पर्सा: पर्सामा सर्ट गनमा प्रयोग हुने १९ राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहारस्थित पश्चिम चम्पारण, लगुन्नाहका २२ वर्षीय मुरारी कुमार छन् । आइतबार राति वीरगन्ज महानगरपालिका–८, भानुचोकबाट उनलाई नियन्त्रणमा लिइएको हाे । प्रहरीले जाँच गर्न खोज्दा आफूले बोकेको झोला फालेर उनी फरार भएका थिए । झोला तलासी गर्दा उक्त गोली फेलापरेको प्रहरीले जनाएको छ । तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट उनको खोजीमा संयुक्त टोली खटिएको थियो । वीरगन्ज महानगरपालिकास्थित प्रभु अस्पतालनजिकै भाग्दै गरेको अवस्थामा फेला पारी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका– १० स्थित सप्तकोशी नदी किनारमा गत २९ गते शुक्रबार युवतीहरूबीच भएको ‘ग्याङ फाइट’को भिडियो भाइरल बन्यो । त्यसपछि कुटपिटमा संलग्न पाँचै जनालाई सुनसरी प्रहरीले अहिले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । यसैबीच ग्याङ फाइट गर्ने उनीहरु छिमेकी रहेको र पिकनिकको बेला मादक पदार्थ (निगार) सेवन गरेकोसमेत अनुसन्धानमा खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक एसपी प्रभु ढकालका अनुसार सोही समयमा ब्याइफ्रेण्डको विषयलाई लिएर एक समूहले अर्काे समूहलाई कुटेको प्रहरीको अनुसन्धान बाट खुलेको हो । ‘८ जना नै छिमेकी रहेछन्, मिलेर पिकनिक खान आएको देखियो,’ एसपी ढकालले भने, ‘पिकनिक खाइसकेपछि झगडा हुँदा ५ जनाले ३ जनालाई कुटेका रहेछन् ।’ त्यसपछि सुनसरी प्रहरीले पाँचै जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका– १० भुजेल टोलकी १९ वर्षिया प्रीति लिम्बू, बराहक्षेत्र– ८ सैनिक टोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षिया विनिता उराव, बराहक्षेत्र– ९ की १९ वर्षीया सञ्जिता राई र निहाङ राई छन् । ति पाँच जनाको कुटाइ खाएका अर्काे समुहको तीन जनाले घटना गुपचुप राखेको एसपी ढकालले बताए । ‘ग्याङ फाइटपछि सबै मिलेर घर गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ ढकालले भने, ‘एक स्थानीयले भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकमा हालेपछि परिवारका सदस्यले थाहा पाएर जाहेरी परेको हो ।’ पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धनगढी: कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ । चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए । चन्दकाअनुसार उनी लामो समयवेखि क्षयरोगबाट पीडित थिए ।
पाेखरा: त्रिभुवन विश्वविद्यालयअन्तरगत आज बिए तेस्रो वर्षका विद्यार्थीलाई ‘टुरिज्म डेभलपमेन्ट’को प्रश्नपत्र बाँडिएपनि सोधिएका प्रश्नहरु सबै भारतीय इतिहासको परेको छ । त्रिवि अन्तरगत इलेक्टिभ पेपरको परीक्षामा विद्यार्थीहरुलाई पर्यटन विकासकै प्रश्न भनेर उल्लेख गरिएपनि समूह ‘क’ र ‘ख’ दुबैमा भारतीय राजनीति र इतिहासबारे सोधिएका १२ प्रश्न छन् । पृथ्वीनारायण क्याम्पसमा परीक्षा केन्द्र रहेका विद्यार्थीले पाएको प्रश्नपत्रको माथिल्लो भागमा ‘इतिहास’ लेखिएको छ भने त्यसपछि ‘पर्यटन विकासको परिचय’ उल्लेख छ । प्रश्नपत्र हात परेपछि पढ्दै जाँदा विद्यालय रनभुल्ल भएका छन् । उनीहरुले परीक्षा हलमा आधा घण्टा बिताएर निस्केका छन् । बाहिरिएर यसबारे जानकारी गराएपछि विषगत प्रश्नपत्र आउने र पुनः परीक्षामा बस्ने सहभागी विद्यार्थीले जनाएका छन् ।
बैतडीमा पहिरोमा घर पुरिँदा आमाछोराको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–२, भैरुवामा मंगलवार बिहान करिब २ बजेतिर सडक भासिएर आएको पहिरोले स्थानीय महेश जागरीको घर पुरिँदा उनकी २५ वर्षीया श्रीमती अञ्जु जागरी र ५ वर्षीय छोराको रिजन जाग्रीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी प्रेमबहादुर शाहीका अनुसार पहिरोले पुरिएर १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन्। उनलाई राति ३ बजे उद्धार गरिएको पुर्चौडी(२ का वडाध्यक्ष चक्रबहादुर बमले जानकारी दिए। अञ्जु र रिजनलाई भने मृत अवस्थामा बिहान ८ बजेतिर निकालिएको उनले बताए। वडाध्यक्ष बमका अनुसार महेश जागरी रोजगारका लागि भारतको