प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ। गोरखा नगरपालिका- १० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दैगरेका अवस्थमा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवैजनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताए। जिल्लाभित्र नदी र खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले उक्त अवैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो।
गण्डकी: भदौ शुक्ल (उजेली) पक्ष पारेर बागलुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए। चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मङ्गलवार बिदाइ गरे। झन्डै चार सय वर्ष पुरानो यो पर्वबारे मगर समाज, तारागाउँका सचिव कपबहादुर घर्तीले भने, ‘पितृ उद्धारका लागि गरिने हाम्रो कूलपूजा हो, यसमा देवीदेउता र प्रकृतिलाई पनि पूजिन्छ, भदौबाहेक अरु महिनामा मनाउन नमिल्ने भएकाले यसलाई भदौरे पर्व भनिएको हो।’ प्रकृति पूजक मगरहरूले यो पर्वलाई धुमधामसँग मनाउने गरेको उनले सुनाए। अरु जातजातिमाभन्दा अनौठो गरी कूल पुज्ने परम्परा रहेकाले पनि भदौरे सिस्नो खोस्ने पर्वले धरैको ध्यान खिच्ने गरेको तारागाउँका अगुवा घर्तीको अनुभव छ। भदौ त्यसमाथि बार पनि एउटै पारेर भदौरे पर्व मनाउने गरिन्छ। सचिव घर्तीका अनुसार शनिबारदेखि सुरु हुने पर्वलाई मङ्गलबार अन्त्य गर्ने चलन छ। सधैँझैँ यसपालि पनि पर्वको पहिलो दिन गाउँका बूढापाकाले घर र बाटोघाटो सफाइ गरे। दोस्रो दिनको सरसफाइमा पाका पुरानासँग अविवाहित युवायुवतीसमेत मिसिए। तेस्रो दिन भिस्टल्ला भन्ने ठाउँमा मही चढाए र बाँडेर खाए। सोही ठाउँमा उहिले–उहिले लेकका गोठालाले ठेकीमा नौनी घिउ र मही लिएर आउने गरेको बताइन्छ। ‘सोमवार साँझदेखि विधिवतरूपमा पूजा सुरु हुन्छ, राति राँगा र भोलिपल्ट सुँगुरको बलि दिइन्छ’, सचिव घर्तीले भने, सुँगुरको साँप्रोलाई हरियो सिस्नाको मुठ्ठाभित्र बाँधेर अविवाहित युवायुवतीले खोसाखोस गर्ने अनौठो चलन यस पर्वसँग गाँसिएको छ।’ सोमवार राति ‘सितम सेउला’ र ‘बजा सल्ला’ राख्ने, वन गन्ने (गीत गाउने) काम मगर जातिको हेम्थो ९कूल० घरमा हुन्छ। राँगाको बलि पनि कूलघरकै आँगनमा दिने गरिन्छ। स्थानीय रिमबहादुर घर्तीको घरलाई गाउँलेले कूलघर मान्दै आएका छन्। घर्तीका बुवा मुखिया भएकाले सोही घरलाई पछि कूलघरका रूपमा लिइएको हो। पूजापाठ, बलि र सिस्नो खोस्ने काम कूलघरकै पछाडिको बारीमा हुन्छ। बारीमा देउता पुज्दा रनवन पुर्कादै ढ्याङ्ग्राको तालमा गीत गाउने चलन छ। उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ। पूजा र बलि दिने ढुङ्गालाई गाउँलेले डम्मरु ९उखुरधुम० पूजास्थलमा कुटस र अम्रिसोको लिङ्गो गाडिएको हुन्छ। लिङ्गोलाई गाउँलेले ‘सितम सेउला’ र ‘बजा सल्ला’ भनेर चिन्छन्। लिङ्गोमुनि पूजा, धुपबत्तीसहित गुरुबा र पुजारीले पूजापाठ चलाउँछन्। गीतमा वन गन्दै जाँदा तोकिएको ठाउँमा रोकिएर सगुन लिने (फलाम खाने) चलन छ। गाउँका साँध–सीमामा रहेका वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झिइन्छ। गीतलाई बूढापाकाले बाचा बाँधेको रूपमा पनि लिन्छन्। खाम भाषामा गाइने भएकाले जो–कोहीलाई गीत बुझ्न कठिन पर्छ। पुर्खा, कूलपितृ र देवी–देउतालाई गीतबाटै घुमाएर कूल (हेम्थो) घरमा ल्याएर राखिन्छ। वन गन्दै जाँदा बीचतिर पुगेपछि राँगाको बलि दिने बेला हुन्छ। बलि दिँदा ढ्याङ्ग्रोको