पोखरा: नेपाली अग्रज खेलाडीहरुको छाता संस्था ‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी सुरु भएको छ । आगामी फागुन ५ गते शनिबार आयोजना हुने नेपालकै जेठो म्याराथन ‘१८ औं पोखरा अन्तर्राष्टिय म्याराथन’को तयारी सुरु भएको मञ्चले जनाएको हो । मञ्चको हालै सम्पन्न कार्यसमितिको बैठकले तयारी संगै १८ औं संस्करणको लागि २४ विभिन्न उपसमितिका संयोजक गठन गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिएका छन् । पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ भने म्याराथन सफल बनाउन प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङलाई मुख्य संयोजक तोकिएको छ । पोखरा म्याराथनमा सहभागि हुने खेलाडीले पोखरा म्याराथनको वेवसाईट www.pokharamarathon.org मार्फत दर्ता गर्न सक्ने छन् । १८ औं संस्करणको दर्ता प्रक्रिया माघ १७ गते सम्म हुनेछ । सफल दुध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल ओलम्पिक कमिटि, कृषि बिकाश बैंक ली।, पोखरेली मञ्च युके मुख्य सहयोगीको रुपमा रहेका छन् । त्यसै गरी तमु धिं युके, सहारा युके, बगर भाई खलक यूके, वोष्टनरन्यू ह्याम्पशायर नेपाली समाज अमेरिका, दुर्गा गुरुङ यूके, चन्द्र गुरुङ अस्ट्रेलिया, सहारा क्लव अस्ट्रेलिया, सहारा क्लव हङकङ, हिमा अस, केल्मी, एक्सटेप नेपाल स्पोर्टस वेयरलगायत स्वदेश तथा विदेशका समाजसेवीहरु, उद्योगी तथा व्यवसायीहरुले सहयोग गर्दै आइरहेका छन् । त्यसै गरि १८ औं संस्करणको खुल्लातर्फको प्रथम पुरस्कार राशी नगद रु ५ लाख पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी एवं ग्राण्ड मास्टर तथा वि विल राइज फाउन्डेशनका अध्यक्ष तुलसी कुमार गुरुङले प्रदान गर्ने घोषणा गरेका छन् । त्यसै गरि १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ‘च्यारिटी रन’का लागि समाजसेवी तथा खेलप्रेमी योगेश गुरुङको नेतृत्वमा युकेबाट एक टोली पोखरा आउने भएको अध्यक्ष पराजुलीले जानकारी दिएका छन् । उनी यूवा खेलाडी उत्पादनका लागि मञ्चद्वारा स्थापित अक्षय कोषका संस्थापक समेत हुन् । पोखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता भए संगै यसले विश्वको ध्यान खिच्न सफल भएको बताउँदै अध्यक्ष पराजुलीले पोखरा म्याराथनले खेलकुदमार्फत पर्यटन प्रवर्द्धनमा समेत अहम भूमिका खेलेको बताए । उनले भने–“यो म्याराथन आयोजनाले मुलुकको समृद्धिमा भूमिका खेलेको छ । १८ औं संस्करणमा सबै कुरा सहज भयो भने ५० भन्दा वढि देशका धावक पोखरा आउने छन् ।” पोखरा म्याराथनको रुट समेत अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुट रहेको र विश्वका ठूला शहरमा आयोजना हुने जस्तै गरि पोखरा म्याराथन संधै चर्चामा हुने गरेको अध्यक्ष पराजुलीले बताए । “यो हाम्रो लागि खुसीको विषय हो । अग्रज खेलाडीहरुले राष्ट्रको खेलको लागि मात्रै पसिना बगाएका छैनन् । उनीहरुले संस्था समेत स्थापना गरेर खेलकुदमा योगदान दिएका छन् भन्ने उदाहरण लाई स्थापित गरेको छ”, उनले भने । १८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा भने पुरस्कार राशीमा कुनै फेरबेदल नगरिएको मञ्चले जनाएको छ । म्याराथन अन्तर्गत ८ वटा इभेन्टहरु हुने गरेको छ ।
