पोखरा: पोखरामा इनोफेस्ट कार्यक्रम हुँदैछ । पोखरा सभागृह हलमा भाद्र २७ गते बुधबार बिहान ११ बजेबाट हुने कार्यक्रमलाई पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी नियोग(कोइका) र युएनडीपीले आयोजना गरेका हुन् । खासगरी पोखराको फोहोर व्यवस्थापनलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ र उद्यमशिलताको विकासमा प्रविधिको प्रयोग कसरी हुन्छ भन्ने विषयको जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युएनडीपी गण्डकी र लुम्बिनी प्रदेशका फिल्ड कार्यालयका सुदिप अर्यालले जानकारी गराए । उनका अनुसार साँझ ५ बजेसम्म हुने कार्यक्रममा २० वटा स्टल रहनेछन् । पोखराको सौन्दर्यतालाई प्रभावकारी बनाउने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको उनले बताए । ‘फोहोरलाई मोहरमा कसरी परिणत गर्ने ?, कुहिने फोहोरको कम्पोष्ट मल कसरी बनाउने ? लगायत स्थानीय उत्पादनको प्रर्वद्धन गरी पोखराको उद्यमशिलताको विकासमा टेवा पुग्ने गरी इनोफेस्ट कार्यक्रमको आयोजना गरिएको हो ।’, उनले भने । प्लास्टिकलाई प्रशोधन गरी सडक पीच कसरी गर्न सकिन्छ ? मोटर ट्वाइलेटको अवधारणा लगायतका विषयमा इनोफेस्ट कार्यक्रम मार्फत जानकारी मिल्ने उनले उल्लेख गरेका छन् । पोखराका नागरिकले नविनतालाई अंगाल्न सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । व्यवसायिक क्षेत्र,पोखरेली नागरिक,सरकारी कर्मचारी लगायत कलेजका विद्यार्थीहरुको सहभागिता रहने जानकारी गराइएको छ । कोइकाका उपाध्यक्षको समेत उपस्थिति रहनेछ । पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, कोइका र युनिडीपीसँग जोडिएका महानगरपालिकाको उपस्थितिमा उक्त कार्यक्रम हुँदैछ । इनोफेस्ट जस्ता कार्यक्रमबाट तुरुन्तै रिजल्ट नआए पनि कालान्तरमा यसले पार्ने प्रभाव सकरात्मक हुने उनले बताए ।
काठमाण्डौ: साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण आज ५९ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई गएराति छातिमा समस्या भएपछि ललितपुरको ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालमा भर्ना गरिएको थियो । सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिने जनाइएको छ । आर्थिक मामिलासम्बन्धी पत्रकारिता र सम्पादनमा दख्खल राख्ने पराजुलीका ‘जन्तरमन्तर’ ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चश्मा’, ‘अनायिका’, ‘सपनामा मार्क्स’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प’, ‘यात्रा’ लगायतका कृति प्रकाशित छन् ।
लेखनाथ उद्योग वाणिज्य संघले २७ औं वार्षिक साधारणसभाको अवसरमा पोखरा – ८ बगालेटोल निवासी भक्तराज श्रेष्ठलाई सम्मान गरेको छ । संघको साधारणसभा र चौधौ अधिवेशनको उद्घाटनसत्रमा ७८ वर्षीय श्रेष्ठलाई नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले चन्द्रलक्ष्मी जेष्ठ नागरिक सम्मान एवं पुरस्कार प्रदान गरे । नगद १ लाख १ हजार राशी रहेको पुरस्कारकाे स्थापना संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले गरेका हुन् । विशेषतः जेष्ठ नागरिकको हितमा अनवरत लागेका श्रेष्ठ हाल जेष्ठ नागरिक सरोकार समाज नेपाल, कास्कीका अध्यक्ष हुन् । त्यस्तै, धार्मिकस्थल रामघाटका प्रमुख संरक्षक र शान्तिघाटको संस्थापक अध्यक्ष रहेका छन् । साधारणसभामा सम्मानित व्यक्तित्व श्रेष्ठले उक्त पुरस्कार राशीमा आफ्नोतर्फबाट यथाशक्य थपेर सम्पूर्णं रकम जेष्ठ नागरिक समाजलाई प्रदान गर्ने जनाए ।
