काठमाडौं: एक टिभी शाेमार्फतजातिय सद्भाव भड्काउने खालकाे अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए । उनले भने, ‘चारदिन अघि तामाङ र मगर समुदायका विभिन्न समूहहरूले अधिवक्ता पाण्डेविरूद्ध उजुरी दिनु भएको छ। जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ। अहिले पक्राउ पुर्जी जारी भएकाे छ।’ पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए । यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै अभिव्यक्ति दिएकी थिइन् । सो विषमा मुस्लिम समुदायले बेवास्ता गरेपनि नेपालको तेस्रो ठुलो जनसँख्या रहेको मगर समुदाय र तामाङ समुदायमा आँच पुगेको भन्दै चौतफी विरोध भएको थियो । त्यसपछि सदनमा सांसद इश्वरी घर्तीमगर र शुशिला तामाङले पाण्डेलाई कारवाहीको माग गरिएको थियो ।
खोटाङ: खोटाङमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएकाे छ । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारबाट रसुवाका लागि छुटेकाे ना ६ त २४६६ नम्बरको ट्र्याक्टर पल्टिँदा खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका २९ वर्षीय पवन तामाङको ज्यान गएकाे हाे। खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीको नेर्लामा बिहीवार हिजाे बेलुका ट्र्याक्टर पल्टिएर गम्भीर घाइते भएका तामाङको उपचारका लागि धरान लैजाने क्रममा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ । उहाँको शव पोष्टमार्टमका लागि इन्द्रेणीपोखरी लगिएको छ ।
काठमाडौं: सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला १४ हिमाल ९२ दिनमै आरोहण गर्दै नेपाली पर्वातारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलाले नयाँ रेकर्ड कायम गरेका छन्। हिजो बिहान ११ बजेर ४५ मिनेटमा दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेसँगै उनीहरूले नयाँ रेकर्ड कायम गरेको सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए। यसअघि यो रेकर्ड निर्मल पुर्जा मगर उर्फ 'निम्स दाइ' को नाममा थियो। उनले ६ महिना ६ दिन लगाएर उक्त रेकर्ड कायम गरेका थिए। पुर्जाले पनि कोरियन नागरिकले ७ वर्ष लगाएर बनाएको रेकर्ड तोडेका थिए। पुर्जाको रेकर्ड पनि धेरै पर्वातारोहीले भंग गर्न प्रयास गरे पनि विफल भएका थिए। तर अहिले पुर्जाभन्दा आधा समयमै उक्त रेकर्ड तेन्जिङ शेर्पा लामाले भंग गरेका छन्। योसँगै अब छोटो समयमा विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने रेकर्ड नेपाली र नर्वेजियन नागरिकको नाममा रहेको छ। उनीहरूसँगै हिजै २१ जनाको टोलीले माउन्ट केटुको सफल आरोहण गरेका छन्।
काठमाडौं: मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचारका लागि भन्दै भर्ना भएर बसेको अवस्थामा उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको हो । आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ । ती किशोरीले यसअघि सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो पोस्ट गरेकी थिइन् । त्यसलगत्तै पोखरेल मुटुको समस्या भएको भन्दै अस्पतालमा भर्ना भएर बसेका थिए । प्रहरीले उनलाई अस्पतालबाटै नियन्त्रणमा लिएको हो ।