ताल पनि फर्कन्छ। जिउँदो राँगाको सात करङ भाँचेपछि मुटु निकालेर कूलघरको सिरानमा चढाउने परम्परा रहेको स्थानीय झकबहादुर घर्तीले बताए। बिहानै राँगाको बलि दिएपछि पुनः ढ्याङ्ग्रोको तालमा गीत (वन गन्ने) सुरु हुन्छ। गीतबाट घुमाइफिराइ पितृलाई कूलघरमा ल्याएपछि दिउँसोपख सुँगुरको बलि दिने बेला हुन्छ। कूलघरको पछाडि बारीमा रहेको डम्मरु (उखुरधुम) ढुङ्गामा सुँगुरको बलि दिइन्छ। उल्टो पारेर लिङ्गोमा झुन्ड्याइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ। पूजापाठपछि सुँगुरको मुटु पनि झिकेर लिङ्गोमाथि चढाइन्छ। गीतबाट वन गन्ने, पूजापाठ र बलि दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी सुरु हुन्छ। बलि दिइएको सुँगुरको साँप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ। एकाथरि ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन्। पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवाहरू हुन्छन्। समूहमा ‘आयो, आयो..’ भन्दै गीत गाउने गरिन्छ। बारीको पल्लो छेउ मौलिक वेषभूषामा सजिएर सिस्नो खोस्न य्वती तम्तयार हुन्छन्। हातमा सिस्नो समातेका युवक युवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन्। युवतीहरू पनि के कम, केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन्, अनि सुरु हुन्छ तानातान र खोसाखोस। यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ। कोही घोडा र सिकारीको भेषमा नाचिरहेका हुन्छन्, कोही सारङ्गी बजाउँदै हिँड्छन्। ढ्याङ्ग्राको ताल झन्झन् जोडले बज्न थाल्छ। युवायुवतीबीच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ। अन्तिममा एक पक्षले जित्छ। जसले जिते पनि सँुगुरको साँप्रोको मासु प्रसादका रूपमा सबै मिलेर ग्रहण गर्छन्। युवतीले जिते युवकहरूले दण्ड तिर्नुपर्ने चलन छ। अन्तिममा फेरि कूलघरको आँगनमा आएर सिस्नो खोसाखोस गरेपछि भदौरे पर्व सकिन्छ। यसरी नै सदियौँदेखि तारागाउँका मगर समुदायले भदोरै सिस्नो पर्व मनाउँदै आएका छन्। पर्वको आयोजना र व्यवस्थापन मगर समाजले गर्दै आएको छ। समाजले पर्वको खर्च जोहोका लागि छुट्टै कोषसमेत बनाएको छ। गाउँलेको भलो, सुख, ऐश्वर्यसहित पशुचौपायामा रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै भदोरै पर्व मनाइन्छ। छिमेकी गाउँबाट समेत पर्व अवलोकनका लागि आउने गरेको ताराखोला–४ का वडाध्यक्ष जीतबहादुर खत्रीले बताए। ‘भदौरे मगर समुदायको सांस्कृतिक पर्व हो, पछिल्लो समय यो मेलाकै रूपमा आयोजना हुन थालेको छ, पर्व हेर्न मानिसको घुइँचो लाग्छ’, उनले भने, ‘परम्परागत संस्कृतिको जगेर्नाका लागि वडा र गाउँपालिकाले पनि सक्दो सहयोग गर्दै आएको छ।’ पहिले ताराखोला–४ र ५ को साझा पर्वका रूपमा भदोरैलाई लिने गरिए पनि अहिले सिङ्गै गाउँपालिका र जिल्लाकै पहिचानसँग यो पर्व जोडिएको छ। परम्परा धान्न बूढापाकादेखि युवापुस्ताको सक्रियता र सहभागिता रहँदै आएको वडाध्यक्ष खत्रीले बताए। विवाहितले सिस्नो खोस्न नमिल्ने भएकाले पनि युवापुस्ताको सहभागिता यो पर्वमा अनिवार्यजस्तै छ। सिस्नो खोस्ने पर्वलाई अविवाहित युवायुवतीबीच भेटघाट हुने, आत्मीयता बढाउने अवसरका रूपमा पनि लिइन्छ। सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ। घरदेखि टाढा रहेका पनि भदौरे मान्न गाउँ फर्किने गर्छन्। आफन्त भेटघाट हुने, सुखदुःख साट्ने मेसो पनि यो पर्वले जुटाउँछ। सदियौँअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पूर्वजले यो पर्वको प्रचलन बसालेको संस्कृतिकर्मी बिर्बलाल घर्तीले बताए। ‘भदौरे पर्व किन र कहिलेदेखि मनाउन सुरु गरियो भन्ने यकिन तथ्य त कसैसँग छैन’, उनले भने, “कृषियुग सुरु भएपछि यस्ता पर्व, परम्परा सुरु भएको मानिन्छ।’ भदौरे पर्वको कथामा पनि वनपाखा, पशुचौपाया र गोठालाको प्रसङ्ग रहेको संस्कृतिकर्मी घर्तीले बताए। उनका अनुसार ताराखोला–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कूलपूजाका अवसरमा सिस्नो खोस्ने पर्व मनाइन्छ। हिलमा गत साता सो पर्व मनाइएको थियो। अर्गलमा भने मङ्सिरमा सिस्नो खोस्ने पर्व मनाउने चलन छ। ‘भदौरैजस्ता ऐतिहासिक र सांस्कृतिक पर्व, परम्पराको जगेर्ना हुनुपर्छ’, संस्कृतिकर्मी घर्तीले भने, ‘यी कुनै जातजातिको मात्र नभएर समाज र राष्ट्रका धरोहर हुन्, चिनारी हुन्।’
काठमाडौं: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
सप्तरी: सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जनाविरुद्व पाँच लाख रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार निज यादवको मिलेमतोमा सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । लेखापाल टेक नारायण यादव र एम.आई.एस अपरेटर विरेन्द्रकुमार यादवलाई दुई लाख रकम र तीन लाख रुपियाँ चेकसहित नियन्त्रणमा लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना सजायको मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।
नवलपुर: लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’ बाट नवलपुरमा एक जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका–१७ निवासी ६६ वर्षीया महिलाको ‘जापानिज इन्सेफ्लाइटिस’ बाट मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिनुभयो । ‘जिल्लामा चालु आर्थिक वर्षमा दुई जना महिलामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमध्ये एक जनाको मृत्यु भएको छ’, उहाँले भन्नुभयो, ‘एक जनाको भरतपुरमा उपचार भइरहेको छ ।’ गएको आव २०७९ ८० मा जिल्लामा पाँच जनाको ‘जापानिज इन्सेफ्लाइटिस’ बाट ज्यान गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ । गएको आवमा सात जनामा सङ्क्रमण पुष्टि भएको मध्ये पाँच जनाको मृत्यु भएको थियो । जिल्लामा गएको आवदेखि ‘जापानिज इन्सेफ्लाइटिस फेला परेको प्रमुख चापागाईंले बताउनुभयो । जिल्लामा रोग देखिएपछि पालिकामार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो । ‘जापानिज इन्सेफ्लाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो, यी लामखुट्टेहरू मध्यम आकारका, खैरो रङ्गको र पेटतिर भने सेतो चिह्नहरू भएका हुन्छन्, तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन्’, उहाँले भन्नुभयो, ‘विशेषगरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान हो । साउन, भदौ र असोजमा जापानिज इन्सेफलाइटिस बढी देखिने गर्दछ ।’ यस रोगबाट धेरै व्यक्तिहरू गम्भीर बिरामी नहुने गरे पनि केहीको गम्भीर अवस्था सृजना भई दिमागलाई नै असर गरी ज्यान जाने गरेको चापागाईंले बताउनुभयो । ‘यस रोग लाग्दा धेरैजसोलाई ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाइ वा कमजोरी देखिन्छन्’, उहाँले भन्नुभयो, ‘यस रोगका खतराका लक्षणहरू छारेरोग, प्यारालाइसिस र अचेत हुनु पनि रहेको छ ।’
