म्याग्दी: बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालिन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले बताउनुभयो । सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेको उहाँले बताउनुभयो । ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको श्रीसको भनाइ थियो । “वर्षापछि पाखोबाट बगेर आउने गेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ”, उहाँले भन्नुभयो, “फापरखेतको पहिरो बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ ।” उहाँका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् । करिब एक सय ५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बीचमा खनिएको सडक मुनि म्याग्दी नदी छ । “सडक माथिको भिरमा गेगरै गेगर छ । खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, श्रीसले भन्नुभयो, “म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ ।” उहाँका अनुसार सडकदेखि करिब दुई सय माथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ । “पानी पर्दा गाडी चल्दैनन्, पैदलयात्रा गर्न पनि ढुङ्गा खसिरहने भएकाले जोखिम छ”, मङ्गला गाउँपालिका–१ पूर्णगाउँका बेलबहादुर पाण्डेले भन्नुभयो, “यही पहिरोका कारण कतिपय बिरामीलाई समयमा अस्पताल पु¥याउन सकिएको छैन ।” उहाँका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयले कालोपत्रसहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा फापरखेतसहित तीन ठूलो पहिरो छन् । मङ्गला गाउँपालिका–२ को लाम्पाटाको पहिरो पछिल्लो पाँच वर्षयता रोकिएको छ । मालिका गाउँपालिकाको बाङ्गे पहिरोले पनि बेलाबेलामा दुःख दिने गरेको उहाँले बताउनुभयो । पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइञ्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ” उहाँले भन्नुभयो, “ठूलो पहिरो भएकाले लगानी पनि बढी आवश्यक पर्छ ।” स्थानीय जीवन खत्रीले फापरखेतको पहिरो नियन्त्रण सम्भव नभएकाले वैकल्पिक मार्ग बनाउनुपर्ने बताउनुभयो । “फापरखेतदेखि पखेर जोड्ने सडकमा पुल हालै निर्माण सकिएको छ”, उहाँले भन्नुभयो, “पखेर र पहिरोभन्दा माथि म्याग्दी नदीमा बेलिब्रिज जडान गरेर वैकल्पिक मार्ग खोल्ने चर्चा सुनेपछि मैले जग्गा पनि दिएको थिए तर काम भएको छैन ।” गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले फापरखेतको पहिरोको समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । भूगर्वविद् र प्राविधिकको टोलीमार्फत पहिरो नियन्त्रण गर्ने अथवा वैकल्पिक सडकको अध्ययन गरेर टोलिले दिने सुझावका आधारमा समस्या समाधानको पहल गर्ने उहाँले बताउनुभयो ।
दमौली: जिल्ला प्रहरी कार्यालय तनहुँले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बासगढी नगरपालिका–५ झोडिया स्थायी घर भई हाल तनहुँको व्यास नगरपालिका–१ अम्रेनी बस्ने ५० वर्षीय महेश गिरी नामले चिनिने मेघनाद गिरी रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । हाम्रो हात नेपाल प्रालिमा शेयर लगानी गर्ने किसानलाई कृषि फार्ममा सहुलियत ऋणको प्रलोभन देखाइ २०७८ सालमा पुसमा व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङका महिलाबाट रु सात लाख ५० हजार ठगी गरी फरार निजलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभयो । निजविरुद्ध महिलाले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पक्राउ परेका उनीविरुद्ध तनहुँ अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो । फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेनानी वसन्तराज गुरुङ नेतृत्वको टोली भारतीय वायु सेनाको विमानमार्फत आज त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय सेनाले आयोजना गरेको उक्त प्रतियोगिता यही साउन १७ गतेसम्म चल्ने छ । उक्त प्रतियोगितामा सहभागी हुने टोलीलाई नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले शुक्रबार बिदाइ गर्नुभएको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए बरियताका फुटबल टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लब मुलुकको खेलकुद क्षेत्रको च्याम्पियन टोली हो । प्रतिभाशाली खेलाडी पहिचान गरी देशको खेलकुद क्षेत्रको विकासका लागि क्लबले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतियोगितामा भाग लिने टोलीलाई सेनाले उच्च अनुशासन कायम गरी उत्कृष्ट खेल प्रदर्शन गर्न निर्देशन दिएको छ । प्रतियोगितामा प्राप्त अनुभवबाट आगामी दिनमा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि मद्दत पुग्नेछ । यस्ता प्रतियोगिताले दुई देशबीचको सम्बन्ध प्रगाढ तुल्याउन तथा दुवै सङ्गठनबीच मित्रता र सहकार्यलाई नयाँ उचाइमा पु¥याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।
