पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

तनहुँ:   आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटकी ४६ वर्षीया चिजा गुरुङ प्रायः दिनमै सुत्ने र रातमा जागा बस्दै आउनुभएको छ । स्थानीय मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधको पानीको सतह बढ्दा केही वर्ष पहिले ससुरा ७२ वर्षीय मनिराज गुरुङको बगाएर मृत्यु भएपछि त्रासले आफू राति सुत्नै नसकेको चिजाले बताउनुभयो । “पानी परेका बेला मर्स्याङ्दीको भेल बढेर घरभित्रै पसौँला झैँ गर्छ”, उहाँले भन्नुभयो, “त्यसैको डरले गर्दा राति सुत्नै सकिँदैन । दिनमा सुत्ने र राति जागा बस्नु हाम्रो दैनिकी जस्तै बनेको छ ।” केही वर्ष पहिले घर पछाडि करिब ५० हात जति पर मात्र मर्स्याङ्दीको पानीको सतह भए पनि २०७८ सालमा आएको बाढीले आफूसहित स्थानीय १४ घर बगाएर लैजाने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । मर्स्याङ्दीको बाँधको सतह बढ्दा स्थानीय बद्री घिमिरे, मिलन गुरुङ, दलबहादुर माकिम मगर, तारा राना, उद्धव पौडेल, विष्णु पराजुली र सुन्दर बानियाँलगायतको घर बगाउने जोखिममा छ । पानी परेपछि आफूसहित स्थानीयहरु घर अघि पृथ्वी राजमार्ग किनारामा रहेको चौतारामा बसेर रात काट्ने गरेको स्थानीय ५८ वर्षीय मिलन गुरुङले बताउनुभयो । आफूहरुले मुआब्जाको लागि मर्स्याङ्दी जलविद्युत् आयोजनालाई पटकपटक भने पनि कुनै वास्ता नगरिँदा आफूहरु जोखिममा रहेको मिलनको भनाइ छ । “मर्स्याङ्दीको बाँधले बस्ती नै डुबाउला जस्तो भइसक्यो”, मिलनले भन्नुभयो, “मुआब्जाका लागि पटकपटक पहल गरे पनि कसैले वास्ता नगर्दा कुनबेला मर्स्याङ्दीमा परिन्छौँ भन्ने चिन्तामा छौँ ।” घर पछाडि मर्स्याङ्दीको बाँधबाट बचाउन जालीमा ढुङ्गा भरेर लगाइए पनि त्यो संरचना कमजोर हुँदा  पानी ठेलिएर घर बगाउने अवस्थामा पुगेको मिलनले बताउनुभयो । आफूहरुले मर्स्याङ्दी जलविद्युत् परियोजनाका कर्मचारीलाई सिमेन्टको बलियो पर्खाल बनाउन भने पनि बेवास्ता गरिएको उहाँको भनाइ छ । “मर्स्याङ्दीको बाँधबाट बस्ती बचाउन सिमेन्टको बलियो पर्खाल लगाउन भनेका थियौँ”, मिलनले भन्नुभयो, “तर हाम्रो मागलाई वास्तै नगरी सतहमाथिबाट तारजालीमा ढुङ्गा भरेर झारा टार्ने काम गरी छाडिएको छ ।” आफूले करिब साढे तीन करोड रुपियाँ लगानी गरी पार्कसहित करिब साढे दुई रोपनी क्षेत्रफलमा धौलागिरि हाइवे रेष्टुरेन्ट सञ्चालन गरे पनि मस्र्याङ्दीको बाँधको बहाव बढेर खोतल्दै गएपछि रेष्टुरेन्ट नै बन्द गरी अन्यत्र विस्थापित हुनु परेको स्थानीय सुन्दर बानियाँले बताउनुभयो । पृथ्वी राजमार्गका यात्रुलाई लक्षित गरी रेष्टुरेन्ट सञ्चालन गरेको थिएँ”, बानियाँले भन्नुभयो, “तर अहिले मर्स्याङ्दीको बहाब बढेर लैजाने अवस्थामा पुगेपछि बन्द गर्नु परेको छ । कुन बेला बगाएर लैजाने हो भन्ने चिन्ताले सताएको छ ।” मर्स्याङ्दीको बाँधले सार्वजनिक र व्यक्तिको गरी सयौँ रोपनी क्षेत्रफल बगाएर बस्ती नै जोखिममा परेकाले उचित मुआब्जा वितरण छिटो गरी बस्ती खाली गरिनुपर्ने आफूहरुको माग भएपछि ढिलासुस्ती गरिएको बानियाँले बताउनुभयो । आफूहरुले छिटो मुआब्जा पाउनुपर्ने भन्दै प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले साथ दिँदै आउनुभएको बानियाँले जानकारी दिनुभयो । गाउँपालिकाको विपद् र जिल्ला विपद् समितिले समेत उक्त क्षेत्रको १४ घर र १० रोपनी व्यक्तिगत जग्गासमेत अधिग्रहण गर्नुपर्ने निष्कर्ष निकालेर सम्बन्धित मन्त्रालयमा करिब डेढ वर्ष अघि नै सिफारिस गरिए पनि मुआब्जा वितरण ढिला हुँदा स्थानीय मस्र्याङ्दीको त्रासमा बस्न बाध्य हुनुपरेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । “हामी उहाँहरुले छिटो मुआब्जा पाउनुपर्छ भनेर लागि रहेका छौँ”, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानले भन्नुभयो, “मुआब्जा ढिला दिँदा थप क्षति हुनसक्ने खतरा छ । पटकपटक ताकेता लगाउँदा पनि प्रक्रिया ढिलो हुनु दुःखद्कुरा हो ।” आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरी उक्त क्षेत्रको घरसहितका जग्गा अधिग्रहण गर्नुपर्ने ठहर गर्दै केन्द्रमा परिपत्र गरे पनि प्रक्रिया ढिला हुँदा स्थानीयमा बाढीको त्रास कायमै रहेको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताउनुभयो । “अधिग्रहण गरिएका घर र जग्गाको मुआब्जा पाउन नसक्दा स्थानीय अन्यत्र जान सकेका छैनन्”, उहाँले भन्नुभयो, “वर्षायामको समयमा थप क्षति हुनसक्ने अवस्था भएकाले तत्कालै मुआब्जा वितरण गर्नेतर्फ केन्द्रमा ताकेता गरे पनि प्रक्रिया ढिलो भएको छ ।”

