म्याग्दी: म्याग्दी सदरमुकाम बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ । दुई सय वर्षअघि बेनीमा बस्ती बसेदेखि नै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाच देखाइएको हो । बेनीको सङ्गमचोकमा सोमबार साँझ बर्खेनाचको समापन गरिएको हो । बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित बर्खेनाच समापन गरिएको नेपाल भाषा मंकाखलः म्याग्दीका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । “लाखे र श्रीकृष्णको लडाइँ झल्काउने नाच अवलोकन गर्न सङ्गमचोकमा बजारवासीको भीड लागेको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष बर्खेनाचअन्तर्गत लाखे, हनुमान, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइएको थियो ।” बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । जनैपूर्णिमा र त्यसको भोलिपल्ट दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिहरूको सम्झनामा नागानागिनी नाच देखाइएको थियो । मंका खलः अन्तर्गतको ल्याम्ह पुचःको अगुवाइ र मैजु खलःको व्यवस्थापनमा बर्खेनाच देखाइएको हो । परम्परागतरूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको छ । यस वर्षको बर्खेनाचमा करिब दश वर्षपछि धानको बाला नाच देखाइएको हो । मंका खलःले दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिएको छ । विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन् । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा बेनीको बर्खेनाचलाई जीवन्त राखिएको नेपाल भाषा मंका खलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । बेनी नगरपालिकाको आर्थिक सहयोगमा युवा–युवतीलाई बर्खेनाचसम्बन्धी तालिम दिइएको छ । गत भदौ १८ गतेदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानका रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ । बर्खेनाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ । रासस
काठमाडौं: नापी कार्यालय लाहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा यादवलाई गत भदौ ६ गते नियन्त्रणमा लिएको थियो । सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेलनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता भोला दाहालले यादवले सेवाग्राहीसँग घुस लिई भ्रष्टाचार निवारण एने अन्तर्गत कसुर गरेको पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को देहाय (क) बमोजिम कैद सजाय गरी सोही एनेको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवानाको सजाय हुन मागदाबी लिइ आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
गण्डकी: तीज आयो कि नाच्नेडाँडाको रौनक फेरिइहाल्छ । तीज पर्वसँग यसको पुरानो साइनो छ । तीजमा नाचगान हुन थालेपछि ठाउँको नामै नाच्नेडाँडा रहन गएको हो । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडामा बर्सेनि तीज मेला लाग्छ । स्वतःस्र्फूत ढङ्गले चल्दै आएको मेला अहिले संस्थागत भइसकेको छ । यसपालिको तीजमा पनि नाच्नेडाँडामा दुई दिन मेला चल्यो । आइतबार गाउँका छोरीचेली भेला भएर सामूहिक दर खाए । तीजका गीतमा छमछमी नाचे । घैँटोफोडलगायत खेलमा रमाए । सोमबार तीज गीत तथा नृत्य प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम भए । कलाकारले प्रस्तुति दिए । प्रतियोगितामा सात समूहले भाग लिएको नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले जानकारी दिनुभयो । मेलाका अवसरमा ज्येष्ठ, समाजसेवी महिला र आगन्तुक चेलीलाई अभिनन्दन गरिएको उहाँले बताउनुभयो । “सँधैझैँ यो वर्ष पनि नाच्नेडाँडामा