पोखरा: लायन्स क्लब अफ पोखरा मर्दीले पोखरा ६ केदारेश्वर मन्दिर वरपर सरसफाइ बोट विरुवा गोडमेल गरेको छ । केदारेश्वर मन्दिरको गेट देखी मन्दिर सम्म पाँच बोरा फोहोर संकलन गरेको छ । क्लबको बार्षिक योजना अनुसार सरसफाइ र विरुवाको संरक्षण गरेको लायन्स क्लब अफ पोखरा मर्दीका अध्यक्ष श्याम भुषालले जानकारी दिए । उनले सोमबार धेरै भक्तजनहरु केदारेश्वर मन्दिर आएको फोहोर भएका कारण मंगलबार बिहान सरसफाइ गरेको बताए । मुख्य गरी प्लास्टिक, फुटि लगाएतका फोहोर संकलन गरको उनले बताए । उनले मन्दिर, पानीका मुलहरु, घर वरपर सरसफाइ गर्नु पर्ने सिजन अहिले भएको बताए । सोही अवसरमा अघिल्लो वर्ष लगाएका विरुवाहरुलाई गोडमेल गरेको र १२ वटा विरुवालाई टिगार्ड लगाएको लायन्स क्लब अफ पोखरा मर्दीका सचिब उमाकान्त रिजालले जानकारी दिए । कार्यक्रममा डिष्टिक जोन चियरपर्सन मनोज कुमार अधिकारीले विरुवाको गोडमेल गर्दै विरुवा लगाएर मात्रै नहुने भन्दै त्यसलाई हुकाउनु ठुलो कुरा हुने बताए ।
पोखरा: पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव एवं महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही आउँदो भाद्र १९ गते देखि २१ गते सम्म हुने भएको समाजले जनाएको छ । महिलाहरूको महान् पर्व हरितालिका तिज पर्वको अवसरमा पोखरा लामाचौर स्थित ईन्द्रराज्य लक्ष्मी माविको परिसरमा सञ्चालन हुन राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबले प्रतियोगितामा पुरुष तथा महिला तर्फ करिब ५÷५ टिमको सहभागिताको लागी पत्राचार गरिएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताए । प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र मणिमुकुन्द भलिबल क्लब त्यस्तै महिला तर्फ त्रिभुवन आमी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यू डायमण्ड एकेडेमी र एभरेष्ट भलिबल क्लबलाई सहभागिताको लागि आमन्त्रण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । लिगकम नकआउटका आधारमा संचालन हुने उक्त प्रतियोगिता भदौ १८ गते देखि सुरु गर्ने तयारी रहेको छ । महोत्सवको अवसरमा राष्ट्रिय भलिबल सहित अन्तर महिला समूह तिज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती संगै शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले बताए ।
गण्डकी: गत वर्ष साउन २६ गते पोखरा महानगरपालिकाको अगुवाइमा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकले पोखराका सडक र चोकमा रहेका सालिक व्यवस्थापन तथा स्थानान्तरण गर्ने निर्णय ग¥यो । महानगरमा क्रियाशील राजनीतिक दल, सरकारी निकाय तथा सरोकार भएका सङ्घ संस्थाहरुसँगको समन्वयमा एक महिनाभित्र सालिक व्यवस्थापन गर्ने भनिएकामा वर्षदिनसम्म पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । पर्यटकीय राजधानीसमेत रहेको पोखराका मुख्य–मुख्य चोक र सडकमा राष्ट्रिय विभूतिदेखि साहित्यकारसम्मका सालिक ठडिएका छन् । सडक सुरक्षासँगै बढ्दो जनघनत्व, सवारी चाप र सहरी सौन्दर्यलाई दृष्टिगत गरी सालिकलाई स–सम्मान पोखरा महानगरपालिका–१८ स्थित सहिद तथा विभूति