पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक नव जागृती युवा क्लब (कालो) र सराई एफसी भिड्ने भएको छ । हरितालिका तीजको अवसरमा स्थानीय क्लब नव जागृति युवा क्लबद्वारा आयोजित प्रतियोगिताको कोठीचौर खेलमैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा भगवती एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक टोलीले फाइनलमा सराई एफसीसँगको भेट पक्का गरेको हो । प्रचारप्रसार संयोजक बिरबल रानामगरका अनुसार आयोजकको जीतमा निश्चल थापामगर र निरज थापाले समान १/१ गोलको योगदान दिए भने भगवती एफसीको तर्फबाट सुरज श्रेष्ठले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए । पहिलो हाफको १३ औं मिनेटमा आयोजका कप्तान मनिक गाहामगरले फल गरेपछि रेड कार्डको शिकार बन्दै मैदानबाट बाहिरिए । उक्त अवसरमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भगवती एफसीले १ गोलको अग्रता बनाएको थियो । भगवती एफसीले आफ्नो अग्रतालाई पहिलो हाफमा जोगाएपनि दोस्रो हाफमा भने गुमाउन पुग्यो । आयोजक टोली १० खेलाडीमा सिमित रहेपनि निरज थापाले टिमको लागि पहिलो गोल गर्दै खेल बराबरीमा फर्काए । १–१ गोलको बराबरीमा रहेको अवस्थामा आयोजकले दबदबा सिर्जना गर्दै निश्चल थापामगरले निर्णायक गोल गर्दै अग्रतालाई दोब्बर बनाए । उनको त्यो गोल दोब्बर मात्रै बनेन । टोलीलाई उपाधि नजिक पुर्याउन योगदान दियो । सो खेलबाट निश्चल म्यान अफ द म्याचबाट पुरस्कृत भए । यसअघि बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सराई एफसीले जनकल्याण एफसीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । प्रचारप्रसार संयोजक बिरबल रानामगरका अनुसार अब फाइनल खेल असोज १ गते हरितालिकाको दिन कोठीचौर खेलमैदानमा हुनेछ । प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ । प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।
ढोरपाटन: दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले संरक्षण गर्न सरकारसँग माग गरेका छन् । अहिले बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा मात्रै ‘मगर खाम भाषा’ बोल्ने गरिन्छ । त्यसबाहेक अन्य क्षेत्रमा मगर भाषा बोलेको पाइँदैन । भुजीखोलामा मगर भाषा बोल्न छोडेपछि परम्परागत मौलिक संस्कृति पनि हराउने जोखिम बढेको छ । ढोरपाटन नगरपालिका–९ का ८० वर्षीय भैरम बुढामगरले आफूहरूको भाषा हराउने अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा स्थानीय र सरकारले ध्यान दिनुपर्ने बताए। बालबालिका विद्यालयमा जान थालेपछि भुजीखोला क्षेत्रमा बोलिने गर भाषा हराउँदै गएको उनको बुझाइ थियो । ‘हाम्रो पालमा स्कूल जाने, पढ्ने, लेख्ने जमाना थिएन, हामीहरू सानैदेखि गाई गोरु पाल्ने, गोठमा बस्ने र आफ्नै भाषामा बोल्ने गरियो, केही वर्षअघिसम्म गाउँमा धेरै जनाले मगर भाषा बोल्थ्यौँ, यहीँ भाषामा गीत गाउँथ्यौँ, अहिले मगर बोल्ने कोही पनि छैनन्, नयाँ पुस्ताले त झन सिक्दै सिकेनन्’, बुढामगरले भने, ‘१२/१५ वर्षअघिसम्म धैरै मानिसले मगर भाषा बोल्थे तर अहिले धेरैले बुझ्दैनन्न् । केटाकेटी विद्यालय जान थालेपछि भाषा पनि हराउँदै गयो, सरकारले भाषा संरक्षण गर्नतर्फ ध्यान दिन जरुरी छ ।’ ढोरपाटन नगरपालिका–४ देखि ९ सम्म बाक्लो मगर बस्ती छ । आधुनिक प्रविधिको विकास र अरुको देखासिकीका कारण आफ्नो मौलिक भाषा हराउँदै गएको बुढामगरको भनाइ छ । उहाँका अनुसार यस क्षेत्रमा बोलिने मगर भाषालाई स्थानीयले ‘भुजेल भाषा’ भन्ने गर्दथे । ढोरपाटन नगरपालिका–६ कि खिमकुमारी बुढामगरले भाषासँगै यहाँ मगर संस्कृति पनि हराउँदै गएकामा चिन्ता व्यक्ति गर्नुभयो । मगर जातिको भाषा र संस्कृति संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । अघिल्लो पुस्ताबाट अब नयाँ पुस्तालाई भाषा सिकाउनका लागि नगरपालिका र अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने खिमकुमारीले बताए । भाषा एउटा समुदायको पहिचान भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक पर्नेमा उनले जोड दिए। ‘पहिला सानोमा अरुले बोलेको सुनेर हामीले पनि मगर बोल्थयौँ । अहिले कहीँकतै अरुले बोलेको सुनिँदैन, हामीले बोल्ने भाषा हराउँदै गएको छ, बुढापाका बाहेक अरुले बुझ्दैनन्, केटाकेटीलाई सिकाउन पाए भाषा संरक्षण हुने थियो’, खिमकुमारीले भने, ‘भाषा सिक्नका लागि नगरपालिकाले सहयोग गर्नुपर्छ, विदेश जान भाषा सिक्न हुने आफ्नै भाषा सिक्न नहुने भन्ने हुन्छ र ?’ पश्चिम बागलुङको निसीखोला, तमानखोला र भुजीखोलामा दुई दशकअघिसम्म मगर भाषा बोलिने गरिए पनि पछिल्लो समय तमानखोला र भुजीखोलामा यो भाष लोप भइसकेको छ । यस क्षेत्रमा बोलिने भाषालाई निसेल, भुजेल र भल्कोटे भाषा भनिन्छ । निसीखोला गाउँपालिकाले भाषा संरक्षणका लागि ‘मगर खाम भाषा’को पाठ्यक्रम बनाएर पठनपाठन सुरु गरेकाले यहाँ भने लोप हुने अवस्था नआएको स्थानीयको भनाइ थियो । ढोरपाटनमा पनि विद्यालय तहदेखि नै पाठ्यक्रम बनाउनुपर्ने स्थानीयको माग छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले मगर भाषासँगै अन्य मौलिक संस्कृति पनि हराउँदै गएको भन्दै यसको संरक्षणका लागि पालिकाले योजना बनाएर अघि बढ्ने बताए। अहिले गाउँमा बुढापाकाले मौलिक भाष बोल्ने गरे पनि युवापुस्ताले नबुझ्ने उनको भनाइ थियो । भाषा जान्नेहरुबाट युवा र बालबालिकालाई सिकाउने वातावरण तयार गरिने उपप्रमुख कायतले बताए । ‘अहिलेका नयाँ पुस्ता कसैले पनि मगर भाषा बुझ्दैनन्, हामीले यो भाषाको संरक्षण गर्न जरुरी छ’, उनले भने, ‘यसको संरक्षणका लागि विभिन्न समुदायसँग छलफल गरेर नयाँपुस्तालाई पनि मगर भाषा सिकाउने गरी योजना बनाएका छौँ, भाषा संरक्षणसँगै हराउन थालेका अन्य संस्कार तथा संस्कृतिको पनि जगेर्ना गर्ने तयारीमा छौँ ।’
पोखरा: सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७९ बाट यस वर्ष फोटो पत्रकार उमेश पुन पुरस्कृत भएका छन् । आहारारा गोल्डकप आयोजक सहारा क्लबले दिँदै आएको पुरस्कार यस वर्ष फोटो पत्रकार पुनले पाएका हुन् । पुनलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य,सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लगायतले नगद २५ हजार पाँच सय ५५ रुपियाँ र सम्मानपत्रसहित पुरस्कृत गरे । पुन डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल नागरिक राष्ट्रिय दैनिक, रिपब्लिका दैनिक, गोल नेपाल डटकममा आबद्ध छन् । हाल उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका सदस्य, नेपाल फोटो पत्रकार संघ कास्कीका सचिव लगायतका संस्थामा आबद्ध छन् । कार्यक्रममा मेयर धनराज आचार्यले सहारा क्लब र यसले आयोजना गर्ने आरारारा गोल्ड कप पोखराको पहिचान बनेको उल्लेख गरे । यो पुरस्कारबाट यसअघि नारायण शाही, दीपक परियार, ईन्द्रप्रसाद पौडेल, सन्देश श्रेष्ठ, विजय नेपाल, सुरज श्रेष्ठ, एमबी आस्था, कृष्णमणि बराल, सागरराज तिमिल्सिना, एकराज गिरी, प्रदीप पौडेल, दीननाथ बराल, प्रेमनारायण न्यौपाने, राम गुरुङ, विनोद लामिछाने, धन बस्नेत, कुलचन्द्र न्यौपाने लगायतका पुरस्कृत भइसकेका छन् ।
