पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

नेपाल(भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ ।   मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ । ती महिलाको पहिचान खुलेको छैन ।   ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ ।   घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो ।   भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।   नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी गौतमले बताए । उनका अनुसार दशगजा क्षेत्रमा प्रहार भएका गोलीका खोका भेटिएका छन् ।

पोखरा:    नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले सचेतना मुलक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।   एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस र मदन भण्डारीको ७२ औ जन्म जयन्तीको सन्दर्भमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।   सन्देश प्रवाह गर्ने उद्देश्यसहित पोखराको लखनचोकबाट सरसफाई सुरु गरी सभागृह, सृजनाचोक, जिरो किमी  हुँदै  पोखरा ७ स्थित पुस्पलाल पार्कमा पुगेर समापन गरिएको संयोजक शिवप्रसाद अधिकारीले जानकारी दिए ।    समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कास्की जिल्ला इन्चार्ज थममाया थापामगरले सकरात्मक सन्देश प्रवाह गरेको बताइन् ।   उनले राजनीतिको साथमा सामाजिक उत्तरदायीत्व बहन गर्ने खालका रचनात्मक कार्यहरुलाई निरन्तरता दिनसमेत आग्रह गरेकी दिइन् ।   थापामगरले खेलकुद महासंघको सकरात्मक कार्यको अन्य पार्टीका भातृ संगठनले पनि अनुसरण गर्नुपर्ने धारणा राखेकी थिइन् ।   सो सरसफाई कार्यक्रममा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला कमिटिका उपाध्यक्ष तेजनारायण अधिकारी  र प्रचारप्रसार विभाग कास्की प्रमुख दर्शन लामा, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुन लगायतको सहभागिता रहेको थियो ।  

पोखरा:  पोखराको मुख्यचोक लखनचोक (पृथ्वीचोक) देखि चाइनापुलसम्म सडकको दायाँबायाँ सवारी साधन पार्किङ गर्न रोक लगाएको छ ।    जिल्ला सुरक्षा समितिको निर्णयलाई आइतबारदेखि लागू गरिने भन्दै पोखरा महानगरपालिकाले सूचना जारी गरेको हो ।    जारी सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समिति कास्कीको निर्णय तथा पोखरा महानगरपालिकाको व्यवस्थापनमा पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको दायाँबायाँ कुनै पनि प्रयोजनका लागि सवारी साधन पार्किङ गर्ने कार्य मिति २०८० साउन ७ गते आइतबारदेखि पूर्ण रुप्मा निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गरिन्छ ।’   उक्त निर्णयलाई अवैज्ञा गरेको खण्डमा नियमानुसार कारवाही गर्ने पोखरा महानगरपालिकाले जनाएको छ ।

पाेखरा:  गण्डकी प्रदेश सरकारले ६६८ किलोमिटर सडक कालोपत्र गरेको छ।   प्रदेश स्थापनादेखि आर्थिक वर्ष २०७९/०८० को अवधिमा ८५ वटा सडक पुल बनाएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।    मन्त्रालयका पूर्वाधार विकास निर्देशक राम पराजुलीले प्रदेश सरकारले हालसम्म ६६८ किलोमिटर सडक कालोपत्र, ५९९ किलोमिटर सडक ग्राभेल, ८५ वटा सडक पुल र ६३ वटा झोलुंगे पुल निर्माण भएको जानकारी दिए।    उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कालोपत्र, ग्राभेल र कच्ची गरी कुल ३६० किमी सडक निर्माण भएको थियो। त्यसमध्ये १६५ किमी कालोपत्र, ११६ किमी सडक ग्राभेल र ७९ किमी कच्ची सडक निर्माण गरेको थियो।    आर्थिक वर्ष २०७७/७८ मा कुल ४५१ किमी सडक बन्दा २११ किमी कालोपत्र, १५२ किमी ग्राभेल र ८८ किमी कच्ची सडक बनेको थियो। आव २०७६/७७ मा ६५ किमी कालोपत्र, १३८ किमी ग्राभेल र ७१ किमी कच्ची गरी कुल २७४ किमी सडक निर्माण तथ्यांक रहेको छ।    गत वर्ष समग्रमा ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयका लागि नयाँ आर्थिक वर्षका लागि ११ अर्ब १६ करोड बजेट विनियोजन भएको छ । यो खबर अन्नपूर्ण पोष्टमा सन्तोष गौतमले लेखेका छन् ।  

