बागलुङ: जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै प्रारम्भिक अनुसन्धानबाट पौडेलको हत्या भएको पुष्टि गर्दै हत्या आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको हो । जारी विज्ञप्तीमा भनिएको छ, ‘इलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेल मिति २०८० साउन ८ गते ८ बजेको समयमा जिल्ला बागलुङ बडिगाड गाउँपालिका ६ खालबजार स्थित आशा होटल एण्ड खाजा घरमा गएकोमा सोही होटलका सञ्चालिका आशा कुँवर र निजतको छोरा विनोद कुँवरसँग विवाद हुँदा उज्जल पौडेलको टाउकोमा मुक्काले मरणासन्न हुने गरी कुटपिट गरी छातीमा लात्तिले प्रहरी गरी बेहोस भई भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसी साढे ११ बजेको समयमा हत्या गरेको र मृतकले घाँटीमा लगाएको सुनको सिक्रीसमेत निकाली किचन र्याकमा लुकाई राखेको अवस्थामा फेला परेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हुँदा घटनामा संलग्न निम्न दुई जनालाई नियन्त्रणमा लिई ज्यान सम्बन्धि कसुरमा थप अनुसन्धान कार्य गरिरहेको छ ।’ पौडेलको हत्या आरोपमा आशा होटलका सञ्चालिका ५१ वर्षीया आशा कुँवर र आशाकी छोरा २० वर्षीय बिनोद कुँवर पक्राउ हिजो (मंगलबार) नै पक्राउ परेका थिए । प्रहरी प्रधान कार्यालयको निर्देशनमा मृतक पौडेलको पोष्टमार्टम भने गण्डकी अस्पताल पोखरामा गरिने बताइएको छ ।
नवलपुर: नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जंगली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जंगली च्याउ खाँदा मृत्यु भएको बताए। उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ। जंगली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरुको उपचारपछि निको भएका छन्। बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो। स्थानीय नेत्रबहादुर सारुले भने, ‘उपचारका क्रममा मंगलबार राति उमाकुमारीको अस्पतालमा नै मृत्यु भएको हो,’ उनले भने, ‘लिलालाई उपचार सम्भव नहुने भन्दै अस्पतालले फिर्ता गरेपछि मङ्गलबार राति घरमा मृत्यु भएको हो।’ बिरामी भएका अन्य तीनजना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि निको भएर घर फर्किएको स्थानीय सारुले बताए। गत वर्ष पनि जङ्गलमा पाइने विषालु च्याउ खाएर स्थानीयको मृत्यु भएको र जङ्गलमा पाइने विषालु च्याउ खाने चलन नरोकिएकाले बर्सेनि बिरामी हुने समस्या यथावत् रहेको स्थानीयवासी तारा पुलामीले बताए।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीको निष्पक्ष छानबिनको माग गरेर संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधवार सभामुख देवराज घिमिरेलाई प्रस्ताव बुझाउनुभएको छ । विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भएको सूचना र समाचार आएको तर सरकारले गहिरो अनुसन्धान नगरेको रास्वपाको आरोप छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरूले गृहमन्त्रीको राजीनामा नमाग्ने बरु निष्पक्ष ढङ्गले अनुसन्धान छिटो सम्पन्न गर्न दबाब दिने बताउनुभएको छ ।
दमौली: तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ । बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिनुभयो । मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सुचना गाउँपालिका अध्यक्ष थापालाई आज हस्तान्तरण गर्नुभएको छ । गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको अध्यक्ष थापाले बताउनुभयो । सूचना हस्तान्तरण भएसँगै अब बन्दीपुर गाउँपालिकाका ती पर्यटकीय गन्तव्यहरू मदानी मिडियाअन्तर्गतको ‘टुरिजमपाना डटकम’मा पढ्न÷ हेर्न तथा सुन्न सकिने भएको छ । गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो, “बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल हुन्छ । विदेशी पर्यटकलाई पनि सहज होस् भनेर विभिन्न भाषामा सामग्री तयार गरिएको हो ।” बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले पनि पहल गरिरहेको छ । बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन विभिन्न पूर्वाधार निर्माण गरिएको छ ।
बारा: आफ्नै २३ वर्षीया श्रीमती यास्मिन खातुनको हत्या गरेको एक युवक पक्राउ परेका छन् । बारा प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको विहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाह रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका मोहमदले सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइती घरमा बस्दै आएकी यास्मिनलाई माइती घरमै आएर धारिलो हतियार प्रहार गरेका थिए । त्यसपछि स्थानीले ति मोहमदलाई कुटपिट गरेर घाइते भएका थिए । सो घटनाबारे प्रहरीलाई खबर पुगेपछि मोहमदलाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश खेलकुद संघहरु संग एक मंगलबार वृहद