गोरखा: गोरखा नगरपालिका–३ स्थित नारेश्वरको ओरालोमा टयाक्टर दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । गोरखा सदरमुकामबाट नारेश्वरतर्फ जाँदैगरेको ना ५ त ६०७७ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक डिएसपी रमेशकुमार श्रेष्ठका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा सप्तरी घर भएका ४१ वर्षीय रामबिलास यादव, पालुङटार नगरपालिका –९ मिरकोटका वर्ष २३ का महेश थापा, गोरखा नगरपालिका –३ नारेश्वरका ७४ वर्षीय भुवन थापा र सोही ठाउँका ५० वर्षीय भोजराज ढकाल घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । बालुवा बोकेर जाँदैगरेको ट्याक्टरको ओरालो बाटोमा दुवै टायर पङचर भएर दुर्घटना परेको श्रेष्ठले बताए । टायर पङचर भएपछि टयाक्टर अनियन्त्रित भई नाला नजिकै धारामा पल्टिएको थियो । पल्टने बित्तिकै स्थानीय नागरिकहरूले उद्धार गरी जिल्ला प्रहरी कार्यालय गोरखालाई खबर गरेका थिए । घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
कपिलवस्तु: लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञसहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपीडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता झन्डै पाँच सय रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सय जनासम्म बिरामी उपचारका लागि आउँछन् । अस्पतालमा विशेषज्ञ सेवासहित दुई दर्जनभन्दा बढी स्वास्थ्य सेवा उपलब्ध छ । अस्पतालमा स्वास्थ्य सेवाका लागि प्रायजसो मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीको सङ्ख्या अधिक रहेको छ । पछिल्लो समय मुटु, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीका लागि सहज, सुलभ र प्रभावकारी उपचारको व्यवस्था छैन । बिरामीको उपचारका लागि आवश्यक परीक्षण र उपचारको समेत सहज प्रबन्ध नहुँदा निजी तथा जिल्ला बाहिरका अस्पतालमा पुगेर महँगो सेवा लिनुपर्ने बाध्यता छ । यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने करिब १७ करोड रुपैयाँ बढीका खरिद गरिएका स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्काइएको छ । आवश्यक जनशक्ति र उपकरण सञ्चालनका लागि आवश्यक पर्ने थप उपकरणको व्यवस्था नहुँदा डेढ वर्षदेखि प्रयोगमा आउन सकेका छैनन् । पछिल्लो समय मानिसको स्वास्थ्यमा जटिल बन्दै गएको मुटुको स्वास्थ्य सेवा यस अस्पतालले शुरु गरेको छ । यो जटिल रोगका लागि अस्पतालमा विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन् तर मुटुको उपचारका लागि परीक्षण र थप उपचारका लागि महत्त्वपूर्ण मानिएको ‘क्याथल्याब’ मेसिन गएको १० महिनादेखि अस्पतालको एउटा कोठामा थन्काएर राखिएको छ । लुम्बिनी प्रदेश सरकारले गएको वर्ष झन्डै १० करोड रुपैयाँमा खरिद गरेर प्रादेशिक अस्पताललाई उपलब्ध