पोखरा: सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा थप शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको छ । सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिए सगँ पोखरामा १० शाखा पुगेका छन् । सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए । विरौटा देखी छोरेपाटन, पुम्दीभुम्दीलाई लक्षित गरि विरौटा शाखा खोलिएको बताए । त्यसै गरी प्रस्याङ शाखाबाट त्यस वरपरको क्षेत्रलाई लक्ष्त गरेर खोलिएको बताए । दैनिक आवश्यकता पर्ने सामान किन्न सहज रुपमा पाइने उनले बताए । सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, विरौटा, भद्रकालि, शान्तिनगर, अम्मरसिंह र बगरमा शाखा बिस्तार गरिसकेको छ । केहीमहिना भित्रै पोखरामा अन्य क्षेत्रमा पनि शाखा बिस्तार गर्ने उनले बताए । नयाँ शाखामा ग्राहक आकर्षण गर्न विभिन्न छुट दिएको पनि उनले बताए । अहिले खाद्यसामाग्री, विद्युतीय सामान राखिएको छ । होम डेलीभरीको पनि व्यवस्था भएको उनले बताए । लक्की ड्र मार्फत कार जित्ने अवसर पनि भएको उनले बताए । दुई हजार सम्मको खरिद एउटा कुम्पन पाइने र बम्पर उपहारमा एमजिको इभि कार जित्ने सक्ने उनले बताए । त्यसै गरी प्रथम पुरस्कार स्कुटर, दोस्रो ४० इन्चको टिभि, तेस्रो माइक्रो ओभन, चौथोमा पंखा, पाँचौमा राईकुकर, छैटौमा हटपट उपहार जित्न सकिने उनले बताए । यो उपहार योजना सेलवेज र सेल्सबेरीका सबै शाखामा असार र साउन महिनाभर चल्ने बताए । पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा सामान्य खाद्यपसलको रुपमा सेलवेजले सेवा दिन थालेको थियो । त्यही व्यवसाय बिस्तार हुँदै जाँदा सन् २००४ मा काठमाडौं प्रवेश गरेको सेलवेजले २०१४ देखि सेल्सबेरीको नाममा शाखा संचालन गरिरहेको छ । विरौटा शाखाको पोखरा १७ की वडा अध्यक्ष राधीका शाहीले उद्घाटन गरीन् । उनले पोखरा १७ विरौटा देखी छोरेपाटन क्षेत्रमा सहरी घनत्व बढ्दै गएको बताए ।
पोखरा: विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा फेला परेको नगदसहित सामान प्रहरीले सम्बन्धित धनी भारतीय नागरिकलाई २ सातापछि फिर्ता गरेको छ । सामान फेला परेको सूचनापछि आज जिल्ला प्रहरी कार्यालय कास्कीमा आएका भारतीय नागरिकलाई प्रहरीले सामान २ सातापछि फिर्ता गरेको हो । गएको जेठ ३१ गते विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा फेला परेको नगदसहित सामान पोखरा रानी पौवा बस्ने सम्झना रानामगरले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएकी थिइन् । विन्ध्यवासिसिनी मन्दिरको पार्किङ क्षेत्रमा नगदसहित सामान फेला पारेर कास्की प्रहरीलाई बुझाएपछि प्रहरीले सम्बन्धित व्यक्तिलाई सामान फिर्ता लैजान जेठ ३१ गते नै सूचना जारी गरेको थियो । प्रहरीले जारी गरेको सूचनाको पछि आज भारतीय नागरिक संकेत गोविन्द गुप्तालाई नगदसहितको सामान फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा साईड ब्याग, घडी, ईयरवट, डाटाकेवल, मनिवर्स, संकेत गोविन्द गुप्ता नाम गरेको भारतीय आधारकार्ड, स्थायी लेखा संख्य कार्ड र भारतीय नगद रु १० हजार ३ सय २० रुपैयाँ फेला परेको थियो ।
पोखरा: पोखरामा पार्किङ गरेर राखेको जेसिबी रोलरमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ । पोखरा महानगरपालिका–९ जनप्रिय स्कुल पछाडि प्रतिभा मार्ग स्थित सडक निर्माणको लागि पार्किङमा राखेको सिम्रन कन्ट्रक्सन प्रालि, महतगौडाको जेसिबी रोलर मेसिनमा हिजो मध्यरातमा आगलागी भएको हो । जेसिबी रोलर मेसिनमा मध्यरातमा आगलागी हुँदा रोलरको फलाम भाग बाहेक पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । रोलर मेसिनमा आगलागी भएको सूचनापछि स्थानीय, नेपाल प्रहरीको दमकलको सहयोगमा साढे १ बजेको समयमा आगलागी नियन्त्रणमा आएको डिएसपी शर्माले बताए । आगालागीको कारण खुलेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यस वर्ष हुने चौथौ हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् । महोत्सवको तयारी स्वरुप महोत्सव स्थल वरपर सरसफाई गरिसकिएको छ भने खेत हिल्याउने कार्य समेत सुरु भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा गर्व गराउँदै कृषिमा आकर्षण बढाउने उद्देश्य साथ महोत्सव आयोजना गरिएको हो । महोत्सवले समग्र पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आवागमन बढाउने तथा कृषि क्षेत्रका लागि महोत्सव महत्वपूर्ण हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक हरीशरण पौडेलले बताए । ‘कृषिमा कृषकलाई प्रोत्साहन: विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव हुँदैछ ।