पाेखरा: अष्ट्रेलियाले आफुलाई ‘कालो सूचीमा राखेको’ भन्ने भ्रामक खबर फैलाएको भन्दै कास्की निवासी गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको उजुरी साइबर ब्यूरो काठमाण्डौंमा पठाइएको छ । गायिका अधिकारीले भदौ १० गते जिप्रका कास्कीमा उक्त भ्रामक खबर फैलाउने ४ फेसबुक पेजविरुद्ध भ्रामक खबर फैलाएको र आफुलाई मानसिक यातना दिएकाले कानूनी कारवाही र पेज आइडी बन्द गरिपाउँ भनि निवेदन दिएकी थिइन् । नेपाल प्रहरीले साइबर ब्यूरोसम्बन्धित उजुरी जिल्लामै दर्ता गर्न सकिने व्यवस्था गरेपछि कास्कीको माछापुच्छ्रे निवासी अधिकारीले यहाँ निवेदन दिएकी थिइन् । निवेदन प्राप्त भएपछि प्रक्रियामा लैजान र आवश्यक अनुसन्धान गर्न भोटाहिटीस्थित साइबर ब्यूरो पठाइएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले जनाएका छन् । यसबाहेक कास्कीमा साइबर ब्यूरोसम्बन्धित अन्य निवेदन नआएको प्रवक्ता विकले जनाए ।
काठमाडौं: नेकपा एमालेले पार्टी उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्दै तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको बैठकपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार देशका सबै पार्टी कार्यालयहरुमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय समेत भएको छ । केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र इलामको पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राखिने उनले जानकारी दिए । एमाले उपाध्यक्ष नेम्वाङको आज निधन भएको थियो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
पाेखरा: बैंकिङ् कसुर तथा सजाय ऐनले चेक बाउन्स (चेक अनादर) र लेनदेनको मुद्दामा प्रहरीलाई अख्तियारी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा यससम्बन्धी हेर्ने छुट्टै शाखा गठन गरिएको छ । शाखामा कार्यरत ४ जनादेखि अन्य सिनियर अधिकृतको व्यस्तता समेत चेक बाउन्सको उजुरीले ह्वात्तै बढाइदिएको छ । यसबीचमा प्रहरी र सरकारी वकिलको कार्यालय हुँदै कास्की जिल्ला अदालतमा १ सय ६७ वटा मुद्धा चेक बाउन्सको परेको छ । तर यो संख्या प्रहरीमा परेको उजुरीभन्दा धेरै कम हो । जिल्ला प्रहरीमा उजुरी लिएर भित्रनेमध्ये साठी प्रतिशतको गोजीमा बाउन्स भएको चेक र प्रमाणीकरण हुने गरेको छ । यस अनुपातमा दैनिक ६ वटा उजुरी चेक बाउन्सको हुने गरेको कास्की प्रहरीले बताएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता महेन्द्रप्रसाद अधिकारीका अनुसार ५ लाखदेखि १ करोड रुपैयाँसम्मको चेक बाउन्स मुद्दामा अदालतलाई अभियोजन पठाइएको छ । कोरोनाकाल अघि फाट्टफुट्ट यस प्रकृतिका मुद्दा आएपनि त्यसपछि भने देशैभर ह्वात्तै बढाएको अधिकारीले जनाए । चेक बाउन्सका मुद्दामा चेकमा उल्लेखित रकम भराउन अदालतले फैसला गर्ने र सोही बमोजिमको रकम चुक्ता गरे अन्य सजाय नगरिने उनले बताए । यद्यपि, अदालतसम्म मुद्दा पु¥याउन निकै लामो समय लाग्ने उनी बताउँछन् । महान्यायधिवक्ताको कार्यालयले प्रहरीमा उजुरी परेपनि दुबै पक्ष भेला भई लेनदेन सल्टाएमा उक्त मुद्दा अघि नबढ्ने उल्लेख गरेको छ भने अदालतमै मुद्दा पुगेपनि फैसलापूर्व रकम चुक्ता गरे मुद्दा निष्क्रिय हुनेछ । चेक बाउन्समा उजुरी परेपछि अभियुक्तलाई खोज्न र थप अनुसन्धान गर्न समय लाग्ने भएकाले अदालतसम्म पु¥याउन लामै प्रक्रिया लाग्ने गरेको छ । प्रहरीले उपलब्ध गराएको सूचनाअनुसार अघिल्लो आर्थिक वर्षमा चेक बाउन्सका ३ सय बढी मुद्दा दर्ता भएको छन् । जसमध्यै एउटै व्यक्तिको नाममा १ करोड ६८ लाख रुपैयाँको चेक बाउन्स भएको मुद्दा रहेको