पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:   पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय गाडी चार्जिङ स्टेशन उद्घाटन गरिएको छ ।  सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा आज (आइतबार) दुई वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको उद्घाटन गरेका हुन् ।  सार्वजनिक विद्युतीय गाडी चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएका छन् । चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताका दुई वटा फास्ट चार्जरहरू रहेका छन्, यसबाट ठूला बससहित छ वटा गाडी एकसाथ चार्ज गर्न सकिने छ । सशस्त्र प्रहरी र प्राधिकरणबीच २०७९ भदौ ९ गते चार्जिङ स्टेशन स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेशनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गरेको हो । उपकरणहरूको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्ने छ । सशस्त्र प्रहरीले पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । सशस्त्र प्रहरीले चार्जिङ स्टेशनको सञ्चालन तथा सुरक्षा गर्ने छ । चार्जिङ स्टेशन तेस्रो व्यक्तिरसंस्थालाई सञ्चालन गर्न दिन नपाउने व्यवस्था गरिएको छ । विद्युत् वितरण विनियमावलीको व्यवस्था बमोजिम विद्युत् महसुल दरको शुल्कमा हुने कुल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेशनको सञ्चालन तथा व्यवस्थापन खर्चको रूपमा सशस्त्र प्रहरीको कल्याणकारी केन्द्रले पाउने छ । प्राधिकरणले पहिलो चरणमा देशका विभिन्न ठाउँमा निर्माण गरेको ५१ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशन स्थापना गरेको छ । दोस्रो चरणमा ११ वटा चार्जिङ स्टेशन निर्माण प्रक्रिया अगाडि बढेको छ । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय गाडी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा ५१ वटा विद्युतीय गाडी छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेशन सञ्चालित छन् । झन्डै ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेशनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ठूला कारहरू चार्ज गर्न मिल्ने छन् ।

काठमाडौं:    बिपी साहित्य महोत्सव आजदेखि शुरु भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गरे।  कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उनका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ ।  बिपीको योगदानलाई युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ । महोसत्वमा विभिन्न साहित्यिक स्रष्टा, कांग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता छ । साहित्य महोत्सव तीन दिनसम्म चल्नेछ ।  तीन दिनसम्म विभिन्न सत्रमा बिपीका साहित्यिक कृति र व्यक्तित्वका बारेमा बहस तथा छलफल हुँदैछ ।

पोखरा:  नेपाल बीमा प्राधिकरणले पोखरेली पत्रकारसँग बीमासम्बन्धि अन्तरक्रिया तथा छलफल गरेको छ ।   छलफलमा अभिकर्ताहरुले बीमित (बीमा गर्ने व्यक्ति) लाई समयावधि पुगेपछि दोब्बर (डबल) उपलब्ध गराउने भन्दै प्रलोभनमा पार्न नहुने नेपाल बीमा प्राधिकरण गण्डकीका प्रमुख केशव प्रसाद दाहालले बताए ।    अभिकर्ताले बीमितलाई समय पुगेपछि दोब्बर (डबल) रकम पाउने भन्दै प्रलोभनमा पारेर आफ्नो कम्पनीमा बीमा गर्न बाध्य पार्ने अभिकर्तालाई कारवाही गर्ने बताए ।   ‘अभिकर्ताले बीमितको आम्दानीको बारेमा प्रष्ट हुनुपर्छ । समय पुगेपछि डबल पाउनुहुन्छ भन्नै पाउनुहुन्न, उनले भने, ‘त्यसो भनिएको पाइए अभिकर्तालाई कानून बमोजिम कारवाही हुन्छ ।’   उनले कुनै पनि बीमा कम्पनीले दोब्बर रकम उपलब्ध गर्न नसक्ने बताए । ‘हरेक बीमा कम्पनीको आ–आफ्नै नीति हुन्छ । त्यस अन्तरगत नै बीमितले भुक्तान पाउने हो । राज्यलाइ तिर्नुपर्ने कर र कम्पनीको पोलिसी अनुसार भुक्तान हुन्छ । त्यो सबै बीमितले बुझ्न आवश्यक  छ,’ दाहालले भने ।   उनका अनुसार नेपाल बीमा प्राधिकरणमा ३४ वटा बीमा कम्पनी आवद्ध छन् ।   प्राधिकरणले नीजि तथा सरकारी बीमा कम्पनीलाई नियमन गर्ने काम गर्दै आएको बताउदै दाहालले  चित्त नबुझेको खण्डमा बीमितले बीमा कम्पनीविरुद्ध निवेदन दिन सक्ने सुनाए ।    ‘हाम्रो काम भनेको बीमा कम्पनीहरुलाई नियमन गर्ने हो । बीमाबाट पाउनुपर्ने रकम नपाएको खण्डमा तपाइहरुले (बीमित) बीमा कम्पनीको विरुद्धमा निवेदन दिन पाउँनुहुन्छ, दाहालले भने, ‘त्यसको लागि कुनै दस्तुर लाग्दैन । मुद्धा नै लड्न परेको खण्डमा हाम्रै वकिल लड्ने व्यवस्था हुन्छ ।’   उनका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म करिब  एक दर्जन निवदेन परेका छन् । त्यसमध्ये कृषि तथा वालीसम्बन्धि निवेदन परेको छन् ।    कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले मानव जीवनमा बीमाको अपरिहार्यता रहेको बताइन् ।   ‘मानव जीवनमा बीमाको अतिआवश्यक देखिएको छ । पछिल्लो समय नागरिककमा बीमा गर्नुपर्छ भन्ने ह्वात्तै लहर बढेर आएको छ । किनभने घरकै बीमा गरेपनि, कृषि वा सवारी साधनकै गरेपनि आखिर जोडिने भनेकै मानव जीवनसँग हो त्यसैले बीमाको महत्व बढेको छ,’ उनले भनिन् ।    अध्यक्ष भण्डारीले कास्कीमा क्रियासिल पक्रकारका लागि महासंघले स्वास्थ्य बीमाको व्यवस्था गरेको बताउदै केही पक्रकारको सम्बन्धित कम्पनीकै कमजोरीका कारण छुट्न पुगेको सुनाइन् ।   उनले छुटेका पत्रकारको पनि स्वास्थ्य बीमा गर्ने तयारी रहेको बताएकी थिइन् ।  

