पोखरा: नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ नवलपुरकी पत्रकार शारदा झेंडी मगरलाई अर्पण गरिएको छ । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिमार्फत स्थापित मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो अधिवेशनको अवसरमा झेंडी मगरलाई अर्पण गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले दोसल्ला, सम्मानपत्र र नगद रु १० हजारसहित पुरस्कार अर्पण गरे । सो अवसरमा बोल्दै गाहामगरले मगर समुदाय शैक्षिक क्षेत्रमा कमजोर रहेकै कारण राजनीतिक तथा प्रशासनीक पहुुँचबाट पछाडि परेको धारणा राखे । सांसद गाहामगरले जनसंख्याको आधारमा मगर समुदाय तेस्रो समुदाय भएपनि शिक्षामा कमजोर हुँदा राज्यको नीति निर्माण तहमा पछाडि परेको उल्लेख गरे । ‘नेपालको जनसंख्या अनुसार मगर जाति तेस्रो स्थानमा रहेको छ, जनसंख्यामा मात्र धेरै भएर भएन’, सांसद गाहामगरले भने, ‘जनसंख्याको आधारमा मात्र धेरै भएर भने, हामी शिक्षामा पनि अगाडि बढ्न आवश्यक छ । शिक्षामा कमजोर हुँदा नै हामी राज्यको नीति निर्माण तहमा पछाडि परेका छौं ।’ उनले राज्यको निर्णायक तहमा पुग्नका लागि मगर समुदाय राजनीतिमा आउनुपर्ने बताए । उनले मगर समुदायको मात्र नभएर आदिवासी समुदायको संस्कार –सस्कृति पुस्तातन्रण गर्न आवश्यक रहेको बताए । सांसद गाहामगरले मगर समुदायको भाषा संरक्षण लोप हुन लागेकाले संरक्षणमा चासो देखाउन आवश्यक रहेको उल्लेख गरेका थिए । यस्तै राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिताबाट पुरस्कृत शारदा झेंडी मगरले मगर समुदायको मौलिक कला संस्कृति संरक्षण र पुस्तातन्तरण हुन आवश्यक रहेको बताएकी थिइन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष तथा ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’छनौट समितिका संयोजक रुद्र श्रीस मगरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले पत्रकार झेंडी मगरलाई यस वर्षको पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो । २०७५ सालमा स्थापना भएको पुरस्कारबाट यस अगाडि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप रानामगर (तनहुँ), मानबहादुर घर्तीमगर ‘एमबी आस्था’ (कास्की), मनोज घर्तीमगर (कास्की), खेम सारुमगर (कास्की) पुरस्कृत भइसकेका छन् । पुरस्कृत झेंडी मगर बुद्धदर्शन टेलिभिजनमा स्टेशन म्यानेजरको भूमिकामा रहेकी उनी रेडियो मध्यविन्दु र नवलपुर ताइम्समा सम्पादकको रुपमा कार्यरत छिन् । राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार मगर जातिको भाषा, कला, धर्म, रितिरिवाज तथा संस्कार–सस्कृति र कौराहा संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आएको छ ।
पोखरा: पोखरा महानगरपालिका–७ माछापुच्छ«े टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ । फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भन्नुभयो, “पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ । यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि ?” स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउनका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कृषि एम्बुलेन्सले महानगरका ग्रामीण बस्तीमा उत्पादित तरकारी निःशुल्क रूपमा बजारमा बिक्री वितरणमा सहयोग पुगेको छ । गत वर्षदेखि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्ने काम गरेको महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । उहाँका अनुसार पोखराका सात ठाउँमा सातामा एक दिन किसान बजार सञ्चालन हुने गरेकामा माग बढ्दै गएकाले केही वडामा सातामा दुई दिन बजार सञ्चालन हुने गरेको छ । ग्रामीण भेगका साना किसानले उत्पादन गरेको कृषि उपज सङ्कलनका लागि महानगरका २१ स्थानमा सङ्कलन केन्द्र स्थापना गरिएको र ती ठाउँमा एम्बुलेन्स पुगेर कृषि उपज बजारमा ल्याउने गरेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो । “ठूला किसानले आफ्नै गाडीबाट ल्याएर बजारमा बिक्री गरे पनि साना किसानले त्यसरी बिक्री गर्न सक्दैनन् । अहिले किसानले आफूले उत्पादन गरेका कृषि उपज सङ्कलन केन्द्रमा लिएर आउनुहुन्छ, कृषि एम्बुलेन्सले त्यहाँबाट बजारसम्म ल्याउने गर्दछ । अहिले उत्पादकको उत्पादनले राम्रो बजार पाएको छ भने उपभोक्ताले स्वस्थ, विषादीरहित र ताजा कृषि उत्पादन उपभोग गर्न पाउनुभएको छ”, प्रमुख कडरियाले भन्नुभयो । कृषि एम्बुलेन्स सञ्चालनसँगै बजारका उपभोक्ताले विषादीरहित ताजा तरकारी उपभोग गर्न पाएको बताइन्छ । बाहिरबाट ल्याउँदा तरकारी क्षति हुने, प्रदूषित हुने गरेकामा अहिले एकदेखि दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आइपुग्ने अवस्था रहेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिरबाट तरकारी ल्याउँदा क्षति हुने गरेको थियो । प्रदूषितसमेत हुन्थ्यो । चिस्यान सुविधासहितको एम्बुलेन्समा राखेर ल्याउँदा तरकारी बिग्रिँदैन । एक–दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आउने गरेको छ ।” कृषि उपजमा हुने क्षति कम, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित उपज ढुवानी, बजारीकरण र बिचौलियापनको अन्त्य, किसानलाई तरकारी बजारसम्म पुर्याउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धतामा एम्बुलेन्सले सहयोग पुगेको बताइन्छ ।