भेला भई दिदीबहिनीहरुले उल्लासपूर्वक तीज पर्व मनाउनुभयो”, अध्यक्ष मरासिनीले भन्नुभयो । मेलामा गण्डकी प्रदेशसभाका उपसभामुख बीना थापा मगर, नेत्र चिकित्सक प्राडा सल्मा केसी राईलगायत विशिष्ट व्यक्तिले सहभागिता जनाएका थिए । सोही ठाउँमा अवस्थित दुई सय ७० वर्ष पुरानो सिद्देश्वर शिवालय मन्दिरले पनि तीज पर्व र नाच्नेडाँडाको महिमा बढाएको छ । तीजमा महादेवको ब्रत बस्ने र पूजाआजा गर्ने महिलाको त्यहाँ उत्तिकै भीड लाग्छ । तीज लगत्तै पर्ने ऋषिपञ्चमीमा पनि शिवालयमा चहलपहल हुन्छ । स्थानीयवासी तिलकुमारी थापाले आफू सानै हुँदादेखि नाच्नेडाँडामा तीज मेला लाग्ने गरेको सुनाउनुभयो । “टाढा–टाढाबाट माइतीघर आएका चेलीबेटी भेट हुने, दुःख–सुख साट्ने, रमाउने ठाउँ नै यहीँ नाच्नेडाँडा हुन्थ्यो”, ८० वर्षीया उहाँले भन्नुभयो, “गलकोट क्षेत्रकै पुरानो शिवालय पनि यहीँ भएकाले यो ठाउँको विशेष महत्व छ ।” अहिलेको पुस्ताले नयाँ स्वरुपमा भएपनि तीज मेलालाई निरन्तरता दिएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । गलकोट–७ का वडाध्यक्ष राजबहादुर थापाले विसं २०५० देखि तीज गीत तथा नृत्यलाई प्रतियोगितात्मक रुपमा सञ्चालन गर्न थालिएको बताउनुभयो । “त्योभन्दा पहिले स्वतःस्र्फूत रुपमा तीज मेला लाग्थ्यो, परम्परागत रुपमा त्यो चलेको थियो, विसं २०५० पछि मेला व्यवस्थित र संस्थागत गरिएको हो”, उहाँले भन्नुभयो, “नाच्नेडाँडा गलकोट क्षेत्रकै ऐतिहासिक थलो हो, यसको संरक्षण र विकासमा स्थानीय समुदायको ठूलो योगदान छ ।” दशकौँ पुरानो नाच्नेडाँडाको तीज मेला हेर्न गलकोट र बाहिरबाटसमेत आगन्तुक आउने गरेको समाजका अध्यक्ष मरासिनीले बताउनुभयो । “परापूर्वकालदेखि नै नाच्ने डाँडामा तीजको कार्यक्रम हुँदै आएको हो, पछिल्लो समय मेलाको रुपमा निरन्तरता दिएका छौँ”, अध्यक्ष मरासिनीले भन्नुभयो । बर्सेनि मेलामा खुला तीज गीत तथा नृत्य प्रतियोगिता, सामूहिक दर खाने कार्यक्रम, महिला घैँटोफोडलगायतका कार्यक्रम आयोजना गर्ने गरिएको छ । मेलाले तीजको पुरानो परम्परालाई जोगाउन मद्दत पुगेको समाजले जनाएको छ । मौलिक तीज गीत, नृत्य, दर खाने कार्यक्रम आदिले नयाँ संस्कृतिको पुस्तान्तरणमा पनि सघाउने विश्वास लिइएको छ । तीजमा आउने ब्रतालु महिला र अरु भक्तजनका लागि सिद्धेश्वर शिवालयमा पूजाआजाका लागि पनि विशेष प्रबन्ध मिलाउने गरिएको छ । शिवालय सेवा समितिका अध्यक्ष ज्ञानबहादुर थापाले श्रद्धालुलाई लक्ष्य गरी मन्दिर परिसरमा १०८ शिवलिङ्ग मण्डप निर्माण गरिएको बताउनुभयो । भक्तजन र दाताको सहयोगमा झण्डै रु. ४० लाख खर्चेर सो मण्डप तयार गरिएको हो । त्यस क्षेत्रमै पहिलोपटक शिवलिङ्ग मण्डप बनेपछि पछिल्लो समय शिवालय मन्दिरमा भक्तजनको आकर्षण बढेको हो । विसं १८१० मा मन्दिर निर्माण भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । पाण्डवखानी भन्ने ठाउँबाट एक साधु आई त्यहाँ बस्न थालेपछि शिवालय स्थापना गरिएको गाउँका अगुवा बताउँछन् । उक्त मन्दिर अहिले जीर्ण अवस्थामा छ । समितिले मन्दिरको पुनःनिर्माणसहित वृहत्तर विकास योजना अघि बढाएको छ । पुरातात्विक कलाकौशल झल्कने गरी मन्दिर पुनःनिर्माण गरिने जनाइएको छ । मन्दिरसहित धर्मशाला, सभाकक्षलगायतका संरचना त्यहाँ बन्नेछन् । झण्डै चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिरमा शिवरात्रि र बालाचर्तुदर्शी पर्वमा विशेष मेला लाग्ने गर्छ । शिवालयमा नित्य पूजाआजासमेत हुने गरेको छ ।