जसमा विभिन्न कलाकारले प्रस्तुति समेत राख्नेछन् । प्रतियोगितामा प्रथम तथा द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ। महोत्सव सञ्चालनका लागि करिव रु।७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
पोखरा: दोहोरी साँझको क्षेत्रमा छुट्टै छवि जमाएको निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिले विशेष सांगीतिक कार्यक्रमको आयोजना गरी २० औं वार्षिकोत्सव मनाउने भएको छ । पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको दोहोरी साँझले यही १५ गतेदेखि २० गतेसम्म विविध सांगीतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार एवं नियमित कलाकारहरुको विशेष प्रस्तुती रहनेछ । वार्षिकोत्सवको अवधिभर बेलुकी साढे ७ बजेदेखि २ बजेसम्म दोहोरी साँझले सेवा दिनेछ । सञ्चालक गुरुङले ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकार कुमार पुन, शंकर विरही गुरुङ, श्याम रानामगर, चिज गुरुङ, निर्जला गुरुङ, चिजा तामाङ, निशा गुरुङले सांगीतिक प्रस्तुती दिनेछिन् भने मोडेल तथा डान्सर अशु गुरुङको प्रस्तुती दिनेछिन् । यस्तै दोहोरी साँझका नियमित कलाकारहरु टेक क्षेत्री, गुुप्त गुरुङ, विनोद गुरुङ, किसान नेपाली, टसबहादुर गुरुङ, सञ्जय गायक, प्रशान्त तामाङ, पाण्डव गुरुङ, याम बहादुर नेपाली, मनोज नेपाली, इन्द्रा गुरुङ, कल्पना आले, बत्तिकुमारी थापा, चिना थापा, सरिता राई, ललिता पुन, पुजा तामाङ, सुनिमा गुरुङ, निरुता थापा मगर र निशा गुरुङको प्रस्तुती रहने छ । सोही कार्यक्रमको अवसरमा पछिल्लो समय लोकप्रिय बनेको (गोर्खे खुकुरी, सोल्टी बजारमा) गीतका सर्जक तथा गायक निश्चल दवाडीलाई सम्मान गरिने दोहोरी साँझले जनाएको छ ।
पोखरा: पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका छात्र सचेत सुवेदी एसईई परीक्षामा ४ जिपिए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीवार बिहान प्रकाशित नतिजामा सुवेदीले ४ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले जानकारी दिए । एसइईमा अक्षराङ्कन पद्धति अवलम्बन गरिएपछि एसओएस गण्डकीबाट ४ जिपिएसहित सचेतले नयाँ अभिलेख कायम गरेको प्रधानाध्यापक सुवेदीले बताए । परीक्षाको तयारीमा आफ्नो निरन्तरको साधना तथा शिक्षकहरूको रचनात्मक पृष्ठपोषण र हौसलबाट आफूले यो सफलता हासिल गरेको छात्र सचेत सुवेदीले बताए । ‘सबै विषयलाई समान महत्त्व प्रदान गरी तयारी गर्दा मैले आज यो सफलता प्राप्त गर्दा खुसी लागेको छ ।’ उत्कृष्टता हासिल गर्ने छात्र सचेतले भने, ‘यस सफलताका पछाडि मेरा अभिभावकहरूको पनि सदैव उत्प्रेरणादायी भूमिका रह्यो ।’ विद्यालयका तर्फबाट यस वर्षको एसइईमा सहभागी ८८ जना विद्यार्थीमध्ये ४ जिपिए प्राप्त गर्ने १ र ३.९५ जिपिएभन्दा माथि प्राप्त गर्ने ६ जना विद्यार्थी रहेको विद्यालयका सहप्रधानाध्यापक वीरसिंह बुढाले बताए । त्यस्तै ५१ जना विद्यार्थीले ३.६ भन्दा माथि, १५ जना विद्यार्थीले ३.२ भन्दा माथि र त्यसमुनिका बाँकी विद्यार्थी पनि राम्रै जिपिएका साथ उत्तीर्ण भएको सहप्रधानाध्यापक बूढाले जानकारी दिए । सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित एसओएस गण्डकी अनाथ, असहाय र परित्यक्त बालबालिकाका अतिरिक्त समुदायका अन्य बालबालिकाहरूलाई समेत शैक्षिक सेवा प्रदान गर्दै आइरहेको उत्कृष्ट शैक्षिक संस्था हो ।