काठमाडौं:    थानकोटबाट चित्लाङ  जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे  घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।  थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो। गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको डिएसपी अधिकारीले बताए।  गाडी के कारणले दुर्घटना भएको हो भन्ने विषय खुलेको छैन। गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएको छ। घटनास्थलमा पानीघाटमा रहेको सेनाको टोली समेत पुगेको छ।

जापान:     गैरआवासीय नेपाली संघ जापानको राष्ट्रिय समन्वय समितिका वर्तमान सह–कोषाध्यक्ष दीपक सुनारले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।    गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय समितिको ११ औँ अधिवेशन नजिकिदैं गर्दा विभिन्न पदहरुमा उम्मेदवारी घोषणा भइरहेका छन् ।   समितिको वर्तमान सह–कोषाध्यक्ष रहिसकेका सुनारले आगामी कार्यकाल सन् २०२३–२५ का लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।    दिपकले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गर्दै आफु सह कोषाध्यक्ष रहेको वर्तमान कार्यसमितिले, एनआरएनए जापानलाई धेरै सुधार गरेको कुरा अवगत गराउँदै, यो क्रमलाई पुनः निरन्तर दिदै आगामी कार्यकाल पनि   त्यस्तै सभ्य र सौहार्दपूर्ण बनाउने प्रतिवद्धतासहित कोषाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेको बताए ।    को हुन् दिपक ?     दिपक लामो समयदेखि जापानलाई आफ्नो कर्म भुमी बनाएर विभिन्न सामाजिक संघ संस्थामा काम गर्दै आएका छन् ।   एनआरएनए अभियानमा जोडिएर जापानमा रहेका नेपालीहरुको सेवा र एनआरएनए जापानको पहिलादेखि नै धमिलिंदै आएको छविलाई सुधार गर्न योगदान दिइसकेका छन् ।   जापानमा लामो समयदेखि रहँदै आएका दिपकले एनआरएनए जापानमा भने सन् २०१३ बाट क्षेत्रीय समिति निगाताको साधारण सदस्य हुँदै यात्रा सुरु गरेका थिए । त्यस पछि उप–संयोजक, संयोजकको हुँदै अहिले केन्द्रीय सह–कोषाध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् ।    उनले, एनआरएनएमा जोडिनु अघि पनि लाएन्स क्लब लगाएतका सामाजिक संस्थामा रहेर पनि काम गरिरहेका छन् ।   दिपक हाल एनआरएनए बाहेक कास्की पोखरा जापानको उपाध्यक्ष तथा निगाता लाएन्स क्लबका अध्यक्ष एवं युथ फर सोसियल वेलफेयर नेपालको कन्ट्री रिप्रेजेन्टेटिभका रुपमा पनि सक्रिय छन् ।      दिपकले एनआरएनए जापानको आगामी कार्यकालको कोषाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गर्दै आफ्ना योजनाहरु समेत सार्वजनिक गरेका छन् ।    उनका योजना तथा प्रतिवद्धताहरु यसप्रकार छन्:-   सन् २०२१–२०२३ को कार्यकालमा पनि कोषलाई नजिकबाट नियालि आफ्नो जिम्मेवारी पुर्णरूपमा काम गर्दै आएको छु । र जापानबासी संपुर्णलाई डिजिटल मार्फतआर्थिक पारदर्शिता हुनेगरि काम पनि गर्दै आएको छु ।   अहिलेको वर्तमान समय प्रविधि र विज्ञानको समय हो । यदि निकट भविष्यमा म NRNA JAPAN को कोषाध्यक्ष पदमा निर्वाचित भएको खण्डमा NRNA JAPAN लाई कोष बृदि प्रविधि मैत्री बनाउने लक्ष्य लिएको छु ।   आर्थिक डिजीटलाईजेसन गरेर सम्पुर्णले सुचना हेर्न चाहेको खण्डमा पारदर्शी रुपमा देखिने गरी प्रविधि मैत्री NRNA JAPAN बनाउने छु । NRNA JAPAN 2021–2023मा  पनि प्रविधि मैत्री बनाउन तयारी भएको छ। कामले पुर्णता पाएको छैन।   त्यही बाँकी कामलाई पुरा गर्नको लागी पनी मलाई सम्झनु हुनेछ भन्ने लागेको छ।   पछिल्लो समय नेपालीको संख्या बढे संगै आईपर्न सक्ने समस्याको बारेमा पनि नयाँ टिममा छलफल गरी योजना बनाएर अगाडी बढ्ने छौं ।   यदि मेरो विजय भएमा मैले गर्ने कामले संस्थाको गरिमालाई कति पनि घट्न दिने छैन । त्यसैले ‘संस्थागत समृद्धिको आधार, कोषाध्यक्षमा दिपकको उम्मेदवार’ मैले नाराको रुपमा छानेको छु ।  