छलफलसहितको अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न ३० भन्दा वढि खेल संघरुहको सहभागिता रहेको सो कार्यक्रममा प्रदेशको खेलकुद विकासका लागि खेलसंघहरु संगको विभिन्न समस्याहरुका बारेमा खुलेर छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । सम्पन्न कार्यक्रम बारे जानकारी दिंदै सदस्य सचिव शर्माले परिषदद्वारा अघि सारिएका कार्यक्रमहरु सफल बनाउने संगै खेल संघहरुलाई व्यवस्थित गर्ने लगायतका विषयमा निर्णय गरिएको बताए । “हामीले आज भएको अन्तक्रियामा खुलेर छलफल गरेका छौं । खेल संघहरुमा रहेका समस्या र चुनौतीहरुका विच पनि खेलकुदको समग्र विकासलाई कसरी अघि बढ्ने बारे गम्भिर रुपमा वहस भएको छ”, उनले भने–“यसले आगामी दिनमा हुने योजनाहरु कार्यान्वयनमा सहजता संगै निकासका लागि बाटो खुल्ला गरेको छ ।” छलफल कार्यक्रममा सहभागिहरुले प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार तदर्थ समिति गठन गर्न निकै कठिनाई उत्पन्न भएको बताउँदै तत्कालै सो विषयमा भइरहेको समस्या समाधानका लागि परिषदलाई पहल गर्न आग्रह गरेका थिए । प्रदेश खेलकुद संघ गठन भइसकेका संघहरुको अद्यावधिक साधारणसभा सहित प्रदेश खेलकुद परिषदमा दर्ता वा नविकरण गर्र्न तथा दर्ता हुन बाँकी खेल संघहरुले तदर्थ समिति दर्ता र परिषदले संघहरु संग आवश्यक समन्वय गरी सहजिकरण गर्न सहभागि खेल संघका प्रतिनिधीहरुले आग्रह गरेका थिए । त्यस्तै हालै परिषदले सूचिकृतका लागि आह्वान गरेका रेफ्रि, जज, एम्पयार, खेल प्राविधिक, प्रशिक्षक र खेल प्रशिक्षण केन्द्रहरुको सूचिकरण गर्न खेल संघहरुले सहयोगको प्रतिवद्धता व्यक्त गर्दै गण्डकी प्रदेशमा स्थापना हुने खेलाडी कल्याणकारी कोषमा रकम वृद्धिका लागि समेत प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै सहभागिहरुले जिल्लास्थित खेल संघहरुको अनुगमन, खेलकुदको विकास, विस्तारका लागि समन्वय गर्दै अघि बढ्ने समेत प्रतिवद्धता व्यक्त गरेको परिषदले जनाएको छ । त्यस्तै सो अन्तक्रिया कार्यक्रममा आ।व २०७९÷०८० मा सम्पन्न विभिन्न खेलकुद प्रतियोगिता लगायत कार्यक्रमहरुको समेत गम्भिर समिक्षा गर्दै भएका कमजोरीहरुको समेत सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको छ । सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले आजको अन्तक्रिया कार्यक्रमले परिषद र खेल संघहरु विच सम्वन्धलाई थप सुमधुर बनाउन भूमिका खेल्ने बताए । उनले खेल संघहरुलाई खेल विकासको गतिका लागि प्रमुख रुपमा रहेको बताउँदै संघहरु बलियो संगै सुशासनयुक्त भएमा मात्रै खेल विकासले गति लिने बताए ।
काठमाडौं: बिदा स्वीकृत नगराइ कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालय नक्सालले आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले सूचना निकालेर गैरहाजिरी हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो । गैरहाजिरी रहेका एक जना हवल्दार, पाँच जना सहायक हवल्दार र १६ जना जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो । निर्देशन अटेर गरेमा सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजित कार्यक्रममा उहाँले भ्रष्टाचार र बेथितीका विरुद्धमा सरकारले कडा कदम चालेको बताउनुभयो । आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथितीको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताउनुभयो । जनताले लामो समयदेखि सास्ती व्यहोर्दै आएको राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको जानकारी दिँदै उहाँले अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताउनुभयो । “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, अझ विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिनेबाट सरकारले कामको थालनी गरेको छ ।” नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताउनुभयो । “शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताउनुभयो । “यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ”, उहाँले भन्नुभयो ।
काठमाडौं: एसिया कपको तयारीमा रहेको नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दैछ। नेपाली क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ । नेपाल र स्थानीय क्लबबीच आजको खेल बिहान १० बजे ब्लूमफिल्डमा शुरु हुनेछ । ब्लूमफिल्ड टोलीमा श्रीलंकाबाट खेलिसकेका खेलाडी पनि छन् । नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ । नेपालले एक महिनापछि श्रीलंका र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ मा मुल्तानमा हुनेछ । त्यसपछि भारतसँग हुने खेलका लागि नेपाल श्रीलंका जानेछ । नेपाल र भारतबीचको खेल भदौं १८ मा हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