बुटवल: राजेश स्मृति फाउण्डेशन कापिलवस्तुको आयोजनामा बुटवलमा सम्पन्न पहिलो संस्करणको फुटसल प्रतियोगितामा पोखरा च्याम्पियन बनेको छ । अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध लागुऔषध ओसारपसार विरुद्ध दिवसको अवसर आयोजित प्रतियोगिताको फाइनलमा चितवनलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै पोखरा फेलोशिप च्याम्पियन बनेको हो । च्याम्पियन बनेको पोखराले उपाधिसहित नगद ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको चितवनले नगद रु २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे । सो प्रतियोगिताबाट पोखराका अरुण गुरुङ सर्वाेत्कृष्ट, सोही टिमकै सुविन गुरुङ उत्कृष्ट गोलरक्षक र पोखराकै कुशल परियार सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भएका थिए । बुटवलस्थित लुम्बिनी फुटसलमा भएको प्रतियोगितामा रुपन्देही, कास्की, चितवनका गरी कुल १४ टोलीहरुले सहभागिता जनाएको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन् । मन्त्रालयकै आयोजनामा विहिबार देखि सुरु भएको उक्त कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले कार्यक्रमबाट युवाको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । संसद अभ्यास सँगै नेतृत्व विकास सम्बन्धि सिकाईले सामाजिक रुपान्तरणमा युवाको भूमिकालाई मजबुत बनाउने उनले उल्लेख गरे । “युवा भविष्यका कर्णदार हुन् । युवा बिना देश विकास सम्भव छैन् । युवालाई नेतृत्व तहमा पु¥याउन र क्षमता अभिवृद्धि गर्न प्रदेश नमूना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी देखिन्छ । आशा छ, मन्त्रालयले आजबाट चार दिनसम्म आयोजना गरेको उक्त कार्यक्रमबाट सहभागी सबै भाईबहिनीहरु लाभान्वित हुनुहुनेछ । सामाजिक रुपान्तरणमा यहाँहरुको भूमिका अब्बल रहनेछ, सबैलाई शुभकामना ।”, उनले भने । मन्त्रालयका सचिव प्रकाश पौडेलले नेतृत्वको अवसर सिर्जना गर्न, विकास गर्न र क्षमतामा अब्बल बनाउन नमुना युवा संसद अभ्यास प्रभावकारी रहेको उल्लेख गरे । उनले नमुनाका रुपमा उत्पादित जनशक्तिलाई नमुनाकै रुपमा विभिन्न तहमा ल्याउने प्रयास अन्तर्गत नै कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम संयोजक एवम् मन्त्रालयका युवा तथा खेलकुद महाशाखाका उपसचिव प्रकाश देवकोटाले कार्यक्रमको उद्देश्यका विषयमा प्रकाश पारेका थिए । चार दिनको कार्यक्रमको प्रशिक्षकका रुपमा राष्ट्रिय युवा परिषदका अभिनास कार्की, विवेक त्रिपाठी र जिल्ला युवा परिषद कास्कीका विवेक देवकोटा प्रशिक्षकका रुपमा रहनेछन् । कार्यक्रमको समापनमा प्रदेश सरकारका सभामुख, मन्त्री र सांसदको उपस्थितिमा सहभागी युवाहरुले नमुना संसदको अभ्यास गर्नेछन् । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका ३० जना युवाहरुको सहभागिता छ ।
पोखरा: पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो । कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको लेखक सापकोटाले बताए । पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषय समेटिएको उनले सुनाए । नेपाल प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारीले मुलुकको समावेशी अवस्थासँगै पुस्तकमाथि परिचर्चा गरेकी थिइन् । उनले पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषयमा तथ्यांकसहित अनुसन्धानमूलक विषय समेटिएको बताइन् । नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले सरकार र राजनीतिक दलहरूले समावेशिताको नारा लगाए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताइन् । नेपाली सञ्चार क्षेत्र पनि समावेशिताको अभ्यासमा चुकेको उनको धारणा थियो । कार्यक्रममा सहभागीहरुले संविधान र कानुनमा व्यवस्था भएका समावेशिता सम्बन्धी व्यवस्थाहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको धारणा राखेका थिए । उनीहरूले संविधानको मर्म अनुसार समावेशी समाज निर्माणका लागि मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए । यस्तै पुस्तकमा समाधानका पाटोसँगै कारणको खोजी गर्न उनीहरुले सुझाव दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष दीपक परियार, फोनिज गण्डकीका सदस्य कृष्ण आलेलगायतले जिज्ञासा र सुझाव राखेका थिए । फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत गरेकी थिइन् । भने, महासचिव धनबहादुर गुरुङ ‘सुमन’ ले सञ्चालन गरेको थिए ।