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । शुक्रबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३  को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो । बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ । यसअघि असार ३१ गते आइतबार बसेको प्रतिनिधि सभाको बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको थियो । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो । अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदेनसम्बन्धी सो उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा बिहीबार राष्ट्रिय सभाले संशोधन स्वीकार गरी पुन: पारित गरेको थियो ।  

पोखरा:     पोखरा महानगरपालिकाले अस्थायी ल्याल्डफिल्ड साइडको रुपमा प्रयोग गर्दै आएको पोखरा ३३ लामेआहालमा फोहोर फाल्न स्थानीयले रोक लगाएका छन् ।    पोखरा महानगरपालिका ३३ का स्थानीयहरुले ३ दिन अगाडि नै सांकेतिक रुपमा अस्थायी ल्याण्डफिल्ड साइड लामेआहालमा फोहोर फाल्न रोक लगाएका उनीहरुले हिजोदेखि पूर्णरुपमा रोक लगाएका हुन् ।    यससँगै सफा र सुग्घर मानिने पोखरा शहरका मुख्य चोकचोकमा फोहोरका डंगुर थुप्रिन थालेका छन् ।  लामेआहालको बासिन्दाले फोहारे लान रोक लगाएपछि पोखरा शहरको मुख्य चोकहरु कहिलेसम्म डम्पिङ साइट बन्छ भन्ने टुंगो छैन ।        पोखरा महानगरपालिका मेयर धनराज आचार्यको नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन पोखरा ३३ लामेआहालमा ६ महिनाका लागि अस्थायी ल्याण्डफिल साइडका रुपमा प्रयोग सम्झौता गरेका थिए । अहिले उक्त सम्झौता समयावधि सकिएको छ ।    ‘महानगरपालिकाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न ६ महिनाका लागि भन्दै लामेआहालमा अस्थायी ल्याण्डफिल साइड बनाएको हो’, स्थानीय पौडेलले सुनगाभा न्यूजसँग भने, ‘महानगरले ६ महिनाका लागि भनेको समय सकिएको छ । महानगरले सम्झौता गरेको विषयहरु कार्यान्वयन नभएपछि पूर्णरुपमा फोहोर फाल्न रोक लगाएका हौं ।’     महानगरपालिकाले गरेको ६ महिनाको सम्झौता सकिएको र सहमतिका काम पनि नगरेको बताउदै पौडेलले भने, ‘अस्थायी रुपमा सञ्चालनमा रहेको ल्याण्डफिल्ड साइटले दुर्गन्ध फैलाएको छ । मेयरसाबले आफै त्यो स्थानको अवलोकन गर्नुभएको छ । उहाँले बोलेको कुराहरु नै पूरा गर्नुहुन्न भने हामी दुर्गन्धमा बस्न सक्दैनौं ।’   महानगरले बनाएको अस्थायी ल्याण्डफिल साइटकै कारण बस्ती जोखिममा परेको उनको गुनासो छ ।    ‘जहाँ अहिले महानगरले अस्थायी ल्याण्डफिल्ड साइट बनाएको छ, त्यहाँ पहिरो बढ्दै जाँदा बस्ती नै खतरामा पर्ने डर छ’, उनले भने, ‘फोहोर फाल्नु अगाडि ग्याबिन जाली लगाउने, दैनिक रुपमा फोहोर फालेर पुर्ने सर्त महानगरको थियो, आज त्यो सर्त पूरा भएन अनि हामी दुर्गन्ध नै सहेर कति बस्ने ?’ उनको प्रश्न छ ।     यता पोखरा महानगरपालिकाका सरसफाई शाखा प्रमुख कल्पना बरालले हिजो (बिहीबार)देखि पोखराको फोहोर उठ्न नसकेको बताईन् ।  ‘स्थानीयहरुले विभिन्न मागहरु राखेर फोहोरको गाडी ल्याण्डफिल साइडमा जान दिनुभएको छैन’, बरालले भनिन्, ‘स्थानीयहरुको माग पूरा भए केही दिनमा फोहोर उठ्ला ।’   अस्थायी ल्याण्डफिल्ड साइटकबाट निस्कने दुर्गन्धका कारण स्थानीयमा महामारीका रोग फैलिन सक्ने र अन्यत्र विकल्प खोज्नुपर्ने बताउदै स्थानीयहरुले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ६ बुँदे माग बुझाएको थियो । साथै सोही समयमा सम्झौता कार्यान्वयन गर्नसमेत माग गरेको थियो ।   तर हप्ता दिन बितिसक्दासमेत महानगर मौन भएकै कारण उक्त कदम चाल्नुपरेको पौडेलले सुनाए ।  