पोखरा: पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित बसपार्क भित्र रहेका एक दर्जन बढी मोटर पार्टस् र ग्यारेजहरू बन्द गरेको छ । उनीहरू यसअघि नै स्थानान्तरणका लागि समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्र गतिमा भइरहेकाले बसपार्क कै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेजहरू बन्द गरिएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक एवं वडा नं.१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले बताउनुभयो । “महानगरपालिका पोखरा बसर्पाकको व्यवस्थित सञ्चालनका लागि प्रतिबद्ध छ, अहिले सडकबाट छुट्ने सबै गाडीहरूलाई बसपार्क भित्रबाटै छुट्ने.छुटाउने अनिवार्य व्यवस्था लागु गरिएको छ, संयोजक शर्माले भन्नुभयो, अहिले बसपार्कको आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौँ, सोही अनुरूप बसपार्क कै जग्गा रहेका मोटर पार्टस् र ग्यारेजहरू बन्द गरेका हौँ ।” बसपार्क व्यवस्थापनको कार्यमा स्थानीय व्यवसायीहरूले सकारात्मक सहयोग गरिरहेको संयोजक शर्माले बताउनुभयो । उहाँका अनुसार बसपार्क भित्र रहेका कवाडी सङ्कलन केन्द्रहरूलाई भने २२ गते भित्र स्थानान्तरण गर्न निर्देशन दिइएको छ । पृथ्वीचोक बसपार्कलाई थप व्यवस्थित बनाउनका लागि रेलिङहरू निर्माण गरिएका छन् भने नाला निर्माण सम्पन्न गरी ढलान गर्ने तयारी गरिएको समितिका सदस्य एवं वडा नं।९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो । उहाँका अनुसार बसपार्कको बिच भागमा रहेको टिकट काउन्टरहरू हटाइएको छ भने, केही टहराहरू समेत स्थानान्तरण गरिएका छन् । यस कार्यमा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्थापन समिति, यातायात व्यवसायीहरू, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधिहरू निरन्तर लागिरहेका छन् । बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमणलाई हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभएको छ । उहाँका अनुसार त्यस क्षेत्रमा रहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको पहिलो चरणको कार्य सम्पन्न भैसकेको भने, अव दोस्रो चरणमा तिनीहरूको व्यवस्थापनको काम सुरु हुनेछ । त्यसपश्चात् बसपार्कमा थप पूर्वाधार निर्माणका कामहरू गरिनेछन् ।
पोखरा: नेकपा एमालेका सचिव गोकर्ण विष्टले सहकारीको ऋण नतिर्ने एमालेका नेता कार्यकर्ता सवैलाई पार्टीबाट कारवाही गर्न निर्देशन दिएका छन् । एमाले गण्डकीले सोमवार पोखरामा आयोजना गरेको अगुवा सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै सहकारी डुवाउने, खराब कर्जाका भागिदार र गल्ती गर्नेहरु एमालेका नेता कार्यकर्ता हुन नसक्ने वताउदै त्यस्ता ब्यक्तिलाई कारवाही गर्ने स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएका हुन् । केही केही सहकारी र त्यसका सञ्चालकहरु नै सुदखोर जस्ता भएको वताउदै एमाले सचिव विष्टले त्यस्ता ब्यक्ति र संस्थाले सहकारी आन्दोलनलाई कमजोर बनाएको उल्लेख गरे । ‘कमजोरी जहाँ छ, समस्या जहाँ छ, त्यहाँ समाधान पनि छ । हरेक ठाउँमा देखिएका समस्या समाधानको पहलकद्मी एमालेका नेता कार्यकर्ताले लिनुपर्दछ । गल्ती गर्नेलाई कारवाही गर्नै पर्दछ’ विष्टले भने । ‘मिश्रित अर्थव्यवस्था र तीन खम्बे अर्थनीति एमालेको कार्यक्रम हो तर यसको सही प्रयोग र प्रचार गर्न सकिएन ।’ नेता विष्टले भने, ‘समाजवादमा पुग्न श्रम सहकारी बनाएर त्यसमा आवद्ध श्रमिक सदस्यहरुलाई उत्पादनमा जोड्नै पर्दछ । उर्जा र हाईड्रोमा लगानी गर्न लगाएर इक्युटी मार्फत श्रमिकलाई मालिक बनाउन सकिन्छ ।’ कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सहकारी विभाग प्रमुख खगराज अधिकारीले सहकारीलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा विकास गर्न सवै परिवारलाई सहकारी संस्थामा आवद्ध गर्नुपर्नेमा जोड दिए । सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्धि एमालेको विकास समबन्धी नीतिको सार रहेको उल्लेख गर्दै नेता अधिकारीले काँग्रेस र माओवादी सहकारी विरोधी भएको आरोप लगाए । पार्टीका प्रदेश उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य मन कुमारी जिसी, सहकारी अभियान्ता मिनराज कँडेल, ओमदेवी मल्ल ठकुरी, परीतोस पौडेल,भेषराज बराल लगायतले सहकारी आन्दोलन, अहिले देखिएका समस्या र समाधानका उपाय, नेपालको अर्थतन्त्रमा सहकारीको योगदान लगायतका विषयमा वोलेका थिए । कार्यक्रमको सञ्चालन एमाले प्रदेश सचिव धनन्जय दवाडीले गरेका थिए । भेलाको उदेश्य बारे एमाले गण्डकी प्रदेश सहकारी विभाग प्रमुख महेन्द्र लाल श्रेष्ठले प्रकाश पारेको एमाले गण्डकी प्रदेश प्रचार बिभाग उप प्रमुख पुण्य पौडेलले जानकारी दिए।
काठमाडौं: उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा बाढीले पुर्याएको क्षति अवलोकन गरेका छन् । अवलोकनपछि उनले तत्कालको राहत बढाउने र रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने बताए । गत साउन २८ गते काग खोलामा आएको बाढीले कागबेनीका घर, पुल, सडक, व्यापारीक संरचना, होटल, विद्यालय, प्रहरी चौकी, बैंक, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्धस्थल, खानेपानीका पाइप लगायतमा क्षति पुर्याएको थियो । बाढीको पूर्वसूचना पाएकाले मानवीय क्षति भने भएको थिएन । क्षतिको अवलोकनपछि मन्त्री श्रेष्ठले बाढी पीडित, स्थानीय जनप्रतिनिधि र राहत, उद्धार तथा पुनर्निर्माणमा सक्रिय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै क्षतिग्रस्त संरचनाको दीर्घकालीन रुपमा पुनर्निर्माण गरिने बताए । तत्कालीन प्राथमिक आवश्यकलाई पूरा गर्दै प्राविधिक र योजनाविदको सुझाव अनुसार कागबेनीको पुनर्निर्माण गरिने उनको भनाइ थियो । संघ, प्रदेश र स्थानीय सरकारको उचित समन्वयमा आधारभूत सेवा, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाइने गृहमन्त्री श्रेष्ठले बताए । त्यसक्रममा उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिन समेत स्थानीय प्रशासनलाई निर्देशन समेत दिए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले आजै पार्टीका स्थानीय नेता–कार्यकर्ताहरुसँग समेत मुस्ताङमा संक्षिप्त भेटघाट गरेका थिए । भ्रष्टाचार र अपराधका शृखंला नियन्त्रण गर्दै सामाजिक न्यायमा आधारित गुणात्मक आर्थिक विकासको ध्येय पूरा गर्न माओवादी केन्द्र नै बलियो हुनुको विकल्प नभएको भन्दै उनले जनतासँगको सम्बन्ध बलियो हुनसक्दा मात्रै पार्टी बलियो हुने कुरालाई आत्मसात गर्न आह्वान गरे । पार्टीको तीन महिने ‘जनतासँग माओवादी’ अभियानले पार्टीमा उत्साह पैदा गरेको र सरकारले सुशासनका पक्षमा थालेका कामले जनतामा समेत उत्साह पैदा गरेको उनले बताए ।