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले यात्रु लिएर पहिलोपल्ट भुटानको व्यावसायिक उडान भरेको छ । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६ः ४५ मा पोखरा ओर्लिएको जहाज ४२ युरोपेली पर्यटक बोकेर ८ः१५ मा थिम्पु फर्किएको हो । सञ्चालनमा आएको ८ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय उडानबाट विमानस्थललाई आम्दानी भएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले बताए । यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किंदा रित्तै फर्किएको थियो । भारत, नेपाल र भुटान घुम्ने गरी आएका खर्चालु युरोपेली पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेको हो । उनीहरू तीन दिन पोखरामा बसेर विभिन्न साहसिक गतिविधिमा सामेल भएका थिए । उक्त टोली शुक्रबार आठवटा हेलिकप्टरमार्फत कुरिनटार पुगेर मर्स्याङ्दी नदीमा र्याफ्टिङ गरी हेलिकप्टरमै पोखरा फर्किएको थियो ।पोखरा पर्यटन परिषद्को नेतृत्वमा पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एयरका चालक दललाई स्वागत र थिम्पु जाने पर्यटकलाई बिदाइ गरे ।
पोखरा: गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले यहि बहालवाला प्रहरी कर्मचारीलाई सिपयुक्त बनाउने उद्देश्यसहित ड्राइभिङ तालिम प्रदान गरेको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार ५० जना प्रहरी कर्मचारीलाई हलुका सवारी साधन (कार/जिप) ड्राइभिङ तालिम प्रदान गरिएको हो । गण्डकी प्रदेश मातहतका विभिन्न प्रहरी कार्यालयहरुमा रहि उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरुलाई प्रेरणा स्वरुप प्रदान गरीएको सो तालिममा गोरखा जिल्लाबाट ३ जना, नवलपरासी (पुर्व) ४, कास्की १६ , तनहुँ ८, स्याङ्जा ४, बागलुङ ४, म्याग्दी २, पर्वत २, मुस्ताङ २, लमजुङ ३, मनाङ जिल्ला अन्तर्गतबाट–२ जना प्रहरी कर्मचारीहरुको सहभगिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले तालिमबाट सिकेका कुराहरुलाई उपयोग गरी प्रहरी सेवामा कुशल चालकका रुपमा आफुलाई स्थापित गराउन शुभकामना व्यक्त गरेका थिए । सो तालिममा सनराइज ड्राइभिङ इन्सटिच्युटले सहजीकरण गरेको थियो ।
पोखरा: पोखरामा छोरीसहित एक युवती सम्पर्कविहीन भएकी छिन् । कास्की प्रहरीका अनुसार बेपत्ता हुनेमा कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दीकी २२ वर्षीया उमा बराल र उनकी ५ वर्षीया छोरी ऋषिका करिब २ महिनादेखि सम्पर्कबिहीन छिन् । उमा गत असार २८ गते छोरी ऋषिकालाई लिएर घरबाट निस्किएकी थिइन् । तर अहिलेसम्म परिवारको सम्पर्कमा नआएपछि उनीहरुको खोजी गर्न कास्की प्रहरीकहाँ परिवार पुगेको थियो । अहिले कास्की प्रहरीले सामाजिक सञ्जालमा सूचना सार्वजनिक गर्दै देख्ने वा फेला पार्ने जोकोहीले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । बेपत्ता उमा गोरो वर्णकी, पाँच फिट उचाइ, देब्रे भागमा काटेको खत रहेको र हराउँदाको बखत सेतो कुर्ता, कालो पाइन्ट तथा छोरी ऋषिकाले पहेँलो जामा लगाएको प्रहरीले जनाएको छ । उनको हुलिया मिलेको अवस्थामा निगरानी गर्न तथा लुगा फेरेको भए पनि अन्य हुलियाको आधारमा उनको पहिचान गरी फेला परेको अवस्थामा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन कास्की प्रहरीले अनुरोध गरेको छ।
गोरखा: जिल्ला प्रशासन कार्यालय गोरखाले विद्युतीय गुनासो पेटिकाको शुरुवात गरेको छ । २० औँ निजामती सेवा दिवसको अवसर पारेर आज शुक्रवारदेखि विद्युतीय गुनासो पेटिकाको शुरुवात गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । गुनासो पेटिकाको शुरुवातले सूचना प्रविधिको विकाससँगै ई–गभर्नेन्सु को माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री, उत्तरदायी, चुस्त र पारदर्शी बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ । जिल्ला प्रशासन कार्यालयले वेबसाइट, इमेल, फेसबुक, ट्विटर जस्ता विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत यसअघि