काठमाडौं: नक्कली नेपाली नोटसहित काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट एक युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापा रहेकाा छन् । उनको साथबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईल बरामद गरेकाे छ । स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । सो घटनाको बारेमा उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तीजसँगै विभिन्न कार्यक्रम जात्रा सञ्चालनका लागि ५० भन्दा बढीले प्रशासनको अनुमति लिएको जनाएको छ । कास्की प्रशासनले शान्ति सुरक्षालाई मध्यनजर गर्दै भदौ ५ गते प्रशासनको अनुमति विना सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्धेश्यले मेला महोत्सव आयोजना नगर्न सूचना प्रकाशित गरेको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कास्कीमा विभिन्न कार्यक्रमका लागि ५० भन्दा बढी समूहले प्रशासनको अनुमति लिएको जानकारी दिए । ‘हामीले तीज पर्वलाई मात्र होइन, दशै तिहार लगायतका चाडपर्वमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै सूचना प्रकाशित गछौं’, ढकालले भने, ‘प्रशासनले शान्ति सुरक्षालाई कायम गर्दै सूचना प्रकाशित भएपनि सूचनामा गलत बुझाइ रहेको पाइयो ।’ उनले हरितालिका तीज मनाउने नाममा खर्चिला कार्यक्रम गर्ने र विकृति र सामाजिक अपराधलाई प्रोत्साहन गरेको देखिएकाले संस्कृतिको संरक्षणलाई जोड दिन सूचना प्रकाशित गरेको दोहोर्याए । ‘शान्ति सुरक्षा दिनुको प्रशासनको कर्तव्य हो, कुनैपनि चाडपर्व मनाउने नाममा तडक भडकसहितका खर्चिला कार्यक्रम नगरी संस्कृतिको संरक्षण होस भन्ने हो’, उनले भने, ‘खर्चिला कार्यक्रमले विकृति र सामाजिक अपराधलाई प्रोत्साहन गरेको देखिएकाले संस्कृतिको संरक्षणलाई जोड दिन प्रशासनको अनुमति लिएर कार्यक्रम गर्न सूचना प्रकाशित गरेका हौ ।’ कास्की प्रशासनले अनुमति नलिएका अन्य समूहलाई पनि जानकारी दिन र अनुमति लिन आग्रह गरेको छ ।
बागलुङ: बागलुङको तारखोला गाउँपालिकाले गाउँपालिका भित्र रहेका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा माछा मार्न रोक लगाएको छ । गाउँपालिकाले आज (शुक्रबार) एक सूचना प्रकाशित गर्दै गाउँपालिका भित्र रहेका खोला, ताल तलैया तथा जलचार क्षेत्रमा माछा मार्न रोक लगाएको जानकारी गराएको हो । ‘ताराखोलाका खोलाहरुमा पाइने माछा जिल्लाकै प्रशिद्ध हुनुका साथै चिनारी समेत हो, यसको संरक्षण र दिगो उपयोगको सुनिनिश्चिता गर्दै दिगो विकासमा जलचरको रुपान्तरण गर्नका लागि गाउँपालिकाको साँझा कर्तव्य हो’, सूचनामा भनिएको छ, ‘गाउँपालिकाको जलचर एवं जली जैविक विविधता संरक्षण कार्यविधि,२०८० र गाउँपालिकाको निर्णय अनुसार भदौ २२ देखि कात्तिक १५ गतेसम्म ताराखोलामा माछा मार्न रोक लगाएको छ ।’ सूचनामा भनिएको छ, विशेष गरी वर्षाऋतुमा माछाले फुल पार्ने तथा भुराको वृद्धि विकासको अवधि भएकाले समेत माछा मार्न रोक लगाएको उल्लेख गरिएको छ । गाउँपालिकाले सूचनाको अटेर गरेर सूचना अविधि भर माछा मारेको पाएमा गाउँपालिकाको जलचर एवं जलीय विविधता संरक्षण कार्यविधि, २०८० को दफा १४ बमोजिम दशहजार देखि १ लाखसम्म जरिवाना गर्ने जनाएको छ । ताराखोला गाउँपालिकाभित्रबाट बग्ने विभिन्न खोलाहरु दरमखोलामा गएर मिसिन्छ, यस अगाडि तारखोला गाउँपालिकाको छिमेकी नगर गलकोट नगरपालिकाले समेत दरमखोलामा माछा मार्न रोक लगाएको छ ।
गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी, छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ। गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए। जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो, घण्टी र घलामबाट आवाज चर्किँदै थिए। मन्द आवाजमा केही फलाकेजस्तो त कोही गुनगुनाएजस्तो आवाज वरपर पनि गुन्जायमान थिए। नेपालका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ। चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ उनीहरूको मुख्य पर्व पनि हो। चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो। पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वका रूपमा परिचित यो पर्वमा आफ्ना कूलभरिमा मानिस मूल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन् । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन रहिआएको छ। ‘नयाँ बाली पाकेपछि पितृलाई नबुझाई खाँदा पितृ रिसाउने, अनिष्ट हुने भन्ने जनविश्वास रहेकाले झाँक्रीहरूले रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गरिन्छ,’ झाँक्री राजकुमार चेपाङले भन्नुभयो, ‘नयाँ बाली पितृलाई नबुझाई र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कूल रिसाउँछ, मानिस बिरामी पर्छ, अनिष्ट भएरै छोड्छ।’ चेपाङ समुदायले आफ्नो प्रमुख चाडका रूपमा हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँछन्। भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा रहेको छ, यसका लागि चेपाङ झाँक्री ९पान्दे०हरूले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउने प्रचलन पनि रहिआएको छ। छरछिमेकी, नाताकुटुम्व आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख–दुःख साट्ने गर्छन्। ठाउँ र कूलअनुसार पनि न्वागी मनाउने चलन फरक–फरक छ। चेपाङले न्वागी पर्वलाई ‘पान्देइ घ्यासा’ चाड पनि भन्छन्। भेला भएर ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ। न्वागीको दिनलाई चेपाङहरूले वारनाको रूपमा मनाउने नेपाल चेपाङ सङ्घका केन्द्रीय सचिव एवं धादिङको गजुरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सुरेन्द्र चेपाङले बताए। वारनामा कोही चेपाङ काममा निस्कँदैनन्। यो वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा गए राति ९बिहीबार० रातभर ढ्याङ्ग्रोमा फलाकेर आज ९शुक्रबार० बिहान न्वागी पूजा गर्ने चलन छ। चेपाङ समुदायले पर्वका रूपमा हरेक वर्ष भदौ २२ गतेलाई मनाउने भए पनि आ–आफ्नो कूलभित्र भने भदौ महिना लागेदेखि फलाक्न सुरू गर्छन्। कूल र भूगोलअनुसार साना–साना समूहमा पनि झाँक्री फलाक्ने र न्वागी मनाउने चलन छ । प्रकृति पूजकका रूपमा पनि चेपाङ जातिलाई चिनिन्छन्। सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नबाली खाने गर्छन्। जल, जङ्गल र जमिन चेपाङ जातिको जीविकोपार्जनको मुख्य स्रोत हो। जमिनमा खोरिया खन्ने, जङ्गलमा सिकार गर्ने र जलमा बल्छी र जाल हानेर माछा मारी जीविका धान्ने चेपाङको परम्परागत विशेषता हो । सार्वजनिक बिदा चेपाङ सङ्घले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल्य क्षेत्रमा न्वागी मनाउँदै आएका छन्। अघिल्लो वर्ष चितवनमा सामूहिकरूपमा मनाएकामा यो वर्ष धादिङमा मनाइरहेका छन्। चितवन र मकवानपुर, गोरखालगायत जिल्लाका चेपाङ बिहीबारदेखि नै धादिङको गजुरी–५ च्याङ्लीमा जम्मा भएका छन्। न्वागी मनाउन सरकारले सार्वजनिक बिदा दिएको यो दोसो वर्ष हो। सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो। महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन्। मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको घना बसोबास छ। चेपाङ समुदायको जनसङ्ख्या सबैभन्दा धेरै चितवन, मकवानपुर र धादिङमा बाहुल्यता छ। गोरखा, तनहुँ र लम्जुङमा पनि चेपाङ समुदायको बाक्लो बसोबास छ। इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए। चेपाङ भाषाबाटै ‘धादिङ’ को नाम धादिङ जिल्लाको नाम पनि चेपाङ भाषाबाटै राखिएको भन्ने कथन छ। ‘चेपाङले ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी–देउता चथौत माटो’ हो, यसैलाई मिलाएर धादिङ नाम बसेको हो,’ चेपाङ सङ्घ धादिङका अध्यक्ष भीमबहादुर चेपाङले भने। न्वागीलाई माटो पूजाका रूपमा पनि लिएका छन्। चेपाङ समुदायको थातथलो नै महाभारत क्षेत्र हो। चेपाङहरू पहिलादेखि नै धादिङ, चितवन र मकवानपुरको सिमाना महाभारत शृङ्खलामा बसोबास गरेको र उनीहरुले पूजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि धादिङ जिल्लामा रहेकाले चेपाङ भाषाबाट नै जिल्लाको नाम ‘धादिङ’ रहन गएको हो भन्ने जनश्रुतिले यहाँ जनसमर्थन पाएको छ। चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ। जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ।
काठमाडौ: नेकपा ९एकीकृत समाजवादी०ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो अभियान असोज १४ मेचीबाट सुरु भएर असोज २९ गते महाकालीमा पुगेर सम्पन्न हुनेछ । अभियानका क्रममा समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिनेछ । पार्टी महासचिव घनश्याम भुसालका अनुसार अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति,सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना निर्माण गरिनेछ । उहाँले अभियानमा राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा (एमाले) सँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय, जनजीविका, सामाजिक रुपान्तरणका लागि पार्टीले गरेका गतिविधि अभियानका क्रममा जनतालाई बुझाइने जानकारी दिनुभयो । जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेकाले सो विचार छाड्न नहुने र समाजवादी व्यवस्था कार्यान्वयनका लागि सो जबज विचार छाड्नुपर्ने बहस पार्टीभित्र चलेको छ । रासस