पोखरा: जनता समाजवादी पार्टीका महिला नेतृ बुद्धिकुमारी गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् ।   गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी (कास्की क्षेत्र नं २) गुरुङ जसपा परित्याग गरी आज (शुक्रबार) राप्रपा प्रवेश गरेकी हुन् ।   उनलाई राप्रपामा राप्रपा गण्डकी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री माननीय पञ्चराम गुरुङ र राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले पार्टीमा स्वागत गरे ।   सो अवसरमा पूर्व मन्त्री गुरुङले राजनीतिक सफलताका लागि शुभकामना व्यक्त गर्दै नयाँ शिराबाट राजनीतिमा होमिनुपर्नेमा जोड दिएका थिए ।   

पोखरा:   प्रेस सेन्टर नेपाल कास्कीले पोखरा महानगरपालिका ६ लेकसाइडस्थित माया थकाली भन्छा घर एण्ड रेष्टुरेन्टका सञ्चालकले पत्रकार हेमराज अधिकारीलाई गरेकोे अभद्र व्यवहारप्रति आपत्ति जनाएको छ ।   प्रेस सेन्टरले विज्ञप्ती जारी गर्दै होटल व्यवस्थापनले पोखरामा क्रियाशिल पत्रकार तथा फेवा खबर डटकमका सहसम्पादक हेमराज अधिकारी लगायत फेवा खबर टिममाथि अभद्र व्यवहार गरेको भन्दै माफि माग्नुपर्ने बताएको छ ।     विज्ञप्तीमा भनिएको छ, ‘रेष्टुरेन्टमा खाना खाने क्रममा अखाद्य वस्तु (स्टिलका टुक्रा) भेटिएपछि सोको भिडियो क्यामेरामा कैद गरी सञ्चालक विशाल चौधरीलाई जानकारी गराउने क्रममा सञ्चालक चौधरीले सञ्चार समाग्री तोडफोडको प्रयास गर्दै अपशब्द बोल्दै अभद्र व्यवहार गरेको घटनाले स्वतन्त्र प्रेसमाथि प्रहार गरेको ठहर छ ।’   यस्तै सेन्टरले प्रहरी प्रशासनलेसमेत पत्रकार विरुद्ध भएको घटनामा पत्रकारलाई नै दोषारोपण गरेकाले पत्रकारितामाथि हस्तक्षेत्र भएको ठहर गरेको छ ।   ‘प्रहरी प्रशासनलेसमेत पत्रकार विरुद्ध भएको अभद्र व्यवहारको घटनामा उल्टै पत्रकारलाई नै भिडियो किन खिचेको भनेर प्रश्न गरिनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको छ दुर्व्यवहारको घटनामा संलग्नलाई सचेत गराउँदै माफी माग्न र आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिवद्धताका लागि सम्बन्धित पक्षसँग माग गर्दछौं,’ विज्ञप्तीमा उल्लेख छ ।   यद्यपी विज्ञप्तीमा क्षमायाचना मात्रै भनिएपनि पत्रकारहरुले होटल सञ्चालक तथा प्रहरीलाई कानूनी कारवाही गर्नुपर्ने बताएका छन् । 