गण्डकी: सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए । फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको चहलपहल रङ्गशालामा थियो । बिहानबेलुका करातेलगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्छन् । कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन् । वर्षा याममा रङ्गशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन् । आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका– २९ स्थित यो रङ्गशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढङ्गले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ । पोखरा रङ्गशालाको विकल्प मानिएको लेखनाथ रङ्गशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन् । आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले रङ्गशालामा बनेका संरचना अलपत्र परेकामा दुखेसो गर्नुभयो । रङ्गशालाको ट्रयाक मापदण्डअनुसारको नभएको उहाँले बताउनुभयो । प्यारापिट पनि लथालिङ्ग छ । “अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ ।” पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रङ्गशाला बन्न नसकेको बताउँछन् । आठ वर्षअघि रङ्गशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको छ । बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ । हालसम्म त्यसमा रु एक करोड १० लाख खर्च भइसकेको छ । आव २०७४ र २०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट रु ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले रङ्गशालामा पूर्वाधार तयार गर्न महानगर, प्रदेश र सङ्घ सरकारको लगानी चाहिने बताउनुभयो । खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रङ्गशाला परेको उहाँको टिप्पणी छ । “राज्यको स्रोतसाधन जुटाएर लेखनाथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो । लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने स्थानीयवासीको माग छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरालाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “खेल क्षेत्र सरकारको कम प्राथमिकतामा छ, पोखराको खेलकुद विकासमा प्रदेश सरकारले पनि वेवास्ता गरिरहेको छ”, उहाँले भन्नुभयो ।
पोखरा: पोखरामा भएको स्कूल बस दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ । एलपी देवकोटा मेमोरियल स्कूलको बस विद्यार्थी लिएर आउँदै गर्दा दुर्घटनामा परी दुई जनाको मृत्यु र २८ जना घाइते भएपछि महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा महानगरका उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इञ्जिनीयर सरोज चालिसे सदस्य रहनुभएको छ । समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारीलाई तोकिएको छ । समितिलाई दुर्घटनाको कारण, सवारीसाधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीको सङ्ख्या, विद्यार्थी राख्न पाउने सङ्ख्यालगायत विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताउनुभयो । यो पनि पढ्नुहोस स्कुल बस दुर्घटना अपडेट: एक बालकको मृत्यु, मृतकको सँख्या २ पुग्यो दुर्घटना अपडेट: बसमा को को थिए, कहाँ हुँदैछ उपचार ? (नामावली) पोखरा–२१ मा भएको दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उहाँका छोरा छ वर्षीय प्रिन्स विकको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो । दुर्घटनाग्रस्त बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पताल पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । महानगर प्रमुख आचार्यले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन चिकित्सकहरूलाई निर्देशन दिनुभएको छ ।
पोखरा: राष्ट्रिय संगीतकर्मी संघ कास्कीेको छैटौं साधारण सभा तथा तेश्रो अधिवेशनले सुनिल गायकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा कपिल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा गंगा परियार, सचिवमा प्रकाश रसाईली, कोषाध्यक्षमा सोनिया कार्की खत्री, सह–सचिवमा नविन लामिछाने, सहकोषाध्यक्षमा सचिन भट्टराई चयन भएका छन् । यस्तै सदस्यहरुमा सुजित परियार, किसु गुरुङ्,रविन नेपाली,सूर्य बहादुर परियार, सुजन परियार, राज बराल, सिता सुवेदी,अनु विक, सागर रुम्बा सर्वसम्मत चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नै सपथ खुवाउनु का साथै प्रमाणपत्र वितरण गरिएको थियो ।