पोखरा:    काठमाडौंबाट बागलुङका लागि छुटेको हाइसले पोखरा २५ हेमजामा पैदल यात्रीलाई ठक्कर दिँदा नौली बिकको मृत्यु भएको छ ।  पोखरा २५ हेमजा सापकोटाचोकमा बाटो काट्दै गरेकी नौली बिकलाई काठमाडौंबाट बागलुङका लागि छुटेको बा ३ ख ९७२६ नम्बरको हाइसले ठक्कर दिँदा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका ४ घर भएकी नौली छोरीको घर आउने क्रममा हाइसको ठक्करबाट हिजो (शनिबार) मृत्यु भएको बताइएकाे छ । सापकोटाचोकमा हाइसको ठम्करबाट गम्भिर घाइते भएकी नौलीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिएको छ ।   

पोखरा: पोखरा महानगरपालिका वडा नं. ७ मा रहेको क्रियाशील महिला विकास कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।   कार्यक्रममा बोल्दै पोखरा ७ का महिला वडा सदस्य बसुन्धरा लामिछानेले सहकारीलाई आयआर्जन र उत्पादनमा जोड्नु पर्ने बताउनुभयो । उहाँले सहकारीले ऋण लगाने गर्दा सचेत भएर सुजबुझ ढङ्गले गर्नु पर्ने बताउदै यसमा संचालक समिति थप संवेदनशीलहुनु पर्ने बताउनु भयो । सहकारीलाई उत्पादन सगं जोड्न वडा कार्यलय र सिङ्गो पोखरा महानगर नै लागेको बताउदै सहकारीमा आवद्घ सबै सदस्य सक्रिय हुन आग्रह गर्नुभयो ।   वडा सदस्य अर्जुन थापाले पोखरा वडा नं।७ मा भएका सहकारी संग सहकार्य गर्न सधै तयार रहेको बताउनु भयो । सहकारीलाई उत्पादन सगं जोड्ने कोसिस भइ रहेको बताउदै कतिपय नितिगत समस्याका कारण समस्या परेको बताउनुभयो । सहकारीका संस्थापक अध्यक्ष शारदा गिरीले महिला दिदी बहिनीको क्षमता विकास र आर्थिक सवलिकरणका लागि संस्था जन्मिएको बताउदै सबै शेयर सदस्यलाई सक्रिय हुन आग्रह गर्नुभयो । तिजको शुभकामना दिदै उहाँले दिदि वहिनीहरुलाई आर्य आर्जनमा जोडिन आग्रह गर्नुभयो ।   सहकारीका सल्लाहकार शशिकला बरालले महिलाहरुले आत्मानिर्भर हुदै उद्यमी बन्नुपर्ने बताउदै एकले सिकेका कुरा अरुलाई सिकाउने भावना जागृत गराउनु पर्ने विचार राख्नुभयो । महिला विकासका लागि आमा समुहका अध्यक्ष तुलसी बरालले सहकारी भनेकै सहकार्य भएकाले महिला दिदि बहिनीहरुको सहकारी उदारणीय हुनुपर्ने बताउनु भयो । उहाँले सबैलाई आफ्नो गक्ष अनुसार समाज नभड्कने किसिमले तिज मनाउन आग्रह गर्दै शुभकामना दिनुभयो । कार्यक्रममा वडा सदस्य सुनिता सुनार , महिला क्लब पोखराका अध्यक्ष मिना बराल आचार्य , रेडियो सफलताका स्टेसन प्रमुख मधु अधिकारी लगाएतले शुभकामना दिनुभयो ।   संस्थाको अर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी बराल र लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन लेखा समिति संयोजक सृजना सापकोटा बरालले प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष मनमाया पौडेल बरालको अध्यक्षतामा संम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष पिंगला भट्ट र संचालन सचिव सावित्री तिम्सिना बरालले गर्नभयो । 