नै सेवाग्राहीको सुझाव र गुनासाबारे जानकारी लिँदै आएको थियो । यसका साथै विद्युतीय गुनासो पेटिकाले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन, सेवाग्राही तथा सरोकारवालाहरूलाई आफ्ना उजुरी तथा गुनासो राख्न सहज हुने प्रशासन कार्यालयको विश्वास छ । गुनासो पेटिकामा जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका अन्य सरकारी तथा अर्धसरकारी निकायहरूबाट प्रदान हुने सेवा, विकास निर्माण, सार्वजनिक सम्पत्तिको अतिक्रमण वा सुशासनको सन्दर्भमा गुनासो, उजुरी तथा सकारात्मक सुझावहरू राख्न सकिने प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो । क्यूआर कोड स्क्यान गरेपछि प्राप्त हुने गुगल फर्ममा गुनासो तथा सुझाव लेखेर पठाउन सकिने गरी विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरिएको हो । कार्यालयको वेबसाइट तथा फेसबुक पेजमा सार्वजनिक गरिएको क्यूआर कोड स्क्यान गरी उजुरी वा गुनासो व्यक्त गर्न सकिने छ । यो पेटिका सहितका सामाजिक सञ्जाल र टेलिफोनबाट प्राप्त हुने गुनासोको दैनिक रुपमा सम्बोधन गरिने प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ ।
विराटनगर: सर्वोच्च अदालतको परमादेशपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् । आज शुक्रबार नै साँझसम्म शपथग्रहण गर्ने तयारी भएको हो । सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले उनलाई मुख्यमन्त्री नियुक्तिको तयारी थालेको छ । बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । मुख्यमन्त्रीसँगै आज २ जना मन्त्रीलाई पनि शपथग्रहण गराउने एमालेकाे तयारी छ । एमाले श्रोतका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी छ ।
काठमाडौं: वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाउने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ का ५० वर्षीया केशरी श्रेष्ठ रहेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार हाल काठमाडौंको सामाखुशी बस्दै आएका ५० वर्षीया श्रेष्ठले आशामाया लामालाई अष्ट्रेलिया पुगेपछि होटलमा काममा लगाइदिने र मासिक तलब ३ लाख रुपैयाँ भन्दा बढी हुने भन्दै ठगी गरेकी थिइन् । अष्ट्रेलिया जान २० लाख लाग्ने भनेर पीडितबाट पटक–पटक गरी ९ लाख रुपियाँ लिई सम्पर्कबिहीन भएपछि श्रेष्ठविरुद्ध निवदेन परेको थियो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप–क्षेत्रीय स्तरहरूमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् । इन्टरपोल स्थापना शताब्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रधानमन्त्री दाहालले डिजिटल युगमा प्रविधिको दुरूपयोगबाट भएका अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्व हुने बताउदै अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न आपसी सूचना आदान प्रदान हुनुपर्ने उल्लेख गरे । नागरिकहरू भय र शोषणबाट मुक्त हुन सक्ने वातावरण सिर्जना गर्न सबै सुरक्षा निकाय मिलेर काम गर्नुपर्ने चर्चा गर्दै मानवअधिकारको संरक्षणलाई प्राथमिकतामा राखी र न्याय, निष्पक्षता र उत्तरदायित्वका सिद्धान्तहरू पालना गरी कानून कार्यान्वयनको सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री दाहालले सो अवसरमा ‘इन्टरपोल कफि टेबल बुक’ विमोचन समेत गरेका थिए । कार्यक्रममा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार शंकरदास बैरागी, महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल, राजदूतहरू, गृह सचिव लगायत निजामती सेवा तथा सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