काठमाडौँ:  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताएका छन् ।    अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जन्जालहरुलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्वपूर्ण योगदान दिएपनि नेपाली जनताको अवस्था परिवर्तन गर्न भने नसकेको तथ्य औंल्याए ।     ‘योङ प्रोफेशनल फेलोसिप नेपाल–२०२३’ ले शुक्रवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूहरु र अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्दै युवा पुस्ताले मुलुकको अवस्था परिवर्तन गर्ने कामको जिम्मेवारी लिनुपर्ने बताए । नेपाल स्वर्गजस्तो भएको र त्यसको अवस्था परिवर्तनको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उनले युवा पुस्तालाई नेतृत्वदायी भुमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकीर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिवद्धता समेत व्यक्त गरे ।    अध्यक्ष तिमिल्सिनाले भने, ‘हाम्रो जीवन वास्तवमा धेरै आन्दोलनमा बित्यो । व्यवस्था परिवर्तनका लागि बित्यो । हामीले निरंकुशताका अनेक जन्जालहरुलाई चुँड्दै आजको यो सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नेपालमा हामी प्रवेश गर्न पाएका छौं । यो म र मभन्दा अघिल्लो पुस्ताको अत्यन्तै ठूलो योगदान र देन हो । तर व्यवस्थामा परिवर्तन गरेर पनि अवस्था परिवर्तन गर्ने कुरामा अलमलिएका छौं । रुमलिएका छौं । यसकारण यो रुमलिएकोलाई युवाहरुले चिर्नु हुनेछ । र, नेपालको अवस्था सुधार गर्ने जिम्मेवारी यहाँहरुको काँधमा छ । यहाँहरुले भविष्यमा नेतृत्व गर्नुहोस् ।’   अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई लागू पदार्थको दुव्र्यसन, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको सिको गर्दै हुने अपराधिक गतिविधिबाट मुक्त राख्दै सुसंस्कृतियुक्त, सभ्य र सहयोगी युवा पुस्ता तयार गर्नु आजको अहं सवाल रहेको समेत बताए ।    अध्यक्ष तिमिल्सिनाले विश्वले चाहेको परिवर्तनको संवाहक युवा पुस्तालाई बनाउने काममा उत्प्रेरकको भुमिका निर्वाह गराउने काममा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताए । 

पोखरा:  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीमगरले पोखराको यातायात कार्यालयमा छड्के अनुगमन गरेका छन् ।   यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा नविकरणसम्बन्धी सेवा दिने कार्यालयमा मन्त्री जुग्जाली सेवाग्राही बनेर बिहीबार अनुगमनमा गएका हुन् ।   अनुगमनमा पुगेका मन्त्री जुग्जालीमगरले यसअघि दिएको निर्देशन कार्यान्वयन भए/नभएको बुझ्नका लागि अनुगमनमा पुगेको बताए । उनले सोसँगै सेवाग्राही र कार्यालयको समस्या पहिचानका लागि अनुगमन गरेको सुनाए ।    उनले सेवाग्राहीको चाप कम गर्न पोखरासँगै अन्य जिल्लाको कार्यालयमा पनि सेवा बिस्तार गर्ने बताउदै आएका छन् ।   मन्त्रीको अनुगमनको क्रममा कार्यालय प्रमुख डिल्लीराम रिजालले सहज रूपमा सेवा उपलब्ध गराउदै आएको ब्रिफिङ गरेका थिए ।   जुग्जालीमगरले भौतिक तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सेवाग्राहीमुखी काम गरेको भन्दै मन्त्रीको प्रशंसा गरेका थिए ।   जुग्जालीमगरको नेतृत्वपछि राजस्व बुझाउनेदेखि ‘लाइसेन्स’ को लिखित र प्रयोगात्मक परीक्षासमेत बिहान ८ बजेदेखि नै सुरू हुदै आएको छ  । जसले गर्दा कार्यालयमा हुने सेवाग्राहीको चाप कम भएको छ ।