उद्यानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने निर्णय गरिएको थियो । स्थानान्तरण हुनु त परै जाओस् रेखदेख र संरक्षणसमेत नहुँदा केही सालिक बेवारिसे अवस्थामा पुगेका छन् । पोखरा–१० अमरसिंहचोकमा रहेको राष्ट्रिय विभूति अमरसिंह थापाको सालिक त्यसकै एक उदाहरण बनेको छ । काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्गको मुख्य चोकमा अवस्थित उक्त सालिकको दुरावस्थाले मानिसलाई नै गिज्याएको अनुभूति हुन्छ । राष्ट्रिय विभूतिको सम्मानमा राखिएको सालिकमाथि उल्टो अपमान भइरहेको देखिन्छ । घाँसको झाडीभित्र फुङ्ग अडेको अमरसिंहको सालिकले महानगरले सालिक व्यवस्थापनमा देखाएको उदासीनतालाई झल्काउँछ । सालिक ठड्याइएको संरचना पनि जीर्ण अवस्थामा पगेको छ । सालिकको चारैतिर बर्खे घाँसले ढाकेको छ । सालिक वरपरको सडक पनि नाजुक अवस्थामा छ । बर्सातका बेला हिलाम्मे र खाल्डाखुल्डी भएको सडकबाट यात्रा गर्नुपर्ने बाध्यता छ । पोखरा–१० का वडाध्यक्ष राजेश गुरुङले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेकाले उक्त सालिकको चाँडो व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । “महानगरले गत वर्ष नै सडकमा रहेका सालिकलाई सहिद उद्यानमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेको हो तर अहिलेसम्म सो कार्य अगाडि बढ्न सकेको छैन”, उहाँले भन्नुभयो, “यो विषयमा महानगर प्रमुखलगायतसँग कुरा राख्छु, अमरसिंहचोकसँगै महानगरभित्रका सबै सालिकको उचित व्यवस्थापन गर्नु आवश्यक छ ।” जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख भानु शर्माले दीर्घकालीन रुपमा सालिकको व्यवस्थापन गर्नु उचित हुने बताउनुभयो । “सालिक राखिएका संरचना नहुँदा सडक फराकिलो हुन्छ, व्यस्त चोकमा सालिकको सट्टा ट्राफिक आइल्यान्ड राख्न सकियो भने सवारी व्यवस्थापनमा पनि सहजता थपिन्छ”, उहाँले भन्नुभयो, “सालिक भएका कारण अहिलै नै ट्राफिक व्यवस्थापन गर्न कठिनाइ भएको अवस्था नरहे पनि यसको दीर्घकालीन व्यवस्थापनमा भने महानगरले योजना बनाउनुपर्छ ।” बढ्दो सवारी चाप र पार्किङ अभावका कारण पछिल्लो समय पोखराको ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ । पोखरा–१ हरिचोकदेखि वडा नं २६ अर्घौंचोकसम्मको सडक क्षेत्रमा सालिक छन् । अधिकांश सालिक राजमार्गका मुख्य चोकमा अवस्थित रहेको प्रमुख शर्माले बताउनुभयो । “कतिपय ऐतिहासिक व्यक्तित्वहरुका सालिक रहेका ठाउँमा उनीहरुका जयन्तीलगायत कार्यक्रममा मानिसहरुको भीडभाड हुने हुँदा ट्राफिक व्यवस्थापनमा समस्या निम्तने गरेको छ”, उहाँले भन्नुभयो ।
पोखरा: जनप्रतिनिधिका कथाव्यथा समेटिएको तीज गीत ‘वडा अध्यक्ष २०७९ जनताले हो’ सार्वजनिक भएको छ । पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको शब्द तथा अभिनय रहेको गीतमा गायिका तुलसी क्षेत्री र गायक रामप्रसाद ढकालको स्वर रहेको छ । जनप्रतिनिधिका रुपमा देखे भोगेका अनुभवलाई अधिकारीले तीज गीतमा समेट्नुभएको छ । तुलसी क्षेत्रीको युट्युबबाट सार्वजनिक भएको गीतमा सामाजिक विकास र जनप्रतिनिधिका भोगाइका विषयलाई