छ । त्यस्तै, हदम्यादको हकमा जाहेरी दिने अवधि कसुर भएको थाहा भएको मितिले १ वर्षभित्र र जाहेरी परेको मितिले ६ महिनाभित्र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोेकिदिएको अदालतसमक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ । प्रहरीले भने एकैपटक वा पटकपटक गरी १ पटकमा ७ दिन नबढ्ने गरी ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ । सजायको हकमा दोहोरो कानूनी व्यवस्था गरिएको छ । विनिमय अधिकारपत्र ऐन २०३४ को दफा १०७ (क)ले चेक काट्ने व्यक्तिवाट चेकमा उल्लेखित रकम र व्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिना कैद र तीन हजार रुपयाँ जरिवाना वा दुवै सजाय हुनेछ भन्ने व्यबस्था गरेको पाइन्छ । त्यस्तै, बैंकिङ्ग कसूर तथा सजायँ ऐन, २०६४ को दफा १५ (१) ले बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिवाना र ३ महिनासम्म कैद हुने भन्ने व्यबस्था गर्नुका साथै दफा १७ ले कसूर भएको कुरा थाहा पाएको मितिले १ बर्ष भित्र जाहेरी दिन सकिने व्यबस्था गरेको छ । जसकारण चेक अनादर विरुद्ध दुबै ऐन आकर्षित हुने देखिएको पाइन्छ। यस सन्दर्भमा पीडित व्यक्तिलाई उपचारको कुन बाटो उपयुक्त लाग्छ, त्यही अनुसार गर्ने गरिएको पाइएको छ । चेक अनादर भएको कुरा बैंकबाट प्रमाणित गरिनुपर्छ । यसरी कुनै पनि बैंकमा भुक्तानीका लागि कुनै व्यक्तिले दिएको चेक निश्चित कारणसहित बैंकबाट भुक्तानी हुन नसकी चेक फिर्ता हुनु चेक बाउन्स हो । चेक जारी गरेपछि खातावालले खाता बन्द गरेमा पनि चेक बाउन्स हुनसक्छ । कुनै पनि चेक काटिदिने व्यक्तिले, आफ्नो बैंक खातामा रकम छैन वा रकम भए पनि पर्याप्त रकम छैन भनी जानीजानी चेक काटिदिएमा (चेक धारक अर्थात्) चेक लिने व्यक्तिले प्राप्त गर्नुपर्ने रकम बैंकबाट प्राप्त गर्न नसकेको खण्डमा अर्थात् कुनै पनि बैंकले भुक्तानी दिनुपर्ने रकम भुक्तानी नदिएको वा चेक भुक्तानी दिन इन्कार गरेको अवस्था चेक अनादर हो ।
काठमाडौं: नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ । आइतबारदेखि केन्द्रीय कार्यालय सानेपामा भइरहेको बिपी साहित्य महोत्सव स्थगित भएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिपी साहित्य महोत्सवका आज (मङ्गलबार)का सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । संविधानसभाका तत्कालीन अध्यक्षसमेत रहनुभएको नेकपा (एमाले)का नेता, प्रतिनिधिसभा सांसद सुवास नेम्वाङको सोमबार राति निधन भएको थियो । नेम्वाङको निधनको शोकमा बिपी साहित्य महोत्सवका आजका कार्यक्रम स्थगित गरिएको हो । बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो ।
काठमाडौं: नेकपा (एमाले) को सचिवालय बैठक बसेको छ । अघिल्ला दिनहरुमा जस्तो आजको बैठकमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ छैनन् । उनको आजै निधन भएको छ । त्यसैले उनी बस्ने गरेको कुर्सीमा एमालेले फूलमाला लगाइदिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान आकस्मिक निधन भएपश्चात् सचिवालय बैठक बसेको हो। नेम्वाङको हृदयघातका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको थियो ।
काठमाडौं: संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले ८राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिरिषदको कस्मिक बैठक बसेको थियो । बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माका अनुसार शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ । अन्त्येष्टिको दिन सार्वजनिक बिदा हुनेछ ।

