पोखरा: कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्य भएको हो । कास्कीको पोखरा महानगरपालिका नम्बर १९, ३२ र मादी गाउँपालिकामा गएराति गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा पुरिएर ३ जना घाइते भएका छन् । पोखरा महानगर–१९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार बिहीबार राति १० बजेतीर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको श्रीमती ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय आमा लक्षिमा परियार, छोरी १५ वर्षीय प्रशना परियार , २० वर्षीय प्रभा परियार, ज्वाइँ २५ वर्षीय अस्मित परियार र उद्धार गर्ने क्रममा तल्लोकोट बस्ने राधिका परियारको मृत्यु भएको हो । छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएर बसिरहेका बेला खसेको पहिरोले पुरेको र राधिकाको चाहिँ उद्धार गर्न खटिएकै क्रममा मृत्यु भएको सूचना अधिकारी शर्माले बताए । पहिरोमा पुरिएर १७ वर्षीय पवन परियार र ३१ वर्षीय कुमार परियार घाइते भएका छन् र उनीहरु उपचार पछि डिचार्ज भइसकेको प्रहरीले जनाएको छ । यस्तै पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीय अनिता ओझा, ११ वर्षीय अनुस्कार ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीमा पुरिएर ४० वर्षीय आरती ओझा घाइते भएकी छिन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङको मृत्युु भएको छ । ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
पोखरा: अविरल वर्षाका कारण बाढी र पहिराले देशभर भएको जनधनको क्षति प्रति नेकपा (एमाले) कास्कीले दुःख व्यक्त गरेको छ । नेकपा (एमाले) कास्कीका सचिव दर्शन लामाले आज विज्ञप्ती जारी गर्दै अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भएको जनधनको क्षति प्रति दुःख व्यक्त गरेको हो । सचिव लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘हाल कास्की जिल्ला र देशभर विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति नेकपा एमाले जिल्ला कमिटी दुःख प्रकट गर्दछ, उक्त वर्षातका कारण विपद्जन्य घटनामा परेर कास्कीमा असार महिनामा मात्र ३ जनाले ज्यान गुमाएका छन् । मृतक सबैमा नेकपा एमाले जिल्ला कमिटी कास्की भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दर्छौ ।’ एमाले कास्कीले प्राकृतिक प्रकोप पीडितहरुको उद्धार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरणमा सहयोग पुर्याउन राज्यका संयन्त्रहरुको ध्यानाकर्षणसमेत गरेको छ । प्राकृतिक प्रकोपबाट उत्पन्न यस दुःखद घडीमा पाटीको सबै कमिटी जनसंगठनहरुलाई आवश्यक समन्वय र सहकार्यसहित उद्धारमा लाग्नसमेत निर्देशन दिएइको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार अझै पनि वर्षाको सम्भावना कायमै रहेकाले जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउन र क्षति न्यूनिकरणतर्फ गम्भीर हुनसमेत एमाले कास्कीले सुरक्षा निकायलाई आग्रह गरेको छ ।