पोखरा: पोखरामा आज बिहान पोखरा १७ बिरौटा स्थित एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटना भयो । सुरुमा कास्की प्रहरीले २२ जना सवार भएको जानकारी दिएपनि पछिल्लो समय ३० जना सवार रहेको पुष्टि गरेको छ । दुर्घटनामा परि अधिकांश घाइते भएका थिए । जसमध्ये २ जनाको मृत्यु भएको छ । करिब ३२ वर्षीया आरती बिक र ५ वर्षीय प्रिन्स बिकको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गयो । अन्य घाइतेको अहिले पोखराको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । घाइतेहरुको नामावली: (गण्डकी मेडिकल कलेजमा उपचारत) पोखरा २१ कृष्तिका ९ वर्षिय अनमोल बिक ५ वर्षिय रोशन बराल रामदी बस्ने १४ वर्षिय दिप्सन कार्की वर्ष ६ को योना गुरुङ १३ वर्षिय डिना गुरुङ १५ वर्षिय प्रकृति कार्की एकहातका ६ वर्षिय प्रिन्स राना रामदी बस्ने ७ वर्षिय चिजा बिक ९ वर्षिय प्रवेश काकी १२ वर्षिया विसिका पौडेल ११ वर्षिय विश्वास पौडेल १२ वर्षिया सिम्रन बिक ११ वर्षिय विवश खत्री (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) पोखरा २१ का ८ वर्षिया अनन्या पौडेल ३ वर्षिया सिमन मगर ३ वर्षिय न्युजन मगर ७ वषिएय रिजन मगर १३ वर्षिय रामकृष्ण नेपाली २ वर्षिय अंकित खत्री १४ वर्षिया सीतादेवी बिक (छोरेपाटन स्कुलमा अध्ययनरत) २ वर्षिय अंकित खत्री ७ वर्षिय अस्मित बिक ७ वर्षिय अस्मित बिक ३० वर्षिय सुमित्रा सुनार (स्कुलको फि तिर्न आएका अभिभावक) २ वर्षिय निर्दोष सुनार शिक्षक ३० वर्षिय सपना आले ११ वर्षिय निश्चल सुनार (मणिपाल शिक्षण अस्पतालमा) बसका चालक पोखरा १७ बिरौटा बस्ने ५५ वर्षिय टेक बहादुर भुजेल पोखरा २१ रामदी बस्ने ८ वर्षिय निशान सुनार ५ वर्षिय सागर थापा यो पनि पढ्नुहोस पोखरामा स्कुल बस दुर्घटना, घाइते विद्यार्थीहरुको उद्धार हुँदै स्कुल बस दुर्घटना अपडेट: घाइतेमध्ये १ जनाको अवस्था गम्भीर स्कुल बस दुर्घटना: गम्भीर घाइते भएकी बिकको मृत्यु स्कुल बस दुर्घटना अपडेट: एक बालकको मृत्यु, मृतकको सँख्या २ पुग्यो
पोखरा: स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको सँख्या २ पुगेको छ । उपचारको क्रममा एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ५ वर्षका प्रिन्स बिक रहेका छन् । गण्डकी मेडिकल कलेजमा उनलाई १०: ४५ बजे चिकित्सकले मृत घोष्णा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । उनका अनुसार यसअघि करिब ३२ वर्षीया आरती बिकको उपचारको क्रममा मृत्यु भएको थियो । मृतक प्रिन्स र आरती आमाछोरा भएको बताइएको छ । यो पनि पढ्नुहोस स्कुल बस दुर्घटना अपडेट: घाइतेमध्ये १ जनाको अवस्था गम्भीर स्कुल बस दुर्घटना: गम्भीर घाइते भएकी बिकको मृत्यु अन्य घाइतेहरुको भने अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए । कास्की प्रहरीले घाइतेको तथ्याङ्क दिने क्रममा प्रारम्भिक चरणमा २२ जना सवार रहेको भनिएपनि यो समाचार तयार पार्दासमेत ३० जना सवार रहेको जनाएको छ ।
पोखरा: स्कुल बस दुर्घटना हुँदा घाइते गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार करिब ३२ वर्षीया आरती बिकको उपचारको क्रममा मृत्यु भएको हो । ‘अहिले औपचारिक पुष्टि गर्न बाँकी छ, डाक्टरहरुको प्रक्रिया हुन्छ तर प्राथमिकतामा अन्य घाइते हुने भएकाले पुष्टि गर्न समय लागेको हो,’ इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने । दुर्घटनामा परेका अन्य घाइतेहरूको भने उपचार भइरहेको उनले जानकारी दिए । उनका अनुसार कास्कीको छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित २७ जना घाइते भएका थिए । अन्य घाइतेहरुको अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा स्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो । (उपचारको क्रममा रहेकाले घाइतेको सँख्या एकिन गरिदैं)
पोखरा: स्कुल बस दुर्घटना हुँदा घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । कास्कीको छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित २७ जना घाइते भएका थिए । उनीहरुको अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ । बस चालकलाई गण्डकी मेडिकल कलेजबाट मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । घाइते मध्ये गण्डकी मेडिकल कलेजमा उपचाररत ४२ वर्षीय आरती बिकको अवस्था गम्भीर रहेको एक प्रहरी अधिकारीले जानकारी दिए । ‘अरुको अवस्था त्यस्तो जटिल छैन तर, एक जना महिलाको भने अवस्था चिन्ताजनक नै छ । उहाँको बारेमा भन्न सकिने स्थिति छैन’, सुनगाभा न्यूजसँग ति प्रहरी अधिकारीले भने । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो ।