ढोरपाटन: बागलुङमा सडेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने नजिकैको जङ्गलमा बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीले जानकारी दिए । शव कुहिएको अवस्थामा फेला परेको हुँदा पहिचान गर्न समस्या परेको उनको भनाइ छ । पातीहाल्ने जङ्गलमा पुगेका स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । ‘शव कङ्काल बनिसकेको छ, धेरै दिन अगाडि मृत्यु भएको हुनसक्छ, शरीर कुहिएको अवस्थामा हड्डी मात्रै बाँकी रहेको हुँदा को व्यक्ति हो रु पहिचान गर्न सकिएको छैन’, प्रहरी निरीक्षक शर्माले भने, ‘जिल्ला मातहतका प्रहरीचौकीमा खबर गरेका छौँ, छिमेकी जिल्ला रोल्पा र रुकुममा पनि जानकारी गराएका छौँ तर अहिलेसम्म कुनै मानिस हराएको निवेदन नपरेको छैन ।’ शर्माले कुनै व्यक्ति हराएको भए प्रहरीमा खबर गर्नसमेत आग्रह गरे । मृतकले लगाएका कपडा सहजरुप चिन्न सकिने हुँदा त्यसबाट पनि पहिचान गर्न सकिने उनको भनाइ छ ।
स्याङ्जा: गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गएको बेला यहाँको रामनदीधाम संस्कृत गुरुकुलमा भने विद्यार्थीको चाप बढेको छ । मागभन्दा धेरै भर्ना हुन आउँदा गल्याङ नगरपालिका–१, रामनदीधामको बिद्यार्थीको चाप बढेको हो । गुरुकुलमा संस्कृत, बेद, व्याकरण, कर्मकाण्ड मात्र नभएर आधुनिक विषय विज्ञान, अग्रेदी, गणित, कम्प्युटरको पठनपाठन हुने गरेको छ । गुरुकुलका आचार्य कृष्णप्रसाद बस्यालले माध्यमिक तह ६–१० कक्षासम्म आवासीय रुपमा पढाइ हुने गुरुकुलमा संस्कार संस्कृतिसहित आधुनिक विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरिएकाले विद्यार्थीको आकर्षण बढेको बताउनुभयो । २०४२ सालमा स्वर्गीय योगी नरहरिनाथले एक महिना १०८ बाह्मणद्वारा गायत्री कोटी हवन गरेर करिब ६ महिना परम्परागत रुपमा गुरुकुल सञ्चालन गरिएको थियो । गुरुकुलीय पद्धतिमा सरकारको पूर्ण दायित्व नहुने भएकाले समुदायको सहयोगमा सञ्चालन हुदै आएको छ । गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवानन्द सरस्वतीले गुरुकुलमा हाल ८८ बटुक अध्ययनरत रहेको र चार सरकारी दरबन्दीका र चार निजी स्रोतका शिक्षकले शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको बताउनुभयो । गुरुकुलमा गुरुकुल पाठशाला, कार्यालय, आवास गृह, शौचालय रहेको छन् भने गुरुकुललाई गल्याङ नगरपालिकाले र विभिन्न दाताको सययोगमा संचालन हुदै आएको छ ।
पाल्पा: तानसेनको एक होटलमा जबर्जस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीकी २५ वर्षीया महिलालाई डरधम्की देखाएर जबर्जस्ती करणी गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–९ बस्ने २४ वर्षका आशिष सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गत साउन ५ गते तानसेनस्थित एक होटलमा ल्याएर ती पुरुषले आफूलाई जबर्जस्ती करणी गरेको र अश्लिल भिडियोसमेत बनाएको पीडितको भनाई छ । उक्त भिडियो सार्वजनिक गर्ने र भाइरल बनाउने डरधम्की दिएर पुनः बुटवल उपमहानगरपालिका–११, माझगाउँको एक होटलमा ती पुरुषले जबर्जस्ती प्रहरीले जनाएको छ । युवकले जबर्जस्ती गरेको अश्लिल भिडियो भाइरल गर्ने धम्की दिएर पटक–पटक करणी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । आरोपी पुरुषलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको थापाले बताउनुभयो ।