पोखरा: पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुजिँगत खर्च गरेको छ । भने चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ । चालु आवका लागि वडाले ४ करोड ८ लाखको बजेट कार्यान्वयन गरेकोमा पुजिगततर्फ २ करोड ७७ लाख बजेटमा २ करोड ३२ लाख र चालु तर्फ १ करोड ८ लाख बजेट बिनियोजन गरेकोमा ८५ लाख ५० हजार खर्च भएको वडा सचिव प्रमिला सुवेदीले जानकारी दिइन् । वडाले सबैभन्दा धेरै रकम पूर्वाधार निर्माणमा खर्च गरेको छ । यसैगरी वडाले ५ करोड ६४ लाख राजश्व संकलन गरेको छ । भूमि तथा मालपोत करबाट सबैभन्दा धेरै १ करोड १४ र व्यवसाय दर्ता तथा नविकरणबाट ६० लाख २० हजार राजश्व संकलन भएको सचिव सुवेदीले जानकारी दिइन् । वडा कार्यालयको आयोजना र पब्लिक फोरके टेलिभिजनको सहकार्यमा भएको पब्लिक सरोकार कार्यक्रममा वडासचिव सुवेदीले चालु आर्थिक वर्षको प्रगति विवरण पेश गरेकी थिइन् । कार्यक्रममा सहभागी वडावासीले फेवा नहर र विधुत नहरमा छेकबार, फोहोर संकलनलाई नियमित र प्रभावकारी बनाईनुपर्ने, खानेपानीको अभाव रहेको र फेवा ताल सरसफाइ लगायतका विषयमा जिज्ञासा राखेका थिए । बिजुलीको नाङगो तार विस्थापन गर्न, सोलार बत्ती मर्मत, युवा लक्षित कार्यक्रमलाई बजेटमा समावेश गर्न उनीहरुले माग गरे । स्थानीय अनन्त लम्सालले वडामा खानेपानीको समस्या सभाधान गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराए । उनले बर्षातमा आउने बाढी नियन्त्रण र ढलको दिर्घकालिन समाधन गर्नुपर्नेमा जोड दिए । युवा व्यवसायी इश्वर केसीले सार्वजनिक स्थानमा सिसिक्यामेरा जडान र जडान भएका क्यामेरालाई चुस्त राख्ननुपर्ने बताए । डिआर भट्टराईले वडामा भौतिक पूर्वाधार मात्र प्राथमिकतामा परेको भन्दै जेष्ठ नागरिक र बालबालिका खेल्ने बगैँचा, पार्क र हरियाली प्रवद्र्धनका कार्यक्रममा ध्यान दिन आग्रह गरे । शान्ती लिम्बुले मतगौँडा जग्गाको हालसावी नहुदाँ स्थानीय समस्यामा परेको भन्दै हालसावीका लागि आग्रह गरिन् । सहभागीले विकासको प्राथमिकता पहिचान गरी गुणस्तरीय र पारदर्शी रुपमा बजेट खर्च गर्न साथै वडाबाट दिइने सेवालाई चुस्तदुरुस्त बनाउन सुझाव दिए । सहभागीका प्रश्नको जवाफ दिदै वडाध्यक्ष राधिका शाही योगीले वडाको आवश्यकता र जनताको माग अनुसार नै वडाले काम गदै आएको बताइन् । फेवा नहर र विधुत नहरमा बालबालिका डुबेर मुत्यु हने गरेकाले सिंचाई कार्यालय र विधुत प्राधिकरणसंग मिलेर नहरलाई छेकबार गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । अहिले भएको स्थानमा वडा कार्यालय साधुरो भएकाले ६ महिनाभित्र नयाँ भवनमा वडा कार्यालय स्थान्तरण गरी सेवाग्राही मैत्री कार्यालय बनाइने बताइन् । कार्यक्रममा उठेका जिज्ञासाको जनप्रतिनिधि, सचिव, प्राविधक कर्मचारीले जवाफ दिएका थिए । कार्यक्रमको सहजिकरण पब्लिक फोरके टेलिभिजनका प्रस्तोता अमृत कुमार भट्टराइले गरेका थिए ।
पोखरा: ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत अध्यक्ष चयन भएकी हुन । एशोसियसनको वरिष्ठ उपाध्यक्षमा चित्र कुमारी थापा, उपाध्यक्षमा सोमना शाक्य, महासचिवमा माया विश्वकर्मा र सह सचिवमा पुष्पा पौडेल सर्वसम्मत चयन भएका हुन । त्यसैगरी सदस्यहरुमा कामना गुरुङ, मन्जु अधिकारी, विश्व श्रेष्ठ, शुष्मा गुरुङ र संकल्प श्रेष्ठ चयन भएका छन । त्यस्तै ब्यूटीपार्लर एशोसियशन कास्कीको अध्यक्षमा छाँया ढकाल, उपाध्यक्षमा सुनिता गुरुङ, सचिवमा शिशिर गोदार, उपसचिवमा हिमलादेवी गुरुङ, कोषाध्यक्षमा शान्ता लामिछाने र सह कोषाध्यक्षमा प्रभा वैद्य सर्व सम्मत चयन भएका