काठमाडौं: आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ । सन् २०२४ मा हुने ग्लोबल टी–२० छनोट हुँदै विश्व कप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन । जितसँगै थाइल्यान्ड फाइनलमा पुगेको छ भने उसले ग्लोबल छनोटमा स्थान बनाएको छ । मलेसियाको बाङ्गीमा थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रनमा अलआउट भयो । नेपालका कविता कुँवरले अविजित १७ रन बनाइन् । कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन जोडे । अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । थाइल्यान्डका नानपाट खोन्चारोएनकाईले ६३ बलमा अविजित ५९ रनको अर्धशतकीय पारी खेलिन् । नट्थाकन चान्थम्ले ४५ बलमा ३१ रन बनाइन् । नेपालका कविता कुँवर र पूजा महतोले समान एक/एक विकेट लिए । आज भएको अर्को खेलमा यूएईले हङकङलाई ५७ रनले हराएर फाइनलमा पुगेको छ । प्रतियोगिताको उपाधिका लागि भोलि यूएई र थाइल्यान्डबीच खेल हुनेछ । यी दुवै टोली ग्लोबल टी–२० छनोटमा पुगेका छन् । सन् २०१३ देखि शुरु भएको ग्लोबल छनोटमा एसिया क्षेत्रबाट थाइल्यान्ड र यूएईले खेल्दै आएका छन् ।
काठमाण्डौ: बाग्मती प्रदेश सरकारले आज तीन वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ । चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी ९छोनाम० को अवसरमा बाग्मती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले आज बाग्मतीको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रवक्ता गंगानारायण श्रेष्ठले बताउनुभयो । बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समुदायको बाहुल्यता रहेको छ । न्वागी पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले भने हिजो र आज दुई दिन सार्वजनिक बिदा दिएको छ
स्याङ्जा: स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडा नं. ६ रसखोलामा माछा मार्ने क्रममा स्थानीय ३६ वर्षका यम बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए । पाँच जना साथीहरू मिलेर माछा मार्न गएका थापाको आज बिहान २ बजे तिर मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीले माछा मार्न गएका अन्य व्यक्तिहरू वालिङ ६ थापा डाँडाका ३६ वर्षीय तिल बहादुर थापा क्षेत्री, पाल्पाको रामपुर नगरपालिका १० का ३७ वर्षीय दीपेन्द्र अधिकारी, पर्वतको पैयुँ गाउँपालिका घर भई हाल वालिङ ६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षीय अनिल चौधरी र कञ्चनपुर बेलौरी नगरपालिका ६ घर भई तारादेवी ब्लक उद्योगमा नै काम गर्ने वर्ष ६० को बलदेव रानालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट माछा मार्न प्रयोग हुने तार, रड र बाँसको भाटा सहित नियन्त्रणमा बरामद गरिएको सूचना अधिकारी लामाले जानकारी दिए। शवलाई पोस्टमार्टमको लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा राखिएको र थप अनुसन्धान कार्य जारी प्रहरीको भनाई छ ।
पोखरा: पोखरा महानगरपालिका ५ प्रस्याङमा धरान घर बताउने एक पुरुषको शव फेला परेको छ । पोखरामा विगत केही वर्ष यता बेवारिसे अवस्थामा बस्दै आएका धरान घर बताउने कुमार राई नाम गरेको एक पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए । ‘पोखरा ५ प्रस्याङ सडक किनारामा एक पुरुषमा शव फेला परेको सूचना पछि आवश्यक अनुसन्धान गर्दै जाँदा सडकमा बेवारिसे अवस्थामा हिड्ने व्यक्तिको भएको जानकारी पायौं’, डीएसपी जोशीले भने, ‘सडकमा सँगै खाने, बस्ने हिडडुल गर्ने उसको साथीसँग बुझ्दा नाम कुमार राई र घर धरान बताउने गरेको अनुसन्धानमा खुल्न आएको छ ।’ उनले शवको प्रारम्भिक अनुसन्धानपछि पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको बताए । वडा प्रहरी कार्यालय बैदामले प्रारम्भिक अनुसन्धानमा शव फेला परेको पुरुषको नाम कमार राई र घर धरान बताएपनि शवको पहिचान हुन नसकेको जनाएको छ ।

