मनाङ: आर्थिक वर्ष २०७९/८० मा हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आउने क्रम बढेको छ । गत वर्ष २० हजार दुई सय ६७ पर्यटक मनाङ भित्रिएका छन् । विश्वको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत जिल्लामा विदेशी पर्यटक आउनेको सङ्ख्यामा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा सार्क राष्ट्रका आठ सय ४३ र अन्य राष्ट्रका १९ हजार चार सय २४ पर्यटक भित्रिएका छन् । नेपाल आउने अधिकांश पर्यटक मनाङ भित्रिने गरेको गौतमको भनाइ थियो । बाह्र हजार सात सय ७९ पुरुष, सात हजार चार सय ८५ महिला र तीन जना अन्य पर्यटक मनाङ आएका उनले जानकारी दिए । अन्नपूर्ण पदमार्गलाई जोखिम पदमार्गका रूपमा लिने गरिएको उनले बताए । मनाङ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकाले यहाँ घुम्न आउने पर्यटकले हिम शृङ्खला तथा हिमतालको नजिकबाट अवलोकन गर्न सक्ने एक्यापका प्रमुख गौतमले बताए । साथै यहाँको हावापानी, वेशभूषा, संस्कृति र सत्कारले पनि पर्यटकलाई यहाँ आकर्षित गर्ने उनको भनाइ छ । यस पदमार्गअन्तर्गत लमजुङको सदरमुकाम बेँसीसहरबाट पर्यटकले यात्रा सुरु गरेर मनाङको ताल, धारापानी, सदरमुकाम चामे हुँदै माथिल्लो मनाङ, पिसाङ, हुम्दे, भ्राका, मनाङगाउँ, खाङ्सार, थोराङ्ला भञ्ज्याङ हुँदै थोराङला पास गरी मुक्तिनाथ पुग्ने गर्छन् । थोराङ्ला पास गर्न २१ दिन लाग्ने गरे पनि अहिले मोटरेवल सडकका कारण यात्रा छोटिएको छोटिएको स्थानीय बताउँछन् । अहिले यस पदमार्ग १२ दिन यात्रा पूरा गर्न सकिन्छ । उक्त पदमार्ग कास्कीको नयाँ पुलमा पुगेर टुङ्गिन्छ ।
लमजुङ: साउनको पहिलो हप्ता बित्नै लाग्दा सम्म लमजुङ जिल्ला भित्र करिब ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीका अनुसार लमजुङ जिल्लामा हालसम्म करिब ६५ प्रतिशत धान रोपाई सम्पन्न भएको हो। रेग्मीका अनुसार मनसुन केही ढिलो भित्रँदा रोपाई ढिलो भएको छ । अझ यतिखेर पानी नपर्दा अधिकांश कृषकहरू पानी पर्ने र खेत रोप्न पाउने आशामा बसेका छन् । जिल्लाको राईनास, मध्यनेपाल, बेसीसहर, क्व्होंलासोथार र दोर्दीका केही ठाउँहरूमा धान रोपाई अझै बाँकी रहेको उनले बताए। रेग्मी भन्छन्, 'वर्तमान समयमा पशु महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगको कारण पनि किसानहरू मारमा परेको र रोपाई ढिला भएको हो र यतिखेर पानी नपरेका कारण रोपेको धानखेत समेत सुक्ने अवस्थामा पुगेको छ ।' कृषि ज्ञान केन्द्रका अनुसार विविध कारणले गत वर्ष भन्दा केही कम मात्रामा जिल्लामा धान खेती हुने प्रक्षेपण गरिएको उनले बताए। कुलो र नहर नलाग्ने साथै पानी नपर्दा मूल पलाउन नसकेका कारण टारी खेतका किसानले आकासे पानीको भल छोपेर रोपाइँ गर्नुपर्ने बाध्यता छ । असारको पहिलो दोस्रो हप्ता पानी परेर रोप्न सकिने भए पनि समयमा पानी नपरे पछि समय मै बीउ राख्न नपाएकोले पनि समयमै धान रोप्न नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने प्रक्षेपण गरिएको छ । विशेष गरी लमजुङको धमीलिकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, हाँडेटार लगायतका क्षेत्र धानका प्रमुख पकेट क्षेत्र मानिन्छ। जिल्लाका केहि सिमसार क्षेत्रहरूमा चेतै धान खेतीसमेत हुने गरेको पाइन्छ।
दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एकमात्र सडक खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ । असार दोस्रो सातादेखि वर्षाका कारण अवरुद्ध सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि व्यासमा उत्पादित आलु ढुवानी गर्न नसकिँदा खेतबारीमै कुहिन थालेको कृषक हरिश धामीले बताए । व्यास गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएको कृषि उत्पादन खेतबारीमा कुहिन थालेपछि किसान चिन्तित भएका छन् । सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषिउपजको ढुवानीमा समेत सहयोग गर्नुपर्ने व्यासका कृषकको भनाइ छ । जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको गाउँपालिकाको कृषि शाखाका प्रमुख विश्वेश्रप्रसाद बडूले बताए । उनका अनुसार गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेको छ सय क्विन्टल आलु खेतबारीमा कुहिन थालेको छ । एक सय क्विन्टल आलु खेतबाट निकालेको तथा पाँच सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको उनले जानकारी दिनुभयो । ‘न त सडक छ, न त कोल्डस्टोर नै, व्यासका किसानले उत्पादन गरेको कृषिउपज दिनप्रति दिन खेतबारीमै कुहिँदै गएको छ’, कृषक अकबरसिंह धामीले भने । बजारीकरणमा कृषि ज्ञान केन्द्र दार्चुलाले सहयोग गर्ने भने पनि सडक अवरुद्ध हुँदा कृषकले उत्पादन गरेकोआलु व्यासमै कुहिन थालेको छ । ‘हरेक वर्ष असारको सुरुआतमै सडक अवरुद्ध हुन्छ, कृषकले उत्पादन गरेको तरकारी खेतबारीमै कुहिन्छ, व्यासवासीको दुःख सम्झिने कोही छैन’, अर्का किसान प्रमानन्द भट्टले भने ।
पाल्पा: पाल्पामा माछामार्ने जालमा फसेर डुब्दा एकजनाको मृत्यु भएको छ । रम्भा गाउँपालिकावडा नम्बर –२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडेमगरको कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा मृत्यु भएको हो । फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडेमगरको घरदेखि एक किलोमिटर टाढाको नदीमा माछा मार्न गएका बेला डुबेर मृत्यु भएको प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए । प्रहरी चौकी हुगी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोली खटिएर अनुसन्धान सुरु गरेको छ ।
हेटौँडा सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योगमा क्लिङ्करको सिमेन्ट उत्पादनका लागि आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएकाले बाध्यतावश उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको महाशाखाले जनाएको छ । सो उद्योगमा अहिले पर्याप्त कोइलाको अभाव भएकाले पनि क्लिङ्कर उत्पादन गर्ने कार्यलाई तत्काल सञ्चालन गर्न कठिनाइ भएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए। उद्योगमा बाह्य देशबाट गुणस्तरीय कोइला करिब दुई हप्ताभित्र ल्याएको र प्रथम चरणमा एक हजार मेट्रिक टन केही दिनभित्रै आइपुगेपछि सिमेन्टको उत्पादन कार्य सुरु गरिने उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए।उनका अनुसार अहिले सिमेन्ट उद्योगको भण्डारमा करिब आठ सय मेट्रिक टन कोइला रहेको भएपनि पर्याप्त कोइला नहुँदासम्म क्लिङ्कर उत्पादन गर्न समस्या आइपरेको हो। महाप्रबन्धक पाण्डेले उद्योगमा अहिले दुई लाख ५० हजार बोरा सिमेन्ट रहेको र त्यसलाई काठमाडौँलगायत विभिन्न सहरमा खपतको लागि तयारी अवस्थामा राखिएको जानकारी दिए। उद्योगको क्लिङ्कर उत्पादन गर्ने आगो बाल्ने भट्टीको केही उपकरणको आगामी एक हप्ताभित्रै मर्मतसम्भार गर्ने लक्ष्य रहेको उद्योगका नायब महाप्रबन्धक कर्णले जानकारी दिए। करिब चार दशक पुरानो हेटौँडा सिमेन्ट उद्योगबाट विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरूपमा उत्पादन सुरु गरिएको हो।