छन । एशोसियसन कास्कीको सदस्यहरुमा शुसिला केसी, प्रमिला जोशी, टीका पुन, पूर्णकला गुरुङ र निकिता गुरुङ चयन भएका छन । त्यस्तै ब्यूटीपार्लर एशोसियसन लेखनाथ ईकाइको अध्यक्षमा शोभा पौडेल सर्वसम्मत चयन भएका छन । ईकाइको उपाध्यक्षमा पवित्रा गौतम, सचिवमा शिल्पा परियार, सह सचिवमा लक्ष्मी कुमाल र कोषाध्यक्षमा अमृता गुरुङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा रश्मी गिरी, सुस्मिता खड्का, पार्वती हरिजन, बिन्जु गोदार र अस्मिता परियार चयन भएका छन । उक्त अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आत्मनिर्भर बन्न र अर्थतन्त्रलाई नियन्त्रित गराउनका लागि ब्यवसाय गर्न आवश्यक रहेको बताए । बरालले ब्यूटीपार्लर पेशालाई राज्यले बेवास्था गरेको भनाइप्रति सहमत जनाउदै ब्यूटीपार्लर ब्यवसाय मार्फत राज्यको अर्थतन्त्रमा टेवा पुगेको हुँदा यस पेशा प्रति सरकार सकारात्मक भएर लाग्नुपर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकीका महिला अध्यक्ष चिनु गुरुङले सौन्दर्य पेशामा महिलाहरुलाई सम्पर्कमा राखेर ब्यवशाय सञ्चालन गर्नुपर्ने भएकाले कोरोना लगायतका सरुवा रोगहरुको जोखिममा रहेको र सरकारले समेत सुचीकृत गरेको भएतापनि सरकारले त्यसबारेमा चासो नदेखाएको बताइन । कार्यक्रममा ब्यूटीपार्लर एशोसियसन गण्डकीका अध्यक्ष रुपकला श्रेष्ठले ब्यवशायीहरुले आफुहरुलाई समय अनुसार आफुहरुलाई अपडेट गर्न आवश्यक रहेको बताए । सौन्दर्य पेशामा प्रयोग हुने सामाग्रीहरु दिन प्रतिदिन अपडेट भएर आउने भएकाले ब्यवसायीहरुले विभिन्न तालिमहरुको माध्यमबाट अपडेट हुनुपर्ने उनको भनाइ रहेको थियो ।
कास्की: आइएसएमटी कलेज पोखरामा ‘डाटा साइन्स एण्ड एआई फाउन्डेसन कोर्स’ बारे तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिका १५ स्थित कलेजमा पहिलो चरण अन्तरगत दुई हप्ता तालिम सम्पन्न भएको हो । कलेजका अप्रेशन तथा मार्केटिङ् म्यानेजर शिव पौडेलले गत १० गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन भएको जानकारी दिए । उनका अनुसार २ हप्तासम्म सञ्चालन भएको उक्त कोर्समा ४० जना विद्यार्थी सहभागि थिए । कलेजको आइटी संकायका एआई पिषयका शिक्षक एवम डिपार्टमेन्ट प्रमुख कम्प्युटिंग सरण कार्कीले तालिममा सहजिकरण गरेका थिए । उक्त कोर्सबाट विधार्थीले तथ्यांक संकलन (Data Collection), तथ्यांक प्रशोधन एवम् रुपान्तरण (Data Cleaning and Transformation) र एआई टुलस् प्रयोग गरि डाटा भिजुलाइजेसन (Data Visualisation) गर्न सक्ने भएको पौडेलले बताए । तालिममा सहभागि विद्यार्थीहरुले उक्त कोर्ष आफुहरुलाई निकै महत्वपूर्ण भएको प्रतिक्रिया दिएका थिए । सहभागी विद्यार्थीलाई डिपार्टमेन्ट प्रमुख कम्प्युटिंग सरण कार्की तथा क्याम्पस संयोजक शुष्मा रञ्जितले प्रमाणपत्र वितरण गरेका थिए । अन्य कोर्सको तयारी गर्दै ‘आइएसएमटी’ आइटी पढ्न चहाने विद्यार्थीहरुका लागि आगामी दिनमा डाटा साइन्स र एआई लगायत डिजिटल मार्केटिङ् र हाउस किपिङ् जस्ता विषयमा पनि नि:शुल्क ट्रेनिङहरु दिदै जाने कलेजको तयारी रहेको पौडेलले जानकारी दिए । उनका अनुसार यही असार ३१ गतेबाट सुरु हुने गरि रजिस्ट्रेसन खुला गरिसकेको छ । तालिम लिन इच्छुक विधार्थीले गुगलमार्फत फारम सक्ने बताउदै कलेजमै गएर वा 061433826, 061435436 मा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्ने जानकारी दिए । यो पनि पढ्नुहोस आइएसएमटी कलेजबाट ३ सय ९० विद्यार्थी दीक्षित इएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो । आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ,चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।
