पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । सर्वोच्च अदालतले यसअघि लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि उनी पदमुक्त भएका हुन् । साथै अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए । जबकी संविधान अनुसार ३१ प्रदेशसभा सदस्यले समर्थन गर्नुपर्ने थियो । सभामुख प्रयोग भएर खगराजलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले खगराजलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।
पोखरा; अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा प्रहरीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ । अवैध रुपमा संरक्षण क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा लोड गरी पोखरा महानगर–१९ तितेपानी, भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको तीन वटा टिप्पर प्रहरीले आज नियन्त्रणमा लिएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ लोड गरी पोखरा आउँदै गरेको ग १ क ५०४०, ग १ क ५५१२ र ग १ क ५५९८ नम्बरको टिप्पर नियन्त्रणमा लिएर अनुसन्धानका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को कार्यालय हरियाखर्कमा बुझाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार अधिवक्ता अनुप भट्टराईले महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । अधिवक्ता भट्टराईद्वारा दायर रिटमा गृहमन्त्रीले अनुचित प्रभाव र प्रतिकूल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्था उनलाई पदबाट निलम्बन गर्न माग गरिएको हो । रिटमा भनिएको छ, ‘‘विपक्षी उपप्रधानमन्त्री तथा गृहमन्त्रीले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकुल असर पार्ने र प्राकृतिक न्यायको सिद्धान्त विपरीत समेत रहने स्पष्ट भएको हुँदा अनुसन्धान प्रक्रिया चलिरहेको अवस्थामा गृहमन्त्रीको पदबाट निजलाई निलम्बन गर्नु भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाउँमा अन्तरिम प्रकृतिको उपयुक्त आदेश जारी गरिपाऊँ ।’’ यो रिटमा जेठ १६ गतेका लागि पेशी तोकिएको छ ।
पोखरा: मर्दी खोलामा पौडी खेल्न गएका शिव थापा मगरको डुबेर मृत्यु भएको छ। आइतबार दिउँसो मर्दी खोलामा पौडी खेल्ने क्रममा थापामगरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीको माछापूच्छ«े गाउँपालिका–५ रिभानस्थित आनन्द ठाँटी बस्ने ४९ वर्षीय थापामगरको शान्तिघाट नजिक मर्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका थापामगरको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ल्याइएको कास्की प्रहरीले जनाएको छ ।
बागलुङ: सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरुपमा अवरुद्ध भएको हो । यसअघि फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो । सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकैबेला आइतबार रातको समयमा एक्कासी पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले बताउनुभयो । “पहिरो खसेको ठाउँ निकै कमजोर छ, त्यहाँ पटकपटक पहिरो खसेर काममा बाधा पारिरहेको छ”, आयोजनाका इञ्जिनियर अरुण खत्रीले भन्नुभयो, “पहाड सिँगै खसेकाले यो पटक पनि सडक खुल्न समय लाग्छ ।” पहिरो खुलाउनका लागि आयोजना र निर्माण कम्पनीले आज बिहानैदेखि काम थालेका छन् । बरलवाको भिरमा खसेको सुक्खा पहिरोले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारीसाधन आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ ।