नवलपरासी (पूर्व):   विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–१२ भटौलिया बस्ने ३३ वर्षीय धिरज चौधरी रहेका छन् ।   उनको साथबाट बुप्रेनोर्फिन ५० एम्पुल, डाइजापाम ५० एम्पुल र फेनारगन ५० एम्पुल बरामद गरेको छ ।   प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले मधेस प्रदेश ०३–००१ ख ७५२४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित चौधरीलाई फेला पारेको थियो ।    पक्राउ परेका उनीमाथि लागुऔषध कसुरमा मुद्धा दर्ता भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

काठमाडौं:  त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बनमा परेका छन्।    निलम्बनमा पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ रहेका छन् ।   हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीन जनालाई निलम्बन गरिएको हो।    कर्मचारीको कमजोरी देखिएकाले निलम्बन गरिएको भन्सार विभाग स्रोतले जानकारी दियो।    ब्रेक शु आउँदा भन्सार कार्यालयका कर्मचारी सरोज श्रेष्ठको ड्युटी एक्सरे मेसिनमा हेर्ने थियो। तर उनको लापरवाहीले उक्त सुन भित्रिएको स्रोतले बतायो।    ‘त्यो दिन एक्सरे हेर्ने सरोज थिए। उनले जिम्मेवारीपूर्वक काम गरेको देखिएन,’ स्रोतले भन्यो, ‘उनलाई नोटिस भएको थियो। रेड च्यानल चेक गर भनेर छाड्न पाउन्न। उनले होल्ड गरेर चेकजाँच गर्नुपर्थ्यो। त्यो गरेको देखिएन।’ शंकास्पद सामान आएको थाहा पाएर पनि उनले थप प्रक्रिया नपुर्‍याएको स्रोत बताउँछ।    रेडी प्रालीले आठ वटा ब्रेक शुका बक्स ल्याएको थियो। जसमध्ये पाँच वटा बक्सलाई हेर्न भनेर लेखेको पाइएको थियो।     

पोखरा:  नेपालका चर्चित विभिन्न १० कम्पनीका करिब २ दर्जन ब्रान्डका जुत्ता, चप्पलको साझा बिक्री कक्ष शुक्रबारदेखि पोखरामा ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आएको छ ।   १० कम्पनीले साझा रुपमा खोलेको साझा शोरुमको उद्घाटन गण्डकी प्रदेशका कृषि, भूमिव्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गरेका हुन् ।    १० कम्पनीको संयुक्त शोरुममा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका हजारौं उत्पादन एकै छानामुनि खरिद गर्न सकिने सेन्टरले जनाएको छ । सेन्टर करिब एक करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको हो ।      शोरुमको उद्घाटन गर्दै मन्त्री जिसीले नेपालमा उद्योग विकासका लागि दक्ष जनशक्तिको अभाव रहेको सुनाए । उद्योग तथा व्यवसाय सुरु गरे पनि चर्को राजनीतिको मारमा पर्ने गरेको उनको भनाइ थियो ।    ‘हाम्रा राजनीतिक दलका पनि गल्ती छन् । युनियन खोल्दिहाल्ने, त्यसको भोलिपल्टैबाट अर्को वितण्डा सुरु,’ मन्त्री जिसीले भने, ‘कति आम्दानी, कति खर्च भन्दा पनि युनियन कहीं न कहीं म्यानुप्लेट हुँदा समस्या भइरहेको छ ।’   नेपाल फुटवेयर एसोसियनका उपाध्यक्ष रुद्रनाथ न्यौपानेले नेपाली बजारलाई आवश्यक पर्ने शतप्रतिशत जुत्ता, चप्पल उत्पादन गर्न सक्ने गरी नेपाली उद्योग तयार भइसकेका बताए । ‘नेपालमा जडित औजार, मेसिन र पूर्वाधारका हिसाबले लगभग १२, १३ करोड जोडीभन्दा बढी जुत्ताचप्पल उत्पादन गर्न सक्ने हाम्रो क्षमता छ,’ उनले भने ।     न्यौपानेले नेपालमा वार्षिक करिब ११ करोड जोडी जुत्ताचप्पलको खपत  हुने जानकारी दिए । उनले भने, ‘त्यसमध्ये ६५ प्रतिशत नेपाली जुत्ताचप्पलको उत्पादन खपत भइराखेको छ । अब त्यो ६५ लाई सय प्रतिशत पु¥याउन उत्पादनमात्रै नभएर बिक्रीवितरण च्यानललाई पनि व्यवस्थित बनाउन लागिरहेका छौं ।’    उत्पादक र उपभोक्ताबीच बिक्री च्यानल लामो हुँदा उत्पादकको भन्दा बढी बिचौलियाको हालीमुहाली हुँदै आएको न्यौपानेको भनाइ छ । सोही परम्परालाई भत्काउँदै उत्पादकलाई सिधै उपभोक्तासम्म जोड्न मिल्ने गरी   बिजनेस सेन्टरको अवधारणा ल्याइएको उनले जानकारी दिए ।   फुटवेयर बिजनेस सेन्टरका अर्का उपाध्यक्ष सुरज बञ्जाडेले पर्यटनका हिसाबले गण्डकी अग्रणी स्थानमा रहेको र अब उद्योगमा पनि अग्रणीस्थानमा ल्याउने आफूहरुको योजना रहेको सुनाए । ‘यो सेन्टरले हामीलाई मात्रै होइन, पोखराका आसपासका उद्यमी जो, जुत्ताचप्पलमा लगानी गर्न चाहनुहुन्छ, उहाँहरुलाई पनि सहयोग हुने विश्वास लिएका छौं,’ उनले भने ।   फुटवेयर बिजनसेस सेन्टर उद्घाटनका अवसरमा विशेष छूटको पनि व्यवस्था गरिएको छ । साउन महिनाभरि सेन्टरमा भएका हरेक कम्पनीका उत्पादनमा १५ प्रतिशतसम्म छूटको व्यवस्था गरिएको बञ्जाडेले जानकारी दिए ।  

