पोखरा: पोखरा ९ नयाँबजारमा रहेको सिटि जिम र खेलकुद पत्रकार मञ्च गण्डकी बिच भानु जयन्तीको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । सिटी जिमले हप्ताको एक दिन फुटसल खेल खेल्ने आफ्नो अभियानलाई अघि बढाउँदै खेल क्षेत्रमा कलम चलाउँदै आएका खेल पत्रकारको छाता संगठन खेलकुद पत्रकार मञ्च गण्डकी सँग मैत्रीपूर्ण फुटसल खेलेको हो । मैत्रीपूर्ण प्रतियोगितामा सिटी जिमले १९–५ गोलले जित हासिल गरेको छ । अत्याधुनिक प्रविधिसहित सञ्चालनमा आएको जिमले गुणस्तरीय सेवा दिदैँ आइरहेको सञ्चालक गोकर्ण कार्कीले बताए । उनका अनुसार जिमले हरेक हप्ता विभिन्न क्लब तथा संघसंस्थाहरु सँग मैत्रीपुर्ण फुटसल खेल खेल्दै आइरहेको छ ।
पोखरा: तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुद्धारा वैवाहिक वर्ष गाठको अवसरमा स्थापित तथा फोनिज कास्की मार्फत सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार खेम सारु मगर सम्मानित भएका छन् । फोनिज कास्कीको आयोजनामा शनिबार पोखरा, नयाँबजार स्थित तमु धिंमा भएको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार (२०८१) अपर्ण कार्यक्रम मार्फत फेटा, भांग्रा, प्रमाणपत्र र नगद सहित, प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ र कर्म तमुले मगरलाई सम्मान गरे । सारु मगर रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरा मालेपाटनमा विगत तीन दशकदेखि कार्यरत छन् । सम्मानित पछि बोल्दै सारु मगरले पुरस्कारले थप जिम्मेवारी र उर्जा मिलेको बताए । उक्त अवसरमा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजका लागि प्रदेशका मु्ख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीपरिषद्बाट पास गरीसकेको सुनाईन् । यसको ऐन बनाएर सुरुवात गर्न मात्र बाँकी रहेको बताउँदै सांसद गुरुङले आगामी दिनमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनका अनुसार प्रदेशको तथ्यांक अनुसार मगरहरु १८ र गुरुङहरु ९ प्रतिशतले मातृभाषा बोल्दै आएका छन् । कार्यक्रममा तमु धिंका संस्थापक अध्याक्ष कर्म तमु र फोनिजका संघिय सल्लाहकार हुम बहादुर तमुले समग्रह आदिवासी जनजातिको अधिकारका लागि जस्ताको तस्तै, निश्पक्ष रुपमा कलम चलाउने विश्वास व्यक्त गरे । कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार रिता गुरुङ, तिलक पुन मगर, हर्क आले मगर, राज बहादुर गुरुङ, शान्ति गुरुङ, एम.बी आस्था मगर, हुम बहादुर गुरुङ, उदय बहादुर अमात्य, रुद्र श्रीस मगर, दीपेन्द्र श्रेष्ठ सम्मानित भैसकेका छन् ।
पोखरा: पद्म नर्सिङ होम प्रा.लि.ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् । पद्म नर्सिङ होम प्रा.लि.पोखरा–३, नदिपुरको आयोजना एवं पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय भन्दा धेरै सेवाग्राहीले सेवा लिएका हुन् । कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका ३ का वडा अध्यक्ष प्रकाशमान उदासले बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर स्वास्थ्य शिविरको शुभारम्भ गरेका थिए । निःशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएमा १ सय ४३ जना जनरल मेडिसिन र मुटु सम्बन्धि, ९५ आँखा सम्बन्धि, ५५ जना हाडजोर्नी तथा नसारोग सम्बन्धि, ७२ जना स्त्रीरोग सम्बन्धि, ४४ जना नाक कान घाँटी रोग सम्बन्धि, ५८ जना बालरोग सम्बन्धि, ३५ जना सर्जिकल सम्बन्धी र १६ जना बाल दन्तरोग सम्बन्धि बिरामीहरुको निः शुल्क स्वास्थ्य परिक्षण गरिएको प्रा.