संस्कृति, भेषभूषालाई आत्मसात् गर्दै हामीले हाम्रा उत्पादनमा ख्याल गर्नुपर्ने उल्लेख गर्नुभयो । आयत भन्दा पनि निर्यातमुखी बजारीकरणमा ध्यान दिन व्यवसायीलाई उहाँले आग्रह गर्नुभएको छ । सानै भए पनि आफ्नै व्यवसायले खुशी मिल्ने बताउँदै निरन्तरताले नै सफलता मिल्ने भनाई उहाँको छ । कार्यक्रममा साना तथा मझौला व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष हरिभक्त पराजुलीले साना तथा मझौला व्यवसायीको पीरमर्कालाई बुलन्द बनाउने कार्य गर्दै आएको जानकारी गराउनुभयो । गण्डकी प्रदेश अध्यक्ष ढाकाराम पौडेलले साना तथा मझौला व्यवसायी महासंघमा २५ करोड सम्म लगानी गर्ने व्यवसायी संस्थामा आबद्ध भएको उल्लेख गर्नुभयो । उहाँले प्रदेशलाई आर्थिक रुपमा सम्पन्न बनाउन साना तथा मझौला व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कास्कीकी अध्यक्ष सिर्जना तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य मेला संयोजक भागिरथ शर्माले गर्नुभएको थियो । मेला पोखरा ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा ५ दिनसम्म चलेको थियो ।
पोखरा: पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ डकुमेन्ट्री प्रर्दशन थालिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ डकुमेन्ट्री प्रदर्शन गरिएको हो । संग्रहालयमा आउने पर्यटकलाई यो डकुमेन्ट्री नियमित देखाइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताइन् । जोन पोर्टर र डन बुसले निर्माण गरेको डकुमेन्ट्री ३४ मिनेट लामो छ । सगरमाथा आरोहणका निम्ति सन् १९२१, २२ र २४ मा तिब्बततर्फबाट भएका प्रयासबारे डकुमेन्ट्रीमा उतारिएको छ । एक सय वर्षअघि सन् १९२४ मा १२ जना बेलायती नागरिक र दार्जिलिङका शेर्पा सहितको आरोहण दलले सगरमाथा चढ्ने प्रयास गरेका थिए । तिनै विषयलाई समेटेको डुकुमेन्ट्री देखाउन सुरु गरेको संग्रहालयले त्यतिबेलाका तस्वीरलाई ‘द फाइट फर एभरेस्ट १९२४’ नाम दिएर पर्यटकलाई प्रस्तुत गरिरहेको छ । तस्बिर जेठ २६ देखि नियमित प्रदर्शनीमा राखिएको हो । सोेमबारदेखि नै स्लोभेनियाका नागरिकले नेपालका हिमाल चढ्न थालेको इतिहासबारे जानकारी दिने तस्बिरकोसमेत प्रर्दशनी गरिएको छ । प्रदर्शनीको उच्च अदालत पोखराका न्यायधिश धनसिङ महराले उद्घाटन । सन् १९७५ मा स्लोभेनियाका नागरिकले मकालु हिमालको आरोहण गरि विश्वका १४ वटा हिमाल आरोहण गरेका छन् । साथै पर्वतारोहण संघले संचालन गर्दै आएको मनाङ माउन्टेनेरिङ स्कुलमा पर्वतारोहणको लागि गाईड तालिम लगायतका कामसमेत गरेको छ । तीनै फोटाहरु प्रर्दशनीमा छन् । फोटो प्रदर्शनीले पर्वतारोहण संघ र संग्रहालयको सम्बन्धलाई अझै कसिलो बनाउने विश्वास गरिएको छ । ति ऐतिहासिक फोटोलाई अब नियमित प्रदर्शनीमा राखिनेछ । कार्यक्रममा उच्च अदालत पोखराका रजिष्ट्रार अच्युत कुँइकेल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नाटा गण्डकीका अध्यष हरिराम अधिकारी, टेवान अध्यक्ष कमला गिरी, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पर्यटन विज्ञ डा. रामजी शर्मा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका सल्लहाकार हरिध्वज तुलाचन लगायतकोे उपस्थिती रहेको थियो । संग्रहालय हिमाल र हिमाली जनजीवनबारे अध्ययन अनुसन्धान गर्न चाहने पर्यटकको रोजाई बनेको छ । पोखरा महानगरपालिका– १७ रातोपैह्रामा १०० रोपनी क्षेत्रफलमा संग्रहालय छ । २०६० सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले संग्रहालयको उद्घाटन गरेसँगै सञ्चालनमा आएको संग्रहालय नेपाल पर्वतारोहण संघको मातहातमा सञ्चालनमा छ । संग्रहालयमा हिमाल, हिमाली समुदाय, जनजीवन र गतिविधिलाई उतारिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा चालु वर्षमा १०५ देशका पर्यटकले भ्रमण गरेका गरेका छन् । सार्कबाहेक ९८ देशका पर्यटकले भ्रमण गरेको संग्रहालयको रेकर्डमा उल्लेख छ ।