पोखरा:     हरितालिका तीजको अवसरमा पोखरा लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।  नव आदर्श सामुदायिक विकास समाजले भदौ २९ देखि असोज १ गतेसम्म हरितालिका तीजको अवसरमा १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।  संस्थाको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबललाई निरन्तरता दिएपनि पुरुष भलिबलको यो दोस्रो संस्करण भएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले बताए ।  उनका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ ।  १० औं संस्करणको लामाचौर कपमा आयोजित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दुवै विधामा सहभागिता नजनाउने आयोजकले जनाएको छ । यस्तै एसियन च्याम्पिनसिपको बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय महिला तथा पुरुष खेलाडीले यस प्रतियोगितामा सहभागिता हुने छैन ।  महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफक्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता जनाउने छन् । यस्तै दोस्रो संस्करणको पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता जनाउने छन् ।  ‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् ।  यस्तै तीज गीत प्रतियोगिताको विजेताले ५० हजार १ सय ११, दोस्रो हुने समूहले ३० हजार  १ सय ११ र तेस्रो हुने समूहले २० हजार १ सय ११ र सान्त्वना हुने समूहले १० हजार १ सय ११ पुरस्कार प्राप्त गर्नेछन्, भने सहभागि समूहलाई प्रोत्साहन स्वरुप २ हजार भत्ता उपलब्ध गराउने आयोजकले जनाएको छ ।  तीज महोत्सवमा आयोजित अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको विजेताले ४० हजार १ सय ११, दोस्रो हुने समूहले २५ हजार १ सय ११, तेस्रो हुने समूहले १५ हजार १ सय ११ र सान्त्वना हुने तीन समूहले ५ हजार १ सय ११ र उत्कृष्ट भेषभुषालाई ५ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  भदौं २९ गतेदेखि असोज १ गतेसम्म सञ्चालन हुने तीज महोत्सवमा २९ गतेदेखि पुरुष भलिबल प्रतियोगिता सुरु हुने संस्थाका प्रथम उपाध्यक्ष एवम् संयोजक भण्डारीले बताए ।  ‘लामाचौर कप’ दर्शकलाई पहिलो दिन १ सय, दोस्रो र तेस्रो दिन २ सय र फाईनल खेल सञ्चालनको दिन ३ सय रुपैयाँ टिकट शुल्क कायम गरेको छ भने, ४ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट समेत निर्माण गरेको छ ।  आयोजकले भलिबल कोर्टमा खेल सञ्चालन भइरहेको समयमा रेफ्री र खेलाडीलाई बोतल प्रहार भएको घटनापछि दर्शकलाई यसपटक हेल्मेट र पानीको बोटल लैजान निषेध गरेको छ ।    भलिबल कोर्टसँगै प्याराफिटमा नै दर्शकलाई पानीको व्यवस्था गर्ने आयोजकले जनाएको छ । तीज महोत्सव एवम् लामाचौर कपमा करिव ५२ लाख ७७ हजार ५ सय रुपैयाँ आम्दानी हुने आयोजकले अनुमान गरेको छ । 

