काठमाडौं: दक्षिण अमेरिकी मुलुक ब्राजिलको अमेजन क्षेत्रमा एउटा प्रोपेलर विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । विमानमा रहेका १२ यात्री र चालक दलका दुई जना सदस्यको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । घटनाको अनुसन्धान सुरु गरिएको जनाउँदै उनीहरूले प्रतिकूल मौसमका कारण दुर्घटना भएको बताएका छन् । अमेजनस राज्यका सुरक्षा सचिव भिनिसियस अल्मेडाले अतिकम ‘भिजिबिलिटी’ मा अवतरण गर्दा दुर्घटना भएको बताएका छन् । ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रप विमानमा सुरक्षाका सबै पूर्वशर्त एवं उड्डयन नियमको पूर्णपालना गरिएको जनाइएको छ । विमान कम्पनीले एक विज्ञप्ति निकालेर यान्त्रिक खराबीका कारण दुर्घटना भएको मान्न सकिने आधार नभएको बताएको छ । धेरै राष्ट्रिय निकुञ्ज नजिक रहेको लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए । विभिन्न प्रजातिका माछाका लागि परिचित उक्त स्थानमा हरेक वर्ष यो महिना माछा मार्नेको भीड लाग्ने गर्दछ ।
काठमाडौं: चिकित्सकमाथि कुटपिटको विषयमा सातबुँदे माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भइरहेको छ । सरकारका तर्फबाट अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटासहित पाँच सदस्यीय टोली र संघका प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको संघका महासचिव डा। सञ्जीव तिवारीले जानकारी दिए । संघले मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा भएको चिकित्सकमाथिको आक्रमणविरुद्ध दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गराएको छ । यही भदौ २७ गते सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्ता समिति गठन गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न आजै निर्देशन दिएका थिए।
काठमाडौं: पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार ६ सय ७९ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरूको उद्धार गरिएको हो । ब्युरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको हो । ब्युरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ । यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा ६ सय पाँच पुरुष रहेका छन् । आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये दुई सय १४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए । यस्तै, आर्थिक वर्ष २०७९/८० मा तीन सय ३६ जनाको उद्धार गरिएको थियो । वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनको भनाइ छ ।
काठमाडौं: हेटौँडाको सञ्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । गएको २७ गते सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । सङ्घले घटनामा संलग्न दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ । सङ्घले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको जनाएको छ । दोषी सबैलाई पक्राउ नगरिएको सङ्घले आरोप लगाएको छ । दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने सङ्घका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले बताउनुभयो । देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्।
काठमाडौं: एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्काले प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ । श्रीलङ्का र भारतको सुपर फोरमा ४-४ अङ्क थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । सुपर फोरमा भारतसँग श्रीलङ्का ४१ रनले पराजित भए पनि पाकिस्तानलाई दुई विकेट र बङ्लादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले श्रीलङ्कालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बङ्लादेशसँग भने ६ रनले पराजित भएको थियो । श्रीलङ्काले २०२२ मा टी-२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए। रोहित शर्माले भारतको र श्रीलङ्काको दासुन शानकाले कप्तानी गर्नेछन् । यसअघि भारतले सात पटक र श्रीलङ्काले ६ पटक एसिया कपको उपाधि जितेका छन् ।
काठमाडौं: आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ । दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् । धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार, दरका रुपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले त्यस्ता खानेकुरा सकेसम्म नखान पोषणविद् समीक्षा कार्कीले सुझाव दिनुभएको छ । दर खाँदा आफ्नो शरीरमा चाहिने मात्र खान, दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य खान र दरसँग जाँडरक्सी नखान उहाँले आग्रह गर्नुभएको छ । तिजमा खाइने दरमा खिर, तरकारी, मिठाइलगायत सधैँ खाइने परिकारभन्दा चिल्ला, पिरा, गुलिया र मसलेदार खानेकुरा धेरै समावेश गरिएको हुनाले त्यसले अपच तथा ग्यास्ट्रिकको समस्या हुन सक्ने उहाँले बताउनुभयो । अझ मधुमेहका बिरामीले यस्ता खानेकुरा खाँदा झनै सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । पहिले मानिसहरुले धेरै परिश्रम गर्ने भएकाले चिल्लो, गुलियो धेरै खाँदा पनि त्यति स्वास्थ्य समस्या नहुने भए पनि अहिले मानिसहरुले शारीरिक परिश्रम कम गर्दा र त्यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा समस्या निम्तने गरेको उहाँको भनाइ छ । भोलिपल्ट बस्ने व्रतका लागि अघिल्लो दिन आडिलो खानेकुरा खाने निहुँमा त्यसले थप जटिलता नल्याओस् भन्नेमा सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।