सुनसरीमा गोली हानेर एक जना युवकको हत्या लुटेर समूहले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। शुक्रबार साँझ साढे ५ बजे इटहरी उपमहानगरपालिका(२० सेउती पुल नजिकै एक युवकको गोली हानेर हत्या भएको थियो। विराटनगर महानगरपालिका(५ का २८ वर्षीय रोहित चौधरीको गोली हानेर हत्या भएको हो। उनी र अर्का एक जना युवती साथी तमोर पुगेर मोटरसाइकलमा विराटनगर फर्किँदै थिए। इटहरी(धरान सडकखण्डको बीच जंगलमा पुगेपछि उनीहरू पानी खान रोकिएका थिए। त्यसैबीच तीन जना पुरूष जंगलबाट आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले जानकारी दिए। डिएसपी राईका अनुसार तीन जना पुरूषले खुकुरी र पेस्तोल बोकेका थिए। उनीहरूले ती युवतीले लगाएको सुनका गहना लुट्ने प्रयास गरे। तर चौधरीले त्यसको प्रतिकार गरेका थिए। ‘लुटेरा समूहले सुन लुट्न खोजेको देखिन्छ। युवकले प्रतिकार गरेपछि लुटेरा समूहले गोली हानेको देखिन्छ,’ डिएसपी राईले भने। चौधरीको दाहिने कुममा गोली लागेको थियो। युवती सकुशल छिन्। गोली हानेपछि लुटेरा समूह जंगल पसेर भागेको डिएसपी राईले बताए। ‘युवतीलाई केही भएको छैन। घटना भएपछि हारगुहार गरी एम्बुलेन्स बोलाएर युवकलाई अस्पतालमा पुर्याइएको थियो,’ उनले भने। चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ।
सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा चारजना चढेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मोटरसाइकलमा चार जना सवार थिए। दुर्घटनामा परी चारै जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको डिएसपी राजकुमार राईले जानकारी दिए। दुर्घटनाबाट २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको छ। चार जना सवार मोटरसाइकल अनियन्त्रित भई पिकअप भ्यानसँग ठोक्किएको प्रहरीको अनुमान छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए।
जुम्ला: जुम्लाको गुठीचौर गाउँपालिका–४ गुठीचौरमा ७ वटा घरमा आगजनी भएको छ । गुठीचौरका विभिन्न गाउँमा गरी ७ वटा घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा आगलागी भएको छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आशिंक क्षति भएको छ । आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टरमा समेत आगो लगाएको छ । आगलागीपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको र आगाे लगाउने व्यक्तिकाे खोजी भैरहेको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘गएराति ११ बजेतिर आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाएका छौँ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ ।’ गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले नचिनेका मानिसले आगो लगाएको र यसले गाउँमा असुरक्षा बढेको बताउनुभएको छ ।जुम्ला – जुम्लाको गुठीचौर गाउँपालिका–४ गुठीचौरमा ७ वटा घरमा आगजनी भएको छ । गुठीचौरका विभिन्न गाउँमा गरी ७ वटा घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडानन्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीको घरमा आगलागी भएको छ । धिता र देपाल गाउँमा पनि उस्तै आगलागीको घटना भएको छ । ती घरमा आशिंक क्षति भएको छ । आगो लगाउने समूहले सडकमा रोकिराखेको ट्र्याक्टरमा समेत आगो लगाएको छ । आगलागीपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको र आगाे लगाउने व्यक्तिकाे खोजी भैरहेको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘गएराति ११ बजेतिर आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाएका छौँ । के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ ।’ गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले नचिनेका मानिसले आगो लगाएको र यसले गाउँमा असुरक्षा बढेको बताउनुभएको छ ।
पोखरा: पोखरा ७ बुलौदीमा शनिबार बिहान दुर्घटना भएको छ । ग १९ प ६०६८ नम्बरको बुलेट बाईकमा बिजुलीको पोलमा ठोकिदा बाईकमा सवार दुईजना गम्भीर घाइते भएका छन् । बिहान ५ः४५ बजे भएको दुर्घटनामा परि मोटरसाइकल चालक र पछाडी बस्ने दुबै जना घाइते भएका हुन् । उनीहरुको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भईरहेको छ । दुवै जना अचेत अवस्थामा छन् ।