स्याङ्जा:  कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको छ ।   निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरेता पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने उहाँले बताउनुभएको हो । स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले वालिङमा आयोजना गरेको पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य विषयक अन्तक्र्रिया कार्यक्रमलाई शनिबार वालिङमा सम्बोधन गर्नुहुँदै उहाँले विकासमा राजनीति घुसाउन नहुनेमा जोड दिनुभएको हो ।   “विकासका नाममा राजनीति गर्नहुन्न भन्ने मान्यताको पक्षधर हुँ”, उहाँले भन्नुभयो, “विकासमा सबैको अपनत्व भयो भने त्यो दिगो र प्रभावकारी हुन्छ ।” कहिलेकाहीँ विकासका नाममा राजनीति गर्ने र राजनीतिकै कारण विकास ठप्प हुने गरेका उदाहरण प्रशस्तै देखिने गरेको उहाँको भनाइ थियो ।   उहाँले केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुरुप काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “तीन तहका सरकारबीच आपसी समन्वयको अभावले विकास निर्माणका कार्य हुन नसकेका कुरा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “केन्द्रको जनप्रतिनिधिको तर्फबाट म प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै अगाडि बढ्न तयार छु ।”   निर्वाचनका बेला मतदातामाझ गरेका प्रतिबद्धतालाई पाँच वर्षको अवधिसम्ममा पूरा गरेरै छाड्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।    कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले समाज रुपान्तरण गर्ने दायित्वका साथ निरन्तर लागिरहेको बताउनुभएको छ । उहाँले केन्द्र सरकार र स्थानीय सरकारसँग समन्वय गर्दै विकासका गतिविधि नागरिकले महसुस हुने गरी काम गर्ने दाबी गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थभन्दा माथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताउनुभयो ।   वालिङको विकासका लागि नगरपालिकाले मात्रै नभई यहाँका नागरिकसँग भएका अमूल्य अनुभव, सल्लाह सुझावलाई ग्रहण गरी आगामी दिनमा योजना बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । नगरको विकासमा सबैको भावनालाई समेटेर सामूहिक ढङ्गबाट छलफल गर्नका लागि अन्तक्र्रियाले महत्त्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो ।   वालिङमा जन्मेर देशका विभिन्न सङ्घसंस्था तथा कार्यालयमा लामो समय अनुभव सँगाल्नुभएका व्यक्तिहरूका बीच सामूहिक छलफल तथा अन्तक्र्रियाबाट निस्केको निचोडलाई नगरपालिकाले सम्पत्तिका रूपमा ग्रहण गरी कार्यान्वयनको चरणमा लैजाने उपप्रमुख कविता तिवारी गैरैले बताउनुभयो । विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नुभएका विषयविज्ञले दिनुभएको सुझाव र राजनीतिक नेतृत्वको प्रतिबद्धतासहित अगाडि बढ्दा वालिङमा उपलब्धिहरू देखिने उहाँले दाबी गर्नुभयो । रासस

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जना पक्राउ परेका छन्।   उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। उनीहरूबाट एउटा प्रहरीको पेस्तोल, एउटा उनीहरूले लुट्न प्रयोग गर्ने पेस्तोलसहित सुन, मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।   शुक्रबार राति सुनसरी बर्जु गाउँपालिका(१ शुक्रबारेमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरेर हतियार लुटिएको थियो। सादा पोशाकमा खटिएका प्रहरीबाट आक्रमणकारीले ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेका थिए।   सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई खटाएको थियो। उनीहरू इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका थिए। सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ लुटेरा समूहले आक्रमण गरेर हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताएका थिए।   उनका अनुसार पछाडिबाट टाउकोमा चिर्पट प्रहार भएपछि केहीबेर दुई पक्षबीच घम्साघम्सीसमेत भएको थियो। तर, आक्रमणकारीको समूह ठूलो र प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था नभएको एसपी रेग्मीले बताए।   आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ। अर्का प्रहरी पनि घाइते छन्।

काठमाडौँ:  आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गर्नुभएको छ । बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उहाँले छलफल गर्नुभएको हो ।    प्रधानमन्त्री दाहालले आज साँझ परराष्ट्र विज्ञहरूसँग छलफल गर्नुहुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।