काठमाडौं: नेपालले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ४९ लाख रूपैयाँको गोलभेँडा भारतलाई बेचेको छ । भन्सार विभागको तथ्यांक अनुसार १० लाख ९४ हजार किलो गोलभेँडा भारत निर्यात गरिएको छ । उक्त गोलभेँडा असारमा मात्रै निर्यात भएको हो । आर्थिक वर्ष २०७८/०७९ मा ४० किलो गोलभेँडा भारत निर्यात भएको थियो । भारतको राजस्थानमा आएको आँधीका कारण केही महिना अघिदेखि भारतमा गोलभेँडाको मूल्य आकाशिएको थियो । एक महिनाअघिसम्म पनि भारतीय बजारमा गोलभेँडा किलोको १ सय २० देखि १ सय ५० भारूमा कारोबार भइरहेको थियो । तर अहिले भने १ सय भारु भन्दा कम भइसकेको छ । यो खबर सेतोपातीमा सुनिता सिटौलाले लेखेकी छिन् ।
काठमाडौं: वुमेन्स वर्ल्डकप २०२३ काे नतिजा समूह ‘जी’ को खेलमा अर्जेन्टिनाले दक्षिण अफ्रिकालाई २–२ को रोमाञ्चक बराबरीमा रोक्दै खेलमा फर्किएको छ । अर्जेन्टिनाका लागि सोफिया ब्रउन र रोमाना नुनेजले गोल गरे । दक्षिण अफ्रिकाका लागि भने लिन्डा माटिहालो र थेम्बी केगाटलानाले गोल गरेका थिए । संयोगले महिला विश्वकपमा दक्षिण अफ्रिकाले जितेको यो पहिलो अंक हो, तर स्पष्ट जित हात पार्न नसकेकोमा उसाई पछुताउ भने रहनेछ । यो नतिजापछि दुवै टिम समान एक एक अंकमा समूह ‘जी’ को पुछारमा रहेकाे छ ।
काठमाडौं: चीनको हान्झोउमा सेप्टेम्बर अन्त्यबाट सुरु हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली महिला फुटबल टोली प्रशिक्षणमा छ । यतिबेला २२ सदस्यीय महिला टोलीले प्रशिक्षण गरिरहेको छ । टोलीलाई बालगोपाल महर्जनले टोलीलाई तयारी गराइरहेका छन् । उनीसँगै राखेप मुख्य प्रशिक्षक अरुणा गुरुङ र गोलरक्षक प्रशिक्षक श्री प्रकाश वैद्यले पनि सहजीकरण गरिरहेका छन् । यी हुन् प्रशिक्षणमा रहेका खेलाडीहरु:- फरवार्ड (६ जना)- सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मी कुमारी घिसिङ, अमिशा कार्की, रेखा पौडेल मिडफिल्डर (६ जना )- रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी,अनिता बस्नेत, प्रीति राई, दिपा शाही डिफेन्डर (७ जना)- अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, पुजा राना, विमला विक, निशा ठोकर, समिक्षा घिमिरे गोलरक्षक (३ जना)- अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ एसियाली खेलकुदको महिला फुटबल प्रतिस्पर्धामा १७ टोलीको सहभागिता रहनेछ । ५ समूहका शीर्ष टोलीसँगै उत्कृष्ट ३ उपविजेता अर्को चरणमा प्रवेश गर्नेछन् । समूह विभाजन यसप्रकार छ:- समूह ए – चीन, उज्बेकिस्तान, मंगोलिया समूह बी – चाइनिज ताइपेइ, थाइल्याण्ड, भारत समूह सी – उत्तर कोरिया, सिंगापुर, कम्बोडिया समूह डी – जापान, भिएतनाम, नेपाल, बंगलादेश समूह ई – दक्षिण कोरिया, हङकङ, फिलिपिन्स, म्यानमार