सरकारले सरोकारवाला पक्षहरूसँग छलफल नै नगरी निजामती सेवा ऐनको मस्यौदा मन्त्रिपरिषदबाट पारित गरेर संसदमा पेश गर्न लागेपछि राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले विरोध गरेको छ। सरोकारवालाहरूसँग प्रभावकारी छलफल नगरी सरकारले ऐनको मस्यौदा संसदमा पेश गर्न लागेको भन्दै अभियानले विरोध गरेको हो। सरकारले संघीय निजामती सेवा ऐनमा समावेश गर्न लागेका केही प्रावधानमा कर्मचारीहरूले फरक मत राख्दै आएका छन्। कर्मचारीका वृत्ति विकासका लागि बाधा पुग्ने प्रावधान मस्यौदामा राखिएको भन्दै विरोध भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको ऐनको मस्यौदामा समायोजन पुनारावलोकनको कुनै व्यवस्था नगरिएको उनीहरूको भनाइ छ। साथै खरिदार र शाखा अधिकृत तहको पदपूर्तिमा बढुवाको प्रतिशत घटाइएको, चौथो तहबाट पाँचौं तहमा तहवृद्धिको व्यवस्था नराखिएकोमा उनीहरूले विरोध गरेका हुन्। सहसचिव तहमा आन्तरिक र खुला प्रतिस्पर्धाको व्यवस्था मस्यौदामा नरहेकोमा पनि उनीहरूको विरोध छ। सेवाको सुरक्षासम्बन्धी व्यवस्थालाई निजामती सेवा ऐन २०४९ मा भन्दा कमजोर बनाइएको भन्दै कर्मचारीहरूले गत भदौ १७ गते विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन्। संघीय निजामती सेवा ऐनको मस्यौदा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र लोक सेवा आयोगबाट सुझाव लिई मन्त्रिपरिषदमा पठाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार छिट्टै ऐनको मस्यौदा मन्त्रिपरिषदबाट पारित गरी संसदमा पेश गरिने बताएका थिए। कर्मचारीहरूले तीनै तहका सरकारका प्रशासनिक तहमा एकरूपता कायम गर्न समयसीमा किटान गर्न र सबै तहमा एकै मितिबाट लागु हुने गरी प्रत्येक ५ वर्षमा १ तह वृद्धि हुने प्रावधानसहित तहगत व्यवस्था लागु गर्न माग गरेका छन्। पहिलो पटकका लागि कुनै तहमा ५ देखि १० वर्षसम्म काम गरेका कर्मचारीलाई एक तह र १० वर्षभन्दा बढी काम गरेका कर्मचारीलाई दुई तह वृद्धि हुने व्यवस्था गर्न उनीहरूको माग छ। शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा र १० प्रतिशत अन्तरतह प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग पनि कर्मचारीहरूले राखेका छन्। राजपत्र अनंकित दोस्रो श्रेणी खरिदार सरहको पदमा खुला ७० प्रतिशत, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत ज्येष्ठताको व्यवस्थासहित अन्य पदको बढुवा तथा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था निजामती सेवा ऐन, २०४९ को बमोजिम यथावत रहनुपर्ने उनीहरूको भनाइ छ। साथै सहसचिव र उपसचिव पदको खुल्लातर्फ प्रतिस्पर्धा गर्न तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता र सेवा अवधि भएका राजपत्र अनंकित कर्मचारीले पनि सहभागी हुन पाउनु पर्ने, कर्मचारी समायोजनबाट उत्पन्न समस्याको न्यायोचित समाधानका लागि एक पटकलाई समायोजनको पुनरावलोकन गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग उनीहरूले राखेका छन्। संघ, प्रदेश र स्थानीय तहमध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवाको निरन्तरता कायम हुनुपर्ने, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीको अन्तर प्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सेवाको अधिकृत तहमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत वढुवाको व्यवस्था हुनुपर्ने, सबै तह, समूह र पदमा समानवृत्ति विकासको सुनिश्चितता गर्नुपर्ने, सरुवा प्रणाली चक्रिय र पुर्वअनुमान योग्य हुनुपर्ने उनीहरूको माग छ।