गराएको मुटुको उपचारमा प्रयोग हुने ‘क्याथल्याब’ मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा थन्किएको हो । यससँगै प्रादेशिक अस्पतालमा ‘ग्यास्ट्रोइन्टेरोलोजिस्ट’को सेवा प्रदान गर्ने उद्देश्यले करिब डेढ वर्षअघि नै ‘ईआरसीपी’ मेसिन र ‘मोटराइज्ड स्पाइलर इन्टेरोसेपी’ मेसिन पनि खरिद गरेर राखिएको छ । यी स्वास्थ्य उपकरणमध्ये ‘ईआरसीपी’ मेसिन बिरामीको पित्त तथा कलेजो बाट निस्कने नलीको भागलाई रोग पहिचानका लागि हेर्ने दूरविनबाट हेर्ने र कुनै ठाउँमा पत्थरी रोकिएको रहेछ भने निकाल्ने तथा उपचार गर्ने प्रविधि हो । यस्तै, ‘मोटराइज्ड स्पाइलर इन्डोसकोपी’ भने बिरामीको आन्द्राको पूरै भागबाट हेरेर रोग पत्ता लगाउने हो । यी उपकरण सङ्घीय सरकारको विनियोजित बजेटबाट करिब छ करोड रुपैयाँभन्दा बढी लागतमा खरिद गरिएका हुन् । यी उपकरण सञ्चालनमा ल्याउन थप केही उपकरण आवश्यक पर्ने र ती उपकरण आएपछि जनशक्तिको व्यवस्थापन गरेर सञ्चालनमा ल्याइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुदर्शन थापाले बताउनुभयो । आधुनिक प्रकारका यी उपकरणसहितको यो सेवा सञ्चालन गर्न ‘ईआरसीपी’, ‘इन्स्टरोस्कोपी’ विषयमा तालिम लिएको डीएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट आवश्यक हुन्छ । अहिले नयाँ समिति आएर यसका सरोकारवालासँग ताकेता गरेपछि अबको केही महिनामा ‘क्याथल्याब’ सञ्चालन ल्याउने गरी तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताउनुभयो । ‘क्याथल्याब’ सञ्चालनका लागि कार्डियोलोजिस्टसहितका स्वास्थ्यकर्मीको व्यवस्थापन भएको र यद्यपि आपत्कालीन अवस्थाको सेवा यसबाट तत्काल दिन सकिने अवस्था नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थापा बताउनुहुन्छ । सामान्य प्रकारका बिरामीलाई उपचार गर्न मिल्नेगरी अबको तीन महिनासम्ममा ‘क्याथल्याब’ सञ्चालन गर्नेगरी जनशक्ति लगायतका प्रबन्ध भइरहेको मेसु थापाले बताउनुभयो । ुमुटुको उपचार गर्ने विशेषज्ञ डाक्टरले केही समयदेखि सेवा दिइरहनुभएको छ, अझै एकजना विशेषज्ञ प्रदेश सरकारबाट प्रबन्ध हुँदैछु, उहाँले भन्नुभयो, ुप्रदेश लोकसेवा उत्तीर्ण गरेर आएका स्टाफ नर्सको जनशक्तिलाई थप तालिमको व्यवस्था गरेर ‘क्याथल्याब’ छिट्टै नै सञ्चालन गर्ने तयारीमा छौँ ।ु हृदयाघात भएर सामान्य अवस्थामा फर्केका र हृदयाघातको सामान्य लक्षण देखिएका बिरामीको परीक्षण गर्नेगरी क्याथल्याब चलाउने तयारी भइरहेको मेसु थापाको भनाइ छ । ु‘क्याथल्याब’ मेसिन सञ्चालनमा ल्याउँदा तत्काल ‘एन्जिओप्लास्ट’ र ‘एन्जिओग्राफ’ को सेवा विस्तार गर्ने तयारीमा छौँु, उहाँले भन्नुभयो, ुयसबाट मुटुको ब्लक खोल्ने र पेसमेकर राख्ने सम्मको सेवा सञ्चालन हुने छ ।ु सरकारले बिरामीको उपचारका लागि ‘क्याथल्याब’ खरिद गरेर लामो समयसम्म पनि सञ्चालनमा आउन नसक्नुको मुख्य कारण आवश्यक जनशक्तिको अभाव रहेको प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका सचिव डा जनार्दन पन्थी बताउनुहुन्छ । यो सेवा सञ्चालनका लागि केही जनशक्ति व्यवस्थापन भइसकेको र अपुग थप जनशक्ति पनि प्रदेश सरकारका तर्फबाट व्यवस्थापनका लागि प्रक्रियाअघि बढिसकेकाले करिब छ महिनाभित्रमा सञ्चालन गर्नेगरि थप प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको सचिव डा