पोखरा: युवा व्यवसायी किसान सुनार पोखरामा सम्मानित भएका छन् । चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष सुनार पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौ साधारण सभा तेस्रो जिल्ला अधिवेशनको अवसरमा सुनार सम्मानित भएका हुन् । पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्षसमेत रहेका उनलाई संस्थाप्रति योगदान दिएको भन्दै सम्मान अर्पण गरिएको हो । उनलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सम्मान अर्पण गरिन् । सो अवसरमा बोल्दै शिक्षामन्त्री भट्टराईले उद्यमशिलतालाई शिक्षासँग जोड्न आवश्यक रहेको बताइन् । उनले व्यवहारिक शिक्षा नीति नहुँदा युवाहरु विदेशीनु पर्ने बाध्यता रहेको बताउदै त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको धारणा राखिन् । मन्त्री भट्टराईले आफ् जिम्मेवारी पूर्ण रुपमा निभाउन कटिबद्ध रहेको बताउदै जनताको मन जित्ने गरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्ति गरेकी थिइन् । कार्यक्रममा संघीय सांसद दामोदर बैरागी, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डे, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव शर्मा, एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी लगायतले शुभकामना व्यक्त गरेका थिए । संस्थाको कार्यक्रमबारे प्रचारप्रसारमा सहयोग गरेको भन्दै पत्रकार श्याम कुँवरलाई र सचिवालय व्यवस्थापनमा भूमिका निर्वाह गरेको भन्दै अन्य व्यक्तिहरुलाईसमेत सम्मान अर्पण गरिएको थियो ।
लेखनाथ: सत्ताइस वर्षीया निग्मा शेर्पा वर्षौंदेखि बस्दै आएको घर सेती बाढीले बगाइदिएपछि डेढ वर्षीया छोरी काखमा च्याप्दै, नदी किनारको चौरमा त्रिपालभित्र बिहानको खाना पकाउँदै हुनुहुन्थ्यो । उहाँको एकमात्र साहारा ३१ वर्षीय श्रीमान् प्रेम शेर्पा दुई वर्षदेखि बेखबर हुनुहुन्छ । “छोरी पेटमै हुँदा रोजगारीका लागि साउदी अरब जानुभएको हो । तर गएकै समयदेखि फोन सम्पर्क छैन, सुनेकी छु विदेशमा अर्की श्रीमती लिएर बस्नुभएको छ”, निग्माले भन्नुभयो, “मजदुरी गरेर छोरी पाल्दै आएकी थिएँ, भएको एउटा बास पनि सेती बाढीले बगाइदियो, भाग्यले ज्यान जोगायौं, अब छोरीबाहेक मेरो कोही रहेन ।” सेती नदीमा गत असार २२ गते आएको बाढीले पोखरा–१४ स्थित गस्ती टोलका निग्मासहित ३९ परिवारको घर बगाइदिएको छ । ती परिवारको २५ दिनदेखि त्रिपालमुनिको बास छ । तीमध्ये केही परिवार आफन्तकहाँ बस्दै आएका छन् । “पतिले त छाड्नुभयो, बस्दै गरेको बास पनि बगायो कस्तो दुःख आइलाग्यो”, शेर्पाले भन्नुभयो, “मजदुरी गरेर पेट पाल्दै आएकी थिएँ, त्यो पनि अहिले छैन, बास पनि छैन, डेढ वर्षकी छोरी लिएर त्रिपालमुनि बस्नुपरेको छ, वर्षा हुँदा सुत्ने र खाना पकाउने ठाउँमा पोखरी बन्छ”, शेर्पाले भन्नुभयो, “राति बादल मडारिँदा बाढीले बगाउने हो कि भन्ने डर लागिरहन्छ, यस्तो दुःख मैले कहिलेसम्म भोग्नुपर्ने हो ? ।” प्रेमसँग प्रेम विवाह गर्नुभएकी निग्माले भन्नुभयो, “विवाह गर्दा सुखसँग बाँच्ने सपना देखेकी थिएँ । तर विवाह गरेको दुई तीन वर्षमै वर्षमै यस्तो दुःख भोग्नुप¥यो ।” धादिङबाट पोखरा आएर बस्नुभएकी निग्माको प्रेमसँग पोखरामा भेट भएपछि दुवैबीच प्रेम विवाह भएको थियो । निग्माका वृद्ध बुवा राम श्रेष्ठ पनि सोही टोलमा ३० वर्षदेखि बस्दै आउनुभएको छ । “बिहान बेलुकाको खाना विभिन्न सङ्घसंस्थाबाट प्राप्त सहयोगबाट चल्दै आएको छ, त्रिपाल पनि संस्थाले नै उपलब्ध गराएको हो, त्रिपाल राखेर बस्दै गरेको जग्गा पनि सरकारको कृषि कार्यालयअन्तर्गतको