जीवन्त रुपमा चित्रण गरिएको हो । वडाध्यक्ष र उहाँको परिवारबीचको संवादलाई जीवन्त अभिनयका साथ प्रस्तुत गरिएको गीतमा घाम नझुल्कँदै घरबाट निस्कने वडाध्यक्ष साँझ परेपछि तनाब लिँदै घर फर्किएको प्रसङ्गलाई परिवारले आफ्नो कर्मसँग जोड्दै भनेका छन्, “घर छोडेर हिँड्छौँ तिमी घाम नि नझुल्किँदै, करिमैले हो मेरो करिमैले हो । साँझ परेपछि घर टेक्छौँ सारा तनाव लिँदै, करिमैले हो मेरो करिमैले हो ।।” जनताले यस ठाउँबाट आफूलाई निर्वाचित गराएको भन्दै त्यसको जवाफमा भनिएको छ, “२०७९ मा अघि सारे यो ठाउँबाट मलाई, जनताले हो मलाई जनताले हो । मेरा मनका भावना यी सुनाउँ मैले कस्लाई जनताले हो मलाई जनताले हो ।।” घरमा समय दिन नपाउँदाका विवशता, परिवारले गर्ने अनुभूति, गरिबी र बेरोजगारी हटाउनका लागि जनताले दिएको जम्मेवारी, भोट माग्दा सुशासन ल्याउन गरिएका प्रतिबद्धतालगायत विषयवस्तुलाई गीतमा समेटिएको छ । वडाध्यक्षको व्यस्तताले घर, खेतबारी, लालाबाला सबै सम्हाल्नुपरेको परिवारको गुनासोका बीच वडाध्यक्षले सपनामा आफूले विकास मात्रै देखेको, दिन दुुःखीका घरमा उनीहरूले छाक टार्न पाएकोलगायत प्रसङ्ग उल्लेख गरिएको छ । भरतपोखरीको पुडिटार, कुलिङ हुँदै सिङ्गारेवास बाटोलगायत विकासलाई पनि गीतमा समेटिएको छभने संस्कृति, परम्परा जोगाउनुपर्ने, जनताका समस्या समाधान गर्न घरघरमा पुुगेर गुनासो सुन्ने गरेको विषय प्रस्तुत गरिएको गीतमा रचनाकारसमेत रहनुभएका पोखरा–३३ का वडाध्यक्ष अधिकारीले बताउनुभयो । गीतको छायाङ्कनमा पुडिटारको धार्मिक पर्यटकीयस्थल भुलभुलादेवी मन्दिर, हुडिकोटका साथै वडा कार्यालय देखाइएको उहाँले जानकारी दिनुभयो ।
पोखरा: नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले आफ्नो पार्टी भित्र कुनै गुट नभएको दाबी गर्नुभएको छ । आइतबार पोखरामा राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका कमिटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले अध्यक्ष केपी शर्मा ओलीको मूलधारमा समाहित भएर सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । ‘अहिले हाम्रो पार्टी भित्र कुनै गुट छैन, केपी ओली हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँलाई सहयोग गर्ने, उहाँकै मूलधारमा समाहित भएर हामी अगाडि बढ्ने हो । त्यसैले यहाँ कुनै गुटका कुरा कसैले गर्छ भने त्यो गुटको हामीले विरोध गर्नुपर्छ’ उहाँले भन्नुभयो । यस्तो अवस्थामा पनि साँच्चिकै गुटगत गतिविधि गर्ने र मूलधारमा नआउनेलाई पार्टीको शुद्धिकरण आन्दोलन मार्फत त्यस्ता क्रियाकलापलाई पराजित गरिने समेत उहाँले प्रष्ट पार्नुभयो । प्रदेश अधिवेशनले विभाजनलाई तलतलसम्म पुर्याएको भन्दै अब त्यसलाई रोकेर एकमत बनाएर अगाडि बढ्ने बताउनुभयो । ‘सबैलाई समेटेर सम्मान गरेर मिसन ८४ मा बहुमतको सरकार स्थापना गर्ने र एक्लै सरकार बनाउने हो’ उहाँले थप्नुभयो । एमालेको लोकप्रियता देखेर चारैतिरबाट घेर्ने काम भइरहेको भन्दै उहाँले घेराबन्दी तोडेर लक्ष्यमा पुग्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । राजनीतिक स्थिरता नहुँदा नेपालमा