पोखरा:   लोकतान्त्रिक तमु संघ मादी गाँउपालिकाको अध्यक्षमा मनोज गुरुङ चयन भएका छन् ।   लोकतान्त्रिक तमु संघ कास्की जिल्ला कमिटिले संगठन विस्तार अभियान अन्तरगत शुक्रबार भएको प्रथम अधिवेशनबाट १७ सदस्यीय समिति गठन गरेको हो ।   सो समितिको उपाध्यक्षहरुमा नरबहादुर गुरुङ र कमला गुरुङ, सचिवमा टिकाराम गुरुङ, उपसचिवमा यज्ञप्रसाद गुरुङ र स्नेह गुरुङ, कोषाधयक्षमा शोभा गुरुङ छानिए ।   यस्तै सदस्यहरुमा राजबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, ज्ञानमाया गुरुङ, पुजन गुरुङ, बुद्ध गुरुङ, धनमाया गुरुङ, कुमानसिंह गुरुङ र रनबहादुर गुरुङ रहेका छन् ।   नवनिर्वाचित पदाधिकारीहरुलाई लोकतान्त्रिक तमु संघका केन्द्रिय महासचिव एवम लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रिय सचिव हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।    नवनिर्वाचित अध्यक्ष मनोज गुरुङले लोकतान्त्रिक तमु संघलाई सशक्त, जुझारु संगठनको रुपमा विकास गर्नका लागि आफु र आफ्नो कमिटि जुट्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।    नवनिर्वाचित वडाध्यक्ष मादी गाउँपालिका ९ का वडाध्यक्ष हुन् ।

पोखरा:  नेवा: पत्रकार पुच: कास्कीको अध्यक्षमा अनिशा श्रेष्ठ चयन भएकी छन् ।   शनिबार सम्पन दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएकी हुन् ।   यस्तै उपाध्यक्ष गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ  चुनिए ।   कार्यसमिति सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य, अल्चना श्रेष्ठ र अभिनन्दन बजिमय रहेका छन् ।   नवनिर्वाचित अध्यक्ष  श्रेष्ठले  कास्कीमा नेवा समुदायबाट महिला पत्रकारहरु न्युन  रहेको भन्दै आफुले पत्रकारीताको माध्यमबाट नेवास् संस्कृति र परम्परालाई संरक्षण र प्रचार प्रसार गर्ने बताएकी थिइन् ।