लि. का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिए । शिविरमा १ सय १८ जनाका जनाको भिडियो एक्सरे, १ सय ५२ जनाको ल्याब परिक्षण, ९५ जनाको मुटुको इसिजी, र ६६ जनाको एक्सरे गरिएको थियो भने बिरामीहरूका लागि आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको नर्सिङ होमले जनाएको छ । शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठ, बरिष्ठ रेडियोलोजिष्ट डाक्टर कालु शर्मा सुबेदी, बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर नारायण गौतम, फिजिसियन डाक्टर सुदर्शन सुवेदी र डाक्टर राजेन्द्र पौडेल, बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डे र डाक्टर सरिता गुरुङ्ग, वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदिप नारायण अग्रहरी र डाक्टर अम्बालिका शाक्य, बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर रामचन्द्र बास्तोला र डाक्टर राजन पौडेल, बरिष्ठ जनरल सर्जन डाक्टर ओम बहादुर कार्की, बाल दन्तरोग बिशेषज्ञ डाक्टर भावना सिग्देल, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डाक्टर नितेश मण्डल, मेडिकल अफिसर डाक्टर आश्ना बाटाजु, डाक्टर बिज्ञान कोइराला, डाक्टर स्वराज श्रेष्ठ लगायतका चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए भने प्रा.लि. मा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले उपचारमा सहजिकरण गरेका थिए । स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै वडा अध्यक्ष उदासले स्वास्थ्य संस्थाहरुले आफ्नो सेवालाई सहज र प्रवाभकारी बनाउदै सेवामुलक रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए । पद्म नर्सिङ्ग होम सँगको सहकार्यमा आफ्नो वडाका नागरिकहरुलाई घरदैलोमा नै निःशुल्क उपचारको ब्यवस्था गर्न पाउदा खुसी लागेको उनको भनाई थियो । आगमी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिदै अध्यक्ष उदासले सेवा मुलक संस्थाहरुले आफ्नो दाहित्व भुल्न नहुने बताए । पद्म नर्सिङ्ग होम प्रा.लि.पोखरा–३,नदिपुरका अध्यक्ष इन्दिरा शर्मा सुबेदीले नागरिकको सहज स्वास्थ्य सेवा आफुहरुको उदेश्य रहेको भन्दै बिपन्न र असाहय नगरिकलाई सुलभ स्वास्थ्य सेवा दिन आफुहरु प्रयत्नशिल रहेको बताईन्। प्रा.लि.का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले स्वास्थ्य संस्थाहरुको उत्तरदायित्व नाफामुलक मात्रै नभएकोले सेवा भावलाई अगाडि बढाउन आफ्नो संस्था तयार रहेको भन्दै गाउँ घरका दुरदराजमा रहेका जनता सम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरु लागि रहने बताए । उनले यस निःशुल्क स्वास्थ्य शिबिरमा सेवा लिएका र थप उपचार गर्नुपर्ने अवस्था देखिएका बिरामीहरूलाई विशेष छुटका साथ थप उपचार गराउने समेत बताए । गत बर्ष मात्रै न्युरोडबाट पोखरा ३ नदिपुर स्थित आफ्नै भवनमा सरेको नर्सिङ्ग होमले आफ्ना सेवाहरुलाई थप गर्दै लाने क्रममा छिट्टै डायलसिस सेवा समेत सुरु गर्न लागेको ब्यवस्थापक नरेश पौडेलले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको भानु विशेष समारोहमा प्रमुख अतिथि भट्टले नेपाली भाषाका आदिकवि भानुभक्तलाई सबैले स्मरण गर्नुपर्ने बताउनुभयो । भानुका कृति सामाजिक कल्याणका लागि समर्पित,जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार मान्न सकिने भन्दै उहाँले आदिकवि भानुभक्तले नै छरिएर रहेको नेपाली भाषालाई एकीकरण गर्ने काम गरेको उल्लेख गर्नुभयो । ‘नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न र नेपालीपनको पहिचान गराउन भानुको महत्वपूर्ण योगदान रहेको छ । उहाँका सिर्जनाबाट नेपाली भाषाको उन्नयन, प्रवर्द्धन र मानकीकरण भई नेपाली राष्ट्रियतालाई बलियो पार्नमा सर्वोपरि योगदान पुगेको छ ।’ भट्टले भन्नुभयो – ‘भानुभक्तको सबैभन्दा ठूलो योगदान वाल्मिकी रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर ठूलो जनसंख्यामा पुर्याउनु रहेको छ । नेपाल र विश्वभरका नेपालीभाषी रहेका क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन सेतु बन्नुभएको छ ।’ आजको दिन साहित्यिक, सांस्कृतिक, शैक्षिक तथा सामुदायिक संस्थाहरूले आदिकवि भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम गरिरहेको र यस्ता उत्सवले युवा पुस्तामा साहित्यिक भोक जगाउने र भाषाप्रति सम्मान तथा नेपाली भाषाप्रति गौरव बढाउन मद्धत पुग्ने विश्वास प्रदेश प्रमुख भट्टको छ । आदिकवि भानुभक्तसँग जोडिएका विभिन्न ठाउँहरुलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडि बढ्न सके मुलुकको समृद्धिमा सहयोग पुग्ने भन्दै भट्टले हामी आफ्नो मातृभाषाको शक्ति एवं महत्व जगाउन र आदिकविको विरासतलाई संरक्षण गर्दै अगाडि बढाउन आ–आफ्नो ठाउँबाट दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले पृथ्वी नारायण क्याम्पसमा नेपाली विषयमा सर्वोत्कृष्ट विद्यार्थी रामबहादुर कुमाल र नेपाली विषयमा लामो समय पढाउनुभएकी पोखरा २६ स्थित लक्ष्मी माविकी शिक्षिका ईश्वरीकुमारी जिसीलाई आयोजकका तर्फबाट नगदसहित सम्मान गर्नुभएको थियो । यस्तै, भानु वाङ्मय प्रतिष्ठानको भवन निर्माणका लागि सहयोग स्वरुप प्रदेश प्रमुख भट्टले व्यक्तिगत रूपमा नगद २० हजारको चेक स्वकीय अधिकृत ललित ओझामार्फत् प्रतिष्ठानका अध्यक्ष साहित्यकार सरुभक्तलाई प्रदान पनि गर्नुभयो ।
पोखरा: पोखरा ३० स्थित खुदिखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्य भएको छ । शुक्रबार खुदीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर बिष्णु थापामगरको मृत्यु भएको हो । पोखरा महानगरपालिका–३० खुदिखोलामा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा थापामगर गम्भीर घाइते भएका थिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि सरुवा तथा संक्रमण अस्पताल शिसुवा पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: अविरल वर्षाले पहिरो जाँदा पोखरा १९ तल्लोकोट ठाँटीमा मृत्यु भएका ५ जनाका सामूहिक अन्त्योष्टी गरिएको छ । माथिबाट आएको पहिरोमा परेर मृत्यु भएका ७ जना मध्ये ५ जनाको चिन्तेबौर सेती नदीकिनार चिन्तेबौर घाटमा सामुहिक दाहसंस्कार गरिएको हो । कुल बहादुर परियार र उनी श्रीमती मनकुमारी परियारलाई एउटै चितामा अन्त्योष्टी गरिएको स्थानीय भुजेलले जानकारी दिए । उनका अनुसार कुल बहादुरका कान्छी छोरी प्रशना परियार, आमा लक्षिमा परियार र राधिका परियारको पनि सोही घाटमै अन्त्योष्टी गरिएको हो । माइत आएकी कुलबहादुरका छोरी प्रभा परियार र ज्वाई अस्मित परियारको शव भने उनीहरुकै घर पठाइएको थियो । उक्त पहिरोमा परी कुल बहादुरका छोरा पवन परियार घाइते भएका छन् । यो पनि पढ्नुहोस कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु, ३ जना घाइते अब कुल बहादुरको सन्तानको रुपमा जेठी छोरी जापानमा रहेकी छिन् भने छोरा पवन घाइते छन् । गएरातीका पहिरोमा परेर कास्कीका कुल ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका थिए ।