केही नकारात्मक प्रवृत्ति देखापरेको र जनतामा निराशा छाएको भएपनि राजनीतिक स्थिरता सँगै त्यसको अन्त्य हुने उहाँको भनाई छ । ‘राजनीतिक स्थिरता कायम हुने बित्तिकै सबै नकारात्मक प्रवृत्तिहरू अन्त्य हुन्छ, अन्त्य भैसकेपछि त्यसको जगमा उभिएका बनेका नयाँ पार्टीहरू पनि सबै समाप्त हुनेछन्’ उहाँले भन्नुभयो । एकताबद्ध ढङ्गले अगाडि बढ्न सक्दा एमाले सबैभन्दा बलियो पार्टी बन्ने ठोकुवा उहाँको थियो । पार्टी भित्र धेरै क्षमतावान व्यक्ति भएकोले सबै एकैपटकमै नेतृत्वमा पुग्न नसकेपनि निरन्तर लागेमा सबैको व्यवस्थापन हुने दावी उहाँको छ । नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि जनतामा आशा जगाएको दावी गर्नुभयो । नयाँ सरकार गठन पश्चात देशको अर्थतन्त्रले लिएको गतिले त्यसको पुष्टि गर्ने उहाँको भनाई थियो । पार्टीको निर्णयमा बसेर सामुहिक कार्य मार्फत आगामी निर्वाचनमा कास्कीका सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा एमालेको विजय सुनिश्चत गर्ने उहाँले प्रष्ट पार्नुभयो । केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज राजीव पहारीले आफुले प्राप्त गरेको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । नीतिगत तहमा काम गरे युवालाई नेपालमानै बस्न सक्ने वातावरण बनाउने पूर्व अध्यक्ष समेत रहनुभएका पहारीको वाचा थियो । आफूले गर्ने कार्यमा निरन्तर खबरदारी गर्न आग्रह गर्नुभएका उहाँले युवा सङ्घ नेपालको लोकप्रियताको उचाई बढाउन निरन्तर लाग्ने सुनाउनुभयो । ‘सके इट्टा थप्ने तर मक्कन तथा भत्कन भने कदापी दिन्न’ उहाँले भन्नुभयो । नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले राष्ट्रिय युवा सङ्घ नेपालको गरिमालाई बचाउन सबैले मिहेनतका साथ काम गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्कीका अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी इन्चार्ज विकास अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष प्रदीप गुरुङ, कास्की सचिव उमेश गुरुङले बोल्नुभएको थियो । कार्यक्रम मार्फत युवा सङ्घ नेपालका इन्चार्जको जिम्मेवारी पूर्व अध्यक्ष राजीव पहारीले प्राप्त गर्नुभएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
पोखरा: नवनिर्वाचित पोखरा चेम्बर अफ कमर्स कास्की र फिस्टेल ड्रिमपार्कबीच सम्झौता भएको छ । फिस्टेल ड्रिमपार्कले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सो अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीबीच छुटसम्बन्धि सम्झौता गरेको हो । सो सम्झौतापत्रमा ड्रिमपार्कको तर्फबाट सञ्चालक कमल बस्नेत र चेम्बरको तर्फबाट नवनिर्वाचित अध्यक्ष उमराज बास्तोलाले हस्ताक्षर गरे । सम्झौता अनुसार चेम्बरका सदस्यले उक्त पार्कमा २५ प्रतिशत छुट पाउनेछन् । पोखरा १७ मा रहेको फन पार्क पछिल्लो समय लोकिप्रिय बन्दै गएको छ ।