पन्थीले बताउनुभयो । म सचिवको जिम्मेवारीमा आएपछि क्याथल्याब सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छुु, उहाँले भन्नुभयो, बजेट नपुग भएको भन्ने जानकारी भएपछि बजेटको प्रबन्ध गरेर पठाइ सकिएको छ, छिट्टै नै सञ्चालनमा आउन । नागरिकका लागि निःशुल्क ओपीडी सेवा, अति विपन्नलाई बेडमा समेत छुट र बीमाको समेत प्रबन्ध गरिएकाले अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा नागरिकको आकर्षण बढाएको छ । यद्यपि नसर्ने प्रकारका गम्भीर रोगको परीक्षण र उपचार दुवै प्रभावकारी हुन सकिरहेको छैन ।
काठमाडौं: काठमाडौंको तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको समिति बनाएका हुन् । समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए । गएराति तिनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले बताए । प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ । घटनाको यकिन कारण खुलेको छैन ।
सल्यान: सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–२ धामिढुङ्गास्थित शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परी ३२ वर्षीया रेवती थापा र उनका नौ महिने छोरी ऋतु थापाको मृत्यु भएको हो । शुक्रबार राति खाना खाएर सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन् । ग्यास चुलोको आगोबाट सुती रहेको बिस्तारामा आगो सल्किँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे अनुसन्धान भइरहेको बताए।
काठमाडौं: नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८३ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु एक सय ७२ र डिजेलरमट्टितेल प्रतिलिटर रु एक सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँ ५० पैसा र डिजेलरमट्टितेल प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।
काठमाडौं: काठमाडौंको तीनकुनेस्थित गैह्रिगाउँमा चार जनाको हत्या गरेको आरोपमा एक जनालाई प्रकाउ गरेको छ । दिव्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको गरेको आरोपमा काठमाडौं महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गएराति ११ः५५ दुई महिला र दुई पुरुषको हत्या भएको जानकारी पाए लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काष्ठ मिलमा सुरक्षा गार्डको रुपमा काम गर्ने ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको हत्या भएको हो। उनीहरुको टाउको र शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको मैनालीले जानकारी दिए। प्रहरीले मुचुल्का लगायतको कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागि त्रि।वि। शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। उक्त सःमिल दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरेका हुन्। प्रहरीले घटनास्थलबाट सोधपुछको लागि घटनाको सम्बन्धमा प्रहरीले तालिम प्राप्त कुकुर, अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको जनाएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता मैनालीले भने, ‘प्रारम्भिक अनुसन्धानमा परिवारकै सदस्यबाट हत्या भएको देखिएको छ। घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ। लेनदेनको घटना हालसम्म भएको पाइएको छैन। अनुसन्धान जारी छ।’