रहेको र त्यो कार्यालयले त्यहाँबाट हट्न भनेको छ, अब कहाँ गएर बस्ने हो, थाहाँ छैन”, शेर्पाले भन्नुभयो । जग्गा पाइहाले पनि घर बनाउन सक्ने उहाँको अवस्था छैन । शेर्पा मात्र हैन यहाँका ३८ परिवारको दुःख उस्तै छ । गस्ती टोलकै २९ वर्षीया यमकुमारी मगरको पीडा पनि कम्ता छैन । सेती नदीको बाढी घरमै आउन थालेपछि लत्ताकपडा र भाँडाकुँडा लिएर भाग्दै सुरक्षित ठाउँमा आएको पाँच जनाको परिवार पनि त्रिपालमुनि बस्दै आएको छ । मजदुरी गरेर खाने यो परिवारलाई बिहानबेलुकाको छाक टार्नै मुस्किल छ । “पति मजदुरी गर्नुहुन्छ । मैले तीन बालबच्चाको स्याहारसुसार गरेर बस्दै आएकी थिए । तर ३० वर्षदेखि बस्दै आएको घर बाढीले बगाइदिएपछि बिचल्ली भएको छ, पतिले मजदुरी गर्न जान पाउनुभएको छैन, सधैं सङ्घसंस्थाको सहयोग पाइँदैन”, मगरले भन्नुभयो, “बाससम्मको व्यवस्था भयो भने मजदुरी गरेर खान्थ्यौँ ।” बाढीबाट विस्थापितमध्ये सुस्मा श्रेष्ठ तामाङकै घरमा शरण लिएर बस्दै आउनुभएको छ । सुस्मा ६ महिना र दुई वर्षका दुई छोरा लिएर तामाङको घरमा शरण लिएर बस्नुभएको छ । विस्थापित ३९ परिवारलाई त्रिपालको व्यवस्था ‘असल छिमेकी’ संस्थाले गराएको हो । उक्त टोलका अधिकांश परिवार बालुवा बोक्ने काम गर्दै आएका थिए ।
पोखरा: पोखरा महानगरपालिका–१ विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्र्तगत नेपाली तथा अंग्रेजी हिज्जे र बेलुन रेस प्रतियोगिता सम्पन्न भएको छ । नेपाली हिज्जे कार्यक्रममा आधारभुत (सिनियर) तर्फ कञ्चनजंघा सदनबाट कक्षा ८ की छात्रा सृष्टि खड्का, कक्षा ७ का छात्रछात्राद्वय असिम अधिकारी र उपासना रेग्मी, कक्षा ६ की छात्रा सबिता सुनार प्रथम र अन्नपूर्ण सदनबाट कक्षा ८ का छात्राहरुद्वय मञ्जिसा भुजेल र एस्थर तामाङ, कक्षा ७ की छात्रा अंकिता पौडेल र कक्षा ६ का छात्र पेरिस पौडेल द्वितीय भएका छन् । यस्तै आधारभुत (जुनियर) तर्फको अंग्रेजी हिज्जे प्रतियोगितामा अन्नपूर्ण सदनबाट कक्षा ५ का छात्रछात्राद्वय सिद्धान्त के.सी. र केन्जल जि.सी., कक्षा ४ की छात्रा दीया क्षेत्री र कक्षा ३ की छात्रा शइशा तामाङ प्रथम र कञ्चनजंघा सदनबाट कक्षा ५ का छात्रछात्राद्वय मुस्कान भण्डारी र अदिती तिमिल्सिना, कक्षा ४ की छात्रा युनिका खनाल र कक्षा ३ का छात्र सौगात हमाल द्वितीय भएका छन् । यस्तै पूर्व प्रा.वि. तहमा भएको बेलुन रेस प्रतियोगितामा कक्षा नर्सरीबाट अनामिका सापकोटा प्रथम, इमान थापा क्षेत्री द्वितीय, उमङ्ग रेग्मी र प्रियांश अधिकारी तृतीय भएका छन् । कक्षा एल.के.जी.बाट कृष्ण मेट्या प्रथम, निरोशा पाइजा द्वितीय र सम्राट सुनार तृतीय भएका छन् । कक्षा यु.के.जी.बाट सलोम राई प्रथम, शिवांश बाबर द्वितीय र एन्जल रानामगर तृतीय भएका छन् । कक्षा एकबाट पारोमिता मण्डल प्रथम, जेम्स बर्मान द्वितीय र एडन गुरुङ तृतीय भएका छन् । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरुको चौर्तफी विकास हुने बताए ।
पोखरा: नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । नवनिर्वाचित कार्यसमितिलाई नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापामगरले प्रमाण पत्र वितरण गरे । भने, निर्वाचन मण्डलका संयोजक एमबी आस्थामगरले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । साउन १५ गते सुरज थापा मगरको अध्यक्षतामा ११ सदस्यीय नेपाल मगर पत्रकार संघ कास्कीको कार्यसमिति सर्वसम्मत चयन भएको थियो । संघको उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भए थिए । यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु रानामगर, राज बुढामगर र जुना थापामगर चयन भएका थिए । मगर पत्रकार संघ कास्कीको पहिलो बैठकले गोविन्द सिङ्जाली मगर र गीता रानामगरलाई सदस्यमा मनोनित गरेको सचिव कविता घर्तीमगरले जानकारी दिईन् । मगर पत्रकार संघ कास्कीको पदस्थापन कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापामगरले मगर संघ र पत्रकारहरुबीच सहकार्य गर्दै अगाडि बढ्ने बताए । ‘नेपाल मगर संघ र पत्रकार संघबीच सहकार्य गर्दै अगाडि बढ्न जरुरी छ’, थापाले भने, ‘मगर समुदायमा भाषा संस्कृति लोप हुँदै गएको छ यसको संरक्षणको लागि पनि मगर संघ र पत्रकारहरुबीच सहकार्य हुन जरुरी छ ।’ उनले यातायात व्यवसायीको आन्दोलनमा क्रममा पत्रकार बिनु थापामगर र सुरज थापामगर माथि सांघातिक रुपमा आक्रमण गर्ने जो भएपनि कारवाही गर्न माग गरे । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीका सचिव अर्जुन गाहामगर, मिना थापामगर, समाजसेवी तिलक तिवारी लगायतले बोलेका थिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभएको छ । मानव अधिकारको विषय सामान्य जस्तो लाग्ने तर अत्यन्त गम्भिर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुपर्ने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका– २०८०÷८१ ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेकोमा खुशी व्यक्त गर्नुभयो । राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख प्रमुख नितु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गर्नुभयो । टोलीले कार्यालयको प्रतिवेदन हस्तान्तरणका साथै मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी पनि गराएको थियो । ‘मानव अधिकार सबैको लागि हो । तर, विशेष रुपले आवाजविहिन र सीमान्तकृत समुदायको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्दछ । अब हाम्रो मुख्य ध्यान यसै दिशामा केन्द्रित हुनुपर्छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘मानव अधिकार उल्लंघन सूचकांकमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ । तर, यस्ता घटना हुनै नदिनेतर्फ हामी सजग हुनुपर्नेछ ।’ उहाँले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिवद्ध रहनुपर्ने भन्दै आयोगलाई भौतिक, साधन र आवश्यक पर्ने बजेट बिनियोजनमा ध्यान दिनुपर्ने पनि बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग जस्ता आयोगको सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहनुपर्नेमा पनि भट्टले जोड दिनुभयो । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने उहाँको भनाई छ । टोलीमा मानव अधिकार अधिकृत टंकप्रसाद खनाल र सरोज गौली, लेखा अधिकृत मुक्तिराम सुवेदी, नायव सुब्बा मुकेश घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।
पोखरा: नेपाली उत्पादनलाई जोड दिँदै पोखरामा राष्ट्रिय पोशाक घर खुलेको छ । बिगत ७ वर्षदेखि काठमाडौंको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घरलाई पोखरा र आसपासका जिल्लालाई केन्द्रमा राखेर पोखरामा बिस्तार भएको हो । पोखरा न्युरोडमा खुलेको पोशाक घर बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, ख्यातिप्राप्त गायक प्रकाशलगायतले उद्घाटन गरेका छन् । दौरासुरुवाल, टोपीलगायत सटिङसुटिङमा स्थानीय उत्पादनबाट बनेका नेपाली पोशाकलाई जोड दिँदै पोखरामा पोशाक घर स्थापना गरिएको हो । ढाका टोपी, दौरासुरुवाल, राष्ट्रिय पोशाक दिवस मनाउने अभियानकै क्रममा काठमाडौंको बानेश्वरमा खोलेको पोशाक घरलाई इजी ग्रुपले पोखरामा भित्राएको छ । पोखरालाई