कास्की: पोखरा चेम्बर अफ कमर्स कास्कीको अध्यक्षमा उमराज बास्तोला सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको पाँचौ वार्षिक साधारणा सभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित ३६ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम प्रसाद सुवेदी चयन भए । यस्तै उद्योग उपाध्यक्षमा नवराज आचार्य, वस्तुगत उपाध्यक्षमा नवीन बराल, वाणिज्य उपाध्यक्षमा श्यामकुमार मल्ल, महासचिवमा गोकर्ण अधिकारी चुनिए । सो समितिको सचिवमा सिमा कोइराला र सरिता सुवेदी, कोषाध्यक्षमा जीवन ढुंगाना, सहकोषध्यक्षमा बोधराज सुवेदी छानिए । यसैगरी कार्यसमिति सदस्यहरुमा तुलसी दाहाल (इकाई), जुना अधिकारी (खुला सदस्य), सुरेन्द्र बास्तोला (वस्तुगत), पूर्णकुमार श्रेष्ठ (वडा सदस्य), नगेन्द्र प्रसाद शर्मा (महानगर),श्री राम गौतम (करपोरेट सदस्य), विर बहादुर थापा (वस्तुगत सदस्य), कृष्ण प्रसाद साह (खुला), सिविन्द्रराज भण्डारी (खुला), शम्भु अधिकारी (खुला), गोकर्ण क्षेत्री (सदस्य इकाई), जमुना पौडेल (खुला) चयन भए । यस्तै राधा कृष्ण पोखरेल (खुला), प्रेम राज बसौला (नगर सदस्य), मनोज सुनार (वस्तुगत), विनोद भुजेल (करपोरेट), दुर्गा प्रसाद श्रेष्ठ (वस्तुगत), जगदिश खनाल (खुला), वविता मल्ल (खुला), गोविन्द खड्का (खुला), रमिता पौडेल ढुंगानाा, कृष्णराज पोखरेल (उद्योग), परमेश्वर दवाडी (उद्योग), गोकर्ण कार्की (खुला), महेश्वर दवाडी (पालिका) र मनोहर दाहाल (खुला) चयन भएका छन् । यसअघि कार्यक्रमको उद्घाटन शिक्षामन्त्री विद्या भट्टराईले गरेकी थिइन् ।
बागलुङ: निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् । पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए । बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए । यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताउनुभयो । गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका अधिकांशले स्याउका बिरुवा लगाउन थालेका उहाँले बताउनुभयो । अर्नाकोटमा खानेपानीको अभाव हुँदा बिरुवा हुर्काउन समस्या भएको सुनाउँदै अब सिङ्गो गाउँ नै स्याउ उत्पादनबाट आत्मनिर्भर बन्ने आशा पलाएको कुँवर बताउनुहुन्छ । खानेपानी अभावमा धेरै नागरिक बसाइँसराइ गर्न बाध्य भएको सन्दर्भमा गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि धेरै गाउँमै बस्न थालेको उहाँ बताउनुहुन्छ । तीन वर्ष अगाडि लगाएको स्याउ थोरै भए पनि बजारमा पठाउन थालेको कुँवरले सुनाउनुभयो । उहाँका अनुसार अहिले अर्नाकोटमा करिब एक सय ५० बोटमा स्याउ फलेका छन् । स्थानीय किसान दुर्गाबहादुर ओलीले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लिएर लगाएको सुनाउँदै अहिले बिरुवा बढाउँदै गएको बताउनुभयो । वर्षौँदेखि पशुपालनसँगै निर्वाहमुखी खेतीपाती गर्दै आएका उहाँ पछिल्लो समय स्याउखेतीलाई नै बढी जोड दिएको बताउनुहुन्छ । “यहाँको हावापानी स्याउखेतीका लागि उपयुक्त रहेछ, पोहोर लगाएका बिरुवाले फल दिएका छन्, यसले हामीलाई हर्षित बनाएको छ”, ओलीले भन्नुभयो, “खानेपानी नभएको ठाउँमा स्याउ लगायौँ, सिँचाइको व्यवस्था हुने हो भने व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ ।” निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर वितरण गरिएको