पोखरा: अविलर वर्षाका कारण पोखरा महानगरपालिका–२७ दिपाङ्ग तालमा पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारको ४ जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ । गुल्मी स्थायी घर भई पोखरा–२७ सत्यारज ढकालको घरमा भाडामा बस्दै आएका एकै परिवारका ४ जना डुबानमा परेका थिए । अविरल वर्षाका कारण पोखरा–२७ स्थित दिपाङ्ग तालमा पानीको सतह बढेपछि डुबानमा फसेका ४ जनाको सशस्त्र प्रहरी बलको नं. २४ कालिका गण पोखराबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी बलको टोलीले डुबानमा फसेका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीय सृजना अधिकारी, ६वर्षीय आयुष अधिकारी र ४ वर्षीय आयुष्का अधिकारीलाई सकुशल उद्धार गरेको हो ।
पोखरा: पोखरा–बागलुङ सडक खण्डको अन्नपूर्ण गाउँपालिका–५ सीता गुफामा लेदो झरेपछि सडक अवरुद्ध बनेको छ । आज बिहान सीता गुफा नजिक सडक खण्डमा हिलो र लेदोले सडक अवरुद्ध भएको एक प्रहरी अधिकृतले जानकारी दिए । हिलो र लेदो झरेपछि अवरुद्ध भएको सडक खण्ड सुचारु गर्न डोजरसहितको जनशक्ति परिचालन भइसकेको छ । केही समयमा नै सडक खुल्ने प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा आज बिहान घर माथिबाट आएको पहिरोमा पुरिदा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेहलापाटास्थित ५१ वर्षीय मनबहादुथापाको ब्लकले बनेको घर माथिबाट आएको पहिरोले घर पुरिदा २२ वर्षीय भिम बहादुर थापाको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । आज बिहान ४ बजेको समयमा करिव २० मिटर माथिबाट खसेको पहिरोले थापाको घर पुरेको थियोे । पहिरोमा पुरिएर बेपत्ता भएका २२ वर्षीय थापालाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा पुरिएका ५० वर्षीय कमला थापाको भने प्रहरी र स्थानीयले सकुशल उद्धार गरेको छ ।
पोखरा: अवैध रुपमा निगालाको टुसा चोरी निकासी गरेको भन्दै जीपलाई नियन्त्रणमा लिएर एक्यापमा बुझाएको छ । कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं. ४ लम्सालथरमा सोमबार राति प्रहरी चौकी घाचोक कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग ३ च ४५४० नम्बरको बोलेरो जीपपले टुसा बोकेको भेटिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रबाट निगालोको टुसा अन्दाजी १ हजार ४ सय ८० मुठा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अबस्थामा फेला पारेको हुँदा उक्त टुसा सहित जीपलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । जीप चालक जिल्ला कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं.१ टुसे बस्ने वर्ष ३७ को खिम बहादुर पुन र टुसा ल्याउने व्यक्ति जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४१ का रामजी भण्डारी पक्राउ परेका हुन् । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