चितवनः चितवनको रत्ननगरमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गोहीको आक्रमणबाट चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलका ४४ वर्षीय फगुना महतोको मृत्यु भएको हो । महतो हिजो बेलुका डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । माछा मार्न जाँदा गोहीले उनलाई आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।
पोखरा: पोखराको लामाचौरमा राष्ट्रिय भलिवल कप जारी रहेको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा शनिबार महिला तथा पुरुष तर्फको लिग चरणका ६ खेलहरु सम्पन्न भएका छन्। काठमाडौंको न्यू डाइमण्ड युथ स्पोटेर्स क्लवले शनिबार भएको महिला तर्फको दुई खेलमा जित हासिल गरेको छ । पहिलो खेलमा भने न्यू डाइमण्ड एकेडेमीले बुटवलको एभेरेष्ट भलिवल क्लब माथि लगातार तीन सेटको शानदार जित हासिल ग¥यो। डाइमण्डले एभेरेष्ट माथि २५-११, २५-१५,२५-१६ को सेटमा पराजित गरेको हो । अर्को खेलमा डाइमण्डले एपिएफ माथि उत्कृष्ट पूनरागमन जित दर्ता ग¥यो । महिला तर्फ निकै प्रतिष्प्रर्धात्मक खेलमा पहिलो लगातार दुई सेट आफ्नो पोल्टामा पारेको न्यू डाईमण्ड बिरुद्ध एपिएफले कमव्याक हुदै दोश्रो र तेश्रो सेट आफ्नो पोल्टामा पार्न सफल भए पनि पाँचौ सेटमा उत्कृष्ट पूनरागमनसहित डाइमण्डले जित दर्ता गरेको थियो । न्यू डाइमण्डले २५-२०, २५-१८ को सेटमा अग्रता लिए पनि एपिएफले तेश्रो सेटमा २५-१८ र चौथो सेटमा २५-२२ मा लगे पनि अन्ततः पाँचौ सेटमा भने न्यू डाइमण्डसंग एपिएफ १५-५ को सेटमा पराजित भएको छ । शनिबार भएको पुरुष तर्फको पहिलो खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले अर्को विभागिय टोली शसस्त्र प्रहरी बलको एपिएफलाई ३-२ को सेटमा पराजित गर्यो । पुलिसले एपिएफ माथि २३-२५, २५-२२, २५-२०, २३-२५ र १५-१३ को सेटमा जित हासिल गरेको हो । पुरुष तर्फ को अर्को खेलमा बुटवलको मणिमुकुन्द भलिबल क्लबले बागलुङ गलकोट स्पोट्र्स क्लब माथि सोझो सेटमा पराजित गरेको हो । मनिमुकुन्दले गलकोट माथि २५-२३, २९-२७ र तेश्रो सेटमा २५-२० मा पराजित गरेको हो । महिला तर्फको अर्को खेलमा नेपाल पुलिसले एभेरेष्ट माथि सोझो सेटमा पराजित गर्यो । पुलिसले एभेरेष्ट माथि २५-१८, २५-१८ र तेश्रो सेटमा २५-२० को सेटमा पराजित गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ । यसैबिच उक्त प्रतियोगिताको उद्घाटन शनिबार एक समारोहका बिच नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले गर्नू भएको हो । आइतबार महिला तथा पुरुष तर्फका ५ खेलहरु हुने भएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताउनु भयो । शुक्रबार भएको लिग चरणको खेलमा पुरुष तर्फ गण्डकी प्रदेशले एकमा जित एकमा हार व्यहोरेको छ । पुरुष तर्फका केही खेल शुक्रबार देखि सुरु भएको हो । समाजको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको अवसरमा महिला भलिवल खेल भने शनिबार देखि सुरु भएको हो । प्रतियोगितामा महिलातर्फ ४ नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता छ । त्यसै गरि पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरि पाँच टिमको सहभागिता रहेको महोत्सवका प्रचार संयोजक दीनेश भण्डारीले बताउनु भयो । राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुष तर्फ उपाधि विजेतालाई जनही १ लाख ५० हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यसै गरी दोस्रो हुने टिमलाई जनही १ लाख १ सय ११ र तेस्रो हुनेलाई जनही ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको समाजले जनाएको छ । महिलाहरुको महान पर्व हरितालीका तीजका अवसरमा असोज १ गतेसम्म महोत्सव संचालन हुने भएको छ । ।
पोखरा: गण्डकी प्रदेश उसु संघका अध्यक्ष विक्रम लामा नेपाल उसु महासंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न तेस्रो महाधिवेशनबाट उनी केन्द्रीय उपाध्यक्षमा चयन भएका हुन् । महाधिवेशनमा कास्की जिल्ला उसु संघका अध्यक्ष वीरेन्द्र गहतराज,कोषाध्यक्ष लक्ष्मण गुरुङलगायतले सहभागिता जनाएका छन् ।