बताउनुभयो । गाउँपालिकाले रु चार लाख ११ हजार दुई सय ५० मा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका हो । यहाँका किसानले करिब ४० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएका उहाँले बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिका भित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँच सुरुआत गरिएको छ । यातायात व्यवस्था कार्यालयले आज पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरुको प्रदूषण परीक्षण गरेको हो । मापदण्ड भन्दा बाहिर रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सवारी साधनहरुको प्रदूषण जाँच सुरु गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख अशोक गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य दिनमा प्रदूषण परीक्षका लागि भीडभाड हुने भएकाले सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरिएको हो । पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८ बसको प्रदूषण परीक्षण गरिने कार्यालयले जनाएको छ । प्रदूषण परीक्षणमा अनुत्तीर्ण सवारीहरुलाई पुनः मर्मतका लागि पठाइने र उत्तीर्ण भएपछि मात्र सञ्चालन अनुमति प्रदान गरिने कार्यालय प्रमुख गौतमले बताउनुभयो । “पोखरा पर्यटकीय राजधानी समेत हो । यहाँ गाडीबाट निस्कने धुँवा बढी हुने गरेको स्थानीयवासीको गुनासो आएपछि कडाइका साथ जाँच गर्न लागेका हौँ । आज पोखरा यातायात प्रालिका बसहरुको यान्त्रिक परीक्षण र प्रदूषण जाँचपासको काम गरेका छौँ । आगामी दिनमा निजी विद्यालयद्वारा सञ्चालित बसहरुको समेत परीक्षण गछौँ ।” कार्यालय प्रमुख गौतमले भन्नुभयो । जाँचपास गर्दा बढी प्रदूषण देखाएका गाडीलाई तत्काल मर्मत र सर्भिसिङका लागि पठाउने गरिएको कार्यालयका मेकानिकल इन्जिनियर अब्दुल्ला हवारीले बताउनुभयो । बसहरुको सर्भिसिङपछि बसको अनुत्तीर्ण हुने दर कम भएको उहाँले बताउनुभयो । कार्यालयले प्रदूषण बढी भएका तथा जाँच अनुत्तीर्ण भएका गाडी सञ्चालनमा रोक लगाउने जनाएको छ ।इन्जिनियर हवारीका अनुसार परीक्षण मेसिनले गाडीको धुँवाको ‘डेन्सिटी’ हेर्ने र ३० प्रतिशत सम्म आउने उत्तीर्ण र त्यो भन्दा बढी आउने अनुत्तीर्ण हुने जानकारी दिनुभयो । “परीक्षणको नतिजा तत्कालै प्राप्त हुने गरेको छ । बढी प्रदूषण देखाएर फेल भएका गाडी सञ्चालन गरे यातायात व्यवस्था ऐन अनुसार दुई हजारदेखी १० हजारसम्म कारवाही हुन्छ ।” उहाँले भन्नुभयो । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुडले बसहरुले बढी धुँवा फालेको गुनासो पछि व्यवसायीले रु दुई लाख ५० हजारसम्म खर्च गरेर इन्जिन लगायत सबै परीक्षण गराएको जानकारी दिनुभयो । गाडीको पार्टपुर्जा बाहेक गाडीमा प्रयोग गरिने इन्धनको कारणले समेत धुँवा बढी फालेको हुन सक्ने भएकाले त्यसको समेत जाँच गर्न उहाँले माग गर्नुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “गुनासो आएपछि व्यवसायीले गाडी मर्मत गरेको हो । मर्मत सम्भार गर्दा समेत धुँवा फालिरहेको छ । के कारणले धुँवा फालिरहेको हो भनेर हामीलाई इन्जिनियरले बताइदिनुपर्दछ ।”