गोरखा: सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा जेठ १३ गते बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ । यससँगै चीनतर्फ बिओपीको सङ्ख्या १० वटा पुगेको सशस्त्रका डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल नंं। २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करीव १६४ किलोमिटर उत्तरतर्फ रहेको छ । नेपाल र चीन सीमा ईलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटनाहरु जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमा स्तम्भ तथा सीमा ईलाकाको निगरानीलगायत कार्यहरु गर्नेछ । समुन्द्री सतहतबाट करीव तीन हजार ८७५ मिटरको उचाई स्थापना भएको बिओपीबाट करीव १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुईला नाका रहेको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, सङ्खुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोलासहित नौ ठाउँमा बिओपी स्थापना गरिसकेको छ । हाल भारततर्फ दुई सय ४४ र चीनतर्फ १० गरी बिओपीको सङ्ख्या दुई सय ५४ वटा पुगेको छ ।
चितवन: नारायणगढ–मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् । पुनको रातिनै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार ना ३ ख ७९१५ नम्बरको ट्रकका सहचालक सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा मध्यराति चारवटा सवारी साधन एकापसमा ठक्कर खाएका थिए । दुर्घटनामा घाइते अन्य २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । रिजालका अनुसार काठमाडौँबाट प्यूठानतर्फ जान आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरी बर्दिबासतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठक्कर खाएका हुन् ।
दार्चुला: दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका –५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् । दुवैजना नातामा काकी भतिजा पर्छन् । अत्यधिक वर्षापछि खोलामा आएको बाढीले दुवै जनालाई बगाएको मार्मा गाउँपालिका –५ का वडाअध्यक्ष सुरेन्द्र महताले जानकारी दिनुभयो । बेपत्ताको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथको टोली घट्नास्थलमा खटिएको छ ।
पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेको यात्रा उहाँले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल नै गर्नुभएको हो । गण्डकीका तीन जिल्लाहरु कास्की, स्याङ्जा र पर्वतको संगमस्थल रहेकाले पनि उहाँले निकै उत्साहपूर्ण तबरले पैदलयात्रा गर्नुभयो । पोखरा महानगरपालिका वडा नंं. २३ का अध्यक्ष रामकाजी गुरुङ, युवा पर्यटन व्यवसायी गोविन्द लामिछानेले सुनाखरी पदमार्ग यात्राका क्रममा सहजीकरण गर्नुभएको थियो । पोखराबाट शुक्रबार पञ्चासेको लागि निस्केको टोलीले पोखरा महानगरपालिका वडा नंं. २३ ले स्वागत गरेको थियो । अध्यक्ष रामकाजी गुरुङ, कर्मचारी चिरञ्जीवी पौडेलसहितले प्रदेश प्रमुखलाई स्वागत गरी वडाको जानकारी गराए । प्रदेश प्रमुख भट्टले पञ्चासे शिरदेखि फेवाफाँटसम्म फैलिएको यस वडा विविधतापूर्ण र महानगरकै ठूलो वडा रहेको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो । वडाध्यक्ष गुरुङले प्रदेश प्रमुखलाई यस प्रदेशमै पहिलोपटक आफ्नो वडामा स्वागत गर्न पाउँदा हर्ष प्रकट गर्नुभयो । पोखरा लेकसाइडदेखि २८ किमिको मोटरबाटोको यात्रा तय गरेपछि पञ्चासे क्षेत्रको मुख्य प्रवेशद्वारका रूपमा रहेको भञ्ज्याङसम्म पुगिन्छ । त्यहाँबाट बढीमा २ घण्टा उकालो पैदलयात्रा गरी पञ्चासेकोट पुगिन्छ । भञ्ज्याङ पुग्न कास्कीको पोखराका साथै पर्वत तथा स्याङ्जाबाट पनि छुट्टाछुट्टै बाटा छन् । नेपाल सरकारले पनि पञ्चासेलाई महत्व दिएको छ । ७ प्रदेशका एक–एक स्थानलाई नमुना पर्यटन गन्तव्य बनाउने योजना अनुरुप कोशीको सन्दकपुर, मधेशको जनकपुर, बागमतीको इन्द्रसरोवर, गण्डकीको पञ्चासे, लुम्बिनीको देवदह, कर्णालीको राराताल र सुदूरपश्चिमको भादा गाउँलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रदेश प्रमुखको टोली पोखरा वडा नं. २३ घाँटीछिनाकै बाटोबाट भञ्ज्याङ पुगेको हो । दम्दमे तमु समाजले बाटैमा