काठमाडौं: आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३–३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिनुभयो । कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी मुख्य विषय रहेको उहाँले बताउनुभयो । पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । सङ्कल्प दोब्बर, वृद्धि झण्डै तेब्बर उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । नेपालले उक्त सम्मेलनमा बाघको सङ्ख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी सङ्ख्याले बाघ बढाउन सफल भएको छ । उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ थिए । । साथै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्याङ्क छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ रहेको विभागको तथ्याङ्क छ । सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको सङ्ख्या बढेर दुई ३५ पुगेको थियो । नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो । त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार दुई सयमा सीमित भएको थियो । त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर २०१६ मा तीन हजार नौ सय र सन् २०२२ मा चार हजार पाँच सय पुगेको विश्व वन्यजन्तु कोषको तथ्याङ्क छ । सन् २०१६ को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी भारतमा दुई हजार दुई सय २६ र सबैभन्दा कम लाओसमा दुई वटा बाघ थिए । बाघको आक्रमणबाट नेपालमा पाँच वर्षमा ५८ को मृत्यु नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । उनीहरुलाई जङ्गल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ । हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा दुई सय मानिसको मृत्यु भएको तथ्याङ्क छ । साथै क्षतिपूर्तिवापत सरकारले रु ६० करोडभन्दा बढी रकम बेहोरिसकेको छ । वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् । त्यसमध्ये पछिल्लो पाँच वर्षमा मुलुकभर बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/८० मा बाघको आक्रमणबाट १२, आव २०७८/७९ मा २१, आव २०७७/७८ मा १३, आव २०७६/७७ मा आठ र आव २०७५/७६ मा बाघको आक्रमणबाट चारको मृत्यु भएको थियो । विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिनुभयो । बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।
सुडानमा तैनाथ शान्ति सैनिक अमल्दार राम बहादुर बाँठाको झुन्डिएको अवस्थामा मृत भेटिएका छन। शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फामा कार्यरत उनी रुम्बेकस्थित गण हेर्डक्वार्टमा झुण्डिएको अवस्थामा भेटिएका हुन। उनी जाजरकोटको खलंगा गाउँपालिका ६ का बासिन्दा हुन। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शव पोष्टमार्टमपछि नेपाल ल्याउनेछ ।
पोखरा: प्रेस चौतारी गण्डकी प्रदेश समितिले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ । पत्रकार महासंघ गण्डकी प्रदेशले साउन १० गते गरेको शुद्धीकरणको निर्णयमा असहमति जनाउँदै प्रेस चौतारी गण्डकी प्रदेश समितिले शुक्रबार विज्ञप्ती बुझाउँदै महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । शुद्धीकरणको मापदण्ड विपरीत गण्डकी प्रदेश समितिले सिफारिस गरेको नामावलीप्रति गम्भिर असहमति जनाउँदै प्रदेश कार्यालयमा तालाबन्दी गरिएको प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेलले बताए । ‘प्रदेश समितिले पत्रकारिता गरिरहेकालाई विभिन्न बाहना बनाएर हटाउने र राजनीतिक कार्यकर्तालाई अनेक तरिकाबाट सिफारिस गरेको छ,’ उनले भने, ‘राजनीतिक पुर्वाग्रहीका साथ अघि बढेको प्रदेश समितिलाई गल्ती सच्याउन पटकपटक आग्रह गर्दा एकपक्षीय रुपमा अगाडी बढेकाले प्रेस चौतारी महासंघको गण्डकी प्रदेश कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य भएका छौं ।’ प्रदेश समितिले नविकरणको राजनीति गरेर स्वच्छ पत्रकारितालाई धमिलो बनाउने काम गरेको प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले आरोप लगाए । शुद्धीकरणका १५ बुँदै मापदण्ड नगरी मनपरी रुपमा चौतारीका सदस्यलाई बाइपास गर्न खोजेको उनको आरोप छ ।‘जिल्लाले पठाएको शुद्धीकरणमा प्रदेशबाट न्याय होला भनेको त जिल्लाबाटपठाएको नामहरुबाट मनपरी रुपमा काटे छ । चौतारीका सदस्यलाई पाखा लगाउने काम गरेको छ,’ उनले भने, ‘प्रदेशको त्यो निर्णयबाट कुनै पनि संगठन खुसी छैनन् ।’ पत्रकार महासंघ कास्कीले शुद्धीकरणको मापदण्डभित्र पर्ने भन्दै २ सय १६ जनाको नाम सिफारिस गरेको थियो । प्रदेश समितिले जिल्लाको सिफारिसमा परेका नामलाई थपघट गर्दै १ सय ८४ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो ।