चिथौरागढमा छन्। घटनाबारे उनलाई खबर गरिएको र भोलिसम्म आइपुग्ने उनले बताए। हिजो महेश जागरीकी आमा ४५ वर्षीय रायमति जागरी, श्रीमती रञ्जु, छोरा रिजन, भाइ गोब्बर र एकजना पाहुना सो घरमा सुतेका थिए। उनको घरमाथीको सडक केही महिनाअघि मात्रै बनाइएको हो। सडक खनिएको माटो किनारमै रहेको र वर्षाले त्यहाँ थुपरिएको माटोसहित सडक नै भासिएर पहिरो आएपछि घर पुरिएको वडाध्यक्ष बमले बताए। रायमति र पाहुना पहिरो जाँदाजाँदै घरबाट बाहिर निस्कन सफल भएका थिए भने तीन जना पुरिएका थिए। पहिरोमा परी दुईवटा गाई, दुईवटा भैँसी, दुइवटा गोरू र एउटा बाख्रा पनि मरेका छन्। नजिकै रहेको गौरी भण्डारीको घर पनि जोखिममा रहेकाले त्यहाँ रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष बमले बताए।
पोखरा: पोखरा महानगरपालिकाले नदीजन्य समाग्री (गिट्टी, बालुवा, दहत्तर –बहत्तर) विक्री वितरणका लागि बोलपत्र आह्वान गरेको छ । सेती नदीको महानरपालिका भित्र पर्ने विभिन्न घाटको नदीजन्य समाग्री उत्खननका लागि आज (सोमबार) बोलपत्र आह्वान गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले न्यूनतम २२ करोड ६१ लाख २६ हजार ३ सय २० रुपैयाँ उठाउने लक्ष्यसहित टेण्डर खुला गरिएको बताए । ‘२१ वटा घाटको टेण्डर खुला भएको छ, भारतीले भने, न्यूनतम २२ लाख उठाउने महानरले लक्ष्य राखेको छ ।’ उनका अनुसार आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर व्यवसायी टेण्डरमा सहभागि हुन पाउनेछन् । उनले २१ वटा घाटमध्ये सबैभन्दा कम रकम १२ लाख ३० हजार पुरुन्चौर नयाँ घाटको रहेको बताए । प्रशासकीय अधिकृतका भारतीका अनुसार सर्वाधिक रकम रामघाटको रहेको छ । जसको ६ करोड ७८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । टेण्डर खुला भएको अन्य घाटहरुमा दशखेत, तुलसीतारा, रुद्रमहादेव, ढाव घाट, गोस्ते लामाचौर तल्लो गोस्ते बायाँ गजरेघाट (रु.२ करोड २३ लाख ६७ हजार ९ सय ६०), याम्दी, लालटिन बजार, पुरुन्चौर ढोडेनी, नारायणस्थान, पशुपति घाट बायाँ, पशुपति घुमाउरोघाट (रु.१ करोड २० लाख ६८ हजार ८ सय) रहेका छन् । यस्तै द्वारा कस्यार गाउँखर्क ओखलढुंगाभेडिफारम (रु.२ करोड ९ लाख ५५ हजार १ सय), रातोपहिरो खोली बायाँ (रु.१ करोड, ८५ लाख ३ हजार ३ सय), तल्लो खेत बीच भाग, सिसौघारी, लामगादी (रु.१ करोड ३१ लाख २० हजार), सुइखेत खोला, काहुँखोला र विजयपुर खोलाको बोलपत्र आह्वान गरिएको छ । सूचना:-
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन्। सोमबार बुटवलमा नेपाल प्रेस युनियन रूपन्देहीले गरेको पत्रकार सम्मेलनमा मन्त्री महतले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज हुने बताएका हुन्।आर्थिक वृद्धि सुनिश्चित गर्ने र मूल्यलाई एउटा तहमा राख्ने वित्त नीती र मौद्रिक नीतिको लक्ष्य रहेको मन्त्री महतले जानकारी दिएका छन्। ‘त्यसले निजी क्षेत्रमा लगानी पनि सहज हुन्छ । ब्याजदर पनि कम भएर जान्छ,’ उनले भने।समग्रमा हेर्दा मूल्यवृद्धि पनि कम भएको मन्त्री महतको दाबी छ। ‘कुनै वस्तुमा बढेको पनि होला तर समग्रमा घटेको छ,’ उनले भने। मन्त्री महतले विसंगतिहरुलाई चिरेर जाने, समस्याको हल गर्दै जाने बाटोमा सरकार अघि बढेको बताए।
पोखरा: कास्की प्रहरीले एक जनालाई महिलालाई कुटपिट गरेको आरापमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ बेनीघाट रोराङ गाउँपालिका १० डुंगेका २५ वर्षीय दिपेन गुरुङ भनिने सन्त बहादुर मगर रहेका छन् । उनले गत जेठ ५ गते राती करिब १० बजे पोखरा महानगरपालिका १८ गुफाडाँडा स्थित झाँडीमा एक महिलालाई गम्भीर घाइते हुनेगरी कुटपिट गरी फरार थिए । फरार रहेका सन्तबहादुरलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले आफ्नै घरबाट आइतबार पक्राउ गरेको हो । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकका अनुसार सन्तबहादुरले महिलाको ४ हजार मोवाइल लुटेर फलामको हथौडा तथा धारिलो हतियार चक्कुसमेत प्रहार गरेका थिए । त्यसपछि ति महिलालाई झाँडीमा फालेर फरार थिए । पक्राउ परेका सन्तबहादुरलाई कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