आधार क्षेत्र बनाएर नेपाली उत्पादन र स्थानीय कच्चा पदार्थको प्रयोगमा जोड दिँदै पोखरामा शाखा खोलिएको राष्ट्रिय पोशाक घरका श्याम बजगाईंले जानकारी दिए । पोखराका विभिन्न सरकारी कार्यालयदेखि अस्पताल होटल, मललगायत विभिन्न कम्पनीमा १ हजाभन्दा बढी कामदार उपलब्ध गराएको कम्पनी हो, इजी ग्रुप । इजी ग्रुपले होटल, सरकारी संघ, संस्था एनजिओ, आइएनजिओलाई आवश्यक कर्मचारीको मागलाई परिपूर्ती गर्ने ग्रुपका संस्थापक रामप्रसाद कडेंलले जानकारी दिए । इजी ग्रुपले विभिन्न क्षेत्रमा लगानी र अवसरको सिर्जना गर्दै आइरहेको छ । यो ग्रुप अन्तर्गत अहिले लेकसाइडमा चौतारी बुटिक होटल सञ्चालनमा छ । गोर्खा ल्याण्ड सेक्युरिटीमार्फत विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड उपलब्ध गराउने गरेको छ । इजी हस्पिटालिटी सपमार्फत नेपाली हर्बल प्रोडक्टहरुको बिक्री गर्ने गरेको छ भने चौतारी इन्टरनेसनल प्रालिमार्फत डाइपर, प्याडजस्ता विभिन्न सामाग्री विक्री गर्ने गरेको छ । इजी ट्रेडिङका नाममा सरसफाइका सामानहरुको विक्री भइरहेको कडेंलले बताए । इजी ग्रुपले पोखरामा ५० करोड रुपैयाँभन्दा बढी विभिन्न क्षेत्रका व्यवसायमा लगाइरहेको छ । त्यही इजी ग्रुपले पोखरामा राष्ट्रिय पोशाक घर सञ्चालनमा ल्याएको हो । पोखरा उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका इजी ग्रुपका कडेंल र पोशाक घरका बजगाईंको सहकार्यमा पोखराबाट राष्ट्रिय पोशाक र नेपाली उत्पादनलाई जोड दिँदै व्यवसाय थालेका छन् । पोशाक घरका पोशाकको गुणस्तरमा एकै रुपमा दिन काठमाडौंबाट दक्ष जनशक्ति उपलब्ध गराएर पोखरामा सेवा सुरु गरिएको कडेंलले बताए । तानबाट बुनिएका घरमा अल्लो, ओक्ता, ढाका, कोगटी, गाँजालगायतका पोशाकलाई जोड दिँदै पोखरामा शाखा खोलिएको उनको भनाइ छ । पोखरा उद्योग वाणिज्य संघका अध्या पवन प्रजापतिले उद्योग, व्यवसायी र सेवाका क्षेत्रमा इजी ग्रुपले नवीन काम गरिरहेको बताउँदै पोशाक घर पनि सफल हुने बताए । नाफामात्रै कमाउनेतिरभन्दा गुणस्तरीय सेवामा उनले जोड दिए । गायक प्रकाश सपुतले राम र श्याम मिलेर पोखरामा दिन थालेको सेवाले धेरै जनाको जीवन र संस्कृतिसँग जोड्ने बताए । देशमा केही छैन भन्ने ठूलो समूहले राम र श्यामको सहकार्य व्यावसायिक क्षेत्रमा नयाँ ढंगले सोच्न सन्देश दिएको सपुतको भनाइ थियो । १ करोड लगानीमा खुलेको पोशाक घर हजारौंको मन बस्ने सपुतको जोड थियो ।
पोखरा: पोखरामा ३० औं विश्व आदिवासी दिवस साउन २५ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले पोखरामा पत्रकार सम्मेलन गर्दै साउन २५ गते ३० औं विश्व आदिवासी दिवस मनाउने लागेको जानकारी दिएको हो । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्म बहादुर गुरुङले संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएको बताए । उनले सन् २०१९ देखि २०२९ सम्म अन्तर्राष्ट्रिय भाषा वर्षको रुपमा मनाउने निर्णय समेत भएको बताए । ‘संयुक्त आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक अगष्ट ९ गतेको बसेको थियो, सोही दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएका छौं’, गुरुङले भने, ‘सन् २०१९देखि २०२९ सम्म अन्तर्राष्ट्रिय भाषा वर्षको रुपमा मनाउने निर्णय समेत भएको छ, पछिल्लो समय आदिवासी समुदायको भाषा, सस्कृति लोप हुँदै छ, त्यसैले यस वर्षको दिवसमा लोप भइरहेको भाषा सस्कृति प्रति हामीले सरकारको ध्यानाकर्षण समेत गराउँदै छौं ।’ अध्यक्ष गुरुङले ३० औं विश्व आदिवासी दिवसमा महासंघले यस दिवसमा भाषाको संरक्षणका लागि नयाँ नारा तय गरेको बताए । ‘यस वर्ष हामीले विश्व आदिवासी दिवसमा नयाँ नारा तय गरेका छौं, उनले भने, ‘संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर, भन्ने मूल नारा तय गरेका हौं ।’ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुजन कुमार लामाले ३० औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २५ गते पोखराको मानवअधिकार चोकबाट सभागृहसम्म आदिवासीहरुको मौलिक भेषभुषा, पहिचान र संस्कृतिको प्रदर्शनसहित झाँकी तथा ¥याली समेत हुने बताए । विश्व आदिवासी जनजाति दिवसको अवसरमा पोखरामा पत्येक वर्ष विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।
पोखरा: पोखरा २१ मट्टिखान सडकखण्डमा स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाएका आरती विक र उनको छोरा प्रिन्स विकको आज अन्त्येष्टी गरिने भएको छ । मुक्ति समाज नेपालको अगुवाईमा भएको छलफलबाट मृतक परिवारलाई २१ लाख क्षतिपुर्ति दिने सहमति भएपछि आज शब बुझेर अन्त्येष्टी गर्ने तयारी रहेको मुक्ति समाज नेपालका केन्द्रीय सचिव धन बहादुर नेपालीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा बिहीबार नागरिक समाज, मुक्ति समाज, मृतका आफन्त, विद्यालय व्यवस्थापन समिति, एनप्याप्सनका प्रतिनिधिसहितहरुबीच छलफल भएको थियो । उक्त छलफलबाट विद्यालय प्रशासनले, एनप्याप्सन र मुक्ति समाजको तर्फबाट २१ लाख रूपैयाँ दिने सहमति भएको बताइएको छ । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए । ११ जनाको उपचार हुँदैं उक्त दुर्घटनामा परि घाइतेहरुको अहिलेपनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार मणिपालमा चालकसहित ३ जना, गण्डकी मेडिकल कलेजमा ४ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ गरी कुल ११ जनाको अहिलेपनि उपचार भइरहेको छ । अन्य १७ जना भने उपचारपछि घर फर्किेसकेका छन् । यो पनि पढ्नुहोस पोखरामा स्कुल बस दुर्घटना, घाइते विद्यार्थीहरुको उद्धार हुँदै स्कुल बस दुर्घटना अपडेट: घाइतेमध्ये १ जनाको अवस्था गम्भीर स्कुल बस दुर्घटना: गम्भीर घाइते भएकी बिकको मृत्यु स्कुल बस दुर्घटना अपडेट: एक बालकको मृत्यु, मृतकको सँख्या २ पुग्यो
पोखरा: तमु धिं नेपाल केन्द्रीय युवा समितिले तमु युवाहरुको क्षमता एवम नेतृत्व विकासका लागि तिनदिने उद्घोषण तालिम शुरु गरेको छ । तमु धिं नेपालको कार्यालयमा सो तालिम शनिबारसम्म चल्नेछ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बोल्ने कला एवम सफल नेतृत्वका लागि सो तालिम महत्वपूर्ण हुने धारणा राखे । उनले क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिमले सघाउने बताउदै आगामी दिननमा पनि यस्तै रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले तालिममा सहभागि युवाहरुले प्रस्तुतिकरण र नेतृत्व क्षमतामा धेरै परिवर्तन आउने अपेक्षा व्यक्त गरे । तालिमको पहिलोदिन गोर्खाली रेडियोकी स्टेशन म्यानेजर, सञ्चारकर्मी खिमा गुरुङले माइकको प्रयोग, उद्घोषण, उद्घोषकला, कार्यक्रम तयारी र प्रस्तुतिका विविधबारेमा प्रशिक्षण दिइन् । यस्तै तालिमको दोश्रो दिन तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र तेश्रो दिन एभरेष्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठ प्रशिक्षक रहेको तमु धिं नेपाल केन्द्रिय युवा समितिका अध्यक्ष रमेश गुरुङले जानकारी दिए । कुल ३५ जना युवाहरुको सहभागिता रहेको तालिममा युवा समितिका अध्यक्ष रमेश गुरुङको सभापतित्वता भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद गुरुङले गरेका थिए ।