पोखरा: गण्डकी प्रदेश भलिबल संघले पोखरा लामाचौरमा सम्पन्न भएको भलिबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार सम्पन्न भएको फाइनल खेलमा गण्डकी प्रदेशले विभागीय क्लब नेपाल पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । गण्डकी प्रदेशले पहिलो र तेस्रो सेट गुमाएपनि दोस्रो, चौथो र पाचौ सेटमा जित निकाल्दै उपाधि जितेको हो । गण्डकीले पहिलो सेट २३–२५ ले गुमाएको थियो । एकसमय नेपाल पुलिस क्लब (२२–१८)को अवस्थामा भएपनि गण्डकीले उत्कृष्ट खेल खेल्दै २२–२३ बनाएपनि पुलिसले पुनः तीन अङ्क जोड्दै पहिलो सेट जितेको थियो । दोस्रो सेटमा सुरुवाती अग्रता बनाउँदै गण्डकीले (९–९)को अवस्थाबाट लगातार पाँच अङ्क जोडेपछि दोस्रो सेटमा हावी हुँदै २५–१९ ले जितेको थियो । यस्तै फाइनल खेलमा तेस्रो सेटमा गण्डकीको २० र नेपाल पुलिस क्लबको २१ अङ्क हुँदा रेफ्रीको निर्णयमा पुलिसले असहमति जनाउँदा खेल केही समय रोकिएको थियो । उक्त सेट गण्डकीले २१–२५ ले गुमाएको थियो । चौथो सेटमा गण्डकी प्रदेश पुलिस भन्दा (२४–२१)को अवस्थामा भएपनि पुलिसले उत्कृष्ट खेल खेल्दै लगातार चार अङ्क जोड्दै २४–२४ को बराबरी गरेको थियो । प्रतिस्पर्धात्मक भएको चौथो सेट गण्डकीले २८–२६ ले जितेको थियो । पाँचौ तथा निर्णायक सेटमा गण्डकीले सुरुवाती अग्रता बनाउँदै १५–११ ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । ‘लामाचौर कप’ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको विजेता गण्डकीले नगद १ लाख ५० हजार १ सय ११ र उपविजेता भएको नेपाल पुलिस क्लबले १ लाख १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा तेस्रो भएको नेपाल एपिएफ क्लबले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । यस्तै महिलातर्फ भने नेपाल पुलिस क्लबले न्यू डायमण्ड स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा सम्पन्न भएको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबल एवम् दोस्रो संस्करणको पुरुष भलिबलको आज सम्पन्न भएको हो । असोज २९ देखि असोज १ गतेसम्म सञ्चालन लामाचौर तीज महोत्सवमा आयोजित लामाचौर कपको पुरुष तर्फको फाइनल खेल घरेलु टिम गण्डकी प्रदेश र नेपाल पुलिस क्लब बिचको फाइनल खेल संचालनकै क्रममा लाइट प्रोटेस्ट (प्रकाशको कमी) भएको कारण स्थगीत भएको थियो ।
पाेखरा: गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयले आज संविधान दिवसको अवसरमा पोखरामा संविधानका विशेषता, कार्यान्वयन, महत्व र चुनौतीबारे अन्तरक्रिया गरेको छ । प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको संयोजनमा आयोजित कार्यक्रममा मुख्य न्यायाधिवक्ता चिरञ्जीवि शर्मा पौडेलले हालको संविधान एउटै भाँडोमा राखिएको सर्प, गँगटो र बिच्छीजस्तो भएको टिप्पणी गरेका छन् । संघ र प्रदेश र स्थानीय तहबीच केवल अधिकार प्राप्तीका विषयमा रस्साकस्सी चलेकोतर्फ इंगित गर्दै शर्माले देशका तीनै निकायले आफुलाई शक्तिशाली महशुस गर्दा संविधानको असली पक्षमाथि चर्चा नभएको उल्लेख गरे । संविधानको मूल मर्म र लक्ष्य सम्मुनत राष्ट्र निर्माण भएपनि तीन तहबीच समन्वय नहुँदा स्थानीयदेखि संघ सरकार शक्ति संघर्षमा लागेको उनको कटाक्ष थियो । ‘सबै तहका प्रमुखले अधिकार क्षेत्रको प्रयोग गर्ने ध्याउन्नमा दायित्वबाट पर पुगेजस्तो देखिन्छ’ शर्माले भने ‘संविधानमा अधिकार र दायित्वको सिमांकन पनि रहेको छ, यतापट्टी सम्बन्धित सबैको ध्यान जाओस् ।’ अवधारणापत्रमा शर्माले संविधानका प्रस्तावनादेखि संवैधानिक क्षेत्रको चर्चा गर्दै कार्यान्वयन क्षेत्रमा गम्भीर हुन सके त्यसको महत्व बढ्ने प्रतिक्रिया उल्लेख गरेका छन् । कार्यान्वयन गर्न सबै तह लाग्न सके त्यसले नागरिकलाई सुशासन प्रदान गर्ने उनको धारणा छ । ‘संविधान राजनीतिक दस्तावेज भएकाले यसको सफल कार्यान्वयनमा स्वस्थ राजनीतिक प्रतिष्पर्धा र दलीय इच्छाशक्तिका आवश्यकता छ’ शर्माको टिप्पणी छ । अन्तरक्रियामा पृथ्वीनारायण क्याम्पस पोखराका सहप्राध्यापक भीमनाथ बरालले अवधारणापत्र प्रस्तुत गर्दै संविधानको नीतिगत र राजनीतिक पक्षमाथि चर्चा गरे । संविधानले शक्तिको बाँडफाँड नै गरेको र सबै तहका नेपालीलाई अधिकार र अवसरको हिसाबले सम्मान गरेको बताउँदै बरालले जनप्रतिनिधिसँग नागरिकको पहुँचमा वृद्धि गरेको उल्लेख गरे । अवधारणापत्रमा बरालले संविधानमाथि प्रश्न गर्ने धेरै ठाउँ नभएपनि नीतिगत पक्षमा भने सन्तुष्ट हुने ठाउँ अझै नभएको टिप्पणी गरे । कानून निर्माणमा कर्मचारीतन्त्र हावी भएको बताउँदै बरालले भने ‘यो समस्या प्रदेश र स्थानीयतहमा डरलाग्दो देखिन्छ ।’ मुख्यतः करको दर निर्धारण गर्न र आय बढाउन प्रदेश सरकारले गरेका निर्णयहरु अलोकप्रिय भएको उनले चर्चा गरे । प्रदेश र स्थानीय तहले आय बढाउन कुनै ठोस योजना बनाउन नसक्दा त्यसको भार करमार्फत जनताले ब्यहोर्नुपर्ने बाध्यताले यदाकदा संघीयतामाथि नै प्रश्न उठ्नेको गरेको उनको धारणापत्रमा उल्लेख छ । वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदीले संविधान कार्यान्वयमा ‘प्रदेश सरकारको चुनौति’मा अवधारणा राख्दै संघलाई प्रदेश नचाहिने तर प्रदेशलाई संघ अपरिहार्य हुँदा अवसर र सम्भावना भन्दा चुनौति बढेको उल्लेख गरे । उनले संघमुखी कर्मचारीतन्त्र, साझा अधिकारको हकमा कानूनको अभाव, स्रोत निर्माण र व्यवस्थापनको साँघुरो घेरा र संघीय सरकारले दिन अनुदान प्रणाली कमजोर भएकाले चुनौति बढेको प्रष्ट्याए । त्यस्तै, प्रदेश सरकारको अप्रभावकारी सेवा प्रवाह, कर प्रणाली, स्रोत वितरण प्रणाली, शासकीय प्रवृत्तिले संविधानमा प्रदेशवासीको अपनत्व हुन नसकेको सुवेदीले चर्चा गरे । प्रदेश सरकारलाई सबलीकरण, संस्थागत विकास र क्षमता विकासमा थप गृहकार्य गर्न आवश्यक रहेको सुझाउँदै उनले प्रदेशको संरचना र अधिकारलाई स्पष्ट व्याख्या गर्न ढिलो भइसकेको जनाए । ‘पालिकालाई प्रदेशसँग जोड्ने संयन्त्रको विकास हुन सकेको छैन’ पौडेलले भने ‘संविधान संशोधन र अधिकारको स्पष्ट विभाजन हुन नसक्दा मुख्यमन्त्रीहरुले राष्ट्रिय भेला गर्दै संघसँग शक्ति संघर्ष गरिरहेका छन् ।’ हालको संविधान मुलुकको सातौं संविधान हो । गणतन्त्रको स्थापनापछि असोज ३ गते संविधन दिवसकारुपमा मनाइँदै आइएको छ ।
नेपाली साहित्यमा पोखराबाट सशक्त पहिचान बनाएका सरुभक्त (भक्तबहादुर श्रेष्ठ) सोमबारदेखि ६९ वर्ष लागेका छन् । साहित्यमा मुलतः कथा, उपन्यास र नाटक विधामा कलम चलाउने सरुभक्तको चर्चित उपन्यास ‘पागल बस्ती’ले ०४८ सालमा मदन पुरस्कार जितेपछि उनी र उनको लेखनीको प्रसिद्धि चुलिएको हो । झण्डै ७ दशकको जीवन यात्रामा झनै सक्रिय रहेका सरुभक्तले छिट्टै ‘सरुभक्तका विज्ञान कथा’ नामक कृति आउन लागेको बताएका छन् । जसमा विज्ञानका कथा संग्रह रहने उनले बताए । आगामी पुसभित्र प्रकाशित भई बजारमा आउने कथालाई फाइन प्रिन्टले प्रकाशन गर्नेछ । त्यस्तै, आफ्ना मुक्तकका उत्कृष्ट संग्रहसमेत प्रकाशोन्मुख रहेको र त्यसलाई नेपाल साहित्य समाज, बेलायतले प्रकाशनको जिम्मेवारी लिएको सरुभक्त बताउँछन् । उमेरसँगै काम पनि बढेको बताउँदै उनले बालबालिका लक्षित कथा, कविता, नाटकलगायतका रचना गरिरहेको जनाएका छन् । सरुभक्तका करिब ५ दर्जन रचनामध्ये ‘पागल बस्ती, ‘तरुनी खेती’, ‘समय त्रासदी’ र ‘चुली’ सर्वाधिक रुचाइएका उपन्यास हुन् । त्यस्तै, ‘सिरुमारानी’ चर्चित नाटक संग्रह हो । उनै सरुभक्तलाई जन्मदिनको शुभकामना !