पोखरा: पोखरा महानगरपालिका–१९ पुरनचौरमा पहिरोमा पुरिएर मृत्यु भएका ५ जनाको अत्येष्टी गरिएको छ । उनीहरुको भुज्रुङखोला स्थित सेती घाटमा अत्येष्टी गरिएको हो । गएराति करिब १० बजेको समयमा पुरनचौरमा पहिरो जाँदा ४७ वर्षीय कुलबहादुर परियारको घर पुरिएको थियो । पहिरोमा पुरिएर मृत्यु भएका पोखरा महानगपालिका–१९ पुरनचौर घर भएका ४७ वर्षीय कुलबहादुर परियार, उनका श्रीमती ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय लश्रीमा परियार, १५ वर्षीय प्रशना परियार र राधिका परियारको सामुहिक अन्येष्टी गरिएको हो । गएराति पुरनचौर पहिरो जाँदा ७ जनाको ज्यान गएको थियो । पहिरोमा पुरिएर मृत्यु भएका २५ वर्षीय अस्मित परियार र २० वर्षीय प्रभा परियारको शव परिवारले लगेका छन् । गएराति कास्कीको तीन स्थानमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । भने, ४ जना घाइते भएका छन् ।
पोखरा: मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन असार २९ गते हुने भएको छ । १६ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक पनि क्षेत्रीय अडिसन गर्न लागिएको हो। पोखरा अडिसन लेकसाइड स्थित होटेल बाराहीमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिए । पुरीका अनुसार अडिसनमा पोखरा लगाएत छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ, गोर्खा, बागलुङ्गबाट पनि सहभागी हुनेछन् । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिताको आवेदन ई–सेवा तथा अडिसनमै वा सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न सकिनेछ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाई भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । पोखरा अडिसनबाट करिब ५ देखि १० जना छनौट गरिने र उनीहरुले फेरि काठमाडौंमा अडिसन दिनेछन् । देशभरका अडिसनबाट छनौट भएकाहरुबीच काठमाडौंमा फेरि अडिसन हुनेछन् । जहाँबाट २५ जना छनौट हुनेछन् । उनीहरुलाई एक महिनाको प्रशिक्षण दिइनेछ । प्रशिक्षणपछि काठमाडौंको याक एण्ड यतिमा ग्राण्ड फिनाले हुनेछ । पोखराबाहेक नेपालगंज, बुटवल, चितवन, हेटौडा, जनकपुर,दमक र विराटनगरमा अडिसन सम्पन्न भइसकेको छ। मिस्टर नेपालको विजेताले पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यस्तै मिस्टर नेपालले मिस्टर वर्ल्डमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने फर्स्ट रनरअपले मिस्टर ग्लोबक तथा सेकेन्ड रनरअपले मिस्टर टुरिजममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । मिस्टर नेपाल सन् २००२ देखि आयोजना हुँदै आएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले चालु आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा सचिव विष्णुप्रसाद भट्टराईलाई सम्मानित गरेको छ । गाउँपालिकाको गाउँसभाको १५ औं अधिवेशनको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा नम्बर ८ का वडासचिव भट्टराईलाई आर्थिक वर्षमा उत्कृष्ठ कार्यसम्पादन गरेको आधारमा सम्मान गरेको हो । माछापुच्छ्रे गाउँपालिका–८ मा कार्यरत वडासचिव भट्टराईले वडामा आर्थिक वर्ष २०८०÷०८१ मा राजश्व संकलन लगायत समग्र सेवा प्रवाहमा उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।