प्रदेश प्रमुखलाई स्वागत गरेको थियो । यहाँबाट अघि बढेको टोलीलाई कुद्बी डाँडा गाउँले तमु समाजले पनि स्वागत ग¥यो । तल्लो सिदानेमा होम स्टे सुविधा पनि छ । त्यहाँ स्व. ढकबहादुर गुरुङ स्मृति तमु (गुरुङ) संग्रहालय भ्रमण गराउँदै अर्गानिक खाजा खुवाएर स्वागत गरे । सिदाने गाउँबासीले फेवातालको मुहानमध्येको एक हुईं खोलाले गाउँ नै उठाउन लागेको बारे गुनासो पनि पोखे । हर्पन खोलामा मिसिने खोलाहरुले गाउँ नै विस्थापन गर्न लागेको, बर्खामा यसको नियन्त्रण नगरे बाढी र पहिरोका कारण फेवाताल पुरिनेतर्फ बेलैमा सचेत रहन महानगर तथा सरकारको पनि ध्यानाकर्षण उनीहरुले गराए । उपल्लो सिदाने समाजघरले पनि स्वागत ग¥यो भने पञ्चासेद्वार भञ्ज्याङमा पनि गाउँलेले स्वागत गरे । प्रदेश प्रमुख भट्टले प्रमुख पञ्चधाम अर्थात् पञ्चासेधाम गण्डकी प्रदेशमै रहेकाले यसको प्रचारप्रसार तथा प्रवद्र्धनको खाँचो औंल्याउनुभयो । पञ्चकोटका साथै सिद्धबाबा मन्दिरको पनि अवलोकन गर्नुभएका उहाँले शतबिज छर्ने दिन बालाचतुर्दशीमा ओहिरिने धार्मिक पर्यटकलाई अरुबेला पनि आकर्षण गर्न योजना नै बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । पञ्चासेको एक चिनारी: गण्डकी प्रदेशमा रहेको पञ्चासे क्षेत्रलाई पञ्चधाम, पञ्चासे धाम वा पञ्चकोट भनेर पनि चिनिन्छ । अग्ला पाँचवटा डाँडाहरुको संगम हो पञ्चासे। डाँडाका ति टाकुरामा शिद्धबाबा, धर्मशाला, महादेव, भ्यू टावर, चौबिसे राज्यकालीन गढी र बुद्धका मूर्ति छन् । तीन जिल्लाको सीमा क्षेत्रमा रहेको यो मनमोहक प्राकृतिक क्षेत्रबाट आठ हजार मिटरभन्दा अग्ला धवलागिरि, अन्नपूर्ण र मनासुलु हिमचुचुराको सीधा अवलोकन गर्न सकिन्छ । माछापुच्छ«े ठीक बीचमा देखिन्छ । एकै स्थानबाट सूर्योदय र सूर्यास्तको अवलोकन गर्न सकिन्छ । समुद्र सतहदेखि २५ सय मिटरभन्दा अग्लो स्थानमा रहेको पञ्चासे मध्य पहाडी क्षेत्रको महाभारत शृंखलामा पर्दछ । नेपालको सबैभन्दा बढी पानी क्षेत्र पनि हो । पञ्चासे पहाड वरिपरि पाँचवटा नदीका मुहान छन्। जसमध्ये प्रमुख हुन्, हपर्न र अँधेरी खोला (फेवा तालका मुहान नदी)। त्यस्तै स्याङ्जा र पर्वत भएर बग्ने आँधीखोला, जरेखोला र रतीखोलाको उद्गमस्थल पनि पञ्चासे क्षेत्र नै हो । चार सयमध्ये एक सय १२ थरीका सुनाखरी यहीँ छन्। यसैले पञ्चासे क्षेत्रलाई सुनाखरीको राजधानी भनिन्छ। रक्तचन्दन, फँलाट, गुराँस र खसु्रका रुख पनि छन् । भगवान् शिवजीको वासस्थानका रूपमा पनि लिने गरिन्छ। भगवान् शिवजीलाई पञ्चास्य वा पञ्चमुख पनि भनिन्छ, जसको वासस्थान भएकाले यो ठाउँको नाम पञ्चासे रहन गएको हो । यस क्षेत्रमा वैदिक परम्परा अनुसार पूजाआजा गरिने पाञ्चायन देवताको पूजास्थल पनि रहेका छन्। त्यसैले यिनै पाञ्चायन देवताको पूजास्थलका रूपमा यस क्षेत्रको नाम पञ्चासे रहन गएको भन्ने भनाइ छ । यस क्षेत्रको वैदिक महत्व र विशिष्टतालाई विभिन्न पौराणिक कथा र मिथकसँग जोडेर पनि मानिसले धारणा बनाएका छन्। महाभारत कथा अनुसार द्वापर युगमा हस्तिनापुर राज्य छाडेर १२ वर्षको वनबासको सजाय भुक्तान गर्ने अवधिमा पाँच पाण्डवले समेत आफ्नो वनबासको केही कालखण्ड यहाँ ध्यान तथा साधनामा बिताएका थिए भन्ने जनश्रुति रहन गएको छ । त्यही भनाइका आधारमै यस क्षेत्रको नाम ‘पाँच’ वा ‘पञ्च’ शब्दसँग जोडिएर पञ्चासे रहन गएको मत पनि पाइन्छ । बालाचतुर्दर्शीको दिनमा यहाँ सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ। यो दिनमा यहाँ रहेको पञ्चासे तालमा स्नान गर्न र सद्बीज छर्न टाढा टाढाबाट भक्तजन आउँछन् । यहाँ नजिकै बैदान ताल छ । झण्डै १० मिटर गहिरो यो ताल चारैतिरबाट जङ्गलले घेरिएको छ । जङ्गलको बीचमा भए पनि यो तालमा पात पतीङ्गर देख्न पाइँदैन । पात तालमा परे पनि तत्कालै चराले फाल्ने गरेकाले तालमा नरहने स्थानीय बताउँछन् ।