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गर्ने भएको छ । कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गरिने रास्वपाले जनाएको छ । रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ । सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षुमनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् । वडा तहको समितिका लागि समेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । असोज २ देखि २० सम्म उम्मेदवार दर्ताका लागि आह्वान गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ । वडा समिति गठनका लागि आजदेखि वडा तहको भेला रोकिएको महामन्त्री मुकुल ढकालले जानकारी गराए । वडामा रास्वपाको संगठन निर्माणको लागि गत असार १७ भित्र भेला मार्फत गठन भएका वडाहरुको असार मसान्त भित्र अद्यावधिक गर्ने सूचना जारी गरिएको थियो । भेला आयोजना गर्ने र अद्यावधिक गर्ने म्याद दुई पटक थप भएको सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अल्पविकसित देशहरुलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित देशहरुले आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले अल्पविकसित देशहरुको समूहको दिगो विकासका लक्ष्यसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । कोभिड–१९ महामारी, जलवायु परिवर्तन, भूराजनीतिक तनावजस्ता विभिन्न खालका सङ्कटको प्रभावले अल्पविकसित देशहरुलाई दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि समस्या भएको उहाँले बताउनुभयो । उहाँले अल्पविकसित राष्ट्रहरूलाई स्तरोन्नतिका लागि थप योजना ल्याइनुपर्ने प्रस्ताव सम्मेलनमा राख्नुभयो । विकसित देशहरूले प्रतिबद्धता जनाएअनुसार आफ्नो कूल राष्ट्रिय आयको शून्य दशमलव ७ प्रतिशत विकासोन्मुख देश र शून्य दशमलव १५ देखि शून्य दशमलव २० प्रतिशतसम्म अल्लविकसित देशहरुलाई विकास सहायताका रूपमा उपलब्ध गराउनुपर्नेमा प्रधानमन्त्रीको जोड छ । सन् २०२५ सम्ममा अल्पविकसित राष्ट्रहरूको ऋण सङ्कटलाई सम्बोधन गर्ने र समयमै त्यसको समाधान खोज्ने गरी प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था आइसकेको पनि उहाँले बताउनुभयो । दिगो विकास लक्ष्य प्राप्त गर्नु नेपालको पनि उच्च प्राथमिकताको विषय भएको र नेपालका नीति तथा योजनामा दिगो विकास लक्ष्य हासिल गर्नेगरी लक्ष्य तथा उद्देश्य निर्धारण गरिएको प्रधानमन्त्रीको भनाइ छ । त्यस्तै, नेपालले सन् २०२६ सम्ममा स्तरोन्नति भइसक्ने गरी काम गरिरहेको भन्दै उहाँले आन्तरिक स्रोत परिचालन गर्ने संस्थाको क्षमता बलियो बनाउन लागिरहेको उल्लेख गर्नुभयो । साथै उहाँले गरिबी उन्मूलन र असमानता घटाउनका लागि लागि परेको पनि बताउनुभएको छ ।
रूपन्देही: तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एकजनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । विभिन्न जिल्लाबाट रूपन्देही गएका मजदुरहरुबीच गएराति तिलोत्तमा नगरपालिका–९ केउलानीमा झडप भएको प्रहरीलाई उदृत गर्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा होटलमा बसेर जाँड रक्सी खाइरहेका उनीहरुबीच विवाद भएको थियो । विवादका क्रममा एक जनाले चक्कु प्रहार गर्दा हेटौँडा घर भइ रूपन्देहीको मङ्गलापुरमा बस्दै आएका सुरेश स्याङ्तानको ज्यान गएको हो । घाइते तीन जनाको उपचार भइरहेको छ भने चक्कु हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