पोखरा: महिलाहरूको माहान चाँड हरितालिका तिजको अवसरमा हरेक वर्ष पोखराको लामाचौरमा हुँदै आएको ‘लामाचौर तीज महोत्सव–२०८०’ यही भाद्र ३० देखि असोज १ गते सम्म हुने भएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिवल, अन्तर महिला समुह तिज गित प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, नरबहादुर बानिया स्मृति प्रदेश स्तरीय सितेरियो कराँते साथै राष्ट्रिय कलाकारहरूद्वारा साँस्कृतिक कार्यक्रमको प्रस्तुति मेलाको मुख्य आकर्षणको रुपमा रहेका छन् । २०५४ साल देखि नै “मौलिक सस्कृतिको जगेर्ना गरौँ” भन्ने उद्घोषका साथ कास्की जिल्ला भित्रकै ऐतिहासिक एवम् बृहत साथै गण्डकी प्रदेशकै प्रतिष्ठित महोत्सवको रुपमा पहिचान बनाउन सफल ‘लामाचौर तीज महोत्सव–२०८०’ को २५ औं संस्करणको तयारी तिब्र रुपमा भइरहेको छ। राष्ट्रको खेलकुद विकास र विस्तारमा सहयोग गरी भाइचाराको सम्बन्धलाई स्वर्णिम बनाउने, नव प्रतिभावान् खेलाडीलाई प्रतिभा प्रस्फुटन गराउनु तथा नेपालमा उत्कृष्ट खेलाडीको खेल प्रदर्शन गराउनु, अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि प्रोत्साहित गर्ने, मौलिक कला र लोक संस्कृतिको जगेर्ना गर्दै लामाचौर क्षेत्रले समाजमा गरेको उल्लेखनीय कार्यको परिचय स्थापित गर्ने, महिलाहरूको गायन एवम् प्रस्तुतिकलाको विकासमा सहयोग गर्ने साथै महिला सशक्तीकरणका लागि भूमिका निर्वाह गर्नु, विभिन्न उद्योग, ब्यापार, व्यवसायीद्धारा उत्पादित वस्तु प्रर्वदनमा प्रोत्साहित गर्ने, आम दर्शकहरू माँझ सांस्कृतिक, खेलकुद लगायत विभिन्न रमाईला कार्यक्रमहरूद्धारा ज्ञान, मनोरञ्जन प्रदान गर्ने, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धनमा विकास गर्ने महोत्सवको उद्देश्य रहेको छ । समाजका अध्यक्ष स्वागत सिहं भण्डारीले महोत्सव आयोजना गर्नको लागी आवश्यक सम्पुर्ण उपसमिति गठन गरी तिब्र रुपमा तयारी चलिरहेको र सबै जना एकजुट भै यस ऐतिहासिक एवं प्रतिष्ठित महोत्सव सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।
पोखरा: सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले राज्यमा भएका समस्या जनता र सरकार मिलेमा समस्या हल हुन्छ । मानव सेवा आश्रम पोखरा छोेरेपाटनलाइ औषधी वितरण गर्दै मन्त्री सिंखडाले धारणा राखिन । ‘हिजो सडकमा देख्दा बिचरा भन्ने मात्र थियो,‘उनले भनिन,‘व्यवस्थापन गर्ने टिमलाई धन्यवाद दिन्छु ।’ राज्यको जिम्मेवार पदमा बसेकाले निस्वार्थ भावले काम गरे धेरै काम गर्न सक्ने उनले बताइन । आफुले समाजमा भएको समस्यालाई हल गर्ने प्रतिवद्वता गरिन । ‘मैले गर्नुपर्ने भुमिका निर्वाहा गर्छु,‘मन्त्री सिंखडाले भनिन,‘स्वास्थ मन्त्रालयको समन्वयमा र सहयोग औषधी आएको छ यो हाम्रो दायित्व हो ।’ सामाजिक विकास तथा स्वास्थ मन्त्रालयका स्वास्थ सचिव बिनोद बिन्दु शर्मा यस्तै संस्था कास्की मात्र नभएर अन्य जिल्लामा पनि भएको जानकारी दिए । सामाजिक बिकास तथा स्वास्थ मन्त्रालयका समाजिक सचिव तोयानाथ लम्साल समाजिक बिकास मन्त्रालय प्रदेशलाई सडक मानव मुक्त प्रदेश घोषणा गरेको बताए । गण्डकी प्रदेश सरकार मानब सेवा आश्रममा ७० लाख बजेट बिनियोजन गरेको जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय कास्की प्रमुख बद्री आचार्य ३३ प्रकारका मानसीक रोग सम्बन्धी र अन्य गरेर ३९ प्रकारका औषधी दिएको जानकारी दिए । करिब १ वर्षको लागि पुग्ने औषधी भएको उनले बताए । प्रदेश आपूर्ति केन्द्र, गण्डकी प्रदेश औषधी व्यवसायी, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की सहयोगमा औषधी दिएको हो ।

